15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बायोस्कप

कथा सतीश छेत्री November 6, 2022, 7:57 am
सतीश छेत्री
सतीश छेत्री

गीत बज्दै छ -

आया आया आया
बायोस्कप वाला आया...

कथक, बसको खिड़की छेउमा बसेको छ। गाउँ पुग्न अघिको सड़क पहाड़मा छ। नेभाराको रूख, ढोँड़ेको फूल, प्यारापेड, अम्लिसो, प्यारापेड, सेतो सिरिष, प्यारापेड, खरेटो, प्यारापेड, चिप्सका प्याकेट, प्यारापेड -हरू दु्रतगतिले कुदिरहेका छन्। टाड़ाबाट हेर्दा डाँड़ाको कुइनोटोहरू हुँदै एउटा बस कुदिरहेको भित्र बसेको छु। अरू गाड़ीहरू पनि छन्।
कथक गाउँ जाने बाटोमा ओर्लिएँे।
अब यसले हामीलाई गाउँमा देखिएका कथाहरू प्रसारित गर्नेछु। जहाँबाट जुन कथा देख्छु, ती कथाहरू यहाँ स्क्रीनमा देखिने छन्। कथकले जहाँबाट जे उठाउँछु, त्यो पढ़्ने छौँ अब यहाँ हामी पाठक।
-
“मैले हतियार राखेको हो, छोड़ेको होइन।“ हिन्दीमा डाइलग बोल्यो र ऊ हाँस्यो।
“जाऊ फिल्मी“ - मोनालिसाले प्वाक्क पाखुरामा हिर्काई । भनी -"आयो होइन लाइनमा?"
उसले भन्यो - "हरेक कुरा लाइनमै छ। तिमीले भनेर त होइन उयो गाडी यताबाट आएको ?"
"कुन ? " मोनालिसाले भनी।
"उयो"
"त्यो त कहाँ हो ? बाहिरको लाग्दैछ। मैले भनेर हुन्छ क्या हो ?""
"ए । भन है !"
दुवैजनाले खुट्टा हल्लाइरहे। तल थियो लगभग तीन सय मिटरको भिर। परपर घरहरू थिए।
उनीहरू यहाँ आइबस्थे। घरपरिवार/भावि सन्तति अनि छोरा जन्माउने कि छोरी सल्लाह गर्थे।
*
राति काइँला मातेर आएछ। ऊ घर आफैं आइपुगेछ। एउटा खुट्टाले अर्को खुट्टालाई हिर्काउँदै आएको हुनाले ऊ छिटो आइपुगेको थियो। आएर श्रीमतीलाई सिङ्गड़ा दिँदै भन्यो - “ला: खा। सिङ् भएको गेड़ा ल्याइदिएको छु।“
श्रीमतीले तानेर राखी अनि सुतेका छोराछोरीलाई हेर्दै भनी - “अझै!“
अन्नले पेट बिगार्थ्यो, त्यही भएर ऊ मासु खाएर सुत्यो।
*
भोलिपल्ट बिहान गालामा हात लगाएर किरपन दैलोमा बसिरहेको रहेछ।
भूपालले जाँदाजाँदै देखेर बस्दै “के छ त किरपन?“भन्यो। किरपनले फिलासम्मको हाप्पेनको मोहरीलाई अलिकति माथि तानेर रौंँहरू स्वाइँ स्वाइँ माड़दै भन्यो -“इः बसिरा’।“
“पत्ता छ? बना न!“
किरपनले पहेँलो भइसकेको सेतो पानीकागज निकाल्यो।
“दुःख छ हौ यार!“ - किरपनले खैनी चेपिसकेपछि बोल्यो।
“केको दुःख ?“
“होला त पैसाकै। सबै बर्बाद भइसक्यो।“
“फिला कनाएर बस्नुभन्दा गर्न, छ त यत्रो।“ परपर हेरेको थियो भूपालले।
“पैसा आउने डर हुन्छ। पैसा राम्रो थोक हो ?“
भूपालले किरपनको अनुहार राम्ररी हेरयो।
खासमा उसको नाम कृपा नारायण अरे! अपभ्रंश भएर ऊ किरपन भएको थियो।
फेरि उसैले थप्यो - “पल्लो घरको साहु के भा’रछ। अझै एउटा दोकान थपेछ। मरेर पैसा कहाँ लानु ?“
भाले क्वाँ’ बास्यो।
तल्लो ओठलाई जिब्रोले ठेलेर भूपालले यताउता हेरेको भयो।
एकछिन पछि किरपनले आफैं भन्यो - “घरमा बेलुकालाई चामल छैन गुरु!“
*
