15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

म आशिर्वाद र ऊ

कथा विश्वराज अधिकारी November 6, 2022, 7:33 am
विश्वराज अधिकारी
विश्वराज अधिकारी

सद्भावलाई मैले अचानक भेटेको थिन। त्यो भेट नियोजित किसिमले भएको थियो। तर यसलाई एक किसिमले अनियोजित पनि भन्न सकिन्छ किनभने सद्भावले ज्यादै रहर गरेको र मलाई आउन बाध्य पारेको हुनाले काठमाडौ स्थित नया सडकको त्यो रेष्टुरेन्टमा म पुगेकी थिए, त्यस दिन। मनोवैज्ञानिक दबाबमा परेर। तानिएर। यो मनोवैज्ञानिक दवाब पनि अचम्मको हुँदो रहेछ!
सद्भावसँगको सम्बन्ध पनि अचम्म किसिमको थियो। हामी प्लस टु पढ्दा सद्भाव र म बीच प्रेम हुन पुगेको थियो। बी बि यस सम्म हामीले सँगै पढेका थियौ। बि बि यस पास गर्दासम्म भने हामी बीचको प्रेम गहिरिएर बिहे गर्ने स्थितिमा पुगिसकेका थियौ। हामी दुबैलाई यो राम्रो गरी थाहा थियो, हाम्रो बिहेको लागि हाम्रो परिवार बाधक बन्दैन भन्ने। म र सद्भाव बीचको सम्बन्धको केही अर्थ छ भन्ने केही अनुमान मेरो आमा बालाई थियो पनि।
तर! तर अचानक सद्भाव हराए। काठमाडौबाट नै बेपत्ता भए। नेपालबाट नै बेपत्ता भए झै लाग्यो मलाई किनभने उनको इमेल पनि आएन। फेसबुकमा पनि देखा परेनन। गएको दस वर्षमा। अचम्मसँग हराए उनी। मैले गुगलमा र फेसबुकमा धेरै खोजेको थिएँ, सद्भाव अधिकारी लेखेर, तर कतै भेटिन।
दस वर्षपछि काठमाडौमा देखा परेका थिए, सद्भाव। धार्मिक सिनेमामा कुनै भगवान देवलोकबाट अचानक पृथ्वीमा प्रकट भए झै गरेर। अचम्म किसिमले। इमाडोलमा रहेको मेरो बसाइ थाहा पाएर, मेरो घरमा नै भेट्न आइ पुगेक थिए काठमाडौमा उनको अवतरण भएको पर्सीपल्ट।
तर दस वर्षपछि सद्भाव प्रकट हुँदा परिस्थिति सच्याउन नसकिने गरि बदलिसकेको थियो। मेरो बिहे आशिर्वादसँग भइसको थियो। मेरो छोरा निरव आठ वर्षको भइसेको थियो।
आशिर्वाद मेरो जीवनमा भगवान्को आशिर्वाद नै बनेर आएका थिए। त्यस्तो पति पाउनु एक महिलाको लागि यो पुरुष प्रधान समाजमा भगवान्को आशिर्वाद भन्दा कम थिएन। भान्साको कामदेखि, घरको कामसम्म अनि अफिसको कामसम्ममा पनि मेरो लागि आशिर्वादको सहयोग हुन्थ्यो। मैले अफिसमा भ्याउन नसेका कामहरू घरमा ल्याएर गर्दा त्यस्ता कामहरू सक्याउन समेत पनि आशिर्वादले मलाई सहयोग गर्थ्ये। बाहरि जान, सपिंग गर्न र साथीहरूसँग समय बिताउन मेरो लागि आशिर्वादले कुनै किसिमको घोषित अघोषित बन्देज खडा गरेका थिएनन्।
आशिर्वादसँग बिहे भएदेखि म माइती जाने क्रम पनि एकदम पातलो भएको थियो किनभने मलाई एकदिन पनि छोड्न चाहन्थेनन् उनी।
सद्भाव काठमाडौ प्रकट भएपछि भने मेरो स्थिति कुनै बाढीमा फंसेको डुंगा जस्तो हुन पुगेको थियो। काठमाडौमा उनको आगमन जोडदार आँधि जस्तो आएको थियो र त्यो आँधिले मेरो पूर्ण मनोविज्ञानलाई हल्लाएर रूख झै जमिनमाथि लडाइ दिएको थियो। म नराम्रो गरी सद्भावतिर तानिएको थिएँ।
