17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

समकालीन भारतेली नेपाली कथामा अभिघात चेतना

विचार डा. राजकुमार छेत्री September 10, 2022, 3:50 pm

साहित्य लेखनमा अभिघात चेतना र यसको प्रयोग
भय र आतङ्कबाट उत्पन्न हुने शारीरिक एवम् मानसिक विचलनका अनेक स्थितिहरू हुन्छन्, त्यही स्थितिलाई अभिघात शब्दले बोध गर्दछ। यो एक प्रकारको पक्षाघातको, विचलनको, असन्तुलनको, विस्मृतिको स्थितिमा पुग्ने अवस्था हो। (भट्टराईः २०६४: २२६) यसले शारीरिक क्षति र असन्तुलनलाई मात्र नबुझाएर मानसिक, वैचारिक र मनोवैज्ञानिक अवस्थालाई समेत बुझाउँछ। वर्तमान समयमा अभिघात शब्दले एउटा व्यक्तिले भोगेका मानसिक आघातदेखि लिएर सामूहिक वा सार्वजनिक जीवनसम्मलाई स्पर्श गरेको हुन्छ। यौनदुराचारी र विभिन्न प्रकारले शिकार बन्न पुगेका मानसिक रोगीहरू लगायत सबै प्रकारका आघातभोगीहरूलाई यसै सिद्धान्तअन्तर्गत राखेर अध्ययन-विश्लेषण गर्न सकिन्छ। वास्तवमा यस सिद्धान्तलाई मानवमनोविज्ञानकै एउटा अध्ययन परिपाटीको रूपमा लिइन्छ। आज विश्वका धेरैजसो उच्च शैक्षिक संस्थानहरूमा साहित्य सिर्जना र समालोचना क्षेत्रमा अभिघात चेतना र यसका परिणामहरूबारे अध्ययन-अनुसन्धान हुँदै आइरहेको छ।
वास्तवमा भनौं नै भने युद्ध-साहित्य एकप्रकारको पीडा-लेखन पनि हो, जहाँ ती दुःख र भयप्रद मानिसले भोगेका र अनुभव गरेका त्रासद स्थिति, आतङ्क, विध्वंश, पीड़ानुबोध, असुरक्षाको भावना तथा अवसाद र वेदनाका अभिव्यक्ति बढी मात्रामा प्रस्तुत देखिन्छ। यसले सदैव पीडा, मृत्युचेतना र अन्तर्वेदनालाई साथ दिन्छ। युद्धले सिर्जना गरेको अभिघातिक अनुभूतिलाई अन्य कुराहरूले भन्दा साहित्यले नै बढी सुरक्षित राख्न सक्छ। घात, प्रहार, चोट, धक्का, आर्तनाद, वेदना आदि जस्ता अर्थ सम्प्रेषण गर्ने शब्द अभिघातले बाह्य र आन्तरिक दुवै अवस्थामा प्रभाव पार्छ। वास्तवमा आन्तरिक भयकै कारण मानिस धार्मिक, आर्थिक, वैचारिक, मानसिक, मनोवैज्ञानिक र सांस्कृतिक अभिघातको सिकार हुन पुग्छ। अभिघात, संङ्घात, आघात वा व्याघातका नामबाट परिचित हुन सक्ने यो चिन्तन समालोचना चिन्तनका क्षेत्रमा अभिघात सिद्धान्त-(trauma theory)-का नामबाट आजको समालोचना साहित्यजगतमा परिचित बनेको छ।( सुवेदीः२०६८, पृ. १४१) वास्तवमा मानसिकलाई कुनै पनि प्रकार चाहे त्यो मानसिक रूपमा होस् चाहे त्यो शारीरिक रूपमा चोट पुर्‍याउने किसिमको पीडा नै अभिघात हो। अतः अभिघातले हिंसा, भय-त्रास, सन्त्रास, ताडना र करूणाका आन्तरिक र बाह्य दुवै अवस्थामा अत्यन्त गहिरो प्रभाव पारेको हुन्छ ।

भारतमा लेखिएका नेपाली कथामा अभिघात चेतना-