लिसाले बिहान आफ्ना बाबुलाई खोजी -
बाबु प्रवचनमा रहेछन्। सिद्ध थिए उनी। पाखन बाबा तिनको परिचित नाम थियो। केही श्रोताहरूलाई राखेर उनले भन्दैथिए - “हेर्नुहोस्। सुन्नुहोस्। हामीले नराम्रो मान्छे चिन्नुपर्छ। संसारमा दुईप्रकारका मान्छे हुन्छन्। राम्रो अनि नराम्रो। नराम्रो मान्छेले राम्रो मान्छेलाई बाँच्न दिँदैन। नराम्रो मान्छेलाई मार्नुपर्छ। उसलाई मानसिक प्रताड़ना दिनुपर्छ। कसरी हुन्छ, उसलाई सकेर..अ........मात्रै राम्रो मान्छेको लागि संसार बनिन्छ।“ (उनको अ - मा आवाज एउटा लहरजस्तो घुमेर आयो र हात फिलामा टक्क पड़क्यो। उनको मुस्कानमा जुङा थियो) हजुर! तपाइँ किन उठ्नुभयो?“
एउटा मान्छे त्यहाँ बिचमा खड़ा थियो। उसले भन्यो - “पाखन् बाबा! मान्छे राम्रो हो कि नराम्रो हो भनेर छुटयाउने आधार के हो?“
“नराम्रो विचार भएको मान्छे, नराम्रो हो।“ उनको अनुहारमा शितल भाव थियो।
“कुन विचार राम्रो र कुन विचार नराम्रो भनेर कसरी छुटयाउने?“ त्यो मान्छेले अन्यमनस्क भावले भन्यो।
“जसले अरूको अहित चिताउँछ। ऊ नराम्रो हो।“ बाबा अलि कठोर भए।
“अरूको हित चिताउँछ कि आफ्नो, कसरी खुटयाउने?“ त्यो मान्छे विनम्र भयो।
“तपाइँ के गर्नु आएको याँ’? शिष्य भएर गुरुको परीक्षा लिने होे? हँ।“ - उनले भिड़लाई हेरेर भने -“यस्ता मान्छेसित जोगिन पर्छ।“
“हजुर!“ त्यो मान्छे शिर निहुरिएको भएर बोल्यो - “तेस्रो कुरो त यो हो कि म तपाइँको शिष्य होइन। झुक्किएर आज पसेको।"
“पहिलो दोस्रो के हो?“ बाबाको एउटा आँखामा ज्वालामुखी पुत्पुताउन थाल्यो।
“हिंसा पहिले शारीरिक रूपमा थियो। मान्छेको बल नै बलियो थियो। उनीहरू हातले हिंसा गर्थे; तर अब मान्छेको मस्तिष्कको तौल बढ़ेको छ। अब उनीहरू मस्तिष्कले हिंसा गर्छन्। हिंसा अझ विकराल भएको छ। राता आँखा, दारा र अट्टहास त्यस्तै छ। - पहिलो कुरा हो यो।
दोस्रो कुरा - अरू प्रश्न छैन। तपाइँ मभन्दा वयस्क देखिनुहुन्छ। उमेरको दृष्टिले नमन् बड़ा।“
लिसाले पछिबाट बोलाई - “बा! चिया!“
सेतो कुर्था पइजामा लगाएका बा पर्लक्क फर्किए। यति बेला उनको भित्रको पूरानो रातो गंजी देखियो। हात थापे। पानीअमलाको पत्ता छोइएर यसो हल्लियो। दर्शकमा एकजनाले नाक पुछेर स्वाँक्क गरयो। सबै चकमन्न!
लिसाले बा‘लाई भनी - “बा बेलुकालाई तरकारी छैन।“
बा’ले भने “हुन्छ“
लिसा बाहिर आउँदै गर्दा उसले सुनी - बा’ले भने - “थाह छ, मैले के के गरेको छु? भुङ्ग्रोमा हिँड़ने कला सिकाएको छु अनि.. के रे.... ?”
त्यो मान्छे उभिएकै हात जोड़ेर भन्यो - “हजुर तपाइँ कमाण्डो अफिसर हुनुहुन्छ होला! तर यससित मेरो प्रश्नको सम्बन्ध छैन।“
त्यो मान्छे अघिल्तिर उभिएको थियो।
“भक्तजन अब कबिरका कुरा गरौँ।“- पाखन बाबा बोले - “तिमी बाहिर जान्छौ कि! म प्रवचन रोकुँ भक्तजन्?“
चारपाँचजना लहरै बाहिर निक्ले।
*
