15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘जीवनको अन्तराल’ केलाउँदा

कृति/समीक्षा विमल लामिछाने September 27, 2022, 12:36 pm
विमल लामिछाने
विमल लामिछाने

साहित्यकार, लेखक तथा राजनीतिक विश्लेषक यज्ञराज प्रसाईंको नयाँ निबन्ध संग्रह ‘जीवनको अन्तराल’ बजारमा आएको खबर सुन्दा आनन्दानुभूति भएको छ । ‘जीवनको अन्तराल’ मा निबन्धकारले चेतनाको सुरु भएदेखि उतराद्र्धसम्म जीवनमा घटेका छिटपुट घटनाहरुको टिपोर्ट र व्याख्या गर्दै जीवन र भोगाईलाई दरुस्त उतार्ने कोषिस गरेको देखिन्छ । अधिकांशजसो लेखहरु पत्रिकामा प्रकाशित भएपनि तिनीहरुलाई संग्रहित गर्ने हेतुले पुस्तकमा समेट्न खोजेको पाईन्छ ।

लेखकले जीवन र भोगाईका विषयहरुमध्ये अलि बढी आक्रोश व्यक्त गर्दै राजनीतिक विषयमा जनतामा जागेको वितृष्णालाई विभिन्न विषयहरु दिएर राजनीतिक दलहरुमा लोकतान्त्रिकरणको नाममा भएको हालीमुहालीलाई कतै व्याङ्ग्यात्मक रुपमा त कतै सोझै उठान गर्न खोजेको पाईन्छ । लेखकले वर्तमान विश्व परिस्थितिभन्दा नितान्त भिन्न परिस्थितिमा विकसित भएको माक्र्सवादलाई अहिलेको परिस्थितिमा पनि सुहाउदो बनाउन जरुरी छ भन्ने विश्वास जनतालाई दिलाउन नेताहरु असक्षम हुँदै गएको कुरा निबन्धका माध्यमबाट प्रस्तुत गरेका छन् । पछिल्लो समय समाजवाद र नौलो जनवादको व्याख्या आफु अनुकूल गरेको भन्दै कम्युनिष्ट नेतृत्वहरुमाथि लेखकले कलम तिखारेर घोचेको भेटिन्छ ।

समय अनुकुल मुलुक परिवर्तनको पक्षमा भएपनि नेता फेरिने तर जनताको जीवनस्तर उस्तै रहने अवस्था कायम रहेसम्म जुनसुकै नामको बाद र तन्त्र आएपनि जनभरोसाको नभएको तीतो यथार्थ लेखकले निबन्धका माध्यमबाट पोखेका छन् ।

लेखकले ब्याख्या गरेका छन्– ‘नौलो जनवाद भनेको नयाँखाले पूजीवाद हो ।

पुरानो खालको पूजीवादमा विकसित, उत्पादित पूजीको स्वामित्व सिमित पूजीपति वर्गमा हुन्छ तर नयाँखाले पूजीवादमा पूजीको स्वामित्व मजदुर वर्गसँग किसान तथा सर्वहारा वर्गसँग रहने गर्छ ।’

नेपालमा कूल जनसंख्याको ६६ प्रतिशत कम्युनिष्टहरु छन् र २०७४ सालको निर्वाचनमा यसले दुईतिहाइ बहुमत ल्याई पाँचवर्षे स्थायी सरकार बन्यो तर लोभी तथा पदलोलुप नेताहरुले पाँचवर्ष नपुग्दै सिङ्गो पार्टीलाई छिन्नभिन्न बनाए । जनताको भरोसामा तुषारापात गरे भनेर लेखकले राजनीतिप्रति वितृष्णा बढेको कुरा पनि उजागर गरेका छन् । नेताहरु आर्थिक प्रलोभन र पदलुलुप्ताको बूर्जुवा संस्कृतिको विकास भइरहेको कुरा लेखकले धेरैजसो विषयहरुमा उठान गर्न र नेताहरुलाई सुध्रने बाटो पहिल्याउन झक्झक्याएको पनि पाईन्छ ।

