15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘रणभूमिबाट’ कवितासङ्ग्रहको विषयवस्तु र भावविधान

कृति/समीक्षा अमृत अर्याल November 6, 2022, 7:28 am
अमृत अर्याल
अमृत अर्याल

१. पृष्ठभूमि
‘रणभूमिबाट’ (२०६३) नारायण मरासिनीद्वारा रचित कवितासङ्ग्रह हो । यस सङ्ग्रहमा वार्णिक छन्दका ३१वटा कविता सङ्कलित छन् । कविले आफ्ना जीवनभोगाइमा अनुभूत गरेका विविध विषयवस्तुहरू यस सङ्ग्रहमा समावेश छन् । कविले सामाजिक विषमता, विकृति, अन्याय र अत्याचारका विरुद्धमा सरल भाषामा गहन विचार र भाव प्रस्तुत गरेका छन् । विषयवस्तुलाई देखेर कवि मनमा उत्पन्न हुने अनुभूति, विचार आदि नै भाव हुन् । साहित्य जीवनवादी हुनुपर्दछ, जीवननिरपेक्ष साहित्यलाई सही अर्थमा साहित्य भन्न सकिँदैन । ‘रणभूमिबाट’ कवितासङ्ग्रहमा युगचेतसँग तादात्म्य भएर कविको जीवनबोध विषयवस्तु तथा भावका रूपमा आएका छन् । कवितासङ्ग्रहको विषयवस्तुका सम्बन्धमा दुःखद् अनुभूति, पीडाबोध, उदासीनता, समाजको कुरुपताको चित्रणका साथै आफ्नो वैयक्तिक जीवनका सहजानुभूतिका साथै आफू बाँचिरहेको युग र स्थानमा व्याप्त सामाजिक, आर्थिक, शैक्षिक, वर्गीय, जातीय, लैङ्गिकलगायतका विभेदहरू र तिनबाट सृजित विषयवस्तुलाई मूल विषय बनाएको देखिन्छ । विषयवस्तु तथा भावका सम्बन्धमा पदलोलुपता, विदेशिनुपर्ने बाध्यता र पीडा, पूँजीवादबाट दुर्गन्धित जीवन, सहिदहरूप्रति सम्मान आदि विषयहरू कविताका अन्तर्वस्तु भएर आएका छन् । साथै राजनीतिक, सामाजिक तथा सांस्कृतिक विसङ्गतिको विरोध र सुसंस्कृतिको निर्माणको चाहना आदि कवितामा विषयवस्तुको रूपमा आएका छन् । जीवनवादी काव्यचेतना, प्रगतिवादी भावधारा नै यस कृतिको विशिष्टता हो । यस सङ्ग्रहको विषयवस्तु तथा भावलाई सामाजिक यथार्थ, देशप्रेम, सांस्कृतिक चेत, प्रकृतिप्रेम, नीतिचेत, विद्रोहचेत आदि उपशीर्षकमा राखेर तल चर्चा गरिएको छ ।
२. सामाजिक यथार्थ
‘रणभूमिबाट’ कवितासङ्ग्रहका कविताहरू कविको जीवनभोगाइ, देखाइभन्दा परका छैनन् । कविले जीवनयात्राका क्रममा अनुभूत गरेका युगीन नेपाली समाजका यथार्थहरू कविताका विषयवस्तुका रूपमा आएका छन् । ती समाजिक यथार्थहरू कतै राजनीतिसँग, कतै संस्कृतिसँग र कतै प्रकृतिसँग तादात्म्य भएका छन् । कविले यस सङ्ग्रहका कवितामा सशक्त रूपमा युगीनबोध गर्दै युगीन नेपाली समाजको चित्र उतारेका छन् । त्यसमा पनि ग्रामीण नेपाली समाजको यथार्थलाई कलात्मकता भरेर आप्तवाक्यका रूपमा प्रस्तुत गरेका छन् । प्रगतिवादी धारा तथा प्रगतिशील विचारमा आस्था राख्ने कवि मरासिनीले कवितामा सामाजिक वस्तुस्थितिलाई आलोचनात्मक प्रवृत्तिबाट चिरफार गरेर सामाजिक जनजीवनका वस्तुसत्यलाई पाठकसामु राखेका छन् । कविताहरूमा यथार्थताको कलात्मक प्रस्तुति रहेको छ । कविले समाजको अग्रगमन तथा परिवर्तनको चाहना राखेका छन् ।
नेपाली समाजमा निरङ्कुश राजतन्त्रको अन्त्यका लागि तथा गणतन्त्रको उदयका लागि २०६२–०६३ को आन्दोलनलाई मूलभूत विषयवस्तु बनाई कविताहरू लेखिएका छन् । ‘नेपालीहरूप्रति’, ‘सर्प पाल्नुहुन्न’, ‘सहन्न अब ता धर्ती यही चालले’, ‘युद्धघोष’, ‘रणभूमिबाट’ आदि शीर्षकका कविताले नेपालीमा समाजमा परिवर्तनका लागि भएका क्रान्तिको यथार्थ घटनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सङ्केत गरेका छन् । समाजमा व्याप्त अन्याय, अत्याचार, शोषण दमन, उत्पीडन, विभेद विरुद्ध सचेततापूर्वक लड्ने नेपाली समाजको यथार्थ चित्रण कविले उपर्युक्त कविताहरूबाट गरेका छन् । नेपाली समाज गरिबी, अशिक्षा, पछौटेपन आदिले ग्रस्त छ । कविले गरिबी, अशिक्षा, अभावको चपेटामा परेको ग्रामीण नेपाली समाजको यथार्थ चित्रण गरेका छन् ।
‘मुगलानबाट’ शीर्षकको कवितामा समाजमा विद्यमान निम्न आय भएका परिवारको पीडालाई मर्मस्पर्शी रूपमा देखाइएको छ । साहूको ऋण तिर्ने उत्कट चाहनाले पैसा कमाउन विदेशिएका नेपालीले भोग्नुपरेको दुःखमय बाध्यात्मक जीवनलाई यस कवितामा प्रस्तुत गरिएको छ । हाम्रो समाजमा दैनिक आइपर्ने पारिवारिक समस्या तथा बेलाबखत आईपर्ने ठूला समस्या पूर्ति गर्न नसक्ने परिवारको बाहुल्य छ । नेपालीहरू गरिबीको मारमा साहुसामन्तको दुश्चक्रमा परेर विदेशिन बाध्य छन् । आफ्ना आस र सपनालाई यथावत राखी साहूको ऋण तिर्दै जीवन सकिने मार्मिक भाव कवितामा यसरी प्रस्तुत गरिएको छः
झर्छन् आँसु अथाह पीर मनमा सम्झाउने के गरी ।
मर्छन् आस सधैं निरास भइने बाँच्नै झिँजो बेसरी ।।
झुप्राको सपना छ यो त विपना साहू तिरौँला भनी ।
आएको मुगलान सुक्ख नहुने थोपा पसिना गनी ।।
मुगलानबाट, पृ.१
‘खातेको पीडा’ र ‘सडक बालक’ दुई कविता यस सङ्ग्रहमा सङ्कलित उस्तैउस्तै विषयवस्तु भएका कविता हुन् । आकाशलाई सिरक र पृथिवीलाई विस्तरा बनाएर बाँच्न विवश बेवारिसे बालकबालिकाहरूको पीडा, सबैबाट हेपिएर तिरस्कृत भएर बाँच्नु पर्ने कठिन र अभावग्रस्त जीवनको चित्रण कविले यी कवितामा प्रस्तुत गरेका छन् । कविले यिनमा सभ्य भनिने सहरिया जीवनप्रति, समाजसेवाको ठेक्का लिएका तथाकथित भ्रष्ट नेताहरूप्रति र समाजमा विद्यमान बेथितिप्रति आक्रोश प्रकट गरेका छन् । यो देशको, समाजको हरेक कुनामा रहेका बेसहारा, निर्बलिया, निर्धन सडकमा आफ्नो जीवन गुजार्न बाध्य बालकबालिकाको मर्म यी कवितामा पाइन्छ । समाजमा रहेको धनीले निर्धाको गलो रेट्ने यथार्थ र असमानतालार्ई कविले यसरी प्रकट गरेका छन्ः