शमेश्वरको छोरो पन्ध्र वर्षको थियो - एकदिन साँझतिर आएर भन्यो। “बा मैले कविता लेख्न थालेको छु।“ 11 वटा जति कविता लेखेको छु।“
“सुना!“ - पौधामा पानी दिँदै गरेका तिनी बोले।
“पत्तामा होइन हौ, जरामा हाल्नु पर्छ पानी।“ - आगनको डिलबाट ठाड़ो गएको बाटोमा माथिबाट आउँदै गरेको एउटा मान्छेले भनिराखेर गयो।
“काँ’ सुनाउने त छैन नि।“ छोरो त्यहीँ थियो - “एउटा अलिकति सुनाउँछु ल -
धनको बद्ख्वाइँ गर्दैछन् तिनी
धनको बद्ख्वाइँ गर्दैछन् तिनी
कि ईश्वर हुनपर्छ
कि त लण्डिन्दैछौ तिमी। “
“कल्लाई भनेको ?“ बाबुचाहिँले सोधे।
यो अप्रत्याशित प्रश्न सुनेर ऊ अक्क न बक्क भयो। एकछिनमा भन्यो - “कविताले पनि कसैलाई भन्छ क्या हो।“
दुवै हाँसे।
*
हरिलाल टिभि हेर्दै गरेको कान्छो छोरोसित बसेर पत्र-पत्रिकाहरू पल्टाउँदै थियो। छोरोले टिभिमा देखाएर भन्यो - “बाबा हेर्नु सिंहहरू!“
“ए नानी! यो सिंहहरू होइन। यिनीहरू सिंहनीहरू हुन्। सिंहनीहरू झुण्डमा हिँड़छ। साना मसिना पाठा पठेक्रीहरूमा गुजारा चलाउँछ। इः यो के रे यस्को नाम?“
“हाइना“ छोरोले भन्यो।
“अँ, अहिले पो देखायो त। यो हाइनाहरूभित्र पस्नेचाहिँ सिंह हो उः। सिंहहरू एक्लै हिँड़छ, यसरी उः। गैँड़ाहरूमाथि झम्टिनु परयो भनेचाहिँ ग्रुप हुँदोरै’छ, ए...।“ हरिलालले हेर्दै कमेन्ट्रीजस्तो भन्यो। एकछिन डुब्यो पनि, पछि भन्यो - “बाँच्नुको सङ्घर्ष त इभोल्भ भा’को रै’नरै’छ, हामीजस्तै हो!“
“बाबा! ऊ गोही!“ छोरोले गहिरिएर हेरयो।
“हेर हेर।“ हरिलाल पढ़्नमै तल्लिन भयो।
तल्लो घरे रामवीरे हुर्रिएर भित्र पस्यो। भन्यो - “औ फूपा अलिकति नून लेऊ त!“
“के भो ?“
"इ कहिलेदेखि चुसेर ढाडिँदैरै'छ"
"छ्या: उता लैजा है। घर पुसेको छ।"
छोरोले बाहिर एकछिन हेरेर सोध्यो - “बा! तपाइँले कीरा मार्नु राम्रो होइन भनेको होइन?“
“अस्ति हामीले ओखली कुट्दै गर्दा जिप्टेर आएर एकजनाले टाउको हाल्यो नि? अन्त उसलाई चोट लाग्यो, होइन? हाउ, त्यस्तै हो। मार्नु हुँदैन। मरिहाल्यो भने राम राम भन्नुपर्छ। बाबु उ त्यो गीता र त्यो पहेंलो किताब हेर! हो त्यो अँ, बुद्धको, अँ।“
साना-मझौला दुईवटा किताब छोरोले तान्यो।
*
राति सल्लाह हुँदै गर्दा रामचरण त्यो बैठकमा पुग्यो। बैठकमा मानिस भेला भएका रहेनछन्।
पुग्दापुग्दै उसले सुन्यो -
“भुत्रोको जनहित। आफ्नै फुपा,काकाका नानीहरूलाई हुन्छ नि !“
रामचरण - “के भयो अरे! भन्दै भित्र पस्यो।
“ए होइन हौ!“ - भन्यो बीबीले।
केही यताउताका कुरा भएपछि रामचरणले भन्यो - “हाम्रा नानीहरू कोभन्दा को कम् छन्। हाम्रा निर्माताहरूले पनि काम नगरेका होइनन् ; तर खै त...“
“यता छ नि“, पल्लो कोठामा कोही बोल्यो - “काँ’ बाहिर लगेको? यहाँ राख न!“
अनि ‘ढुक्क’ आवाज आयो।
बाहिरबाट एउटा आवाज सानोबाट ठूलो हुँदै भित्र पस्यो - “भक्तले चढ़ाएको केरा होन्त...अ। पूजारीले आफ्नै मात्र घर ओसार्न पायो नि।“
अर्कोले भन्यो - “को गरिब छ हौ?“
