15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पाठकीय आलोकमा उदयलहरी काव्यको प्रणयन

कृति/समीक्षा पवन प्रधान October 10, 2022, 12:35 pm
पवन प्रधान
पवन प्रधान

प्रवेश-
हालसम्म भएको खोज वा अन्वेषणबाट प्राप्त भएको तथ्याङ्कका आधारमा प्राथमिककालीन काव्य लाखन परम्पराको क्षी गणेश कवि सुवानन्द दासको ‘पृथ्वीनारयण’ (वि.स.१८३०) कविताबाट भएको मानिन्छ। सुवानन्दको पृथ्विनारायण कविताबाट आरम्भ भएको नेपाली भक्तिकाव्य लेखनलाई वीरधारा र भक्तिधारा गरी मुख्यतः दुईवटा प्रमुख उपधाराहरुमा विभाजन गरेर अध्ययन गर्ने परम्परा नेपाली साहित्यमा सर्वाधिक प्रचलनमा आएको देखिन्छ। नेपाली काव्यलेखनमा वीरधारापछि देखापरेको भक्तिधारालाई पनि सगुण भक्तिधारा र निर्गुण भक्तिधारा गरी दुईवटा उपधाराहरुमा विभाजन गरिन्छ। यी दुईवटा उपधारामध्ये सगुण भक्तिधारा अन्तर्गत राम भक्तिधारा र कृष्ण भक्तिधारा पर्दछन् भने निर्गुण भक्तिधारा अन्तर्गत जोसमनी सन्त परम्परा पर्दछ। वास्तवमै भन्नुपर्दा नेपाली साहित्यमा निर्गुण भक्तिधाराको जन्म एवं विकास जोसमनी सन्तहरुको रचनाहरुबाटै भएको देखिन्छ।
नेपाली साहित्यमा सन्तकाव्य वा निर्गुण भक्तिधाराका रचनाहरु थेरै छन् जसका निर्माता यिनै जोसमनी साथुहरु नै हुन्। निर्गुण भक्तिधाराका थोरै सन्तकविहरुमा पनि सन्तकवि ज्ञानदिल दासलाई यस धाराका सशक्त एवं लोकप्रिय कवि मानिन्छ। यिनलाई नेपाली साहित्यमा निर्गुण भक्तिधाराका केन्द्रीय कवि मात्रै नभएर प्राथमिककालिन कविहरुमध्यै नै सर्वाधिक प्रखर र ओजस्वी कवि मानिन्छ। हुनत यिनले पनि अन्य सन्तकविहरुले झै साधाकड्डी भाषालाई नै अफ्नो भावाभिव्यक्तिको माध्यम बनाएका छन्। यद्धपी नेपाली भाषामा पनि यिनका तीनवटा रचनाहरु पाइएका छन्। ती तीनवटा रचनाहरु हुन्- ‘उदयलहरी’, ‘झ्याउरे भजन’ र ‘टुड़्गना भजन’। यी तीनवटा रचनाहरुमध्ये पनि ‘उदयलहरी’- लाई यिनको प्रतिनिधि रचना मानिन्छ।

 ज्ञादिलदास र उनको उदयलहरी संक्षिप्त परिचय-
लोकछन्द अन्तरगतको सवाई छन्दमा लेखिएको ज्ञानदिलदासको उदयलहरी नेपाली कविताको प्राम्भिक कालको अन्त्यतिर लेखिएको रचना हो। नेपाली कविता साहित्यको प्राथमिक कालको अन्ततिर लेखिएको यस लहरीकाव्यलाई विद्वानहरुले भारतीय नेपाली साहित्यको उठान कालको महत्वपूर्ण प्राप्ति स्विकारेका छन्। इतिहासकार कुमार प्रधानले त अझ यस लहरीकावायलाई भारतमा लेखिएको नेपाली साहित्यकै प्रथम रचना स्विकारेका छन्। ज्ञानदिलले यस लहरीकाव्यको लेखन नेपालबाटै आरम्भ गरी भारतीय भूभि दार्जिलिङमा पाइलाहाल्न साथ समाप्त गरेका हुन् भन्ने मानिन्छ। प्रस्तुत लहरीकाव्यको रचनाकाल वि.स. १९३४ हो भन्नेकुरा काव्य भित्रै एकसय आठौं श्लोकमा यसरी बताइएको छ- “श्री सुभलगनमा उदय भयाको
चैतिस साल बेशाषमा सब लेखिकह्याको।” (श्लोक-१०८)
तगन र मगणको नियममा नबाँधिएकर मुक्त वा लोकलयमा लेखिएको ज्ञानदिल दासको उदयलहरीका विभिन्न हस्तलिखित प्रतिलिपिहरु उलब्ध भएका हुनाले यसका विभिन्न पाठान्तर र श्लोक सङ्ख्या समेत घटि-बडी रहेको कुरा अन्वेषकहरुले आफ्ना अन्वेषणका क्रममा बताएका छन्। यसो भए तापनि अधिकांश विद्वानहरुले अन्वेषक जनकलाल शर्माको ‘जोसमनी सन्त परम्परा र साहित्य’ (वि.स.२०२०)-मा प्रकाशित १०८ श्लोककको ‘उदयलहरी’-लाई नै प्रामाणिक मान्नुपर्नै बताएका छन्। यद्दपी प्रस्तुत ग्रन्थमा प्रकाशित उदयलहरी र रङ्गभुल धाममा संरक्षित रहेको ज्ञानदिलदासको हस्तलिखित पाण्डुलिपिमाझ पनि प्रसस्तै फरकपन भेटाइएको कुरा अन्वेषक गुप्त प्रधानले उनको हालैमा प्रकाशित पुस्तक ‘केहि दस्तावेज केहि विचार’(सन.२०१६)- मा उल्लेख गरेका छन्। यस प्रस्तुति पत्रमा भने ‘जोसमनी सन्तपरम्परा र साहित्य’- मा सङ्कलित १०८ श्लोकको उदयलहरीबाट नै उद्धारणहरु प्रस्तुत गरिएको छ।


