15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कवि वैरागी काइँलाका कवितामा म को अवस्थान : चर्चा उठान

कृति/समीक्षा नवीन पौड्याल October 10, 2022, 12:38 pm
नवीन पौड्याल
नवीन पौड्याल

१. विषय प्रवेश -
नेपाली कवितामा एउटा कहिले नमेटिने नाम हो बैरागी काइँला (पूरा नाम तिलविक्रम नेम्बाङ) उनी थोरै कविता लेखेर धेरै नाम कमाउने भाग्यशाली कवि हुन्। उनले थोरै कविता लेखे तर खँदिला, गम्भीर र उत्कृष्ठ लेखे, पाठकका निम्ति घतलाग्दो बिर्सन नसक्ने खालको लेखे। उनले नेपाली कवितामा आफ्नो युग हाँकेका थिए। उनी कलेजस्तरीय अध्ययन कालमा नै कवितामा प्रसिद्धि कमाएका थिए। उनी आफ्नो समयका एक प्रखर प्रयोगवादी र अपरम्परित कविता लेखेका छन्। उनी सम्मानित कवि भएर समाजमा बाँचेका छन्। उनले कवितालाई नयाँ प्राण दिए, नयाँ परिभाषा र स्वर दिए। आफ्नो समयमा कविता लेखनमा नेतृत्व गरेका हुन्। आयामेली कविका रूपमा प्रसिद्धि कमाए। सिकारू कविका निम्ति उनी अनुकरणीय र प्रेरणाका स्रोत पनि भए। उनले जति कविता लेखे, प्रायः जम्मै नै लोकप्रिय भए। विद्यार्थी कालदेखि नै प्रखर कवि थिए। कविताप्रति सचेत भएर आजसम्म समर्पित भएका छन्।
२. कविता परिचय-
साहित्यमा कविता सबैभन्दा लोकप्रिय विधा हो। यो सबैभन्दा बढी लेखिन्छ अनि पढिन्छ। यसका विभिन्न आकार स्वरूप र ढाँचा हुन्छ। कवितामा पाठक सम्प्रेषणको शक्ति हुन्छ। यसले समाजमा ठुलो प्रभाव पार्न सक्छ। समाजलाई दिशाबोध गराउन सक्छ। कविता सबैभन्दा प्रयोगशील विधा हो। कवितामा मानव जीवनको प्रतिविम्बित भएको पाइन्छ। सर्जकका निम्ति कविता सबैभन्दा सशक्त माध्यम हो। कविता एक पंक्तिदेखि लिएर लाखौं श्लोक सम्मको परिधिभित्र पर्दछ। कविता युगजन्य संवेदनालाई सशक्त रूपमा सुन्दर तरिकाले अभिव्यक्त गर्ने माध्यम हो। कविताले सत्यं शिवं सुन्दरम्‌लाई सदैव परिपालन गरेर जनतालाई सन्देश दिइरहेको हुन्छ। कविता युगयुगसम्म बाँच्छ।
३. तेस्रो आयाम र दार्जिलिङ-
इश्वीको उन्नाइस सय साठीको दशकमा दार्जिलिङबाट थालिएको तेस्रो आयामले निकै प्रभाव पारेको थियो। बैरागी काइँला र ईश्वरवल्लभका कविताले निकै चर्चा पायो। सामान्य पाठकका निम्ति उनीहरूका कविता क्लिष्ट र दुरूह भए। यस सिद्धान्तका आधारमा तत्त्काकीन दार्जिलिङका कविहरूका निम्ति व्यङ्ग्यसरी भयो। अगमसिंह गिरी, खडगसिंग राई काँड़ा, प्रेम शेर्पा विरोकि, भीम थापा आदिका कविता आयामेली सिद्धान्तका दृष्टिकोणले च्याप्टा, परम्परावादी, कोरा