अच्युतः आजकाल समय कसरी बिताउँदै हुनुहुन्छ ?
डा. निरौलाः म पद्कन्या बहुमुखी क्याम्पस, बागबजारमा विगत उनन्तिस वर्षदेखि नेपाली विषयमा प्राध्यापन गर्दै आएको छु । बिहान क्याम्पसमा गई पठनपाठनको जिम्मेवारी पूरा गर्ने, क्याम्पसमा प्रगतिशील प्राध्यापक सङ्गठन एकाइ समिति अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै गर्दा आइपर्ने शैक्षिक, पेसागत समस्याहरूसँग जुध्ने, साथीहरूलाई सङ्गठित गर्ने, विभिन्न साहित्यिक कार्यक्रममा सहभागी हुुने, समालोचना, कविता, गीत, पाठ्यपुस्तक आदिको लेखन र पारिवारिक दायित्व पूरा गर्दै आजकल समय बिताउँदै छु ।
अच्युतः साहित्यलेखनमा कहिलेदेखि किन लाग्नुभयो ?
डा. निरौलाः म २०३५/०३६ साल अर्थात् विद्यार्थीकालदेखि नै साहित्यलेखनमा लागेको हुँ । सुरु सुरुमा मैले शास्त्रीय छन्द र गीतिलयको प्रयोग गरी कविता लेखेँ । कहिलेकाहीँ पुुरस्कार पनि पाएँ तर त्यतिखेर लेखेका कविता मैले सुरक्षित राख्न सकिनँ । आवश्यक पर्दा लेख्ने र सम्बन्धित ठाउँमा गई प्रस्तुत गरिसकेपछि प्रकाशन गर्ने सुविधा नभएकाले सबै हराएर गए । सामाजिक दायित्व पूरा गर्ने उद्देश्यले नै साहित्यलेखनमा लागेँ तर त्यसबेला प्रायः क्रान्तिकारी र सत्ताविरोधी रचना भएकाले पनि तिनलाई सुरक्षा गर्न सकिएन ।
अच्युतः कुन कुन विधामा कलम चलाउनुहुन्छ ?
डा. निरौलाः विशेषतः कविता, समालोचना, नियात्रा, गीतजस्ता विधामा कलम चलाउँछु ।
अच्युतः कविता, समालोचना, नियात्रा, गीतजस्ता विधालाई नै मुख्य विधाका रूपमा रोज्नुको कारण बताइदिनुहोस् न ।
डा. निरौलाः मलाई कविता विधा असाध्यै मन पर्छ । सामाजिक कुरीति, राजनीतिक विसङ्गति तथा बेतिथिलाई व्यङ्ग्यात्मक एवम् लयात्मकताका साथ तीव्र रूममा प्रहार गर्न सकिने र विश्वचेतना, मानवताद, प्रकृतिप्रेम आदिको बिम्बात्मक र सम्प्रेषणयुक्त ढङ्गले अभिव्यक्ति दिन सकिने भएकाले यो विधा मलाई मन पर्छ । समालोचना मेरो त्यति प्रिय विधा नभए पनि यस विधामा मैले विगत दुई दशकदेखि कलम चलाउँदै आएको छु । मेरो पेसाले पनि समालोचना विधालाई अँगाल्नै पर्ने बाध्यता भएकाले प्रभावपरक एवम् सैद्धान्तिक समालोचनामा मैले कलम चलाएको छु । नियात्रा विधा भने मेरो रोजाइमा पर्ने विधा हो । यस विधामा फुक्का भएर आप्mना यात्रागत अनुभूतिहरू समेट्न र अनेकौँ रोचक सन्दर्भहरू तथा परिघटनाहरू समावेश गर्न सकिने भएकाले यो विधा पनि मलाई मन पर्छ । यस्तै गीत पनि मेरो प्रिय विधा हो । सङ्क्षिप्तमा तीव्र भाव सम्प्रेषण गर्न सकिने र पाठक वा श्रोतालाई सम्मोहित गर्न सक्ने क्षमता यस विधामा हुने भएकाले मैले यसलाई रोजेको हुँ ।
अच्युतः साहित्य सिर्जनाका स्रोतहरू कसरी जुटाउनुहुन्छ ?
डा. निरौलाः ताप्लेजुङजस्तो अति दुर्गम ठाउँमा जन्मेर त्यहाँको माटोसँग म पच्चिस वर्षसम्म निरन्तर सम्पर्कमा रहेँ । ग्रामीण जीवनका दुःख, पीडा र अनुभवलाई नजिकबाट अनुभूत गरेँ । बाल्यकालमा आमाको वियोग सहँदै बुबाको कुशल छत्रछायामा बसेर प्रारम्भिक शिक्षा हासिल गरेँ । किसानको छोरो भएकाले गाउँको कठोर जीवन र साथीहरूको सङ्गतबाट श्रमको महत्त्व बुझेँ । शिक्षा हासिल गर्ने क्रममा अनेक दुःखकष्ट भोग्नुपर्यो । यसरी नजिकबाट मैले जे कुरा देखेँ, भोगेँ तिनै कुरालाई सिर्जनाका क्रममा उतार्ने कोसिस गर्छु । त्यसैले मेरा साहित्य सिर्जनाका विषयगत स्रोतहरू समसामयिक युगजीवनका विसङ्गत पक्षहरू नै हुन् ।
अच्युतः शक्तिशाली र कालजयी रचना सिर्जना गर्न केकस्ता गुणहरू आवश्यक पर्लान् ?
