ऊ काम नगर्ने पनि होइन । उसले घर परिवारका सदस्यसँग फुर्सदले बोल्ने समय कहिल्यै पाउँदैन् । सधै असिनपसिन, सधै दौडधुप ! ज्यानले त मृत्युपछि आराम पाउला, तर उसले ?
सोच्छ, सायदै उसले आरामले सास फेर्ने त्यस्तो कुनै दिन आउला ! उसले कहिल्यै कल्पनासम्म पनि गरेको छैन होला !
उसको स्वभाव र व्यवहारको कुरै नगरौँ । ऊ इमानदारीको प्रतिमूर्ति हो । बरु सागरको स्वभावमा तलमाथि पर्न सक्ला, पृथ्वीको गति र समयचक्रमा केही गडबडी हाेला, उसको व्यवहारमा सिन्कोभर पनि तलमाथि पर्दैन । संसारलाई आफूजस्तै देख्नु नै सायद उसको एकमात्र ठुलाे कमजोरी हो ! उसलाई राम्ररी थाहा छ सोझा रुखलाई नै सबैले छानी छानी सिध्याउँछन् तर पनि ऊ व्यवहारमा बेइमानी बन्न सक्दैन, छट्याइफट्याइँ गर्न चाहँदैन ।
ऊ सोच्छ, भोलि अवश्य मर्नु छ र जति नै सम्पन्न भए पनि मरेर जाँदा कसैले केही लगेको उसले देखेको छैन । बरु पार्थिव शरीरसमेत छोडी शरीरलाई मूर्दा बनाएर गएको उसलाई राम्ररी थाहा छ । अनि सर्वाङ्ग नाङ्गो बनाएर सद्गति गरेको उसले धेरै देखेको छ । शरीरको धरोसम्म साथमा रहँदैन भने केका लागि कसैको मन दुखाउने, दसदुनियाँसँग दुस्मनी साँध्ने ! अरूले त कुरै छोडाैँ त्यही बाउले जोडेको सम्पत्ति उपभोग गर्ने सन्तानले बाबुका नाममा एक पैसाे दान गर्दैन । बरु एकदुई छाक भोकै बस्ने तर कसैसँग नराम्रो नगर्ने ! ऊ यही महान् विचारबाट उत्प्रेरित छ ।
तर, उसको यही सोचको फाइदा उठाउँदै हरेक पाइलामा उसको महानतामाथि बलात्कार भइरहेको छ । र त आज ऊ पेटमा तरानको आवश्यकता भएसँगै भान्सामा पुग्छ र एकथोपो आँसु खर्च गर्दै फिर्छ फेरि सन्तानको पेट र नाङ्गो शरीरको अनियन्त्रित आन्दोलनको ज्वाला नियन्त्रण गर्न अर्को थोपो आँसु खसाउँछ । सुन्छु आजभोलि सम्पन्नताका दम्भमा फुलेकाहरू आफ्नै अभिमानको रापले शुष्क हुँदैछन् र रातदिन बेजोड श्रमबाट सिर्जित थकान र अभावहरूको डुबुल्कीसँगै छचल्किएर बगेका उसका आँसु जमिनमा छुन नपाउँदै जमेर सुख्खा हुँदै आफैँमा जल्दै छन् रे । थाहा छैन कुन दिन यी आँसु बारुद बनेर पड्किने हुन् र ती दम्भले फुलेका शुष्क आडम्बरलाई खरानी बनाउने हुन् । बस ! प्रतीक्षा गर्नु छ !