17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

विवशता

कथा बैद्यनाथ उपाध्याय September 20, 2022, 12:24 pm
बैद्यनाथ उपाध्याय
बैद्यनाथ उपाध्याय

शरिर असक्त भएर ओछ्यानमा पल्टिरहँदा मनमा त्यसै अनेकौं विचारहरू आईनै रहँदोरहेछ। जीवनमा कति भूलहरूले गर्दा आजको यो स्थिति आई पऱ्यो। जीवनमा कहाँ कहाँ गलत निर्णयहरू भए। यस्तै धेरै सोचहरूले उस्को मन बिथोलिरहेको थियो। हिजो उसको जल्दो बल्दो अवस्थाका साथी शुभेच्छुकहरू पनि आज उ देखि टाढिएका छन। उस्को खबर लिने सम्म पनि आज कसैमा फुर्सत छैन। परिस्थिति बदलिए पछि संसारनै बदलिदों रहेछ। उसलाई आज यस्तै लागिरहेथ्यो।
संसारको असल स्वरूप त आफु असक्त भए पछि मात्रै देख्न सकिने रहेछ। हिजो उ स्वस्थ्य थियो। सुन्दर भविष्यको संभावना थियो। उसलाई मदद गर्नेहरूको पनि कमी थिएन। आज उ निको नहुने बिरामी भएर पल्टिरहँदा उस्लाई साथ दिने कोही रहेनन। घरका मान्छेहरूको निम्ति पनि उ अब एउटा नचाहेको बोझ जस्तै बन्न पुगेको छ। कसैले भनि नहाले पनि उसले मनको भित्री कुनाबाट यी कुराहरू अब महसूस गर्न थालेको छ। गौतम बूद्धले ठीकै भनेका हुन- जीवन दुख हो। उसको मन भित्रैबाट दुखेर आयो।
दिशा पेशाब गर्नलाई पनि कसैले सघाउनु पर्ने कस्तो विडम्बना सहेर बाँच्नु परेको छ उसले। समयमा मान्छेहरूले साथ दिन सक्तैनन अनि असह्य यंत्रणा सहनु परिरहेको हुन्छ। उ मौन भएर हेरिरहेको हुन्छ। उठेर हिंडन नसक्ने भएको आज धेरै साल बितिसक्यो। पहिले पहिले त निको हुन्छ भन्ने एउटा आशा थियो। अब त त्यो पनि रहेन। बाँचुञ्जेल अर्काको सहारामा जीवन धान्नुपर्ने विवशता लिएर उ आज ओच्छ्यानमा पल्टिरहेको थियो। बिहान देखि दिनैभरी के के सोचेर समय बिताईरहन्थ्यो। बेलुका भएपछि ट्युसन पढने केटाकेटीहरू आउँदथिए। केहीक्षणको लागि भए पनि आफ्नो असक्तता भूलेर उनिहरूलाई अंग्रेजी पढाउने गर्दथ्यो। केटाकेटीहरूसँग उसको मन केही बेर भए पनि रम्ने गर्दथ्यो।
सानैदेखि गरिबी झेलेर उ हुर्कीएको थियो। पढेर इतिहासमा स्नातकोत्तरको उपाधि पनि प्राप्त गऱ्यो। बेरोजगारी र शैक्षिक सजगताको कमी भएको ठाउँमा उसलाई लाग्यो शिक्षाको विकासको लागि उस्ले पनि केही गर्नु पर्छ। त्यसैले त्यस अञ्चलका सामाजिक व्यक्तिहरूसँग विचार विमर्श गरेर कलेजको स्थापना गऱ्यो। त्यसै कलेजमा अध्यापनको काम पनि शुरू गऱ्यो। कलेजको सरकारीकरण गराउनलाई पाईलाहरू चालिरहँदा उ बिरामी भयो। चाकमा सानो पीलो जस्तो के