डा. निरौलाः शक्तिशाली र कालजयी रचनाको सिर्जना जोसुकैबाट सम्भव हुँदैन । कसै कसैले जन्मजात रूपमै सिर्जनात्मक शक्ति लिएर आएका हुन्छन् । विशेषतः विधागत सैद्धान्तिक ज्ञान, लामो साधना एवम् अभ्यासबाट नै सर्जकले शक्तिशाली र कालजयी रचना गर्न सकेको पाइन्छ । त्यसकारण शक्तिशाली र कालजयी रचनाका लागि सर्जकमा जन्मजात विशिष्ट क्षमता, सैद्धान्तिक ज्ञान, युगबोध गर्ने क्षमता र निरन्तर अभ्यासजस्ता गुणहरू आवश्यक पर्छन् भन्ने मलाई लाग्छ ।
अच्युतः नेपाली साहित्यको वर्तमान अवस्थालाई कसरी हेरिरहनुभएको छ ?
डा. निरौलाः आज स्रष्टाहरू सङ्गठित वा असङ्गठित रूपमा देशविदेशका जुनसुकै ठाउँमा बसेर भए पनि नेपाली साहित्यको प्रवर्धनमा निरन्तर क्रियाशील रहँदै आएको पाइन्छ । यो एउटा नेपाली साहित्यप्रेमीहरूका लागि सुखद पक्ष पनि हो । सामाजिक सञ्जाल र प्रविधिकोे उपयोग गर्दै नेपाली साहित्यको सिर्जना र प्रकाशन तथा चर्चा परिचर्चामा धेरै स्रष्टाहरूले तन, मन र धन खर्चेर लाग्दै आएको कुरा व्यापक बन्दै छ ।
अच्युतः विश्वसाहित्यको तुलनामा नेपाली साहित्यलाई पुर्याउन केकस्ता कदम चाल्नुपर्ला ?
डा. निरौलाः विश्वसाहित्यको तुलनामा नेपाली साहित्य निकै पछि परेको कुरा यदा कदा सुन्न पाइन्छ । यो हाम्रो हीनमानसिकताको द्योतक हो । सही मूल्याङ्कन गर्ने हो भने नेपाली साहित्य निकै शक्तिशाली रहेको स्पष्ट हुन्छ । कतिपय व्यक्तिहरूले सतही मूल्याङ्कन गरी अङ्ग्रेजी, जर्मनी, रसियन, चिनिया, हिन्दी, बङ्गाली आदि भाषामा लेखिएका साहित्यको तुलनामा नेपाली साहित्य पछि परेको निष्कर्ष निकाल्न खोजेको पाइन्छ । यस निष्कर्षलाई स्वीकार गर्न सकिन्न । एउटा कुराको कमी भने अवश्य छ, त्यो के भने नेपाली साहित्यमा लेखिएका शक्तिशाली र कालजयी रचनाहरूको विभिन्न भाषाहरूमा अनुवाद गरी प्रचारप्रसार भने गरिएको पाइन्न । छिटफुट रूपमा संस्थागत र व्यक्तिगत रूपमा प्रयासहरू भए पनि त्यो पर्याप्त छैन । लेखनाथ पौड्याल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे, विजय मल्ल, शङ्कर लामिछाने, पारिजात, मोहन कोइरालालगायतका कृतिहरू अनुवाद गरी विश्वबजारमा पुर्याउन सके नेपाली साहित्य प्रतिस्पर्धामा अब्बल बन्ने कुरामा म विश्वस्त छु । वर्तमान युवा पुस्ताको सक्रियता आशलाग्दो बन्दै गएको भए पनि पर्याप्त छैन । त्यसकारण सर्वप्रथम हामी विश्वसाहित्यको तुलनामा नेपाली साहित्य कमजोर रहेको छ भन्ने हीनग्रन्थी मानसिकताबाट मुक्त होऔँ । सबल मानसिकताबाट नै सफलता पनि मिल्ने हो । तसर्थ, उच्च मनोबलका साथै संस्थागत र व्यक्तिगत रूपमा उच्चस्तरीय रचनाहरूको छनोट गरी विभिन्न भाषामा अनुवाद गर्ने कामलाई तीव्रता दिऔँ र प्रचारप्रसारको कामलाई अभियानकै रूपमा सञ्चालन गरौँ । हामीसँग पर्याप्त शक्तिशाली र कालजयी कृतिहरू हुँदा हुँदै पनि तिनको मूल्यवत्तालाई बुभ्mन नसक्दा नेपाली साहित्य पछि परेको भन्ने भ्रममा हामी छौँ । अतः उपर्युक्त कदमहरू चाल्न सके नेपाली साहित्य विश्वसाहित्यको स्तरमा पुग्न कुनै आइतबार पर्खनु पर्दैन भन्ने मलाई लाग्छ ।
अच्युतः नेपाली प्रगतिवादी साहित्यको वर्तमान अवस्था कस्तो रहेको पाउनुहुन्छ ?