म नया सडकको त्यो रेष्टुरेन्ट पुगेको दिन मैले हाँस्दै भनेकी थिएँ, “सद्भाव, मेरो बिहे भइसकेको छ। त्येति मात्र होइन, एउटा छोरा पनि छ। हाम्रो यस्तो सम्बन्धलाई कहिलेसम्म र कसरी कायम राख्ने, म दोधारमा छु।” यति भनेर मैले पर्समा रहेको मेरो छोराको तस्वीर सद्भावलाई देखाएको थिएँ, पनि।
सद्भावले एउटाहातले मेरो हात समात्दै र अर्को हातले मेरो छोराको तस्वीर तिर देखाउँदै भनेका थिए, “तिम्रो छोराको अनुहार ठाक्यै तिमी जस्तो छ। एक रत्ति पनि फरक छैन। यदि मसँग तिम्रो बिहे भएको भए, हामी दुईबाट भएको सन्तान पनि यस्तै हुन्थ्यौ। ” यति भनेर सद्भाव खुब हाँसेका थिए। म पनि निकै बेर हाँसेको थिएँ।
नया सडकको त्यो रेष्टुरेन्टमा भएको त्यो भेट पहिलो भेट भने थिएन। सद्भाव नर्वेबाट आएको एक वर्ष भित्रमा पच्चिसौं पटक त्यो रेष्टुरेन्टमा भेट भएको थियो। उनले मलाई भेट्ने र आफ्नो राम कहानी सुनाउने एउटा नियमित र भरपर्दो थलो बनाएका थियो त्यो रेष्टुरेन्टलाई। उनले आफू दस वर्ष कसरी र कहाँ बेपत्ता भए त्यस बारे पनि सुनाएका थिए। सद्भाव दस वर्ष हराउनुको कारण उनी नर्वे पुग्नु र त्यहाँ लामो समयसम्म बस्नु थियो। नर्वे पुगेर उनले आफूलाई माओवादी पीडित बताउँदै शरणार्थीको दर्जा पाएका रहेछन र त्यहाँको नागरिकता पनि लिएका रहेछन्। मसँग बिहे गरेर मलाई नर्वे लग्ने उनको योजना रहेछ। तर यता भने गंगा उल्टो बगिसेको थियो। मेरो बिहे आशिर्वादसँग भइसेको थियो।
आशिर्वादले सद्भाव र मलाई त्यो रेष्टुरेन्टमा धेरै पटक देखिसकेका थिए। सद्भावले त्यो रेष्टुरेन्टमा आउन मलाई बाध्य पारेको दिन पनि हामी दुबैलाई त्यो रेष्टुरेन्टमा उनले देखेका थिए। त्यसदिन त सद्भावले मलाई अङगालो मारेको अवस्थामा देखेका थिए। अरुबेलमा मलाई हेरेर मुसुक्क हाँस्ने आशिर्वादले मलाई त्यो अवस्थामा हेर्दा, सद्भावको अङ्गालोमा बेरिएको अवस्थामा हेर्दा, मुख रातो पारेर अर्कोदिशमा हेरेका थिए।
हो, जुन दिन त्यस रेष्टुरेन्टमा आउन सद्भावले मलाई बाध्य पारेका थिए अनि आशिर्वादले मलाई त्यो रेष्टुरेन्टमा सद्भावसँग जुन अवस्थामा देखेका थिए त्यस दिन राति घर पुग्दा अलि अबेर भइसकेको थियो। तर आशिर्वाद पनि आएका थिएनन्। म पुगेको एकैछिन पछि भने आशिर्वाद आएका थिए। म भने निकै डराएकी थिएँ। आशिर्वादले मलाई गाली गर्ने हुन कि भन्ने भयले म आक्रान्त थिए। तर त्यस्तो केही पनि भएन। आशिर्वादले मलाई केही पनि भनेन्। मैले बाहिरबाट नै खाना खाएर आएको छु भन्दै सरासर सुत्ने कोठातिर गए।
सद्भावले मलाई त्यो रेष्टुरेन्टमा बोलाउने र म तान्निएर त्यहाँ जाने क्रम रोकिएन। महिनौसम्म चलिनै रह्यो। चुम्बक फलामतिर आकर्षित भए झै म सद्भावतिर आकर्षित हुन पुगेकी थिएँ। त्यो बलियो गुरुत्वाकर्षणले मलाई सद्भावको मुलपानीस्थित अपार्टमेन्टसम्म पुर्याएको थियो। एक पटक होइन, धेरै पटक पुगेको थिएँ। केही रातहरू पनि बिताउन म बाध्य हुन पुगेकी थिए, म सद्भावको गुरुत्वाकर्षणले तानिएर। सद्भावमा ठूलो गुरुत्वाकर्षण थियो। किन थियो, कसरी थियो………