निस्किएको थियो। अतिपात दुख्न थाल्यो। अस्पतालमा गएर उपचार शुरू गऱ्यो। बिमार त्यत्ति ठूलो हैन। तर नशामा परेको रहेछ। अप्ठ्यारो ठाउँमा असुविधा हुन सक्छ भनेर जाय जेथो बेचेर उपचारका लागि चेन्नई गयो। घाउको आपरेशन भयो। आपरेशन सफल भयो। उपचारका क्रममा भएको सम्पत्ति जमीन सबै बेच बिखान भयो। स्वस्थ्य भयो भने त कमाई हाल्नेथियो। त्यसैले त्यस्को त्यत्रो चिन्ता पनि गरेको थिएन।
बिमार उपचार गरेर घर फर्कियो। सबैथोक ठीकै थियो। तर कम्मर देखि तलतिरको भाग अचल भयो। अनेकौं उपाय गर्दा पनि केही लागेन। अनि जीवनले यो रूप लियो। अब उसको अशक्तता ठीक नहुने भएपछि उसकी प्रेमिकाले पनि अर्कैसँग विहे गरिन। नगरून पनि कसरि। उसको अशक्तताले गर्दा अब उसबाट केही पनि सम्भव नहुने भए पछि उसको आशा छोडनु पऱ्यो। संसार सँधै उपयोगिताबाद माथि चल्ने गर्दछ। अनुपयोगी चीजहरू सँधै फालिने गर्दछन। अब उ पनि संसारको लागि अनुपयोगी जस्तै भएको छ। उ सोच्दछ। यसरी उसको जीवनमा घटेका यी घटनाहरूमा उसको कहाँ के चुक भयो, आज उ ठम्याउन सकिरहेको छैन। उ भाग्यमा विश्वास नगर्ने वास्तववादी मान्छे थियो। सबै कुराहरू राम्रो सोच विचारेर मात्रै गर्ने उसको बानी थियो। समाजका कीनारीकृत मान्छेहरूको लागि पनि केही गर्नु पर्छ भन्ने सोच लिएर अघि बढेको थियो। त्यसैले सामाजिक संघ सँस्थाहरूसँग पनि काम गर्ने गर्दथियो।
तर जीवनमा कहाँ के भयो उसले त्यस्को केही निर्क्योल गर्न सकेन। अब उसले भोगिरहेको स्थितिलाई के भन्ने ? यो के उसको कर्मको फल हो या भाग्य दोष ? कि त पुराणवेत्ताहरूले भने जस्तै पूर्वजन्मको कर्मफल। यस्ता अनेकौं विचारहरूले उसको मन अशान्त बनिरहेकोहुन्छ। जीवनको पाठशालाबाट उसले यस्तै अनेकौं अनुत्तरित प्रश्नहरू बटुलेको छ। जस्को कुनै समाधान छैन।
गान्धारीले भगवान कृष्णबाट संसारमा जति दुख छ सबै मलाईनै देउ किनकि यो दुखले गर्दा म सँधै तिमीलाई सम्झिरहन सकूँ भनेकी थिइन। यस्तो अशान्त मनलाई लिएर उ यस्तो कामना पनि गर्न सक्तैन। मान्छे जुनसुकै स्थितिमा भए पनि भोलि अलि राम्रो होला कि भन्ने आशा लिएर बाँचि रहेकोहुन्छ। उसको मनमा पनि आशा भने अझै जीवितै छ।
