आज साताको छुट्टीको अन्तिम दिन, आइतबार नोभेम्बर ६ तारिक । आजै बिहान ज्वाइँ वीरेन्द्र र बुद्धको सल्लाह भएछ भिक्टोरिया, बालाराटको सोभेरेन हिल म्युजियम घुम्ने । त्यसो त हिजो शनिबार मात्रै हाम्रो परिवार मेलबर्न सिटी घुम्न गएको । थकाइ अझै बाँकी नै थियो । थकाइकै कारण छोरी विमर्शा भने आज कतै नजाने भई । ऊ नजाने अर्को पनि कारण रहेछ, आज बिन्जुको पनि ड्युटी परेकाले उनी पनि यात्रामा सहभागी नहुने रछिन् । त्यसैले दौंतरको पनि अभाव ।
अँ, हिजोकै गन्तव्य आजभदा रमाइलो हुनुपर्ने हो । किनभने मेलबर्नको सबैभन्दा अग्लो महलको ८८ औं तलाबाट आँखाले भ्याएसम्मका दृश्यहरूको आनन्दलाभ अनि वरिपरिका टाढाटाढाका मनोरम फाँट, समुद्रकिनार, बन्दरगाह, ससाना बोट, स्ट्रिमरदेखि लिएर विशालकाय पानीजहाजहरूको सामुद्रिक आवागमनको रमिता । सहरबाहिरका बस्तीहरू भर्खरै रोपाइँ गरेका खेतमा धानका गाँजका लहर जस्तै तरेली तरेली आवासीय घरका लहरहरू । क्या रमाइला बस्तीहरू विकसित मुलुकका ! अझ पर पर देखिने विशाल घाँसे मैदानहरू, हरिया जङ्गलहरू अनि थुम्काथुम्की पहाडहरू । सिधै उँधोतिर नजर लगाउँदा तलबाट भव्य र गगनचुम्बी देखिने महलहरू त कति होचा, बामपुड्का ? त्यहाँको नजाराको आनन्दै बेग्लै । व्यक्तिगत रूपमा भन्नुपर्दा हाइट फोवियाको समस्या भएको मलाई त्यति माथि पुग्दा ५–७ मिनेटसम्म खुट्टा लगलग काम्दाको अनुभूति नै अपूर्व ! पार्कहरू त अरुअरु दिन पनि घुमिएकै हो । विकसित देशको रेलयात्राको अनुभव पनि अघिदेखि नै गर्दै आइएकै हो । अघिल्लो हप्ता मेलबर्न जु पनि घुमिएकै थियो ।
सहर भनेको सहरै हो । जुन सहर भए पनि समृद्ध मुलुकका सहर लगभग उस्तै उस्तै त हुन् – गगनचुम्बी सिसमहलहरू, सुन्दर व्यस्त र व्यवस्थित सडकहरू, गाडी, ट्रामहरूको लाम, घुइँचो । खासै वर्णनयोग्य नयाँ विषय पनि के पो हुनु र ? अलि व्याकवार्ड सोचाइकै मान्छे परिएछ क्यार ! पुरानै, प्राचीन कुराकै खोजीमा मन रमाउने ! मेरा लागि उल्लेख्य यात्रा त आज चाहिँ हुनु थियो । त्यसैले भिक्टोरिया राज्यको बालाराट हाइटमा रहेको सोभेरेन हिल म्युजियमको अवलोकन गर्ने ज्वाइँद्वयको सल्लाह हामीले नमान्ने कुरै भएन ।
आजको यात्रामा दुवै छोरीहरू अनुपस्थित भए पनि त्यो ठाउँ चितवन निवासी बलराम लुइँटेल र कृष्णावती खनाल दम्पतीले पूरा गर्ने हुनुभएको रहेछ । उहाँहरूको संलग्नताले हाम्रो भ्रमणदलको सदस्यसंख्या आठ नै कायम हुने भयो । आज भने डेन्डेनङ जाँदा जस्तो समस्या भोग्नु थिएन । बाटो पनि आआफ्नै जाँदा सजिलो र समान समय लाग्ने रहेछ । भेला हुन थाल्दा यात्रा झन्डै आधा घन्टा लामो हुने । त्यसैले हामी सँगै तर बेग्लाबेग्लै रुटबाट सोझै बालाराट हाइटमै भेट्ने सल्लाह गरेर एउटै समयमा ११ बजे घरबाट निस्क्यौं र वेलावेला फोनमा एक अर्काका गतिविधिबारे बुझ्दै बाटो लाग्यौं ।