विवेकी आस्थाको मउपर कहीँ छैन ममता
दुई खाले मान्छेहरु बिच कहीँ छैन समता ।
धनीले निर्धाको कसिकन गलो रेट्छ अहिले
भएँ खाते माग्ने प्रकति सबले मैकन चिले ।।
सडक बालक, पृ.४
‘पैसा विषालु हुने’ शीर्षकको कवितामा कविले व्यङ्ग्यात्मक रूपमा पूँजीवादले क्षतविक्षत बनाएको वर्तमान नेपाली समाजको यथार्थ चित्रण गरेका छन् । पैसाकै कारण सिङ्गो समाज विकृत बन्दै गएको, पैसा कमाउनका लागि मान्छे जतिसुकै नीच हुन पनि तयार रहेको, मानव दानवमा परिणत भएको, परिवारजन, आफन्तजनबीच लडार्इंझगडा हुने जस्ता समाजका कुरूप पक्षहरू यस कवितामा रहेको पाइन्छ । पैसाबाट जन्मिएको समस्याले आजको समाज आक्रान्त बनेको तीतो यथार्थलाई कलात्मक रूपले यस कवितामा व्यक्त गरेका छन् । पैसामा दया, माया, ज्यूँदो देह आदि बजारमा बिक्न थालेको सत्यता उतार्दै त्यसप्रति हामी सच्चिनु पर्ने र सबै मिलेर सिङ्गो समाजलाई पनि बदल्नुपर्ने भाव कविले यसरी प्रस्तुत गरेका छन्;
पैसामा किनिए दया र ममता मान्छेहरू नै पनि ।
पाइन्छन् रुपियाँ गनेर जसले चाहन्छ अर्थोक नि ।।

चोला यो छ दुई दिने रमझमी ढुङ्गो सिरानी लिई ।
मिल्नैपर्छ अवश्य दूरपथको मट्टी हवामा गई ।।
पैसा विषालु हुने, पृ. ८
हाम्रो नेपाली समाजमा रक्सीको चरम दुरुपयोग गर्ने, आफ्नो सम्पूर्ण सम्पत्ति मदिरा सेवनमै खर्च गर्ने घरपरिवारको बेवास्ता गरी श्रीमतीको गहना बेचेर आफ्नो भुँडी भर्ने जँड्याहाहरू पनि रहेका छन् । ती जँड्याहाहरूलाई यस समाजमा सभ्य सम्मानित जीवन जिउनका लागि सुध्रनुपर्ने धारणा कविले ‘जँड्याहाप्रति’ कवितामा प्रस्तुत गरेका छन् । नेपाली समाजको गरिबीको यथार्थ पीडा तथा अभावलाई कविले ‘जँड्याहाप्रति’, ‘मुगलानबाट’, ‘पैसा विषालु हुने’, ‘सडक बालक’ आदि कवितामा समेटेका छन् ।
३. देशप्रेम
आफ्नो राष्ट्रप्रतिको भक्तिभाव तथा अनुरागलाई नै देशप्रेम भनिन्छ । कवि मरासिनीको ‘रणभूमिबाट’ कवितासङ्ग्रहका प्रायः कवितामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा देशप्रेम तथा राष्ट्रियताका स्वरहरू सशक्त रूपमा प्रस्तुत भएका छन् । सहित्यमा जननी र जन्मभूमिप्रति आस्था प्रकट गर्ने परम्परा नौलो होइन । नेपाली कविताकाव्य परम्परामा पनि कविहरूले जननी र जन्मभूमिप्रति आस्था प्रकट गरेका छन् । यही नेपाली कविताकाव्य परम्परामा हुर्किएका कवि मरासिनीले पनि मातृभूमि नेपाल र आफ्नो जन्मथलो नेपालको वस्तुस्थितिको चित्रण गर्दै असीम देशभक्तिपरक श्रद्धाभाव प्रकट गरेका छन् । कविको काव्यिक चेतना प्रस्फुरित हुँदा जन्मभूमि र जन्मस्थलको प्राकृतिक सौन्दर्य, जन्मस्थलमा बितेको अतीत, यहाँको सांस्कृतिक धरोहरप्रतिको आस्था तथा सामाजिक सांस्कृतिक विकृति, विसङ्गप्रतिको चिन्ता र सुधारको भावना कवितामा प्रकटित गर्ने क्रममा राष्ट्रप्रेम मुखरित भएको देखिन्छ । युगीन नेपाली समाजको चित्रण गर्ने क्रममा देशप्रेम झल्किएको पाइन्छ । जन्मस्थान, जन्मभूमिका प्रकृतिलाई स्थानीय रङ्ग दिँदै प्रस्तुत गरेका छन् । जन्मभूमिप्रति असीम श्रद्धाभाव र कृतज्ञभाव प्रकट गरेका छन् । देश र जनताका लागि उच्च विचार लिएर अघि बढ्ने, सहजै मृत्यु स्वीकार गर्न पनि पछि नहट्ने र आफ्नो राष्ट्रप्रति सधैँ अग्रपङ्क्तिमा खडा रहने वीर नेपालीहरूको अदम्य साहसलाई यस कविताको मूल भावका रुपमा प्रस्तुत गरिएका पाइन्छ । ‘नेपालीपन’ कवितामा देशलाई मुटुमा साँच्नुपर्ने, विदेशीको ईशारामा चल्न नहुने, आपसमा विभाजित हुन नहुने आदि देशभक्ति भाव पाइन्छ ।
राज्य विस्तारको समयमा हामी नेपालीमा जुन उत्साह थियो, पुर्खाहरूको जुन त्याग थियो त्यस्तो उत्साह र त्यागलाई बिर्सेर हामी आफ्नो स्वार्थमा लिप्त भई राष्ट्रलाई धोका दिइरहेका छौँ । हामी आपसमा फुटेका छौँ जुन राष्ट्रघाती कदम हो । हामी नेपालीबिच सधैँ एकता हुनु आवश्यक छ र यसैमा हाम्रो कल्याण रहेको छ । खोक्रो आस दिएर सत्तामा पुगेका परिणाम स्वरूप केवल महङ्गी र आश्वासन दिने तथाकथित नेताहरू देश र जनताप्रति बफादार रहँदै आत्मालोचना गर्नुपर्दछ भन्ने भाव ‘आत्मालोचना’ कवितामा यसरी प्रस्फूरित भएको छः
खोक्रो आस दिएर यो मुलुकको सत्ता लिएका थियौँ
भत्ता, कार बढाइ धेर सुविधा सट्टा महङ्गी दियौँ ।
सोझा यी जनता छलेर कति पो टिक्ला र यस्तो पन
भोको पेट भरिन्न भाषण सुनी पाएर आश्वासन ।।
आत्मालोचना, पृ. ३
राजनीति नै देशको विकास गर्ने, देशमा आमूल परिवर्तन ल्याउने मूल बाटो हो भन्ने सोचका साथ राजनीतिमा होमिएका नेता तथा दलहरूमा नै सत्ताप्रतिको मोह अर्थात् पदलोलुपताले गर्दा समग्र देशको विकासले गति नलिएको र जन चाहनाअनुरुप परिणाम नआएको भाव ‘कुर्सीपियारा भयौँ’ कवितामा प्राप्त गर्न सकिन्छ । ‘नेपालीहरूप्रति’ कवितामा देशप्रेमको भाव प्रबल छ । हामीले आफ्नो अस्तित्व जोगाउनु छ भने देशको अस्तित्व पनि जोगाई राख्नुपर्दछ, नेपाल रहे मात्रै हामी नेपाली रहने भाव यसरी प्रस्तुत गरिएको छः
आफ्नो देश रहे रहन्छ मनुवा देशै हराई गए
हाम्रो इज्जत नै रहन्छ कसरी दुस्साहसी फैलिए ?
