17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मुखिया

लघुकथा मनोहर पोखरेल October 22, 2022, 3:51 am
मनोहर पोखरेल
मनोहर पोखरेल

‘पटक–पटकको घातको बदला लिनैपर्छ, त्यस मुखियाबाट ।’ इन्द्रनारायण कुर्लँदै थिएँ ।
चौरको दुई किनारामा मञ्च थियो । अर्कातिर बहालवाला मुखिया भन्दै थिए; ‘अब गाउँबाट दरिद्र भाग्छ । हाम्रै पालामा गाउँ समृद्ध बन्छ ।’
बिचमा भेला पारिएका जनता घरी इन्द्रनारायणतिर फर्कन्थे घरी मुखियातिर । राजनीतिको फेरो समाएर नाफा–घाटाको जोडघटाउमा व्यस्त मुखियाको आचरणले भुइँमान्छे निराश थिए । गरिबीले गाँजेको गाउँका मुखियाको भने सान, मान र सौकत आकासिएको थियो ।
जनभावना बुझेर इन्द्रनारायणले पनि सक्तो समृद्धिको सपना बाँडेँ । रोग, भोक र कुपोषणको उपचार गरिने कुरा गरे । भ्रष्टाचार ढिलासुस्तीजस्ता बेथितिहरूको जरो उखेल्ने प्रतिबद्धता गरे । मुखियाको विरोधमा धुँवादार भाषण गर्दै भनेका थिए– ‘प्रष्टरूपमा देखिएको यी विषालु ऐँजेरुहरूलाई ठेगान लाउने गतिलो बेला भनेकै यही हो ।’
भाषणले इन्द्रनारायणप्रति झिनो आशा पलायो जनताको । गरिबीको तापले राँकिएका गाउँलेहरूको तालु महँगी थपेर अरू तताउने काम मुखियाले नै गरेको ठहर गरे । इन्द्रनारायणलाई जिताउने निधो गरेर उनीहरू घर गए ।
‘अधुरा काम पूरा गर्न अन्तिम पटक पहिलेझैँ विश्वास गर्नुहोस ।’ रातारात घरघर पुगी मुखिया यसो भन्दै थिए । ‘यो त ढाडिएको भ्यातलुङ हो । अघाएको छ । अरू चुस्तैन । विकास मात्रै गर्छ ।’ यसो भन्दै मुखियाका कार्यकर्ताले कानकानमा प्रचार गरे । भगवानको प्रसाद भन्दै खै, केके चीज पनि बाँडे ।
अन्ततः बिजय जुलुस निकाल्ने क्षण आयो । इन्द्रनारायणकै कार्यकर्ता अघिअघि थिए । यस पाला भने इन्द्रेको हातमा मुखियाकाल सरेछ भनेर गाउँलेले ठाने । अबिरमालाले पुरिएका नेता मञ्चमा उभिएर बोल्न थाले; ‘रातारात कार्यकर्ता मेरो पार्टीमा प्रवेश गरेर चुनावको परिणाम मेरो हातमा पारिदिए । तसर्थ यो विजयोत्सव मेरो होइन जनताको हो । स्वर भिन्नै लागेर नियालेर हेर्दा त भाषण गर्ने उही बहालवाला मुखिया पो रहेछन् ।

राजविराज ६, सप्तरी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।