15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सेल्फ पोट्रेटलाई नजिकबाट छाम्दा

कृति/समीक्षा नम्रता गुरागाईं August 31, 2022, 12:19 pm
नम्रता गुरागाईं
नम्रता गुरागाईं

हप्तादिन अघि पोखराबाट घुमघामको शिलशिलामा नर्थ क्यारोलाइना आउनुभएको इश्वरजीलाई भेटन जांदा रीताजीसंगपनि भेट भयो । अक्षरकै नाता थियो इश्वरजीसंग फेरी अर्को अक्षरको नाता जोडियो रीताजीसंग, खुशी लाग्यो । म अलि हतारमा थिएं तैपनि ऋषिजीको अनुरोधलाइ अस्वीकार गर्न नसकेर एकैछिनकालागि गएकी थिएं । चिनजान गरेर एकछिनको हार्दिकता साटासाटपछि छुट्टिने बेलामा रिताजीले आफनो कविता संग्रह “सेल्फ पोट्रेट” फुर्सदमा पढिदिनु है भनेर दिनुभयो, मैले सहर्स स्वीकार गरें । सम्झनाका लागि केही थान हाम्रा अनुहार क्यामरामा लुकायौं र हामी छुट्टियौं ।

मलाइ कतिखेर सेल्फ पोट्रेट पल्टाउं भइराखेकोले समयको खोजीमा थिएं । नभन्दै पढने मेरो समय जुर्यो र पल्टाएं । पुस्तकको खोलमा मैले चिनेका सबै आदारणीय साहित्यकारहरुको शुभकामना पढेपछि खोलमामात्र अडिरहन सकिन र अझैभित्र पस्दै गएं । पानाहरु पल्टाएउंदै गएं । हरेक कवितामा वहां मेरा आंखा अगाडि उभिनुभयो । पढदै जांदा नसा नसामा रगत सल्बलायो । वहांका कवितामा कतै म आफै बोलिरहेकी त छैन ? भन्नुजस्तो लाग्छ बेलाबेला । आम नारीका कथा, ब्यथा र विग्रिएको परिबेशलाई बनाउन सक्ने क्षमता बोकेका शब्दहरु उनेर सुन्दर कविताको माला बनाउनु साच्चै चानचुने कुरा होइन । नारीको अधिकारको बारेमा कवितामा बोल्दै गर्दा वहांले आफनो घर विगार्नुभएको छैन, बरु परिवारप्रतिको प्रेमलाई अंगालाले बेर्नुभएको छ । यस्तो प्रेमको भाब तिमी भेटिएपछि भन्ने तीन कवितामा पढेर थाहा पाउन सकिन्छ । यसको सानो अंश यहां उल्लेख नगरिरहन सकिन ।
तिमी भेटिएपछि
जसरी म बदलिएं
तिमी बदलियौ र
बदलिदै गयो
सिरानीको परिभाषा
तिमी भेटिएपछि । — तिमी भेटिएपछि
यि कविताका अंशहरु पढदै जांदा हाम्रो समाजले भन्ने गरेको मान्छेमा हुने ३२ गुण त कसैसंगपनि हुदैन होला सायद भन्न खोजेको जस्तो लाग्यो मलाइ । किनकि कवितामा प्रयोग भएको तिमी र म जन्मेको घर र हुर्केको परिबेश पक्कैपनि एउटै थिएन । फरक घर र फरक रहनसहनमा हुर्किएपछि मान्छेको स्वभाब फरक हुनु अस्वभाबिक होइन तर एक अर्कोलाई जीवनसाथी बनाउने दौरानमा मात्र तिमीसंग भएका राम्रा गुण र मसंग भएका राम्रा गुण जोडेर नै हामी बनेका हौं हामी । त्यही भएर त म तिमीलाई सुहाउने हुन तिम्रा बानी ब्यबहारमा बदलिदा तिमीपनि मलाइ सुहाउने हुन बदलियो नत्र हाम्रो शुन्दर जोडी कसरी हुन सक्थ्यो र ! भनेजस्तो लाग्यो । आहा ! तिमी र म भएर बनेको हामीको परिभाषा कति राम्रो ! बास्तबमा हामी बलियो भएर नै त हाम्रो घर बलियो हने हो नि होइन र ?

