15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भारतीय नेपाली कथासाहित्यमा हर्कबहादुरको ‘रेडियोरिता’

कृति/समीक्षा डा. गोमा देवी शर्मा 'अधिकारी' September 27, 2022, 12:42 pm
डा. गोमा देवी शर्मा 'अधिकारी'
डा. गोमा देवी शर्मा 'अधिकारी'

सन् 2021 मा मन बल्झिन्छ शीर्षक कविताकृति लिएर नेपाली साहित्य जगतमा झुल्किएका हर्कबहादुर लाम्गादे ‘रोहित’ युवा पुस्ताका एउटा जाँगरिला सर्जकका रूपमा देखापरेका छन्। उनी मूल रूपमा चारहजारे, मणिपुरका बासिन्दा हुन् र वर्तमान राजधानी दिल्लीमा कार्यरत छन्। रेडियोरिता उनको दोस्रो कृति हो।
रेडियोरिता सोह्रवटा समसामयिक कथाहरूको सँगालो हो। यो युवा मनका विविध अनुभव, इच्छा, कामना, आकर्षण, प्रेम, वितृष्णा, मिलन, बिछोड, पीडा, बाध्यता, सपना आदि अनुभूतिको एउटा लिखित दस्तावेज हो। यसका जम्मै कथाहरूले समकालीन समाज र परिवेशको उदांगो रूप झल्काएका छन्। शहरिया परिवेशभन्दा आंचलिक-ग्रामीण परिवेश चित्रणमा लेखकको कलम बढी रमाएको पाइन्छ। वर्तमानकालीन सभ्यताको दारुण स्थिति र त्यसमा पिल्सिन बाध्य आर्थिक रूपले विपन्न परिवार वा व्यक्ति, बजारवादले जन्माएको विकृतिको संवाहक बन्दै गइरहेको आधुनिक युवा पीढीको स्थितिले पाठकको मनलाई केही सोच्न बाध्य गराउँछ।। जम्मै कथाहरूले केही न केही सन्देश बोकेको पाइन्छ।
पहिलो कथा नौ महिने पाहुना आजको सभ्यताले जन्माएको सरोगेसी प्रथाको कहालीलाग्दो रूप र आर्थिक अभावको अग्निकुण्डमा पिल्सिन बाध्य एउटी कुमारी आमाको कथा हो। बढदो बजारवादले जन्माएको सरोगेसी जस्तो व्यापारले नारीको कोखलाई पनि बिकाउ बनाएर पसलमा सजिन बाध्य गराए तापनि उभित्रको ममता कहिल्यै बिकाउ बन्न नसकेको कुरालाई कथाले स्पष्ट पार्न खोजेको छ।
भूल कथाले आजको युवा पिढीमा प्रचलित सस्तो प्रेम र त्यसको दुष्परिणामको सन्देश बोकेको कथा हो।, उच्च लक्ष्यतिर लम्कने प्रेरणा नपाएको युवावर्गको दिग्भ्रमित रूप साथै आफ्नो सन्तानले नाबालिग अवस्थामै बच्चा जन्माउँदा सामाजिक इज्जत जाने डरले नवजातको हत्या गर्नेसम्म दुस्साहस गर्न बाध्य र पञ्चायतमा कुकृत्य उजागर हुँदा दण्डकी भागी बन्नुपरेकी एउटी समाजभिरु आमाको कथा हो। यस कथामा दुई स्कूले जोडिको भूल भए तापनि भूलमा संलग्न युवक र उनको परिवारप्रति कुनै प्रकारको दण्डविधान देखिँदैन। दण्डको भागी केटी र केटीकी आमा मात्रै बनेका छन्। यहाँ लेखकीय न्यायको अदालतमा नीर-क्षीर विवेकको खाँचो देखिन जान्छ। यस कथामा हरेक कृत्यमा नारी दोषी मान्ने परम्परागत पुरुषसत्तात्मक सोच देख्न पाइन्छ।
