उसलाई कहिलेकाहीं लाग्दछ यस्तो जीवन बाँच्नु भन्दा त मर्नु नै बेस हो। तर मर्नलाई कत्तिको प्रबल चाहना चाहिन्छ त्यो उसलाई थाहा छैन। उसको एक अंतरंग साथीले कति पीरले कसैलाई नभनीकन निर्जन ठाउँमा गएर आत्महत्या गऱ्यो। उ घरि घरि सोच्दछ, आत्महत्या गर्ने मान्छेहरूको मनस्थिति कस्तो हुँदो हो। तर जीवन एक निरंतर प्रक्रिया हो। आत्महत्या कुनै समाधान हैन। त्यसैले उसलाई लाग्दछ जीवनमा आईपर्ने समस्याहरूको सामना गर्नु पर्छ। समस्याहरूबाटै कुनै समाधान निक्लेर आउँदछ भन्ने कुरामा उ विश्वास गर्दछ।
विद्यालयमा काम गर्दा गर्दै यत्तिका वर्ष बिति सके आज सम्म विद्यालय सरकारी भएन। बिना वेतनै जीवन बित्यो। अब उमेर पनि बिति सक्यो। विद्यालय सरकारी नहुँदै सेवानिवृत्त हुनुपर्ने जस्तो भै सक्यो। आफुले पढाएका केटाकेटीहरू कति सरकारी जागिरमा लागि सके। कतिले कृषि, ठेका पट्टा गरेर घर जाम बसाए। उसको पनि घर न बसेको त हैन। स्कुलको मास्टर भनेर उसको बिहे पनि चाँडै भयो। दुईटी छोरी र एक छोराको बाउ पनि भयो। संसार पनि ठीक ठाकै चलेको हो। तर छोरा छोरी बढदै जाँदा उनिहरूको पढाईको खर्च धान्न उस्लाई निक्कै मुस्किल परेको थियो। समय समयमा लिएको ऋणबाट उ कहिल्यै मुक्त हुन सकेन।
मन दुर्बल भै रहेको बेलामा साथमा कुनै विपरीत लिंगीको सामिप्यता उसको लागि जोखिमपूर्ण भएर आउँदछ। विद्यालय कै सहकर्मी युवतीसंग नजानिकन उस्को मन बस्न थाल्यो। घरकी श्रीमतिको व्यवहार र ती प्रेमिकाको व्यवहारमा धेरै फरक देख्न थाल्दछ। किन हो कुन्नि दुवैलाई एक अर्काप्रति नजानिंदो सामिप्यता बढदै गएको अनुभव हुन थालेको छ। विद्यालय सरकारी हुन्थ्यो भने दुवै जनाले वेतन पाउने थिए। संसार धेरै हलुको हुने थियो। समय बदलियो। परिस्थिति पनि बदलियो। शिक्षकहरूले हरेश खान थाले अनि विद्यालयमा विद्यार्थीको संख्या पनि घटदै आयो। अब प्रवेशिका दिने विद्यार्थीहरूको संख्या पनि अवनमित भएर आयो। विद्यालय सरकारी नहुने स्थिति बन्दै आयो। त्यस पछि उसको मन विथोलिन थालेको छ। उ त विवाहित मान्छे। उसकी श्रीमति र छोरा छोरी पनि छन। जसको लागि उसले धेरै थोक गर्नु पर्ने छ। तर उसकी सहकर्मी रेखा भने अविवाहित नै छिन। हुनसक्छ उसैको आशामा रहेकी होलिन।