• विषय प्रवेश – (पाठकीय आलोकमा उदयलहरीको विवेचना)
सांसारिक जगतमा व्याप्त माया, माह, ऐश्वर्य, रीति- थीति, विधी- विधान, एवम् रागद्वेषले भरिएको सम्पुर्ण सांसारिक जगतप्रतिको निस्सारतालाई प्रकट गरी वैराग्य, भक्ति, सेवा, शील, जप- तप, योग. ज्ञान, आदिको महिमा गाएर सर्वजनहितार्थ ब्रह्मज्ञान वा ब्रह्मतत्वको उदय गराउने अभिष्टले लेखिएको सन्तकवि ज्ञानदिलदासको उदयलहरीलाई निर्गुण भक्तिधाराको महत्वपुर्ण प्राप्ति मान्नसकिन्छ। ब्रह्मज्ञान वा ब्रह्मतत्वको प्राप्ति नै यस लहरीकाव्यको अभिष्ट विषय हो। यसर्थ यस लहरीकाव्यले अँगालेको विषयवस्तु निर्गुण-ज्ञानमार्गी, उच्च, उदात्त आध्यामिक एवं पुर्वीय अद्वैतवादी दर्शनबाट प्रशस्तै प्रभावित बनेको देखिन्छ। वस्तुतः जोसमनी सन्तहरुमाझ प्रचलित रहेको आध्यात्मिक मत एवं धारणाहरुको महत्व र मर्मलाई नै यस लहरीकाव्यमा आद्योपान्त दर्साइएको छ। यसर्थ मूलरुपमा प्रस्तुत लहरीकाव्य जोसमनी सन्तहरूका आध्यात्मिक अवधारणा र चेतनाबाट नै अनुप्रेरित र

अनुप्राणित बनेको देखिन्छ।
ज्ञानदिलदास मूलतः जोसमनी मतका प्रचारक थिए, यसर्थ उनको प्रस्तुत कृति पनि यहि अभिष्ट सिद्धिका निम्ति लेखिएको हो। यद्धपी जोसमनी मतकै प्रचार प्रसारको निम्ति लेखिएको भए तापनि काव्यतत्वका दृष्टिले पनि उदयलहरी विवेच्य एवम् महत्वपुर्ण देखिन्छ। आध्यात्मिक रहस्य र गुढार्थलाई उद्घाटन गर्नै अभिप्रायले लेखिएको भए तापनि काव्यतत्वका दृष्टिले पनि उदयलहरी विवेच्य एवं महत्वपूर्ण देखिन्छ। आध्यात्मिक रहस्य र गुढार्थलाई उद्घाटन गर्नै अभिप्रायले लेखिएको यस कृतिमा एकातिर निर्गुण निराकार निरविकल्प चैतन्य स्वरुप ब्रह्मको महिमागान गर्नका साथै ब्रह्मतत्व प्राप्तिका सहज र सुलभ मार्गहरु बताइएको छ भने अर्कोतिर ठाउँठाउँमा कर्मकाण्ड, हिंसा, अज्ञान, ज्योतिष, घुषखोरी, मुर्तीपुजा आदि सामाजिक कुप्रथाहरुको पनि निन्दा गरिएको छ। यसरी प्रस्तुत लहरीकाव्यमा हाम्रा सन्तकवि ज्ञानदिलदासले हिन्दीका प्रसिद्ध सन्तकवि कबिरदासले झै निर्गुण ब्रह्म सम्बन्धी चिन्तनको आभिव्यक्तिका क्रममा नै सामाजिक एवं धार्मिक विसङ्गति र विकृतिहरु प्रति व्यङ्ग्य वाण कसेका छन्। यसो भए तापनि उदयलहरी मूलतः ज्ञान-वैराग्यमूलक निर्गुणवादी भक्तिकाव्य नै हो। प्रशस्तै मात्रमा सामाजिक चेतनाले भिजेको देखिएता पनि आध्यात्मिक चेतना नै यस लहरीकाव्यमा पाइने मूख्य विशेषता हो। जिवन जगतको क्षणिक्ता, निस्सार्ता, र अनित्यतालाई देखाइएको यस काव्यकृतिमा ब्रह्मानन्दप्राप्तिलाई नै जीवनका सार्थक प्राप्ति हो भन्ने दर्शाइएको छ। गुरुमहिमा, ज्ञानमहिमा, भक्ति, समाधि र तत्वज्ञानको महिमाले महिमामण्डित यस लहरीकाव्यमा इडा, पिङ्गला र सुषुमना नाडीहरुको समात उल्लेख गरी सन्तकवि ज्ञानदिल दासले योगमार्गको समेत महिमा र गरिमालाई प्रतिष्ठापित गर्नै प्रयत्न गरेको देखिन्छ। सारशब्दमा भन्नुपर्दा विन्दुमा सिन्धु, गागरमा सागर एवं गर्भमा सर्व जगत आटे झैं यस १०८ श्लोकको लहरीकाव्यको वक्षभित्रै निर्गुण भक्तिधाराका विविध पक्षहरु आँटेका छन् जसबारे यस प्रस्तुति पत्रमा सविस्तार चर्चा गरिने छ। सन्तकवि ज्ञानदिलको उदयलहरी काव्यमा पाइने आध्यात्मिक, सामाजिक, भाषिक एवं काव्यिक विशेषताहरुलाई निम्न उपशिर्षकहरुमा राखेर चर्चा गर्नसकिन्छ-
१) मङ्गालाचरणको प्रयोग-
‘उदयलहरी’- को थालनीमा पूर्वीय काव्य परम्परा अनुसार ‘श्री गणेशाय नम’ भनी बिघ्नबिनाशक भगवान गणेशको स्मरण सहित मङ्गलाचरण गरिएको छ। यस लहरीकाव्यमा मङ्गलाचरणका दुईवटा श्लोकहरु छन्। पहिलो श्लोकमा आसिर्वादात्मक मङ्गालाचरण गरिएको छ भने दोस्रो श्लोकमा निर्देशात्मक मङ्गलाचरण गरिएको छ। आशिर्वादात्मक मङ्गलाचरण गरिएको पहिलो श्लोकमा रिद्धि- सिद्धिका अधिपति मानिएका ‘बुद्धिका दाता’ मानिएका बिघ्नविनासक भगवान विनायक गणेस, विद्याकी अदिष्ठात्री देवी सरस्वतीकै रुप मानिएकी वेदमाता देवी गायत्री, साबित्री अनि ज्ञानका दाता श्री गुरुको स्मरण गरिएको छ एवं गरीबजनलाई अष्टसिद्धि प्राप्त होस भन्ने कामना समेत गरिएको छ।
‘‘श्रीगुरु गणपति बुद्धिका दाता
गायत्री- सावित्रि सरस्वति माता
धन्य हौ सरस्वती जगदम्बी माइ
अष्ट सिद्दि देउन गरिपरजनलाई। ’’ (श्लोक १)
निर्देशेनात्मक मङ्गलाचारण गरिएको दोस्रो श्लोकमा भने एकातिर पूर्वजन्मको पुण्यार्थक बलियो कमाइको फलस्वरुप ज्ञानादाता गुरु प्रात्त भएकोमा गुरुप्रति कृतज्ञता एंव प्रणम्यताको भाव प्रकट गरिएको छ भने अर्कोतिर उनै गुरुबाट प्राप्त भएको सुक्ष्मतत्व वा ब्रह्वतत्वबारेको ज्ञान उदयलहरीमा बताइएको छ भन्ने कुराको पुर्वसङ्केत गरिएको छ। यसरी उदयलहरी काव्यमा प्रतिपादित विषयको पूर्वनिर्देश कविले प्रस्तुत श्लोकमा स्पष्ट रुपले गरेका छन्-
‘‘धन्य भाविले लेषिदियो पूर्व कमाई
प्रणाम लगाऊँ चरण समाई
हरिजिउका चरणमा रषवाल् रहन्छु
उदयलहरी सूस्म कहन्छु।’’ (श्लोक-२)