लक्ष्मणरेखा एउटा उत्कृष्ट कथा हो भन्न मिल्छ। यसमा माता-पिताको कठोरतम अनुशासनमा बाल-बच्चाको सोच्ने-बुझ्ने क्षमताको विकास हुन सक्दैन भन्ने कुरालाई दर्शाउन खोजिएको छ। सख्त मिजासका शंकर ओझाले बढदी छोरीको भावनालाई बुझ्न न सक्नु, सन्तानको क्षमताभन्दा उच्च अपेक्षा राख्नु, छोरीले अलि जान्ने बुझ्ने भएपछि बाउको अनुशासनको साम्राज्यलाई लात हानेर त्यसबाट स्वतन्त्र हुन खोज्ने घटनाले कठोर अनुशासनमा आफ्ना सन्तानलाई राख्न खोज्ने आमा-बाबुलाई एउटा सन्देश दिएको छ।
डिस्को गर्ल बढदो भोगवादको चपेटमा परेकी रिया नामकी एउटी सुन्दर युवतीको बिकाउ मांसल सुन्दरता र त्यस सौन्दर्यको बजारमा प्रेमको न्यानो खोज्ने दिनेश नामक युवाको कथा हो। आजको बजारवादले नारी सौन्दर्यको दुरुपयोग गरेको, सौन्दर्य प्रदर्शन र त्यसको पार्श्वमा एक-एक पैसाका लागि पिल्सिंदै गरेको युवा जीवनको दयनीय स्थितिको यथार्थलाई पाठकसामु ल्याउन खोजेको छ। दिनेश नामक पात्र एउटा सन्तुलित विचार बोकेको युवा हो। उसले रियालाई निस्वार्थ मन पराउँछ। रिया कुनै बाध्यताले दैहिक व्यापारमा संलग्न भए तापनि दिनेशले उसलाई चोखो नजरले हेरेको र लेखकले दिनेश पात्रको माध्यमबाट आफ्नो व्यापक विचारधाराको परिचय दिएका छन्। यसमा आफ्नो हृदयको तराजुमा नारी पुरुषको गुण दोषलाई सन्तुलित रूपमा जोख्ने क्रममा युवा दिनेशको अन्तर्द्वन्द्व चित्रण अत्यन्त प्रेरक र अनुकरणीय बनेको छ।
दुई किनार लव जिहादको अपवादमा उभिएको कथा हो। यसमा हिन्दु केटी र मुसलमान केटामाझ प्रेम-प्रीतिको कथा बुनिएको छ। यसमा धार्मिक दंगाको भयावह रूप र यसमा मानव नै मर्नु पर्ने र जुन धर्मावलम्बी मरे पनि रातै रगत बगेको तथ्यले घृणाको विरोध, मानव महत्व र धार्मिक एकताको सन्देश दिन खोजिएको छ।
हग एउटा राम्रो कथा हो। नया सभ्यतासँगै युवा पिढीमा आज विभिन्न पश्चिमे परम्पराहरूले जन्म लिएको देखिन्छ। नमस्ते गरेर कसैको स्वागत वा कृतज्ञता ज्ञापन गर्नुभन्दा सीधै अंकमाल गर्नपुग्ने युवा वर्गको यस शैलीलाई अग्रज पिढीले सहजै पचाउन सक्दैन र अग्रज पिढीले यसलाई गलत भनेर दलिल दिएको देखिन्छ। हगलाई पुरानो पिढीले प्रेमको अन्तिम सोपान मान्छ भने युवा पिढीले मात्रै कृतज्ञता वा आभार जताउने सहज क्रियाको रूपमा लिन्छ। यो कथा पिढीको अन्तराल वा जेनेरेशन ग्यापको राम्रो उदाहरण बनेको छ। अंजनाले केही प्रोजेक्ट पूरा गर्न सहयोग पुऱ्याएकोमा भुवनलाई सार्वजनिक ठाउँमा हग गरेर धन्यवाद जताउने क्रियालाई उसको दाजुले देख्नु र त्यसको विरूद्ध भुवनमाथि आक्रमण गरेर घाइते पार्नु, अंजनालाई पनि दण्डित गर्नु यस कथाको मूल कथ्य हो। मालती साइँली कोरोनाले भित्र्याएका समस्या र त्यसको विभिषिकामा परेको एउटा परिवारको मार्मिक कथा हो। यो कथा कोरोनाकालीन कहालीलाग्दो स्थितिलाई युगौंसम्म पाठकसामु प्रष्ट पार्न सक्षम बनेको देखिन्छ।