आज सिटीतिर जानु नपर्ने भएकाले टोल लाग्ने समस्या थिएन । सोझो बाटो, धेरै घुमिरहन नपर्ने । हामी सिधै ग्रिनगली रोड निस्क्यौं अनि टेलर्स रोड, लिङ्क्स वे छिचोल्दै १५/२० मिनेटको हँकाइपछि फ्रि वे निस्क्यौं र ११० को रफ्तारमा बेतोडसँग हुइँकिँदै अघि बढ्यौं । दिन घमाइलो भएकाले यात्रा पनि रमाइलो छ । बाटाका दायाँबायाँ रमाइला र फराकिला घाँसे मैदानहरू, भेडा, गाइगोरु, घोडा आदिका बेग्लाबेग्लै चरिचरनहरू, जङ्गलहरू, रमाइला लहरै बस्तीहरू । बाली लगाइएका जमिनहरू त कताकति मात्रै । मेरो मन सारै लोभियो यी खुल्ला बाँझा मैदानहरू देखेर । नेपालमा यी फाँटहरू भएको भए कति अन्न उत्पादन हुन्थ्यो होला ? अस्ट्रेलियनहरू त अल्छी रहेछन् जस्तो लाग्यो यी बाँझा फाँटहरू देखेर । हैन अन्य राज्यमा पनि यस्तै हो कि भिक्टोरियामा मात्रै यति खुल्ला ठाउँ हँ ? कतै कतै मात्र देखिन्छन् अङ्गुरको फसल, तोरी फुलेका अनि गहुँ पाक्न लागेका विशाल विशाल फाँटहरू तर त्यो भन्दा सयौं गुना बेसी बाँझा जमिनहरू । भारतभन्दा झन्नै तीनगुना ठुलो तर जनसंख्या भने नेपालको भन्दा पनि झन्नै ४० लाखले कम । जताततै कामै काम छ तर कामदारको अभाव छ । हाम्रोमा कामै छैन, कामदार फालाफाल छ । त्यसैले त नेपालबाट बिदेसिनेको ओइरो लाग्छ । दूरदर्शी र विकासप्रेमी नेता अनि इमानदार र कर्तव्यनिष्ठ कर्मचारी भइदिएको भए नेपाल पनि आज धेरै समृद्ध बनिसक्थ्यो होला ।
संसारकै महँगो श्रम बजार भएका राष्ट्रमध्ये पर्दोरहेछ अस्ट्रेलिया । जनघनत्वको कमीले गर्दा विदेशीहरूको ओइरो लगाउँदो रहेछ अस्ट्रेलिया सरकार । मूल वासिन्दाभन्दा विदेशीको संख्या बढी छ रे यहाँ । हुन पनि जता जाऊँ भारतीय, चिनियाँ, अफ्रिकन, भियतनामी, कम्बोडियाली, मलेसियाली, इन्डोनेसियाली, नेपाली । त्यसमा पनि चिनियाँ र भारतीयहरूको अत्यधिक संख्या । जता गए पनि भारतीय र चिनियाँ नै बढी देखिने ।
बाटा वारिपारिका नजाराहरू नजर गर्दागर्दै बालाराट हाइट पुगेको पत्तै पाइएन । न्याभिगेटरले ‘अराइभ्ड’ भन्दा पो झल्याँस्स भइएछ । अरे ? खै त बालाराट ? यही हो बालाराट ? यो त गाउँ जस्तै छ त ? हामी एकछिन छक्क पर्यौं । बुद्धलाई फोन गरेको उनी पनि आइपुग्न लागेछन् । हाम्रो गाडी मोड्नुपर्ने ठाउँबाट अलिकति अघि गएको रहेछ । बुद्धले गाडी अगाडि लगाए । बुद्ध भन्दा पनि सीताराम सर यस ठाउँको बढी जानकार । नजिकैको पार्किङमा गाडी पार्क गरेर केही उचाइ उक्लिँदा एउटा रेस्टुरेन्टमा पुगियो । यही रहेछ म्युजियमको मूल प्रवेशद्वार । हामी भित्र छिर्यौं । रेस्टुरेन्टकै एउटा कक्षमा गिफ्ट सप अनि अर्को एउटा कक्षमा टिकट घर ।