(२) धार्मिक मान्यता र जीवनदृष्टि-
सन्तकवि ज्ञानदिलले जनमानसमा धार्मिक आस्था एवम् मूल्यहरुको विकास गर्ने अभिप्रायले नै प्रस्तुत काव्यकृति लेखेका हुन्। यस लहरीकाव्यको अध्ययनबाट ज्ञानदिलको धार्मिक मान्यता मूलतः निर्गुण ज्ञानमार्गी एवम् अदैवत ब्रह्मवादी रहेको स्वतः स्पष्ट हुन्छ। यद्धपि उनी निर्गुण ब्रह्मका उपासक भए तापनि सगुण इश्वरको उपासनासित पनि उनको कुनै विरोध रहेको देखिदैन। बरु उनी विभिन्न सगुण इश्वरहरुको नाम समेत उदयलहरीमा उल्लेख गर्दछन्। यसो भए तापनि उदयलहरीको आराध्य देव भने निर्गुण ब्रह्म नै हुन्। निर्गुण भक्तिधाराका सन्तहरूले मूलरुपले निर्गुण, निराकार, निरविकल्प, गुणातित परब्रह्मलाई नै आराध्यका रुपमा स्विकार गरे तापनि ती सन्तहरुले उपासना र व्यवहार सुविधाका निम्ति निर्गुण ब्रह्मलाई राम, शिव, कृष्ण आदि कुनै एक ईश्वरकै नामले सम्बोधन गर्न रुचाएको देखिन्छ। यसै क्रममा जोसमनी सन्तहरूले त्यस निर्गुण निराकार ब्रह्म तत्वलाई अधिकांश राम शब्दले नै सम्बोधम गर्न रुचाएको देखिन्छ। तर यहाँ राम शब्दको तात्पर्य वा अभिप्राय दशरथपुत्र अयोध्यावासी रामसित नभएर सम्पूर्ण जीव जगतमा चेतन रुपले व्याप्त चैतन्य स्वरूप रामतत्वसित रहेको स्पष्ट हुन्छ। हामी ज्ञानदिलको उदयलहरीमा पनि राम शब्दकै व्यवहार गरी निर्गुण ब्रह्मका महिमा गाइएका अनेकौ श्लोकहरु पाउँछौं।
जस्तै-
“सुमेरु उपरमा सतलोक धाम
सुन्दर महलमा यकलै राम।” (श्लोक- १९)
“ज्ञानि जति जो जो छन् परै मात्र धाउंछन्
हृदयका राम वाँहाँ काँहाँ पाउँछन्।” (श्लोक- ४३)
“रिषिमुनि वरिपरि मद्धेमा धाम
पैचान गर्दछन् हृद्यको राम।
चन्द्र सुर्जे झिलि मिलि तारा
झलमल मोति ज्योति उज्याला।” (श्लोक-७१)