कथाकार बद्रीनारायण प्रधानको प्रतिहिंसा, अवैध स्नेह, च्याँउखिरी र बर्माको जङ्गल, तिलक राईको युद्धको कलमले जन्माएको मानवताको कथा, बसन्तकुमार राईको आतङ्कवादी वशीर अन्सारी, उदय सुब्बा ‘गोर्खा'को प्रतिवादको लामो जुलुस, रामबहादुर राईको हड़ताल, भगीरथ रावतको आन्दोलन, चन्द्र शर्माको धरतीको माया, समीरण छेत्री ‘प्रियदर्शी'को आत्महत्या, फलेकको कच्चा साँघु, धनबहादुरको लौरो, कालो झोला, नन्द हाङखिमको आन्दोलन छ्यासी, युद्धको क्यानभासमा मान्छेको तस्वीर, पर्खाल, ऐन श्रृङ्खला, सिद्धार्थ राईको युद्धस्थल, महानन्द पौड्यालको हवलदार, हरीश मोक्तान अल्लरेको आन्दोलन जारी छ, भविलाल लामिछानेको आतङ्कवादी, रूपनारायण सिन्हाको विध्वस्त जीवन, गुप्त प्रधानको पराकाष्टा चिन्हारीको, त्राहि माम्, आवरणले छोपिएको मान्छे, खोलाहरू यसरी बग्दैछन्, ट्राफिक जाम, बी. योञ्जनको आन्दोलन, लाशको आन्दोलन, जिउँदो शहीद, सञ्जय विष्टको पुल, राजयोग नपरेका युवराजहरू, छुदेन काविमोको १९८६, प्रकाश हाङखिमको मिसन एसएलजी, प्रजातन्त्रको हार, आफ्नो हिस्साको जिम्मेवारी आदि शीर्षक कथाहरूमा प्रत्यक्ष परोक्ष धेरथोर जुनै रूपमा भए पनि भय आतङ्क, मानसिक पिडाबोध, अवसाद आदि जस्ता अभिघात चेतनाका अभिलक्षणहरू देखा पर्छन्। यी कतिपय कथाहरूमा द्वन्द्व र युद्घका नकरात्मक प्रभावहरूले गिजोलेको सामाजिक, मानसिक र वैचारिक स्थितिहरूलाई अत्यन्त मार्मिक र यथार्थढङ्गमा प्रस्तुत गरिएको भेटिन्छ। यस किसिमका कथाहरूको अध्ययन- विश्लेषण गर्न निम्ति अभिघात सिद्धान्त उपयोगी हुने हुँदा यसै सिद्धान्तका आधारमा केही प्रमुख कथाहरूको मात्र अध्ययन-अनुशीलन गरिएको छ। यस सङ्गोष्ठी पत्रमा गुप्त प्रधानको समयका प्रतिबिम्वहरूबाट पराकाष्टा चिन्हारीको, नन्द हाङखिमको सत्ताग्रहणबाट आन्दोलन छ्यासी, बद्रीनारायण प्रधानको सङ्गतबाट प्रतिहिंसा, बी. योञ्जनको आन्दोलनबाट आन्दोलन, तथा समीरण क्षेत्री 'प्रियदर्शी'को निर्माणको रात सङ्ग्रहबाट आत्महत्या शीर्षक कथाहरूलाई दृष्टान्तका रूपमा लिइएकोछ।
भारतमा लेखिएका एकाध नेपाली कथाहरू समसामयिक चेतना र अभिघात द्वन्द्वचेतनाले अभिप्रेरित मात्र होइन यथार्थ जीवनको अनुभवमूलक समेत बनेका छन्। त्यी कथाहरूले हाम्रो आफ्नै घर-आँगन, आफन्त र छिमेकी, आफ्नै शाखा-सन्तान, दाजुभाइ-दिदीबहिनी तथा बाबु-छोराहरूले ती काला दुर्दान्त कष्टका दिनहरूमा भोगेका तनाव र अवसादका अर्न्तवेदना, अमानवीय पीडा र साङ्घातिक हमलाका क्षतविक्षत जीवनआदर्शहरूलाई केन्द्रभूमिमा राखेर कथ्यविषयवस्तु निर्माण गरेका छन् । यस किसिमका कथाहरूमा मानसिक आघातका