आजभोलि गाउँघर, शहरबजारमा चियापसल, चौतारोदेखि लिएर मदिरालयसम्म चुनावको बिरुवा रोप्ने र भोट फलाउने काममा हात जोड्नेकै बाहुल्यता छ ।
कुरा हिजो बेलुकाको हो, घर जाँदै थिएँ । बाटोमा केही मान्छेहरु आफ्नो दलको गुनगान गाउँदै रहेछन्। उनीहरु सबै आफ्नै दल राम्रो, आफ्नै दलले असल काम गर्ने, आफ्नै दलले मात्र जनताको भलो चिताउने, नैतिकवान, विकासशील, आर्थिक हित सोच्ने भन्दै थिए । जनताको आर्थिक उन्नतिका चिन्ता गरेको यतिसम्मकी आजसम्म भएका राम्रो काम जति सबै आफ्नै दलले गरेको भन्दैथिए । बिग्रेका, भत्केका, डढेका, खुइलिएका कुरा सबै विपक्षीले गर्दा हो पनि भन्न भ्याइरहेका थिए । जेहोस् गाली गर्ने र चुनाव जित्ने रणनीति नै मूख्य रणनीति थियो ।चुनावअघि यिनले देशलाई स्वीजरल्याण्ड, न्यूजिल्याण्ड बनाइसकेका थिए । चुनावअघि देश न्यूजिल्याण्ड नै बन्छ चुनावपछि न्यू बेग्लै र जुल्याण्ड बेग्लै बन्दोरहेछ ।
अली पल्लो टोलमा पूरानो पेडा पसलबाट रुस्ट भएका जस्ता थिए, नामका नयाँ पेडा पसलवाला । ती पनि विरोधका शैली त उस्तै उस्तै गरिरहेका थिए । त्यसमध्ये कोही पूरानाको खालबाट टकटकिएर आएका होलान् । कोही भने एकातिर चुठेर अर्कातिर टाँसिएका पनि होलान् । पूरानालाई गाली गर्ने र नयाँले सत्ता पाउँनुपर्छ देशलाई स्वीजरल्याण्ड बनाइदिन्छौं भन्नेहरू यो हुलमा बरोबर देखिन्थे ।
आयोगदेखि नियोगसम्म रोजगारीका नाममा आफ्नै आफ्नाको लाइन लगाएकाहरू लाखौं जनतालाई रोजगारी दिन्छौं भन्दै थिए । वृद्ध भत्ता बढाउनेदेखि हात्ती चढाउनेसम्मका सपनाहरू बाँडिएका थिए । सपना पनि होलसेलदेखि खुद्रासम्म छानी छानी लिन सकिने थियो । बिहान उठ्दा त ढोकैसम्म सपनैसपनाको खात लागेको देखिन सक्थ्यो । सपना अर्थात् घोषणापत्र । घोषणापत्र अर्थात् कागजमा मसीको खेती ।
अहिले दलभन्दा बदलको वर्चश्व रहेको पाइन्छ ।बदलहरू चुनावैपिच्छे दल बदल्ने हुँदा तिनले तिनका नेताका भाग्य पनि बदलिरहेको पाइन्छ । कोही पूरापूर खल्ती खलास पनि हुँदा रहेछन् । पैतृकदेखि जागिर बेपार अनेक गरेर किनेका घडेरी पनि तिनै बदलहरूले खाइरहेका छन् । एउटाको घर घडेरी रित्तिएपछि अर्कातिर सर्ने यस्ता बदलहरू सबैजस्ता दलमा बढ्दोक्रममा देखिन्छन् । भन्न त उनीहरू आफ्ना दलमा छउन्जेल आफूबाहेक अरूले राम्रो काम गर्दैनन् भन्छन् । अर्कोतिर पुगेपछि पनि त्यही भन्दाहुन् । त्यही भएर जता रहुन्जेल पनि आफ्नालाई भोट अर्कालाई चोट उनीहरूको मूख्य नारा नै बनेको छ । भोट माग्ने पनि फरक फरक तरिका हुँदो रहेछ । घर आगनमा हार गुहार गर्दै भोट मागिरहेको देख्दा एउटै अनुहारमा थोरै हाँसो अनि लाग्यो र थोरै रीस पनि- जितेर गएपछि मुहारै लुकाउने उनीहरु आज जनताहरुसँग त्यसरी मागिरहेको देखेर । नयाँ पूराना थुप्रै पार्टीबाट टिकट लिई उठेका उम्मेदवार, पार्टीविना उठेका उम्मेदवार लाइन लागेर भोट मागिरहेका छन् । कोही फेसबुकमा लाइभ आएर भोट मागिरहेका छन् त कोही टिकटकमा नाची नाची भोट मागिरहेका छन् । कसैलाई