मेरो के दोष थियो कथाले मर्यादाहीन र दायित्वहीन अभिभावक र उनीहरूको दायित्वहीनताको दण्ड सन्तानले भोग्नुपर्ने तथ्यलाई दर्शाउने कथा हो। जँड्याहा पिताको अत्यचार खप्न नसकेर आमाले विष खाएर आत्महत्या गर्नु, दिशाहीन छोरीले नाबालिग अवस्थामै भागी बिहा गर्नु, सोह्र वर्षे उमेरमा गर्भिणी हुनु, कलिलो उमेरमा जँड्याहा पतिको अत्याचार सहन नसकेर कोखको बच्चासँगै आत्महत्याको बाटो रोज्न पुग्नु यस कथाको मार्मिक पक्ष हो। यसमा पुरुषको कर्तव्यहीनताले जन्माएका पिढीगत विकृतिहरूको राम्रो चित्रण भएको छ।
डि-पेपर बेमेल विवाहले उप्जाएका समस्याहरूको दस्तावेज हो। यस कथामा पनि कथाकारले आफ्नो व्यापक विचारधाराको परिचय दिएका छन्। यस कथाकी नायिकाले मन नमिल्ने करोडपति पतिको ठाउँमा मन र उमेर मिल्ने साधारण प्रेमीसँगको जिन्दगी रोजेको पाइन्छ। यसमा धनभन्दा मन मिल्ने साथी नै जीवनको आधार हो भन्ने कुरालाई दर्शाउन खोजिएको छ। समाजले युगौंदेखि नारी मानवाधिकार कुल्चिंदै आएको छ। विवाहको सम्बन्धमा केटीका माता-पिता वा अभिभावकले निर्णय लिने चलन छ। केटीलाई उसको इच्छा सोधिंदैन र माता-पितालाई केटो मन परेमा छोरीको विवाह गरिदिएका उदाहरण प्रशस्त देखिएका छन्। यस अवस्थामा कतिपय युवतीहरूको जिन्दगी नर्क बनेको, कतिले आफ्नो भाग्यको खेल सम्झी सबै अन्याय र अत्याचार सहन गरेको र कतिले असमय आत्महत्या गरेको पनि देखिन्छ। यस कथाकी नायिका बेमेल विवाहको विरोधमा उभिएकी मात्रै नभएर आफुलाई असाध्यै मन पराउने प्रेमीसँग विवाह गरेर आफ्नो मानवअधिकारको रक्षा गर्ने युवतीको रूपमा उभिएकी छिन्। उनले आफ्नो विवाहित पतिलाई डिभोर्स पेपर पठाएर आफ्नो प्रगतिशील विचारको परिचय दिन्छिन्। यस कथाले दूरगामी सन्देश बोकेको देखिन्छ।
मुसलधार पानीमा युवा मांसल आकर्षणबाट उप्जिएको फिल्मी पाराको प्रेमकथा हो भने रेडियोरिता रेडियो प्रेमको अनौठो दस्तावेज हो। यो आजको इन्टरनेट र स्मार्ट फोनको दुनियाभन्दा अलि अघिको देशकाल बुझाउने कथा हो। यसले त्यो समयको युवा पिढीमा रेडियोको कति मोह थियो भन्ने जानकारी आजको पाठकलाई दिन्छ। यसमा रेडियोको अनन्य प्रेम साथै कार्गिल युद्धमा शहीद हुनपुग्ने सैनिककी विधवा पत्नीको मानसिक दशाको मार्मिक चित्रण भएको छ। भावनाको भेलमा कोरिएका शब्दभित्र प्रेमको नाममा केटी फँसाएर अप्ठ्यारामा पारी धोका दिने पुरुष र धोकाको रापमा पिल्सिएर आफ्नो जीवन समाप्त गर्ने युवतीको कथा हो। यस्ता घटनाहरू आज हामी यत्र-तत्र देख्न पाइरहेका छौं। सेतो सारीमा रातो रंग आंचलिकताको पृष्ठभूमिमा रचिएको युवा मनको प्रेमानभूति र मांसल सौन्दर्यप्रति आकर्षणको कथा हो।