डा.निरौलाः माक्र्सवादी चिन्तन वा द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणलाई अँगाली लेखिने साहित्यलाई प्रगतिवादी साहित्यका नामले पुकारिन्छ । यो मान्यता वैज्ञानिक चिन्तनमा आधारित छ । नेपाली साहित्यमा २००७ सालअघिदेखि नै प्रगतिवादी साहित्यको जग बसाल्ने काम गरिएको हो । अवश्य नै २०१७ अघिसम्म प्रगतिवादी साहित्य अनुदार सरकारी नीतिका कारण सहज रूपमा फस्टाउन सकेन । यति हुँदा हुँदै पनि नेपाली साहित्यकारहरू विश्वमा देखिएको वैज्ञानिक चिन्तन र त्यसको प्रभावबाट अलग रहेनन् । प्रतिकूल अवस्थामा पनि आप्mनो सिर्जनाकर्मलाई अघि बढाइ नै रहे । पञ्चायती कालरात्रिका समयमा पनि प्रगतिवादी साहित्य सिर्जना गर्ने वातावरण पटक्कै थिएन । त्यस बेला स्रष्टाहरूले ज्यानको जोखिम उठाएरै भए पनि संस्थागत र सामूहिक रूपमा शक्तिशाली र कालजयी कृतिहरू सिर्जना गरे । प्रजातन्त्रको पुनः स्थापना र लोकतन्त्रको आगमनसँगै प्रगतिवादी साहित्यको तीव्र विकास हुँदै आएको देखिए पनि पुुराना पुस्तालाई छोडेर नयाँ पुस्तालाई हेर्ने हो भने नयाँ पुस्ता निकै अललमलमा रहेको पाइन्छ । आजको हरेक नयाँ पुस्ताले विद्यमान विसङ्गतिको तीव्र विरोध गर्छ, समाजका विदु्रप पक्षहरूमाथि प्रहार गर्छ तर द्वन्द्वात्मक भौतिकवादी विश्वदृृष्टिकोणलाई सही रूपमा आप्mना रचनामा प्रयोग गरिरहेको पाइँदैन । इच्छाशक्तिको कमी नदेखिए पनि आज नेपाली समाज सामूहिक स्वार्थभन्दा व्यक्तिगत स्वार्थमा रमाउन थालेको छ । देशमा विद्यमान राजनीतिक अस्थिरताका कारण प्रतिभाहरू विदेश पलायन हुने क्रम तीव्र छ । सर्जकहरूलाई विज्ञहरूबाट उचित प्रशिक्षण दिन सकिएको छैन । राज्यपक्ष यस कुरामा पूरै अनुदार देखिन्छ । नयाँ पुुस्ताका स्रष्टाहरूमा इच्छाशक्ति हुँदा हुँदै पनि साहित्यमा प्रयोग हुने विचार एवम् सौन्दर्य पक्षमा ध्यान दिएको देखिँदैन । यसले गर्दा नेपाली प्रगतिवादी साहित्यको वर्तमान अवस्था त्यति सन्तोषजनक रहेको पाइँदैन । नेपाली साहित्यको वर्तमान अवस्थालाई नियाल्दा पक्कै पनि बर्जुवा विचारका सिर्जनाभन्दा वैचारिक हिसाबले प्रगतिवादी सिर्जनाकै वर्चस्व रहेको कुरा भने निर्विवाद छ ।
अच्युतः साहित्यसिर्जनामा प्रेरणा दिने अग्रजहरूलाई सम्झनुपर्दा कसरी सम्झनुहुन्छ ?
डा. निरौलाः हरेक स्रष्टामा आप्mना अग्रजहरूको प्रभाव पर्नु स्वाभाविक मानिन्छ । म पनि अग्रज स्रष्टाहरूबाट प्रेरित भएर नै साहित्य सिर्जनामा लागेँ । सिर्जना यात्राको प्रारम्भमा मैले भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौड्यालजस्ता छन्दवादी कविहरूका रचनाबाट सिर्जनाकर्मलाई अघि बढाएको भए पनि वैचारिक हिसाबले हेर्ने हो भने समकालीन युगका असङ्गतिप्रति नै तीव्र प्रहार गरी कविता लेखेँ । २०३५÷०३६ सालतिरको युगीन परिवेशमा क्रुरता, विद्रुपता र नेपाली समाजले गरिबीका कारण भोग्नुपरेका अनेक समस्याहरूको उजागर गर्नमै केन्द्रित भएँ । २०४२÷२०४३ सालतिर स्नातकोत्तर अध्ययनका क्रममा लक्ष्मीप्रसाद देवकोटा, गोपालपप्रसाद रिमाल, श्यामप्रसाद शर्मा, गोविन्द भट्ट, हृदयचन्द्रसिंह प्रधान, रमेश विकल, आनन्ददेव भट्ट, जनकप्रसाद हुुमागाईँ, मोदनाथ प्रश्रित, पारिजात, मञ्जुल, रामेश, कुन्ता शर्मालगायतका रचनाहरूबाट प्रभावित भएर कविता तथा गीतहरूको रचना गरेँ । २०४४ सालदेखि प्राध्यापन कर्ममा लागेपछि पनि आप्mना अग्रजहरूको प्रभावकै कारण प्रगतिवादी साहित्य सिर्जनामा लागिरहेको छु । यदि अग्रजहरूको सङ्गत र प्रेरणा नपाएको भए सम्भवतः मेरो सिर्जना यात्रा कुन मोडमा गएर टुङ्गिने थियो अहिले भन्न सक्दिनँ ।
अच्युतः अग्रजका नाताले अहिलेको नयाँ पुस्ताका सिर्जनालाई कसरी मूल्याङ्कन गरिरहनुभएको छ ? र उनीहरूको लेखनका बारेमा कस्तो सल्लाह दिनु उचित ठान्नुहुन्छ ?
