16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बा

लघुकथा मनोहर पोखरेल September 4, 2022, 12:33 pm
मनोहर पोखरेल
मनोहर पोखरेल

'फेरि बा को लेक्चरर सुरु भयो ।’ फत्फताउँदै ऊ बाहिरिन्थ्यो । बाको अर्ति गालीतुल्य बिझाउँथ्यो । बाको आदर्शले नै उभो नलागेको ठान्थ्यो ।
‘कतै एक टुक्रो खेती, घडेरी जोडेको भए पनि अहिलेसम्म करोडौंको सम्पत्ति हुन्थ्यो ।’ उसले गुनासो गथ्र्यो । बा सधैँ जन्मले होइन कर्मले ठूलो हुनुपर्छ भन्थे । दुखीको सेवा गर्न र इमान्दार बन्न अर्ति दिन्थे । उसको कानमा बतास लाग्दैन्थ्यो ।
शिर झुक्ने काम नगर्न तथा पढ्न र अघि बढ्न उपदेश दिन्थे । सत्यको बाटो छाड्नु हुन्न भनेर सिकाउँथे । उसलाई अर्ति–उपदेशको कुनै परवाह नै थिएन् । अर्ति, उपदेशले विषझैं दिमाग र मनलाई पोल्थ्यो । ‘सधैँ समाज–राष्ट्र भनिरहे, परिवार बिर्से । घरघडेरी, धनसम्पत्ति गाडीगहना केही नि जोडेनन् ।’ ऊ यस्तै सोच्थ्यो । अरुका बासँग तुलना गर्दथ्यो र दुःखी हुन्थ्यो ।
आज ऊ आफैँ पनि दुई सन्तानको बा भएको छ । छोराछोरीका लागि के–के गरे भनेर औला भाँच्न थालेको छ । आफू र बालाई तुलना गर्न थालेको छ । सामान्य परिवारमा जन्मेका बाले उचित शिक्षा पाएका थिएनन् । तथापि उनै बाले दिनरात दुःख गरेर शहरमा पढाए । खुट्टामा उभिन सिकाए । स्वाभिमानी र आत्मनिर्भर बनाए । आफूले पनि छोराछोरी पढाउनु बाहेक केही गर्न नसकेको कुरा गमे ।
उनै बाले छाडेर गएको घरमा तलासम्म थप्न नसकेको मनन गरे । बालाई दोषी देख्ने उसका आँखा खुल्दै गएको छ । बाको अनुपस्थितिमा बाका अर्ति एकएक गरेर याद आउन थालेको छ । बाले छाडेको अमूल्य सम्पतिको बोध भएको छ । बालाई आदर्श मान्न थालेको छ ।

राजविराज– ६, सप्तरी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।