15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जोखना

कविता डा. नवराज सुब्बा November 13, 2022, 4:01 am
डा. नवराज सुब्बा
डा. नवराज सुब्बा

ए कविता !

के तिमी अभिजातका मनोरञ्‍जक साधन मात्र हौ?

फूल, वासना, यौवन, नशा, अमूर्ततामा अल्मलिन्छौ

सरल जीवन छाडेर क्लिष्ट शैली रूचाउँछौं

आखिर तिमी कोबाट जन्मियौ?

कसका लागि जन्मियौ?

र किन जन्मियौ तिमी?

त्यता ध्यान दिएका छौ?


ए मेरा आधुनिक कवि !

तिमी प्रेमिकाको मुहार कोर्दछौ कवितामा

आफ्नै अतृप्त चाहनाको स्वरूप भर्दछौ रचनामा

के कहिले तिमीले

सीमान्तकृत कुनै बोक्सीको क्रन्दन सुनेका छौ?

धरतीमा देश गुमाएका सतार चेपाङको गीत भेटेका छौ?

कतै रोहिङ्ग्या, भुटानी शरणार्थीहरूका व्यथा साँटेका छौ?

कोरोना क्रन्दनको चित्र कोरोस् चित्रकारले

बर्षेनी बाढीले बगेकाको सपना बोकोस् कलाकारले

पहिरोले पुरेका परिवारको जीवनी लेखोस् लेखक

भूकम्पग्रस्त घरको छानाबाट देखिने ताराको चित्रकला

मेरो ब्रम्हाण्ड हो भावभूमि हो व्यथा मेरो जोखना

तिमी भावुक फूल बन्छौ र पकृतिभित्र त पस्दछौ

तर त्यो आनन्द केवल तिम्रै निम्ति न भयो

हो तिमी देख्छौ तर आफ्नै लागि देख्छौ

र आफ्नै खातिर अक्षरको खेती गर्छौ ।


म त पुरानो मोडल

बाबुबाजे पालाको एक अभिन्‍न पात्र, समन

सरल भाषामा तिम्रै छिमेकी म धामीझाक्री

मलाई अझै तिमीले चिनेनौं?

म धेरै पुरानो कवि प्रकृतिको कवि जीवको कवि

आत्मा परमात्मा सारा जीवन जगतको रवि

आत्मा र प्रकृतिमा प्रवेश गर्ने मेरो दैनिकी छ

उनीहरूसित वार्तालाप गर्ने मेरो बानी छ

गीत रच्छु, गाउँछु तर त्यो मेरो होइन

बजाउँछु बाजा र नाच्छु आनन्दको लागि हैन

केवल अरूको दुःख, व्यथा दूर गर्न

म कवित्व र रवित्व खेलाउँछु ।


तिमी आफ्नो आनन्दमा रमाउँछौं

म अरूको खुशी र सुखलाई प्राप्ति ठान्छु

तिमी आफ्नै कथा व्यथा गुनासा सुनाउँछौ

अनि आफ्नै फाइदा निम्ति काइदा निकाल्छौ

तिमी पुरस्कार पदक थाप्छौं मानसम्मान खोज्छौ

म त्यस्तो आशा गर्दिन

मसित जीवन जिउने गला छ कला छ

पीडित परिवार, दुःखी मनमा दुख्‍ने हृदय छ

स्वआनन्द र स्वार्थभन्दा माथिल्लो शुर र लयमा

म जीवनको गीत गाउँदै जगतसित नाता गाँस्छु

आनन्दका लागि तिमी केही कोरिरहेका बेला

स्वार्थवश तिमीले मीठा गीत गाइरहेको बेला

समूहमा कविताको उत्सव मनाइरहेको बेला

हरेक काव्यमा तालि पिटिरहेको बेला

म भने यता एक्लै

मुटुको धुकधुकीको तालमा

सुस्केराको लामो शुर तान्दै

दुःखी ज्यानको वरिपरि घुम्दै

चिन्ता बसेको छु

जोखना हेर्दैछु

मनुवाको ।


मलाई माफ गर

हे नाम र मानको पछि कुद्‍ने कवि

मलाई कुनै नाम सुवास चाहिदैन

मलाई मानखातिर पनि गर्नु पर्दैन

अब मेरो फूलो परेको आँखा

विज्ञानले शल्यक्रिया गरिदिएको छ

अब म देख्छु जीवन र जगत स्पष्टसंग

म कुनै बोक्सा बोक्सी तोक्दिन

म उनीहरूलाई अब अन्याय हुन दिन्‍न ।


मेरा गीतको भावमा मानिस

बग्दै बगाउँदै यहाँसम्म आएको छ

गीत, कविता आत्माको साक्षी बनेको छ

र इतिहास र वर्तमानलाई जोडिदिएको छ

याद राख,

आत्मा रहेसम्म

म धामी धरतीमा जीवित छु

तिम्रो कलमले मलाई नचिनोस्

मलाई केही फरक पर्दैन किनभने

मैले आजसम्म तिमीलेझैँ

स्वार्थी मसी प्रयोग गरेकै छैन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।