16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नेपाली साहित्य सम्मेलन, दार्जिलिङ : अब शताब्दीको यात्रातिर

विचार नवीन पौड्याल November 6, 2022, 7:48 am
नवीन पौड्याल
नवीन पौड्याल

सन् १९२४ मा भारतीय नेपाली समाजका निम्ति एउटा महत्त्वपूर्ण उपलब्धिमूलक काम भएको छ त्यो हो नेपाली साहित्य सम्मेलन, दार्जिलिङको स्थापना। हरिप्रसाद प्रधान, सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, पारसमणि प्रधान आदिता जागरूक व्यक्तिहरूले नेपाली साहित्य सम्मेलनको स्थापना गरेका हुन्। उक्त समयमा नेपालमा पनि खासै त्यस्तो साहित्यिक संस्थाको स्थापना भएको पाइन्न। त्यतिबेला नेपालको साहित्यिक संस्थाहरू नेपाली भाषानुवाद परिषद, गोर्खा भाषा प्रकाशिनी समिति पनि स्थापना भएका थिएनन्। यता खरसाङको गोर्खा जन पुस्तकालय पनि यसको अघावै सन् १९१३ मा स्थापना भइसकेको छ। यी दुईवटा साहित्यिक संस्थापछि अन्य स्थानका यस्ता संस्था धेरै पछि मात्र स्थापना भएका हुन्।
भारतका अन्य छिमेकी साहित्यमा यस्ता केही संस्था स्थापना भइसकेका थिए। भारतको स्वतञ्त्रता सङ्ग्राममा राष्ट्रीय चेतनालाई बल पुर्‌याउन यस्ता भाषिक साहित्यिक सामाजक सङ्ग्ठनहरू धमाधम स्थापना हुनथालेका थिए। हिन्दी बङ्गला असमिय उडिया आदि भाषाका साहित्ययिक संस्थाहरू सक्रिय थिए। १८९३ मा बनारसमा नागरी प्रचारिणी सभा स्थापना गरेको थियो। यसले हिन्दीको माध्यमबाट राष्ट्रवादी चेतना फैलाउने काम गरेको थियो। सन् १९१० मा प्रयागमा अखिल भारतीय हिन्दी साहित्य सम्मेलनको स्थापना भएको थियो। महात्मा गान्धीको नेतृत्वमा रहेको र स्वाधीनता सङ्ग्रामलाई बल पुर्‌याउन सन् १९१८ मा दक्षिण भारतमा पनि हिन्दी साहित्य सभाको स्थापना भएको हो। सन् १९३७ मा वार्धामा राष्ट्रभाषा प्रचार समिति स्थापना भयो। अहिले भारतमा हिन्दीका १७ वटा जति प्रमुख साहित्यिक स्वेच्छिक संस्थाहरू रहेका छन्। तिनले हिन्दीका विभिन्न तहका अध्ययन र परीक्षा सऋचालन गर्दैआएका छन्। यी परीक्षाहरूबाट उत्तीर्ण भएका अङ्कतालिका र प्रमाणपत्रलाई भारत सरकारले मान्यता दिएको छ।
१२ मार्च सन् १९५४ मा पं. जवाहरलाल नेहरूको अध्यक्षतामा पहिलोचोटि साहित्य एकाडमी स्थापना भएको हो। यसभन्दा अघि ब्रिटिस सरकारले सन् १९४४ मा रोयल एसियाटिक सोसाइटी खोलेको थियो। यसले साहित्य, ललितकला र नाट्य एकाडमी तीन अलग अलग विभाग राखेको थियो। भारत स्वाधीन भएपछि साहित्य अकाडमीको स्थापना पछि यी तीनै संकायलाई आधिकारिक रूपमा स्थापना गरिएका थिए। यता बङ्गला साहित्य, असमीय साहित्य सभा, मणिपुरी साहित्य, मैथिली साहित्य आदिका यस्ता साहित्यिक संस्थाहरूको आफ्नो आफ्नो भूमिका रहेको छ।
