15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

विभीषक प्रेम

कथा हिमाल लिम्बु September 27, 2022, 12:29 pm
हिमाल लिम्बु
हिमाल लिम्बु

जीवन एउटा गतिशील छाया हो। यही छायाका छहारीमा लुकामारी खेल्दै जीवन बिताउनु नै पर्छ । सुख र दुःख, सफल्ता र असफल्ता, प्रेम र घृणा जीवन संघर्षमा जो कोहीले पनि भोग्नै पर्छ । प्रेम र घृणा एक अर्काका विरोधात्मक तथ्यहरू हुन् तथापि एक आपसका अपरिहार्य सत्यहरू हुन्। जसरी दिन र रात, जन्म र मृत्यू एकअर्का बिना अर्थहीन हुन्छन् त्यसरी नै घृणा नहुदा प्रेम र प्रेम नहुदा घृणा सारहीन र मुल्यहीन हुन्छन्। यो त संसारको रित नै हो।
एस. एल. सि. को परिक्षा नजिकदै थियो । म उर्लाबारीको एउटा इस्टिच्युटमा ट्युसन पढ्न जाने गर्थे । त्यो ट्युसन ग्रुपमा हामी २५ जना विद्यार्थीहरू थियौं । १६ जनाभन्दा बढी केटी विद्यार्थीहरू हाम्रो ग्रुपमा थिए । लाखौं ताराहरू भएको आकाशमा चन्द्रमालाई नै चकोरले चाहे झैँ ती विद्यार्थी केटीहरूमध्ये एउटी केटीसँग मेरो विशेष आकर्षण हुनगयो । साँच्चै नै म उनीप्रति आकर्षित भएको थिएँ; मोहित भएको थिएँ । यो पृथ्वीका परीहरूमध्ये सबैभन्दा राम्री परी भनेर उनलाई मैले मनमनै घोषणा गरेँ । उनको सुन्दरतामा खास त्यस्तो जादु नै चाहि के थियो ? आफैलाई प्रश्न गर्थे । सायद सौन्दर्य हेर्ने मान्छेको आँखामा भर पर्छ त्यसैले मेरो दृष्टिमा उनी विश्वसुन्दरी नै थिइन् । ऋषिको तपस्या भंग गर्ने उर्वशी नै थिइन् । सलक्क मिलेको जिउ, मझौलो कद, गोलो अनुहार, चञ्चल नयनहरू, सुडौल परेको नाक, मोतीको हार झैँ मिलेका दाँतहरू र ब्वाइकट स्टाइलमा काटिएको छोटो केशराशिले उनलाई सुन्दर देखिने बनाएका थिए । यो पनि तितो सत्य हो, सुन्दर र आकर्षक वस्तुमा नक्कलको आभास हुदोरहेछ । उनी पनि श्रृंगारमा सजिएर हिड्ने गर्दथिइन्, बुझ्दै जादा उनी फेशनएबल स्टाइलिस केटी रहेछिन् । दैनिक ट्युसन पढ्न जादा उनीसँग निकटता र घनिष्ता बढ्दै गयो । त्यही क्रममा मैले थाहा पाए उनलाई साथीहरूले 'भिलेज मोडेल'को उपमा दिदारहेछन् । उनको सुन्दरता मोडलिङका लागि उपयुक्त थियो र उनको स्टाइल पनि । उनको नाम रस्मी थियो ।
उनीप्रतिको मेरो आकर्षण तीव्र भएर बढ्दै गएछ क्यारे ! जब म उनलाई मेरो सामु देख्दथे तब मेरो मनमा सजीव रुपले भावनाहरू तरङ्गित हुन थाल्दथे । यो कुरा कुँडुलो परेर बटारिदै मेरो मनमा भक्कानिएर उठ्ने गर्दथे । मैले आफूलाई आत्मसंयममा राख्ने प्रयास गरेँ । समालोचनात्मक ढंगले आकर्षण र प्रेम दुई फरकफरक कित्ताका कुराहरू हुन् भन्ने कुरा गहिरिएर सोचेँ । शारीरिक आकर्षण वासना हो र भावनात्मक संबन्ध प्रेम हो ! हो वा होइन ? म किशोरावस्थाको केटा निर्णयमा कमजोर थिएँ । यसको अनुभूति अन्धो प्रेमले कसरी गर्न सक्छ र ? तर पनि मैले मेरा अनुग्राही उत्कण्ठा र अभिष्टतालाई दबाउने प्रयत्न गरि नै रहेँ । मान्छेले मान्छेलाई मन पराउनु र माया गर्नु उच्च कोटीको मानवीय गुण नै हो ।
