15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भाँड़ाकुटी

कथा सतीश छेत्री November 13, 2022, 4:14 am
सतीश छेत्री
सतीश छेत्री

“आइज! याँ याँ!“ भन्दै हाप्पेन लगाएको राहुल कुदेर ढुङ्गामाथि चढ़यो।
“नाइँ, नाइँ त्याँ होइन।“ शिखा चिच्याई।
“यता जुम् न भनेको।“ सोहम रूखमा चढ़न लागेको भएर परबाट करायो।
रजत अघिदेखि हाँगामा हातले समातेर गोड़ाहरू पनि त्यहीँ फँसाई चमेरा जस्तो झुण्डिएको थियो, हाँस्दै ‘आउ आउ’ गर्दै थियो।
“याँ हेर् !“ देब्रेतिरबाट आउँदै गरेको अनहदले ठिङ्ग उभेर भन्यो। ऊ हातको सामग्री खानमै व्यस्त थियो।
उनीहरू ऊतिर आकृष्ट भए। हातमा पोलेथिन र काखीमा चट्टाइ चेपेकी शिखाले - “के हो?“ भनी।
“आँप“ - आँप खाँदाखाँदै ऊ राल सिङान भइसकेको थियो। आँप ‘आइसक्रिम’ जस्तो पग्लिएर उसका कुहिनाबाट चुहुँदैथियो र अहिले उसको मुखमा कोया थियो, जसलाई उसले हातमा घुमाउँदै मुखमा निकाल्दै हाल्दै, गर्दै थियो। मानौं कि कोयामा अब आँप अलिकति मात्र बाँकी छ।
सबै साथीहरू वरपर भेला भए। रूखमा झुण्डिने साथीहरू पनि आए।
“छयाः“ रेहानले भन्यो।
“के छ्याः ? बम्बाई आँप हो।“ अनहदले गर्वपूर्ण भन्यो।
“कल्ले ल्याइदिएको ?“ रजतले मुखको कोयालाई राम्रो ठिम्याउने कोशिश गरेर भन्यो, मानौं उसले राम्ररी हेरयो भने त्यो चिन्ने छ।
“बाबाले।“ फेरि कोयाको टाउको चुसेर भन्यो - “बाबाले बम्बाईमा फलेको आँप आफैंले टिपेर ल्याइदिएको।“ सानो ग्यापबाट उसले टक्क दुई रन निकाल्यो।
साथीहरूले एकअर्कालाई हेराहेर गरे।
“तेरो बाबाचाहिँ कै’ले बम्बाइ गयो नि?“ एउटा आँटीले प्रश्न गरिहाल्यो ?
“अस्ति बुधबार। हिजो त आ’को शुक्रबार।“
“ए आजु शुक्रबार हो ल!“ - दर्शिका कराई।
“शुक्रबार एउटा मात्र हुन्छ क्या हो ?“ उसले निखारपखार कोया चुसिसकेको थियो। भन्यो - “थाह छ? यो कोया रोप्यो भने यसको आँप हुन्छ पो त। रोप्ने हो?“
सबै चुपचाप भए। कोया जुठो थियो नत्र छोएर हेर्नुहुन्थ्यो, जस्तो गरे।
“कै’ले फल्च? हामीले भ्याउँदिन ? फेलि स्कुल लाग्छ हाम्लो।“ रेहानले भन्यो।
उठाएको टाउकोको आँखाले कोयालाई हेर्दै, घाँटी सुम्सुम्याउँदै सोहमले भन्यो - “फलेर के अर्नु ? सबै त जुठो फल्छ।“
“रोपिराख् न। फलेपछि त धोएर खाँदा भयो नि!“
“ल ल!“ भने कसैले।
“लु आइज त्यसो भए।“ भने कसैले।
उनीहरू मैदानको हरियो चउरको चिल्लो भागमा पुगे। राहुलले बाँसको सिन्का टिपेर खन्न थाल्यो। त्यो टवाक्क भाँचियो।
“होइन याँ’ नरोपुँ। याँ त फूटबल खेल्नेले उम्रेपछि किचिदिन्छ।“ दर्शिकाले भनी।
“काँ जानु त?“ वरपर हेर्दै रजतले भन्यो - “ऊ त्याँ जाऊँ न त, मैले खेल्दै गरेको ठाउँमा।“
“होइन होइन।“ सोहमले सबैको ध्यान खिंच्यो - “यो झुण्डिन्छ। अलि ठूलो भएसि हाँगा भाँच्देसि, काँ फल्छ?“
“न झुण्डी है तँ।“ कताबाट आइपुगेको चन्दनले टाउकोमा एक बजाइहाल्यो।
“ऐ भतुवा! मैले कै’ले झुण्डे। फलेकै छैन।“ झम्टिँदै रजतले रिसमय गुनासो गरयो। “तेरो आँपसाँप उखेलेर फ्याँकिदिन्छु म।“ - पनि भन्यो।
अनहदले कोयालाई मोतीजस्तो दुई हातमा पक्रिराखेको भएर बोल्यो - “आमामा हेर यसको मम्मीडयाडीको मुख।“
“खै ?“ दर्शिकाले माथिको बाटोमा हेरी।
“तँहरू नबाझी बस् है। अइ’ले हेर्न अइ’ले म।“ शिखा कराई।
यति बेलासम्म उनीहरू बिना सल्लाह निकै वर आइसकेका थिए। रेहान मैदानको पारिलो भित्तामा उक्ल्यो। कुरोको झार उखेलेर भन्यो - “याँ’ लोपुँ याँ।“
“पैरोले लान्छ हौ।“ दर्शिकाले भनी।
“बाख्राले खाँदैन नि!“ शिखाले भनी।
“फुतबल खेल्नेहलुले पनि किच्दैन“ - रेहानले पनि बोल्यो। ‘टु इस्टु वान’ भोट भयो, रेहानको आफ्नो भोटले। उसैले जित्यो।
सबैजना उक्ले। भित्तामा कान्टे कान्टे भएर दुई भाइले खन्न थाले। हातको डाड़ु बनाएर माटो उठाए। अनहद चुपचाप थियो। मैदानमा खड़ा थियो। उसले समातेको कोया थियो। उसको भङ्गिमा देखेर यस्तो लाग्थ्यो कि मानौं त्यो कोया नभएर कुखुराको चल्ला हो र भुइँमा राख्नेबित्तिकै कुदेर हराउँछ।
खनिसकेपछि रेहानले भन्यो -
“खै ले आँपको लुख?“
अनहदले दिनलाई मैदानबाट हात तन्कायो; तर त्यसअघि सोहम कहालियो - “ए पख्, पख्। काँ’ यो त जुठो छ। हातले छुन्छस्?“
दर्शिकाले यताउता हेरेर एउटा मानेको पात चुँड़ाएर उसलाई दिई। चुड़ाउँदा पात केन्द्रबाट ध्वार्रर भयो, तर फिकर त्यस्तो थिएन। रेहानको हातबाट मानेको पात चुराजस्तो भित्र छिरयो। कोया उसले नाङ्गा हत्केलाले नै समातेर माटोमा राख्यो। सबैजना मिलेर त्यसलाई माटोले पुरे।

