15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

दु:ख

कथा बैद्यनाथ उपाध्याय September 4, 2022, 12:21 pm
बैद्यनाथ उपाध्याय
बैद्यनाथ उपाध्याय

पछिल्ला केही दिन देखि मन अशान्त बनिरहेको थियो। उसलाई संसार सबै बेठीक भए जस्तो लाग्न थालेको थियो। सोच विचार गरेर केही गर्न सोच्दथ्यो। तर देख्दछ उसले सोचेको जस्तो केही पनि भै रहेको छैन। यो देखेर उसको मन भडकिने गर्दथ्यो। मनमा विभिन्न किसिमका सवालहरू थिए तर समाधान उसको मनको पहूँच भन्दा धेरै पर थियो। मनमा विभिन्न विचारहरू आई नै रहन्छन। के गर्ने, के नगर्ने, केही ठम्याउन सकिरहेको थिएन।
उसलाई लाग्दथ्यो जिन्दगी एउटा कथा नै हो। मान्छेहरू विभिन्न प्रकारका दुख भोगीरहेकै छन। जानेर पनि आफ्नो मनलाई वशमा राख्न सक्दैन अनि त्यसैलाई उ नियति ठान्ने गर्दछ। आफ्ना छर छिमेकका घटनाहरू माथि विचार गर्दछ। आफ्ना साथीहरूको जीवनका घटनाहरूलाई याद गर्दछ। देख्दछ हिँडेका त थिए सुख पाउन तर दुख सिवाय अरू केही पाएनन।
संसार उपयोगितावादमा चल्दछ। जो अर्काको काम लाग्दछ त्यसैलाई मान्छेले रूचाउँछन। काम आउञ्जेल उसको भरपूर उपयोग गरेर त्यसलाई छोडिदिन्छन। दिन भरी घामले पृथ्वीमा न्यानोपन र प्रकाश छर्ने गर्दछ। तर बेलुका हुने बित्तिकै डूबदै गरेको सूर्यलाई देखेर मान्छेहरू आफ्नो घरको दरबाजा बन्द गर्दछन। संसारमा स्वार्थको कुनै सीमा छैन। जब सम्म आफ्नो स्वार्थ रहन्छ तब सम्म मान्छेहरू कुनै चीजलाई महत्व दिन्छन।
किशोर बहुत राम्रो मिजाज भएको मान्छे थियो। विद्यालयमा शिक्षकको रूपमा काम गर्दथ्यो। पत्रिका हरूमा पनि लेख्दथ्यो। धनवान थिएन, कुनै सुरत ले चल्दथ्यो। थाहा छैन कसरी एउटी केटीले उनलाई मन पराईन। गाँउकै राम्रो धनी घर की छोरी थिईन। गाँउमा आमा बाबुका लागि प्रतिष्ठाको सवाल थियो। त्यसैले शहरमा चिने जानेका साथिहरूको घरमा लुकेर बस्न थाल्यो। केही महीना बिते पछि ती केटी सँग बिहे गरेर गाँउ फर्कियो। सबथोक ठीकै थियो। अचानक राति केटीका घरका मान्छेहरूले उसमाथि हमला गरे। धारिलो हथियारले उस्लाई निक्कै चोट पुऱ्याए। उसलाई बचाउन आएकी केटीको दाहिने हात पनि काटियो। तै पनि उनिहरूको हमला रोकिएन। उनलाई संकटजनक अवस्थामा अस्पताल पुऱ्याईयो। अस्पतालमा उसको स्थितिलाई हेर्न धेरै मानिसहरू आए र गए। अखबारहरूमा घटनाको प्रचार भयो। लैला मजनू को जस्तै अवस्था थियो यी प्रेमी युगलको।
अस्पतालमा मृत्युसँग लडिरहेको किशोरलाई थाहा थिएन यदि उ बाँचो भने फेरि बस्ने कहाँ हो ? उ सँग न धन थियो, न कुनै जायदाद। जे थियो गाँउमै थियो। जबकि अब त्यहाँ बस्नु संभव थिएन, त्यसैले अघिको जीवन जीउने मुसीबत थियो। भाग्यको सबै दुवार बंद भए पनि कहीं बाट कुनै दुवार त खुली जान्छ। धेरै साल पहिले हराएकी दिदी उसको खबर अखबारमा पढेर उस्लाई भेटन अस्पताल पुग्दछिन। यस दुर्घटनाले हराएकी दिदी सँग मिलन गराईदियो। उसलाई डुब्न लागेको मान्छेलाई सिन्को सहारा भए जत्तिकै भयो। धेरै दिनको उपचार पछि उ केही स्वस्थ्य भयो तब तीनै दिदीले उसलाई आफ्नो घरमा आश्रय दिइन। सबै थोक ठीक ठाक छँदा छँदै पनि अचानक त्यो दिन आएको विपत्तिले उसको जीवनलाई नै उल्टो पाल्टो बनाईदियो। अब उस्ले अरूको दयामा गुजारा गर्नु परिरहेको थियो। दिदी का घरमा बस्नु पनि कति दिन...