भावुक प्रलाप, अपूर्ण, पलायनवादबाट ग्रस्त, पूर्वाग्रहयुक्त, दुई आयामाका मात्र भए भन्ने देखिए। अझ त्यति बेला दार्जिलिङमा अगमसिंह गिरीको बढ्दो प्रभाव थियो। स्ययम् बैरागी काइँलाका अनुसार “उति बेला दार्जिलिङको साहित्य खालि भावुकता हुनाले दुई आयाम थियो चौडा र लम्बाइ थि तर मोटाइ थिएन। साहित्यमा केवल भावुकताको आलाप नभएर बौद्धिकता गहिराई चाहिन्छ। त्यस बेला तेस्रो आयामले शङ्खनाद गरेको कुरा नै बौद्धाकिताको गहिराईको माग थियो।“ त्यसताका अगमसिंह गिरीको शैलीमा निकै प्रभाव थियो थियो। दार्जिलिङमा गिरीको एकछत्र साम्राज्य नै थियो। त्यसताका गद्य कविता लेखिए पनि प्रभावकारिता थिएन।
४. साहित्यमा म को चिन्तन-
पूर्वीय र पाश्चात्य दुवै तर्फका दर्शन र साहित्यमा म को चिन्तन र यसलाई नै मूल विषयवस्तु बनाइएको छ। रहेको पाइन्छ। वेद उपनिषद् मा पनि म को चिन्तन गरिएको पाइन्छ। विभिन्न दर्शनले म को अस्तित्वलाई आफ्नो आफ्नो तर्कबाट म लाई मूल्याङ्कन गरिएको पाइन्छ। यसैगरि विश्व साहित्यमा प्राचीन कालदेखि म को चिन्तन गर्ने परम्परा रहेको छ। संस्कृत वाङ्मयका वेद उपनिषद, भागवत् गीता, रामायण महाभारतदेखि लिएर अहिलेसम्म पनि म को चिन्तन गहरिएको पाइन्छ। यस संसारमा म किन जन्मेँ र यस संसारमा आएर मेरो कर्तव्य के हो? म को महत्त्व के हो, इत्यादि बारे चिन्तन गर्ने परम्परा रहिआएको छ। संसारमा आजसम्म म को चिन्तनले नै व्यापकता पाएको छ। म को भौतिक र आध्यात्मिक सन्दर्भ लिन सकिन्छ। व्यक्तिगत म भित्र स्वाभिमान, संवेदना, स्वत्व सबै समावेश छ। आध्यात्मिक म मुक्तिको निम्ति कामना गर्दछु। संसारमा आफ्नो अस्तित्वका निम्ति सङ्घर्ष गर्दछ। संस्कृतमा एउटा सुक्ति छ -
कोहम को मम धर्म किम् क निमित्तकम
इत्युह प्रत्युह नो चेदस्थाने मतिर्भवेत-
अर्थात म को हुँ, मेरो धर्म के हो, म के का लागि यस संसारमा आएका हुँ भन्ने कुराको चेतना नहुनेको बुद्धि ठेकानमा छैन। श्रीमद् भागवत् गीतामा पनि श्रीकृष्णले अर्जुनलाई म को महत्त्व दर्शाएका छन्। उता पाश्चात्य वाङ्मय परम्परामा पनि म को बारेमा चिन्तन गरिएको छ। मानिसको महत्त्वको अवधारणालाई विभिन्न दृष्टिकोणले हेरिएको छ। कतै मान्छेलाई ईश्वरभन्दा माथिल्ले रूपमा, कतै समांन रूपमा कतै जीवात्मका रूपमा हेरिएको छ। भारतीय चिन्तन परम्परामा आस्तिक दर्शनले मानिसलाई जीवात्मका रूपमा हेरेको छ। ब्रह्म सत्य जगन्मिथ्या भनेर दृष्यमान जगत् मिथ्या हुन् अनि मानिस सामान्य