सन्तका रुपमा ज्ञानदिलदास राग द्वेष र अहङ्कार रहित दाखिन्छन्। उनी आफ्नो ज्ञानमा गर्व गर्दैनन् बरु अरु विनम्र र विनयी भई यसो भन्छन्- “सार झिकी कह्याको जानि न जानी
दया धर्म नछोड्या मुक्ति होला तानी
नलेखु भन्या उदयको वानी
सब मिली भक्ति गरौ जानि न जानी। ” (श्लोक-१०५)
सत्वगुणका अग्रही कविमा यसप्रकारको विनयशिलता पाइनु स्वाभाविक नै देखिन्छ। उनी आफू झै अरु जनमानसलाई पनि तमोगुणका विसर्जन गरी सत्व गुणको आर्जन गर्नै तथा श्रद्धा, दया, करुणा, भक्ति, क्षमा, ज्ञान, योग, र सतसङ्गको मार्गमा हिडेर निर्गुण निराकार ब्रह्मको उपासना गरी परमपद वा माक्ष प्राप्त गर्नै आह्वान गर्दछन्। दृष्टान्ततः
“धर्मको ढाल बाँधि शब्दको सेली
सिलको बानले तमोगुण ठेली
तम रज मारी सतगुन् जगाउ
सहज आनन्दमा सुरथ लगाउ।” (१६)
“काम क्रोध लोभमा तिनै बिर जान
धुकचुक नगरी सिधा गरि दाँन।” (श्लोक २५)
“अझ पनि मुनिहो चैतन्ने राख
अन्तकाल भया पनि भक्ति रस चाष।” (श्लोक १०६)
मोक्ष वा परमपद प्राप्तिका निम्ति कवि ज्ञानदिल दास कर्मकाण्डका विविध नियमहरु पालन गर्नु, गृहत्याग गर्नु, तीर्थ गर्नु आदि अनिवार्य वा आवश्यक ठान्दैनन्। उनी गृहस्थ रहेर पनि काम, क्रोध, लोभ, माया, मोह आदि विकारहरुको त्याग गरी वितराग चित्तले भक्ति, कर्मयोग, र सत्यत्वको साधनाद्वारा ब्रह्मतत्वको उपासना गरी सतधर्मलाई थामी राखे अवस्यै ब्रह्मप्राप्ति हुन्छ भन्ने कुरामा विस्वास राख्छन्। दृष्टान्तका रुपमा केहि श्लोकहरु हेरौ-
“नरमा क्यान हो दिन बिताउनु
साँचो र सत्य धर्म यैही चिताउनु
धर्मका दुष्टिले धन जन पाउंछ
दिन बुत्या पछि चैतन्य आउंछ।” (३७)
“छोटो बडा जतिछन् तिर्थैमात्र धाउंछन्
घरै बसी जोगिजन तिनै लोक पाउंछन्।” (२२)
“दया राख मनमा धर्म लेउ हात
सदादिन रहनु भक्तिजनका साथ
जो कोहि साधु छेउ सदादिन धाउला
विष रस छोडी अम्बीरस पाउला।” (१३)
ब्रह्मज्ञान प्राप्तिका निम्ति साधकमा संस्कार, जिज्ञासा र पात्रता यी गुणहरु अनिवार्य मानिन्छ। सुसंस्कारी ब्रह्मजिज्ञासु सतपात्रलाई मात्रै परम गोप्य ब्रह्मतत्वको ज्ञान सुलभ हुने कुरामा निर्गुण भक्तिधाराका सन्तहरु विश्वास राख्छन्। सुसंस्कार वा आध्यात्मिक संस्कारको सञ्चयनका निम्ति यी सन्तहरु अनन्य भक्ति, त्याग, र गुरुसेवालाई सर्वोच्च साधन ठान्छन्। सन्तकवि ज्ञानदिल पनि उदयलहरीमा यसैले भक्ति, त्याग, र गुरुसेवाको महिमा पटकपटक गाएर थाक्दैनन्। ब्रह्मज्ञानको गोप्यता, पात्रताको अनिवार्यता, एवम् भक्ति, सेवा, त्याग र गुरुको महिमा र महत्वलाई दर्शाइएका अनेकौ श्लोकहरु यस लहरीकाव्यभित्र पाइन्छन्। जस्तै-
“सबै कहुँ भन्या कहनु हुँदैन
बिना ब्रह्मज्ञानले पाप धुँदैन।” (५)
“परम्पद भनेको पाउनु छ काँहाँ
खोल्नु नहुने बुझ जाँहाँ ताँहाँ।” (२६)
“चारै युग शशिधरले भक्ति गरि आया
भाग्यामानी जतिले हिरारत्न पाया
भक्तिजन जतिले सुरथ लगाया
आफ्नो भक्ति जति छन् गर्छन् सहाय।” (९८)
ब्रह्मज्ञान प्राप्तिका निम्ति आध्यात्मिक संस्कार, ब्रह्मजिज्ञासा र सतपात्रता झै ब्रह्मवेत्ता सतगुरु, सतसङ्ग र सतज्ञानको त्रिवेणी पनि आवश्यक र अनिवार्य मानिन्छ। यसैले कवि ज्ञानदिल ब्रह्मवेत्ता सतगुरुको कृपाले सतसङ्ग, सतसङ्गले सतविचार, विचारले वैराग्य र वैराग्य चित्तले मोक्ष प्राप्त हुने कुरा उदयलहरीमा बताउँछन्। जस्तै-
“श्री गुरु भन्याको गुनका भारी
काम क्रोध लोभ सबै दिया जारी।” (१७)
“यस्तो छ नरमा चैतन्ने राष
सुष्म खोजन्या भया सतगुरु भाष।” (३७)
“संगत जति छन् साथमा रहन्छन्
सतगुरु स्वामी परंपद कहिन्छन्
सुरथ लगाउ सुन सब भाई
कलिमा दर्शन छैन ब्रह्म चोलालाई।” (९१)
सारशब्दमा भन्नुपर्दा ज्ञानदिल दासको धार्मिक एवम् आध्यात्मिक मान्यता रुढीवादी, कठोर एवम् आडम्बरीय नभएर व्यवहारिक, युक्तिसङ्गत तथा अनुसरणीय एवम अनुकरणीय लाग्छ। सन्तकवि ज्ञानदिलदासको उदयलहरी धार्मिक एवम् आध्यात्मिक ज्ञानयुक्त मात्रै नभएर जीवनयुक्त पनि देखिन्छ। उपदेशात्मक भएर पनि जीवन- जगतका विविध पक्षहरुलाई सजिव रुपमा प्रस्तुत गर्नसक्नु यस लहरीकाव्यको महत्वपूर्ण विशेषता हो। कवि मानवीय जिवनका विविध आयाम वा अवस्थाहरुको वास्तविक चित्र काव्यमा यसरी उतार्छन्।–
“बाल अवस्थामा षेली गुमाउंछ
जमाना भयापछि धेरै बाढा लाउंछ
जमना जोधहामा विष रस षान्छ
बृद्ध भएपछि को निको मान्छ।” (३८)
वैराग्य चित्तले युक्त वितराग योगी भएका हुनाले बाल यौवन, बृद्ध आदि जीवनका विविध मोडहरुमा कवि केवल दुःखकै असरल्ल पसारो फिजिएको पाउँछन्। यद्धपी उनको जीवन- जगत प्रतिको धारणा वा दृष्टिकोण भने निरासावादी वा शुन्यवादी नभएर जीवनवादी एवम् सकरात्माक नै देखिन्छ। यसैले कवि मनुष्य चोलालाई दुर्लभ ठहर्‍यउँदै यसको सदुपयोगमा जोड दिँदै भन्छन्-
“ऐले छ कि भरे छ भोली छ मर्नु
कच्चा माटीको छाला क्यान छ तर्नु
पाउनु छ दुर्लभ मनुसेको चोला
यो जन्म पछि फेरि कसोहोला।” (४६)
“अझ पनि मुनिहो चैतन्नै राष
अन्तेकाल भया पनि भक्ति रस चाष।” (१०६)
कवि ज्ञानदिलको जीवन दर्शन र धार्मिक मान्यता झै उनको मोक्ष प्राप्तिको अवधारणा र मुक्तिधामको परिकल्पना पनि निक्कै आकर्षक र व्यवहारी किसिमको लाग्छ। सुमेरू अर्थात मानवीय चेतनाको शिखर विन्दुमा अवस्थित कवि कल्पनाको मुक्तिधाम वा सत्यलोक यस्तो छ-
“सुमेरू उपर सतलोक धाम
सुन्दर महलमा एक्लै राम।” (१९)
“सिरमा मुकुट हृद्य कि माला
हातमा सुमेर्नी जपे कृष्ण बाला
सेतो रक्त पिताम्बर अनन्त भयाको
भक्ति जन्‌का साथमा षरा रह्याको।” (२०)
कवि कल्पनाको मुक्तिधाम मात्रै होइन तर त्यस आनन्दधामलाई प्राप्त गर्ने मार्ग वा उपाय पनि निक्कै सरल आकर्षक तथा व्यवहारिक लाग्छ-
“तिन लोक उपर सिद्ध तलाउ जाँहाँ
मनमैलो धोइ सुद्ध गर्नु ताँहाँ।” (२३)
“कलह भन्याको जेमराजको वीज
चन्चल मनलाई आशन् मुनि थीच
राततिन टहल भक्तिजनका पाउ
चञ्चलता छोडि येकै चित्त लाउ।” (८५)