भिक्टोरियामा मात्र हो कि अन्यत्र पनि यस्तै हो, कतिपय दर्शनीय स्थलहरूका प्रवेशद्वार चाहिँ रेस्टुरेन्टभित्र हुँदारहेछन् । यहाँ पनि त्यही थियो । प्रवेश शुल्क कति महँगो हो ? प्रतिव्यक्ति ठ्याक्कै ४९ डलर, हाम्रो लगभग ४५०० जति ! पर्यटकलाई त प्रवेश शुल्कले नै कङ्गाल बनाउने रहेछ । यात्रादलका सदस्यमा म र मेरी बाहुनी कान्ता, सीताराम सर र कुमारी म्याडम, बलराम सर र कृष्णावती म्याडम अनि गाडीमालिक र चालक पनि दुई ज्वाइँहरू वीरेन्द्र दुलाल र बुद्ध तिमसिना । ज्वाइँद्वयले आठै जनाको टिकट लिएर आएपछि हाम्रो म्युजियमको भ्रमण प्रारम्भ भयो ।
यो ठाउँ (सोभेरेन हिल) भिक्टोरिया स्टेटको धेरै पुरानो बसोबास स्थल रहेछ । प्राचीन शैलीका घरहरू, टहराहरू, झुप्राहरू, पसलहरू, कारखानाहरू । मूल प्रवेशद्वारबाट भित्र छिरेपछि रुखका बोक्राले छाएका काठे छाप्राहरू देखिए । छाप्राहरूभित्र दु:खले दुईजना सम्म सुत्न हुने २–३ वटा खाटहरू, आगो ताप्न र खाना बनाउन प्रयोग गर्ने अगेठ, केही पुराना वस्त्रहरू, हातहतियार र खन्नका लागि प्रयोग गरिने औजारहरू । यस क्षेत्रलाई चिनियाँ गाउँ भनेर नाउँ पनि दिइएको रहेछ । घरहरू सबै काठले बनेका अनि कामदार बस्ने छाप्रा चाहिँ रुखका बोक्राले छापेका झुप्रा । यो आवासीय शैलीले स्पष्टत: कामदार र मालिकको जीवनस्तरलाई छुट्याउँथ्यो ।
यस ठाउँमा कामदारका रूपमा सर्वप्रथम चिनियाँहरू आएका रे भनेको सुन्दा अचम्म लाग्यो । चिन जस्तो समृद्ध मुलुकका नागरिक पनि अर्काको देशमा कामदार ? यो समय थियो १८५१ ताकाको । त्यो वेला पनि चिनियाँहरू धनोपार्जनका लागि देशविदेश छरिने गरेका रहेछन् भन्ने कुराको प्रमाण यस कुराले दिन्छ । उनीहरू यस ठाउँमा खास गरी सुनको खोजीका लागि आएका भन्ने भनाइ सुनियो तर यथार्थ के हो बुझ्न भने पाइएन । चिनियाँहरूको व्यापारिक शैली र चरित्रलाई विचार्दा अविश्वास गर्ने आधार पनि थिएन । जे भए पनि यायावर झैं देशदेशावर घुमेर अर्थोपार्जन गर्ने चिनियाँहरूको चलन पुरानै रहेछ भन्ने कुरा चाहिँ यहाँबाट थाहा पाइयो । अहिले पनि अस्ट्रेलियामा व्यापारीका रूपमा चिनियाँहरू छ्यास्छ्यास्ति नै रहेछन् ।