अधीन कथाले एउटी छोरीले गरेको भूलको सजा अर्कीलाई दिने निष्ठुरी बाबु-आमा र सन्तानप्रति कठोर अनुशासनले जन्माएका त्रासद स्थितिहरूको कथा हो। यो कथा निकै सन्देशमूलक छ। काइँला-काइँली कथा सन्तान शहरिएर एक्लै घर बस्न बाध्य बुढा बा-आमाको करुण कथा हो।
चौतारी एउटा समर्पित प्रेमकथा हो। यस कथामा एकातिर प्रेमको नैसर्गिक रूप र त्याग देखाउन लेखकले रत्ति पनि लोभ गरेको देखिंदैन भने अर्कातिर क्यान्सर पीडित नायकले डाक्टरले तोकेको मर्ने मितिअघि नै चौतारीमा झुण्डिएर मर्ने दुस्साहस गरेको कार्यले आदर्शप्रेमीको गुणलाई धमिल्याएको छ। एकातिर नायक बलियो मुटु भएको, तन-मनले आफ्नी पत्नीको इच्छा पूरा गर्न लागेको, अनन्य प्रेमी, निस्वार्थ त्यागी पुरुषको रूपमा देखा पर्दछ भने अर्कातिर उ आत्महत्या गर्ने छोटो बुद्धि भएको रूपमा देखा पर्दछ। उ धरतीमा केही दिनको पाहुना हो भन्ने थाहा हुँदाहुँदै पनि उसको कृत्यले उसका समस्त गुणहरूमा तुषारापत गरिदिन्छ। मृत्युसँग साक्षात्कार गर्न गइरहेको मानव निर्भिक हुन्छ भन्ने धरणा छ। उसलाई नझुण्ड्याएर अन्तमा चौतारीमा पुर्याएर मरेको देखाएको भए लेखकले आफ्नो पात्रसँग न्याय गर्ने थिए भन्ने मलाई लाग्छ। यसरी पाठकलाई कथाको अन्त खल्लो लाग्छ र यस कथामा विरोधाभासको स्थिति देखा पर्दछ। समग्रमा यस कथाले फिल्मी ढाँचा अँगाल्न पुगेको छ।
रेडियोरिताका प्रायजसो कथाहरूमा घटनाको प्रधानता पाइन्छ। विषयवस्तु र पात्र चयनमा लेखकले धेरै दक्षता देखाएका छन्। कथाका पात्रहरू प्राय युवा छन्। कथाहरूमा आजको बजारवादको चपेटले जन्माएको भोगवादी एवं भौतिकवादी वृत्ति र आफ्नो परम्परा, पहिचान र संस्कृतिबाट विच्छिन्न हुँदै गइरहेको दिशाहीन र भौतिकवादको चपेटमा परि विकृतिहरूको पुञ्ज बन्दै गइरहेको युवा पिढीलाई स्थान दिएको देखिन्छ। लेखकले समाजको सागरबाट चुनिन्दा पात्ररूपी मोतीहरू टिपेका छन् जसले समाजका विविध विकृत पाटाको प्रतिनिधित्व गरेका छन्। यहाँ सोझै आत्महत्या गर्ने पात्रहरू प्रशस्त छन्। यसमा उच्च लक्ष्य राखेर शिक्षा एवं समाजमा अघि बढ्ने युवाभन्दा सस्तो र क्षणिक प्रेममा भुलिएर आफ्नो सुनौलो युवा जीवन गुमाउने युवाहरू प्रशस्त छन्। आत्मिक वा नैसर्गिक प्रेममा भन्दा शारीरिक आकर्षण पछि लाग्ने, क्षणिक आनन्दका लागि केटीको जीवनसँग खेल्ने, आफ्ना बूढा बा-आमालाई एक्लै छाडी शहरिन बाध्य भएका पात्रहरू छन्। युवतीहरू कतै विद्यार्थी अवस्थामा गर्भिणी भएका, शारीरिक प्रेमलाई प्रेम सम्झिने, युवा हुनुको अर्थ मात्रै एउटा जीवनसाथी भेटनुको अर्थमा लिने, क्षणिक शारीरिक प्रेममा फँसेका, धोकाको शिकार भएका, देह व्यापारमा संलग्न, मातृत्व बेच्न बाध्य भएका, उच्च लक्ष्यहीनहरू छन् भने अभिभावक वर्ग पनि प्राय दायित्व निर्वाह नगर्नेहरू छन्। उनीहरूको