(३) सामाजिक सुधारको भावना-
सन्तकवि ज्ञानदिल दासको उदयलहरी लहरीकाव्यलमा ब्रह्म सम्बन्धी चिन्तनहरुको अभिव्यक्तिकै क्रममा कतिपय पङक्तिहरुमा तत्कालीन समाजमा व्याप्त सामाजिक एवम् धार्मिक विसङ्गति र आडम्बरप्रति व्याङ्ग्य प्रहार गर्दै सामाजिक सुधारको भावना पनि अभिव्यक्त भएको पाइन्छ। उदयलहरीमा कवि ज्ञानदिलले सामाजिक एवम् धार्मिक कुरीति र कुप्रथाहरुको समेत उल्लेख गर्दै समाजमा पाखाण्ड र हिंसाका रूपमा हुर्किएका अवगुणहरुलाई त्यागी सत्वगुणी बन्ने आग्रह गरेका छन्। उदयलहरीका कवि ज्ञानदिलमा एकातिर एकजना सन्तमा हुनुपर्नै संयम, विनयीता र विन्म्रता आदि गुणहरू मुखारित भएको पाइन्छ भने अर्कोतिर एउटा समाज सुधारकमा हुनुपर्ने धैर्यता, कटाक्ष, निर्भिकता, सत्यनिष्ठा, लगनशिलता र निर्भयता पनि पाइन्छ। उनी धर्मका नाममा पाखण्ड फैलाउने ब्राह्माणहरुको मात्रै नभएर आफ्नै सम्प्रदायका जोसमणी साधुहरुले भित्र्यएका पाखण्ड र भ्रष्टाचारको पनि कठोर शब्दहरुमा प्रतिवाद एवम् निन्दा गर्दछन्-
“सुद्र साधु जति छन् धेरै धन भन्छन्
कन्ठी धारं गर्दा पचास् रुपञ्या गन्छन्।” (६६)
“अमोलको चिजको मोल गर्ने कस्तो
वालाले लेषछ जस्ताको तस्तो
मोल नगर्नु अमोलको चीज
वेपार गर्न्या होइन परमपद्को वीज।” (३७)
“कन्ठी धारी धाम बनाई रुपिञा कमाउं छन्
सत्वगुण छोडी तमोगुण समाउं छन्।” (३८)
ज्ञानदिलले उदयलहरीमा ब्रह्माणवाद, धार्मिक आडम्बर, रुढिवादी धारणग एवम् आडम्बरयुक्त वैदिक कर्मकाण्डप्रति सक्दो विरोध जनाएका छन्। वस्तुतः उनलाई समाजको यथार्थ चित्रण गर्नै सामाजिक चेतयुक्त, धार्मसुधारक, आडम्बरवादका विरोधी समाज सुधारक कवि मान्न सकिन्छ। उनी उदयलहरीमा पक्षपाती न्यायव्यवस्थाको समेत चित्रण गर्न पछि सरेका छैनन्। दृष्टान्ततः
“अइन वज्र्यो धनिको फिरयो जगमाहाँ
घुस्याहा विचारी निसाप् हेर्छे काँहाँ
रजगुणी दोधारे दुई तिर लाग्छ
सिधा निसाप् गरी भने पछि सरिभाग्छ।” (३२)
यसरी प्रस्तुत श्लोकमा ‘रजोगुण’- लाई घुस्याहा भ्रष्ट न्यायव्यस्थाको प्रतिकका रुपमा उभ्याएर तत्कालीन समाजको पक्षपाती भ्रष्ट न्यायव्यवस्थाको चित्रण गरिएको छ। समाजमा सत् जस्ता सोझा, निर्धा, सरल अथवा इमान्दार व्यक्तिहरु सधै तम् जस्ता षडयन्त्रकारी, शोषक प्रवृत्तिका मानिसहरूबाट हेपिनु पर्ने र न्याय खोज्न जाँदा उल्टै भ्रष्ट न्यायव्यवस्थाबाट ठगिनु पर्ने विडम्बनापूर्ण सामाजिक चित्रलाई धार्मिक मतव्यख्याको आडमा प्रस्तुत गरिएको छ। यसबाहेक पनि उदयलहरी काव्यमा यस्ता अनेकौ प्रसङ्गहरु आएका छन् जो मूलतः आध्यात्मिक वा धार्मिक आग्रहले अभिप्रेरित भए तापनि तत्कालीन समाजको राजनैतिक, सामाजिक एवम् आर्थिक स्थितिसित परोक्ष वा प्रत्यक्ष रुपले आलोचनात्मक सम्बन्ध प्रतिस्थापित गर्न सफल भएको छ। निश्चय नै ज्ञानदिल वितराग चित्त भएका सांसरिक जगतमा नअलझिएका एकजना सिद्ध साधु हुन्। तर यसो भए तापनि उनले कबिरले झै आफुलाई मननपरेका र चित्तमा नभिजेका कुराहरुप्रति भने सोझै विरोध गरेका छन् तथा विकृती र विसङ्गतिबाट समाजलाई सधै जोगाएर यसको सुधार र विकाशको काव्यिक आग्रह राखेका छन्।

