(हाइबुन)
“यात्रा रहेछ जिन्दगी ... ।”
सानैदेखि रेडियोमा गीत भनेर खुब सुन्दै आएको हो । साँच्चै जिन्दगीको अर्को नाम यात्रा त हो नि । यात्रा छ र जिन्दगी जीवन्त हुन्छ । यात्रा छ र त साहित्य नवीन बन्छ । मान्छेलाई सही मानेमा बचाउने र निरन्तर क्रियाशील बनाउने यात्रा नै हो भन्दा फरक पर्दैन होला । यसर्थ मिलेसम्म नयाँ नयाँ यात्राको ताकमा हुन्छु म पनि । के गर्नु नेपालको न्यून आयले सधैँ घुम्न नपुग्ने ? यात्राका लागि कुनै न कुनै बाहना खोज्नु नै पर्ने ।
यही २०७९ साल भदौको सुरुतिरै हो, आँबुखैरेनीका स्रष्टा अनिल श्रेष्ठले भदौ २४ र २५ का लागि आँबुखैरेनी आउने निम्ता दिएका । निम्तो पाउने बित्तिकै योजना बन्यो जसरी पनि जानुपर्छ । कामलाई मिलाएर २४ गते शुक्रबार कवि सुरेन्द्र अस्तफल र म नारायणगढबाट हिँड्ने योजना बनेको भए पनि हिँड्ने बेलामा उनी स्वास्थ्य खराब छ भनेर तर्किएपछि म एक्लै पोखरा बसपार्कतर्फ लागेँ । बारपाक जाने बस छुट्न लागेको रहेछ । अन्तिम सिटमा बसेर लागियो आँबुखैरेनी । बाटो खाली भएकाले साँढे सातमा छुटेको बस बाटोामा चियानास्ता खुवाएर पनि पौने दश बजे आँबुखैरेनी पुग्यो ।
“सिम्सिमे पानी
पाहुना कुर्दै हो कि ?
आँबुखैरेनी ।”
चोकको होटलमा करिब पन्ध्र मिनेट कुरेपछि अनिलजी आइपुगे मलाई लिन । कार्यक्रम हुने हलमा पुगेर साथीहरुलाई कुरियो । एघार बजेतिर खाना खाएर अरु साथीलाई कुरियो । करिब एक बजे मात्र कार्यक्रम सुरु भयो । चार घन्टा लामो कार्यक्रम पाँच बजेतिर सकियो । खासमा त्यो सम्मानको कार्यक्रममा साक्षी बस्न मात्र गइएको थियो । किनकि चितवनका स्रष्टा प्रा.डा. खुमनारायण पौडेललाई सम्मान गरिएको थियो । साथमा अन्य स्रष्टा पनि सम्मानित भएका थिए । साक्षी बस्नकै लागि आइपुगे सुरेन्द्र अस्तफल र लेखराम सापकोटा पनि । यो कार्यक्रमको आयोजक थियो आँबुखैरेनी स्रष्टा समाज ।
पहिलो दिनको औपचारिक कार्यक्रम सकिएपछि खुमनारायण दाजुको नेतृत्वमा मस्र्याङ्दी र दरौँदीको किनारै किनार साँझपख केही बेर टहलियौँ । त्यहाँको नदीतटीय प्राकृतिक सौन्दर्यमा घुम्दा घुम्दै झमक्कै साँझ प¥यो । अँध्यारो भएपछि बास बस्ने ठाउँमा फर्किएर खाना खाइवरी सुत्ने तरखरमा लाग्यौँ । भोलिपल्ट विहानै आँदिमूल जानु थियो । आँबुखैरेनी साहित्य प्रतिष्ठानको आतिथ्यमा हुन लागेको ‘आँदिमूल शरद काव्योत्सव’ प्रकृतिको काखमा हुन लागेको साहित्यिक कार्यक्रम हो भन्ने सम्म थाहो थियो । त्योभन्दा बढी केही थाहा थिएन । यसर्थ यसअघि कहिल्यै पाइला नटेकेको आँदिमूल कस्तो होला ? भन्ने कल्पनामा रात कटेको पत्तै पाइएन ।
“सपना बित्यो
आँदिमूल खोज्दैमा
बिम्ब आएन ।”
+ + +
बिहानै छ बजेतिर अनिलजीको फोन आयो । फोनमा उनी भन्दै थिए, “सात बजेतिर गाडी आइपुग्छ । त्यसमा चढेर आँदिमूल जानुपर्छ । तयार भएर बस्नुहोला ।” सँगै सुतेका साथीहरु लेखराम सापकोटा र सुरेन्द्र अस्तफल टुथब्रस किन्न हो कि अरु केही कामले हो बजारतिर निस्केका थिए । उनीहरुलाई कुर्दै बस्नुको विकल्प थिएन मेरो । यस्तैमा पहिलो गाडी छुटिहाल्यो ।
“उकालो बाटो
हिँडिसकेछन् केही
छुट्यौँ कि हामी ?”
