वीर पुर्खाको पसिना बगेको ठाउँमा मेरो पुर्खाको दाम खोइ ?
धीर पुर्खाको सपना फलेको ठाउँमा मेरो पुर्खाको नाम खोइ ?
फाँडफुँड गरी बनाए भस्मेहरू,ओछ्याए रेलका लिकहरू अनेक
त्यही पुर्खाको रगत सुकेको ठाउँमा मेरो पुर्खाको धाम खोइ ?
निर्दयी बुलेट रोक्ने निडर निधारको आडमा धाक छ अरूको
दाह्रे पक्षपातले तर्साइबस्ने ठाउँमा बेकार छोराको काम खोइ ?
महँगो शक्ति प्रदर्शन भइरहन्छ,पाक्छन् भोजनहरू बेस्मारी
बन्दहरूमा भोकै बसी नारा लाउने त्यही छोराको माम खोइ ?
दसीहीन भएर पुर्खाका आत्था र ऐयाहरू दुखिरहन्छन् अझै
जुनीजुनीसम्म परिचित गराउने अमर मायाको खाम खोइ ?
पुछियो सिन्दूर,खरानी भयो घर,बेपरवाह नै रह्यो बलिदान
निर्धक्क सास फेर्न सक्ने सन्चो त्यो बतासको याम खोइ ?
कति सहने पिँढीहरूले ठिहिर्याउने पीडा अझै पनि मनभरि
मर्दै-बाँच्ने जिन्दगीको दु:ख सुकाउने अकासको घाम खोइ ?
डाउहिल,खरसाङ,भारत।