(४) अर्थपरक प्रसङ्ग -
सन्तकवि ज्ञानदिलदासको उदयलहरी काव्यमा ब्रह्म सम्बन्धी चिन्तनकै भावधारालाई अभिव्यक्त गर्ने क्रममा एकाध श्लोकहरुमा अर्थपरक प्रसङ्गरू पनि प्रासङ्गिक रूपमा आएका छन्। सन्तका रुपमा कविले धनको निस्सरतालाई काव्यमा पटकपटक दोहर्‍याएका छन्। उनी धनलाई निस्सार र तुच्छ ठान्दै ज्ञानलाई नै वास्तविक धन एवम् ब्रह्मानन्दलाई नै सच्चा आनन्द ठान्छन्। धनले धनी, गरिब, किसान कसैलाई पनि वास्तविक सन्तोष र आनन्दप्राप्त नभएको कुरा कवि यसरी बताउँछन्-
“धनिको धन छ गति न पती
धेरै तुल्याउँ भन्छ जतिको तती
धेरै कमाउं भनी रात दिन धाउंछ
कर्ममा नभया को काँहाँ पाउंछ।” (३५)
“धन जन भन्दै गाउं व्याँसि गर्छ
लाग्छ रिंगटा भडषालमा पर्छ
काम र किसान धन्दा धेरै गर्छ
लाउन षान नपाई अकालैमा मर्छ।” (३६)
हुनत धनप्राप्तिको कठिनाई र धनको निस्सारतालाई प्रकट गर्नै अभिप्रायले नै यी श्लोकहरुको रचना गरिएको भए तापनि धनि र गरिबको जुन दष्टान्त यहाँ प्रस्तुत गरिएको छ त्यसले तत्कालीन नेपाली समाजको अर्थव्यवस्थाको समेत चित्र खिँचेको छ। यहाँ प्रस्तुत गरिएका यी श्लोकहरुले ब्रिटिसकालीन भारत तथा राणाकालिण नेपाल दुवैतिरका मजदुर एवम् किसानहरुको आर्थिक दुरावस्थालाई यथार्थपूर्वक चित्रण गरेको छ। नेपाली साहित्यको प्राथमिक कमलदेखि माध्यामिक कालसम्मै देखिएका कुनै कविहरुले यसरी ज्ञानदिलले जस्तो किसान-मजदुरहरुको दूरावस्थाको चित्रलाई कवितामा उतारेको पाइन्न। यसैकारण उक्त प्रसङ्गलाई शोषितवर्गको दयनीय चित्र प्रस्तुत गर्ने आर्थिक चेतनापरक नेपाली कविको प्रथम सामाजिक अनुभुति मान्नसकिन्छ। यसरी निश्चय नै सन्तकवि ज्ञानदिल नेपाली काव्य परम्परामा आर्थिक चेतनालाई टङ्कारो रुपमा भित्र्याउने प्रथम कवि बन्न पुगेका छन्।

(५) हिंसाविरोधी भाव-
सन्तकवि ज्ञानदिलले उदयलहरीमा सुरुदेखि अन्तसम्मै तत्कालीन समाजमा प्रचलित अनेकौ कुरीतिहरुप्रति कटाक्ष र व्याङ्ग्य मुद्रा धारण गरेका छन्। उनले यस लहरीकाव्यमा सत्वगुणको महिमागान गर्दै न्यायिक भ्रष्टचार, आर्थिक, विषमता एवम् धार्मिक कुरीति, पाखण्ड र आडम्बारको खठोर शब्दहरुमा निन्दा गरेका छन्। ज्ञानदिलले हुनत कुनै धार्मिक समप्रदाय, वा विश्वासको सोझै निन्दा गरेका छैनन् तर वैदिक कर्मकाण्डका नाममा फैल्याइएको हिंसा, भ्रष्टचार, आडम्बर र पाखण्डको भने उनले कठोरतापूर्क भर्त्सना गरेका छन्। धार्मिक अनुष्ठान र आस्थाका नाममा निर्दोष पशुहरुको बलीदिने परम्पराको र आडम्बरयुक्त कर्मकाण्डको उनी यसरी निन्दा गर्दछन्-
“धन जन भन्छन् दैवीमाई भाक्छन्
पशुपात भयो भन्या धर्म काँहाँ राष्छन्।
गरिप्‌मारा पशुघात जो कोही गर्छन्
नर्क तलाउ भासमा सहजगै पर्छन्।” (११)
“छेदन्ने धागडाको पकाइ हालुं रक्ती
तेस्तैकन भन्नु यमराजको भक्ती
प्रातै उठी समाधी पसुघात पूजा
वैइकुन्ट जान लाग्या आधाबाटा कूजा।” (५३)
वास्तविक ब्रह्मलाई नचिन्ने, ब्रह्मतत्वले हिन भै केवल ब्राह्मण हुँ भनी घमण्ड मात्रै गर्नै तथा सधैं हिंसामा मस्त रहेका ब्राह्मणहरुको पनि ज्ञानदिलले उछित्तो काडेका छन्। दृष्टान्ततः
“हिंसाहारी ब्रह्म जोछन् षोज गरदै नन्
चारवेद परे पनि पार तरदैनन्
छेदन्ने हिंसाहारी राक्षेसी कर्म
छेदन्ने भयो भन्या क्या रह्यो धर्म।” (५१)
“पसुघाति जति छन् ब्रह्मका जाती
गुहेलाका फूत बिलाउनिका पाती
ब्रह्म हुँ भन्या ब्रह्म नचिन्या
बैलि बाख्री कताछन् षसि षोची किन्न्या।” (५२)

(६) धर्मको नाममा फैल्याइएको पाखण्ड र मूर्तिपुजाको विरोध-
धर्मको आडमा फैल्याइएको धार्मिक कुरीति एवम् कुप्रथाहरुकै विरोधका क्रममा सन्तकवि ज्ञानदिलले धर्मका नाममा समाजमा वैदिक कर्मकाण्डी ब्राह्माणहरुले फैलाएका भ्रष्टचार र अडम्बरी रीतिथीतिहरुको पनि सोझै विरोध गरेका छन्। यस्ता कर्मकाण्डवादी पण्डितहरुमा वास्तवमै साँचो ज्ञान नभएको तथा उनीहरुले आफ्नो लोभपरक स्वार्थ सिद्दीका निम्ति मात्रै मान्छेहरुलाई नाना थरीका कर्मकाण्डमा अल्झाएर राखेको भाव उदयलहरीमा यसरी प्रकट गरीएको छ-
“सरगुण वेद पुरान पण्डितादि पर्छन्
सुस्मले हुने थिया धेरै धन्धा गर्छना।” (६)
“चार वेद पुरान पण्डित आदि पर्छन्
लोभका नदीमा सदादिन् बहन्छन्
पण्डित मनिजन धेरै बाडा लाउँछन्
न्यारको चीज दुर बताउँ छन्।” (७)
“पाठ पूजा न्यास सदादिन गर्छन्
सुस्म विचार विना को काँहाँ तर्छन्।” (८)
कवि ज्ञानदिल ब्रह्मलाई नचिनेर बैद्धिक कर्मकाण्डमै अल्झिएर रहेका ब्रह्माणहरूका मात्रै नभएर नेपाली समाजमा प्रचलित मूर्तीपूजाको समेत विरोध गर्छन्। दृष्टान्ततः
“देवीमाई पत्थर जो पूजि षान्छन्
सतलोक धामतिर ती काँहाँ जान्छन्
धाम चिन सतलोक जमुनाका तीर
लोभ पाप छाडी हरीतिर फीर।” (१२)