‘गोर्खा जन पुस्तकालय खरसाङ’ सन् १९१३ मा नै स्थापना भएको हो। यद्यपि यो पुस्तकालयका नाममा रहेको हुनाले यसलाई पुस्तकालयमा नै गणना पनि भएको छ। यसले चन्द्रिका पत्रिका र केही पुस्तक प्रकाशन र नाट्य प्रदर्शन आदि गर्ने गर्थ्यो। यसले अन्य धेरै काम गरेको इतिहास भने भुल्न हुँदैन। देहरादुनको ‘गोर्खाली सुधार सभा’ विशुद्ध साहित्यिक संस्था भने होइन। त्यसै गरी केही साहित्यिक काम गरे पनि ‘गोर्खा दुःख निवारक सम्मेलन, दार्जिलिङ’ पनि मूल सामाजिक संस्था हो।
अहिलेको समयमा भारतमा सबैभन्दा ठुलो नेपाली साहित्यिक संस्था असम नेपाली साहित्य सभा हो। नेपाली साहित्य परिषद र असम नेपाली साहित्य सभा दुई भिन्नाभिन्नै साहित्यिक संस्थालाई सन् २०१३ मा विलय गरेर यसलाई बृहताकार बनाइको छ। असमका बाइसवटा जिल्लामा यसका शाखा उपशाखाहरू रहेका छन्। यसका साहित्यिक गतिविधि र कार्यक्रम आदि सञ्चालन भइरहन्छन्। यसले राष्ट्रिय साहित्यिक सङ्गोष्ठी, नेपाली भाषाको पठन पाठनका निम्ति सरकारसित संवाद र चाप सिर्जना र केही सफलता, राष्ट्रिय पुस्तक न्यासबाट पैतालिसवटा बालसाहित्यको नेपाली अनुवाद कार्यशाला, मुखपत्र र सङ्गोष्ठी पत्र प्रकाशन, साहित्यिक मूल्यका महत्त्वपूर्ण प्रकाशन आदि काम गरिरहेको छ। यीबाहेक यस संस्थाका जिल्ला समिति वा शहर समिति इकाइले नेपाली भाषा साहित्य सम्बन्धी साना ठुला काम गरिरहेको हुन्छ।
नेपाली साहित्य सम्मेलन, दार्जिलिङका अतिरिक्त यस्ता साहित्यिक संस्थाहरूमा नेपाली साहित्य अध्ययन समिति- कालिम्पोङ, सिलगड़ी देवकोटा सङ्घ- सिलगड़ी, नेपाली साहित्य विकास समिति- डुवर्स, नेपाली साहित्य परिषद्, गान्तोक, पश्चिम सिक्किम साहित्य प्रकाशन- गोजिङ, अगमसिंह गिरी साहित्य संस्थान- सलुवा, नेपाली साहित्य परिषद्- मणिपुर आदि प्रमुख रूपमा रहेका छन्। यीबाहेक अन्य ससाना नेपाली साहित्यिक संस्था पनि रहेका छन्, जो यहाँ उल्लेख गरिएन।
नेपाली साहित्य सम्मेलन, दार्जिलिङ
भारतको जेठो नेपाली साहित्यिक संस्थाका रूपमा रहेको नेपाली साहित्य सम्मेलन दार्जिलिङमा अवस्थिति छ। सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, पारसमणि प्रधान, हरिप्रसाद प्रधान, हर्षध्वज लामा, बाबुलाल प्रधान, तुलसीबहादुर छेत्री, लक्खीदेवी सुन्दास, जगत छेत्री, हर्कबहादुर कुमाइँ, इन्द्रबहादुर राई, आर पी लामा, कर्ण थामी, रामलाल अधिकारी, हरेन आले, तारककुमार कार्की, प्रेम प्रधान, जीवन नामदुङ, आदिको योगदान स्तुत्य र स्मरणयोग्य रहेको छ। दियालो प्रकाशन, सम्मेलन कथा सङ्ग्रह, सम्मेलन कविता सङ्ग्रह, भानुभक्त स्मारक ग्रन्थ, भानुभक्तको शालिक स्थापना र पुनःस्थापना, सम्मेलनको आफ्नो भवन निर्माण, नेपाली भाषालाई रेलवे स्टेसनमा उद्घोषणाको निम्ति दबाव सिर्जना, वार्षिक भव्य रूपमा भानुजयन्ती समारोह आयोजना गर्नु, अगमसिंह गिरी जयन्ती, बेला बेला भाषा साहित्य सङ्गोष्ठी, कविगोष्ठी आदि सम्पन्न गर्दै आइरहेको छ।
नेपाली साहित्य सम्मेलन अकर्मण्यको थलो?