पुरातात्त्विक वस्तुका रूपमा संरक्षित ती झुप्रा र त्यहाँ राखिएका सामानहरूको अवलोकन गर्दै हामी एउटा ठुलो मेसिन भएको घरमा पुग्यौं । त्यस ठाउँलाई ‘गोल्ड प्यानिङ एन्ड डिगिङ’ भनिएको थियो । त्यो सुन प्रशोधन गर्ने मेसिन रहेछ क्यार ! त्यहीँ केही पर्तिर एउटा कुनामा कोरियन जस्तो लाग्ने एउटा मानिस केही भट्याउँदै थियो । अलि टाढा भएकाले उसले भनेका कुरा अलिअलि मात्र सुनिन्थ्यो । बुद्धले उसको नजिकै गएर कुरा बुझ्ने प्रयास गरे । उसले अब हामीले अवलोकन गर्ने काठे सुरुङका बारेमा जानकारी र पालना गर्नुपर्ने नियमका बारेमा बताएको रहेछ । सुरुङ अँध्यारो र साँगुरो, आफ्नै रिस्कमा जानुपर्ने, बच्चा र अशक्तहरूले जान नमिल्ने, भित्र बत्ती भए पनि कुनैकुनै ठाउँ अँध्यारो हुनसक्ने, यदि अँध्यारो भएमा नआत्तिइ पर्खिबस्ने, बत्ती बलेपछि अघि बढ्ने, मोवाइलको फ्लास बाल्न नपाइने आदि आदि उसले बताएको रहेछ ।
उसले निर्देश गरेको बाटो भएर हामी ओडारतिर लाग्यौं । एक पटकमा बार जना मात्र जान मिल्ने रहेछ । म नै बारौं परेँछु । भित्र काठैकाठले बनेको अँध्यारो सुरुङ । ठाउँठाउँ मधुरा बत्तीहरू राखिएको भए पनि मुस्किलले मात्र बाटो पहिल्याउन सकिने । त्यही पनि कतैकतै त बत्ती नभएर पूरै अँध्यारो । बत्ती बलेपछि मात्र अघि बढ्नुपर्ने । निषेधित भए पनि बेलाबेला बलराम सरले मोबाइलको फ्लास लाइट पिलिक्पिलिक् पार्नुहुन्थ्यो । सुरुङ होचो भएकाले निहुरेर बिस्तारै हिँड्नुपर्ने । हामी पुड्का नेपालीलाई त निहुरेर हिँड्नुपर्ने सुरुङ, यहाँका लम्बूहरू कसरी छिर्दाहुन्, सम्झँदा हाँसो पनि उठ्यो । ठाउँठाउँमा रहेका बिमहरूलाई टाउको ठोक्किए पनि चोट नलागोस् भनेर फोमले मोरेको रहेछ । ठोक्किइहाले पनि त्यति नदुख्ने, चोट पनि नलाग्ने । काठमा भर्याङ ओर्लँदै पुन: तेर्सिँदै विस्तारै अघि बढ्दै जाँदा एउटा अँध्यारो कक्षमा पुगियो । त्यो कक्षमा चाहिँ प्राचीन समयमा सुन खानीमा दुई ज्यामीहरूले खनिरहेको, सुनको डल्ला फेला पारेको, सुन ओसार्ने ट्रली आएको दृश्यको वृत्तचित्र देखाइँदोरहेछ । यस सुरुङको आकर्षण यति नै रहेछ ।
सुरुङको तमासा हेरेर अघि बढ्यौं । सुरुङ वान वे रहेछ । अर्कोतिरबाट अब सिँढी उक्लँदै, तेर्सो पनि हिँड्दै अर्कै मार्गबाट बाहिरियौं । एक खेपमा बारबार जना मात्र जान मिल्ने हुँदा प्रवेश गर्नेहरूको निकै लामो लाम लागिसकेको रहेछ प्रवेशद्वारमा । हामी भने ‘रेड हिल रोड’ भनिने त्यो गल्लीबाट अघि बढ्दै ‘नर्मनबाइ स्ट्रिट’ भनिने अर्को गल्ली र यस गल्लीको बिचमा पर्ने ‘द डिगिङ्स्’ भनिने एउटा सानो खोल्सीमा पुग्यौं । त्यहाँ मानिसहरू ससाना आरीमा पानीमा बालुवा हालेर खेलाउँदै थिए । त्यो सुन चालेको अरे ! यो क्षेत्र सुरक्षित किल्लाको रूपमा रहनुको एउटा कारण यहाँको यही सुनखानी पनि रहेछ अनि त्यसपछि मात्र यसको प्राचीनता । सुनखानीकै कारण यहाँ त्यो प्राचीन बस्ती बसेको रहेछ ।