डा. निरौलाः वास्तवमा मैले आजसम्म सिर्जनाका क्षेत्रमा जेजस्ता कार्यहरू गरेँ ती पर्याप्त छैनन् भन्ने नै लाग्छ । कविता, समालोचना, गीत, नियात्रा आदि विधाहरू र पाठ्यपुस्तक लेखनका क्रममा गरिएका कार्यहरू सार्वजनिक भएका छन् । आजसम्मका मैले प्राप्त गरेका अनुभव र अग्रजका नाताले अहिलेको नयाँ पुस्ताले गरेका सिर्जनालाई सकारात्मक रूपमा लिएको छु तर आज नयाँ पुस्ताका अगाडि धेरै चुनौतीहरू छन् । आज नेपाली समाज हरेक दृष्टिले विचलित हुँदै गएको छ । त्यसैले मानिसको चरित्र, व्यवहार र सेचाइमा पनि निकै मकजोरीहरू देखिन थालेका छन् । राज्यले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन आदि क्षेत्रमा युगसापेक्ष नीतिनिर्माण गर्न नसक्दा नयाँ पुस्ता अन्योलग्रस्त बनेको छ । अतः आजको नयाँ पुस्ता सङ्क्रणकालबाट गुज्रिरहेको अनुभव हुन्छ । यस्तो पुस्तालाई वैज्ञानिक सोच र असल व्यवहार अँगाली अघि बढ्न उत्प्रेरित गर्नुपर्छ । समाजविकासका बाधक तत्त्वहरूप्रति आकर्षित हुँदै गएको यस पुस्तालाई समयमै भविष्यमा गएर भोग्नुपर्ने गलत सम्भावनाप्रति सचेत गराउनुपर्छ र हाम्रा ऐतिहासिक धरोहरका रूपमा रहेका सांस्कृतिक मूल्यहरूप्रतिको दायित्वबोध गराउनुपर्छ ।
आजको नयाँ पुस्ता धेरै कुराहरूबाट विचलित भइरहेको अवस्थामा उनीहरूमा म भविष्यप्रति आशावादी बनेर अघि बढ्ने सल्लाह दिन चाहन्छु । निर्भीक, जुझारु र सङ्घर्षशील जीवनको महत्त्व अति उच्च रहेको हुन्छ । त्यसकारण उच्च आत्मबलका साथ निरन्तर अध्ययन र सिर्जनामा लगनशील भएर लाग्न पनि सल्लाह दिन्छु । विनाअध्ययन र निरन्तर सिर्जनामा नलाग्ने स्रष्टाबाट शक्तिशाली र कालजयी रचनाको सिर्जना हुन सक्दैन । तसर्थ, म नयाँ पुस्तालाई तमाम असङ्गतिका बिचमा सङ्गति खोज्दै युगसापेक्ष सिर्जनाकर्ममा लाग्न विशेष सल्लाह दिन चाहन्छु ।
अच्युतः नेपाली साहित्यको संवर्धन र विकासका लागि साहित्यिक पत्रिकाको केकस्तो भूमिका रहेको छ ? साहित्यिक पत्रिकालाई दीर्घजीवी बनाउन कुन कुन पक्षले के कस्ता कदम चालिदिनुपर्छ भन्ने महसुस गर्नुभएको छ ?
डा. निरौलाः नेपाली पत्रकारिता विधाको थालनी वि. सं. १९५५ मा पं. नरदेव मोतीकृष्ण शर्माको सम्पादनमा पाशुपत प्रेस काठमाडौँबाट मुद्रित भई निस्किएको ‘सुधासागर’ साहित्यिक पत्रिका नेपालको सबभन्दा जेठो र पहिलो पत्रिका हो । यस पत्रिकाको प्रकाशनमा नेपालका अति गौरवशाली साहित्यिक व्यक्तित्व मोतीराम भट्टको मुख्य हात रहेको थियो । ‘सुधासागर’ निस्केको तीन वर्षपछि मात्र वि.सं.१९५८ मा ‘गोरखापत्र’ प्रकाशित हुन थालेको हो । यसपछि प्रवास (बनारस, दार्जिलिङ, खरसाङ) बाट दर्जनौँ साहित्यिक पत्रिकाहरू प्रकाशित भए । ‘गोरखापत्र’ छापिएको ३२ वर्षपछि अर्थात् १९९१ सालमा काठमाडौँबाट ‘शारदा’ मासिक पत्रिकाको प्रकाशन आरम्भ भयो । यस पत्रिकाले नेपाली साहित्यका अनेक सशक्त प्रतिभालाई प्रोत्साहित गर्नुका साथै यसको छहारी पाएका थुप्रै प्रतिभाहरूले वाङ्मय क्षेत्रलाई सम्पन्न तुल्याउने काम गरे । लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, विश्वेश्वरप्रसाद कोइराला, भवानी भिक्षु आदि प्रतिभाहरूका तिखा कलमहरूबाट नेपाली वाङ्मय उच्चस्तरमा पुगेको कुरा कसैबाट छिपेको छैन । २०१७ सालमा बालमुकुन्ददेव पाण्डे र उत्तम कुँवरको सम्पादनमा प्र्रकाशित ‘रूपरेखा’ ले साहित्यको अत्याधुनिक चिन्तन धारालाई साहसिक रूपमा आपूmमा समाहित गर्दै अघि बढ््यो । रोचक घिमिरेको २०१८ सालदेखि प्रकाशित ‘रचना’, भवानी घिमिरेको सम्पादनमा २०२० सालदेखि प्रकाशित ‘भानु’ र ‘जुही’ आदि पत्रिकाले नेपाली साहित्यिक वाङ्मयका फाँटमा ऐतिहासिक योगदान पुर्याएका छन् । यसपछि ‘सिंहनाद’, ‘रत्नश्री’, ‘मधुपर्क’, ‘पारिजात’, ‘जनमत’, ‘अभिव्यक्ति’, ‘शृङ्खला’, ‘वेदना’, ‘सङ्कल्प’, ‘झिसमिसे’, ‘कलम’, ‘वैजयन्ती’, ‘शब्द संयोजन’, ‘शब्दाङ्कुर’, ‘ज्ञानगुनका कुराहरू’ आदि साहित्यिक पत्रपत्रिकाहरूले सामाजिक रूपान्तरण, प्रगतिशील विचारको प्रवद्र्धन तथा उच्च राजनीतिक, सांस्कृतिक, मानवीय बोधको भावनालाई विभिन्न विधाका माध्यमबाट प्रवाहित गर्दै आएका छन् ।
