कहिले झर्ना भई छङछङ खस्दै,
कहिले रिसाएजसरी कुर्लेर ओर्लिंदै,
कहिले सुसेला हाली मीठो गीत गाउँदै,
कहिले कम्मर भाँचेर नागबेली खेल्दै,
कहिले सीधासीधा भएर हिँड्दै
एउटा नदी बगिरहेछ |
उसलाई थाहा छैन, ऊ कहाँ जाँदै छ ?
तर जाँदै छ, जाँदै छ, जाँदै छ |
उसलाई थाहा छैन, ऊ के खोज्दै छ ?
तर खोज्दै छ, खोज्दै छ, खोज्दै छ |
एउटा चुम्बकीय आकर्षणमा परेर
ऊ निरन्तर अगाडि बढ्दै छ,
आफैँ नदी भएर पनि
प्यासी भएर हिँड्दै छ |
तर एक दिन आउँदै छ जुन दिन उसको
लामो यात्रा सकिँदै छ,
एक दिन आउँदै छ जुन दिन उसको
सारा प्यास मेटिंदै छ,
एक दिन आउँदै छ जुन दिन ऊ
नदीबाट समुद्र बन्दै छ |