गहिरा चोटका खाटाहरू बसेका हुन्छन्, जो चाहेर पनि कहिल्यै निको हुन सक्तैनन्। सन् अस्सीको दशकमा विशेष उद्धेश्यलाई अघिराखेर गरिएको हाम्रो जातीय अन्दोलनको सकरात्मक प्रभावभन्दा नकरात्मक प्रभाव समाजको सबै तहमा प्रत्यक्ष-परोक्ष रूपमा परेको देखिन्छ। प्रत्येक घटना-दुर्घटनाको परिणाम-दुष्परिणाम घटना घटेकै समयभन्दा केही समयपछि अझ टड्कारो भएर देखा पर्ने गर्छ। साधारण जनमानसमा भन्दा सर्जकहरूलाई अलिक बेग्लै किसिमले गहिरो रूपमा प्रभाव पार्ने हुनाले यसै अनुरूप त्यी सर्जकहरू आफ्ना सिर्जनाहरूमा प्रस्तुत हुने गर्छन्। त्यस समयको जन आन्दोलनले जातीय हीत र सामूहिक स्वार्थलाई आफ्नो महत् उद्देश्यभित्र समेट्न खोजेको भए पनि व्यक्तिगत स्वार्थ, अदूरदर्शिता र बलियो नेतृत्वको अभावको कारण आन्दोलन आफैमा सिमित र व्यक्तिकेन्द्री हुँदै गयो। आन्दोलनको नाममा हामीहरू आफै-आफ नासिने-मासिने, टुक्रिने र भत्किने काममा निरन्तर लागिरह्यौं। अतः सामूहिक स्वार्थभावले गरिएको आत्माचिन्हारी र जातीय अस्तित्वको लँड़ाई भए पनि यसले जन्माएको बेरोजगारी र अनिश्चितता, अन्योल र अराजकता, निर्ममता र बर्बरता, नृशंसता र अमानवीय विभिन्न प्रकारले मानसिक आघात सिर्जना गरेर बौद्घिक दिवालीयपनको मात्र परिचय दिने काम हुन सक्यो ।
कथाकार गुप्त प्रधानको पराकाष्ठा चिन्हारीको कथामा छ्यासीको आन्दोलनले साधारण निर्दोष जनतालाई अनाहकमा आफ्नै दाजुभाइ र राज्य प्रशासनबाट सताएको, उनीहरूले आफूखुशी सास फेर्न समेत नपाएको उकुसमुकुस स्थिति, अत्यन्त जोखिमपूर्ण र सम्वेदनशील समयको यथार्थ चित्रण अङ्कन गरिएको छ। जातीय अस्तित्वको निम्ति गरिएको आन्दोलनको निहुँमा आफ्नै दाजु-भाइमा काटाकाट र मारामार, व्यक्तिगत स्वार्थ, रिस-इबी बोकेर कति निर्दोषहरूलाई गाउँघरबाट उच्छेद गरिएको, भौतिक सम्पत्तिको मात्र होइन र शारीरिक र मानसिक रूपमा पनि विभिन्न प्रकारका सन्त्रास र आघात बेहोर्नु परेको समयको प्रतिविम्ब र प्रतिध्वनि यस कथामा पाइन्छ। कथामा कथाकार (कथाकथक)को यस अन्योलपूर्ण परिस्थिति र गतिविधिबारे यस किसिमको टिप्पिणी रहेको देखिन्छ- ‘निर्ममता, निर्दयता र बर्बरताले जति उचाई टेक्न सक्यो उति नै यो आन्दोलनले सफलता हासिल गरेको मान्यतामा नै सबै सन्तुष्ट छन्। ...हो रहेछ, आगोले मान्छेको साइनोलाई नचिन्दोरहेछ। त्यसकारण, कतै रातो ता कतै हरियो चश्मा लगाउँदै आफ्नैहरूको घर र सम्पत्ति अधिक मात्रामा जलाउन र ध्वंश पार्नुलाई नै आन्दोलन भनिने गरिएको यो निर्ममतापूर्वक कौतुकहरूको खेलमा मान्छेको संवेदनशीलता जति पनि सबै नै फाँडिएको छ-...वीरता प्रदर्शन भइरहेछ घरिघरि हाम्रो मुलुकमा एउटाको खुकुरीले अर्काको घाँटी पार गरेर। चिन्हारीको खोजमा लागेकाहरू यसरी चिन्हारी प्रकट गर्न उत्सुक छन् वरपर सबैतिर नै।’ यस कथामा मान्छेले मानवता विर्सेर अमानवीयताको हद नाघेको यथार्थ वस्तुस्थितिलाई अङ्कन गरिएको छ।
