असल कामको जताततै
सुखद हुन्छ रे तरङ्ग नै ।
गलत कार्यको सधै सधै
न गरिमा छ, छैन इज्जतै ॥
असल के ? खराब के कुरा?
मनमनै विचार है पुरा !
तब अगाडि क्यै हुँदैन रे
बढ निशङ्क लक्ष्यमा सदा ॥
सतत सत्यमा परे भर
बुझ कदापि हुन्न है डर ।
भय छ ढाँट औ असत्यमा
हृदय ढाक ली दया क्षमा ॥
नभन है चसक्क घोचने
वचन बोल रे मनै छुने ।
समयले ढिलै बताउला
तब असाध्य हर्ष पाउला ॥
गर परोपकार सक्दछौ
नगर बैरभाव, हानि लौ !
सुख र दुःख हुन् दुवै घुमी
सलल बग्दछन् नदी सरि ॥
वदनमा छ राम रामको
जप तथापि खल्तिमा छुरा !
नर चरित्र जो बताउँछ
नगर मित्रता सफा कुरा ॥
नगर हात पाउले खति
गर भलो तिमी सके जति ।
नरक छैन हेर्न जाउला !
तर अगाडि स्वर्ग पाउला ॥
मन सफा भए सुखैसुख
कुटिलता भयो भने दुख !
नरक अन्त छैन विश्वमा
मन रमेछ स्वर्ग भूमिमा ॥
(मनोरमा छन्द)