संसारमा सुख दुख केही पनि स्थायी छैन। तर बाँचुञ्जेल उसको शरीरको अशक्तता भने बदलिने छैन। यो साँचो हो। उसले हिजो देखेको त्यो संसारको रूप र आज देखेको रूपमा केही मेल छैन। यो दुई रूपमा कुन चैं साँचो हो त्यो भन्न नसके पनि उसले अहिले भोगिरहेको त्यो नै साँचो हो। संसार त्यही हो। मान्छेहरू पनि तिनै हुन। तर सबैथोक बदलिएको छ उसको लागि। सबैले उसलाई बिदा गरी सके जस्तो। कुनै दुलहीलाई दुलहा आउने अपेक्षा भए जस्तै अब उसलाई पनि मृत्युको प्रतीक्षा छ। अब मृत्युमानै पुगेर उसको अशक्तता समाप्त हुनेछ। उसलाई लाग्छ मान्छेहरू केवल भ्रममै बाँचिरहेका हुँदारहेछन। सबैथोक कालले समाप्त पारि हाल्नेछ। तैपनि मान्छेहरू आफूलाई धेरै कुशल र दक्ष सम्झन्छन।
उसको त्यो अशक्ततालाई पनि मान्छेहरूले बजारको सामान जस्तो उपयोग गर्न खोजे। ईशाईहरू आएर उसको निरामयको लागि प्रार्थना गरे। उनिहरूलाई आशा थियो कि उसको मन ईशाई मत तर्फ झूक्ने छ। तब ईशाईहरूको बोलवाला अझै बढनेछ। तर उसलाई थाहा थियो उनिहरूको झूकाव के का लागि हो भनेर। उसलाई अझै दुख लागेर आउँछ। आफ्नै अवस्था देखि। जीवन भर कसैको अहसानमा बाँच्न नचाहने मान्छे। आज के को दोषमा जीवनभर अरूकै सहारामा बाँच्नुपर्ने स्थिति आएको छ। अनेकौं युक्ति तर्कहरू खेलाउँछ मनमा। तर कहीं केही सम्भव हुँदैन।
उसलाई सानैदेखि सञ्जय भनेर बोलाईन्थ्यो। आज महाभारतको सञ्जय जस्तै कहीं कतै नगैकन संसारको कुरा जान्ने व्यक्ति भएर बाँच्नु परेको छ। उसको नामसँग यो देहको अशक्तताको मेल भए जस्तो लाग्न थालेको छ उसलाई। तर महाभारत को सञ्जय को देह अशक्त भएको भने उस्लाई थाहा छैन।
घरमा उनिहरूका तीन दाजु भाई थिए। एउटा दाजु सानैमा हराएको थियो। पछि बिहे गरेर घरजाम बसाई सकेको अवस्थामा इन्दौरमा फेला पऱ्यो। एउटा दाजु साथैमा छ। उ सबभन्दा सानो भाइ थियो। सबै भन्दा राम्रो पढे लेखेर जान्ने पनि भएको। आमालाई पनि यो छोराले केही गर्ला भन्ने लाग्दथ्यो। उसको यो अशक्त अवस्था बाट पीडित आमाले पनि केही साल अघि प्राण त्याग गरिन। जीवनमा मान्छेले सोचे जस्तो कहाँ पो हुँदो रहेछ र।
अहिले पनि सञ्जयले फोन गरेर मान्छेहरूको खबर लिंदा यो कथाकारको मन कटक्क खाने गर्दछ। मान्छेको जीवन अति विचित्र हुँदो रहेछ। उसको बातचीतमा उसको त्यस्तो अशक्त अवस्थाको कुरो कहीं कतै चर्चामा आउँदैन। उ आम समान्य मान्छे सरह नै बातचीत गरिरहेकोहुन्छ। मान्छेहरूको भलाकुसारीको खबर गरिरहेकोहुन्छ। सुन्नेहरूलाई नै उसको त्यो अशक्तता भीत्र कहीं बिझी रहे जस्तो लाग्छ।