प्रस्तुत कथामा एउटा निरीह र निर्दोष बाबुले आफ्नै छोराको शरीरको मासुसित भात खाँदैछु भन्ने कुरो समेत स्वयमलाई पनि थाहा छैन। कथामा गृहद्धको सन्दर्भ, कारूणिक भयप्रद र बर्बर अभिघातिक दृश्यले कथा बुनिएको छ। यस कथामा आशङ्का, भय-त्रास, मानसिक प्रताडना र तनाव, आतङ्कको अन्तिम रूप भेटिन्छ। कथाकार प्रधानले आफ्ना कतिपय कथाको आघातमूलक घटनाको विकास पहिल्याउनमा निकै मेहनत गरेका छन्। कथामा निर्दोष पात्रहरू पनि भय र आतङ्कबाट विभिन्न कारणले सताइएका छन्, पिरोलिएका छन्, पिल्सिएका छन्। आतङ्कमय परिवेशको सिर्जना गरी त्यस चक्रव्यूहमा अनाहकमा ज्यान गुमाउने निर्दोष युवा जीवन र उसको मृत्युतुल्य जीवन बाँचिरहेको उसको वृद्ध पिताले भोगेको कारूणिक, दुःखद, अमानवीय अवस्थालाई मार्मिक ढङ्गमा प्रस्तुत गरिएको छ।
कथाकार नन्द हाङखिमको आन्दोलन छ्यासी शीर्षक कथाको वस्तुस्रोत हाम्रो जातीय आन्दोलन र आन्दोलनको नाममा भए-गरेका विभिन्न अमानवीय र अपराधिक गतिविधिहरूले क्षतविक्षत र तहसनहस बनाएको आन्दोलनकालीन समय र आन्दोलनपछिको दार्जीलिङे नेपाली समाजलाई बनाइएको छ। यस कथामा भौतिक र शारीरिकभन्दा पनि मानसिक आघातले विथोलिएका, तड़पाइएका, लथालिङ र भताभुङ्ग पारिएका पात्र चरित्रहरूको विशेष सहभागिता रहेको देखिन्छ। विशेषगरी प्रगतिवादी विचारधारालाई निकै महत्व दिएर कथा लेख्ने हाङखिमका कथाहरूमा युद्ध र युद्धको विभीषिका, अन्तर्जलन र पीडा, सङ्घर्ष र सङ्कटापन्न स्थितिलाई मुख्य वस्तुस्रोतको रूपमा ग्रहण गरिएको भेटिन्छ। उनले सन् १९७० को दशकमा प्रकाशित आफ्नो कथासङ्ग्रह उन्मुक्तिको आमुखमा मान्छेको अस्तित्व राजनैतिक ताप र चाप, नैतिक स्खलनको चरमबिन्दु, टेक्नोक्रेटिक समाजमा यान्त्रिक अनुभव र अस्तित्वहीनता, अन्तरात्मामा रहेका अनौठा अनौठा अमूर्त प्रक्रिया र रूपहरू, अपराध महसूस, मृत्युबोध र युद्धको विभीषिका...लाई सकेसम्म आफ्ना कथाहरूमा उतार्ने कुरो उल्लेख गरेका छन् जुन कुरो आज पनि त्यतिकै सान्दर्भिक रहेको देखिन्छ। सन् २०१२ सालमा प्रकाशित सत्ता ग्रहण कथा सङ्ग्रहमा सङ्गृहीत एकाध कथाहरूमा कथाकार हाङखिमले द्वन्द्व र युद्धचेतना, विभिन्न प्रकारको युद्धको विभीषिकाले तहसनहस बनाएको जनजीवन तथा मानिसमा संवेदना शून्यताको स्थिति, मानवीय मूल्य-मान्यता र अस्तित्वहीनता तथा प्रताड़ित मानसिकताको जर्जरित अवस्थालाई दर्शाएका छन्।
