19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बाको आश

लघुकथा लक्ष्मी रिजाल August 26, 2022, 7:10 pm
लक्ष्मी रिजाल
लक्ष्मी रिजाल

"छोरी, आइस् । माया गर्न सिकाइस् । माया पाउन सिकाइस् । अहिले आएर माया दर्साइस् । तैँले आफ्नो कर्तव्य जताइस् ।" वृद्धाश्रममा मुन्टो लुकाइरहेका बाले बिबाह गरी पठाएकी छोरीसँग मन खोल्दै भने ।

"लोकाचार दर्साउन हैन । म त लिन आएकी ? अब म सधैँका लागि विदेसबाट फर्कें ।" छोरीको यस्तो कुरालाई काट्दै बाले कटाक्ष गरे; "पुत्र र बधुहरू मिलेर मेरो चिहान खन्ने समेत खर्च दिएका छन् यहाँ । अब तँ गोत्र सरेकीलाई केही कर छैन ।"

"म पनि एउटै कोखमा बढेपलेकी हुँ । कोही विष निस्के । कतै अमृत निस्किन्छ ।" छोरीले तर्क अघि सारिन् ।

"तँ अमृत होस् भने मेरा ती लठुवाहरूका सन्तानसँग टेक्ने, छेक्ने र परिआए सेक्ने लट्ठी मागिदे है ।"

बाका यस्ता कुरा सुनेर सकारात्मक जवाफका लागि मुन्टो हल्लाउँदै आजैका दिन निस्केकी छोरी वर्ष दिन भयो फिरेकी छैन । आज कुसेऔँशीका दिन कतै त्यसको अनुहार हेर्न पाउँछु कि भनी बा बाटो हेरिरहेका छन् ।

कञ्चनरूप नपा 12, प्रगतिटोल, सप्तरी ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।