अभिमानले होस् या स्वाभिमानले होस्,
ईर्शाले होस् या अहंकारले होस् ,
पाएर होस् या नपाएरै होस्,
जानि नजानि जसरीनै होस्,
सम्बन्धहरू टुटेछन, छुटेछन, कतै सिसा झैँ फुटेछन्।
निबिड सम्बन्धमा पर्खाल ठडिएछन्
प्रगाढ साइनोहरू यत्रतत्र पन्छिएछन्
मरिमेट्ने यारहरू लुट्न पो तम्सिएछन्,
अभियानका सहयात्री बाटो फेरेर हिडछन्,
हित चाहनेहरू अब चित पार्ने दाउमा छन्।।
यस्तो चालले सधैं हुन्न साथीहो,
नाता तोडेर सम्बन्ध दरिलो हुन्न साथीहो,
आफू फोरिएर दुश्मन हसाउनु हुन्न साथीहो।
रिस राग र अभिमानका बोट काट साथीहो,
केही म त्याग्छु केही तिमी त्याग साथीहो।
बिन्ती छ, आह्वान छ आजै
फोड्ने हैन जोड्ने पहल गरौं साथीहो।।
मिलाउनु छ यहाँ छुटेका हातहरूलाई,
भेटाउनु छ यहाँ रुठेका साथहरूलाई,
सिलाउनु छ यहाँ फाटेका मायाहरूलाई,
जोड्नु छ यहाँ टुटेका दिलहरूलाई।
के पायौं हामीले आपसी दिल दुखाएर ?
फगत झर्यौं खस्यौं नजरमा ग्लानी चुल्याएर,
भो भयो घडा भरियो आँशुको, पीर अब नबढाऊ,
आऊ साथी दिलमै बस एकफेरा मुसुक्क हाँसीदेऊ,
टुटिसकेको मायालाई फेरि सुटुक्क गासिदेऊ।।
भोलाझार, तामुलपुर, आसाम।