धेरैजसो कविताले गाउंघरका दुःख त्यसमाथि महिलाका दुःख बोलेका छन । एउटा लेखक वर्तमानको यथार्थबाट कहां भाग्न सक्छ र ! यि कविताहरुले दुःखको पराकास्ट भोग्न बाध्य भएको हाम्रा दाजुभाइ दिदीबहिनीको अबस्थालाई सुन्दर ढंगले चित्रण गरेर न्यायको पल्ला हातमा लिएर बसेकालाई ठूलो झापड हानेको छन । सायद कान भएको न्यायलय भए समान कानून पस्किसक्थ्यो होला र हामीले यस्तो कविता पढनपनि पर्दैनथ्यो होला ।
वर्षौ भयो, केही बदमासहरुको कब्जामा छ मेरो देश
आउ देशलाई मायांहरु खबरदारी गरौ
छातीभित्र देश छ नि हैन?
देश दख्दा छाती दख्छ नि हैन ? – अध्यारो यात्रा
यो कविता विग्रिएको देशको अबस्था र भ्रमको खेती गरेर जनतालाई झुक्याइरहेका मान्छेहरुलाई इमानजमान भएका मान्छेहरुले निगरानी गर्न पर्ने कुरामा जोड दिएका छन । सुशासन ल्याउन कुशासनलाई जरैदेखि मिल्काउन एकबद्ध हुन आब्ह्रान गरेको छ ।
सेल्फ पोट्रेटभित्र भएका कविताहरु नारी प्रधान कविता भनेपनि हुन्छ । कुनै कविताले नारी कतै छोरी भएर छोरा र छोरीमा भएको असमान ब्यबहारमा आफना असन्तुष्टी पत्रपत्रहरु केलाएको छ भने कुनै कविताले आमा भएर त कुनैले सासुआमाको नामबाट महिलामाथि भएको शोषणको उल्लेख गरेको छ । नारी पात्र बनाएर लेखेका कविताहरुले मलाइ छोएर मात्र नपुगेर हल्लाएपनि । मलाइ हल्लाएका मध्येको कविता हो यो :
कहिले गमलामा, कहिले हत्केलामा
कहिले तनमा, कहिले मनमा
अरुले चाहेझैं अरुकै बगैंचामा
अरुकै लागि फुल्नु, मुस्कराउन र वास्ना छर्नु
बेमौसमै टिपिनु
अथवा ओइलाएर झर्नु, पर्खनु
के फूल हुनु हो र नारी? –सेल्फ पोट्रेट
संग्रहको नाम भएकै कविता सेल्फ पोट्रेट कवितामा नारीलाई बिभिन्न बिम्ब दिएर उच्चारण गर्नुमा बिद्रोह ओकलेका छन । उम्रिनुपनि अर्काकै लागि, बढनु र पढनुपनि अर्काकै लागि हो भने महिला कहिले आफनालागि बांच्छे र आफनालागि नाच्छे होला ? यो कविताले किन हाम्रो समाजले उसलाई आफूखुशी बांच्न दिदैन भन्ने तिखो प्रश्न गरेको छ । तपाइले सोधेको प्रश्न नै दोहोर्याउदै मलाइपनि सोध्न मन लाग्यो –जस्ले जे भन्यो त्यही हुंदा सधै अरुको वर्णनको विज्ञापनमात्र हुने नारीको सांचीे आफनो सेल्फ पोट्रेट चाहि के होला ? यस कविताले नारीको अस्तित्व स्वीकार गर्ने समाज निर्माण गर्नुपर्ने ठूलो जिम्मेबारी हाम्रो आफनै कांधमा छ जुन जिम्मेबारी हरेक नारीले आफनो घरबाटै शुरु गर्नुपर्छ नत्र हामी सधै अर्कैका विज्ञापन मात्र हुन्छौं भन्ने सन्देश दिन्छ ।
उ भन्छे
तिमी त छोरी हौ भान्साशीप हुनपर्छ
मायां दिन सिक्नुपर्छ, त्याग र बलिदानी सिक्नुपर्छ
अब त ठुली भइसक्यौ, फरासिली, मिजासिली हुन सिक्नुपर्छ
दयालु र इमानी हुनुपर्छ
सहनशिल र सुशील हुनुपर्छ ।
होला, कुरा ठीकै होला
तर यही कुरा उ किन छोरालाई भन्दिन ? –उसका कुरा २
यस कवितामा छोरा र छोरीलाई गर्ने भेदभाबप्रति बिद्रोह छ । किन महिलाको शत्रु महिला नै भएका होलान ? जहिलेपनि किन छोरीले मात्र समाजको पाठ पढनपर्ने किन छोरालाई यही पाठ पढाइदैन ? हामी आमाहरुले छोरा र छोरीलाई बराबरी शिक्षा नदिएसम्म यो भेदभाब समाजमा सधै रहिरहन्छ किनकी माथि कवितामा भनिएका कुरा छोरालाई पढाइएन भने उ ठूलो हुंदा उमेरमा पाको तर बुद्धीमा कांचो ठहर्छ जसलाई कसैले सजिलै बंग्याउन, भांच्न सक्छ भन्ने सन्देश दिन्छ । हरेक आमाले छोरालाई दिइने शिक्षामा यो पाटो पढाइएन भने उसको जिन्दगीको एक पाटोमा सधै ग्रहण नै लागिरहन्छ ।
