17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अगणित माया

लघुकथा नन्दलाल आचार्य August 27, 2022, 3:14 am
नन्दलाल आचार्य
नन्दलाल आचार्य

‘यसपाला के पठाइदिऊ बा ?’ असी पुगेर बसिखाने बेलाका बुबालाई क्यानाडा बस्ने छोरीले प्रश्न सोधी ।
‘सप्पै कुरो पुग्दो छ नानी मलाई ।’ बाको जवाफ सुन्नासाथ छोरीले भनिहाली; ‘आफ्नो रुचीको कुरो माग्नुस् । मौका यही हो । अरू बेला पाइन्न ।’
‘नजा, नजा भन्दाभन्दै बुरुक्क उफ्रेर गइस् अनागरिक बन्न अर्काको देसमा । तँ काम माग्दै खाँदै गर्छेस् भन्ने बुझेको छु । मलाई पनि मगन्ते नै ठानिस् कि क्या हो ।’ बाको मनले यस्तो सोच्यो तर मुखले भने भन्यो; ‘म भौतिक वस्तुले अघाएको छु, नानी ।’
पक्कै बाले भाउ खोजेका हुन् भन्ठान्दै छोरीले कार किन्दिने कुरा गरी । काठमाडौँमा घर जोड्दिने प्रस्ताव राखी । बाको शरीरलाई मालिस गर्ने मेसिन चाहिँ नपठाई छाड्दिन भनी । बाले कुनै कुरा पनि स्विकारेनन् ।
‘केही लिने कुरा गरेर मात्र फोन राख्नुस् । नत्र फोन राख्नै पाउनुहुन्न ।’ छोरीले बाल्यकालीन जिद्दी दोह¥याई ।
सकसमा परेर बाले भने; ‘बिना पैसोको केही चीज तेरो साथ भए त्यही दे ।’
‘त्यस्तो के चीज हो ?’ छोरीको आवाज सुनियो ।
‘तँसँग भएको माया, सम्मान र सहानुभूति कुशेऔँसीमा मात्र हैन आफ्नो जीवनभरि मलाई दिन सक्छेस् ?’ बाको प्रश्नको उत्तरस्वरूप फोन खत्रक्क यथास्थानमा बस्यो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।