नेपालीहरूप्रति, पृ.१९
कविले ‘सहन्न अब ता धर्ती यही चालले’ कवितामार्फत विश्वबन्धुत्वको भाव अगाडि सारेका छन् । आफ्नो राष्ट्र निर्माणका लागि सारा मानिस मिलेर अगाडि बढ्नुपर्ने र जस्ता समस्या आइपरे पनि हातमा हात राखेर लड्नुपर्ने यस कविताको मूल ध्येय हो । कवितामा बर्षौदेखि सामन्ती व्यवस्थाले नेपाल आमा पीडित बनेको मार्मिक राष्ट्रप्रेमी भाव व्यक्त गर्दै कविले सिङ्गो राष्ट्रकै सम्पन्नता र स्वाधीनताको खोजी गरेका छन् । सामन्ती वर्गले निम्त्याएको यो दुर्गति ठीक पार्न र हामीले प्यारो देश बचाउन छातीमा गोली थाप्न पनि तयार रहेको भाव कवितामा यसरी प्रस्तुत गरिएको छः
छाती थाप्न तयार छौं सब यहाँ नेपालका खातिरी
प्यारो देश बचाउने मन भयो, छालाकलेजा चिरी ।
खाओ मासु मजा लिएर घिचुवा खाने छ तिम्रो मति
त्यै तिम्रो मतिले कठै मुलुकमा छायो नि यो दुर्गति ।।
सहन्न अब ता धर्ती यही चालले, पृ.२३
मानिस अजर हुँदैन र ऊसँग समान प्रकारको शक्ति कहिल्यै पनि रहँदैन । जननी र जन्मभूमि सधैँ सबैका लागि प्यारो नै हुन्छ । हामी आफू बाँचून्जेल जन्मभूमि र देशका लागि मर्न पनि तयार हुनुपर्छ । देशमा शान्ति ल्याउनका लागि क्रान्तिको आवश्यकता रहेको र आफू देशका लागि समर्पित हुन पनि तयार रहेको कविको सुन्दर चाहना र देशप्रतिको अगाध माया ‘आमाको माया’ कवितामा रहेको छ । जसरी बाफ आकाशमा पुगेपछि पुनः पानी अवश्य पर्दछ त्यसैगरी हामी सबै मिलेर यो देशको संरक्षण, माया गर्न सके फेरि पनि सुःखका दिन फर्कने कुरा कविले यस कवितामा प्रस्तुत गरेका छन् । आपसी झगडाले गर्दा नेपाल आमा असाध्यै पीडित बनेको भाव कवितामा यसरी व्यक्त गरिएको छः
आपसी झगडा राम्रो हुन्न भनी सिकाउँछिन् ।
दाजुभाइ नमिल्दामा अश्रुधारा चुहाउँछिन् ।।
आमाको माया, पृ. २४
जतिसुकै यातना दिएपनि देशप्रतिको मायामा कहिल्यै कमी नआउने र आफ्नो राष्ट्रका लाति जतिसुकै कष्ट पनि सहन सक्ने देशभक्ति भाव कविले यसरी प्रकट गरेका छन्ः
लाठी हामी सहिदिन्छौँ जतिसुकै चुटे पनि ।
सकिन्नन् देशका भक्त जतिसुकै भुटे पनि ।।
‘रणभूमिबाट’, पृ.४०
लामो समयदेखि नेपाली समाजमा जरा गाडेर बसेको सामन्ती राज्य व्यवस्थालाई अन्त्य गरी शोषित जनताको हितमा आधारित व्यवस्थाको स्थापना गर्ने लक्ष्य लिएर सुरु गरिएको जनयुद्धमा मृत्युवरण गर्न पुगेका सहिद विजय ढकालप्रति उच्च सम्मान ‘सलाम योद्धालाई’ नामक कवितामा प्रकट गरेका छन् । सिङ्गो राष्ट्रका खातिर भनाइमा मात्रै सीमित नभई यथार्थमा बलिदान दिने विजय ढकालकै मार्गमा हामी हिँड्न सकेमा देश समुन्नत हुने यस कविताको भाव रहेको छ ।
कवि मरासिनीका कवितामा नेपाली समाजका विभिन्न विषयवस्तु झल्काउने क्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा देशप्रेम या राष्ट्रप्रेम प्रस्तुत भएको छ ।
४. सांस्कृतिक चेत
‘रणभूमिबाट’ कवितासङ्ग्रहका कतिपय कविताले युगीन नेपाली संस्कृतिको झल्को दिन खोजेको देखिन्छ । ‘रणभूमिबाट’ कवितासङ्ग्रहमा नेपाली संस्कार, संस्कृति, रहनसहन चाडपर्वहरू आदि विषयवस्तुका केही कविताहरू आएका छन् । चाडपर्वलाई संस्कृतिको महत्त्वपूर्ण अङ्ग मानिन्छ । यस कवितासङ्ग्रहमा रहेका कविताहरूको विषयवस्तु प्रगतिवादी क्रान्तिचेतले भरिएका छन् । सांस्कृतिक चेतले भरिएका कविताहरू धैरै मात्रामा नपाइए पनि केही कविताहरूमा कतै प्रत्यक्ष त कतै गौण रुपमा प्राप्त गर्न सकिन्छ । नेपाली लोक संस्कृति, लोकलयप्रति झुकाव राखी कवि मरासिनीले ‘शुभकामना’ कवितामा देशमा नौलो बिहानी ल्याई अन्धकार हटाउने कामना गरेका छन्ः
आयो आयो नजिक अब लौ स्वच्छ नौलो बिहानी
बेहानीमै सकल जनका फुल्न थालून् जवानी ।
नेपालीका तनवदनमा जोस खुल्ने उमङ्ग
फैलून् सारा अनुजहरूमा प्रीति खुल्ने तरङ्ग ।।
शुभकामना, पृ. ६
‘नेपालीपन’ कवितालाई कवि मरासिनीको नेपाली संस्कार, संस्कृति, चालचलन, रीतिरिवाज, आदिप्रति अगाध माया र आस्था प्रकट गरी लेखिएको उत्कृष्ट कविताका रुपमा लिन सकिन्छ । हामी नेपालीहरूले मनाउने चाडपर्व र बजाउने बाजाहरू सुन्दर छन् । लोक संगीत, लोकगीत, भेषभूषा, सोरठी, देउसी–भैलो, ख्याली आदिप्रति उच्च सम्मान प्रस्तुत गर्दै भनिएको छः