आज बिहानै देखि उस्लाई राम्रो लागि रहेको छैन। संसार धेरैनै स्वार्थी भए जस्तो लाग्न थालेको छ उसलाई। मान्छेको देखाउने अनुहार बेग्लै र असल अनुहार भने बेग्लैनै हुँदोरहेछ। आज सम्मको जीवनको अनुभवले उसलाई यस्तै सिकाईरहेकोछ। मान्छेहरूले देखाउने गरेको सहानुभूतिमा पनि उसलाई देखावटीपना महसूस हुन थालेकोछ। अब यो अशक्त शरीरलाई लिएर कुनै श्रव्य दृश्य कथानक हेरे जस्तै उसका आँखाहरूले यो संसारको व्यवहारहरूलाई हेरिरहनेछ।
आज उसलाई जीवनको निस्सारता धेरै भित्र सम्म बिझे जस्तो लागिरहेछ। संसारमा एउटा यस्तो समय पनि आउनेछ जब पाउने र नपाउने दुवै एक समान हुनेछन। कालले सबैलाई एकैनास व्यवहार गर्नेछ। जीवनमा धेरै उपलब्धीहरू हासिल गर्ने र जीवनमा केही गर्न नसक्ने सबैको एउटै दशा हुनेछ। उ सोच्दछ अनि अनुहारमा फीका मुस्कान बिखेरछ।
उसका आशा आकाङ्क्षाहरू सबै अशक्त शरीरको वरी परी बिलौना गरिरहे जस्तो लाग्छ उसलाई। घरि घरि आफ्नै अवस्थामाथि डाँको छाडेर रोईदिऊँ जस्तो लाग्छ । उसले कतै पढेको थियो स्टिफेन हकिंगको पनि यही हालत थियो जीवनमा। उस्ले भीष्म पितामहको विषयमा सुनेको थियो। सुन्नु, देख्नु र भोग्नुमा कत्ति फरक हुँदोरहेछ, उसले सोच्यो। संसारलाईनै ढाकेर निराशाको कालो बादल छाए जस्तै लाग्यो उसलाई। शरीरको अर्ध भाग अचल भए पछि अब उ केवल विचारहरूमा मात्रै जीवित छ।
सबैले आ आफ्नो जीवनलाई राम्रो संग उपभोग गर्न चाहिरहेका हुन्छन। उसले पनि यस्तै सोचेर जीवनमा अघि बढेको थियो। सोचेको थियो आफ्नो ठाउँमा कलेज भयो भने क्षेत्रमा शिक्षाको विकास हुनेछ। उसको पनि जीविकाको मार्ग प्रशस्त बन्नेछ। उसले चाहेकी प्रेमिकासंग संसार बसाउनेछ। यस्तै कत्ति सपनाहरू देखेको थियो उसले जीवनमा...। तर महाभारतको अश्वत्थामा को जस्तो हाल भयो उसको। सबैले छल कपट गरेर अश्वत्थामालाई युद्धमा पराजित गरेका थिए। आज उसलाई पनि जीवनको यो अशक्तताले छल गरेको छ।
उसले सानो छँदा मान्छेहरूले भनेको सुनेको थियो जीवनले प्रतिदान माँग्छ कुनैपनि सफलता पाउनको लागि। तर आज यो कस्तो प्रतिदान माग्यो उसको जीवनले। यस हालतमा उसले अब के गर्ने ? सोच विचारहरू घरि घरि घुमि फिरि त्यही अशक्त शरीरमै आएर बजारिने गर्दछ। कत्रो छल गरो विधाताले पनि उसमाथि। कहीं यो उसको अशक्त अवस्था कुनै दुस्वप्न जस्तै भएर छँटिदिदों हो। धेरै पल्ट उसको मनमा यस्ता विचारहरू आए। तर कहिल्यै पनि यस्तो भएन।