ओर्लिएर तल आएपछि अनहदले भन्यो - “कसैले आँप फलेको देख्यो भने सुटुक्क खान पाउँदैन है।“
“अँ हो, हो।“ शिखाले भनी।
“तर..“ दर्शिकाले भनी - “खायो कि खाएन कसरी जान्नु?“
अनहद अघि आयो - “हेर् मेरो मुखमा सुँघ्।“
अनहदले ‘आँ..’ गरयो। दर्शिकाले धड़लाई पछिल्तिर राखेर, नाक मात्र अघि हुत्याइवरी ‘स्वाँक्क’ गरी - “के भो?“ भनी।
अनहदले भन्यो - “आँप गनाएन ?“
“आँप त गनायो।“ आफूलाई हेरिरहेको सबैलाई हेर्दै उसले भनी।
“हो ! आँप खानेको मुख गना’को हुन्छ।“ अनहदले गर्वसाथ भन्यो।
सोहमले भन्यो - “अन्त के गर्नु हामीले?“
“जसले यो फलेको आँप खा’को हुन्छ, उसको मुख गना’को हुन्छ।“ अनहदले समाधान नै गरिदियो।
रेहानले भन्यो - “त्यसो भए हाम्ले मुख सुङ्नु पल्छ।“
“एक मिनिट !“ रजतले भन्यो - “डयाडीले ल्याइदिएको अरू आँप छ भनेचाहिँ ? आँपै त गनाउँछ। कसरी जान्दछस्?“
यति बेलासम्म कुरा बुझिसकेकी दर्शिकाले भनी - “जसले पनि जुन दिन घरमा आँप खान्छ, ऊ खेल्न आउँदैन लु!“
सबै राजी भए।
रेहानले भन्यो - “तल आँप चाहिँ कस्तो गनाउँच?“