हामी भने त्यो रमिता हेर्दै अघि बढ्यौं । त्यहीँ एउटा टहरामा ‘वाटरलु स्टोर’ लेखिएको थियो । त्यो सायद प्राचीनता झल्किने वस्तुहरूको पसल थियो । त्यसभन्दा केही अगाडि ‘सेन्ट अलिपस डिगिङ स्कुल’ र ‘एजुकेसन सेन्टर’ लेखिएको लामो टहरो अनि अलि पर ‘गोल्ड पोर’ लेखिएको अर्को टहरो । सायद यी सुन निकाल्न सिकाउने र निकालिएको सुन सङ्कलन गर्ने ठाउँ थिए । त्यहीँ अलि पर्तिर एउटा काठैकाठले बनाएको भ्युटावर रहेछ । यो ठाउँ त्यसै पनि अग्लो, त्यसमा पनि १०–१२ मिटर जति अग्लो ठाउँमा चढेर तलतिरका नजाराहरू हेर्न मिल्ने त्यो टावरले डेन्डेनङ पिकको दृश्यावलोकनको अपूरो आनन्दको क्षतिपूर्ति गरेको अनुभव गरियो । बलराम सरले एउटा नयाँ प्रस्ताव ल्याउनुभयो टावरमाथि टिकटक भिडियो खिच्ने । केही दृश्य र चित्रहरू मोवाइलको क्यामेरामा कैद गर्यौं पनि । टिकटक कस्तो बन्यो हाम्रोमा आइसकेको छैन । जे होस्, बलराम सर दम्पती नै टिकटकको रमाइलोमा मजैले रम्नु हुँदोरहेछ । हामीलाई पनि उहाँहरूको हावाले केही क्षण उडायो ।
टावरको उचाइ त्यहाँबाट अझै ५–७ मिटरजति माथिसम्म थियो । तर त्यहाँ जाने सिँढी थिएन । सायद त्यहाँ भूमिगत पानी तान्ने होला, त्यस्तै कुनै उपकरण जडित थियो । हामी त्यहाँबाट ओर्लेर अझ उँभोतिर लाग्यौं । त्यहीँ एउटा पुल हाउस र त्यससँगै १५ फिटजति पर राखिएका मुसल जस्ता ५–६ वटा वस्तुलाई भकुन्डो जस्तो तर गह्रौं डल्लो गुडाएर लडाउने खेल खेल्ने ठाउँ रहेछ । त्यहाँ त्यो गोलो डल्लो गुडाएको आवाज निकै परपरसम्म पनि सुनिन्थ्यो । त्यसको गडङ्डङ् आवाजले त्यो डल्लो ती मुसलहरू ढुङ्गा अथवा कुनै धातुनिर्मित होलान् भन्ने अनुमान लगायौं ।
केही अघि बढ्दा अर्को पुरानो कारखाना आइपुग्यो । त्यहाँ ‘गोल्ड पोर’ र ‘स्टिम एन्ड माइनिङ प्रिसिङ्क्ट’ लेखिएका बोर्ड थिए । त्यहाँ चाहिँ सुनखानीबाट ल्याइएको सुन प्रशोधनपछि विभिन्न साइज र आकृतिमा ढाल्ने मेसिन र औजारहरू रहेको सङ्ग्रहालय रहेछ । हाम्रातिरका पुराना डिजल इन्जिनका धान मिलहरू जस्ता ती मेसिन हाम्रा लागि भने आधुनिक नै लाग्ने । त्यहाँ अहिले पनि काम हुन्छ कि हुन्न त्यो थाहा भएन तर मेसिन चालु अवस्थामै रहेका हुन् कि ? जस्ता देखिन्थे । त्यहीँ अर्को सुनका ढिक्काहरूलाई गालेर गहना आदि बनाउने कारखाना पनि रहेछ । अर्को एउटा कक्षमा सुनका विभिन्न प्रकारका गहना र सुनको जलप लगाइएका मूर्तिजस्ता सामग्रीहरू बेच्न राखिएको थियो अनि त्यहीँ अर्कातिर अघि सुरुङमा देखाइएको वृत्तचित्रकै जस्तो सुनको डल्लो पनि प्रदर्शनीका लागि राखिएको थियो । अहिलेसम्मको अवलोकनबाट लाग्थ्यो यो किल्ला सुनकै खोजी, प्रशोधन र गहना आदिको उत्पादन र बिक्रीकेन्द्र नै हो !