करिब साँढे सात बजेतिर सुरेन्द्र र लेखराम आइपुगे । अर्को होटलमा खुमनारायण दाइ हामीलाई कुर्दै थिए । अनिलजीसँग सल्लाह गरेर आँबुखैरेनीबाट सत्रसय फाँटसम्म सुुरेन्द्रकै गाडीमा जाने निधो ग¥यौँ हामीले । रातभर पानी परेकाले सानो गाडी गन्तव्यसम्म नपुग्ने कुरा सुनिएको थियो । त्यसपछि हामी आफ्नै पाराले आँबुखैरेनीबाट निस्कियौँ । आँदिमूल जाने गेटनिरको होटलमा चिया पिउँदै अनिलजीलाई कुर्दै बस्यौँ । करिब आधा घन्टापछि दोस्रो गाडीमा उनीहरु आइपुगे । गाडीभित्र केही महिला मित्रहरु र बुढ्यौली लागेका मोदनाथ मरहट्टा रहेछन् । बाँकी सब पछाडि उभिएर यात्रा गर्दै थिए ।
गाडीको पछिल्लो भागमा पहिल्यै आयोजक अनिल श्रेष्ठ, चितवनका तेजविलास अधिकारी, नारायण शर्मा ‘विपिन’ र मिसन अधिकारी उभिएका थिए । त्यही लहरमा पोखराका डा. कृष्णराज अधिकारी र नारायण मरासिनी पनि उभिएका थिए । साथमा हेटौँडाका पुरुषोत्तम सुबेदी र यश लामा हाँस्दै उभिएका देखिए । त्यो पूरै भरिएको गाडीमा हामी चितवनका डा. खुमनारायण पौडेल, सुरेन्द्र अस्तफल, लेखराम सापकोटा र म (रमेश प्रभात) थपियौँ । सुरुमा पाइला टेक्ने ठाउँ थिएन, बीचमा गाडीले झाकल झुकल पारेपछि हाम्रो उभ्भिने क्रम मिलेको थियो । वरिपरि सुरम्य गाउँबस्ती हेर्दै गाडी उकालो लाग्यो । करिब पाँच छ कि.मी. कतै तरपायाँ लाग्दै र कतै उकालो उक्लिएपछि डाँडोमा पुगेर गाडी रोकियो । गाडी रोकिनुभन्दा दुई तीन सय मिटर अगाडि पिच बाटो सकिएर ग्राभेल सुरु भएको थियो । रातभर पानी परेकाले ओरालोमा गाडी गएन । हामीलाई बीचैमा छोडियो पैदल हिँड्न बाध्य पारेर ।
“गाडीले छोड्योे
डाँडाको चुचुरोमा
ओरालो बाटो ।”
+ + +
गाडीले हामीलाई छोडेकोे ठाउँबाट दुई सय मिटर जति तल झरेपछि एउटा पुरानो चौतारा आयो । त्यो चौताराबाट ओरालो झर्ने खुड्किला सुरु हुँदो रहेछ । खुड्किला पनि यति ठाडो कि बीचमा कतै रोकिने ठाउँ नै थिएन । आ–आफ्नो सामान बोकेर खरखर तल झरियो । बिहान बिहानै भएर हो कि ओरालो भएर हो करिब पाँच सय मिटर कटेको पत्तो नै भएन । अघिल्लो गाडीमा गएकाहरु प्रकृतिको सुन्दरतामा मस्ती गर्दै रमाउँदै रहेछन् । के युवा, के पाका सबै मस्तीमा थिए प्राकृतिक सुन्दरताको रसपान गर्न ।
“प्रकृति हेर्दै
कति मक्ख परेका
काजी रोशन ।”
हामी पनि के कम, लाग्यौँ आफ्नै तरिकाले प्रकृतिका बिम्ब टिप्न । आँखाबाट प्रकृतिको रसपान गर्नुको मज्जा जो बेग्लै । छेउमा पोखरी थियो र त्यहाँबाट निस्केको पानीबाट एउटा सानो खोला बगेको थियो । पोखरीको डिलमा गएर हेर्दा देखियो, त्यो पोखरी त मूलको पानीबाट बनेको रहेछ । ‘आदिमूल’ रहेछ त्यो । त्यही भएर गाउँलेहरु त्यसलाई ‘आँदिमूल’ र मगरहरु त ‘आँडिमूल’ पनि भन्दा रहेछन् । साँच्चै त्यो मूलमा कति पानी छ हँ ?