दिनहरू धेरैवटा बितेर गए; तर आँप उम्रेन।
बुधबार पनि आयो, स्कुल पनि लाग्यो। आँप उम्रेन।
आँप रोपेकै ठाउँमा उनीहरूले रातो पानीशिशा पनि सिन्कामा गाड़ेका थिए। अस्ति रजतले त हेर्न जाँदा सुल्किएर मैदानमा पाखुरा पनि छिल्यो। उनीहरूले आँप रोपेको वरपर कोटयाएर हेरे - कतै जरा उम्रेन? कतै कमिलाले पो बोक्यो कि ? कतै उखेलेर कसैले लग्यो कि ? उम्रँदै नउम्रेपछि उनीहरूले यस्तो पनि विचार गरे कि न त्यो कोया भित्र भित्रै पसेर खोला पुगेपछि पानीले बगायो कि?

अनहदले उनीहरूलाई आँपसम्बन्धी जम्मै कुरा जानकारी गराइसकेको थियो। जस्तै कि आँप किन लहरामा फल्छ ? आँपबाट कसरी धागो बनाएर लुगाहरू बनाइन्छ? ‘बम्बाई आँप’ र ‘मद्रास आँप’-मा के भिन्नता छ ? माछाले आँप कसरी खान्छ ? आँप रोप्नेको घरमा लक्ष्मी माताले कसरी बास गर्छ ? आँपमा किन चन्द्रबिन्दु छ ? आँप रोप्दा किन पूर्व पार्नु हुँदैन ?
साथीहरू सबै छक्क परेर मुख आँ गरेर उसलाई हेर्थे।
रेहानले भन्यो - “आँपको लहला हुन्छ क्या हो ? गधा। आँप त लुकमा फल्च।“
अनहदले भन्यो - “त्यो रूख इस्कुसको हो। आँप फल्ने भनेको लहरामै हो। देखेको छैनस्, इस्कुसको रूखमा आँप फलेको ?“
रेहानले सम्झ्यो - ‘हुन त उसले देखेको हो। लहरा भएको रूखबाटै उसले बाबैको घरमा आँप झारिमागी खाएको थियो। छेउमा फलेको थियो। आकाशको छेउमा। सोधिएन कि रूख इस्कुसको हो कि आँपको हो।’ कुखुराले आकाश हेरेको जस्तो उसले अनहदलाई हेरिरहयो।

आँपसम्बन्धी सबै कुरो थाह भो’ तर आँप उम्रेन।
यसरी नै फेरि सप्ताहन्तको छुट्टी आइपुग्यो। कतिवटा घाम डुबेर गए, उनीहरूलाई निश्चित थाह छैन, तर आँपले उम्रन ढिलो त गरेकै हो - भन्ने कुरोमा त्यहाँमध्ये कोही पनि असहमत भने थिएनन्।