समाचारपत्रहरूको अभावका बेला प्रकाशित विभिन्न साहित्यिक पत्रिकाहरूले अन्धकार युगमा नेपाली समाजमा राजनीतिक चेतना उकास्न, प्रजातान्त्रिक सङ्घर्षलाई टेवा दिन र क्रान्तिकारी उत्सर्गको भावना उमार्न अनेक विधाका माध्यमबाट पुर्याएको योगदान प्रशंसनीय र स्तुत्य रहेको छ । प्रजातन्त्र प्रतिबन्धित रहेको अवस्था र जनताका शाश्वत मानवीय अधिकारहरू कुण्ठित पारिएको समयमा साहित्यिक पत्रिकाहरूले मुलुकमा व्याप्त अन्यायका विरुद्धमा आपूmलाई सशक्त रूपमा उभ्याएका थिए । प्रजातन्त्रको पुनः स्थापना वा सङ्घीय लोकतान्त्रिक शासनको शुभबिहानी ल्याउने काममा समाचारपत्रको भन्दा साहित्यिक पत्रिकाको भूमिका कम छैन ।
आजका साहित्यिक पत्रिकाले सङ्कुचित घेरा तोडी आप्mनो दायरा फराकिलो बनाउँदै लगेको छ । रेडियो, टेलिभिजन, एफ.एम, इन्टरनेट आदिका माध्यमबाट विभिन्न साहित्यिक विधाका रचनाहरू प्रकाशित भइरहेका छन् । त्यसकारण आज साहित्यिक पत्रकारिताको परिभाषा नै बदलिएको छ । हरेक क्षेत्रमा साहित्यको संवद्र्धन एवम् प्रवद्र्धन गर्ने व्यक्तित्वहरू साहित्यिक पत्रकार नै हुन् । अतीतदेखि वर्तमानसम्म भाषा, साहित्य, संस्कृति, ज्ञानविज्ञान र कलाक्षेत्रको विकास र प्रवद्र्धनमा आप्mनो अहम् दायित्व पूरा गर्दै आएको साहित्यिक पत्रकारिताले विगतमा जस्तै सरकारी पक्षबाट अहिले पनि अनुदार नीतिको सामना गर्नु परिरहेको छ । प्रजातन्त्र वा लोकतन्त्रको स्थापना, प्रवद्र्धन र सामाजिक रूपान्तरणका निम्ति अहम् भूमिका निर्वाह गर्ने साहित्यिक पत्रिकाको आजको अवस्था दयनीय बन्दै गएको छ । राज्यबाट कुनै दायित्व वहन नगरिनु, प्रकाशनका लागि साधन स्रोत र उच्चस्तरीय रचनाको उपलब्धतामा कमी हुनु, पठन संस्कृति कमजोर हुँदै जानु, पत्रिका बिक्री गर्दा लगानी नै नउठ्नु, वितरण गर्ने संयन्त्रको उचित व्यवस्थापन नहुनुलगातका कारण साहित्यिक पत्रिका र यसमा संलग्न पत्रकारहरूको भविष्य नै अन्योलग्रस्त बन्दै गएको छ । यसलाई दीर्घजीवी बनाउन राज्यले दायित्वबोध गर्र्ने, प्रकाशकले समयसापेक्ष सामग्रीको प्रकाशन र बिक्री वितरणको समुचित व्यवस्थापन, प्रकाशनलाई सामूहिक रूपमा जिम्मेवारी बाँडफाँड गरी इमानदारपूर्वक पत्रिकाको नियमित प्रकाशन गर्ने जस्ता कदमहरू चालिनु आवश्यक छ ।
अच्युतः तपाईँ आफै स्रष्टा हुनुहुन्छ । नेपाली साहित्यमा थुप्रै स्रष्टाहरू हुनुहुन्छ । अन्य स्रष्टाभन्दा आपूmलाई फरक देखाउनुपर्दा तपाईँको लेखनका फरकपना बताइदिनुहोस् न ।
डा. निरौलाः नेपाली साहित्यको इतिहास निर्माणमा थुप्रै स्रष्टाहरूको विशिष्ट योगदान रहेको छ । प्राथमिक काल, माध्यमिक काल र आधुनिक कालसम्म आइपुग्दा हजारौँ साहित्यकारहरू यस क्षेत्रमा क्रियाशील भएकै कारण आज नेपाली साहित्य समृद्ध बनेको स्पष्ट छ । थुप्रै स्रष्टाहरूका माझमा आपूmलाई पाउँदा गौरवबोध हुनु स्वाभाविक हो तर म कस्तो स्रष्टा हुँ भन्नेबारे आपूmले आपैmँलाई मूल्याङ्कन गर्नु त्यति उचित हुँदैन । यति हुँदा हुँदै पनि म एउटा साधारण स्रष्टा हुँ । शास्त्रीय तथा लोक लय अँगाली कविता सिर्जना गर्ने, गीत, नियात्रा आदि विधाका माध्यमबाट तमाम असङ्गतिप्रति प्रहार गर्ने, श्रमिक वर्गप्रति सहानुभूति राखी असल विचार प्रवाह गर्ने, सरल जीवन र उच्च विचार अँगाली अघि बढ्नुपर्छ भन्ने भावनालाई पृष्ठपोषण गर्ने, दानवीय प्रवृत्तिको पर्दाफास र मानवीय प्रवृत्तिको स्थापनामा जोड दिने, प्रकृतिका सहायताले मावनजीवनका असल पक्षहरूको उजागर गर्ने अनि सरल तथा स्पष्ट अभिव्यक्ति मन पराउने व्यक्ति हुँ म । यिनै पक्षका आधारमा म आपूmलाई अन्य स्रष्टाहरूभन्दा पृथक् भएको पाउँछु ।