हाङखिमको प्रस्तुत कथाले छुट्टै प्रान्तको आन्दोलनको नाममा भएका असामाजिक र अपराधिक कार्यकलापलाई निकै मार्मिक र रहस्यमय ढङ्गमा प्रस्तुत गरेका छन्। गोर्खाल्याण्डको आन्दोलनमा विशेषगरी सामान्य जनजीवन अन्याय अत्याचारमा परेर पिसिएको मिचिएको, विभिन्न प्रकारका निहुँ झिकेर अनाहकमा सताइएको, प्रताड़ना दिइएको, निर्दोष निरीह मानिसहरूले पटक पटक असामाजिक कार्यकलाप र अपराधका शिकार बन्नु परेको घटनास्थितिलाई अत्यन्त कोमल मार्मिक ढङ्गमा प्रस्तुत गरिएको छ। अतः यस कथामा राज्य प्रशासनको अकर्मण्यता, रक्तपिपासुहरूको अमानवीयता, बर्बरता र क्रूरता, मानसिक प्रताडना, वैचारिक, शारीरिक र भौतिक क्षय, संवेदनशून्यता अन्धता र पाशविकता आदि जस्ता अत्यन्तै त्रासद-कारूणिक एवम् भयाक्रान्त परिस्थितिमा जीवन बाँच्ने इच्छाहरू पनि क्षत-विक्षत भएर उठ्नै नसक्ने गरी लडेको वस्तुस्थितिलाई अत्यन्त यथार्थ ढङ्गमा प्रस्तुत गरिएको छ। यस कथामा मानसिक पीडा, सन्त्रास र अमानवीयपनले हद नाघेको स्थितिलाई दर्शाइएको छ। अतः जातीय अस्तित्व र माटोको आन्दोलनको नाममा धेरै निर्दोष, निरापराध मानिसहरू क्रूरता र अपराधका बेअर्थ शिकार भएकाले यी कथाहरू अपराधको पराकाष्टा दर्शाउन सफल बनेका छन्।
वी.योञ्जनको आन्दोलन र लाशको आन्दोलन शीर्षक कथाहरूलाई यस परिप्रेक्ष्यमा अनुशीलन गर्न सकिन्छ। उनको आन्दोलन कथाका कथानायक बीरे, उसकी स्वास्नी र विरामी छोरो पप्पु, बीरेको आप्पा आदि मुख्य सहभागीको रूपमा भेटिन्छ। यस कथा साँच्चै मार्मिक र वेदनामय प्रकृतिको छ। कुनै एउटा चियाबगानमा काम गर्ने निरीह बाबुको चारभाइ छोराहरूमध्ये माध्यमिक उत्तीर्ण गरेको साँहिलो छोरो बीरेलाई घरको आर्थिक स्थिति सम्हाल्न कमानमा काम गर्न जानुपर्ने भन्ने आशयको बाबुको प्रस्ताव थियो। तर घरमा एकप्रकार विरोध नै गरि पढ्नका निम्ति शहर पस्छ अनि दुःख कष्ट सहेर पनि बी.ए. सम्म पढेर एउटा किरानी काम गर्दै श्रीमतीसहित छोरो पप्पुलाई लिएर शहरको एउटा सानो किरायाको कोठामा जीवन निर्वाह गर्न बाध्य बन्छ। आफ्नो घरपरिवार-शाखा सन्तानसित निकै लामो समयसम्म सम्बन्ध नरहेपछि गाउँ घरको कुनै पनि समाचार उसलाई थाहा हुँदैन। एकदिन अचानक बाबुबाट गाउँकै हाइस्कूल पढ्दै गरेको कान्छा भाइ श्याम छात्र आन्दोलनमा अनाहकमा शहिद भएको, जेठा दाजु हर्के र माइला दाजु चन्द्रे पनि मजदुर सङ्गठनमा सक्रिय भएको निहुँमा दुवै जेल परेको अनि आमा भोगले भन्दा पनि रोग र शोकले निकै थलिएको कुरा सुन्छ। यसमा उसको पारिवारिक अवस्थालाई तहसनहस क्षतविक्षत बनाउनमा नेता भनौदाहरूको अरिपक्ववता, सरकारको कोल्टे दृष्टि तथा सामाजिक आर्थिक राजनैतिक विडम्बनाप्रति तीव्र व्यङ्ग्य प्रहार गरिएको छ। प्रस्तुत कथा सुरूदेखि अन्तसम्म विषाद त्रास र अन्तरपिडाले साँच्चै मर्मान्तक बनेको छ।