(७) ज्योतिषशास्त्र एवम् ज्योतिषीहरूको विरोध-
कवि ज्ञानदिलदासले उदयलहरीमा ज्योतिषशास्त्र एवम् ज्योतिषीहरूकै विरोध गर्नका निम्ति मात्रै पनि जम्मा आठवटा श्लोक तथा ३२ वटा पंक्तिहरु खर्चेका छन्। कवि ज्ञानदिल सन्त कवि भएका हुनाले सबै ज्ञानहरूमध्ये उनि ब्रह्मज्ञानलाई नै सर्वोउच्च एवम् सर्वोत्कृष्ट मान्छन्। उनी अस्पष्ट र दोधारे भाषामा नानाथरीका भय देखाई समाजलाई अल्मलमा पार्नै ज्योतिषशास्त्र एवम् ज्योतषीहरूको पनि खुब निन्दा गर्छन्। उनी ब्रह्मज्ञानको प्राप्तिमा सह्योग नगर्नै सबैप्रकारका क्रिया तथा शास्त्रहरूलाई अग्रह्य ठान्छन्। ज्योतिषीहरुको बठ्याइँ र चतुराइँले ब्रह्मज्ञान प्राप्त नहुने, केवल सोझा र निर्धाहरूलाई ठग्ने हुनाले कवि ज्ञानदिलले यसको निन्दा गरेको देखिन्छ। ज्योतिषीहरुको अल्पज्ञता, बठ्याइँ, ध्रुत्याइँ एवम् चतुराइँ र अज्ञानतामाथि कटाक्ष गरिएका काही उत्कृष्ट श्लोकहरु यसप्रकार छन्-
“पण्डितादि जतिछन् जोतिष् जोतिष् भन्छन्
प्रातै उठी लगन तिथिबार गन्छन्।” (७३)
“ग्रह गोचरको जाप गर भन्छन्
सुझ न बुझ अम्ला मात्रै गन्छन्।” (७३)
“ग्रह देषि दोसरो कसैले मानेन
ग्रहको पिता जो छ जोतिषले जानेन।” (७४)
“जोतिषले मुक्ति कैले हुन्थ्यो काँहाँ
सह्यारी नसक्नु चारै जुग माँहाँ।” (७८)
“चतुराईँ नहुन्या मिल्दैन थाहा
भक्तिजनले लियो अजबको राहा।” (७९)

(८) संरचना एवम् आयाम –
लोकछन्द अन्तर्गतको सवाई छन्दमा लेखिएको सन्तकवि ज्ञानदिल दासको उदयलहरी काव्य जम्मा १०८ श्लोकहरूमा संरचित छ। यस लहरीकाव्यका अन्य सबै श्लोक चार-चार पङक्तिका देखिए तापनि श्लोक ९५ र १०२ चाँहि तीन तीन पंक्तिका मात्रै देखइएका हुनाले प्रस्तुत लहरी काव्यमा जम्मा ४३४ वटा पंक्तिहरु पाइन्छन्। छन्दशास्त्रको शाश्त्रीय मर्यदामा नबाँदिएर लोकलयलाई अँगालेर लेखिएको यस लहरीकाव्यका प्राय सबै श्लोकहरु नै लयात्मक र गोयात्मक गुणले सम्पन्न देखिन्छ। अन्त्यानुप्रासको सफल आयोजनाकै कारणले गर्दा पनि प्रस्तुत लहरीकाव्य निकै लयात्मक बन्न पुगेको छ। आत्मप्रलापी कथन पद्धतिलाई अँगालेर लेखिएको यो लहरीकाव्य आख्यान निरपेक्ष रहि खण्डकाव्यको मझौला आयाम नजिक रहेको प्रतित हुन्छ।
उदयलहरीमा श्लोकका चरणहरु १२ अक्षरदेखि लिएर १५ अक्षरसम्मका देखिन्छन्। तर यसका कतिपय श्लोक वा चरणहरुमा अक्षरको गन्ति मिलाउन नसिकने कुरा पनि उल्लेखनीय छ। यद्धपी भाका हालेर गाइएमा लयको निर्वाहमा चाहिँ बाधा नपर्नै स्थिति देखिन्छ।

(९) भाषाशैलीगत विशेषता -
लोकछन्दमा संरचित सन्तकवि ज्ञानदिलको उदयलहरी लोकप्रचलित सहज भाषा अँगाली सरल शैलीमा लेखिएको छ। ज्ञानदिल मुलतः एकजना सन्त भएका हुनाले साहित्यिक विलक्षणतायुक्त शास्त्रीय परिपाठीको कविता रचना गर्नु यिनको अभिष्ट थिएन। वास्तवमा यिनी आफ्ना आध्यात्मिक भाव वा विचारलाई जनमानस समक्ष सकेसम्म प्रभावकारी ढङ्गमा अभिव्यक्त गर्न चाहन्थे। यसैले सचेत रूपमा यिनले भाषालाई परिष्कार वा परिमार्जन गर्ने आवश्यक्ता अनुभव गरेको देखिदैन। बरू यिनले आफ्ना भाव वा विचारलाई खरो वा सोझै रुपमा प्रकट गरेका छन्। यद्धपी उदयलहरीमा कतिपय ठाउँमा आफ्ना भाव वा विचारलाई प्रभावकारी ढङ्गमा अभिव्यक्त गर्ने क्रममा यिनले एकाध पङक्तिहरुमा अलङ्कार, प्रतिक, एवम् बिम्बहरुको समेत आयोजना गरेको देखिन्छ। उद्धारणका निम्ति साधुसन्तहरूले मुक्ति पदार्थ प्राप्तिका निम्ति साधनारत छँदा जलाउने धुनिको अर्थलाई प्रतिकात्मक रुपमा प्रकट गरिएको एउटा श्लोक हेरौ-
“दस ओटा लक्डी धुनि जगाया #
अनाह्दको षलाती सुस्म डोरी पाया
मन प्राण षिचि धुनि जगाया
मुक्ति पदारथ ताँहि नेर पाया।” (१८)
प्रस्तुत श्लोकमा साधुहरुले जलाउने धुनिमा प्रयोग हुने समिधा वा दाउरालाई चक्षु, घ्राण, रसना, त्वाक, श्रोत, आदि पञ्च-ज्ञानेन्द्रीय र वाक, हस्त, पद, उपस्थ, गुदा, आदि पञ्च-कर्मैन्द्रीयका प्रतिकका रुपमा तथा धुनि प्रज्वलनका निम्ति प्रयाग गरिने षलाती वा बातिलाई नादसाधकहरूले ध्यानस्थ अवस्थामा अनुभव गर्नै दश प्रकारका अनहाद स्वरका रुपमा ग्रहण गरिएको छ। साधकरूले मन प्राण खिँची यस रीतिले धुनि जगाएपछि नै उनीहरुलाई मुक्तिपदार्थ प्राप्त हुन्छ भन्ने तथ्यालाई प्रस्तुत श्लोकमा प्रतिकात्मक रुपमा बताइएको छ। यसरी नै ज्ञानदिलको उदयलहरीमा अलङ्कारहरुको व्यवस्थित वा सुनियोजित रुपमा प्रयोग भएको नपाइएतापनि एकाध स्थलहरुमा रुपक, उपमा, अनुप्रास आदिको भने प्रयोग पाइन्छ। दृष्टान्तका रुपमा केही श्लोकहरुमा प्रयोग भएका अलङ्कारहरुका नमुना हेरौं-
o अनुप्रास -
१. “जल थल अनल प्रभुजिको पेवा।” (२८)
(श्रुत्यानुप्रास)
२. “आत्म अगोचर अगमले षेल्छ
गम गरु भने तमो गुणले ठेल्छ।”(३०)