शिखाले सधैँ बोकेर घुम्ने चट्टाई ओच्छयाएर उनीहरू बसेका थिए। रातो ग्यास सिलेण्डर, ग्यास सिलेण्डरभन्दा ठूलो कप, कपभन्दा अलिकति सानो टेबल, टेबल जत्रै सेतो चारवटा थाल। बिर्को जस्तो हरियो बटुका ६ वटा। ठड़िनै नसक्ने, भुइँमा गाड़नु पर्ने दुईवटा गिलास। एउटा जङ्गली भालु। एउटा पाण्डा। एउटा रेल, एउटा हवाजहाज, दुईवटा साइकल। उनीहरूका सम्पति थिए।
दर्शिकाले भनी - “आमा को हुन्छ ?“
रेहानले भन्यो - “म हुन्चु! आमा।“
शिखाले भनी - “होइन, तँ न हु आमा। थाल नै पुग्दैन।“
रेहानले भन्यो - “ए घन्ता पनि! म त जान्न आजु विदेश।“
रजतले भन्यो - “होइन। जानु पर्छ, हिन्न म पनि जान्छु।“
दर्शिकाले भनी - “अँ, ऊ पनि जान्छ।“
रेहानले भन्यो - “अनद्?“
अनहद् बोल्यो - “म बाबा।“
शिखाले भनी - “अँ ऊ बाबा। म छोरी। किताप छैन, म कलेच पढ्चु।“
सोहमले भन्यो - “आमा खै ?“
शिखाले भनी - “आमा को ? आमा... ? ऊ आमा!“ दर्शिकालाई समाती।
“उम्म्... कतिपल्ट आमा हुनौ!“ - दर्शिकाले आँखा र नाक, एक ठाउँमा ल्याएर मुठो पारी।
“के हुन्छौ त?“ शिखाले भनी।
“म पाइलट!“ - दर्शिकाले छिटो उत्तर दिई।
“होइन“ राहुल करायो।
“नकरा! चुप लाग्।“ शिखा कराई - “म हुन्छु आमा! तिमी पाइलट हुव।“
“अन्त कलेच चैँ को पढ़छ?“ सोहमले सोध्यो।
“तँ चुप लाग्।“ शिखाले भनी।
“अहिले ! ऐ बोक्सी!“ - सोहमले भन्यो।
रेहानले भन्यो - “योछित नमिल् ऐ।“
रजत - “आइज, तिम् र म मिलुम्।“
दुवैले कान्छी औंली गाँसे।

विदेश जाने केटाहरू सोझै गएर हाँगाजस्तो गायोको रूखमा चढ़ेर हल्लन लागे। मुखबाट हावाजहाजको आवाज गरे। दर्शिका आमाले गरेको फोन उनीहरूको हावाजहाजमै आयो। (वातावरणमा ठूलो बोलेको हल्ला छ)
आमा - “छोरा विवेक, जानेबित्तिकै आँप पठाइदिनू ल।“
रेहान (विवेक) - “हुन्च ममी। कति केजी ?“
अनहद - “केजीमा हुँदैन। मिटरमा हुन्छ।“
दर्शिका - (मोबाइल कानबाट अलि पर राखेर) हाँ?
अनहद - मिटरमा भन न मिटरमा।
दर्शिका - अँ हिटरमा हुन्छ छोरा।
अनहद - हैत् लाटी! (कराएर) मिटरमा हुन्छ, मिटरमा।
रेहान - (हावाजहाजबाट तल गाउँहरू हेर्दै) हुन्च, बाजे।
“ए बाजे होइन।“ सबै गललल हाँसे।

“ऐ यहाँ आइज त,तँहरू !“ माथिबाट हातमा मानेका डाँक्लासहितका पातहरू बोकेका राहुलका बाबा कराए - “पच्छारिस् भनेचाहिँ म त्यहीँमाथि थप्छु नि!“

उनीहरू विदेशमा ओर्लिए। आँपै आँपको खेती छ यहाँ त। चारैपट्टि लहरैलहरा। कति आँप फुल्दैरहेछन्, कति आँप चिचिलाउँदैरहेछन्। कति आँप कँचिलो। कति आँप पाकेको। कति आँपले त धागो बनाइँदैरहेछ। कति आँप माछाले खाँदैरहेछ।
“लौ यो तीन भाइ कहाँ पसेको हेर यस्तो गर्मीमा? त्याँ अहिले रगतपच्छे हुनका लागि“ - तलबाट एकजना बड़ा कराउँदै तेर्सो गए।
विदेश जाने भाइहरूले हेरे - छेउमा देखे; जनसभा हुँदैरहेछ। एउटा मान्छे माइकमा बोल्दैरहेछन्।
रेहानले भन्यो - “ए हाम्लोलागि होइन। घलमा आँप पथाम्।“
उनीहरू घरमा आँप पठाउन, आफैं आए।

“आँप।“ रजतले भन्यो।
अनहदले मुरूकमुरूकमुरूक आँप खायो। उनीहरूले बिलौनेका पात ल्याएका थिए, मुट्ठीमुट्ठी, रूपियाँ।
रेहानका बाबुले भालु बाँस बोकेर जाँदैथिए, ठड्याएर, हेरे - “के खा’कै तँ’हरूले? बेलुका भुँड़ी दुख्यो भन् न, ओखती मैले जानेको छु।“
शिखाले देखी - पानी पर्न लागेको दिन भएछ। गाड़ाङ्गुड़ुङ कत्रो गरेको। उसले कान थुनी।

