15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

चितवनमा ‘शुभारम्भका पाइला’ उपन्यासको स्थान निर्धारण

कृति/समीक्षा रमेश प्रभात September 4, 2022, 12:18 pm
रमेश प्रभात
रमेश प्रभात

वैयक्तिक रुपमा प्रकाशित ‘शुभारम्भका पाइला’ (२०७९) चितवनका नवउपन्यासकार गोकर्ण मल्लको पहिलो उपन्यास हो । आकारगत रुपमा यसले कूल ४८८ पृष्ठको बृहत् खालको आयाम ओगटेको छ । युवापुस्तामा निकै चलेको शब्द बिन्दास शैली वा प्रौढहरुले भन्ने गरेको मनमौजी पारामा वर्णन गरिएको यो उपन्यास यात्रा वर्णन जस्तो देखिन्छ । आकारमा केही ठूलो भए पनि फुर्सदिला पाठकले मनग्यै आनन्द लिने खालको छ ।

विषयप्रवेश
सामान्यतः एउटै पेसामा भएका व्यक्तिको कहीँ न कहीँ जम्काभेट हुनेगर्छ । तर करिब तीन दशक मझैँ पेशाले शिक्षक नै भएर काम गरेका भए पनि गोकर्ण मल्ल सरसँग प्रत्यक्ष भेट हुने संयोग जुरेको थिएन । अक्षर समूह चितवनको पाँचौँ अधिवेशनले मलाई अध्यक्ष पदमा चयन गरेपछि सम्भवतः उनी पहिलो व्यक्ति हुनुपर्छ मलाई फोनमार्फत् शुभकामना दिने । त्यसपछि दिनमा भने उनीसँग बेलाबेलामा सम्पूर्ण किताब नारायणगढमा भेटघाट हुने गरेको छ । त्यस्तै एउटा भेटमा उनको पाँचौँ कृति तर पहिलो साहित्यिक सन्तान ‘शुभारम्भका पाइला’ नामक उपन्यास मेरो हातमा उपहार स्वरुप थमाए । कृतिको आकार देख्दैमा जोकोहीले तत्कालै पढिहाल्ने हिम्मत नगर्ने खालको आकार देखेर सुरुमा तर्कन खोजे पनि उनले “फुर्सदमा पढेर मलाई सुझाउ दिनुहोला ।” भनेकाले केही नबोली उनको कृति उपहार सहर्ष स्वीकार गरेको थिएँ ।
शिक्षक तथा सामाजिक व्यक्तित्व गोकर्ण मल्लको जन्म २०१३ सालमा तनहुँ जिल्लाको छाङ गाउँमा भएको हो भने हाल उनी रत्ननगर, टाँडीमा स्थायी रुपमा बसोबास गर्दै आइरहेका छन् । यतिबेला उनी शहीद स्मृति बहुमुखी क्याम्पस, रत्ननगरका निवृत्त सहप्राध्यापक हुन् । सेवानिवृत्त जीवनमा धार्मिक कार्य, समाजसेवा, अध्ययन र लेखनमा उनी व्यस्त रहेका छन् । अर्थशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका मल्लका यसअघि अर्थशास्त्र विषयका विभिन्न तहका चार वटा पाठ्यपुस्तक प्रकाशित भएका छन् । कृतिगत रुपमा पाँचौँ कृति भएर पनि उनको ‘शुभारम्भका पाइला’ उपन्यास (२०७९) पहिलो साहित्यिक कृति भन्ने जानकारी यसअघि नै गराइसकेको छु । लेखकका आफ्नै छोरा डा. राजकुमार मल्ल प्रकाशक भएर प्रकाशित यो उपन्यासको प्रमुख वितरक सम्पूर्ण किताब, नारायणगढ रहेको छ । यस उपन्यासको मूल्य रु. ७५०। राखिएकाले यो सामान्य पाठकको पहुँचभन्दा बाहिरको कृति बनेको छ भन्ने लाग्छ मलाई ।