अच्युतः हालै नेपाली प्रगतिवादी साहित्यका शिखर पुरुष कविवर युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानको गरिमामय अध्यक्षमा निर्वाचित हुनुभएको छ । कविवर मिश्रको साहित्यिक योगदानलाई थप उजागर गर्न र प्रतिष्ठानलाई चलायमान पार्न केकस्ता योजना बनाउनुभएको छ ? प्रकाश पारिदिनुहोस् न ।
डा. निरौलाः कविवर युद्धप्रसाद मिश्र नेपाली प्रगतिवादी साहित्यका शिखर व्यक्तित्व हुनुहुन्थ्यो । मिश्रको स्रष्टा व्यक्तित्व अनेक आयाममा प्रकट भएको छ । राणाकालीन समयको उत्तराद्र्धतिर साहित्य सिर्जनामा उदाउनुभएको व्यक्तित्व हो कविवर मिश्र । छ दशक लामो साहित्य साधनामा लाग्नुभएका मिश्रले कविताका मुक्तकीय रूपदेखि, फुटकर र खण्डकाव्यसम्मको यात्रा पूरा गर्नुभएको छ । यसका अतिरिक्त उहाँले कथा, निबन्धजस्ता विधामा पनि कलम चलाउनुभएको छ । राणाकालीन अन्धकार युग हुँदै प्रजातन्त्र र राजा महेन्द्रको क्रुर शासनका घटना तथा परिघटनाहरूलाई प्रत्यक्ष भोग्ने अवसर पाउनुभएको थियो उहाँले । पारिवारिक जीवनका अनेक प्रताडना र युगजीवनका विसङ्गत पक्षलाई अनुभूत गर्दै र पूर्ववर्ती तथा समकालीन साहित्यकारहरूबाट प्रभाव ग्रहण गरी आप्mनो सिर्जना यात्रालाई उहाँले अगाडि बढाएको पाइन्छ । एकतन्त्रीय क्रुर राणाशासनका समयमा देखिएका सामाजिक, सांस्कृतिक, आर्थिक असङ्गतिका विरुद्ध आप्mना असन्तुष्टि र विद्रोहको स्वर उराल्दै आउनुभएका मिश्र राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा सरिक हुँदै आउनुभएको हो तर कुनै पनि परिवर्तनबाट उहाँ सन्तुष्ट हनुभएको पाइँदैन । प्रारम्भमा स्वच्छन्दतावादी रुमानी शैलीको प्रभावमा रहेर कविता लेखे पनि तिनमा विद्रोहको चेत सल्बलाएकै पाइन्छ । पञ्चायत कालका रचनामा सामन्तवादी एवम् पुँजिवादी शासन व्यवस्था र शासक वर्गप्रति तीव्र विद्रोह गर्दै अभिव्यक्ति दिनुभयो । युवा अनि शोषित, पीडित जनता तथा बुद्धिजीवी सबैको सहभागिताबाट सामाजिक रूपान्तण सम्भव हुन्छ भन्ने कुरामा उहाँ विश्वास गर्नुहुन्थ्यो । सामन्त र शोषकबाहेक सबैसँग असल व्यवहार गर्न रुचाउनु हुने मिश्रका रचनाहरू सरल तथा सम्प्रेषणयुक्त रहेका छन् । शैलीशिल्पगत सरलता, वैचारिक दृढता अनि तमाम असङ्गतिप्रतिको विद्रोह उहाँका कवितामा पाइने प्रवृत्तिगत विशेषता हुन् । यस्ता महान् प्रगतिवादी स्रष्टा कविवर युद्धप्रसाद मिश्र स्वाभिमानका पर्याय नै हुनुहुन्थ्यो । वस्तुतः सामाजिक अन्याय, अत्याचार, शोषण र दमन अनि सामन्तवादी सत्ताका विरुद्ध जीवनभर सङ्घर्ष गर्दा कहिल्यै नथाक्ने व्यक्तित्व हुुनुहुन्थ्यो कविवर मिश्र ।
देशभक्तिपूर्ण एवम् विद्रोही तथा जनपक्षीय साहित्य सिर्जना गरेबापत सत्ताको सधैँ तारो बन्नुभएका कविवर मिश्रको २०४७ सालमा देहावसान भयो । उहाँले नेपाली साहित्यमा पुर्याउनुभएको विशिष्ट योगदान, असल कार्यहरू आदिलाई चिरस्थायी रूप दिनुपर्छ भन्ने ऐतिहासिक जिम्मेवारीबोधका साथ सर्वप्रथम २०४७ सालमा गुठीका रूपमा स्थापना भएको मुनाफारहित तथा जनहितकारी सामाजिक प्रतिष्ठान नै आज आएर ‘युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठान’ का नामबाट परिचित छ । यस प्रतिष्ठानको स्थापना र यसलाई सबल एवम् जीवन्त राख्न कविवर मिश्रका सुपुत्र स्व. अरुणप्रकाश मिश्र, छोरीहरू स्व. श्री मिश्र, कमल मिश्र तथा डा. बालचन्द्र