जीवात्म मात्र हो। नास्तिकवादी दर्शनले भने दृश्यमान जगत् नै सत्य हो अनि मानिसको जीवन नै सर्वश्रेष्ठ हो। कवि शिरोमणि लेखनाथ पौड्यालको पिञ्जराको सुगा कवितामा रहेको गूढार्थमा शरीररूपी पिञ्जराभित्र निस्सासिएर बसेको चरोरूपी आत्म मुक्तिको निम्ति छटपटी रहेको मानिन्छ। सामान्य रूपमा मान्छे परिवेशको दास भएर रहेको धेरैले मान्दछन्।
म को चिन्तन लिएर अस्तित्ववाद, विसंगतिवाद, शुन्यवाद आदि जस्ता दार्शनिक सिद्धान्तहरू पनि देखा परेका छन्। लेखनाथ पौड्यालको ‘पिञ्जराको सुगा’ कवितामा पनि म रूपी आत्मको पिञ्जरारूपि शरीरको बन्धनमा रहेर छट्पटिरहेको छ। आत्म शरीरदेखि उम्किएर मुक्तिको मार्ग खोजिरहेको छ भन्ने अर्थ परिलक्षित हुन्छ। अधिकांश कविहरूका कवितामा भिन्नाभिन्नै प्रसङ्ग, अर्थ, भाव र परिस्थितिबाट म अवस्थानको चर्चा पाइन्छ। कविहरूले लेख्ने गरेको म वैयक्तिक म नभएर सामूहिक म हुन्छ। धेरै म हरूको समुहिक रूपमा जे जस्तो परिस्ति हन्छ त्यसलाई व्यक्त गरिएको पाइन्छ।
३ वैरागी काइँलाका कतिपय कवितामा म को संकेत -
वैरागी काइँलाका सङ्कलित कविता पुस्तकमा रहेका केही कवितामा म को अवस्थानको उल्लेख पाइन्छन्। म को अवस्तानलाई सङ्ङ्केत गर्न शब्द प्रतीक बिम्ब, प्रसङ्ग आदिको प्रयोग गरेका छन्। सामान्य रूपमा प्रथम पुरूष एकवचनमा रहेको आफु मात्र बुझाउने म कवि काइँलाका निम्ति प्रयोग र प्रयुक्ति बनेको छ। केही कवितामा रहेका म लाई सतही अर्थमा कविको वैयक्तिक रूपमा मात्र झल्किन्छ। यस सङ्ग्रहमा रहेका कविताहरू अध्ययन गर्दा म को चित्रण दुई प्रकारले भएको छ- प्रमुख रूपमा र गौण रूपमा। केही उल्लेखनीय कविताहरू जस्तै म, म गङ्गा निलो बग्छु, मातेको मान्छेको भाषण मध्य रातपछिको म लगातार निर्वासन म र मेरो कथा बेगल हुन्, पर्वत, प्लान्चेटको टेबल, शरणार्थी विचार र मालीगाउँ चितुवा आदि हुन्। तीमध्ये पनि ‘वैरागी काइँलाका सङ्कलित कविता’ भित्र रहेका ‘म’, ‘म लगातार निर्वासन’, ‘गङ्गा निलो बग्छु’ र ‘म र मेरो कथा बेगल हुन्’ गरी चारवटा कविताको विषयवस्तु नै म रहेको छ। यी कवितहाहरूमा कविताको लक्ष्यविन्दु नै म रहेको छ। वर्तमान युगमा मान्छेले भोग्नुपरेको विभिन्न स्थितिमाथि कविको हेराइ छ।