यहाँको अर्को उल्लेख्य कुरा रहेछ चारघोडे बग्गी । दुई लहरमा दुईदुई घोडा नारेर चलाइने त्यो बग्गी १२–१४ जना यात्रु सहजै बोक्ने क्षमताको हुँदोरहेछ । बग्गीभरि मानिसहरू चढेर यताउती गरिरहेका थिए । ‘बालाराट टु मेलबर्न’ लेखिएका ती बग्गीहरू साँच्चै मेलबर्न सिटीसम्म जाने हुन् कि ? भन्ने पनि लाग्यो तर ती केवल मनोरञ्जनका लागि त्यहाँ चलाइएका रहेछन् । बग्गीहरू ८–१० वटा जति रहेछन् । पर्यटकहरूले बग्गीमा यात्रा गरेर पनि भ्रमणको आनन्द लिँदारहेछन् । हामीले भने त्यसलाई हेरेरै मजा मान्यौं । अघि बढ्दै जाँदा अर्को विशाल दुईतले कारखाना आइपुग्यो । दुवै तलामा बाटैबाट पस्न मिल्ने । माथिल्लो तलामा मूल इन्जिन र केही फिताहरूमा बाँधिएका चक्काहरू घुमिरहेका थिए । यो पनि सुनकै काम गर्ने केही होला भन्ने लागेथ्यो तर होइन रहेछ । हामी तल ओर्लेर अर्को ढोकाबाट भित्र तल्लो तला छिर्यौं । त्यो त रथका चक्का र विभिन्न अवयवहरू बनाउने कारखाना पो रहेछ ! यो भने चालु अवस्थामै रहेछ ।
हामी त्यहाँबाट मेन स्ट्रिट भनिने बाटो हल्का उकालो बाटो हुँदै अन्तिम बिन्दुमा रहेको तबेलासम्म पुग्यौं । यहाँ त्यस किल्लाबासीको आवश्यकताका सबै कुराहरू उपलब्ध रहेछन् । पर्यटकहरूलाई लोभ्याउने विभिन्न सामग्रीहरू पनि बेच्न राखिएका थिए । फर्किँदा ‘गोल्डेन पोइन्ट रोड’ भनिएको बाटोबाट काठैकाठले बनेका प्राचीन भवन (सायद दरबार), चर्च, शिक्षालय, विश्रामस्थल, पसलहरू, बग्गीकेन्द्र, सरकारी कार्यालय आदि अवलोकन गर्दै पुन: नर्मन स्ट्रिटनेर बालुवामा सुन खोज्ने ठाउँमा आइपुग्यौं । मानिसहरू बाटामा बालुवा पखाल्दै, तार्दै सुन चालिरहेका थिए ।
“सुन लाने हो सर ?” सीताराम सरले ठट्टा गर्नुभयो ।
“लैजाऊँ न, प्रवेश शुल्क तिरेको पैसा यही सुन चालेर उठाइदिऊँ ।” मैले पनि ठट्टै ठट्टामा भनेँ ।
अर्को हप्ता छोरी विमर्शाको जन्मदिन । “विमर्शालाई बर्थ डेमा गिफ्ट दिने सुन निकाल्नुपर्छ नि बाबा !” ज्वाइँ वीरेन्द्रको ठट्टाले अर्को रमाइलो थप्यो । यता हामी दम्पती भने ट्रोलकै सिकार बन्न पुग्यौं केही बेरका लागि ।
कुरैकुरामा बालुवा चाल्न खोल्सी किनारामा बसियो । सुन खोज्नेहरूको निकै घुइँचो थियो । ज्वाइँहरू वीरेन्द्र र बुद्ध बेल्चाले पानीभित्रबाट बालुवा निकालेर आरीमा राखिदिने, हामी तीन जोडा दम्पतीे चाहिँ बालुवा तारेर सुन निकाल्ने !
