17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

ज्ञानदिलदासको जेलजीवन र विद्रोह

व्यक्तित्व / कृतित्व विमल लामिछाने September 27, 2022, 12:35 pm
विमल लामिछाने
विमल लामिछाने

ज्ञानदिल दास जोसमनी धार्मिक–आध्यात्मिक जागरण र अभियानका एक सशक्त सन्तकवि हुन् । नेपाली कविता साहित्यको इतिहासमा कवि ज्ञानदिल दास र जोसमनी सन्त परम्पराको आफ्नै स्थान र महत्व रहेको छ ।

नेपाली साहित्य तिहासकारहरूले नेपाली कविता साहित्यको प्राथमिक काललाई वीरकाव्य काल र भक्तिकाव्य कालमा विभाजन गरेको पाइन्छ । भक्तिकाव्यलाई पनि सगुण र निर्गुण भक्तिकाव्यको रूपमा विभाजन गरिएको छ । सगुण भक्ति काव्य अन्तर्गत रामभक्ति र कृष्णभक्ति अनि निर्गुण भक्ति काव्य अन्तर्गत जोसमनी सन्त परम्पराअन्तर्गतका सन्त साहित्यलाई राखिएको छ । कवि ज्ञानदिल दास यही जोसमनी सन्त परम्पराका महत्वपूर्ण सन्त थिए र उनको साहित्य सिर्जनाले नेपाली साहित्यमा विशिष्ट स्थान लिएको पाइन्छ ।

संक्षिप्त परिचय -

ज्ञानदिल दासको जन्म सन १८२१ मा नेपालको इलाम जिल्लाको आमचोक जोरधारा हाल फाकफोकथुम–३ मा लामिछाने उपाध्याय ब्राह्मण परिवारमा भएको हो । उनको बाल्यकालको नाम श्रीकृष्ण लामिछाने हो ।

श्रीकृष्णको प्रारम्भिक शिक्षादीक्षा घरमा नै गुरुकुलीन पद्धतिबाट भएको थियो, जव उनी पाँचथर नांगीनस्थित जरिङ्गे गाउँमा जोसमनी सन्त गुरु श्यामदिल दासको आश्रममा पुगे र गुरुबाट दीक्षित भए तब उनको नाम ज्ञानदिल दास भयो । उनलाई यो नाम गुरु श्यामदिल दासले दिएका थिए । गुरु श्यामदिल दास जोसमनी सन्त–साहित्यका प्रकाण्ड विद्धान भएको विभिन्न लेख र पुस्तान्तरणका तत्यहरुबाट पुष्टि हुन्छ ।

विभेदविरुद्ध विद्रोह -

ज्ञानदिल दासले सामाजिक व्यावस्था, जातीय असमानता, लिंगीय विभेदका विरूद्ध विद्रोह गरेको पाइन्छ । पुरुषले एउटी श्रीमतीमाथि जतिवटा पनि विवाह गर्न पाउने, महिलाले आफ्नो श्रीमान् मरे पनि अर्को विवाह गर्न नपाउने प्रथाको यिनी कट्टरविरोधी थिए । वेद, पुराणको निन्दा पनि गर्दैनथिए तर त्यसको मूल मर्म नबुझीकन अनेक प्रकारका आडम्बर रचेर दुनीयाँलाई ठग्ने, धुत्ने, लुट्ने मनसायका ब्राह्मण पुरोहितप्रति उनले सधैँ विद्रोह गरेको पाइन्छ ।

लेखक ज्ञानदिल दास राणाकालमा निकै विद्रोही देखिए । छुवाछुतको विरोध गर्थे । ‘छुवाछूत जातिविभेद यहाँको फाँसी, हाम्रो घर अविनाशी’ भन्ने उनले नारा नै तय गरेको उनकै रचनाहरुमा पनि पाइन्छ । एकपल्ट चतरा मठमा एकत्रित भएका कवीरका पंक्तिहरूले जोसमनीहरूलाई मांसहारी भनेर निन्दा गर्दा ज्ञानदिल दासले ‘साधु कवीर अगम मै तो हुँ, मांस भिखारीया’ भन्ने भजन देखेर मासुको आध्यात्मिक रहस्यवादी अर्थ खोलेर कवीरहरूलाई निरुत्तर तुल्याएका थिए भनिएको छ । ज्ञानदिल दास हिंसाविरोधी र अहिंसाका पुजारी थिए । हिंसा गरी मांसभरण गर्ने मानिसलाई अधर्मी होइन तर अज्ञानी ठान्थे ।

