17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

संयोग

लघुकथा कृष्ण बजगाईं August 31, 2022, 12:24 pm
कृष्ण बजगाईं
कृष्ण बजगाईं

“संयोगले दुईको भेट भयो । संयोगले प्रेम भयो । संयोगले बिवाह भयो । बच्चा नजन्माउने भन्दै थिए, संयोगले छोरो जन्मियो । त्यसको नाम पनि संयोग नै राखियो ।” प्रेमीले कथा सुरु गर्यो ।

“त्यसपछि के भयो ?” प्रेमिकाले सोधी ।

“असंयोगले उनीहरुले पारपाचुके गरे ।” प्रेमीले भन्यो ।

“अनि ?” प्रेमिका थप जिज्ञासु भई ।

“दुबै जना यात्रामा निस्केका थिए । संयोगले दुबै जनाको भेट प्लेनमा भयो । संयोगले दुबैको सिट सँगसँगै परेको थियो । दूर्भाग्यवश प्लेन दुर्घटना भयो ।” प्रेमीले गम्भिर हुँदै भन्यो ।

“छिटो भन्नु न, त्यसपछि के भयो ?” प्रेमिकाले आत्तिदै सोधी ।

“प्लेनका थुप्रै यात्रुहरुको निधन भयो । संयोगले दुबै जना बाँचे । संयोगवश एउटै एम्बुलेन्सले उनीहरुलाई बोकेर अस्पतालतिर दौडियो । उपचारको क्रममा दुबै जना संयोवश अस्पतालको वल्लो र पल्लो बेडमा परे ।” प्रेमीले अलिक लामो सास लिएर भन्यो ।

“अनि के भयो त ?” प्रेमिकाले आतुरता प्रकट गरी ।

“जे नहुनु थियो त्यही भयो ।” प्रेमीले गहिरो सास तानेर भन्यो ।

“बाँकी घटना भनि हाल्नु न ?” प्रेमिकाले अधिर हुँदै भनी ।

“संयोगले हामीलाई छुटाउन चाहेको रहेनछ । अब हामी दुबै जना प्रायश्चित गरेर सँगै बसौं । पतिले भन्यो । पत्नीले पनि प्रायश्चित गर्दै उसको कुरामा सहमती जनाई । मौखिक सहमती भएपछि तिनीहरु भूतपूर्व पति पत्नी रहेनन् । पूर्ववत्रुपमा पतिपत्नी भएर अस्पतालबाट दुबै जना ट्याक्सीमा फर्कदै थिए । उक्त ट्याक्सी दुर्घटनामा प¥यो । दुबैको घटनास्थलमै निधन भयो ।” प्रेमीले कथालाई अनौठो मोडमा पुर्याएर टुङ्ग्यायो ।

“कस्ता मूर्ख रहेछन् ! किन फेरि मिलेका त ?” प्रेमिकाले निर्धक्कसँग भनी ।

प्रेमीकाको कुरा सुनेर प्रेमी गम्भिर भयो । अनि उसले भन्यो, ‘हामी दुईबीचको सम्बन्ध आजैदेखि सकियो ।’

बेलायत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।