लुकाउँदा लुकाउँदै
आँखाबाट तप्प, तप्प खसे
नुनिला आँशु,
म दोधार मै थिएँ
ओतबाट
झरेका पातले छोपिदिए,
मेरो दोधार
सँधै झै फेरि पनि
अप्रकट
जिउँदै रह्यो।
कहिले संयोगले लुके
कहिले बाध्यताले लुकाएँ
कहिले परिस्थितीले लुकाइदियो
एकान्तमा जलिरहेका मेरा जिन्दगीका सकस।
मेरा सकस-
आफ्नै आँशुका नुन खाएका,
आफैँसँग लाचार छन्।
म बन्धित छु
आफ्नै आँशुका लाज बचाइराख्न।
बन्धनको यो गौरवपूर्ण यन्त्रणामा
दुख्न त कहिँनकहिँ दुख्दोरहेछ नविर्सिने गरी
टुँट्न त केहि न केहि टुँट्दोरहेछ नजोडिने गरी।
कुनैदिन
लामो र सकसपूर्ण संघर्ष पछि
मेरा व्याकुलताले सीमा नाघेपछि हो वा
परिवेश प्रति विश्वस्त भएपछि
उनिहरूका आँखामा
भरिएरआएका आफ्नै चम्किला आँखा हेरेँ
तर, केही भारी विसाएको अनुभूति नहुँदै
देख्नेहरूले अपमानका मुस्कानले प्रेममा धकेलेर गए।
खिन्नता बिच
मैले बडो सकसले
पलभरकैलागि भएपनि
ती ऋण जस्ता प्रेमिल अँगालो तोडेँ
मानौं
श्वास जस्ता आत्मीय पराजय त्यागेँ
सयल जस्ता रोज्जा थकान त्यागेँ
र
हिरा जस्तै चम्किएको आफ्नै महँगो मुस्कान पनि त्यागेँ
केही निकास पाएको अनुभूति त भयो
तर, फेरिपनि
मेरा सकस मैसँग रहे।
यसरी सँधै, सँधै
मैले
लुकाउँदा लुकाउँदै
आँखाबाट तप्प, तप्प खसे
नुनिला आँशु,
म दोधार मै थिएँ
ओतबाट
झरेका पातले छोपिदिए,
मेरो दोधार
सँधै झै फेरि पनि
जिउँदै रह्यो।