बद्रीनारायण प्रधानको प्रतिहिंसा शीर्षक कथा विशेष रूपमा लोग्ने स्वास्नीबीच पनि एककिसिमको चिसोपन आएकोले आन्तरिक अभिघात चेतना प्रबल रूपमा अभिव्यक्त छ भने भोटाङ सरकारको अमानवीय व्यवहार, क्रूर सिपाहीहरूको थिचोमिचो, अन्याय अत्याचारको फलस्वरूप युगौंदेखिका खाँटी भूमिपुत्र भोटाङका नेपालीहरू प्रवासिनु परेको दुःखपूर्ण मर्मान्तक घटनास्थितिलाई कथ्यआधारभूमि बनाइएको छ। कथाकी मूलपात्र इन्दुमतीलाई उसको श्रीमान चन्द्रे नभएको मौका छोपेर भोटाङ सरकारको पुलिस अधिकारी डासोले बलात्कार गर्छ,जसको फलस्वरूप इन्दुमती गर्भवती बन्नपुग्छे। आफ्नो पेटमा हुर्किँदै गरेको नजायज बच्चालाई जन्माउन चाहन्न तर उसको लोग्ने चन्द्रे भने यस घटनालाई लुकाउन छुपाउन चाहन्छ र इन्दुमतीलाई पनि चुपचाप बसौं भन्ने प्रस्ताव दिन्छ। तर आत्मस्वभिमानी र अन्याय अत्याचार सहन गर्न नसक्ने इन्दुमतीको स्वाभिमानले यस्तो कुरा पचाउन सक्तैन। आखिरमा भोटाङबाट आफ्नो ज्यानमात्र बचाएर नेपालस्थित बेलडाँगी शरणार्थी शिविरमा शरण लिन पुग्छे। विभिन्न प्रकारको मानसिक शारीरिक सङ्कष्ट झेल्दै फेरि एकपल्ट आफू जन्मीहुर्कीबढी गरेको मातृभूमिमा पाइला टेकेर आफू र आफ्नो परिवारलाई शारीरिक, मानसिक अन्याय अत्याचार गर्ने पुलिस अधिकारी डासोको घिनलाग्दो कर्तुतलाई उदाङ्गो पार्दै बदला लिने धृष्टता राखेर आफूसित केही साथीहरूलाई पनि लिएर आफ्नो घर भोटाङ पुग्छे। तर क्रुर भोटाङे सिपाहीहरूको गोलीको शिकार बनेर आफ्नो जन्मभूमि भोटाङको माटोलाई सिरानी लगाइ अन्तत सहिद बन्छे। यस प्रकार प्रस्तुत कथामा विभिन्न प्रकारका मानसिक र शारीरिक आघातहरूको अत्यन्त मार्मिक र जीवन्त वर्णन गरिएको पाइन्छ।
समीरण छेत्री 'प्रियदर्शी'को आत्महत्या शीर्षक कथामा मृत्युबोध र अभिघात चेतना अभिव्यक्त भएको छ। यस कथामा दार्जिलिङ जिल्लामा भएको गोर्खाको अस्तित्वको आन्दोलन अर्थात् सन् १९८६ मा चरमबिन्दुमा पुगेर टुङ्गिएको गोर्खाल्याण्डको आन्दोलन सबै गोर्खाहरू एकत्रित भएर सरकारसित गर्नुपर्ने आन्दोलन तर कसोकसो आफैआफमा, आफ्नै घरपरिवार, दाजुभाइमा काटामार, तल्लो गाउँकाहरूले माथिल्लो गाउँका तथाकथित पार्टीविरोधीहरूको घर, स्कूल र सरकरी कार्यलयहरू जलाएर आगो ताप्ने जस्ता अत्यन्त दुःखपूर्ण र सन्त्रासपूर्ण आन्तरिक कलह र युद्धले भयानक रूपधारण गरेको थियो। सहोदर भाइले आफ्नै दाजु बाबु काकालाई समेत राजनैतिक निहूँमा जिउँदै जलाएको, दफन गरेको घरपरिवारको अवस्था क्षतविक्षत, तहसनहस बनाएको सन्त्रासमय स्थितिलाई अत्यन्त जीवन्त ढङ्गले दर्शाइएको छ।