एक अर्काको कसम नखाए पनि सँधै जसो उनिहरू बाहिर फेर पति पत्नी सरह नै सँगै हिंडने डुल्ने गर्दछन। रेखाको उमेर पनि धेरै भयो। अब उनको जिम्मा त उसैले लिनु पर्ने हो। तर उसको आफ्नै घर ठीक संग चलिरहेको छैन। यस्तो स्थितिमा उस्ले रेखाको जिम्मा लिने कसरी..? पति र पत्नी का बीच रेखाको उपस्थितिले उनिहरूको घरमा सँधै जस्तो अशान्ति भडकिने गरेको छ। श्रीमति पदुमी सोच्तछिन उनको श्रीमानको स्कुल सरकारी नभए नै राम्रो। सरकारी हुँदा वेतन पाउने थियो। हेडमास्टरको वेतनमान पनि उच्चतहको नै हुँदो हो। घर परिवारको ऋण पनि तिरिने थियो। संसार राम्रोसँग चल्ने थियो। यस्तो सोच्नु पर्ने बेलामा उनि यस्तो कसमकसमा छिन कि विद्यालय सरकारी न भएकै राम्रो। दुख गरेरै भए पनि सौता खेप्नु त परेको छैन। वेतन पाउने हुने वित्तिकै रेखा पनि वेतन पाउन थाल्नेछे। तब उसले उनको श्रीमानलाई उनिबाट खोस्ने डर लाग्छ उनलाई। घरमा बढेका छोरीहरू छन। उनिहरूको विहेको कुरो चिन्ता गर्ने बेलामा बाउको प्रेम प्रसंगले घरमा कलह सृष्टी गर्नु कत्तिको युक्तिसंगत हो। पदुमीलाई लाग्छ यो त सरासर अन्याय हो। विवाहमा अग्नी साक्षी राखेर खाएको कसम कहाँ गयो। के यो सब झुट थियो।
तर भवेनको मन भने बेकाबू भएर आउँछ। रेखालाई छाडेर अब जीवनको कल्पना पनि उसको लागि संभव छैन। तर खुलेआम उनलाई स्वीकार गर्न पनि उसको हिम्मत छैन। संसार चलाउनलाई उपार्जन चाहिन्छ। आप्नो परिवार नै चल्न गाह्रो भै रहेको छ। छोरा छोरीहरू पढेर योग्य भए पनि उनिहरूको कुनै जागिर लागेको छैन। जीवन यस्तै अन्योलमा फँसेको छ। त्यसैले आज उसलाई लाग्न थालेको छ यस्तो जीवन बाँच्नु भन्दा त मर्नुनै निको। तर उसलाई लाग्दछ मर्नु कुनै समस्याको समाधान हैन। जीवनमा किसिम किसिमका समस्या त आई नै रहन्छ। सोचेर मन विह्वल हुने गर्दछ। जीवनमा कहाँ गल्ती भयो, उ आज केही भन्न सक्तैन। उसले रेखालाई छक्याई फक्याई गरेर प्रेममा फँसाएको पनि हैन। उ विद्यालयको हेडमास्टर हो अनि रेखा उसकी सहकर्मी हुन। सँधै सँधै पाएको सामिप्यताले दुवैको मनमा नजानिंदो पाराले कुन्नि के के भावनाहरू उब्जिन थालेको हो। रेखालाई भवेनको घरको कुरो थाहा नभएको पनि हैन। मान्छे सायद परिस्थितिको दास हो। परिस्थिति र परिवेशले मान्छेलाई दुर्बल बनाउँदो रहेछ।
जीवन भर काम गरेको विद्यालय सरकारी पनि भएन। रेखाले अरू कसैसँग बिहे गरेर घर बसाउने कुरो पनि सोचिनन। भवेन सँग उनको कुनै वाचा बंधन न भए पनि समाजका आँखाहरूले उनि दुवैलाई लैला मजनु सरह नै सोचने गर्दछन। कसैले खुलेर न भने पनि कहीं छुपेको पनि छैन। भवेनलाई आज भोलि किन हो कुन्नि रेखाको व्यवहारमा शालीन प्यार भएको पाउँछ। घरकी पत्नी पदुमीको व्यवहार भने उस्लाई पटक्कै मन पर्दैन।