२७ वटा विषयलाई समेटेर तयार पारिएको निबन्ध संग्रह ‘जीवनको अन्तराल’ आफैमा जीवन्त र भोगाईका कथाहरुको संयोजन हो भन्न सकिन्छ । यसमा प्रसिद्ध साहित्यकार इन्द्रबहादुर राईदेखि झापा विद्रोहका ऊर्जाशिल कमरेड शिवप्रसाद शिवाकोटी, डा. द्रोणकुमार उपाध्याय हुँदै अनिरुद्र तिम्सिना, रुद्र खरेल, सीएम कन्दङ्वा लगायतका जीवन भोगाई र अनुभवहरुलाई पुस्तकमा लेखकले मिलिन र गहन ढंगबाट सम्झिन सकेका छन् ।

समयलाई उछिन्ने महाकवि लक्ष्मीप्रसाद देवकोटा र उनको जन्मजयन्ती मनाउँदाको क्षणलाई निबन्धको रुपमा लेखकले समेट्न भ्याएको पाइन्छ । मान्छेको मूल्याङ्कन देखावटी नभईकन वास्तविक मूल्याङ्कन हुन सकेको खण्डमा मात्रै देवकोटा देश र साहित्य जगतमा विश्वको कुनै विशिष्ट पङ्तिमा उभिन सकेको कुरा उल्लेख गर्दै महाकवि विक्षिप्त होइनन् अद्भूत प्रतिभाशाली श्रष्टा हुन् भन्ने कुरालाई लेखकले प्रष्ट्याएका छन् । निबन्धमा देवकोटाको घर, आँगन र ओछ्यानको समेत वर्णन गर्न लेखकले छुटाएका छैनन् । ओछ्यानभरि मसीका टाटा र चुरोटको झिल्का खसेर बनेका प्वालहरुको समेत वर्णन गर्न लेखक सक्षम भएको देखिन्छ । देवकोटाको जीवनी, जीवनमा घटेका महत्वपूर्ण घटनाहरु, साहित्यिक क्षेत्रमा पुर्याएको योगदानको समेत चर्चा गरिएको पाईन्छ । यसैगरी ‘पुष्पलालको सम्झना’ शिर्षकमा लेखकले नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाललाई क्रान्तिप्रतिको निष्ठामा समर्पित नेतृत्व भनेका छन् भने पञ्चायती क्रुर शासकहरु उनको मृत शरीरसँगपनि त्रसित बनेको कुरा तीखो भाषामा उल्लेख गरिएको छ । वामआन्दोलनको अथक योद्धाप्रति सम्मानभाव प्रकट गर्दै आजको नेपाली वामआन्दोलनको दक्षिणपन्थी अवसरवाद र प्रतिक्रान्तिको साँघुरो परिसरबाट आगामी नयाँ चेतना र क्रान्तिको ध्रुविकृत नयाँ शिरा र निष्ठाप्रति आशावादी रहेको कुरा ‘पुष्पलालको सम्झना’ मा व्यक्त गरेका छन् । निबन्धमा पुष्पालालको जीवनी संक्षिप्तमा उतारिएको छ भने आजका कम्युनिष्टहरुले उनीबाट पाठ सिक्नुपर्ने कुरा सुझावको रुपमा प्रस्तुत गरिएको पाईन्छ ।