यसको विगतमा स्वर्णिम युग थियो भन्ने स्थितिको भान हुँदैछ। आफ्नो स्थापनादेखि कति दशक सक्रिय नेपाली साहित्य सम्मेलन दुई हजार सालदेखि यता धेरै निष्क्रिय सरह भएको भन्ने कुरा सुनिन्छ। निष्क्रिय त भनिहाल्न मिल्दैन तर जति काम गर्नुपर्ने, त्यति गर्न सकेको छैन। यसले गर्नुपर्ने वा गर्न सक्ने धेरै काम हुनसक्थे, जो भइरहेको छैन। यसको कार्यकारिणी समितिभित्रै सीमित गतिविधि, भानुजयन्ती र स्थापना दिवसको औपचारिकता आदिमा मात्र सीमित देखिन्छ। सन् २००० सालदेखि हालसम्मको सम्मेलनको कार्यकलाप हेरे थोरै ठाउँमा सन्तोक र धेरै ठाउँमा असन्तोक मान्नुपर्ने स्थिति पनि देखिन्छ। यसले नेपाली भाषा साहित्यका निम्ति स्र्वभारतीय स्तरमा धेरै काम गर्न सक्थ्यो। भारतमा हाम्रो भाषा साहित्यले के के सहुलियत पाउँछन्, त्यसको बारेमा पहल गर्नुपर्ने, यसले प्राज्ञिक, सांस्कृतिक, शैक्षणिक भाषिक क्षेत्रमा धेरै काम गर्नुपर्ने हुन्छ। यसले भारतीय नेपाली विश्वकोश, मानक व्याकरण, अनुवाद, नेपाली भाषा साहित्य पढ्नेका निम्ति शोधवृत्ति, भाषा साहित्य सम्बन्धी अनुसन्धानमूलक परियोजना, भारतीय नेपाली भाषा अध्ययन, मानक ग्रन्थहरूको प्रकाशन, अभिधान प्रकाशन, नेपाली भाषा-साहित्यको आधिकारिक कोश, कम्प्युटरमा अनुकूल भाषिक व्यवस्थापन आदि जस्ता धेरै काम गर्न सक्छ। नेपाली भाषा र साहित्यको व्यापकता बढाउन, प्रयोग विस्तारका लागि जनचेतना बढाउनु, सर्वभारतीय स्तरमा भाषा साहित्यको समन्वयन, सम्वर्द्धन र प्रवर्द्धनका लागि काम गर्न सक्छ।
सम्मेलनले धेरै काम गर्न सक्थ्यो। यो त एक विशेष समूहभित्र सीमित देखिन्छ। एउटै गुटले पकाएको खिचडी खाएर नै नेपाली साहित्य सम्मेलनको कार्यकलाप मान्नपर्ने देखिन्छ। उही पुरानै मानसिकता, जडवादले सम्मेलन जकडिएको भान हुन्छ। अध्यक्ष बन्नका लागि हानथाप, यसले पैसा खायो भन्ने आरोपित व्यक्तिहरू नै फेरि पालैपिलो गरी पदाधिकारी हुने, तिनै सीमित सदस्यहरूकै घेरो देखिन्छ। ‘हाम्रो पेवा हो, हामीले यत्रो वर्ष सम्मेलन थामेर आएका छौं, अहिलेका फुच्चेहरूको सम्मेलनप्रति के योगदान देलान् र?’ भन्ने मानसिकताले गर्दा यसको उही पुरानै कार्यकारिणी समिति चयनित हुन्छ। यसो एक दुईजना जवान सदस्यलाई सह-सचिव र कार्यकारिणी सदस्यसम्म चयन गरिन्छ। लगभग २००० सालदेखि यता यस पुनीत संस्थाले धेरै काम गर्नुसक्थ्यो। पहिले धेरै गरेको छ भनेर पहिलेकै गौरवगाथामा नै मक्ख परेर बस्ने बेला छैन। ‘मेरो बाजेले घिउ खाएका थिए, मेरो हात सुङ सुङ’ भनेजस्तो गर्ने बेला छैन। यसले त अब प्राविधिक रूपमा नेपाली भाषा र साहित्यको विकास गर्न कम्मर कस्नुपर्छ। नेपाली भाषा साहित्यको माउ संगठन भएर साँच्चै नै नेतृत्व गर्नु सक्नु पर्दछ। उर्जाशील र नयाँ नयाँ चेतना लिएक युवा वर्ग पनि आएर सम्मेलनको नेतृत्वको बागडोर सम्हालेर लानुपर्ने देखिन्छ। हाम्रो यो संस्थालाई युगानुकूल बनाउनु परेको छ। सम्मेलनलाई संकुचित र जडवत् राखे यसको भविष्य अनिश्चित हुन्छ। सम्मेलनप्रति विश्वका नेपालीभाषीको आस्था हट्ने सम्भावना रहन्छ। यसले नेतृत्व गर्नु सक्नुपर्दछ, नेपाली भाषा साहित्यको सर्वाङ्गीन विकासका निम्ति नयाँ नयाँ सिर्जनात्मक काममा लाग्नुपर्ने देखिन्छ।
अब २०२४ मा त नेपाली साहित्य सम्मेलनको शतवार्षिकी हो। यसले एक सय वर्षको यात्रा तय गर्दैछ। सम्मेलनको विगतको गौरवशाली सय वर्षका कामकुराको इतिहास लेखिनु छ। हाम्रा पुर्खाले आर्जेको यो पावन संस्थाका हरेक काम कुराले नै इतिहास बोकिरहेको हुन्छ। हरिप्रसाद प्रधान, सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, पारसमणि प्रधान, तुलसीबहादुर छेत्री, आर पी लामा आदिका ती स्वर्णिम कार्यहरूले हामीलाई चियाइरहेका छन्। सम्मेलनमा टाँगिएका ती फोटोफ्रेमहरूका ती निस्वार्थी महापुरूषहरूको आत्मले पनि सम्मेलनको भविष्यको सुकार्य र इतिहास निर्माणको अपेक्षा राखेर चियाइरहेका छन्।
कालिम्पोङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।