किन उसलाई यस्तो लाग्न थालेको हो त्यो उसलाई थाहा छैन। उसकी पत्नीको व्यवहार पनि विवाह पूर्व उसलाई धेरै राम्रो लागेर आउँदथ्यो। विवाह गरे पछि पनि धेरै दिन सम्म उसलाई राम्रै लागेको थियो। पत्नीको व्यवहारमा तब फरक आएको देख्न थाल्यो जब उ प्रति रेखाको व्यवहार सँग दाँजेर हेर्ने गर्दछ। महिलाहरू प्रेमिका हुन्जेल सरल व्यवहार गरिरहेका हुन्छन। जब विवाहित भएर पत्नी बन्दछन तब लोग्नेमाथि उनिहरू हैकम चलाउन खोज्दछन अनि घरमा तनावको स्थिति पैदा हुने गर्दछ। उस्लाई यी कुराहरू थाहा न भएको हैन, तर उसको मनले आज यीनै कुराहरू स्वीकार्न खोज्दैन। स्वीकारे पनि मान्न खोज्दैन।
आकाशमा ताराहरू चम्की रहेकै छन। उत्तर दिशा तर्फबाट कालो बादल लाग्न थालेको छ। संसार अब उसलाई धेरै भारी भए जस्तो अनुभव हुन थालेको छ। मान्छेलाई जीवनमा के के चाहिन्छ, उसलाई थाहा छैन। मन अशांत बनिरहँदा संसार का कुनै चीजले शान्ति दिंदैंन भन्ने कुरो उस्लाई थाहा न भएको पनि हैन। एकलै नदी कीनारमा बसेर उ सोचिरहेछ। ठूली छोरीको विहे पनि गर्नु पर्ने हो। परिस्थिति र परिवेशले साथ दिए पनि रूपयाँ पैसा जोगाड गर्नु अब उसको लागि संभव छैन। अब गरिबीले पनि च्याप्दै ल्याएको छ। समाजमा मान सम्मान पनि घटदै गएको अनुभव हुन थालेको छ उसलाई।
उसलाई रेखाले भनेको कुरो याद आउँछ। म नारी हूँ। मेरो मन दूर्बल भए पनि तिमी त पुरूष मान्छे हौ। किन यस्तो दुर्बलता छाएको तिम्रो मनमा। मनको विह्वलता खुबै बढेर आएको छ। आफ्नै मनले जब साथ दिई रहेको छैन। तब अरूले साथ दिएर के गर्ने, यस्तै लाग्न थालेको छ उसलाई। यो प्रेम हो या मनको विद्रुपता हो उ ठम्याउन पनि सकिरहेको छैन। समस्या बढदै गए पछि उसको घर अब झगडा फसादको अखाडा बन्न लागेको छ। के गर्ने के नगर्ने केही ठम्याउन सकिरहेको छैन। आफ्नो घरमा यत्रो समस्या छ। ती माथि रेखाको प्यारले उसलाई व्याकुल बनाई रहेको छ। जीवनको गुजारा कसरि गर्ने हो।
विद्यालयको स्थिति बिग्रदैं गए पछि उसको सामाजिक प्रतिष्ठा पनि कम्दै गएको अनुभव गर्न थालेको छ। धन सम्पत्तिको कमी भए पछि मान्छेहरूको उस प्रतिको व्यवहार पनि बदलिए जस्तो महसूस हुन थालेको छ। समाजमा दुर्बल हरूको कुनै मान सम्मान र अधिकार पनि हुँदैन। सबैको समान अधिकार इत्यादि इत्यादि किताबी कुराहरू मात्रै हुँदा रहेछन। हिजो सम्म उसको भविष्य राम्रो देख्नेहरूले गरेको व्यवहार र आज स्थिति डाँवाडोल भए पछिको व्यवहारमा निकै फरक लाग्दछ उसलाई। समाज त्यही हो, मान्छेहरू पनि तिनै हुन। तर यत्रो बदलाव किन? यो समाज गरीब दुखीहरूको लागि हैन, यो त केवल धनी र प्रतिपत्तिशालीहरूको लागि मात्रै रहेछ।