१४ फेब्रुअरी एक अन्तराष्ट्रिय दिन जस्लाई भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको रुपमा मनाइने गरिन्छ । इस्वी संवत् २००३ को भ्यालेन्टाइन डे नेपाली विक्रम सम्वत अनुसार २०५९ साल फागुन २ गते परेको थियो । यो भ्यालेन्टाइन दिनको अवसरमा युवा पुस्ता प्रेममय वातावरणमा रमिरहेको थियो । मैले एउटा साथीलाई यो कुरा सुनाएँ कि म रस्मीलाई असाध्यै मन पराउछु तर प्रेम प्रस्ताव राख्न सकेको छैन । त्यो साथीले मलाई भ्यालेन्टाइन डे को अवसर नचुकाउन सुझाव दियो । "मानिसले प्रेम गर्छन तर अभिव्यक्त गर्न नसकेर जीवनमा भुल गर्छन" । उसले विलियम शेक्सपियरको महान उक्ति मलाई सुनायो । त्यो भनाइ मेरो प्रेरणाको श्रोत बनेको थियो त्यसबेला । यो कुरा त हाम्रो बिचको वैयक्तिक गोप्य कुराकानी र मजाक मात्र थियो । भनिन्छ भित्ताको पनि कान हुन्छ रे । दुर्भाग्य भनौं वा सौभाग्य मेरो गाउँकै साथी जो त्यो ग्रुपमा ट्युसन पढ्थ्यो उसले हामीबिचको गफ सुनेको थियो । भ्यालेन्टाइन डेको दिनमा त्यो साथीले रस्मीसँग प्रेम प्रस्ताव राख्यो; मेरो नाम लिएर । तर उनले 'एस' वा 'नो' भन्न सकिनन् । मलाई यो कुराको कुनै पत्तो थिएन । निर्दाष मन निश्चल र निर्मल हुन्छ । भोलिपल्ट म सधैँ झैँ निसन्देह पुर्वक ट्युसन पढ्न इस्टिच्युट गएँ । तर उनले म पुग्नु अघि नै मैले उनलाई प्रेम प्रस्ताव राखेको हल्ला सबै साथीहरुलाई सुनाइसकेको थिइन् । उनले किन बेकुफी तरिकाले आफ्नो बद्नाम हुने कुराको दुस्प्रचार गरिन् ? उनको उध्देश्य के थियो ? मैले केही बुझ्न सकिँन । मलाई साथीहरुले हाँसोको पात्र बनाएका थिए । सो कुराको जानकारी मलाई पछि मात्र थाहा भयो । त्यसपछि मलाई ट्युसन पढ्न जान पनि असजिलो महशुस हुन थाल्यो । उनले मेरो प्रस्ताव रिजेक्ट गरेको अफवाह फिजाएकी थिइन् । जब मलाई अस्वीकार गरेको कुरा मेरो कानमा पर्यो तब मैले आफूलाई हिनताबोधले डाउनट्रोडन भएको अनुभूति गर्न थालेँ । त्यो ट्युसन क्लासमा केटाकेटीहरूले "हामी त डाइरेक्ट नै, इनडाइरेक्ट होइन" भन्दै म माथि हाँस्यव्यङ्ग्य प्रहार गर्न थाले । ट्युसन पढ्न छोडुँ कि जारी नै राखुँ म असमजस्यमा परेँ । म आफ्नै प्रश्नको परिबन्दमा परेको थिएँ। मलाई खादै नखाको विषले पोल्दै थियो, बोल्दै नबोलेको बातले मात लाग्दै थियो । मैले उनलाई आफै नै भेटेर कुरा गर्ने निर्णय गरेँ । ट्युसनको समयावधि पनि समाप्त हुन लागेको थियो । मैले