सोरठी, देउसी, भैलो, ख्याली हाम्रो परम्परा ।
संस्कृति यतिको राम्रो अन्यत्र पो कहाँ छ ।।
नेपालीपन, पृ. ७
५. प्रकृतिप्रेम
प्रकृति र जीवन एक अर्कामा परिपूरक छन् । प्रकृतिदेखि जीवन भिन्न हुन सक्दैन । मानिस प्रकृतिको सुन्दरतासँगै रमाउँछन् । मानिसलाई अथाह खुसी प्रदान गर्ने अनि एकान्तमा पनि साथ दिने प्रकृति र जीवनबिच घनिष्ठ सम्बन्ध रहेको हुन्छ । एउटा युगद्रष्टा कवि आफू बाँचेको प्रकृतिदेखि भिन्न हुँदैन । प्रकृतिलाई गुरु मान्दै जीवनलाई गतिशीलमय बनाउँछ । सङ्घर्षहरूसँग झुकेर होइन डटेर सामना गर्छ । कविले कवितामा जीवनलाई, संसारलाई हेर्ने क्रममा आफ्नै स्थानीय परिवेश, जन्मस्थान, जन्मभूमि आदिका परिवेश र त्यसबाट उत्पन्न विचारलाई कलात्मक रङ्ग दिएर प्रस्तुत गरेका छन् । कवि मरासिनीका कवितामा मूलतः मूर्त रुपमा प्रकृतिचेत प्रस्तुत नभएको पाइए तापनि केही कवितामा प्रकृतिप्रेमयुक्त स्वर भने मुखरित भएको पाइन्छ ।
लेकमा फुल्ने गुराँस र पहाडमा चल्ने चिसो हावाले प्रकृतिको सौन्दर्य बढाएको हुन्छ । यस्ता सौन्दर्यका खानीले भरिपूर्ण स्वदेश सम्झँदा, आफ्नो माटामा रम्न नपाउँदा मन दुःखित हुने भाव ‘मुगलानबाट’ कवितामा यसरी झल्किएको छः
फुल्थे लेक–गुराँस, पर्वत हवा सौन्दर्य खानी थियो ।
माटो दुःख्छ चिरिन्छ रूग्ण मुटु यो सम्झेर स्वदेशको ।।
मुगलानबाट, पृ. १
माघ महिनाको जाडो र वर्षायाममा हुने सिमसिम झरीसरि प्राकृतिक उपमा दिँदै सडक बालकको कष्टकर जीवनलाई कविले ‘सडक बालक’ कवितामा प्रस्तुत गरेका छन् । पौष माघ महिनामा हुने चिसो ठन्डीले सडकमा रहेका युवक तथा बालकहरूको बैँस वयरुपी माहुर खेर गएकोमा कवि यसरी चिन्तित देखिन्छन्;
सधैँ माघे जाडो सिमसिम झरी जीवन भयो
चिसो ठन्डी घुस्दा बइँस वयको माहुर गयो ।
सडक बालक, पृ. ४
रोदीको लहरी स्वर उनेर भाका हाल्दै वर्षा ऋतुको आषाढ महिनामा खेत रोप्ने चलन पनि ‘कुर्सीपियारा भयौं’ कवितामा देखिएको छ । सत्ताको गद्दीमा पुगेकाहरूले प्राकृतिक सौन्दर्यले भरिपूर्ण पहाड, टाकुरा, खोँच, टार, खेतबारी सारा बिर्सेर सत्ता र शक्तिमै केन्द्रित रहनेप्रति कविले यसरी खेद प्रकट गरेका छन्ः
वर्षाको ऋतुमा असार महिना माटो पगाल्दै थियौँ
रोदीको लहरी उनेर स्वरमा भाका सँगाल्दै थियौँ ।
सारा भाइ मिलेर भीरतिरको बाटो खनेका थियौँ
बिर्स्यौँ खोंच, पहाड, टार अब ता कुर्सीपियारा भयौँ ।
कुर्सीपियारा भयांै, पृ. ५
पानी नै प्राण हो, पानी बिना हामी बाँच्न सक्दैनौं । जीवजन्तु बचाउने, धर्ती हराभरा बनाएर बासयोग्य बनाउने, देशको प्रमुख स्रोत तथा शक्तिको रुपमा मानिएको पानी नै हाम्रो सबैभन्दा ठूलो धन हो । प्राण मानिने पानी कुनै पनि हालमा बेच्न नहुने कविको मूल आशय रहेको पाइन्छ । आफ्नो स्वार्थ पूर्तिका लागि परदेशका नेतालाई रिझाउने खेलमा देशकै अमूल्य सम्पत्ति मानिने ठूला नदीनालाहरू क्षणभरमा छिमेकीलाई उपहार र भेटीस्वरुप अर्पण गर्नाले हामी रित्तिन पुगेको अवस्थालाई पानी बेच्नहुँदैन शीर्षक कवितामा यसरी प्रस्तुत गरेका छन्ः
भाँडा हाम्रा भए रित्ता प्यासा भए जहान यी ।
नेताका भरमा पर्दा बेचिएछन् मुहान यी ।।
पानी बेच्नहँुदैन, पृ. ९
‘के भो यस्तो’ कवितामा कविले हजारौं खोलानाला, नदीतालले भरिएको नेपाल दिनदिनै बाँझो हुँदै गएको दुःखद् स्थितिलाई दर्शाएका छन् । ठूलाठूला नदीहरू विभिन्न सन्धि आदिको बहाना पारी परमुलुकलाई सुम्पिएको तीतो यथार्थ पनि यस कवितामा रहेको छ । आफ्नै देशको माटालाई बिरानो ठान्नेहरू पनि यहाँ प्रशस्तै रहेका छन् । जलसम्पदाको धनी देश नेपालमा सिँचाईको अभावले गर्दा अत्यन्तै कमजोर बनेको र प्रशस्त अन्न भण्डारको क्षेत्र मानिने तराई पनि सुक्खा बन्दै गइरहेको अवस्थालाई कवितामा यसरी व्यक्त गरिएको छः
नौलो आयो चलन अहिले बेच्नु पानी पराई