“दर्शु ! ऐ दर्शु !“ - दर्शिकाकी आमाले माथिबाट बोलाइन्।
“हजार!“ - आमाको आवाजतिर हेरी दर्शिकाले।
“बाबु ! यो मुनुलाई बान्देऊ न, छोरी! दाजु छ, पर जाऊ’त। यसको ममी त्यतै छ।“ आमाले एक सासमा भनी।
“आँ, म त जान्न ममी । यसले मलाई ठेल्छ। बेउरै छैन यसको“ - दर्शिकाले कराई।
“त्यो लड़ाउने त छुनु पो हो त“ - आमाचाहिँले भनी - “यो मुनु हो, बाबु।“
दर्शिकाले आमालाई - “आँ होइन।“ भनी, अनि राहुलले आँखा झिम्कयाउँदै गरेको देखेर अलि ठूलो साउतीमा सोधी - “के अरे?“ फेरि आमाचाहिँलाई नै भनी - “होइन कि ममी! छुनुको पनि ब्यौरै छैन। त्यसले पनि ठेलेल लड़ाउँछ।“ उसले सासको ‘ग्याप-ग्याप’ मा हातमा चँुिड़दै गरेको पत्ता हेर्दै भन्दैथिई -“... छुनुले त अस्ति दूत् खाँदै गर्दा...“
“यहाँ आइज त! चुपो लागेर छिटो।“ आमाको स्वर अलिकति तिखो बज्यो।
उसले रिसाएर ‘हुन्छ’ भनी।

लहरै साथीहरूसित मुनुलाई बाँधेर ऊ मैदान छेउ पुगी। त्यहाँ पुग्न साथ उनीहरूलाई पूर्वजन्मजस्तो आँपको सम्झना आयो। हिसाबले हो भने यति बेला फल्नु पर्ने आँप, उम्रिएको समेत देखेनन् उनीहरूले। आशिष र राजु आँपको बिउ रोपेको ठाउँमा उक्लिए। आलो माटो पनि पूरानो हुँदैरहेछ। पानीकागज सिन्काकै सिह्रान हालेर लड़ेछ। त्यहाँ केही थोपा पानी जमेछन्।
रजतले दुई चिम्टीले पानीकागज उठाएर सबैलाई देखाएर भन्यो - “सायत, यहाँ कोइ आयो होला। मलाई त ठिक लागेन है चालामाला!“
“किन के भो ?“ शिखाले सोधी।
रजतले भन्यो - “यहाँ जुत्ताको डाम छ।“
रेहानले भन्यो - “कसले जुत्ता ? कसले लाउँच।“
सबैले आ-आफ्नो खुट्टामा हेरे। सबैले जुत्तै लगाएका थिए, अनहद बाहेक।
अनहदले हाँस्दै टाउको हल्लायो - र चोर औंलीले रजततिर देखायो।
“के भयो ?“ रजतले आँखा फुकाल्यो।
“तैँले?“ शिखाले भन्यो।
“के मैले?“ रजतले छाती सिधा पारेर, पखेटाजस्तो दुईवटा हात कम्मर मुनि खोल्यो।
एकाधिक साथीहरूले टाउको हल्लाए - “हम्म..“
अनहदले भन्दै गयो - “यो आँप फलेपछि रजतले खानु पाउँदैन है।“
“तेरो आँपको कल्लाई चिन्ता छ?“ रजत डाँड़ामाथि उक्लेर खन्न थाल्यो।
“ऐ आह्रिसे!“ तलबाट अनहद कराउँदै थियो।
साथीहरू अक्क न बक्क परे। के गर्ने के नगर्ने स्थिति भयो।
तर के अचम्म ? कोया उम्रिन आँटेको त होइन, कोया नै त्यहाँ थिएन।
“खै बिउ?“ रजतले आफैंलाई सोधेको, सबैले ठाने कि हामीलाई सोधेको।
“खई..?“ भन्दै सबै आए।
अनहद तलै थियो।
“ए बाहियात्!“ हावामा हात हल्लाइराखेर ऊ गयो।