मिश्रलगायत स्थानीय बौद्धिक एवम् रानीतिकर्मीहरूको विशिष्ट भूमिका रहँदै आएको छ । २०५७ मा विधिवत् रूपमा संस्था दर्ताको प्रक्रिया अघि बढाएर २०५८ मा स्वीकृतिसमेत प्राप्त गरेपछि यो प्रतिष्ठान विभिन्न व्यक्तित्वहरूको नेतृत्व पाएर आजसम्म क्रियाशील रहँदै आएको सर्वविदितै छ । यसले स्थापना कालदेखि नै अनेक कार्यका साथै भक्तपुर, सिरुटारमा भवन निर्माण, कविको प्रतिमा स्थापना, पुस्तक तथा पत्रिकाको प्रकाशन आदि विभिन्न किसिमका रचनात्मक कार्यहरू गर्दै आएको छ । यस प्रतिष्ठानलाई आजको अवस्थामा पुर्याउन प्रतिष्ठानको अध्यक्षजस्तो गरिमामय पदमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने श्री त्रिरत्न शाक्य, स्व. केवलपुरे किसान, स्व. जनकप्रसाद हुमागाईँ, डा. मोदनाथ प्रश्रित, श्री गङ्गाप्रसाद उप्रेती, प्रा. डा. जीवेन्द्रदेव गिरी, श्री वासुदेव अधिकारी, श्री अनिल पौडेललगायत अन्य स्थानीय विशिष्ट व्यक्तित्वहरूको योगदान स्मरणीय छ ।
कविवर युद्धप्रसाद मिश्रका नाममा स्थापित गरिमामय प्रतिष्ठानको मिति २०७९ भाद्र ३१ गतेका दिन सम्पन्न ११ औँ साधारणसभाले मेरो अध्यक्षतामा कार्य समितिको चयन गर्यो । यस समितिले जिम्मेवारी वहन गर्दै गर्दा यसका सामु थुप्रै चुनौती र अवसरहरू रहेको मैले पाएको छु । यस प्रतिष्ठानको गरिमालाई बचाइ राख्नु, प्रतिष्ठानलाई क्रियाशील बनाउनु तथा राष्ट्रिय पहिचानको छवि कायम गराउँदै कविवर मिश्रको जन्मथलो भक्तपुर, सिरुटारलाई साहित्यिक तीर्थस्थलका रूपमा विकसित गर्नु जस्ता चुनौतीहरू हाम्रा सामु रहेका छन् । यी चुनौतीहरूको सामना गर्दै अघि बढ्न यो कार्य समिति पछि पर्ने छैन भन्ने मलाई विश्वास छ । अहिले यस समितिमा अनुभवी साथीहरू हुनुहुन्छ । यस प्रतिष्ठानप्रति असल वामपन्थीहरू, प्रगतिवादी साहित्यकारहरू तथा परिवारका सदस्यहरूको पूर्ण सद्भावका साथै सहयोग रहँदै आएको छ । यस कुरालाई मनन गरी हामी एकताबद्ध भई अघि बढ्न सक्यौँ भने यस प्रतिष्ठानले अपेक्षा गरेअनुसारको प्रगति गर्नेछ भन्ने मलाई विश्वास छ ।
कविवर मिश्रको योगदानलाई थप उजागर गर्न यसअघिको कार्य समितिले थुप्रै योजना बनाएको थियो तर कोरोना महामारीको सङ्क्रमण, देशमा विद्यमान राजनीतिक अस्थिरता आदिका कारण अपेक्षा गरे जति काम गर्न सकिएन । यस कार्य समितिले सर्वप्रथम भक्तपुरस्थित मिश्रको प्रतिमा राखिएको स्मारक भवनको मर्मत संहार गर्ने कामलाई स्थानीय सहृदयी मित्रहरू र सूर्यविनायक नगर पालिकाकासँग सहकार्य गरेर अघि बढाउने योजना बनाएको छ । यस्तै कविवर मिश्रले भारतको बनारस, आसाम, मथुुरा, वृन्दावन, दार्जिलिङलगायत विभिन्न ठाउँ र नेपालको पर्सा, बर्दिया, बाँकेलगायतका क्षेत्रमा बसेर साहित्य सिर्जना गर्नुभएको हो र उहाँका कतिपय रचनाहरू अहिले पनि प्राप्त गर्न सकिएको छैन । पूर्वअध्यक्ष वासुदेव अधिकारीज्यूले उहाँका धेरै कृतिहरू सङ्कलन गरी प्रकाशित गर्नुभएको छ तापनि अभैm व्यवस्थित रूपमा प्रकाशन गर्नुपर्ने आवश्यकता छ । मिश्रको योगदानलाई उजागर गर्न विगतमा दुई अङ्कसम्म ‘युद्ध’ पत्रिका निकालिएको थियो । त्यसलाई निरन्तरता दिने, कविवर मिश्रको वृत्तचित्र बनाउने, उहाँका सम्पूर्ण रचनाहरूलाई वेभसाइटमार्पmत पाठकलाई उपलब्ध गराउने, उहाँको साहित्यिक योगदानका बारेमा अध्ययन तथा अनुसन्धान गराउने र अन्य विविध साहित्यिक एवम् वैचारिक गतिविधिहरू सञ्चालन गर्दै यस प्रतिष्ठानलाई चलायमान बनाउने योजना मैले बनाएको छु ।
अच्युतः तपाईँ आफैँ सिङ्गो जीवन प्राध्यापन कर्ममा समर्पित गर्ने व्यक्तित्व हुनुहुन्छ । आजकाल पठन संस्कृति हराएको चर्चा गरिन्छ, प्राध्यापकीय आँखाले चाहिँ कसरी हेर्नुभएको छ, मूल्याङ्कन गर्नुभएको छ ?