सुक्खा लाग्यो मुलुकभरिको अन्न फल्ने तराई ।
सिँच्दै बग्थे सलल सरिता लाख खोला जवान
के भो यस्तो हिमशिखरका सुक्न थाले मुहान ।।
के भो यस्तो, पृ. १३
यसै प्रकृतिमा जन्मेर, हुर्केर प्रकृतिका विभिन्न क्षेत्रमा पुगेर पनि प्रकृतिमा रमाउन नसकेको पीडा कवि मरासिनीलाई छ । कतिपय कविहरूले प्रकृतिकै काखमा बसेर प्रकृतिसँगै रमाएर रचनाहरू सृष्टि गर्ने गरेको पाइन्छ । कविले पनि प्रकृतिमै रमाएर प्रकृतिकै बारेमा रचना कोर्ने चाहना राखेका छन् । मानवकै कारण कहिलेकाहीँ अश्रुधारा बगाउन बाध्य बनेकी प्रकृतिको दुरावस्था देखेर कवि भावुक बनेको कुरा कविले ‘प्रकृतिमा रमाउन सकिन’ कवितामा यसरी प्रस्तुत गरेका छन्ः
ओराली म झरेँ पिएर मनको मेटूँ भनी तिर्सना
खोलाको तिरमा बसेर कविता होला भनी सिर्जना ।
पानीकै कविता म लेख्छु अब ता भन्दै पुगेँ सागर
देखेँ आँसु समान सागर अहो लेख्ने मर्यो जाँगर ।।
प्रकृतिमा रमाउन सकिन, पृ. ३५
नदी, झरना, खोला, खोल्सा, वनजङ्गल, पाखा–पखेरा, फलफूल, हावापानी, पृथ्वी, सूर्य, चन्द्रमा, आकाश, वैशाखादि मास, स्थानीय प्रकृति हिमाल, पहाड आदिलाई मूलतः चित्रात्मक कतैकतै स्पर्शात्मक ढङ्गले कविले कवितामा चित्रण गरेका छन् ।
विषयवस्तुका आधारमा हेर्दा प्रकृतिप्रेमयुक्त विषय तथा भाव बोकेका कविता प्रशस्त रुपमा प्राप्त गर्न नसके तापनि कवितासङ्ग्रहमा प्राकृतिक विषयवस्तु समेटिएका कविताहरू रहेका पाइन्छन् । कविभित्रको कवित्व भावलाई उजागर गर्न तथा कलात्मक रङ्ग भरेर प्रस्तुत गर्न र कविको वैचारिक चिन्तनलाई सशक्त बनाउन सङ्ग्रहका कवितामा सूक्ष्म रूपमा गहन ढङ्गले प्रकृतिको चित्रण गरिएको छ । जसले गर्दा कवित्व र कविको वैचारिक चिन्तन सशक्त बन्न पुगेको छ । प्राकृतिक तत्वको मिश्रण कविताहरूमा हुँदा सिङ्गो कवितासङ्ग्रह उत्कृष्ट बनेको छ । देशप्रेम तथा काव्यिक सौन्दर्य प्रकट गर्ने क्रममा ‘रणभूमिबाट’ सङ्ग्रहका केही कविताहरूमा प्रकृतिप्रेम प्रस्तुत भएको पाइन्छ ।
६. नीतिचेत
‘रणभूमिबाट’ कवितासङ्ग्रहका कतिपय कविताहरू नीतिचेतले भरिपूर्ण छन् । कविले सत्यलाई केन्द्रमा राखेर कवितामार्फत आमपाठकलाई नीतिसन्देश दिएका छन् । समाजसुधार अभियानको अङ्गका रूपमा कविले कवितामा नीतिचेत प्रस्तुत गरेका छन् । उनले कवितामा पौराणिक, धार्मिक, सामाजिक, राजनैतिक आदि क्षेत्रका दृष्टान्तहरू खोजी गरी प्रियसंयित् शैलीमा नीतिसन्देश दिएका छन् । मानिस चेतनशील प्राणी हो । मानिसमा मानवता धर्म निहित हुन्छ त्यसैले सदैव सबैको हित हुने काम मात्रै गर्नुपर्दछ भन्दै कविले ‘नेपालीपन’ शीर्षकको कवितामा यसरी प्रस्तुत गरेका छन्ः
हित हुने गरौँ काम छहारी देशको लिई ।
नेपालीपन, पृ. ७
आफ्नो मात्रै दुनो भर्ने, परिवारजनलाई आफूबाट टाढा बनाउने, केवल फोस्रो धाक मात्रै लगाउने, चिल्ला र चिप्ला कुरा गरेर क्षणिक समयलाई मात्रै मान्छे रिझाउने र वास्तवमा भन्नुपर्दा यो सारा जगतलाई बिगार्ने प्रमुख साधनको रुपमा पैसालाई लिन सकिन्छ । पैसा त केबल बाँच्ने साधन र हातको मैलो मात्रै रहेको सन्देश कविले ‘पैसा विषालु हुने’ कविता मार्फत यसरी दिन खोजेका छन्ः
बाँच्ने साधन मात्र हो अरु बढी पैसा विषालू हुने
यै हो यो जगतै बिगार्न कसिने उन्माद मच्चाउने ।
फोस्रो धाक जमाउने धन हुने चिल्ला कुरा गाउने
आफ्नै मात्र दुनो सिधा गरिलिने आफन्त लत्त्याउने ।।
पैसा विषालु हुने, पृ. ८
मानिस देवता पुज्न भन्दै विभिन्न मठ, मन्दिर खोज्दै शिलामूर्ति आदिको पूजा गर्न देश–विदेश यात्रा गर्दछ तर यथार्थमा भन्नुपर्दा मानिसले मानिसभित्रै निहित भगवानलाई भने चिन्न वा देख्न सकिरहेको छैन । हामीलाई वेद पुराण आदि शास्त्रहरूले सिकाएको मातृदेवो भवः, पितृदेवो भवः, अतिथिदेवो भवः आदि भाव ‘यात्रारम्भ’ कवितामा झल्किएको छ । नेपाल नै स्वर्ग, नेपाली जनता नै देवता हुन् र समस्त तीर्थ पनि नेपाल नै हो भन्ने नीतिसन्देश कवितामा यसरी प्रस्तुत भएको छः
तीर्थै गर्न भनी म बाहिर कहाँ जाने तिमी नै भन ?