यस्तै चार बजेको हुनपर्छ। अनहद्ले गमलाहरूमा पानी हालिरहेको थियो। घरको बार्दलीमा पिंजराभित्र हरिया चराहरू थिए।
साथीहरू लहरै आँगनमा देखा परे।
सोहम त्यहाँ थिएन।
रेहानले भन्यो - “आँपको लुख तिम्ले उखालेको लै’च त।“
अनहदले पानी हाल्दै गरेको रातो प्लास्टिक हातमा झुण्डायो - “कसरी था’ पाइस्?“
शिखाले भनी - “हामीलाई हल्दार्नी मामले भन्नुभ’को?“
अनहदले भन्यो - “रजतले पोल हालेको होला ?“
रजत - “म त सोध्नु मात्रै आ’को ?“
सुफी नर्तकहरूले जस्तो उसले दुईवटा हात सुइँक्क आकाशतिर फर्कायो।
अनहदले भन्यो - “खै सोहम?“
शिखाले भनी - “किन ? आएन त्यो ।“
अनहदले गम्भीर भएर भन्यो - “त्यो उखेल्ने अर्कै छ।“
रजतले भन्यो - “अघि किन नभनेको, त्यो उखेलेको छ भनेर ?“
अनहदले भन्यो - “त्यो मैले बिर्सेँ।“

भोलिपल्ट।
दर्शिकाले यसपल्ट दोकान थापी। बोतलको धारदार बिर्कोले गोलो गोलो काटेको हरियो रोटीसित घरको साँच्चीकै मुसुरी दाललाई पानीमा भिजाएर, दाल-रोटी बिक्री गरिरहेकी थिई ऊ। सोहम खान बसेको, दालमा साह्रै पीरो हालिछ दर्शिकाले। सोहम पीरोले स्वाँक-स्वाँक गर्न थाल्यो। शिशाकलमको बिर्कोमा पानी भरेर उसले पानी पिएको कक्लक कक्लक कक्लक गरयो। अरूले देख्दा सबै पानी च्यापुलाई नछोइ खस्यो; तर उसको पीरो मरयो।
“दाजु एउटा रोटी थपिदिउँ?“ सिलेण्डरको नदेखिने आगोमाथि प्लास्टिकको कराईमा रोटी सेक्दै दर्शिकाले भनी।
“होइन बैनी आज त पाँच सय रूपियाँको रोटी खाइसकें। तेह्र रूपियाँ गोटा होइन ?“ सोहमले मुख पुछ्दै भन्यो।
दर्शिकाले ‘हजुर दाजु!“ भनी र दाजुकोबाट पाँच सय रूपियाँको नोट थापी अर्कौलोको एउटा पत्ता। पत्ता राख्ने ठाउँ नहुँदा भान्साघरको भाँड़ाकुँड़ा सबै, पैसाले छोपियो।

यता राहुलको पनि लुगा दोकान थियो - केराको पत्ताको। लुगा आयात गर्नु घर-केराको थाम ढाल्नु परेको हुनाले उनीहरू सुरक्षित बस्ती खोज्दै आज, घरहरूदेखि निकै टाढ़ा पुगेका थिए। अनहद पैसा गन्ने साहु थियो। रहल थिए उपभोक्ता।
अनहदले साहुकारिताको भूमिका बड़ो दक्षतापूर्वक धान्दै थियो। कतिवटा दोकानहरू यस्ता थिए, जहाँ उपभोक्ताले एक्लै वार्तालाप गरेर समान किनेर आउँथे। तीनजना उपभोक्ताको बस्तीमा समान यति छिटो सकियो कि माल आयात गरिनु पर्ने भयो। उनीहरूले यतिबेला आँपको प्रसङ्गै बिर्सिपठाए।