“छोरीलाई औंठी कि लकेटै गिफ्ट दिने हो सर ?” कसैको प्रश्न थियो ।
“अँ लकेट नै पुग्छ होला !” मेरो उत्तर । अनि गलल हाँसो ।
सहयात्रीहरूसँग ठट्टा चल्दै थियो । म पनि उहिल्यै आमाले चामलमा ढुङ्गा तार्न सिकाउनुभएको सिप प्रयोग गर्दै बालुवा तार्दै थिएँ । माथिबाट चर्को घामको टोकाइले पसिना पसिना पारिरहेथ्यो । मेलबर्न आएपछि यही नै थियो पहिलोपल्ट पसिना आएको । घामले पोलिरहेको अवस्थामा चिसो पानीमा खेल्न मजा पनि आइरहेथ्यो भने टुक्रुक्क बस्नुपर्दा पिँडुला कटकटी दुखेर उठ्दै बस्दै पनि गर्नुपरिरहेथ्यो । यस्तैमा एउटा नेपाली भाइले सुन फेला पार्यो रे भन्ने हल्ला पनि आयो । ती भाइहरू हामीभन्दा केही मास्तिर थिए ।
एक आरी बालुवा छानेपछि चर्को घामको प्रकाशमा मेरो बाटामा पनि केही सुनका कणहरू टल्के । कुमारी म्यामको र कान्ताको बाटामा पनि केही कण देखिएछन् । अन्तमा चारपाँच कण मेरा बाटामा थेग्रिए । कान्ताले चाहिँ बालुवाबाट निकाल्न नसकेर दुईवटा जति कण मात्र टिपिछन् । केही बालुवा सहित सुनका कण कागजको टुक्रामा पोको पारेपछि हाम्रो यहाँको अवलोकन यात्रा पनि लगभग सकियो । एउटा प्राचीन किल्लाको चित्र मस्तिष्कमा उतार्दै अब हाम्रो यात्रा अघिको रेस्टुरेन्ट र गिफ्टहाउस रहेको मूल गेटबाट निस्केर बालाराट वेटल्यान्डतिर लाग्यो ।
बलाराट वेटल्यान्ड एउटा विशाल तलाउ भएको रमाइलो ठाउँ रहेछ । बोटिङको आनन्द लिनेहरू डुगामा तैरिरहेका थिए । छेउछाउमा लामा लामा घाँटी भएका हाँसहरू घाँटी तन्काइ तन्काइ भ्याँक् भ्याँक् कराउँदै डुबुल्की मार्दै घरिघरि मानिसका छेउछाउ पनि आउँदै जाँदै गर्थे । सायद तिनीहरू मनिसहरूले फ्याँकेका वा दिएका खानेकुरामा अभ्यस्त भएर पनि हो कि ? हामी भने रित्तै थियौं । तिनलाई केही दिन पाइएन ।
दिभरको हिँडाइ र बालुवा चाल्दाको थकाइले थाकिएको मात्र होइन भोकले आन्द्रा पनि कोक्याउन थालेका थिए । पार्किङ स्थलमा एउटा चाहिँ गाडी बिसाएर बुद्ध र ज्वाइँलाई केही स्न्याक्सहरू ल्याउन पठाएर हामी तीन जोडी चाहिँ तलाउमा पानीमाथि बनाइएका काठे टाँडमा थकाइ मार्दै गफ चुट्न थाल्यौं । बलराम सरहरूको यहाँ पनि टिकटक सुटिङको प्रस्ताव आयो । जानी नजानी यसो कम्मर हल्लाइयो । सुटिङ पनि सकियो । घाम निकै चर्केकाले गर्मी छल्न हामी पोखरीबाट बाहिर चौरीमा निस्क्यौं र घरायसी गफमा जम्यौं । बिदेसिएका छोराछोरीबारे लामै कुराकानी भए । उनीहरू बिदेसिएकैले आफूहरूले पनि विदेश भ्रमण गर्न पाएकामा खुसी हुनुपर्ने भए पनि छोराछोरीहरू विदेशमै भासिने हुन् कि भन्ने कुराले भने मन अमिलिएको अनुभव साटासाट पनि भयो ।
होइन, निकै लामो समय पो लगाए त ? गफमा मस्त भए पनि पेटका मुसाको दौड निकै तीव्र हुँदै थियो । झन्डै ४५ मिनेट बितिसकेको थियो । बल्ल खानेकुराको खोजीमा जानेहरूको गाडी छेउको पार्किङमा देखियो । छुट्टीको दिन भएकाले छेउछाउका रेस्टुरेन्ट बन्द भएकाले निकै टाढा पुग्नुपरेछ खानेकुरा पाउन । चौरीमा घेरा लागेर ‘छोटी पिकनिक’ खाएपछि बिदा साटासाट गर्दै दुवै टोली आआफ्ना कुटीतिर लाग्यौं ।
४ हेजली रोड, केल्बा, मेलबर्न, अस्ट्रेलिया