तर एक दिन अति नै अप्रत्यासित घटना हुन पुग्यो। आशिर्वादले कलेजबाट फोन गरेर भने, “नन्दिता, आज अफिसबाट सरासर घर आउनु। केही गंभिर कुराहरू गर्नु पर्नेछ। म पनि कलेजबाट छिटै आउँछु। आज इभनिंगको क्लास म गर्दिन।”
म हत्तारिंदै अफिस छुट्नासाथ घर पुगेकी थिएँ। त्यस दिन चिफ नआएको हुनाले एकटिंग चिफ भएर मैल काम गर्नु पर्ने थियो। बैंक बन्द गरेर, सेफको साँचो लिएर घर फर्किनु परेको थियो।
म घर पुग्दा आशिर्वाद आइसकेका थिए।
हामी दुबै जना लिभिंग रुममा बस्यौ। एक छिन सम्म कुनै कुरा भएन। मौनता कायम रह्यो। हामी दुई केवल लिभिंग रूममा भएका कुराहरूलाई नियाली रह्यौ।
हामी बीच कायम रहेको मौनता तोड्दै आशिर्वादले भने, “नन्दिता, म लामो भूमिका बनाएर भन्न चाहँदिन्। एकै पटक विषय वस्तुमा प्रवेश गर्छु।”
“ल हुन्छ, भन। के भन्न चाहेको हो, प्रष्ट गरि भने हुन्छ।” मैले भने।
“नन्दिता, दुई पुरुषहरू मध्ये तिमीले या त मलाई या सद्भावलाई रोज्नु पर्यो। कुनै एकलाई छोड्नु पर्यो। दुई ओटा डुँगामा खुट्टा राखेर जिन्दगीको यात्रा गर्न सकिंदैन। कुनै पनि बेला दुर्घटना हुन सक्छ। र त्यो दुर्घटनाले ठूलो विनाश ल्याउन सक्छ।” आशिर्वादले भने।
“मैले धेरै छुट दिएँ, धेरै बर्दास्त गरे। अब..........अब भने गर्न सक्तिन।” आशिर्वाद रोकिएनन।
“तिमी मप्रति इमन्दार हुन सकिनौ, नन्दिता।”
“म मात्र तिमी प्रति कति इमान्दार हुने?”
“सहनशीलताको पनि एउटा सीमा हुन्छ। होइन र?”
“मैले कति सम्म सहने?”
आशिर्वादका कुराहरूले मलाई आँधीले रूख हल्लाएझै हल्लाइ दिए।
मैले गंभिर मुत्रामा प्रश्नहरू गरे, “एक पत्नीको रुपमा मैले तीमीसँग के बेइमानी गरे? ल भन, आशिर्वाद। पतिलाई दिने कुन माया दिन तिमीलाई मैले बाँकि राखे? भन, आशिर्वाद। के तिमी केवल मेरो शरिरसँग माया गर्छौ? र केवल शरीरको समर्पणलाई नै ठूलो माया ठान्छौ? मेरो मनले गर्ने तिमीलाई सीमाहीन निस्वार्थ माया के माया होइन? तिमी केवल मेरो शरीरलाई नै ठूलो माया गरेका रहेछौ भने के यस किसिमको माया तिमीले बजारमा किन्न सक्तैनौ? ल भन। के तिमीले मेरो जस्तो भित्री मनको माया बजारमा किन्न सक्छौ? ल भन।”
आशिर्वाद चुप थिए।
“किन चुपचाप बसेको, आशिर्वाद?”
उनले शब्दहरू खोजिरहेका थिए, वा शब्दभण्डार रित्तिएको महसुस गर्दै थिए, मैले थाहा पाउन सकिन।
केही समय हामी बीच मौनता कायम रह्यो।
मैले भने, “आशिर्वाद, तिमीले केवल मेरो शरीरलाई माया गरेको रहेछौ, मेरो पवित्र र इमान्दार हृदयलाई होइन। होइन त?”
म सोफामा नै थिएँ। आशिर्वाद सोफाबाट उठेर कोठा बाहिर निस्के। घर बाहिरको गेट खोलेर उनी सडकमा गएको आबाज सुनियो। केही छिन पछि फेरि उनले गराजबाट कार झिकेको आबाज पनि सुनियो। म पनि चुपचाप सोफमा नै बसिरहे। बाहिर कता जान थालेको भनी आशिर्वादलाई सोध्न म गइन।
रातभरि आशिर्वादको फोनको प्रतीक्षा गरे। बिहान हुँदासम्ममा पनि उनको फोन आएन।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।