16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सम्पूर्ण पूर्ण

कविता सतीश छेत्री November 13, 2022, 4:16 am
सतीश छेत्री
सतीश छेत्री

मान्छे कहिले नछिप्पिनू
मान्छे छिप्पिनलाई थोक होइन
छिप्पिएपछि कुरा बेग्लै हुन्छ।

रात छिप्पिने कुरा हो
रात छिप्पिन्छ
रात छिप्पिएपछि
त्यसमा नङ् गाडिँदैन।

बोका छिप्पिने बस्तु हो
बोका छिप्पिन्छ
बोका छिप्पिएपछि
सुगन्धमा रहँदैन।

जाँड छिप्पिने कुरा हो
जाँड छिप्पिन्छ
जाँड छिप्पिएपछि
त्यसमा कीरा पर्छ
एकअर्कालाई खान्छ।
सद्भावनामा रहँदैन।

मुला छिप्पिने कुरा हो
मुला छिप्पिन्छ
मुला छिप्पिएपछि
त्यसमा काठ पस्छ
रसमा रहँदैन।

रूख छिप्पिँदैन
रूख
फलदार हुँदै जान्छ
खोला छिप्पिँदैन
खोला बग्दै जान्छ
घाम, जून, तारा
केही पनि छिप्पिँदैनन्
ती सबै
महानिर्वाणतिर धकेलिँदै जान्छन्।

अङ्क छिप्पिँदैन
बरु !
९ मा पुगेपछि
शून्यमा हाम फाल्छ
अनि अनन्ततातिर पाइला बडाउँछ।

तरलताबाट गरलतातिर उक्लेको
हामी मान्छे
जाऊँ फर्कौँ
सरलतातिर, कोमलतातिर उतै।
नपर्खौँ
कोही छिप्पिन्छ भनेर अब
नकोरौँ नङ्ले सिमा
बाईँटुक्री खेल्नलाई।

सृष्टिलाई थाह छ
कसलाई कति छिप्याउनु पर्छ
सृष्टि नै छ नछिप्पिनुको पक्षमा,
देखेनौ
डायनोसर मारेको ?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।