जीवन के हो ? किन उसले जीवनमा यस्तो भोग्नुपरिरहेछ ? यस्ता अनेक सवालहरूछन, तर जवाबभने कहीं कतै पाउन सकिरहेकोछैन। सुत्दा सुत्दा ढाढमा फोकाहरू बन्छन। बार बार अस्पताल गएर अपारेशन गरिरहनु पर्ने। महाभारतका कर्ण, द्रोण, अश्वत्थामा आदिको कुराहरू सोच्तछ। उनिहरू अहिले कथाका पात्रहरू मात्रै हुन। तर उनिहरूले बाँचेको समयमा भने सायद उस्ले भोग्नु परिरहे जस्तै पीडा भएको थियो होला। यस्तो सोच्दा उसलाई पीडा भोग्ने उ मात्रै हैन भन्ने लाग्दथ्यो अनि मनमा केही शान्त्वना पनि मिल्ने गर्दथ्यो।
मान्छेलाई जत्तिसुकै ठूलो विपद किन नआएकोहोस तर अरूसँग दाँजेर हेर्दा आफ्नो पीडा धेर भए जस्तो लाग्ने गर्दछ। तर अरूले भने उस्को पीडाको गभीरता उपलब्धि गर्न सक्तैनन। आज उसलाई यस्तो पनि लाग्न थालेको छ कि मान्छेहरू केवल सुखको आशामा भ्रमपूर्ण जीवननै बिताईरहेकाहुन्छन। यस्तो स्थितिमा आएर आज उस्ले संसारको सच्चाई थाहा पाएको छ। जीवनले यो उपलब्धि त गराएकै हो उसलाई। पौडिन नजान्नेले पानीमा डुबिरहँदा हात गोडा चलाएर कतै टेक्ने समाउने खोजे जस्तै उसले पनि बाँच्ने आशा पालिनैरहेकोछ।
यस्तै कुराहरू सोचेर उसलाई दिक्क लागेर आयो। सास चलिरहेकै छ। मनमा विचारहरू खेलिरहेकै छन। गान्धारीले सारा जीवन आफु अन्धी नभए पनि आँखामा पट्टी बाँधेरै सारा जीवन बिताएकी थिइन। अब उ पनि कुनै कथा को पात्र जस्तै बनेको छ। यस अघिको कथा कता मोडिने हो थाहा छैन। ऋषिमुनिहरूले सुखभोगलाई त्यागेर जीवनको परमार्थ साधनका लागि एकलै बसेर तपस्या गरे सरह उ बाँचिरहेको थियो।
आफ्नै शरीरलाई हेर्दछ। आधीभाग अचल छ। आधी भने अझै सकुशल काम गरिनै रहेकोछ। जीवनको उमेर पनि पैंतालिस पार गरिसकेकोछ। अब अघाडि कत्ति उमेर बाँकी छ त्यो उसलाई थाहा छैन। यो शरीरबाट फुत्त बाहिर निस्किएर कतै जाउँ जस्तो लाग्छ उसलाई। जीवनमा उसको तपस्या भनेको त्यही रोजगारी, परिवार र सामाजिक कामहरू थियो। यो सब कुरो उसको जीवनलाई अब मञ्जुर भएन।
शरीरको अशक्तता मनभीत्र कहीं दुखीनै रहेको थियो। संसारको बदलिदों व्यवहारले अझै जीवन विषन्न बनिरहेकै थियो। धेरै भयो यो संसारबाट मन खिन्न भएको पनि। अब यो संसारबाट उसलाई केही हुन्छ जस्तो लाग्न छाडेको छ। उसले लामो सास फेऱ्यो अनि आँखा चिम्लिएर आफ्ना ईष्ट देवताको सम्झना गऱ्यो। मनलाई संसारबाट बटुलेर ज्ञानमार्ग तर्फ लगाउने निधो गऱ्यो। यस्तो सोच आउने बित्तिकै मनमा नयाँ आशाको सञ्चार भएझैं लाग्यो उसलाई। टाढा कहीं क्षितिजमा केही हलचल भएझैं लाग्यो उसलाई अनि उच्च स्वरले कोठाभरि गुञ्जिने गरि गाउँदछ- असतो मा सद् गमय, तमसो मा ज्योतिर्गमय, मृत्युर्मा अमृतं गमय।

असम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।