कथाले मागेपछि रेहान विदेश जाने छोरो हुन पुग्यो। ऊ सरासर गएर रूखमा चढ़्न खोज्दैथियो। फेदमा आलो माटो देखेर घोरिएर हेरयो। घुँड़ामाथि पेट राखेर फू फू गरयो। दुई औंलाले झार सिन्का पन्सायो। त्यति गर्दा भित्रबाट माटो लागेको सेतो सेतो खस्रो वस्तु देखियो।
उसलाई ठम्याउन गाह्रो परेन कि त्यो त्यही आँपको कोया हो। ऊ खङरङ्ग भएर करायो। सबैजना दगुर्दै आए। हेरे त कोया त्यहाँ छ।
सबैको मिलिमतोमा त्यसलाई माटोबाहिर निकालियो। हेरियो। हो त्यही कोया हो।
“अरे! बब्बा हो!“ भन्यो सोहमले।
दर्शिका रातो भएर उभिई।
“यो जसले पनि यसो गरेको हो नि...“ रिसायो भने सोहमले भूमिकासाहित गाली दिन्थ्यो। अहिले पनि उसले ऋषिमुनिले जस्तो श्राप दिनै आँटेको थियो।
“नकारै!“ भनी दर्शिकाले। थपी - “आँपको लहरा हुन्छ भने त्यो भित्तामा कसरी फल्छ ?“
“अन्त ?“ भन्यो रेहानले, भनिसक्दा उसको ओठ ‘अ’ र आँखा फारिएको थियो।
ऊ रोई - “तँहरूलाई किन भन्नु ? यो आँपको बिउ मैले मैदानमा भेटेर रोपेको।“
अनहदले च्यापुलाई घोक्रोतिर ठेलेर आँखाले दर्शिकालाई हेरी हाँसुला हाँसुला ओठ बनाइरहेको थियो।
रजतले भन्यो - “मैले सोचेको थिएँ, आँप फल्यो भनेचाहिँ फस्टको आँपले हामी अलिकति पाटी गरौं भनेर।“
रेहानले भन्यो - “आँप फलेपछि फस् चाहिँ तिमालुलाई के अले, खानु दिन्तें।
शिखाले पनि भनी - “मम् त तिमारूलाई खानु दिन्थेँ।“
दर्शिका - “त्यै भनेर त। तर यो बिजन त्यहाँ कसरी आयो मलाई था छैन।“ सुँक्क सुँक्क गरी।
अनहदले भन्यो - “अनि किन रून पर्छ तँचाहिँ।“ हाँस्यो। भन्यो - “अर्को आँप खाँदा म ल्याइदिइहाल्छु त बिउ!“
रेहानले भन्यो - “त्यै त!“
रजतले कोया हेरेर भन्यो - “पर्दैन। जुठो उम्रिँदैन न’ले!“
“तँलाई के थाह छ आँपको बारेमा ?“ अनहद कड़कियो - “कै’ले खा’को छस् आँप?“

तलबाट पानी बोकेर आएको फूपाले ठिङ्ग उभिएर सबैको मुखमुखमा हेरे।
“के हो यो जङ्गलमा, गुन्गुन्गुन? काँ, काँ पनि पुगेको गाँठे?“
गाग्रीलाई छोरीजस्तै काँधमा बोकेको उनी, जङ्गलको छावैँछाउँ उकालै लागे। उनको चप्पल पेटेक पेटेक बज्दै उनीसितै गयो।

साँझ परयो। ठूलो साँझ। बाटोमा पर्ने ढुङ्गाको देवालमा ठूलो पाइप गाँसिएकोबाट पानी छललल खसिरहेको थियो। त्यस जलथलको ढुङ्गामाथि पखेटानुमा एउटा आकृति फरफरफर हल्लेर भुर्र तेर्सो तेर्सो हुँदै आकाशतिर गयो। त्यस आकृतिले छोएको चिसो बतासको उँचाईबाट पर देखिएको भित्ताको निश्चित दुरीहरूमा बत्तीहरू बलेका थिए। कसको घरमा हो, मधुरो स्वरमा गाएको ‘न धन त्यागेर’ टाड़ामा आवाज आउँदै थियो। साङ्को होला, गहिरो बास्नाले परिवेश सुगन्धित थियो। त्यतै नजिकबाट दुईवटा आगोको राँको तेर्सै तेर्सो हिँड़ेर आउन लाग्यो।
उनीहरू सोहम र रजत थिए, एकएकवटा राँको बोकेर ढुङ्गाको बाटोहरू टेक्दै गइरहेका थिए।
रजत - “म तँलाई पुराउन आएँ। मलाई पुराउनु आइज नि!“
सोहम - “ल! म घरमा पुगेपछि तँलाई पुराउनु आउँछु। ए तर...“ ठिङ्ग उभियो ऊ।
उज्यालो जतिले देखेको नाकको मुनिको बाटोमा फोकस गरिरहेको रजत, सोहमसित ढवाक्क ठोक्किन पुग्यो। खसीको टाउको पोलेको जस्तो गन्ध पनि आयो।
“हिन्न। चोर!“ रजतले भ्वाक्क हिर्कायो।
“होइनौ!“ सोहमले भन्यो - “अन्त कसरी बस्नु घर? पुराइबस्नु पर्दा ?“
सोचेको जस्तो गरयो रजतले र फेरि भन्यो - “त्यसो भए के गर्नु ?“
केही बेरको अलमल भयो उनीहरू दुईको।
“होस्। तँलाई पुरयाइदिन्छु पहिला हिँड़।“ सोहमले आँट देखायो।
“अनि तँचाहिँ ?“ रजतले भन्यो।
“मलाई हेर्दे न, आँगनबाट!“
दुवैवटा राँको आएकै बाटो फर्किए।