यसैगरी निबन्धमा लेखकले धुमिल सम्झनामा समाजसेवी व्यक्तित्व नारायणप्रसाद ओली, स्नातक तह अध्ययन गर्दा भोगेका कष्टकर क्षणहरु, मनोविनोदमा रमाउने व्यक्तित्व लभ ओलीजस्ता व्यक्तित्वहरुको बारेमा स्मरण गरिएका कुराहरुले निबन्ध संग्रहलाई अझ गहकिलो बनाएको छ भने झापा विद्रोहका चरणमा भएको सुखानी हत्याकाण्ड, वर्ग संघर्षको कोणबाट ‘सहिद मानचित्रमा नपरेका सहिद’, पुस्तक अध्ययन गर्दा देखिएका विषयवस्तु र अनुभूति सहिद डि—कौडिन्यसँगको हेलमेल र कृष्णसेन इच्छुकसम्मले भोगेका कठोर दिनहरुको केही अंश लेखकले निबन्धको माध्यमबाट प्रस्तुत गर्न भ्याएका छन् ।

लेखकले निबन्ध संग्रहमा आफ्नो अनुभव र भोगाईभन्दा पनि विभिन्न कालखण्डमा घटेका घटनाहरु र समकालीन साथीहरुको अनुभव, त्याग र बलिदानीलाई रसिलो र पढ्दा नथाक्ने गरी शब्द चयन गरेर विभिन्न विषयहरुमा पस्किन भ्याउनुले पाठकलाई दोहोर्याएरै पढौं पढौं हुने बनाउन सक्ने कलाभित्रपनि लेखकको थप चातुर्यता लुकेको भेटिन्छ ।

वर्ग संघर्षमा हुर्केका कवि स्वर्गीय नेत्रलाल अभागी, प्रसिद्ध साहित्यकार तथा श्रष्टा रोहिणी विलास लुईटेलको बसोवास, अध्ययन, भोगाई र दिनचर्याको विषयमा समेत निबन्धकारले कलम चलाएका छन् । साहित्यकार रोहिणी विलाससँगको संस्मरणसमेत पुस्तकमा समेटिएको छ भने पूर्वको काकरभिट्टाको साहित्यिक गतिविधिमाथि समेत चर्चा गर्न भ्याएका छन् । लेखकले मेचीनगर बहुजाति, बुहभाषी बसोवास गरेको नगरपालिकामा मुण्डा र किसानजस्तो लोपोन्मूख जातिहरुका साथै बाहुन, क्षेत्री, मेचे, धिमाल, खडिया, राजवंशी, मारवाडी, मुसलमान, थारु, चौधरी, राई, लिम्बु, बाँतर, सतार (सन्थाल), करुवा, धामी, मालपाडे, जोगी, कामी, सार्की, डुम आदि बहुजातिको बसोवासले यहाँको साँस्कृतिक पक्ष अत्यन्तै गरिमामय बन्न पुगेको कुरा स्मरण गरेका छन् । सबै जातिहरुको भाषा र लिपिको संरक्षणमा लेखकले जोड दिएका छन् भने यहाँको भाषा संरक्षणमा मेचीनगर क्षेत्रमा भाषाशास्त्री महानन्द सापकोटा, प्राज्ञ वैरागी काइला, समालोचक गणेशबहादुर प्रसार्इं, भवानी घिमिरे तथा चुडामणी रेग्मीबाट प्रभावित देखिन्छ भनेका छन् ।

लेखकले शैशवकालमा भोगेका दिनहरुलाई मसिनो गरी पस्किन भ्याएको पाईन्छ । आफ्नै बुवाको स्वभावको चित्रण गर्दै निकै रवाफ रहेको कुरालाई पनि समेट्न सकेको पाईन्छ भने बुवाको नैसर्गिक गुण, स्वभाव र रवाफ दरवारीया वीर शम्सेरको जस्तै भएको कुरालाई छिपाइएको छैन । बुवा नेपालमा त्यो बेलाका पुराना सामन्ती व्यवस्थासँग हुर्किएको हुनाले सम्पत्ति र श्रीमती सञ्चित गर्नु नै पौरख मान्ने स्वभावको भएको कुरालाई पनि आफुले बुवाबाट भोगेको शिक्षाको रुपमा प्रस्तुत गरिएको छभने आमाको बुवाप्रतिको प्रेम र सम्मानलाई समेत निबन्धमा पढौं पढौं लाग्ने गरी उतारेको पाईन्छ । जातपात र छुवाछुतको प्रतिकूल अवस्थामा पनि बुवाले गुरुङ, राई र मगरका छोरीहरुसम्म घरमा भित्र्याउनु भएको थियो । त्यो हेर्दा केही प्रगतिशील जस्तो देखिएपनि बग्रेल्ती श्रीमतीहरु भित्र्याउने बुवाको सामन्ती जीवनपद्धतिप्रति लेखकले वितृष्ण पनि पैदा गरेको पाईन्छ ।