उसको यो बदहाल अवस्थालाई देखेर समाजका व्यक्तिहरूको व्यवहार बदलिएको छ। तर रेखाको व्यवहारमा भने कुनै बदलाव उसले देखेको छैन। त्यसले उसलाई आज झनै बिथोलिरहेको थियो। हुन सक्छ उनको आफ्नै मजबूरी होला। उमेर बिते पछि सायद अरू कोही न पाएर पनि होला। फेरि सोच्तछ, हैन रेखा त्यस्तो हुन सक्दिनन। रेखा प्रति उसको मनमा कतै दुर्बलता छ। यस्तो महसूस गरेको छ उसले अनेकौं पटक। अब यो प्रेम प्रसंगले कस्तो गति लिने हो। उ सोच्न पनि सक्तैन। रेखालाई उ अपनाउन पनि सक्तैन। अनि रेखाले अर्कैसंग विवाह गरेको कल्पना सम्म पनि गर्न सक्तैन। यो उस्को कस्तो अवस्था हो मनको, बार बार प्रयास गरेर पनि उ मनलाई काबूमा ल्याउन सकिरहेको छैन।
उ विद्यालयको प्रधान शिक्षक थियो र आज पनि छ। विद्यालय सरकारी नभए पनि उस्ले धेरै विद्यार्थीहरूको जीवन सुधारेको छ। उस्ले बाँचेको समाजमै धेरै विद्यार्थीहरू छन। यस्तो अवस्थामा आफ्नो यो निषिद्ध प्रेम प्रसंगले कस्तो अनैतिकता दर्शाई रहेको होला। यस्तो सोच पनि उसको मनमा बार बार आईरहेको थियो। उसले यस्तो दुर्बल मनस्थिति लिएर घर परिवार सबैमा अन्याय गरिरहेकोछ। मनले सँधै उसैलाई दोषी बनाई रहेथ्यो। विहे गरेर ल्याँउदा पदुमी पनि निकै राम्री थिइन। उनलाई जीवन भर सुखी राख्छु भनेर वाचा पनि न गरेको हैन।
जीवन यस्तै के के विचारहरूको भूमरीमा रूमल्ली रहेको थियो। कति कुराहरूले मान्छेलाई माथि उठाउँछ अनि कति कुराहरूले तल खसाल्छ। यी प्रसंगहरू अरूबेला आफ्नै कक्षाका विद्यार्थीहरूलाई उ उदाहरणहरू दिएर समझाउने पनि गर्दथियो। तर आज तिनै कुराहरू आफ्नै जीवनमा उतार्न नसकेर एक तमासको स्थिति जीवनमा भोग्नु परिरहेको थियो।
रेखा विद्यालयमा समाज शास्त्र पढाउने गर्दथिइन। के के गर्दा समाजमा सुव्यवस्था र सुख समृद्धि आउँछ यस विषयमा विद्यार्थीहरूलाई बताउने गर्दथिइन। आज त्यही समाजमा तिनै दुई आदर्शका कुरा गर्ने शिक्षक र शिक्षिकाको निषिद्ध प्रेम चलिरहँदा समाजमा धेरै खलबली चलिरहेको थियो। तर कसैले मुख खोलेका थिएनन। तिँ माथि भवेन हिन्दू धर्मावलम्बी थिए भने रेखा इशाई धर्म की थिइन। समाजले सहजै स्वीकार्न पनि सक्तैन। तीं माथि तीन तीनवटा विवाहयोग्य छोरा छोरीको बाउ भवेनको प्रेम प्रसंग कसरी स्वीकार गर्ने। उनका बढेका छोरीहरूले यो कुरालाई कसरी स्वीकार गर्लान। निषिद्ध प्रेम भए पनि यो कुरो कसैबाट छिपेको पनि छैन। भवेन की पत्नी, छोरीहरू र छोरालाई पनि यो कुरा थाहा छ।