यही मौकामा नाम कमाउनु होला, कसैलाई दाम कमाउनु होला । यसरी थरिथरीका उम्मेदवारहरूको भीडमा हामी भोट हाल्नेहरू घेरिएका छौं । यसबाट गाउँशहरमा पूरापूर खर्चिलो तर रमाइलो वातावरण पो बनेको छ । कोही पेशाको राजनीति गर्ने, कोही व्यापार रुपमा राजनीति गर्ने, कोही राजनैतिक आडमा ठेक्का व्यापार गर्न राजनीति गर्ने, कोहीचाहिँ मुद्दामामिला तथा अपराधको आरोपबाट जोगिन राजनीति गर्ने । कोही सामाजिक काममा सकृय हुँदा हुँदै त केही डाक्टर, ईन्नजिनियर, शिक्षक, बेपारी अनेकन पेशाबाट राजनीति प्रवेश गर्ने । यसरी कोटीकोटीका मान्छेहरू उम्मेदवार देखिन्छन् । विश्वासको थाती तर आश्वासनको ताँती थियो । जति सुनाएनी कहिले नसकिने । बरु अर्को जुनि उनका आश्वासन सुन्न पनि अर्को जुनीचाहिँ लिएरै आउनु पर्लाझैं लागेको छ ।
संक्रमणकाल र बेबी गणतन्त्र भन्दाभन्दै माग्ने उही तर माग्ने तरिकामा परिवर्तन भएकामा झण्डै १५ वर्ष हुन लागेको गणतन्त्र पनि दङ्गै पर्दो होला । माग्ने मान्छेहरू मागेका माग्यै छन्- भोट । भोट दिँदा दिँदा दिनेचाहिँ माग्ने बनिसक्न लागिसक्यौं । हाम्रैअघि चप्पल पड्काएर हिँड्नेहरू अहिले करोडको गाडीका हर्न पड्काएर धुलो उडाउँदै हिँडेको हामीले देखेकै छौं । मांसाहारी ढाडे बिरालो मुसा नखाने साधु बनेजस्तो सदरमुकाम मात्रै बस्ने नेता पनि चुनावको मुखैमा भोट माग्नकै लागि जनताहरुको घर घर कोही साइकल त कोही पैदल धाइरहेका छन् । यस्ता यात्रीहरु देख्दा दिमागमा एउटा गीत याद आउँछ , ' मलाई यो जिन्दगीले कहाँ पुर्यायो ।' यिनलाई रहरले पुर्याएको त किन हुन्थ्यो र ? यो चुनावले माग्ने नै बनायो । राजनीतिज्ञ र डाइपर एकै कारणले फेरिरहनुपर्छ भनेर मार्क ट्विनले भनेका छन् । तर पनि "हजुर एक भोट मलाई दिनोस् न है ।" भन्दैछन् । शायद डाइपर फेर्ने बेला भैसकेको छैन कि !
पल्लो टोलको एक घरको आँगनमा आठ दश मान्छेहरू गोलो घेरा लगाएर भोट माग्दैथिए । कोही कोही उम्केर भाग्दै पनि थिए । नमस्कार पनि घुँडासम्मै निहुरिएर गरेका, नमस्कार खाने पनि दङ्गै परेका । अघिल्लो चुनावमा जितको माला लगाएर बिदा भएका एक थान मान्छे फेरि माग्दै थिए । ५ वर्षपछि फर्किँदा पनि माग्नेकै अवस्थामा ।एउटा युवाले बडो आँट गरेर नाक खुम्च्याउँदै भने- पहिले नि जितेको, खै रोजगारी दिउँला भनेको होइन ? पहिले पहिले जनता तर्सिन्थे अब नेता तर्सिन थालेछन् ।बरु लाज पचाएर भने- भाइ यो पटक त पक्का जागिर दिउँला । खै उनले पत्याए कि पत्याएनन् तर नेताजीले पहिले झुठा आश्वासन दिएर पत्याएका अनि अहिले उल्टै अत्याएकाचाहिँ पक्कै हो । एकछिन बसेर सुनेँ । आहा कति मीठो कुरा । निस्तै भात खाने हो भने पनि सुलुसुलु निलिने, घिउ हाल्नै नपर्ने । सगरमाथा पगालेर मिनरल वाटर बेच्ने । पहिले पानी जहाज किनेर तराईमा ल्याउने । त्यसपछि नेपालका नदी जम्मा गरेर समुद्र बनाउँने । पहिले रेल किनेर भरतपुरमा राख्ने अनी रेलका लागी बाटो बनाउन थाल्ने । जापानबाट बुलेट रेल किनेर हेटौंडामा ल्याउने अनी सुरुङ खन्न सुरु गर्ने । बच्चा पाउनु कहिले कहिले भोटो सिउनु अहिले । म त उभिँदा उभिँदै कल्पिँदै हाइपर लुप चढेर हावामा कावा खान पो थालेछु ।