दुईजना शरीर -‘ए ल है!’ भन्दै भित्र पसिसकेका थिए।
*
काइँला आज पनि मातेर घर आएछ।
श्रीमतीलाई एउटा थैली दिँदै भन्यो - “ला, बुढ़ी। पानीसित पुरी खा’।“
सुतेकी श्रीमतीले चान हान्लाजस्तो एउटा आँखाले हेरी र भनी - ‘अझै’
काइँलाले भन्यो - “ए। झोल छ ! चुहुन्छ।“
थुप्रै पानीशिशा र कागजका थुङाहरू यत्रतत्र छरिएका थिए।
“के हो यो?“ काइँलाले भन्यो।
“सोमबारको पेंड़ा। मङ्गलबारको लड्डु। बुधबारको बिरयानी। बिहिबारको सिङ्गड़ा। शुक्रबारको...“ श्रीमतीले भन्दै गई। तर काइँलाले रोक्यो -
“अनि खै खा ?“
श्रीमतीले भनी - “अझै!“
काइँला पूरा रिसायो। आज पनि अन्न नखाई मासु मात्र खाएर सुत्यो।
*
यो गाउँमा ‘साट्ठी सोपान’ भन्ने एउटा संस्था थियो। वुजुर्गहरूमा एकजना अलि वुजुर्ग थिए। भूइँको ढसनामा मजाले बसेका थिए। कोठामा किताबहरू, वाद्यवादनहरू, कलाकृति एकाधिक सजाइएका थिए।
ती वुजुर्ग बोले - “खास्मा नि महङ्गाइ बढ्नु, अधिकार हनन हुनु, जनताको धन कुम्ल्याइनु, हस्पिटल, शिक्षा, धरोहर आदिको सही व्यवस्थापन नहुनु जति छन्। ती सबै नै केन्द्रको कुरा हो। हामी त खोज्छौँ परिधिमा; तर सबै कुरो केन्द्रको हो। यो नालीको पानी सड़कमा किन बग्दैछ? बोनस किन छुट्दैछ? नाफा किन दुई गुणा ठगिँदैछ, सबै केन्द्रको कुरा हो। हामीलाई बित्थामा रिस किन उठदैछ ? हामीले पहिले केन्द्र खोज्नु पर्छ। केन्द्र भेटयो भने सबै समाधान छ। वेरोजगारी पनि हट्छ, बत्ती पनि आउँछ, संस्कृति पनि बाँच्छ। यही चुनौती छ कि केन्द्र के हो ? केन्द्र के सरकार हो? हामी त सरकार नामको हात्तीमा चढ़न खोज्छौँ, झरेर टेकिन्छौं पनि...“
नाकमा चश्मा अड़आएको एकजना स्वर उठ्यो - “हामीले राम्रो काम गर्नुपर्छ, समाधान त्यहाँ छ“ - बुजुर्गलाई हेरेर भन्यो - “होइन?“
बुजुर्ग बोले - “तपाइँले राम्रो काम के गर्नुहुन्छ ? तपाइँलाई थाह पनि छ कि राम्रो काम के हो? हामीलाई थाह छ ? मलाई त थाह छैन, राम्रो काम के हो?“
सल्लाहजस्तो स्वर अड़किँदै आयो - “राम्रो काम त्यही- अब, बाटोघाटो, पुल, खोला बनाउनु“
“हामीले नबनाएको हो?“ बुजुर्ग बोले।
पानको पीक बाहिर थुकेर भित्र पस्दै एउटा आवाज आयो - “ .... काम प्रेरणाले गर्न सकिन्छ। प्रेरणाले सकारात्मकताको अन्वेषण हुन्छ।“
“हो, तर प्रेरणा कहाँबाट आउँछ ?“
“कहाँबाट? कक् - केन्द्रबाट ?“ आवाजले वरपर हेरे।
“तब ! केन्द्र के हो?“ बुजुर्ग बोले।
“त्यसो भए तपाइँ होला केन्द्र“ एकजनाले उचालेर पछार्ने गरी भन्यो अनि ‘केक् केक् केक्’ हाँस्यो।
एकजना अर्का व्यक्तिले स्वीच दबाउन हात लम्काएका थिए, अस्तुलित भएर घत्रक्क आवाज भयो।
बुजुर्गले भने - “फेरि चिप्लिनु भो।“
*
बिहान दश वर्षे रमनले आँगनको डिलबाट अघिदेखि रूखमा ढुङ्गा हान्दै थियो। बल्ल ढुङ्गाले लागेर एउटा अम्बक झरयो।
ऊ खुशीले उफ्रयो। भन्यो -
“आमामा एउटै ढुङ्गाले झरयो।“
उपस्थितहरू सबै हाँसे।