“साधुको साधन सहज सितलो।” (१५)
(वृत्यानुप्रास)


o रुपक –
१. “लोभका नदीमा सदा दिन बहन्छन्।” (७)
२. “धर्मको ढाल बाँधि शब्दको सेली
सिलको बानले तमोगुण ठेली।” (१६)

o उपमा –
“रात दिन पाप अमृत झै षान्छन्
सराप दिया आसिक झै मान्छन्।” (८२)
यहाँ उल्लेखित यी तिनवटा अलङ्कारहरूका अतिरक्त पनि उदयलहरीमा कतैकतै वक्रोक्ति, उत्प्रेक्षा एवम् अतिश्योक्ति आदिको समेत प्रयोग भएको पाइन्छ। ज्ञानदिल कुनै शास्त्रीय बन्धन वा नियम स्विकार नगर्ने स्वतन्त्र र स्वच्छन्द व्यक्तित्व भएका सन्तकवि भएका हुनाले उनमा काव्यशास्त्रीय चेतना थियो भन्नु युक्तिसङ्गत देखिदैन। अर्थात उनले सचेततापूर्वक अलंकार, प्रतिक, बिम्ब, गुण-रीति आदिको प्रयोग गरेका होइनन् र यस दृष्टिले उनको रचनाको विवेचना र मुल्याङ्कण गर्नु पनि युक्तिसङ्गत ठहर्दैन। उनले सर्वथा उन्मुक्त, स्वच्छन्द, र स्वतन्त्र भएर मनमोजी प्रकारले नै उदयलहरीको रचना गरेको देखिन्छ। यद्धपी लयात्मक्ता र गेयात्मक्ता निर्वाह गर्नका निम्ति अन्त्यानुप्रास भने सक्दो मिलाउने प्रयास गरिएको छ। अन्त्यानुप्रासकै सार्थक विनियोजनका कारणले गर्दा काव्यमा कतिपयठाउँमा रागात्मक सौन्दर्य, लालित्य एवम् माधुर्य सृजना भएको छ।
दृष्टान्ततः
“धर्मको ढाल बाँधि शब्दको सेली
सिलको बानले तमोगुण ठेली
तम रज मारी सतगुण जगाउ
सहज आनन्दमा सुरथ लगाउ।” (१६)
उदयलहरीको भाषिक महत्व पनि उल्लेख्य र विवेचनीय छ। समालोचक केशवप्रसाद उपाध्यायको शब्दमा भन्नुपर्दा – “वीरगाथाकार र कतिपय भक्तिकाव्यकारहरुको भाषामा मडारिएर बसेको हिन्दी प्रभावलाई ज्ञानदिलले प्राय बिदा दिएका छन् र प्राय शुद्ध नेपालीलाई प्रतिष्ठित गरिदिएका छन्।” यद्धपी खोजी गरे उदयलहरी भित्र पनि केही मात्रामा हिन्दी भाषा-बोलीका शब्दहरुको प्रयाग भएकै देखिन्छ। तर यसो भए तापनि ठेट नेपाली शब्दहरूको काव्यात्मक प्रवाहमा बगेर यी सन्तकविका यस्ता साधुक्कडी प्रयागहरु रस्मीले चन्द्रको दागलाई बेस्सरी दबाए सरी भएका छन्।
फुट नोटः
केशवप्रसाद उपाध्याय, वि सं २०६०, प्राथमिककालिन कवि र काव्यप्रवृति,काठमाण्डौ, साझा प्रकाशन, पृष्ठ ८३
भीमकान्त उपाध्याय,सन् २०२१, नेपाली लहरीकाव्य, पृ २१०
Kumar Pradhan, A History of Nepali Literature
भिमकान्त उपाध्याय – पूर्ववत पृ २१०
गुप्त प्रधान, सन् २०१६ केही दस्तावेज केही विचार, पृ १५१-५२
दिवाकर प्रधान, सन् २०१३, कविताको कुरा, सिक्किम, जनपक्ष प्रकाशन, पृ ८८
केशवप्रसाद उपाध्याय, पूर्ववत पृ ८९
केशवप्रसाद उपाध्याय, पूर्ववत, पृ ९८

सन्दर्भ ग्रन्थहरु –
१) जनकलाल शर्मा, जोसमनी सन्त परम्परा र साहित्य, रोयल नेपाल एकेडेमी, वि.स. २०२०
२) उपाध्याय काशवप्रसाद, प्राथमिककालीन कवि र काव्यप्रवृति, साझा प्रकाशन, २०६०, चौथो संस्करण।
३) दिवाकर प्रधान, कविताका कुरा, जनपक्ष प्रकाशन, दोस्रो संस्करण, सन- २०१३
४) गुप्त प्रधान, धूमिल पृष्ठहरु, गामा प्रकाशन, दोस्रो संस्करण, सन २००८
५) उपाध्याय भीमकान्त, नेपाली लहरीकाव्य, पहिलो संस्करण २०२१।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।