आफ्नै पौरखको कमाइ रसिलो गावैँ अहा नन्दन ।
मेरो स्वर्ग यही धरातल हुँदा नेपाल हो मन्दिर
पूजा गर्न भनी म मन्दिर पसेँ छन् देवता सुन्दर ।।
यात्रारम्भ, पृ. ११
खरानी, भष्म मात्रै दलेर कोही सन्त महात्मा हुँदैन त्यसका लागि त ज्ञान, विवेक, सदाचार आदि थुप्रै गुणहरूको आवश्यक पर्दछ । वास्तवमा भन्ने हो भने माया भनेको मुखले हैन व्यवहारले हुन्छ भन्ने नीतिसन्देश एक्लो बाँच्न म सक्दिन कवितामार्फत कविले यसरी प्रस्तुत गरेका छन्ः
खरानीको घसी थुप्रो महात्मा हुन्न क्वै पनि ।
हुँदैन मुखले माया व्यवहार बुझिन्छ नि ।।
एक्लो बाँच्न म सक्दिन, पृ.१८
हामी एकआपसमा हितैषी बन्नु पर्दछ, बुद्धि र विवेक सार्थक कार्यमा लगाउनु पर्दछ । हामीले हाम्रो शान मानलाई झुक्न दिनुहुँदैन र आफ्नो अस्तित्वको रक्षार्थ सधैं तत्पर हुनुपर्दछ भन्ने नीतिसन्देश कविले नेपालीहरूप्रति कवितामा यसरी व्यक्त गरेका छन्ः
आओस् बुद्धि–विवेक, सार्थकपना हामी हितेषी बनी
हाम्रो शान गिराउने मनुजका ताकेर माथै पनि ।।
नेपालीहरूप्रति, पृ. १९
विश्वका समस्त मानिस सबै एकआपसमा मिल्नुपर्दछ, यहाँ बसोबास गर्ने सबै हामी आफन्ती हौँ र यो विश्व नै हामी सबैको साझा घर हो भन्दै ‘बसुधैव कुटुम्बकम्’को भावलाई नीति सन्देशात्मक ढङ्गले कविले ‘सहन्न अब ता धर्ती यही चालले’ शीर्षक कवितामा यसरी प्रस्तुत गरेका छन्ः
सारा विश्व समस्त मानिस मिली यौटै बनोस् भन्दछु
आफन्ती अनुहार छन् सब यहाँ मित्रै भनी चिन्दछु ।
बस्नैपर्छ दिएर साथ जनले साझा छ हाम्रो घर
क्या राम्रो सुकिलो अहा ! चहकिलो आयो उजेलो वर ।।
सहन्न अब ता धर्ती यही चालले, पृ. २३ ।
शक्तिशाली छु र ममा धेरै बल छ भन्दैमा मात्न नहुने र मान्छे कोही पनि अजर नभएको कुरा ‘आमाको माया’ कवितामार्फत कविले नीतिसन्देश यसरी दिन्छन्ः
शक्तिशाली छु भन्दैमा मात्नुहुन्न कसै गरी ।
अजर छैन है मान्छे शक्ति हुन्न सधैँ भरी ।।
आमाको माया, पृ.२४
मानिसको आचरण, व्यवहार नै उसको पहिचान हो तसर्थ मानिसले आफ्नो आाचरण र व्यवहारमा ध्यान दिनु, सुधार्नु आवश्यक छ । सत् आचरण भएको व्यक्ति शासक हुने हो भने शासन पनि राम्रो हुने र जब प्रत्येक नेता प्रत्येक व्यक्ति निष्ठापूर्वक चल्ने हो भने सारा विश्व नै घमाइलो हुन्छ । हामीले आफ्नो आचरण सफा, शुद्ध राख्नुपर्दछ र हामी सँधै निष्ठावान् बन्नुपर्दछ भन्ने नीतिसन्देश कविले पशु बरू उदार छन् कवितामा दिन खोजेका छन्ः
आचरण भए राम्रो शासनमा रमाइलो ।
चलिन्छ जब निष्ठामा विश्व हुन्छ घमाइलो ।।
पशु बरु उदार छन्, पृ. ३२
जसरी हरियोपन नै वनको अलङ्कार हो, शोभा हो त्यसैगरी मानिसको शोभा र सुखको पर्याय भनेको मुस्कान, हँसिलो पन हो । त्यसैले हामीमा सधैं हँसिलोपन हुनु पर्दछ भन्ने नीतिसन्देश कविले 'बूढो धयेँरो' कवितामा यसरी दिएका छन्ः
हुँदैन वनको शोभा नभए हरियोपन ।
मिल्दैनन् सुखका झिल्का नभए हँसिलो मन ।।
बूढो धयेँरो, पृ.३७
मान्छेको सोंच, विचार ठूलो हुनुपर्दछ । केबल शरीरको मात्रै मृत्यु हुने, विचार कहिल्यै पनि नमर्ने र शरीरको भर नभए पनि मान्छेको सोच र विचार फराकिलो हुनुपर्ने नीतिसन्देश कविले ‘रणभूमिबाट’ कवितामा यसरी प्रस्तुत गरेका छन्ः
बुझिराखे कुरो यौटा मृत्यु हुन्न विचारको ।
विचार पो ठूलो हुन्छ भर के छ शरीरको ।।
रणभूमिबाट, पृ.४०
७. विद्रोहचेत
यथास्थितिबाट अगाडि बढ्नका लागि अर्थात् विजय प्राप्त गर्न गरिने क्रान्ति नै विद्रोह हो । समृद्ध, खुसी तथा वर्गीय विभेदरहित सामानतायुक्त समाज निर्माणको चाहना राख्दै सडक र सिर्जनामार्फत डटेर लागेका प्रगतिवादी कवि मरासिनीको ‘रणभूमिबाट’ कवितासङ्ग्रहका प्रायः कवितामा मुखर तथा अमुखर रूपमा परिवर्तनका लागि कलात्मक ढङ्गले वैचारिक विषयवस्तुलाई प्रस्तुत गरिएको छ । यस सङ्ग्रहमा सामाजिक विषमता, विकृति, विसङ्गति, अन्याय, अत्याचारका विरुद्धमा कविको काव्य चेतना क्रियाशील भएको पाइन्छ । कविले आफ्नो जीवनभोगाइका आधारमा बटुलेका अनुभवरूलाई कलात्मक, लयात्मक शैलीमा प्रकट गरेका छन् । हाम्रो देशमा देखिएको सामाजिक, राजनैतिक, सांस्कृतिक, आर्थिक विकृति विसङ्गति तथा बेथितिप्रति यथार्थको अभिव्यक्ति दिएर विद्रोहीभाव व्यक्त गरेका छन् । कविले विषमतामूलक समाजको समूल अन्त्य तथा वर्गीय विभेदरहित समानतामूलक सुन्दर समाज निर्माणका लागि परिवर्तनको आवश्यकता देखेका छन् । देशमा थुप्रै परिवर्तन आएपनि विभेदरहित समानतायुक्त समाज बन्न सकेन । दुःख, अभाव, गरिबी हट्न सकेन । सर्वहारा गरीब जनता जस्ताको तस्तै दयनीय अझ कष्टकर जीवन जिउन बाध्य छन् । तर कतिपय परिवर्तनका लागि नेतृत्व गरेका नेताहरूको जीवनशैली भने रातारात सामन्तशैलीको भएकामा कविले खेद प्रकट गरेका छन् ।