एकदिन दैनिक पूर्वोदय अखबारमा एउटा विज्ञापन पढदछ। तिनसुकीया र शिलांगमा स्टाफ रिपोर्टर चाहिएको छ। उसले आवेदन गऱ्यो। अखबारका मान्छेहरू सँग परिचय रहेको र उसको दुखद स्थिति जानेर उसको इच्छा अनुसार शिलांगमा स्टाफ रिपोर्टर नियुक्त गऱ्यो। केही दिन दिदीका घरबाटै काम चलायो। तर पछि शिलांगमा कोठा एउटा लियो। त्यहीं कम्प्युटर किनेर डीटीपीको काम पनि गर्ने गर्दथ्यो। साथै शहरका गरीब परिवारका केटीहरूलाई निशुल्क डीटीपीको प्रशिक्षण पनि गराउँदथ्यो। पत्रिका निकाल्ने सपना देख्दथ्यो। शहरको परिवेश। एउटा छोरो जन्मियो। परिवार बहुत राम्रोसँग चल्न थाल्यो। जब जीवनको गति समृद्धि तर्फ हुन्छ, तब सबै आफ्ना हुने गर्दछन। उसमाथि जानलेवा हमला गरेर गाँउबाट विस्थापित गराउने पत्नीका घरका मान्छेहरू पनि आउन जान थाले। उसको समृद्धिले सबैलाई जोड्यो। तर उसकी पत्नीको काटिएको हातले त्यो घटनाको साक्षी दिईनै रह्यो। पत्नी का घरका मान्छेहरूलाई अफशोस हुने गर्दथ्यो आफ्नै कर्म माथि। अब पत्नी पनि पोष्ट अफिसमा सेंविंस एकाउँट को काम गर्न लागेकी थिइन। उसको समृद्धि र खुसहालीमाथि मान्छेहरूलाई ईर्ष्या हुन थालेको थियो। ठूलो छोरोलाई अंग्रेजी स्कुलमा भर्ति गरेको थियो। पत्नी फेरी गर्भवती भईन। जम्ल्याहा छोरा जन्मिए। बच्चाहरूको हेरचाहको लागि कुनै महिलाको सहारा लिनु पर्ने भय़ो। सबैतिर बाट खुसी जिंदगी। किशोर दिनभरी ठूला ठालुहरूको पत्रकार भेलामा जाने गर्दथ्यो। रिपोर्टिंग गर्दथ्यो। पैसा र नाम दुवै कमाएको थियो उसले।
जीवनका बाटाहरू धेरै विचित्र हुन्छन। कहिले जीवनमा हिंडदा हिंडदै मृत्यु तर्फ लम्कन लाग्दछ थाहै हुँदैन। समयले कोल्टे फेऱ्यो। अनि कथा फेरि अर्का तर्फ मोडियो। अचानक गलामा आएको खोकीको समस्यालाई लिएर डाक्टरी जाँच गराउँदछ। डाक्टरले क्षय रोग र कैन्सरको जाँच गरायो। पछि थाहा लाग्यो क्षय रोग र कैन्सर दुवै भएको छ। उसमाथि फेरी मुसीबत को पाहाड खनियो। उ उपचार गराउन भैलोर जाँदछ। त्यहाँ लामो उपचारले गर्दा अखबारले उस्लाई नौकरीबाट निकाली दिन्छ। एकातिर बिमारको उपचारको खर्चा र अर्कातिर बेरोजगारीले उस्लाई फेरि सतायो। उसलाई चाहेर आफ्नो दाहिने हात कटाउने उसकी प्यारी पत्नीले पनि अब उसबाट दूरी बनाउन थालिन। उसको उपचारको क्रममा भेलौर प्रवासको समयमै कुनै एक फौजी सँग रंगरेली गर्न लागिन। एकातिर बिमारको बोझ थियो र ती माथि पत्नीको स्वभाव पनि उसप्रति कर्कश हुन लागो। हिजो सम्म प्यार गर्ने पत्नीको आज व्यवहार बदलियो। हिजोसम्म उसको नौकरी थियो, पैसा उपार्जन गर्दथ्य़ो, सबैथोक ठीक थियो। अब उसको शरीर बिमार छ, नौकरी बाट निकालियो। मान्छेहरूको व्यवहार अब उसलाई अस्ताउन लागेको सूर्यलाई देखेर आफ्ना ढोकाहरू बन्द गर्न लागे जस्तो लाग्न थाल्यो। किशोर लाई लाग्यो प्यार, सगा सम्बन्धीहरू सबै स्वार्थ कै लागि हुन। जब आफ्नो स्वार्थमा कुनै आँच आउन लाग्दछ तब मानिसहरू मुख फर्काउन लाग्दछन। यो उसले कहीं पढेको कुरो हैन, उसले भोगेको जीवनको यथार्थ हो। उ यही स्वार्थपरता को कथा को पात्र थियो।