आजको मानव समाजमा छुवाछुत जस्तो घृणित प्रथा हटाउनुपर्छ, मानवमा जातको होइन कर्मको मात्र मुल्य र महत्व हुन्छ भन्ने कुरामा विश्वास राख्थे ।

आक्रमणको प्रतिरोध -

भारतको दार्जिलिङमा उनलाई पटक–पटक इसाईहरूले धपाउने अनेकौं चेष्टा गरे तर उनी विचलित भएनन् उल्टो पादरी टर्नबुललाई शास्त्रार्थमा निम्तो दिएर विजय भए अनि बाइबल नै जलाइदिए । पश्चिम सिक्किमको गेलिङमा जेरूङ देवानले उनी बसेको धाम ध्वस्त पारे । देवानलगायत बाहुनहरूले उनलाई गाउँबाट निष्कासित गर्ने, जातिबाट च्यूत गर्ने धम्कीसमेत दिए । ज्ञानदिल दास अलिकति पनि विचलित भएनन् बरू उल्टो अज्ञानी आम मानिसलाई शिक्षा दिन अनौठो विधिको प्रयोग गरे ।

जात खोज्दै राँके जुलुस -

सन्त ज्ञानदिलले दिउँसै हातमा विशाल राँंको लिएर शिङ्ला बजारमा जात खोज्दै घुमे । उनले विभिन्न दलित र जनजातिहरुलाई चेला बनाएर सामुहिकताको अभ्यास गरिरहँदा उनलाई जातिविरोधी र समाज भँडुवाको आरोप लगाएर शिङ्ला निकाला गर्ने घोषणा भयो । त्यसपछि उनलाई ब्राह्मण जातबाटै हटाउने र जातच्यूत गर्ने शासकीय धम्की दिँदा ज्ञानदिल दासले सिङ्ला बजारमा मध्य दिनमा टनटलापु्र घाम लागेको बेला सिंगै घना बाँसका भाटाको विशाल राँको बोकेर चेलासहित समर्थकको जुलुस लिएर जात खोज्दै हिँडेको कुरा तल्कालिन लेखोटहरुमा पाइन्छ ।

यी सबै कार्यले सन्त ज्ञानदिलको व्यक्तित्वको अद्भूत रूपलाई प्रतिबिम्बित गर्दछ । उनको पाण्डित्य, निर्भिकता, आत्मविश्वास, सैद्धान्तिक दृढता, धैर्यता र जनजागरण फैलाउने प्रयत्न अविस्मरणीय छ, जसले जातीय विभेदविरुद्ध विद्रोह गरेर एउटा गौरवपूर्ण इतिहास रचेको हामी पाउँछौ । एक पटक सिक्किममा ठूलो आगलागी हुँदा उनले एक व्यक्तिलाई जल्नबाट बचाएको र उनमा दैवी शक्तिसमेत भएको किंवदन्ती छ । सिक्किमतिर उनलाई आगोको देवताका रूपमा समेत पूज्ने चलन छ ।

जोसमनी धर्मका प्रचारक -

जोसमनी सन्त परम्पराको प्रचार–प्रसार गर्दै विभिन्न ठाउँ पुगेर लोकप्रियता प्राप्त गर्ने सन्तकवि ज्ञानदिल दासले जीवनको पूर्वाद्ध नेपालमा र उत्तराद्र्ध भारतको दार्जिलिङ र सिक्किममा बिताएका थिए । इलाम जिल्लाको साविक आमचोक ५ जोरधार टोल, हाल फाकफोकथुम गाउँपालिका वडा–३ मा जन्मिएका भएपनि पश्चिम सिक्किमको गेलिङ जहाँ सन्तकवि ज्ञानदिल दास बसेर धर्म प्रचार गरेको स्थलको रुपमा आज तीर्थस्थल बनेको छ र त्यो गेलिङधामले प्रसिद्ध छ ।

यिनले पूर्वी नेपाल तथा भारतको दार्जिलिङ, सिक्किम र भुटानसम्म जोसमनी धर्म सम्प्रदायको प्रचार गरेको पाइन्छ । उनले नेपालको रुम्जाटारलाई केही समय मुख्य थलोको रूपमा लिएर धर्म प्रचार समेत गरे भनिएको छ ।