आमाले आफुमाथि गरेको माया र प्रेरणाको स्मरण गर्दै गाईभैंसीको चारसय भन्दा बढीको हन्जा, गोठमा झण्डै ३५ जना गोठालाहरु कार्यरत रहँदा पनि दुध दुहुने पचासौं बाल्टीहरु पखाल्नु र सफा गर्नु परेको आमाको दैनिकी र आफु दश एघार महिनाको अञ्जान बालक बामे सर्दै तातोपानीमा हात चोबल्न पुग्दा आमाले बचाएको क्षणलाई निबन्धकारले आफ्नै शैशवकालको चित्रणमा आमाले आफूप्रति गरेको मायालाई गहिरो गरी स्मरण गरेका छन् । यो च्याप्टर अध्यायन गर्दा धेरैको मन छुन्छ र रुन्छ । यसबाट जीवन भोगाइमा धन, सम्पत्ति, मायाँ र अहँकारलाई मसिनुगरि मापन गर्न लेखकले बाटो खोलीदिएका छन् ।

पुस्तकको अन्तिम श्रृङ्खलामा लेखकको आफ्नै अन्तरवार्ता रहेको छ । सम्पादक अच्युत घिमिरेले सम्पादन गरेको अन्तरवार्तामा लेखकले नेपाली सहित्यमा प्राज्ञिक स्वयत्तताको अपहरण भएको महसुस गरेका छन् भने नेपालका अग्ला प्रगतिवादी श्रष्टाहरु यतिबेला नेता विशेषको दलाली गरेर प्रतिष्ठानको डबलीमा टेक्न पुगेको कुरा टिठलाग्दो र प्रहसनपूर्ण छ । दास मनोवृत्तिले नेपाली प्रगतिवादी साहित्यकारहरु राज पुरोहित बनेको अवस्था रहेको लेखकको बुझाई छ ।

लेखहरुमा कतिपय विषयवस्तु ब्याङ्यात्मक र घुमाउरो भाषामा आउनुपर्ने ठाउँमा पनि लेखकको सोझो प्रहार देखिन्छ, शब्दचयन रोचकमात्र नभएर घोचक त्योपनि भित्तामै टाँसिने खालका शब्दको प्रयोग गरिनुजस्ता केही सीमा रकमजोरी निवन्धमा रहेपनि समग्रमा निवन्ध संग्रह पठनीय र सबैको जीवन उपयोगी रहेको कुरामा दुईमत छैन ।

झापाको बाह्रदशी गाउपालिका—३ राजगढका यज्ञप्रसाद ओली प्रकाशक रहेको सो पुस्तकको विर्तामोडस्थित बुद्ध अफसेट प्रेसमा मुद्रण र लेआउटमा कमला भट्टराई पराजुलीलाई राखिएको छ भने पुस्तकको आवरण पवन राजवंशीले गरेका छन् । पुस्तकको मूल्य पाँचसय रुपैया तोकिएको छ ।

जीवन र भोगाईका कुराहरुलाई साहित्यिक निबन्धको माध्यमबाट प्रस्तुत गरिएका सबैजसो विषय शिर्षकहरुभित्र पसेर एकपटक अध्यायन नगर्दा बुझाई अधुरो र लेखकप्रति अन्याय हुने अनुभूति सहज रुपमा गर्न सकिन्छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।