उनका केही कवितामा वैयक्तिक अर्थ द्यौतन गर्ने म का विभिन्न अवस्था, स्थिति र संकेतन छन्। मान्छेको वर्तमानको स्थिति पुष्टि गर्न म लाई अघि सारिएको छ। यहाँ रहेका म हरू बहुअर्थी, बहुसंरचित बहुसाङ्केतिक बहुरूपी छन्। वर्तमानमा मान्छेको स्थिति कठिन अवस्थमा छ। म कविका निम्ति म सामाजिक आर्थिक राजनैतिक भौतिक वस्तुहरूका जञ्जालले घेरिएको छ। म कसैका निम्ति छोरा, छोरी, बाबु आमा, दाजु भाइ दिदी बहिनी, मामा-माइजु, मालिक नोकर, गुरू चेला आदि सबै कुराले घेरिएको छ। म एउटा पसले, ग्राहक, साहु र आसामी, लोग्ने वा स्वास्नी, साथी जे भए पनि आखिर उ के हो त? यी जम्मै वस्तुहरूलाई म देखि छोडाउँदै लगे म चैं के हो? कविलाई यसैबारे चिन्ता छ। यसैको सन्धान छ। माथि उल्लेखित केही कविताममा रहेको म को प्रसङ्गलाई निम्न तालिकामा हेर्न सकिन्छ।
वैरागी काइँलाको म कवितामा म का विभिन्न अवस्था देखाइएका छन्। कविताको शुरूमा नै कविताको शुरूमा साथीको मृत्यु डाक्छु भन्ने आशय व्यक्त छ। यद्यपि यसकै लगत्तै अक्टोपसका हातहरू दुःस्वप्नहरू भनेर साथीलाई दुख पीडा दुःस्वप्न आदिले जेलेका छन्। यतिसम्म जेलेको छ कि साथीभित्रको स्वत्व नै विलुप्त बनाइएको छ। साथीभित्रको ममत्व विलुप्त बनाइसकेको छ।
कवितामा म को अवस्था बुझाउन केही शब्द शब्दावली प्रयोग गरेका छन्। अक्टोपस, रेशमको कीरा, फोसिल, बुद्धिबार, बेलबुट्टा, कुन्युँ, आत्मप्रक्षेपण, आत्मप्रवञ्चना, ब्रेल, गेस्टापो, पक्षाघात, शिलाखण्ड, नीलिमा लहर, नागबेली आदि जस्ता शब्द-शब्दावलीले विभिन्न अर्थ र सन्दर्भ द्योतन गर्दछन्। यसका साथै इन्द्रदाजु, कुमार दाजु, वल्लभ भनेर आयामेली आन्दोलनका आफ्ना सहप्रयोक्ता इन्द्रबहादुर राई र ईश्वरवल्लभ अनि इतिहासकार कुमार प्रधानको नामोल्लेख गरेका हुन्। यी शब्द-शब्दावली मात्र पनि अर्थ खुले पनि कवितामा म को अवस्थानको अर्थ खुल्दछन्।
अक्टोपस- छवटा भुजा भएको समुद्री जीव। यसले आफ्ना छवटा भुजाहरूले आफुलाई नै बेरिरहेको हुँदछ।
रेशमको कीरा – रेशम कीराले आफुलाई कोकुनभित्र लुकाएर राखेको हुन्छ।
फोसिल- ढुङ्गा-चट्टानमा पाइने प्राचीनकालीन जीव-जन्तुको आकृति। प्राचीनकालका धेरै जीव-जन्तु विभिन्न कारणलेयसरी माटोक्षभित्र पुरिँदा कालान्तरमा त्यसको आकृति चट्टानका बिचमा देखिनु।
गेस्टापो- जर्मनीका तानाशाहका विशेष गुप्तचर पुलिस। यी गोस्टापोहरूले यहुदी र अन्य शत्रुदेशका मानिसहरूलाई एउटा भवनमा राखी मार्नलाई विभिन्न ग्यासको प्रयोग गर्दथे।