स्मरणीय के छ भने महाँगुरु फाल्गुनन्द फलामसिंह लिम्बू गोर्खा फौजमा हुँदा बर्मामा रहेको बेला जोसमनी साधु ज्ञानदिल दासका चेला मधुनन्दन सतसंग गइ जोसमनी मतमा दीक्षित भएर गुरुपन्जा पाइ फलामसिंबाट साधु फाल्गुनन्दको उपाधी पाएपछि वि.स. १९७५ मा नेपाल फर्की आएर इलामको बाँझो र साकफारालाई आश्रायस्थलको रुपमा लिएका हुन् भनिएको छ । धर्मगुरु फाल्गुनन्दसँगको ज्ञानदिलदासको सम्बन्ध गुरु चेलाको भएको प्रमाणहरु भेट्न सकिन्छ । यी तथ्यहरुले के देखाउँछ भने महागुरु फाल्गुनन्दका गुरु मधुनन्दन र मधुनन्दनका पनि गुरु सन्त ज्ञानदिल दास रहेको पुष्टि हुन्छ ।

बाबुलाई छोराको साथ -

ज्ञानदिलदासका छोरा सन्त रविदिल दास हुन् । ओखलढुंगाको रुम्जाटारमा उनका नाति दिलराम लामिछानेको परिवार छ । आफ्नै बुबाको धर्मप्रचारक सन्त रविदिल दास पनि हुन् । उनले पनि जोसमनी धर्म, आचार, विचार र समाजसेवामा जीवन बिताए । विभिन्न पुस्तकमा प्रकाशित लामो दाह्री भएको ज्ञानदिल दासको तस्बिर सन्त रविदिल दासले संग्रह गरेका हुन् । उनले बुबा ज्ञानदिल दास जेल परेको बेला र मृत्युपश्चात पनि जोसमनी धर्म र प्रगतिवादी बुबाका भजनहरुकै प्रचार गरेर जीवन बिताए भनिएको छ ।

राणाकालमा २ पटकको जेलजीवन -

नेपालमा १९०३ सालमा जङ्गबहादुर राणाले कोतपर्वमार्फत आफ्ना सम्पूर्ण विरोधीलाई समाप्त पारी हैकम चलाए । जङ्गबहादुरको शासनविरूद्ध बोल्नेलाई फाँसीको सजाय सुनाइएको थियो । नेपालबाट दार्जिलिङ पस्नुअघि ज्ञानदिल दासले नेपालका विभिन्न ठाउँमा जोसमनी मतको व्यापक प्रचार–प्रसार गरेका थिए । उनले पूर्व नेपालमा जोसमनी संगठनलाई बलियो बनाउँदै धर्म प्रचार गरिरहेका थिए जसबाट नेपालका तत्कालीन प्रधानमन्त्री तथा राणा शासनका संस्थापक जङ्गबहादुर राणा त्रसित बनेका थिए । जङ्गबहादुरलाई उनीविरुद्ध जनचेतना फैलाउन गुप्त संगठनहरू बनाउन सुरू गरिएको आशंका भयो । उनले ज्ञानदिल दासलगायत उनका अनुयायीलाई विभिन्न ठाउँबाट पक्राउ गरी काठमाडौं लगे ।

यिनको विद्रोह दमन गर्न जङ्गबहादुरका भाइ धीरशमशेरले ठूलो सैनिक कसरत गर्नु परेको थियो भनिएको छ । यसरी केन्द्रबाट खटिएर गएको सरकारी फौजले सन्त ज्ञानदिल दास, कालु लम्साल, लखन थापा, अजिर सिंह अछामी मगरलाई पक्राउ गरी बाँसको पिँजडा र खोपीमा थुनेर काठमाडौं लगियो । पछि यिनीहरुलाई पुनः गोर्खा नै पठाइयो । सन्त ज्ञानदिल दास गोर्खाबाटै प्रचारकै क्रममा पक्राउ परेका थिए । उनी साधु भएकाले र कालु लम्साल ब्राह्मण भएकाले मृत्युदण्डबाट बचे भनिएको छ । उनीहरुलाई जेलमा बन्दी बनाएरै राखियो, अनि ६ महिनासम्म कैद गरी उनको अध्ययन गरेपछि समानताको प्रचारक रहेको र साधुको रुपमा रहेका भनेर छोडिएको अध्ययेताहरु बताउँछन् । सो ६ महिनाको अवधिमा ज्ञानदिल दासको राजकाज र राजनीतिसित कुनै सरोकार नरहेको र उनी विशुद्ध कवि र धर्मप्रचारक रहेको टुङ्गो लागेपछि स्वयं जङ्गबहादुरले सेतो झण्डा र नगरा दिएर उनलाई स्वतन्त्र रूपमा धर्म प्रचार गर्ने अनुमति दिएका थिएपनि भनिएको छ । सोही अवधीमा देसद्रोहीको मुद्दामा पक्राउ गरिएका लखन थापासहित ६ जनालाई मनकामना मन्दिर अगाडि फाँसी दिइयो । नेपालको प्रमुख र पहिलो सहिदका रुपमा लखन थापालाई लिइन्छ । उनले जङ्गबहादुरविरूद्ध विद्रोह गरेका थिए ।