‘शुभारम्भका पाइला’ ः सामान्य चिनारी
नेपाली साहित्यका नवउपन्यासकार गोकर्ण मल्लको पहिलो उपन्यास ‘शुभारम्भका पाइला’ कूल ४८८ पृष्ठको आयाममा फैलिएको केही ठूलो आकारको उपन्यास हो । दुई वटा उपन्यास बन्न सक्ने आयतनमा फैलिएको यो उपन्यासको प्रकाशकीय भूमिका र लेखकका मन्तव्यलाई छाडेर गणना गर्दा आख्यानखण्डले कूल ४८२ पृष्ठको आयतन लिएको छ । यसमा फुटकर कथामा जस्तै हरेक खण्डको शीर्षक राखिएको छ । यसभित्र शीर्षकसहितका जम्मा ८२ वटा साना ठूला खण्डहरु छन् । यसभित्र घटीमा एक पृष्ठको आयाम बोकेको ‘नभनुम् नभनुम् भन्दाभन्दै आज भन्नैप¥यो’ देखि लिएर सबैभन्दा लामो खण्ड ‘त्यो संघर्ष सम्झँदाखेरि !’ ले जम्मा २१ पृष्ठको आयाम बोकेका खण्डहरु समेत समाविष्ट छन् । यस्ता असमान खालका खण्डले गर्दा पाठकमा उपन्यासप्रति रुचि होइन, दिक्दारी पैदा गरेको छ ।
उपन्यासको सुरुको खण्डको शीर्षक ‘शुभारम्भ उन्मुख’ राखिएको छ भने अन्तिमका दुई शीर्षकहरु ‘शुभारम्भ तर्फ’ र ‘शुभारम्भ’मा पु¥याएर उपन्यासको विसर्जन गरिएकाले यी शीर्षकका बीचमा अनुप्रास मात्र होइन, सिलसिला समेत मिलाउन खोजिएको छ । खासमा यी तीन खण्डका बीचमा बढी तालमेल पाइन्छ । त्यस्तै ‘जङ्गलमा के ? के ? गर्छन् त्यो हेर्ने नि !’ र ‘खेताल्नी हुन्छु भनेकी उनी त म्याडम पो भइन् !’ जस्ता शीर्षकहरु हास्यप्रधान खालका लाग्छन् भने यस उपन्यासभित्र समेटिएका ‘त्यसपछि अन्यत्र डेराको खोजीमा’ र ‘नयाँ डेरामा सर्दा’ शीर्षकमा पनि डेरावालको पीडा लुकेकाले तादात्म्य पाइन्छ । त्यस्तै गरी ‘मेरो गन्तव्य स्थल प्यारा भन्ज्याङ गाउँमा पुग्दा’, ‘भन्ज्याङ चौतारो, छ अति प्यारो !’ र ‘भन्ज्याङ चौतारो रैछ प्यारो थलो’जस्ता शीर्षकमा भन्ज्याङ शब्दको आवृत्ति भएको पाइन्छ । यसरी राखिएका शीर्षकले उपन्यासलाई काव्यात्मक बनाउन खोजिएको हो कि भन्ने आभास पनि दिन्छ ।
यस उपन्यासमा राखिएका खण्डहरुको शीर्षक एक पददेखि लिएर आठ पदसम्मको लामो खालको वाक्यात्मक खालका पनि छन् । उदाहरणका लागि ‘साथी’, ‘अर्थात’, ‘परिचय’, ‘शुभारम्भ’ जस्ता शीर्षकहरु एक पदीय खालका छन् भने ‘शुभारम्भ उन्मुख’, ‘खेताले साथी’, ‘फूपूको बह’, ‘साथी पर्खिञ्जेल’, ‘शुभारम्भ तर्फ’ जस्ता शीर्षक द्विपदीय छन् । यसमा रहेका ‘मलाई के भएको छ र ?’, ‘पुरै टुहुरा भयौँ’ जस्ता शीर्षक छोटा खालको वाक्यात्मक ढाँचाका छन् भने ‘आकर्षण शक्तिअनुसार तान्ने तानिने भएबाट संसार चल्दोरहेछ’, ‘मेरा दुईवटा आँखामध्ये एकले पूर्व, अर्कोले पश्चिम हेर्ने पो भएछन्’ जस्ता शीर्षकहरु लामा वाक्यात्मक ढाँचाका छन् । यी अधिकांश शीर्षकहरु हेर्दा आख्यानका जस्ताभन्दा पनि संस्मरणका शीर्षकजस्ता लाग्छन् । यसर्थ पाठक उपन्यास पढ्दै छु कि संस्मरण भन्ने द्विविधामा पर्ने छाँट देखिन्छ ।