यदि नेताहरुले आफूले के के बोलेँ भनेर दोहोर्याएर सुन्थे भने पक्कै झूठ भन्ने शब्द शब्दकोषमा मात्रै हुन्थ्यो होला । सर्वज्ञाता उनले फेरी थपे- हेर्नुहोस् मैले पहिले जितेर गएपछि पनि तपाइँहरुको लागि धेरै कुरा गर्न खोजेको तर परिस्थिति र विपक्षीहरुले साथ नदिएकोले केही गर्न सकिएन । यसपालिचाहिँ जितेपछी सबैभन्दा पहिले तपाइँहरुको आश पूरा गर्ने वाचा गरेर अलि सुस्त बोले । "हामी अहिलेचाहिँ तपाईँहरुलाई माछामासु र रक्सी समेतको भोज दिनेछौं, नखानेलाई पनिरको व्यवस्था पनि हुनेछ ।" यति के भनेका थिए टोलबासीहरु बिरालोले कान ठाडो पारे जसरी कान ठाडो बनाएर सुन्न थाले । उनले फेरि थपे- अनि अलिअली नोट पनि दिने र जितेपछि सबैलाई रोजगारी र जागिर दिने ग्यारेन्टी छ है ...। यतिन्ज्याल उनका आसपास भोज खान कुर्ने बाहेक अरू कोही थिएनन् । उनको भाषण जारी थियो । उनले फेरि थपे – "मतदातालार्ई सिरक बाँड्छौ, राँगा, बोका, खसी, कुखुरा र रक्सी बाँड्छौ ।" त्यति मात्रै कहाँ थियो र । जनताको खेत खेतमै गएर धान काटिदिएछन् । कसैले गाईंभैंसीको लागि घाँस काटिदिएछन् । कसैले दूध दुहुन मद्दत गरे र यति गरेपछि जित्ने पक्का भएकोमा भर परे। चुनाव र खेतको चटारो संगै नपर्दो हो त यिनले के गर्दाहुन् ? यसरी उनले सकेजती भाषण लगाएर बिदा भएपश्चात् एउटा युवाले भने "मुखले जति राम्रो काम गरेपनि जितेपछी आफ्नै खल्तिमा नोट भर्ने त हो नि यी नेताले । त्यसैले सुन साथी हो नेतालाई लुट्नी भनेकै चुनावअघि हो । जसले जितेपनी हामीलाई केहि न केही त्यसैले जसले खान दिन्छन् खाने हो, जता नोट बाड्छन त्यतै जानी हो ।" चुनावअघि नारा नारासित, चुनावपछि झारा झारासित । उखानै छ नि भेडा भेडासित बाख्रा बाख्रासित । जे होस् उनको कुरा सबैलाई गजबको लागेको हुनुपर्छ सबैले सहमति जनाए र निस्किए । त्यहीँबाट अनि म पनि लागे घर तिर.. । नेता हुनु पनि कम्ता गाह्रो कुरो होइन रैछ । कसैले देख्न नपर्ने । घुस्याहा, भ्रष्ट, पुलिस प्रशासन कब्जामा राखेका, म्यान पावर र ठूला होटलमा लगानी गरेका । विदेशमा पैसा पठाएका । जे जति आरोप छन् जति पनि लगाउन पाइने ।
ठाउँमा पुगेपछि गर्नुपर्ने काम खुरुखुरु गर्नु नि । त्यसो गरे घरघरमा फोटो टाँसेर पुजिहाल्थे जनताले । अब त मतदाता पनि बाठा भैसके । सत्य युगमा वाण हानेर त्रिपुरासुर नष्ट गर्ने, अहिले व्यङ्ग्य वाण हानेर भोट माग्न आउनेलाई पानी पानी बनाउँछन् मतदाताले । उम्मेदवारले पनि कतिलाई उत्तर दिँदै हिँड्ने हो ? आफू चोखो छु भन्ने प्रमाण कतिलाई सुनाउँदै र पत्यार लाग्ने बनाउँदै गर्नु पर्ने हो ? आफू नेता हुनु परेको भए कस्तो हुन्थ्यो होला खै । हामीलाई जनता हुनभन्दा त उनलाई नेता हुन गाह्रो होइन होला नि है । नेता हुन पनि गाह्रो नहुन पनि गाह्रो । जदौ ।