धर्तीपुत्र हुँ म युगानुयुग
धराको रखवाला बनेर डटिरहेछु,
नील गगनको विराट छाता ओढेर हिडिरहेछु।
छाता चुहेर जब ममाथि बर्षा हुन्छ,
म रुझ्दै, रमाउदै औजार चलाउदै,
माटोमा मोतीका दाना छर्ने गर्छु।
म माटोमा सुनका टुक्रा उमार्ने गर्छु,
म धर्ती सिँगार्ने अलङ्कार
माटोमा फलाउने गर्छु।
आहा! क्या मनोरम हराभरा वसुन्धरा!
ढकमक्क फलेका छन् खेतका गरा।
कलकल जलधारा धराका निर्मल छहरा।
फलेछन् कतै चन्द्रहार, कतै हातका बाला,
कतै लुर्कना त कतै गलामा सप्तरङ्गी माला।।
धर्तीपुत्र हुँ म युगानुयुग
धराको रखवाला बनेर डटिरहेछु।
नील गगनको विराट छाता ओढेर हिडिरहेछु।।
छाता छेडेर जब ममाथि
घामका तप्त किरणले पोल्छ,
पिल्छिएको पर्वाहै नगरि
धर्ती सिँगार्ने जोसमा हुन्छु,
म पसिनाले रुझ्दै, हास्दै हसाउदै औजार चलाउदै,
माटोको खजाना खोतल्ने गर्छु,
फलेका सुनका दाना बटुल्ने गर्छु।
मलाई लाग्छ- आकाशका तारा के तार??
मेरा हरेक बोटमा फल्छ लाखौंका तारा।
आहा! क्या जगमग सुनौलो वसुन्धरा!
नजर फिजाई हेरिरहनु
टाढासम्म अनुपम धरा।।
लुटेरा आएर सखाप पार्छकि खेतका गरा, सोचिरहेछु,
निर्मल छहराको जलधारा पिउदै खटिरहेछु,
धर्तीपुत्र हुँ म युगानुयुग
धराको रखवाला बनेर डटिरहेछु,
नील गगनको विराट छाता ओढेर हिडिरहेछु।।
भोलाझार, आसाम, भारत ।