डा. निरौलाः मेरो विचारमा आजकल पठन संस्कृति हराएको होइन, प्रविधिका कारण फरक रूपमा देखिएको मात्र हो । समयअनुसार पाठकले सामग्रीको अपेक्षा गरेको हुन्छ । त्यसअनुसार स्रष्टाले सिर्जना कर्ममा लाग्ने र प्रविधिको पनि उपयोग गर्ने हो भने पठन संस्कृति लोप भयो वा सकियो भन्ने चर्चै चल्ने थिएन होला । फरक यत्ति हो हिजो प्रविधिको कुनै सुविधा नहुँदा पाठकले खोजी खोजी आपूmले चाहेका रचना पढ्थ्यो तर आजको मानिस डिजिटल वा प्रविधि प्रिय बनेकाले उसले घरमा, कार्यालयमा, यात्रामा वा जुनसुकै अवस्थामा पनि आपूmले चाहेको सामग्री सहज उपलब्धताको अपेक्षा गर्छ । आजको मानिसलाई पुस्तकालय धाएर पढ्ने वा पुस्तक खरिद गर्ने फुर्सद छैन । चाहेका खण्डमा उसले घरमै बसी बसी विश्वका जुनसुकै कुनाबाट प्रकाशित भएका कृति पढ्न सक्छ अनि हामीलाई सामान्य प्रकृतिका कृति प्रकाशित गरेर पठन संस्कृति हरायो भन्न सुहाउँछ ? आजकल ज्ञानको क्षेत्र व्यापक बनेको छ र मानिसका अपेक्षा अनेक प्रकृतिका छन् । त्यसैले मेरो अनुभवमा स्रष्टाले पनि समयानुकूल सिर्जना गर्न र प्रविधिको उपयोग गर्न नसक्दा पठन संस्कृति हराउँदै गएको छ भन्ने हल्ला गरेर आत्मसन्तुष्टि लिने काम गरिन्छ ।
अच्युतः साहित्यसम्बन्धी मैले सोध्न छुटाएका र तपाईँले भन्नैपर्ने कुराहरू केही भए बताइदिनुहोस् न ।
डा. निरौलाः समसायिक साहित्यिक तथा अन्य धेरै गतिविधिका बारेका यहाँले प्रश्न सोध्नुभयो । त्यसका लागि यहाँलाई अन्तहृदयदेखि हार्दिक धन्यवाद ! अरू साहित्यसम्बन्धी मैले भन्नैपर्ने खासै कुरा केही छैन तापनि मलाई के लाग्छ भने अबको साहित्यकारले राष्ट्र, राष्ट्रियतालाई मियो बनाई मानव सभ्यताका अनेक पक्षहरू, विचारहरू, मूल्य मान्यताहरूलाई समयसापेक्ष रूपमा प्रस्तुत गर्नु आवश्यक छ । ज्ञानको भण्डार व्यापक बन्दै गएका सन्दर्भमा हामी धेरै सङ्कुचित हुनु हुँदैन । हाम्रो विचार, दृष्टिकोण जति व्यापक हुन्छ त्यति नै हामीले गर्ने सिर्जना पनि व्यापक बन्दै जाने गर्छ । तसर्थ, आज हामीले गर्ने सिर्जनाले मानव सभ्यता, राष्ट्रिय अस्मितालाई गरिमायुक्त सहयोग पुगोस् भन्ने उद्देश्यका साथ सिर्जन कर्ममा लाग्नु वाञ्छनीय हुन्छ ।
अच्युतः आफ्नो अमूल्य समय छुट्याएर वार्तालाप गरिदिनुभएकोमा हार्दिक धन्यवाद !
डा. निरौलाः यहाँलाई पनि पुनः हार्दिक धन्यवाद ! लामो समयदेखि अविच्छिन्न प्रकाशित भइरहेको र प्रगतिशील साहित्यको विकास र विस्तारमा सोद्देश्यमूलक ढङ्गले साहित्यिक यात्रा गरिरहेको राष्ट्रियस्तरको ‘शब्द संयोजन’ मासिक पत्रिकाका लागि अन्तर्वार्ताका निम्ति मलाई छनोट गरी आप्mना साहित्सम्बन्धी धारणा सुस्पष्टताका साथ राख्ने अवसर जुराइदिनुभयो, त्यसका लागि तपाईँ तथा पत्रिकासँग सम्बद्ध सम्पूर्ण परिवारजनलाई पनि हार्दिक धन्यवाद दिन्छु ।
शब्दसंयोजनबाट