त्यही रमनसित कलेज जाँदै गरेको मोहन भेट भएर सँगै माथिसम्म जाँदैथियो। रमनले कुरा झिक्यो -
“हिजो त हाम्रो स्कुलका साथीहरू छुट्टी भएर सबै चुच्चेढुङ्गातिर गयो नि!“
मोहनले आश्चर्य मानेर सोध्यो -
“किन सबैजना अन्त, चुच्चेढुङ्गातिर गा?“
“उनारूको घर त्यतै हो नि त!“ रमनले छोटो उत्तर दियो।
मोहनले टाउको हल्लायो। भन्यो - “रहस्य चिज नहुँदोरै'छ।“
*

माथिबाट हेर्दा त्यस गाउँको ठूलो मैदानमा आगोको धुनी बलिरहेको थियो अनि पुरूष अनि स्त्रीहरूको मिसिएको आवाज मुस्लो चारकन्दरासम्म फैलिइरहेको थियो।
जुमआउट भएर दृश्यमा पुग्दा - आदिवासि नृत्यजस्तो सबैजना कम्मरमा हात लगाएर जिस्किएको झुमिरहेका थिए -
पुरूष स्त्री दुवै थिए।
दुई चारजना स्त्रीहरू मकैका जुङा लगाएर अभिनय पनि गर्दै थिए। लयालु स्वरमा गाउँदै थिए - केटी पक्ष/केटा पक्ष-