“रित्तिन्नँ किन
आँदिमूलको पानी
बगेको बग्यै ।”
पोखरीको छेउमा मन्दिर रहेछ । मन्दिर नजिकै पोखरी । पोखरीमा माछा पनि कति हो कति ? तर माछा मार्ने गरिन्न रहेछ । यसअघि ‘छाब्दीबाराही’ घुम्न जाँदा त्यहाँ माछा मार्न नहुने कुरा सुनेको कुरा याद आयो । यहाँको पोखरीमा पनि माछा मारिन्न रहेछ, यो विशेषता रहेछ आँदिमूलको । यसरी जीवको सम्मान गर्नु प्रकृतिको पूजा त हो नि । अनि बीचमा शिवजीको सानो मूर्ति पनि रहेछ । यस्तो देखेपछि एउटा हाइकु फुरिहाल्यो ः
“पानीमा माछा
बीचमा शिवमूर्ति
पहाडी कुवा ।”
+ + +
छोटो घुमाइपछि चियानास्तामा केही बेर व्यस्त भइयो । त्यसपछि झुण्ड झुण्ड बनाएर गफ गर्दै कार्यक्रमको प्रतीक्षा गर्न थालियो । छेउमा दुई तीन समूह चित्र कोर्न व्यस्त थिए । केही बेरको प्रतीक्षापछि करिब दश बजेतिर कार्यक्रम सुरु भयो । स्टेज खाली थियो । सबैलाई पालमुनि बसाइएको थियो । अघिल्लो पङ्क्तिमा मुख्य आमन्त्रित र त्यसपछि अन्य आमन्त्रित लहरै राखिएका । स्वागत गर्ने तरिका पनि गज्जब थियो । सुरुमै स्थानीय लोकनृत्य देखाइयो ।
“त्रिपालमुनि
कौरा नाचमा झुमे
पाहुना जति ।”
नाच सकिएपछि रचनावाचन सुरु भयो । म र लेखरामजी चाँडो फर्कनु थियो । तीन बजे नारायणगढमा अक्षर समूहको कार्यक्रममा पुग्नै पर्ने थियो हामीलाई । किनकि हामी आफैँ आजको कार्यक्रम गर्ने संस्थाका अध्यक्ष र सचिव जो थियौँ । खाना खाने फुर्सद पनि थिएन । हामी सबा एघार बजे त्यहाँबाट अनिलजीसँग सल्लाह गरेर अरुसँग केही नभनी सुटुक्क निस्कियौँ आफ्नो बासस्थान चितवनतिर ।
“बीचमै भागे
कार्यक्रम निरन्तर
दुई मनुवा ।”
० ० ०
(हाइबुन जापानी भाषको शब्द हो । यात्रा निबन्धसँग हाइकुलाई समावेश गरेर तयार पारिने साहित्यिक रूपलाई जापानी भाषामा हाइबुन भनिन्छ । यहाँ सोही रूपको नेपालीकरण गर्न खोजिएको छ । – लेखक)