कविले म को स्थितिलाई जटिल भएको बोध गरेका छन्। रेशम कीराको खोलभित्र म लाई बेरिएको पाउँछन्। रेशमको धागोभित्र पाउँछन्। रेशमको धागोमा बेरिए पनि निसास्सिने स्थिति छ। रेशमको कोकुनभित्र रहेको किरा गुम्सिएको हुन्छ। मान्छे पनि विभिन्न जञ्जालभित्र रहेर गुम्सिएको छ। म का वरिपरि विभिन्न तत्वले घेरिएको हुन्छ जो म उकुसमुकुस भएको कविलाई अनुभूत हुन्छ। यसै म को बन्धनबाट मुक्तिको कामना नै कविको अभीष्ट देखिन्छ। वर्तमानमा मानिसको अवस्था कारूणिक छ।
म को सन्दर्भमा हेर्दा पनि बैरागी काइलाका कवितामा भौगोलिक समालोचना, सांस्कृतिक अधययन, मीथकीय अध्ययन, इतिवृत्तशास्त्रीय अध्ययन पर्यावरणीय विमर्श आदिका आधारमा अध्ययन गर्न सकिने आधार पाइन्छन्। उनको अभिशप्त पहाड र अविरल बग्ने लिजियाङ नदी भन्ने कवितालाई भौगोलिक समालोचनामा अध्ययन गर्न सकिन्छ। यसमा चिनमा बग्ने सुन्दर लिजियाङ नदीलाई प्राकृतिक बिम्ब बनाएर म को मनको अवस्था दर्शाएका छन्। यसै गरी म को सन्दर्भ केलाउने क्रममा उनका कवितामा किरातीय मिथकको पनि सुन्दर प्रयोग गरेका छन्। यसका निम्ति छुट्टै अध्ययनको आवश्यकता छ।
४ काइलाका केही गीतमा म को अवस्थान-
बैरागी काइला एक कुशल गीतकार पनि हुन्। उनका गीत धेरै नभए तापनि उनका बैरागी काइलाका सङ्कलित कविताहरूमा जम्मा सोह्रवटा गीतहरू सङ्कलित छन्। प्रायः प्रत्येक गीतमा म तत्वको चिन्तन पाइन्छ। गीतमा पनि उनको म विषम परिस्थितिमा चेप्टिएको पाइन्छ। उनको म पीँडित, लाञ्छित र कुञ्ठित छ। म बन्धनमा परेर छटपटिएको छ। गीतमा पनि उनी म लाई बन्धन मुक्तिको कामना गर्दछन्। केही गीतमा म को प्रतिकूल अवस्थामा भएको चित्रित देखिन्छ। आफु झर्न लागेको फूल, आफ्ना सपना फुटे, पछार्छु जिन्दगीलाई ढुङ्गामा, मेरो दुःखी मन आदि जस्ता केही गीतमा म को जटिल अवस्थालाई वर्णन गरिएको छ।
५. वैरागी काइँलाको कवित्वको मूल्याङ्कन र उपसंहार –
नेपाली कवितामा वैरागी काइँला एउटा बिर्सिनसक्ने नाम हो। थोरै कविता लेखेर पनि धेरै नाम र सफलतकता हासिल गर्ने प्रतिभाशाली कवि हुन्। थोरै कवितामा भए पनि अर्थगत, प्रभावगत, स्वरूपगत, चिन्तनगत, शैलीगत आदि सबैमा अब्बल रहेका छन्। उनका कविता बुझ्न भारतीय, पाश्चात्य र किराती मिथक अध्ययन गर्नुपर्ने र बुझ्नुपर्ने हुन्छ। उनका कविता सामान्य पाठकका निम्ति भने दूर्वोध्य र क्लिष्ट हुन्छन्। यद्यपि बौद्धिक पाठकका निम्ति बलियो खुराक सिद्ध हुन्छ। उनका कवितामा म को अर्थ दिने क्रममा विभिन्न चिन्तन गरिएको पाइन्छ। उनी चिन्तनप्रधान कवि हुन्। उनको चिन्तनको विषयवस्तु विभिन्न रहे पनि मानिसको मूल्यवत्ता, अस्तित्व आदिलाई प्रमुख रूपमा आधार लिएका छन्।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।