प्रस्तुत कथामा मूल चरित्र मदनको मृत्युको नजिक पुग्दा बिस्तारै बिस्तारै उभित्रको मृत्युको भय, सन्त्रास एकदमै अप्रभावी बन्न पुग्छ। मृत्युलाई दार्शनिकहरूले सर्वाधिक महत्वदिएका छन्। अस्तित्ववादी दार्शनिक हाइडेगरको मतानुसार मृत्युको भयभित्र मानिसले आफ्नो अस्तित्वको महत्व बुझ्छ र मृत्युलाई अपरिहार्य ठानेर सहर्ष सप्रेम स्विकार गर्दछ। कथामा मृत्युसित मदनलाई कुनै पनि भय छैन बरू जतिसक्दो चाँडो मृत्यु प्राप्त होस् भन्ने उ चाहन्छ। यस कथामा जातीय मुक्ति आन्दोलन अर्थात् गोर्खाल्याण्ड प्राप्तिको सङ्घर्षका क्रममा यहाँ भएका विभिन्न अपराधिक क्रियाकलाप र विकृतिको एउटा अँध्यारो पाटोलाई कथाकार प्रियदर्शीले निकै कलात्मक यथार्थ र तटस्थतासाथ, सूक्ष्म निरीक्षणद्वारा आख्यानीकरण गरेका छन्।(श्रेष्ठः२०६४ ४६२) उनको फलेकको कच्चा साँघु कथामा पनि आत्महत्या कथामा जस्तै एउटा असाह्य निरीह पात्रले बेअर्थ भोगेको सङ्कटापन्न क्षणमा आफ्नो अस्तित्वचेतना र मृत्युबोध अभिव्यञ्जित छ। अतः यी कथाहरू भौतिक र शारीरिकभन्दा पनि मानसिक आघातलाई केन्द्रीय कथ्यभूमि बनाएर लेखिएका छन्।

निष्कर्ष एवम् मूल्याङ्कनः
द्वन्द्व र युद्ध एउटै कुरा नभए पनि तर दुवैमा एकप्रकार नजिकको सम्बन्ध रहिआएको छ। युद्ध र मानवीय प्रकृतिबिच के कस्तो सम्बन्ध हुन्छ तथा आजसम्म हुँदै आइरहेको विभिन्न प्रकारको युद्ध हुनमा मानिस के कति जिम्मेवार छ, युद्धको घोषणा गर्ने वैधानिक आधार कोसित अनि कतिसम्म हुन्छ भन्ने कुराहरू पनि युद्धदर्शनसित जोड़िएर आएका महत्वपूर्ण पक्षहरू हुन्। यस किसिमका कथाहरूमा एकातिर पात्रगत पशुत्व, क्रूरता, हिंस्रकता, संवेदनहीनता, प्रतिशोध, यातना, अन्याय अत्याचार व्यभिचार तथा हिंसात्मक प्रवृत्तिलाई देखाइएको हुन्छ भने अर्कोतिर अवहेलित, जर्जरित, तिरस्कृत शोषित पीडित र नियतिको क्रूर प्रहारले क्षतविक्षत बनेका मर्मान्तक स्थितिहरू पनि देखापर्छन्। सर्वेक्षणात्मक दृष्टिले युद्ध अपराधलाई मूलकथ्य बनाएर भारतमा लेखिएका नेपाली कथाहरू त्यति धेरै संख्यामा छैनन्। द्वन्द्व र युद्धकेन्द्रित कथामा मानवीय पशुताको चित्रण, मान्छेभित्रका क्रूरता, बर्बरता, हिंसात्मकता, बलात्कार, असयम् संवेदनहीनता जस्ता कुराहरूलाई बढ़ी मात्रामा सम्बोधन गरिएको पाइन्छ। एकले अर्कालाई कुनै न कुनै किसिमले आघात पुर्‍याउनु, अनेक प्रकारले दुःख कष्ट दिनु, मानसिक शारीरिक शोषण गर्नु नै मुख्य ध्येय रहेको हुन्छ।