ज्ञानदिल दासको जीवन सङ्घर्षमय छ । अनेकौं यातना र विरोधको सामना गर्नुपरे पनि प्रत्येक पल्ट उनी विजय बनेको इतिहास पाइन्छ । जङ्गबहादुरले उनलाई कैद गरे तर, पछि सम्मानसहित छोडे । उनको प्रभावमा आएर रणोद्दिप सिंहलगायत धेरै तत्कालीन भारदार, सैनिक र कर्मचारी जोसमनी मतमा दीक्षा लिन ज्ञानदिल दासकै शरणमा आएका थिए । पूर्वी नेपालको इलामस्थित फिक्कलमा धर्म प्रचार गर्दा यिनले ब्राह्मणको आलोचनाको सामना गर्नुप¥यो । ब्राह्मणहरुले विभिन्न नीच जातको मान्छेलाई चेला बनाएर शिक्षा दिएको, दलितलाई ब्राहमण गीता पढाएको र ज्ञान प्रचार गरेको, विद्रोही कविता रचना गरेको आदि आरोपमा उजुरी गरेपछि उनी पुनः १९०३ सालको पुसमा जेल परे तर दुई महिनापछि छुटे । यो उनको दोस्रो पटक जेलजीवन थियो । त्यसपछि जोसमनी सन्त परम्पराको प्रचार गर्दै यिनी भारतको दार्जिलिङ, सिक्किम र भुटानसम्म पुगेका हुन् ।

ज्ञानको प्रतिष्पर्धा र धर्मग्रन्थ जलाइने होड -

ज्ञानदिल दास तार्किक स्वभावका थिए र उनमा शास्त्रको राम्रो ज्ञानसमेत थियो । यसैले एकपल्ट दार्जिलिङमा पादरी टर्नबुलसँग धर्मका विषयमा निकै गम्भीर तर्क भएको र जो यस तर्कमा पराजित हुन्छ उसको धर्मग्रन्थ जलाइने सर्त राखिएको थियो । त्यस तर्कमा पादरी टर्नबुल पराजित भएकाले उनको बाइबल जलाइएको अनि त्यसदिन जलाइएको बाइबलको खरानीबाट कण्ठी बनाइ ज्ञानदिलले आफ्ना सन्त चेलालाई लगाइदिएका थिए भन्ने विषय निकै लोभलाग्दो र रोचक पनि छ ।

ज्ञानदिल दास कतिसम्म बुद्धिमानी थिए भने यिनका अघि शास्त्रार्थ गर्न उभिएका कुनै पनि विपक्षी पराजित हुन्थे । उनले दार्जिलिङमा रहँदा त्यहाँका इसाई पादरी रेभरेन्ड ए टर्नबुललाई शास्त्रार्थमा पराजित गरेर सारा विश्वलाई आफ्नो प्रभावमा पार्दै अघि बढिरहेको ब्रिटिस साम्राज्य र त्यसको आडमा भारतवर्षमा बढ्दो क्रममा रहेको इसाई–क्रिश्चियन धर्मका मुख्य पादरीसँग शास्त्रार्थ गरी पराजित गर्न सक्षम भएबाट सन्त ज्ञानदिल दासको ज्ञानभण्डार, तर्कशक्ति एवं प्रत्युत्पन्नमतिको उच्चता छर्लङ्ग हुन्छ । शास्त्रार्थ गर्नुअघि सर्त के रहेको थियो भने जसले हार्दछ उसको धर्म ग्रन्थ पोलिनेछ । किन कि पहाडको कुनाबाट आएको ज्ञानदिल दास भन्ने साधुले टर्नबुलजस्ता सहरी क्षेत्रको विद्वानका रुपमा धाक–रवाफ भएका व्यक्तिलाई वादविवादमा हराउँला भनेर इसाईहरूले रत्तिभर पनि कल्पना गरेका थिएनन् ।