सासुआमा भन्नुहुन्थ्यो–
छोरा त आफैले पाएका हुन
मायां त बुहारीलाइ पो गर्नुपर्छ त
नत्र घर कसरी घर हुन्छ ? – यादहरुको दुखाइ
यो कविताकी पात्र अर्की महिला हुनुहुन्छ जो नाताले लेखककी सासुआमा, वहांका महिला भएर बांच्नुका कैरन अर्कै । पढदै जांदा कता कता भाबुक बनायो मलाइ । आखिर वहांपनि एउटी महिला जो सधै दासी भएर अर्कैकालागि बांच्नु भयो तर आफनी बुहारीलाइ मायालु ब्यबहार गर्न पछि पर्नु भएन । छोरालाई भन्दा बुहारीलाई बढि मायां गर्नुपर्छ जो आफनो जन्मघर छोडेर आएका हुन्छन भन्ने सासुआमालाई कसले पढायो होला र यस्ता कुरा ? कुन बिश्वविद्यालय जानुभयो होला वहां यो कुरा पढन ? कुसस्कारको जांतोमा पिसिदा पिसिदापनि हार नमानेकी तपाइकी सासुआमालाई मेरो सलाम छ । बास्तबमा न्यायलयका ठेकेदारहरुको सोचाइभन्दा तपाइकी सासुआमाको सोचाइ धेरै माथि लाग्यो । यो कविता पढेपछि मलाइपनि प्रश्न गर्न मनलाग्यो, आफू दुःखको आरनमा बसेर सुखको धारजति सधैं अर्कैलाई लाइरहने मात्र अनुभबको पाठशाला गएका आमाहरु किन ल्याउदैनन हं न्यायलयमा ?
चाहनाको तानमा जिन्दगीको धागो उन्नु
एउटा शाश्वत कविता बुन्नुजस्तै रहेछ
अलिकति बढि कसियो कि बिग्रने खतरा
अलिकति बढि झोल्लियो कि बिग्रने खतरा
बनोट र बुनोटको यो ताना–बाना
तन र मनजस्तै, शब्द र भाबजस्तै
कति गाह्रो हो स्वीटर बुन्नुपनि कविता लेख्नुजस्तै ।
र अन्त्यको अन्तरा
ओ प्रियतम !
मैले मेरो दिल उनेकी छु स्वेटरमा
लगाउंदा, खोल्दा, धुंदा या थन्क्याउंदा
मेरो दिल सुरक्षित राख्नु ल । – स्वेटर बुन्दाबुन्दै
यस कवितामा यति राम्रो विम्ब, भाब र शब्दहरुको सम्योजन भएका छ कि मैले यहां उच्चारण नगरी रहन सकिन । कविताभित्रका लाइनहरुले मलाइ धेरै धेरै छोए । बास्तबमा कविता लेख्न सजिलो कहां छ र ? माथिको भाबसंग तलको भाब मिलेन भने कविता कविताजस्तो हुदैन । जसरी कविताले प्राण लिनको लागि कुन भाबमा के बिम्ब प्रयोग गर्ने कुरामा होस पुरयाउन पर्छ त्यसरी नै कांटामा उनिएको धागोलाई स्वेटरमा बुटटा निकाल्दा होस पुरयाउन पर्छ । शब्दहरुको थुप्रो र धागोको थुप्रो सायद उस्तै उस्तै होलान । जब एउटा कविले शब्दहरु टिपेर उचित भाब र बिम्बको प्रयोग गरी लेख्छ अनि मात्र त्यो कविता बन्छ त्यसरी नै धागोपनि तन, मन दिएर शुन्दर बुटटामा कांटाले वा कुरुसले बुनेपछिमात्र एउटा लगाउन योग्य स्वेटर बन्न सक्छ । सांच्चै एउटा सुन्दर कविता लेख्नु भनेको एउटा सुन्दर स्वेटर बुन्नुभन्दा कहां कम होला र ?
सेल्फ पोट्रेटभित्र ४१ वटा शब्द, भाब र विम्बले सजिएका कविताहरु छन । सबैजसो कविताहरु नारी केन्द्रित छन । साहित्यकार शारदा शर्माले भन्नुभएजस्तै नारीमाथिका बिभेदपूर्ण मूल्य र मान्यतामाथि अनेक प्रश्न उठाइएका छन । नारी पारिवारीक रथको एक पांग्रो हो भन्दाभन्दैपनि किन सोकेसमा सजाइने गुडिया झै मानिन्छन अझैपनि भनेर समाजलाई सोधिएका प्रश्नहरु धेरै छन । भुइमान्छेबाट शुरु भएको कविता कविता प्रेममा आएर टुंगिएको छ । वहां आफैले भनेजस्तै लेख्छु भनेर लेखिएका यि कविताहरु हैनन । यि कविताहरु सामाजिक घटना, दुर्घटना, दुःख, मायां, प्रेम, आक्रोसले जब आफनो मन छोए तब आफै लेखिएका हुन । ठाउं बिशेषका शब्दहरु प्रयोग भएर झन धेरै शुन्दरता थपेका छन ।
रीताजी तपाइको कलम अझै तिखारिदै जावोस । शुभकामना !
धन्यबाद ।

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।