‘शुभारम्भका पाइला’ले उठाएको विषयवस्तु
कृति के हो ? त्यसमा के छ ? भन्ने कुरा समीक्षलाई भन्दा लेखकलाई बढी थाहा हुन्छ । आफ्नो उपन्यासका बारेमा उपन्यासकार गोकर्ण मल्ल उपन्यासको अन्त्यमा राखिएको लेखकीय मन्तव्य ‘मेरा आद्यान्तका कुरा’मा यस्तो लेख्छन् ः
“लेखिने क्रममा गाउँबस्तीहरु, मेलापातहरु, खेतबारीका आली कान्ला गह्राहरु, बाटाका किनार र घुम्तीहरु, चियापसलहरु, नदीका किनार र कलकलहरु, वनपाखाहरु, पहाडका उकाली ओराली, भन्ज्याङ आदिमा देखिएका, भेटिएका, बोलिएका, पढिएका, सुनिएका, कल्पिएका, सम्झिएका र लेखिएका मनहरुप्रति श्रद्धा सुमन चढाउँछु ।” (पृ. ४८७)
हो, शून्यमा केही सिर्जना गर्न सकिँदैन । देख्दै नदेखेको, भोग्दै नभोगेको र कल्पना गर्नै नसकिने कुरामा लेखक अगाडि बढ्यो भने असफल हुने सम्भावना बढी हुन्छ । यसरी आफूले देखे भोगेका कुरालाई लेखेकाले यो उपन्यास यथार्थको नजिक रहेको छ । यसमा प्रेमकथा छ, जीवन भोगाइ छ, र छ ग्रामीण जीवनको मीठो यथार्थ ।
‘शुभारम्भका पाइला’ उपन्यासका बारेमा लेखक गोकर्ण मल्लका बालसखा, पूर्व सहकर्मी मित्र तथा आशु साहित्यकार धनराज गिरिले सामाजिक सञ्जाल फेसबुकमा यस्तो काव्यात्मक टिप्पणी लेखेका छन् ः
“पक्का हुन् लहडी पढी अघि बढी हे च्याउमाने भनी
कप्ताने सुरमा पुगेर पुरमा आरम्भ आफैं बनी
लेखेको यिनले उही मुलुकको कालो कथा लोकको
पीडा हो उहिले चरित्र खुइले आफन्तको झोकको ।” (स्रोत ः फेसबुक)
हो, लेखौँ कि नलेखौँ, हामी सबैसँग केही न केही दुःख छ, अभाव छ, पीडा छ र छ केही झोंक पनि । यही झोंकलाई हामी साहित्यको लेपन लगाएर प्रस्तुत गर्छौं । यसरी प्रस्तुत गर्दा कहिले कविता बन्छ, कहिले कथा बन्छ, कहिले निबन्ध बन्छ त लामो धैर्य गर्न सक्नेले उपन्यास वा महाकाव्य नै तयार पार्छन् । यसरी तयार भएको उपन्यास हो, ‘शुभारम्भका पाइला’ । यसले नेपाली समाजका विविध विषयवस्तुलाई प्रस्तुत गरेको छ ।
खासमा ‘शुभारम्भका पाइला’ उपन्यास शुभा र आरम्भ नाम गरेका दुई युवायुवतीको प्रेम, जीवन सङ्घर्ष र त्यागलाई मूल कथ्य बनाएको उपन्यास हो । जीवनमा आइपर्ने विविध समस्याका साथै सुधार गृहमा आजका युवा किन पुग्छन् ? भन्ने कुरालाई पनि यसमा चित्रण गरिएको छ । चितवनको रत्ननगरबाट यात्रा सुरु गरेर पहाडी गाउँ प्यारा भन्ज्याङ हुँदै नेपालका विभिन्न पहाडी, भित्री मधेसका साथै काठमाडौँका कथा पनि यसमा सन्दर्भ अनुसार आएको छ । नेपालभित्रका गाउँ ठाउँ मात्र नभएर यो उपन्यासमा विदेशी भूमिको पनि चर्चा गरिएको छ । यसमा आएका घटना वर्णन कथा वा उपन्यास जस्तो नभएर मुख्य पात्र आरम्भले सम्झना गरेका घटनाहरु संस्मरणात्मक रुपमा चित्रण गरिएका छन् ।
घर छोडेर नचिनेको गाउँ घुम्ने र त्यो गाउँको बारेमा अध्ययन गर्ने उद्देश्य राखेर निस्केको आरम्भ नामक पात्रको यात्रा नै उपन्याको उठान हो भने उसले दुई वर्ष गाउँ घुमेर गरेका अनुभव यस उपन्यासका प्राण हुन् । उपन्यासको अन्त्यमा शुभा र आरम्भको मागी विवाह भएको देखाउनु, प्यारा भन्ज्याङ गाउँ पर्ययटीय स्थलका रुपमा विकसित भएको देखाउनु, प्यारा भन्ज्याङ गाउँबाट पलायन भएका युवा गाउँमै फर्केर काम गर्न थालेको देखाउनु, आरम्भसँग सुरुमा भेट भएकी युवती सुमालाको विवाहमा आरम्भ र शुभा गएको देखाउनु आदि संयोग र आदर्श जस्ता लाग्छन् । समग्रमा युवा जोश, जाँगर, देशप्रतिको लगाव, गाउँको माया, ग्रामीण सभ्यताको चित्रण आदि यो उपन्यासले देखाउन खोजेको र उठाउन चाहेको विषयवस्तु हो ।
यस प्रकार ‘शुभारम्भका पाइला’ उपन्यासमा आएका घटनाहरुलाई सर्सती हेर्दा यो कृति उपन्यास वा आख्यान जस्तो नभएर संस्मरण जस्तो लाग्ने गर्छ । हुुन त अचेलको उत्तरआधुनिक लेखनमा विधा मिश्रण र विधा भञ्जनको कुरा पनि गरिन्छ । यो उपन्यास पढ्दा त्यस्तो उत्तरआधुनिक खालको पनि लाग्दैन । तसर्थ यस्ता कुरामा लेखक सचेत नभएको भान पाठकले सजिलै गर्नु राम्रो कुरा भने पक्कै होइन ।