बिमारले उ असक्त बन्न थाल्यो। अब उ बेरोजगार पनि थियो। उसको उपार्जन पनि बन्द भयो। बच्चालाई अंग्रेजी स्कूलबाट निकालेर सरकारी विद्यालयमा भर्ति गऱ्यो। किरायाको घर पनि छोडनु पऱ्यो। भन्दछन अप्ठ्यारो पनि जब आउँदछ तब आफ्ना सगा सम्बन्धीहरू सबैलाई लिएर आउने गर्दछ। बिमार, असक्त पति र तीन बच्चाहरूलाई छाडेर पत्नी कुनै अर्को मान्छेसँग भाग्दछिन। अब किशोरलाई तीन छोराहरूको भविष्यको चिन्ताले सताउन थाल्यो। उ त आज बा भोलि यहाँ बाट जानेवाला छ। तर साना नानीहरूलाई के गर्ने। आफ्नो बिमारको ख्यालै नगरी नानीहरूलाई लिएर दार्जिलिंग पुग्दछ। आमा बाबु छँदाछँदैं नानीहरूलाई कुनै अनाथ आश्रममा छाडेर आउँदछ। जीवन छ त दुख त हुन्छ नै। तर यस्तो खाल्को दुख पनि कहिल्यै भोग्नु पर्दछ त्यो उसले कहिल्यै सोचेको थिएन। प्यारको नाटक गर्नेवाली पत्नी उसलाई यस विकट अवस्थामा छाडेर गईन। उसको प्यारका निशान तीन नानीहरूलाई अनाथ आश्रममा राखेर आयो। मन दुखी भयो भने संसार सबै फीका लाग्न थाल्दछ। कुनै चीजमा मन लाग्दैन। केही खान पनि मन लाग्दैन। संसारमा सबैतिर दुखै दुख भए जस्तो लाग्दछ उसलाई। नानीहरूलाई अनाथ आश्रममा छाडेर रेल मा सवार भै गुवाहाटी तर्फ लाग्दैछ। रेल को यात्रा त धेरै पटक गरेको थियो उसले। ती दुष्ट पत्नीलाई लिएर पनि धेरै पटक रेलको यात्रा गरेको थियो। तर यो यात्रा भने उसलाई धेरै अचम्मको जस्तो लागिरहेकोछ। न कहीं गएर बस्ने ठाउँ नै छ, न आफ्नो भन्ने अब कोही बचेको नै छ। आफ्ना हुनेहरू, भनिनेहरू सबैको व्यवहार देखिसकेकोछ उसले। यो यात्रामा उसलाई आफ्नै मनले पनि साथ दिई रहेको छैन। मन बारम्बार नानीहरूसँगै फर्किएर गै रहेको थियो। कुनै चिने जानेकाहरू भेटिए पनि त्यही कुराहरू फेरि फेरि बल्झाईनै रहन्छन। दुख भोग्नका लागि उ धेरै दिन सम्म बाँचिरहेन। उ गयो। तर पछि छाडेर गयो दुख र विद्रुपताले भरिएको कथा। यति थोरै समयमा नै उसले जीवन को यथार्थलाई कथा जस्तै बाँचेर गयो। यो किशोरले भोगेको कथा हो। उसको समृद्धि को समयमा उसलाई साथ दिने सबै साथी सँगीहरू पराईको जस्तै व्यवहार गर्न लागे।
यो साँचो घटनालाई कथामा पूनर्जीवित गर्दै जाँदा उसको मन भारी भएर आयो। उ सोच्दछ कथा काल्पनिक कहाँ हो? हजारौं लाखौं मान्छेहरूले भोगेको नियति हो। भन्दछन जुन कुनै बस्तुहरू जुन रूपमा हुनुपर्ने हो, त्यो पहिले देखिनै तय हुने गर्दछ ? के यस घटनाको स्क्रीप्ट पनि पहिले नै लेखिएको थियो? यस्ता धेरै सवालहरू छन जस्ले लेखकलाई बेचैन बनाई राख्दछन। यी घटनाहरूलाई याद गरेर उ विह्वल बन्दछ। कथा अघि जारी रहन्छ। अब किशोर जीवित हुँदै अनाथ आश्रममा छाडेका ती तीन नानीहरू कुन हालतमा छन ? उसकी भागेकी पत्नी अब को सँग र कुन अवस्थामा होलिन ? कथा जीवन सँग सँगै चलिनै रहन्छ। तर कथाकार को पहूँच त्यहाँ सम्म छैन। त्यसैले अघाडिको घटना प्रति कथाकार मौन छन।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।