कविले परिवर्तनका लागि अझ आन्दोलन आवश्यक रहेको ठह¥याएका छन् । परिवर्तनकामी इच्छामाथि सम्झौताले पारेको आघातबाट उत्पन्न आक्रोश, विचार र जनसमरले कवितामा विद्रोहात्मक चेतको रुपमा अभिव्यक्ति पाएको छ । श्वास रहेसम्म परिवर्तनका लागि आवाज उठाइरहने कुरा कविले ‘रणभूमिबाट’ सङ्ग्रहका कवितामा गरेका छन् । युगीन नेपाली समाजमा अन्याय, अत्याचार, भ्रष्टाचार, वर्गीय विभेद, लैङ्गिक विभेद व्याप्त छ । कविले युगीन नेपाली समाजमा देखा परेका सामाजिक, राजनैतिक, आर्थिक, सांस्कृतिक विकृतिविङ्गतिप्रति विद्रोहभाव व्यक्त गरेका छन् । मानिस मानिस बीचको असमानताप्रति विमति जनाउँदै बाँच्ने आसमा भौँतारिएको सडक जीवनप्रति सहानुभूति व्यक्त गर्दै नेताहरूप्रति र समाजसुधारकको ठेक्का लिएका विदेशी एन्जीओ तथा आईएन्जीओप्रति र समाजमा व्याप्त बेथितिप्रति ‘खातेको पीडा’ र ‘सडक बालक’ कवितामा आक्रोश व्यक्त गरेका छन् । नेपाली समाजलाई गरिबीले थिल्थिलो बनाएको छ । जाडो मौसममा मौसम अनुकूलको न्यानो कपडा किनेर लाउन सक्ने आर्थिक स्थिति छैन । समाजमा गरिबीको अन्त्य हुनुपर्छ भन्ने विद्रोहीभाव कविले ‘सडक बालक’ शीर्षकको कवितामा यसरी प्रस्तुत गरिएको छः
लुगाफाटा छैनन् तन थरथरी दाँत किरिरी
कहाँ पानी मात्रै सबतिर चिसो स्याँठ सिरिरी ।
सडक बालक, पृ.४
संसदीय व्यवस्थाको विसङ्गति र विकृति प्रस्तुत गर्दै जनतामाथि भएको ठगी, बेइमानी, झुट, महङ्गी आदिको विरोध ‘आत्मालोचना’ कवितामा गरेका छन् । बोल्ने एकातिर र काम गर्ने अर्कातिर, जनताले दिएको विवेकी मतको कदर नगर्नेहरूलाई र राष्ट्रहित विपरीत कार्य गर्नेहरूप्रति कविले विरोध यसरी गरेका छन्ः
आफ्नै पेट भर्यौँ लिएर सुविधा, छन् धेर नाङ्गा यहाँ
सारा यी जनको विवेक मतको कुल्चेर फाल्यौँ जहाँ ।
केको नाक लिएर राष्ट्रहितमा राम्रा गरौँ खै कुरा
जप्दै राम हरे ! मुखाग्र मनले हानेर तीखा छुरा ।।
आत्मालोचना, पृ.३
सबैमा संवेदना ल्याउन, संसारलाई ब्यूँझाउन र सबैलाई एउटै माला जसरी एकत्रित हुन एउतटा सशक्त क्रान्तिको आवश्यकता रहेको र यात्रारम्भ कवितामा कविले आफ्नै काव्यका माध्यमबाट क्रान्ति उठाउन सके कविको कर्म र धर्म नै त्यही हुने भाव यसरी प्रस्तुत गरेका छन्ः
मेरो धर्म यहीँ रहेर सबमा संवेदना ल्याउने
मेरो कर्म फूलाउने नवलता संसार ब्यूँझाउने ।
हामी सुन्दर फूल हौं मखमली माला यहाँ उन्दछु
यौटा क्रान्ति उठाउने मन लिई अच्छेर यी बुन्दछु ।।
यात्रारम्भ, पृ.११
भीषण जनयुद्धको यात्रा गर्दै जनताको माझमा उठेका विद्रोही शक्तिलाई नेपाली जनताको संरक्षण गर्न सक्ने, आश्रय प्रदान गर्न सक्ने शक्तिका रुपमा अघि सारेका छन् । ‘छाताको कथा’ कवितामा पुराना छाता (पार्टी) हरू निकम्मा, मतलबी, आफ्नै मात्र दुनो सिधा गर्ने र नक्कली भएकोप्रति कठोर विद्रोही भाव यसरी व्यक्त गरेका छन्ः
ऐलेसम्म थरीथरी मतलबी छाता यहाँ देखिए
कालो दाम कमाउने मन हुने मात्रै यहाँ भेटिए ।
यो नेपाल बचाउने निहुँ गरी धेरै बने नक्कली
आफ्नै मात्र दुनो सिधा गरिलिने, छैनन् कोही सक्कली ।।
छाताको कथा, पृ.१४
‘बाघ आतङ्क’ कवितामा कविले गाम्रीण भेगमा बसोबास गर्ने सोझा जनतामाथिको बर्बरता र राजा ज्ञानेन्द्रको मूर्खतापूर्ण शासन पद्धतिको चित्रण गर्दै सामन्ती सत्ताका विरुद्ध लड्न आग्रह गरेका छन् । सामन्ती शासनको जरो समूल अन्त्यका लागि सबै आ–आफ्नो ठाउँबाट उठ्नुपर्ने बताँउदै कविले विद्रोहीभाव यसरी प्रस्तुत गरेका छन्;
हाम्रा प्यारा दिदी, दाजु, भाइ, बैनीहरू अब ।
लाठी–मुङ्ग्रा उचालेर बाघ लखेट्नुपर्दछ ।।
बाघ आतङ्क, पृ.१६
कविले देशमा व्याप्त पाखण्डीपनका विरुद्ध, अन्याय र अत्याचारका विरुद्ध ज्यानकै बाजी मारेर भए पनि लड्न ‘छोरो हराएको सूचना !’ कवितामा आग्रह गरेका छन् । राज्यआतंकले सामान्य मानिसमा पनि बदलाको भाव जागृत भएको र विद्रोहका लागि लामबद्ध रूपमा नेपालीहरू अगाडि बढेको भाव यस कवितामा प्राप्त गर्न सकिन्छ । मानिसको हक–हितको संरक्षण र सुशासन कायमका लागि नेपाली युवाहरूले क्रान्तिको मूल बाटो रोज्नुपरेको कुरा कविले यस कवितामा मर्मस्पर्शी ढङ्गले प्रस्तुत गरेका छन् । राजा र शोषक, सामन्तवर्गलाई विषालु सर्पको संज्ञा दिँदै जबसम्म यस्ता विषालु सर्पलाई समूल नष्ट गर्न सकिँदैन तबसम्म समाजले मुक्ति नपाउने र त्यसै छाडिदिँदा सिङ्गो राष्ट्रलाई नै असर पुग्ने, अहित हुने कुरा कविले ‘सर्प पाल्नुहुन्न’ कवितामा प्रस्तुत गरेका छन् । त्यस्ता विषालु सर्पको अन्त्य गर्नका लागि एउटा क्रान्तिकारी अभियान नै चलाउनु पर्ने मान्यता राख्दै कविले यस कवितामा विद्रोहीभाव यसरी देखाएका छन्;
दुलोप्वाल नटालेर बस्नुहुन्न कहीँ कतै ।