गीतले तिमीलाई बाँधु कि
प्रितले तिमीलाई बाँधु कि
नबाँध माया हामीलाई
बाँधेको हुन्न जुनीलाई

आकाशको गङ्गा, आकाशगङ्गा
मायाले गर्दा मन चङ्गा
रूखको पातपात् एक हामी
आज त छौँ नि भोलि कोनि

तिर्सना लाग्छ मायाको
माया नै रै’छौ छायाँको
हिँड़ेको बाटो इति छ
हिँड़्न पर्ने त्यत्तिई छ

हाँसखेल सकेर, लिसा र मोनालिसा साथी-साथी, राति सँगै फर्किए। कति शान्त ठाउँ कि उनीहरूलाई कुकुरले धरि भुकेनन्।
अरू पनि धेरै थिए पुरूषहरू, उनीहरूका अघिअघि।
कोही विपरित दिशातर्फबाट आउँदैथियो । उनीहरूको भेट भयो, हाइहलो गर्दागर्दै केही लामै उभिएर कुरा पनि भयो एउटा झुण्डको।
अन्तिममा एकजनाले सोध्यो - "अनि खै त, यति मात्रै? " ै
"अँ, अनि अझै एकजना साथमा थियो। जानुपर्ने टाढो हो नि, जान्छौ के? पक्का? भनेको रिसाउँदै फर्क्यो उ त।"
उनीहरू हाँसे अनि छुटे।
*

आज स्कुलमा तासको घर बनाउने अनौठो प्रतियोगिता थियो। सबै अभिभावकहरू समेत त्यसमा भागिदार थिए। बादशाह, मेम, राजकुमार, योग्यता-अनुसार नम्बरका कार्डहरू। नयाँ प्लास्टिक कार्डहरू चिप्लिएर घरै बनिन सकिरहेका थिएनन्। कति कागजका कार्डहरूलाई पानीमा डुबाएर राखिएका थिए। सुखा कागजका कार्डहरूले चाहिँ घर एकदुई मल्ला उठिसकेका थिए। भिजेका कार्ड पाउनेहरू गुनासो गर्दैथिए।
“स्कुलमा जुवा खेलाएर“ पनि भन्दै थिए कतिजनाले। कतिजनाले भन्दैथिए कि “सिर्जनात्मक खेल।“ बनाउने प्रयास गरिरहेका थिए कतिजना।
फुकेर ढालिदिने पनि थिए कतिजना। टेबल हल्लाइदिने पनि थिए कतिजना। चेयरअप गर्ने थिए कतिजना। 'हुँदैन हौ' भन्ने पनि थिए कतिजना। मेला जस्तो लागेको थियो त्यहाँ।
सबैले आफ्नो घर भुलेको प्रतीत हुन्थ्यो।

राति साना साना दृश्याभिनयहरू आयोजना गरिएका थिए।
शिक्षक/शिक्षिकाहरू स्वयम्ले अभिनय गरेका थिए- विद्यार्थीहरू/अभिभावकहरू दर्शकमा थिए -