उसले सुनेको थियो सोच बदलियो भने संसार बदलिन्छ। संसार बदल्नु तर त्यति सजिलो कुरो हैन। धेरै सोच विचारेर कदम चाल्नु पर्ने हुन्छ। दिनभरि नाना थरिका विचारहरू आए, गए। कहीं कतैबाट कुनै समाधानको बाटो भेटेन। हताशाले भरिएको मन लिएर घर फर्किन्छ। उदास उदास ओच्छ्यानमा पल्टिरहेको छ। पत्नी पदुमी पनि छेउमै सुति रहेकी छ। दुवै बीच गुनासोहरूको ठूलो पर्खाल खडा छ। यो स्थितिको लागि एक अर्कामाथि नै उनिहरू दोष थोपरिरहन्थे। तर किन हो आज भवेनको मनस्थिति बदलिएको छ। उसले रेखालाई पत्नीको रूपमा न स्वीकारेर बैनीको रूपमा पनि स्वीकार्न सक्छ। त्यसो गर्दा उसको सम्मान पनि बच्ने, घर परिवारको कलह पनि साम्य हुने। विचार त मनमा ठीकै आएको हो। तर त्यस्लाई व्यवहारमा ल्याउन सकिने हो कि हैन। उस्ले मनीषिहरूले भनेको कुरो पढेको थियो- मान्छेले चिंता हैन चिंतन गर्नु पर्छ। राम्रो कुराको चिंतन गऱ्यो भने समस्याको समाधान पनि संभव हुन सक्छ। आज उसलाई लागेको छ उसले रेखाको हाड छालालाई त्यत्रो प्राधान्य किन दिएको छ। अब उसो पदुमीलाई नै पत्नीको रूपमा माया गर्नेछ। उसैलाई लिएर अगाडि जीवन बिताउने छ। काम वासनाको लोभमा परेर नै सबै समस्या भएको रहेछ भन्ने उसलाई लागेको छ।
यत्रो दिन हिंडेको बाटो नै गलत भएको जस्तो लागो उसलाई। गौतम बुद्धको वचन याद आउँछ। सही मार्गको पत्तो लगाएर अगि बढ्यो भने उ त गंतव्यमा पुगिनै हाल्छ। उसले आफ्नो क्षणिक सुखलाई ध्यान दिनुनै गलत भएको रहेछ भन्ने ठान्यो। अब उसो आफैं प्रति इमान्दार बन्नेछ। जीवनमा गरेका गल्तीहरूको प्रायश्चित्त गर्नेछ। सोच विचारहरूमा परिवर्तन ल्याउने छ। घरि घरि उसलाई लाग्दछ यसो गर्नु उसबाट संभव छैन। तर मनलाई वशमा ल्याउनु पर्छ, भन्ने लागेको छ उसलाई।
आज धेरै दिन पछि पत्नी पदुमीलाई माया गऱ्यो। पतिको यस्तो व्यवहार देखेर पदुमी पनि अचम्भित भई। विहान चाँडै उठ्यो। गाँउको नदी किनारमा पुग्यो। बिभिन्न छेका बारहरू भए पनि नदी आफ्नै गतिमा बगिरहेकै थियो। उसको बचपन र जवानी को साक्षी नदीको गतिसँगै आफ्नो जीवन पनि बगिरहेको देख्यो उसले। क्षितीजमा अँध्यारो छँटदै आयो। पूर्व आकाशमा सूर्यका किरणहरूले उज्यालो छर्न थाले। आजको यो सूर्योदयले उसको लागि एक नयाँ आशाको सञ्चार लिएर आउने छ। हुन त जीवनमा उस्ले कयौं पल्ट सूर्योदयको दृश्य देखेको छ। सोच बदलिंदा कसरी सम्पूर्ण जीवन नै बदलिंदो रहेछ, यो कुरो उस्लाई आज मात्रै थाहा लागेको छ।