17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

तिजको रंग

कविता उमा शर्मा August 23, 2022, 12:19 pm
उमा शर्मा
उमा शर्मा

बर्सेनि तिज आँउछ
राता लाली गुराँसहरुले तिज मनाउँछन्
राता गुलाफहरुले पनि तिज मनाउछन्
बर्सेनि तिज आइरहन्छ
तर कठै,
बारीमा सँगै फुलेका पारिजातहरू मात्र हेरिरहन्छन्
बैसले छोपेका जाई र जुईहरू मात्र टोलाइरहन्छन्
उनीहरू तिजमा नाँच्दैनन्
रहरहरू लुकाएर अलिकति खुम्चिन्छ्न्
अव्यक्त चाहनाहरू लिएरै झरेर जान्छन्
उनीहरू तिजमा हाँस्दैनन्
उनीहरूको दोष यत्ति हो
उनीहरू राता हुदैनन्।

साञ्चै,
सेतो हुनु भनेको के हो?
सेतो हुनु भनेको रातो नहुनु मात्र हो
इन्द्रेणीको सातै रंग समाहित गर्ने सेता रंगहरू
पवित्र हुन्छन्
पात्र र पितृ, दुबैका प्यारा हुन्छन्
बारीको त्यो आधा पाटो,
जहाँ ती सेता फूलहरू फुल्छन्
जहाँ घामको स्पर्शले भेद गर्दैन
जहाँ वर्षाको बुँद निषेध हुँदैन
तर त्यहाँ,
मान्छेको विभेदले
तिज कहिल्यै आँउदैन
किनकी त्यहाँ रातो रंग हुँदैन।

प्रश्नहरू चलुन् अब,
के तिज हुनु भनेको रातो हुनु हो?
वा रातो हुनु भनेको तिज हुनु हो?
अँह होइन,
त्यस्तो हुनै सक्दैन
त्यस्तो हुनै हुँदैन
रातोका पनि भेदहरू छन्
आगोको भुङ्ग्रो रातो हुन्छ
अनि आगो फुक्दा फुक्दै जलेको फोक्सो अझ रातो हुन्छ
आँसु सुकेर रगत बगेका आँखा राता हुन्छन्
आफै डुब्ने रज आहाल अझ राता हुन्छन्
रातो हुनु मात्र कहाँ तिज हो र?
रंग मात्र कहाँ तिज हो र?
तिज भोगाई हो
तिज स्वतन्त्र हुनुको अनुभूति हो।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।