एकसिङे गैँड़ा - “आऊ! हमला गर! तिम्रोमा हिम्मत छ भने आऊ!
मान्छे - “तिमी गैँड़ा हौ। तिमीसित हाम्रो युद्ध हुन सक्दैन। युद्ध बराबरीसित हुन्छ। हामी हार अनि जितको युद्ध लड़दैनौँ। हार र जितदेखि उता हाम्रो युद्ध शुरू हुन्छ।“
एकसिङे गैँड़ा - “म चाहन्छु कि मेरो बलसित तिमी दाँजो गर! तिम्रो बल छैन यसैकारणले तिमी डराइरहेछौ।“
मान्छे - “तिमी दयाको पात्र हौ। म तिम्रो साम्राज्य नभत्काउन चुपचाप छु। तिमी पहिले नै हारिसकेका छौ।“
एकसिङे गैँड़ा - “तिमीले आफ्नो जितको स्वघोषणा नगर! म कसरी हारें? प्रमाण देखाऊ!“
मान्छे - “तिम्रो सिङ्गो वर्तमान स्थिति तिमी हारेको साक्ष्य छ। हारको लक्षण यो हो कि जो हारेको छ, उसले बारम्बार प्रहार गर्छ। म तिमीलाई प्रेमदान, क्षमादान दिन्छु। जो विजेता छ, उसले दोबोरा प्रहार गर्दैन। अब तिमीले उल्कापिण्ड नै उठाएर फ्याँक्यौ भने पनि त्यसको असर हुनेछैन, मान्छेको जातलाई। गैँडासित मान्छेले आफू हुनुको प्रमाण देखाउनुको कुनै औचित्य छैन।
(अरू मान्छे पात्रहरूले स्वरमा स्वर मिलाए ) - " हो हो, हामी यसैकारणले मान्छे हौँ कि हाम्रो सिङ र पुच्छर छैन। हामी त्यस अवस्थाबाट पार भइसकेका छौँ।"
मान्छे -" हे गैँडे तिमी स्वमुल्याङ्कित भएर, आफ्नो साम्राज्य सम्हाल !"
एकसिङे गैँड़ा - त्यहीँ ढल्यो। पल्टेर आकाश हेरयो।
सूत्रधारको प्रवेश - उसले कागज निकालेर पढ़्न लाग्छ - “दर्शकदीर्घामा बसेका सबैजना तपाइँहरू! यस सानो नाटकको उद्देश्य थियो कि हामीले सब्जीमा हरियोपरियो, सेतो, केशरी सबै मिलाएर खानुपर्छ।“
स्कुलका प्रिन्सिपल कुद्दै आए। उसको हातबाट कागज खोसेर यसो हेरे। कसैले नसुन्ने गरी, आत्तिएर साउतीमा चिच्याएर भने -
“यो कहाँ हो, यो अर्कोको !“
तर यो आवाज माइकले सबलाई सुनायो। साउण्डबक्सले ‘टेलड्रप’ भएको “ए...“ पनि भन्यो।
*
पर्दा लाग्यो। एकछिनपछि अर्को आरम्भ भयो। पर्ररर थप्पड़ी बजे -
पात्र क - थाह छ रेखाको पुर्वजन्म कस्तो थियो?
पात्र ख - बोका बनाउने हतियारको नाम के हो?
पात्र क - जयाको भन्दिछु।
पात्र ख - मान्छे कति फिटसम्म माथि उफ्रिनु सक्छ?
पात्र क - क्लिन्टनको भनुँ कि? कस्तो थियो ऊ दुई जन्म अघाड़ि।
पात्र ख - उतै बस्नु नि!
पात्र क - पूर्व जन्ममा कसरी पुग्न सकिन्छ भनुँ कि!
(यो पात्र क’को उफ्राई, डाइलगसितै रोचक थियो। उसको अनुहारको भङ्गिमा, हातको घुमाई, आँखाको सन्काई, ओठको मुस्कान, दुर हेराई आदिले हरेक डाइलगलाई पवित्र र पावन बनाइरहेको थियो। अघाड़ि बस्नेहरू मजाले हाँसिरहेका थिए। अरू बुझ्न खोज्दै गरेकाहरू पनि हाँस्न लागेका थिए।)
पात्र ख - “तिमीलाई कसरी थाह? कसको पूर्वजन्म कस्तो?“
पात्र क - “म चित्रगुप्तसित फ्रेण्डसिप हुँदा उसको किताब पल्टाएर हेरेको।“
(खुशी चिम्सो हाँसेको थियो)

(डिस्क्लेमर: प्रस्तुत कथाको पात्र, घटना वा कथावस्तु कुनै वास्तविक पात्रसित मेल खान गए, मात्र त्यो संयोग ठहरिने छ - सतीश)
पात्र क - कति बज्यो ?
*
पार्श्वमा दृश्यसितै सङ्गीत आरम्भ भयो।

एउटा कथाभरिको समय पूरा भइसकेकोले गाउँलाई जाग्रत चहलपहलमै छोड़ेर स्क्रीनमा नामहरू उँभो सर्न थाले।
सुधी पाठक ! कथाहरू छन्, भनिदिनलाई मात्र कथक छ। कथक नहुँदा पनि कथाहरू भइरहने छन्। कथकहरू महत्वपूर्ण नहुन सक्छन्। तर जहाँ कथाहरू रचिन्छन्, हेरिन्छन्, बिर्सिइन्छन्- त्यो भवन थियो र रहिरहनलाई कसैले झार उखेल्छ, कसैले रङ्गरोगन गर्दै आएको छ।
°

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।