19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

तिमीलाई प्रश्न

कविता उमा शर्मा September 20, 2022, 4:17 am
उमा शर्मा
उमा शर्मा

हामी कलममा नीलो मसी भर्दै थियौँ
हामी कापीका सेता पाना पल्टाउदै थियौँ
तिमी जंगलबाट आयौ
अनि जरै भेदन गर्यौ
भन्यौ तिमीले,
बुर्जुवा शिक्षा पढ्नै हुन्न।

हामी मन्दिरको द्वार छिर्दै थियौँ
हामी आस्थाका फुल छर्दै थियौँ
भन्यौ तिमीले,
मन्दिरमा माई ढोग्नै हुन्न।

तिमीले भन्यौ
आफ्नो युद्ध आफै लड्नु पर्छ
आफ्नो जुद्ध आफै बन्नु पर्छ
तिमीले केही सम्झाए झैँ भन्यौ
केही तर्साए झैँ भन्यौ
तिमीले नभन्नु पर्ने धेरै भन्यौ
तिमीले सुन्नेलाई मीठा भाषण सुनायौ
नसुन्नेलाई चम्किला हतियार देखायौ
तिमीले नगर्नु पर्ने धेरै गर्यौ।

तिमी छद्मभेष लिएर आयौ
मनमा क्लेश लिएर आयौ
हाम्रा लुटिएका कलमहरुले
तिम्रा सन्तान लेख्ने बनायौ
साँच्चै भनौँ
ईर्ष्या लाग्छ मलाई
जब उनीहरु आज विज्ञ भाषा बोल्छन्।
हाम्रा काटिएका खुट्टाहरुले
तिम्रा सन्तान सगरमाथा चढ्ने बनायौ
साँच्चै भनौँ
ईर्ष्या लाग्छ मलाई
जब उनीहरुका आज सालिक ठडिन्छन्
ईर्ष्या फेरि फेरि लाग्छ मलाई
जब तिमीहरु आज मालिक गनिन्छौ।

तिमीले ठुलो ढोंग गर्यौ
तिमीले हाम्रा आस्थाहरुलाई आफ्ना झोलामा बन्दी बनायौ
ति निसास्सिइरहे र चिच्याइरहे
तिमी भने एक्लै लुसुक्क मन्दिर छिर्यौ
मुर्तिमा माथा सुटुक्क झुकायौ
विरोधाभासको रातो टिका निधारमा लगायौ
आफ्नै लागि यज्ञ र होम लगायौ
हरि ओम भन्यौ
अनि मात्र आफ्नो विजयको आसिक माग्यौ।

आज तिमी सँग अनि मात्र तिमी सँग
धेरै जीवित प्रस्नहरु छन्,
कोही मरेर मरेकाहरुको प्रश्न
कोही बाँचेर मरेकाहरुको प्रश्न
खै कहाँ छन् तिनका,
खोसिएका कलमहरू?
च्यातिएका कापीहरू?
चुडालिएका हातहरू?
काटिएका खुट्टाहरू?
थुतिएका जिब्राहरू?
अनि खै कहाँ छन्,
तिनका छिनालिएका गर्धनहरू?

हा दैव!!!!
समयको यो कालखण्डमा
अब उत्तरहरु पनि निरर्थक हुन सक्नेछन्
किनकी,
अब कलम भेटिएला कला मरिसक्यो
कापी भेटिएला अक्षर मरिसक्यो
हात भेटिएला सीप मरिसक्यो
खुट्टा भेटिएला गन्तव्य मरिसक्यो
जिब्रो भेटिएला वाणी मरिसक्यो
अनि गर्धन भेटिएला प्राण मरिसक्यो
हा दैव!!!!
अब मान्छे भित्रको मान्छे मरिसक्यो।

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।