दायित्वहीनताको दण्ड सन्तानले भोग्नु परिरहेको यथार्थ केहि कथाहरूले सरलतासँग पाठकमाझ राखेका छन्। उच्च सपना बोक्ने, उँचो लक्ष्य हासिल गर्ने संकल्प लिएर अघि बढने, दुनियामा कीर्ति राख्न कमर कस्ने, संघर्शशील युवा पात्र कथामा छैनन्। ग्रामीण र शहरिया दुवै युवा पात्रहरू विभिन्न विकृतिहरूको चपेटमा परेका छन्। युवा पिढी परिवार, समाज, देश र दुनियाको मेरुदण्ड मानिन्छ। युवा दिशाहीन भए समाज दिशाहीन बन्छ भन्ने विद्वान-चिन्तकहरूको भनाई छ। दिशाहीन समाज विस्तारै पतनको बाटो लिन्छ, यसैले युवावर्ग संघर्शशील, उच्च लक्ष्यसाधक, इमान्दार र चरित्रवान हुन अनिवार्य मानिन्छ। कथाहरूले युवावर्गको आँखा अवश्य खोल्नेछन्। यसरी लेखकले आफुले भोगेको, आँखाअघि देखेको र अनुभव गरेको वर्तमान जीवन र परिस्थितिको एउटा विकृत पाटोलाई कथाको माध्यमबाट छर्लंग देखाउने प्रयास गरेका छन्।
कथाहरूमा कथातत्वको राम्रो निर्वाह भएको पाइन्छ। कथावस्तुमा सम्पूर्णता पाइन्छ भने विभिन्न वर्गको प्रतिनिधित्व गर्ने पात्रहरूको राम्रो गठन भएको छ। एकाधलाई छोडेर प्राय पात्रहरूको सुहाउँदो चरित्रचित्रण कथामा देखिन्छ। छोटा र लामा दुवै प्रकारका पात्रोचित सम्वादहरूको संयोजन कथामा पाइन्छ। शैलीमा सम्वादात्मक, वर्णनात्मक, अन्य पुरुष, पत्रात्मक र आत्मकथानकको निर्वाह भएको पाइन्छ। कथाकारको नेपाली भाषाले कथाको उद्देश्यसम्म पाठकलाई डोहोऱ्याउने क्षमता बोकेको देखिन्छ। हिन्दी भाषाका प्रशस्त शब्दहरू देखा परे तापनि यस्ता शब्दले लेखक हुर्किएको, उठ-बस गर्ने समाजको प्रभावलाई प्रष्ट्याएको छ तर कथाको सम्प्रेषणीयतामा कुनै बाधा पुऱ्याएको देखिंदैन। लामो समयबाट दिल्लीमा बसोवास गरेको हुनाले नेपाली भाषामा हिन्दीका शब्दहरू आउनु अस्वाभाविक भन्न मिल्दैन किन भने कुनै पनि भाषामा स्थानीयताको प्रभाव पर्नु स्वाभाविक कुरा हो। समग्रमा भन्नु पर्दा आकर्षक आवरणमा सजिएको रेडियोरिताले लेखकले देखेको, भोगेको समाजको एक पाटाको खुला यथार्थलाई बोकेर नेपाली साहित्यको बजारमा प्रवेश गरेको छ। पाठकले कथालाई बुझ्न बढी मिहिनेत गरिरहनुपर्दैन र पढदै लाँदा आफ्नै वरिपरि घटिरहेका घटना र दृश्यहरू आँखाअघि घुमेझै अनुभव गर्नेछन्। यस कृतिमा पाठकले सरल-सहज अभिव्यक्तिको एउटा अनौठो नमूनाको साक्षात्कार गर्नेछन्। यो कृति पठनीय बनेको छ। भविष्यमा लेखकको लेखनीबाट अझ उत्कृष्ट कथाहरूको सिर्जना हुनेछ भन्ने बलियो आशा साँच्न सकिन्छ।
कृतिको नाम - रेडियोरिता
सर्जक - हर्कबहादुर लाम्गादे ‘रोहित’
विधा - कथा (आख्यान)
प्रकाशक - अम्बर पब्लिकेशन हाउस, नयाँ दिल्ली
मूल्य - रु.150 /- (भारत), रु. 200 /- (नेपाल)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।