गाउँको त्यो साथीलाई म्यासेज पठाएको थिएँ । "म उनलाई भेट्न चाहन्छु र कुरा गर्नु छ" भनेर पठाएको जवाफ सकारात्मक पाएको थिएँ । हाम्रो सल्लाह अनुसार म उनलाई भेट्न गएँ । सोमबारका दिन १२ बजेको समय, क्याम्पसको एकान्त प्रांगण स्नग्ध थियो । म उनको पर्खाइमा एक्लै उभिरहको थिएँ । "साँच्चै म उनलाई मन पराउछु, म उनीसँग फ्रेन्ड हुन चाहन्छु, भ्यालेन्टाइन डेको प्रस्तावलाई हल्ला नबनाउ आदि .... इत्यादि" भावनाका सागरमा डुब्दै म उनको आगमनलाई स्वागत गर्न अडिरहेँ । मनमा तरंगका लहरहरू उर्लदैओर्लदै रहे । एक तमासले मुटु धड्किरहेको थियो । म मनमा उनी आउने आशामा नयनहरू फिजाएर पर्खिरहेँ ।
एकाध घन्टापछि तीन जना केटाहरु म भएतर्फ आइरहेको देखेँ । उनीहरूको हाउभाउ हेर्दा दादागिरी देखाउने कुन्डले ट्यापे जस्ता प्रस्ट चिनिन्थ्यो । मेरो सामुन्नेमा आएपछि उनीहरुले मुक्का र लात बर्साउन थाले ममाथि । न कुनै प्रश्न थियो न कुनै प्रत्युत्तर । म निरुत्तर, रनभुल्लमा परेँ । तीन जना पहलमानहरूका अगाडि प्रतिवाद गर्न पनि सकिँन । दिमागका गिदीले कलम चलाउन मात्र सिकेको मैले ती कराते र तेक्वान्दो सिकेका बुल्ली ब्वाइजहरुको प्रहार के सहन सक्थेँ र !
जब मैले आँखा खोलें तब गाढा नील तारामण्डलको भित्तामा फ्यान घुमिरहेको भान भयो । त्यसबेला म अर्धचेतमा थिएँ । आफैँलाई नियाल्दै सोधेँ "म स्वर्गमा छु कि नर्कमा ? सपनामा छु कि विपनामा ? घरमा छु कि कहाँ ?" यथार्थमा म हस्पिटलको शय्यामा थिएँ । मलाई ती भाडाका टट्टुहरुले मरणासन्न हुनेगरी पिटेका थिएँ । मैले खुट्याउन सकिँन के अपराध गरको थिएँ मैले ? कसैलाई प्रेम गर्न खोज्दा यस्तो यातना भोग्नु पर्ने ? माया साचै जोखिमपुर्ण हुन्छ ? उनको पनि दोष के नै थियो र । मेरो पनि के दोष ? म एउटा अल्लारे ठिटो; उनी मेरै दौँतरी । एकले अर्कालाई मन पराउनु नाजायज थिएन सायद । माया गर्दैमा सजाय पाउने हो भने घृणाको दुनियामा बसाइँ सरे हुन्छ किनकि यो लोक त मायाको लोक हो मानवताको लोक हो । तर मैंले बुझ्न सकिँन त्यो षड्यन्त्र उनैले गराएकी हुन् कि होइनन् । कि उनलाई मन पराउनेहरूले मलाई प्रतिशोधको लागि आक्रमण गरेका हुन् ? म सधैँ अनभिज्ञ नै रहेँ ।
फूल सुन्दर देखेर भमराले मन पराउदा फूलमा विष छरेर भमरा मार्ने मालीको कुनियत हुन्छ भने विचरा भमराको के कसुर ? भमराले पनि निरस पलासको फूलसँग कदापि फस्ने चेस्टा नगरोस् । सुकोमल फूलले पनि सौरभ भर्ने मुटुमा विष नभरोस्। जस्को निदान कैयौँ निर्दोष भमराहरूको जीवन बरबादीतर्फ नधकेलियोस्। विभीषक प्रेमदेखि होसियार, माया गर्नेहरू !

उर्लाबारी, मोरङ, हालः धरान

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।