चितवनको उपन्यासयात्रामा ‘शुभारम्भका पाइला’को स्थान
यतिबेला नेपाली साहित्यमा चितवनको स्थान अग्रणी देखिन्छ । यहाँबाट विभिन्न विधाका कृतिहरु नियमित रुपमा प्रकाशित हुँदै आएका छन् । त्यति हुँदा हुँदै पनि उपन्यासका क्षेत्रमा भने अझै यसले आशातीत प्रगति गर्न सकेको छैन । वि.सं. २०३४ मा रामबाबु घिमिरेले ‘रित्तो आकाश’ शीर्षकको उपन्यास प्रकाशित गराएपछि चितवन पनि उपन्यासयात्रामा लम्किएको हो । यो यात्रामा शोभा राना, रविकिरण निर्जीव, हरिहर खनाल, गोवद्र्धन पूजा, सरला जोशी, अमर न्यौपाने, रेशम विरही, भूपिन खड्का, धनराज गिरी, रणेन्द्र बराली, प्रभा बराल, सिर्जन अविरल, सूर्यप्रकाश कँडेल, मनोज अज्ञात, निर्दोष जीवन, सिम्रन क्षेत्री लगायतका पाका र युवापुस्ताका सर्जकहरुले निरन्तरता दिइरहेका छन् । धिकिर धिकिर हिँडिरहेको चितवनको उपन्यासयात्रालाई राजमार्गमा दौडाउने काम अमर न्यौपानेको ‘सेतो धरती’ उपन्यासले गरेको थियो भने त्यही रफ्तारमा दौडाउने काम रेशम विरहीको ‘प्रेमदासको डायरी’, भूपिन खड्काको ‘मैदारो’ र प्रभा बरालको ‘फिलिङ्गो’ उपन्यासले गरेको पाइन्छ । यी सबै उपन्यास तत् तत् कृतिकारका पहिलो औपन्यासिक कृति भएर पनि राष्ट्रिय रुपमा तहल्का मच्चाउन सफल भएका थिए । त्यसरी नै उपन्यासकार गोकर्ण मल्ल पनि आफ्नो पहिलो उपन्यास ‘शुभारम्भका पाइला’ लिएर पाठकका माझमा आएका छन् । आकारका हिसाबले केही ठूलो र शैलीमा संस्मरणात्मकता अपनाइएको यो उपन्यासले पाठकका माझमा कस्तो स्थान लिन्छ ? यसका बारेमा निर्णय गरिहाल्ने बेला भइसकेको छैन कि ?

समापन
सक्रिय शिक्षण पेसाबाट अवकाश लिएपछि साहित्यतर्फ आकर्षित भएका साहित्यकार गोकर्ण मल्लले पहिलो पाइला नै उपन्यासमा चालेका छन् । यसरी चालिएको उनको साहित्यिक यात्रा निरन्तर अगाडि बढ्दै जाओस् । आख्यान लेख्नु र त्यसमा पनि उपन्यासमा कलम चलाउनु सजिलो छँदै छैन । त्यसो त लेख्नु भनेको स्वान्त सुखायः मात्र पनि होइन । लेखेका कुरा पाठकले पढिदिएनन् भने लेखकले लेख्नुको खासै सार्थकता हुँदैन । यसर्थ आगामी कृति लेखेर प्रकाशन गर्नु पूर्व त्यसका बारेमा पनि हेक्का राख्न लेखकलाई सुझाउ दिन्छु । उपन्यासलाई उपन्यासकै ढाँचामा लेख्नका लागि लेखक मल्ललाई आग्रह गर्दै उनको यो पहिलो उपन्यास ‘शुभारम्भका पाइला’को पूर्ण सफलताको कामना गर्दछु । शुभमस्तु ।

अध्यक्ष, अक्षर समूह चितवन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।