परिवेशमा किरकिरकिरकिर आवाज घनीभुत हुँदै गयो।

रेहान आँगनको घाममा उभिराखेको थियो। तलबाट कोही उकालो हिँड़ेर आइरहेको थियो। उसले आमाजस्तो देख्यो; तर छेउमा आइपुग्दा त दर्शिका पो रहिछ।
दर्शिकाले स्याँ स्याँ हुँदै भनी - “ए रेहान। हिँड़ छिटो तिमी सप्राइज हुन्छौ देखेर।“
“किन ?“ आश्चर्यमिश्रित स्वरमा उसले भन्यो।
“सुन न हाम्रो आँप फलेछ।“ उसले एकै सासमा भनी। रेहानको भित्री निराशा केराको गाछ जस्तो ढल्यो। ऊ बुरूक्क उफ्रयो। उनीहरू कुदे ओह्रालै।

पुगेर हेर्दा त देखियो - साँच्चै त हो ! आँप त लहराएर कहाँ पुगेछ। रूखलाई ढाकेछ। आँपैआँप चिचिलाएछन्। रातो फूल फुलेछन, डम्मै। कुनै त निकै ठूलो पनि भएछ। सबै साथीहरू ठिम्याउने कोशिश गरयो उसले। अनहद, शिखा, रजत अघि भेला भएर त्यो मचान हेरिरहेका रहेछन्।

यतिबिना आँप उनीहरूले जिन्दगीमा देखेका थिएनन्। सबैले अनहदलाई बोकेे। सबै खुशीले चिच्चाए, यतिबिना चिच्चाए कि उनीहरूको आँसु निस्क्यो!! अनहदको खुशी बेहद् थियो।

त्यति मात्र कहाँ हो र! त्यहाँ त अम्बक र आइफल पनि पो फल्यो। सरले स्कुलमा ‘लिभिङ थिङ’ पढ़ाउँदा ‘प्लान्ट’ पनि जिउँदो हो भनेका थिए। उसले आज देख्यो - साँच्चै हो रहेछ। उसले टिप्नलाई हात बढ़ाएको थियो - प्याट्ट फिटले हेडमास्टरले हिर्काउनु भयो। भन्नुभयो - “हात नधोइ खानुहुँदैन। हातमा जम्स् हुन्छ।“

ऊ हात धुनु खोला गयो। खोलामा त पानी नभएर दूध बग्दैरहेछ। केही मानिसहरू झिङैझिङा भएर आउँदै रहेछन्। “उसले के भयो काका ?“ भनेर सोध्यो। ती नै मध्ये एकजनाले भन्यो -
“दूधले नुहायो भने झिङा बस्छ। दूध मैला हुन्छ, शरीर सफा हुँदैन। नुहाउनु छ भने पानी खोज्।“ उनीहरू कुइनेटोपारि छेलिए।

रेहानले खोलालाई हेरयो। कतै कतै नौनी तैरिँदैथियो। ऊ फर्केर हात नधोई उकालो आयो।
“आँप फलेको दिन रजतले पाटी खाने भनेको थियो।“ उ सम्झना गर्दै आइपुग्यो। साँच्चै रजतले भन्दैरहेछ -
“आज हाम्रो पाटी हो। हामीसित दुईवटा खानेकुरा छ - एउटा करेला भाजी र हलुवा। भन साथी हो, पहिला कुन खाने ?“
रमाउँदै गरेको सोहमले सुनेर भन्यो - “म भात खान्छु।“

रेहानले केही निर्णय गर्न सकेन।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।