धर्म सभामा बुध्द आफ्ना चेलाहरूलाई मुक्ति मार्गका बारे प्रवचन दिइरहेका थिए । त्यस सभामा एक जना शिष्य सम्मानित उच्च शिक्षाका चेला थिए । ती विद्वत जन अकडो तर्क गर्न खुब माहिर थिए । अरू सबै चेलाहरू लाटा सुधा थिए । उनीहरू गुरूका कुरा सबै मान्थे ।
––“मुक्ति मार्ग भनेको के हो ?, थाहा छ गुरूलाई !”
बुध्द अक्क न बक्क परे र एकछिन सोचे । यो शिष्य चतुर रैछ । यसलाई मार्ग बारे बुझाउनु पर्याे भनेर बीचार गरे अनि उनले उत्तर दिए ।
––“मुक्ति मार्ग भनेको ‘राह’ हो ।”
उक्त विद्वत शिष्य बजारमा गयो । अनि उसले बुध्दले झैं ‘राह’ को बारेमा व्याख्या गर्न लाग्यो । उनलाई सबैले सोधे ।
––“ ‘राह’ भनेको के हो ?”
विद्वत शिष्यले थप व्याख्या गर्न लाग्यो । अवस्था, समाज र स्थानअनुसार आफ्नो व्याख्या गर्दै गयो । अन्त्यमा उ के निष्कर्षमा पुग्यो भने ‘राह’ भनेको ‘जात’ हो । उसले वरपर सबैलाई आआफ्नो जात र जातिको बारे बुझाउन थाल्यो । चलिआएको बुध्दको ‘मुक्ति मार्ग’ ती सबैले बिर्सँदै गए ।
धेरै कालपछि बुध्दले ती शिष्यलाई स्तुपअघि भेटे । स्तुप आधुनिक ढङ्गले सिंगारिएको थियो । बुध्दले ती शिष्यलाई सोधे ।
––“मुक्ति राह अर्थात मुक्ति मार्ग बारे थाहा पायौ ?”
ती शिष्य निकै तनावमा चट्किए । बुध्द शालीन थिए । उनले शिष्यलाई नहडबडाई उत्तर दिन आग्रह गरिरहेका थिए । शिष्य एकोहोरो कराइरहे ।
––“मुक्ति मार्ग त हजुरको स्लो गन हो !”
बुध्द अलअलमा परे । यो शिष्य झन भ्रममा परेछ भन्ने अनुमान काटेर सोधे ।
––“तिम्रो मुक्तिको मार्ग चाहिँ कुन हो त ?”
शिष्यले बडो गर्वका साथ आफ्नो आयात धर्मको आडमा जवाफ दियो ।
––“मार्ग ‘जातीय’ अर्थात ‘राह’ !”
बुध्द सरासर आफ्नो बाटो समातेर हिंडे । उनीसँग मात्रै झोला र गेरु बस्त्र थियो । शिष्य बुध्दको पछिपछि कराउँदै हिंडिरहे ।
––“मलाई हजुरले सम्मान गरेर उच्च शिक्षा प्रदान गरेको हैन नि त । ‘राह’ कसरी मुक्तिको मार्ग हुन्छ ?”
बुध्दले त्यसपछि संघ खोलेर त्यसै संघमा ती शिष्य जस्तै मानिसहरूलाई बुझाउन थाले ।
––“मार्गको अर्थ फारसी भाषामा ‘राह’ हुन्छ, बुझ्यौ ?”