विश्वमा आतङ्क र भयकै कारण धेरै मानिसहरू विस्थापित र पलायित भएका छन्। कति मानिसहरू अनायसै मृत्युको मुखमा पुगेर जसोतसो प्राणसम्म बाँचेकाले मानसिक अभिघातबाट कहिल्यै निको नहुने स्थितिमा पुगे। त्यस्ता स्थिति भोगेर बाँचेका चरित्रहरू अर्थात् जीवनको स्वभाविक गति गुमाएका, सद्‍भावना र संवेदनाशून्य बनेका, प्रत्येक क्षण सन्त्रस्त बनेर बाँच्नु परेकोले त्यी पात्रहरू बाँचेर पनि जीवनमा सही निर्णय लिन नसक्ने स्थितिमा पुगेका देखिन्छन्। यस किसिमका प्रतीकात्मक र मनोवैज्ञानिक त्रासदी भोगेका भारतीय नेपाली कथाहरूले बेग्लै महत्व राख्छन्। द्वन्द्व र युद्धकै कारण कथाका विभिन्न पात्रले करूणा, भय, त्रास, वेदना, अवसाद, आतङ्क आदि भाव अनुरूप मानसिक, वैचारिक परिवेश निर्माण गरेका भेटिन्छन्। युद्ध र द्वन्द्वचेतना अभिप्रेरित कथाहरूले आफ्ना लोग्नेलाई पत्नीकै अघित्लिर मारेको, जलाएको, अङ्गभङ्ग गरेको, लोग्नैकै अघि पत्नीलाई बलात्कार गरेको, आफ्नै बाबुआमाको अघिल्तिर आफ्ना सन्तानलाई दुःख दिइ तड़पाएको, कुटपिट गरेको, धम्की दिइ अपहरण, लुटपाट गरेको विभिन्न घटनास्थितिहरूलाई निकै प्राथमिकताका साथ प्रस्तुत गरिएको भेटिन्छ। अतः एकातिर यस किसिमका कथाहरूले निस्सारता, निरर्थकता र व्यर्थतालाई नै सिद्ध गर्न खोजेको देखिन्छ भने अर्कोतिर अपराधिक विचार र कार्यबाट पीडित मान्छेका वेदनाजन्य कारूणिक घटना, परिवेश तथा अन्वितिले आम पाठकमा करूणा र संवेदनाको संसार सिर्जना गरेको देखिन्छ।

प्रमुख सन्दर्भ विवरण-
१. भट्टराई,गोविन्दराज (२०६४)-उत्तर आधुनिक विमर्श,काठमाडौः मोर्डन बुक्स्
२. भट्टराई,गोविन्दराज र विष्णुविभु घिमिरे (२०६३)-द्वन्द्व र युद्धका कथा,काठमाडौः मोर्डन बुक्स्
३. गौतम, लक्ष्मणप्रसाद (२०६६)-नेपाली साहित्यमा उत्तर आधुनिक समालोचना, काठमाडौः ओरिएन्टल पब्लिकेसन
४. कोइराला, कुमारप्रसाद (२०६८)-आख्यान विमर्श, काठमाडौः ओरिएन्टल पब्लिकेसन
५. सुवेदी,राजेन्द्र र लक्ष्मणप्रसाद गौतम (२०६८)- सम्पा. रत्न बृहत् नेपाली समालोचना(सैद्धान्तिक खण्ड), काठमाडौः रत्न पुस्तक भण्डार
६. श्रेष्ठ, अविनाश (२०६४), सम्पा. आधुनिक भारतीय नेपाली कथा, साझा प्रकाशन, काठमाडौं
७. छेत्री, राजकुमार (२०१३)-सिर्जनाको समावलोकन, दो, सं., मनमाया प्रकाशन, नागरी चियाबारी, दार्जीलिङ
८. पौड्याल, नवीन(२०११)- आख्यान अनुशीलन, ओरियन इन्टरनेशनल पब्लिकेशन, चन्दननगर, कोलकोता
९. छेत्री, राजकुमार (२०१३)-कृति-आलोकन, मनमाया प्रकाशन, नागरी चियाबारी, दार्जीलिङ

स्नातकोत्तर नेपाली विभाग, दार्जिलिङ सरकारी महाविद्यालय

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।