शास्त्रार्थका लागि स्थान र समयमा दुवै पक्ष जम्मा भए । एकातिर सन्त ज्ञानदिल दास र उनका अनुयायी, अनि अर्कापट्टी पादरी टर्नबुल र उनका सहयोगी बसी शास्त्रार्थ चल्दै गयो । न कि शास्त्रको अर्थ पालो पालो लगाउँदै गए । मूल््यांकन दुई तरिकाले हुन्थ्यो, एक जसले सही अर्थ लगाउँथ्यो उसको पक्षमा राखेको डालामा मकैका दाना हालिन्थ्यो । दोस्रो दुवै पक्षबाट धर्का तानेर नम्बरिङ गरिन्थ्यो । सात दिनसम्म वादविवाद चलेपछि अन्ततोगत्वा ज्ञानदिल दास विजयी भएको ठहरियो र हार्ने पक्षको धर्मशास्त्र ‘बाइबल’ पोलियो भनिएको छ ।

‘जोसमनी सन्त परम्परा र साहित्य’ पुस्तकमा लेखिएअनुसार, सन्त ज्ञानदिल दासले शास्त्रार्थमा इसाईलाई हराइ बाइबल पोलिएको घटनाले विश्वभर प्रभाव प¥यो । यस घटनाले इसाई धर्मावलम्बीका मनमा चोट लाग्नु स्वाभाविकै कुरा हो । तर रेभरेन्ड ए टर्नबुलले ज्ञानदिलप्रति प्रतिशोध वा द्वेषको भावना लिएनन् । उनी स्वयं विद्वान भएको हुँदा विद्वानको कदर गर्न जान्दथे । उनले ज्ञानदिललाई एक राज्य बराबरको भूगोल दिन र त्यहाँ कुटी बनाएर ज्ञान प्रचार गरेर बस्न अंग्रेज प्रशासकलाई अनुरोध गरेर साढे चार एकड भूमि विर्ताको रुपमा रंगबुल भन्ने ठाउँमा दिलाए र ज्ञानदिल दास त्यहीं कुटी बनाएर आफ्नो ‘जोसमनी सन्त परम्परा र साहित्य’ र धर्मको काम अगाडि बढाउँदै गए । उनको समानताको विद्रोह र धर्म प्रचारकै क्रममा सिक्किमको गेलिङमा वि.स. १९४० कात्र्तिक २५ गतेका दिन निधन भएको हो ।

हुलाक टिकटमा ज्ञानदिलदास -

उनले सिक्किम र दार्जिलिङका विभिन्न स्थानमा जोसमनी मत प्रचारको क्रममा धेरैवटा सन्तमठ वा धामको स्थापना गरेका थिए । दृष्टान्तको रूपमा गेलिङधाम, रमीधाम, रङबुलधाम आदि मठ वा धामको सगर्व नामोल्लेख गर्न सकिन्छ । महान सन्तयोगी ज्ञानदिल दास र उनका छोरा रविदिल दासको ओखलढुंगाको सिद्धिचरण नगरपालिका १३ मा पर्ने रुम्जाटारमा सालिक निर्माण भएको छ । यहाँ डा. स्वामी प्रपन्नाचार्यले भारतको दार्जिलिङबाट तस्बिर ल्याई मूर्ति कुँदाएका हुन् । डा. स्वामी प्रपन्नाचार्यले व्यक्तिगत ३ लाख रुपैयाँ लगानी गरेर ज्ञानदिल दास र रविदिल दास दुवै सन्तको पूर्णकदको प्रतिमा निर्माण गराएका हुन् । ज्ञानदिल दासका सहोदर नाति दिलराम लामिछानले बुबा रविदिल दासले मर्नु अगावै आफ्नो शरीर दाहसंस्कार नगर्नु भनेको हुनाले बुवाको लासको समाधिस्थल पनि आँगनमै बनाएर राखिएको बताएका छन् । रविदिल दासको वि.सं १९३५ मा जन्म भएको र निधन २०१३ मा रुम्जाटारमा भएको थियो । यसैगरी इलाम आमचोकको लामिछाने गाउँस्थित जोरधारा क्षेत्रमा शालिक र प्रतिमाका साथै मन्दिर पनि निर्माण भएको छ । भारतका विद्वान उद्दिरनाथ शर्माले ज्ञानदिल दासकै बारेमा विद्यावारिधि गरेका छन् । नेपालको सन्दर्भमा गहन रुपले उनको बारेमा अध्ययन गर्ने एकमात्र डा. स्वामी प्रपन्नाचार्य हुन् ।

(लेखक लामिछाने ज्ञानदिलदास खोज र अनुसन्धानकर्ता हुन् ।)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।