अभियान चलाऔं है सर्प मार्न जताततै ।।
सर्प पाल्नुहुन्न, पृ.२०
साँढेलाई राजसंस्थाको प्रतीकका रुपमा राखी साँढेको बर्बरता, उपयोगहीनता र आतंकको अन्त्यका लागि ‘साँढे’ कवितामा विद्रोहात्मक स्वर मुखरित भएको पाइन्छ । कवितामा साँढेलाई खाल्डोमा हालेर नपुरेसम्म देशमा ऐश्वर्य ननिम्तिने कुरा कविले यसरी प्रस्तुत गरेको पाइन्छः
होक्काँ गर्छ उधिन्छ कोमलपना खेल्दै सिँगौरी बढी
बाँच्ने पो कसरी भनौँ न अब लौ मर्मान्तको यो घडी ।
हालौँ खाडलमा लगेर सबले ऐश्वर्य निम्त्याउन
थान्कोमा नपुगी सकिन्न अब ता सङ्क्रान्ति भित्र्याउन ।।
साँढे, पृ.२६
साम्राज्यवादलाई प्रतीकात्मक रूपमा अगाडि सारी कविले ‘सेतो बाघ’ कवितामा अमेरिकी साम्राज्यवादलाई नरसंहारकारी हिंस्रकको रूपमा चित्रण गर्दै यस्तो हिंस्रकलाई अन्त्य गर्न सबै कम्मर कसेर उठ्नु जरुरी भएको सन्देश कविले दिन खोजेका छन् । देशमा व्याप्त अन्धकारलार्ई हटाई नौलो बिहानी ल्याउनका लागि यस्ता हिंस्रक बाघहरूबाट सतर्क रहनुपर्छ भन्ने परिवर्तनकारी भाव यस कवितामा प्राप्त गर्न सकिन्छः
जागौँ हामी विमुख जनता चेतना लौ जगाऔँ
मान्छे खाने अतिशय ठूलो बाघ सेतो भगाऔँ ।
बुन्दै जाऔँ हृदयतलमा सिर्जनाको कहानी
हट्छन् पक्कै निशिघनघटा झुल्किनेछन् बिहानी ।।
सेतो बाघ, पृ.२८
साहित्यिक तवरबाट पनि क्रान्ति सम्भव छ । कवितामा केवल शब्दहरूको थुप्रोभन्दा पनि आम मानिसका समस्या, सुख, दुःख, जीवनका गीत आदि भाव मुखरित हुनुपर्दछ भन्ने आशय मरासिनीको ‘कविता’ शीर्षकको कवितामा पाउन सकिन्छ । कवितालाई कविले युद्ध र आगोको संज्ञा दिँदै आगोले क्रान्तिरपी ज्वाला जताततै दन्काउने भन्दै विद्रोहीभाव कवितामा यसरी प्रस्तुत भएको पाइन्छः
युद्ध हो कविता मेरो पलायन नभै कतै ।
आगो हो कविता मेरो दन्कि ज्वाला जताततै ।।
कविता, पृ.२९
सिंहरूपी आतङ्क फैलाउने, पुरातन सोचको पक्षपोषण गर्ने, सर्वसाधारण जनताको निर्ममतापूर्वक हत्या गर्ने, आफ्नै वंश चपाउने दुष्ट आततायी कथित राजा ज्ञानेन्द्रको अत्याचारी, शोषणकारी, स्वेच्छाचारी प्रवृत्ति र सत्तालाई ‘युद्धघोष’ कवितामा युद्ध तथा क्रान्तिका माध्यमले अन्त्य गरे मात्र मुलुकमा शान्ति र अमनचयन कायम हुने भाव व्यक्त गरिएको छ । यस कवितामा विद्रोहात्मक स्वर रुपमा यसरी स्थापित भएको छः
आफ्नै बर्कतमा र हैसियतमा चल्दा नहोला खति
जिद्धीमात्र गर्यौ भने जगतकै होला महादुर्गति ।
आफ्नै बीउ कसो गरी डमरूको लुछ्छौ नि चोक्टा तिमी
भ्याइन्छन् चर जङ्गली त कसरी राजा बनौला तिमी ?
युद्धघोष, पृ.३३ ।
‘बूढो धयेंरो’ कवितामा प्रतीकात्मक रूपमा सामन्ती राजसंस्थालाई बूढो धयेंरोका रुपमा चित्रण गरिएको छ । राजसंस्था नेपालकै अभिशाप हो, यसलाई जरासहित उखेलेर मिल्काउनुपर्छ भन्ने मार्मिक भाव व्यक्त भएको पाइन्छ । सामन्तवादका विरुद्धमा विद्रोहात्मक अभिव्यक्ति परिपक्व रुपमा यस कवितामा यसरी प्रस्तुत गरिएको छः
छैनन् हाँगाबिँगा राम्रा न त बस्छन् त्यहाँ चरा ।
मिल्काऔँ अब खोल्सामा उक्काई यसका जरा ।।
बूढो धयेंरो, पृ.३८ ।
देश र जनताका लागि उच्च विचार लिएर रणभूमिमा होमिने वीर नेपालीहरू बरु मृत्यु स्वीकार्न तयार हुन्छन् तर कहिल्यै हार स्वीकार्दैनन् । अदम्य साहसका साथ हरपल बाढी बनेर उर्लन तयार हुन्छन्, निर्भीकताका साथ गोली पिउन तयार हुन्छन् भन्ने भाव ‘रणभूमिबाट’ कवितामा प्रगतिवादी क्रान्तिचेतका साथ यसरी व्यक्त भएको पाइन्छः
देऊ बग्न म बाढी हुँ भत्काउँछु ठुला गरा ।
मार्न, मर्न सकूँ राम्रो बन्छिन् भने बसुन्धरा ।।
रणभूमिबाट, पृ.४० ।
८. निष्कर्ष
समाजका बेथिति, विकृति, विसङ्गति, अन्याय, अत्याचार, शोषण, दमन, उत्पीडनका विरुद्ध सिर्जनामार्फत चेतना फैलाउने क्रान्तिकारी विद्रोहीभाव ‘रणभूमिबाट’ कवितासङ्ग्रहका कविताहरूमा रहेको छ । सङ्ग्रहका कतिपय कवितामा कविले जनताका टाउकामा टेकी सत्तामा पुगेको नेतृत्व वर्गले जनभावना बुझ्न नसकेकाले पुनः क्रान्तिका लागि अगाडि बढ्नुपर्ने आवश्यकता देखेका छन् । राज्यसत्ताका नेतृत्वकर्तालाई सच्चिनका लागि चुनौती दिएका छन् । देशप्रेमको भावले हृदयलाई कुतकुत्याउँदा, जनभावनाविरोधी तत्वहरूलाई दुत्कार्ने क्रममा राजनीतिक विद्रोहका स्वरहरू कवितामा प्रस्तुत भएका छन् । साहित्यरूपी सचेतनाको कर्मबाट समाजका शोषण, दमन, अन्याय, अत्याचार, उत्पीडन, अन्धविश्वास, कुरीति, कुनीति, अशिक्षा आदि कसिङ्गरहरू बढारेर हटाउने हुङ्कार कविले यस कृतिमा गरेका छन् । यसरी यस ‘रणभूमिबाट’ कवितासङ्ग्रहमा विद्रोहीचेत/क्रान्तिचेतले भरिपूर्ण कविताहरू प्रशस्त रुपमा प्राप्त गर्न सकिन्छ ।

आँधीखोला, स्याङ्जा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।