16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

स्वर्गद्वारीका महाप्रभु र प्रा.डा. गोपीन्द्रको दौरासुरुवाल

नियात्रा नारायण मरासिनी November 28, 2022, 12:30 pm
नारायण मरासिनी
नारायण मरासिनी

कहाँबाट सुरू गरूँ म यो संस्मरण ? पोखराबाट गरूँ कि मुग्लिनबाट, यद्यपि हामी पोखरेलीहरूले आँबुखैरेनीमा केहीबेर सुस्ताएर चिया पिएपछि मुग्लिन पुग्ने निर्णय गरेका थियौँ । तर गाडीको रफ्तार कमजोर भएकाले हामी आँबुखैरेनीमा झरेनौँ बरू आँबुखैरेनीमा हामीलाई कुरेर बसेका अनिल श्रेष्ठ र खगेश्वर सापकोटालाई हामी नै चढिआएको गाडीमा चढायौँ र साँझ ओर्लँदै गर्दा गण्डकीका पाँच भाइ मुग्लिन झर्यौँ । त्यहाँ हाम्रा लागि आउँदै थियो काठमाडौँबाट रोल्पा जाने बस । हामी तिनदिने साहित्यिक महोत्सवका निम्तारु । हाम्रो गन्तव्य थियो प्यूठान र हामीलाई पिक अप गर्नका लागि ठाउँ तोकिएको थियो मुग्लिन बजार । निश्चित समयमा र तोकिएकै ठाउँमा हामी आइपुगेका थियौँ तर... ।
काठमाडौँबाट रोल्पाका लागि छुटेको रात्रि बसले ढिला गर्यो । समीर सिंहलाई फोन गर्दा भर्खर थानकोटबाट ओरालो झरेको खबर आयो । अब के गर्ने ? तिन घन्टा त पक्कै लाग्छ, थानकोटबाट मुग्लिनसम्मको बाटो । हामीले त्यहीँको एउटा होटलमा झोला बिसायौँ र खाना बनाइदिनका लागि अनुरोध गर्यौँ । समय निकै रहेकाले मुग्लिनको पुरानो पुलतिर ओहोरदोहोर गर्न थाल्यौँ । साँझपखको मुग्लिन झिलमिलाउँदै थियो । होटल रेष्टुराँमा खाना खाने यात्रुहरू सलबलाइरहेका थिए । हामी बजारमै वल्लो छेउ र पल्लो छेउ गरिरह्यौँ । रात्रि बसहरूको ओहोरदोहोर बाक्लिन थालेको थियो । डुलिहिँड्दा पनि थकाइ लाग्न थाल्यो । हामीले सवा आठतिर होटलमा फर्केर खाना खायौँ । गाडी अझै आएको थिएन । अनिलले फोन गरे, उनीहरू पनि मुग्लिन नआइपुग्दै खाना खाने मेलोमा पसेछन् ।
यता हामी भने पर्खेका पर्ख्यै । कति पर्खनु ! जिन्दगी पर्खाइ पर्खाइमै बित्ने भयो । यति पट्यारलाग्दा हुन्छन् पर्खाइहरू, समय बिताउन निकै कठिन हुन्छ पर्खाइमा । ड्राइवरहरू आफ्नै ध्याउन्नमा मस्त हुन थालेपछि मुग्लिनमा हामीले पर्खनुबाहेक अन्य कुनै विकल्पै पाएनौँ ।
लगभग दस बजेतिर काठमाडौंबाट रोल्पा जाने बसको सवारी भयो । ठुलै उपलब्धि हासिल गरेजस्तो ! ढोकैमा आएर समीरजीले हातको ईशाराले बोलाएपछि हामी बस चढ्यौँ । अहो ! मान्छेहरू त बसको सिटभन्दा दोब्बर रहेछन् । गल्लीमा समेत गुन्द्रुकसरी खाँदिएका । क्याबिनमा पनि एक दर्जनजति रहेछन् । दसैँ नजिकिँदैको समय, घर फर्कंदै थिए राजधानीबाट पश्चिम पहाडका मान्छेहरू । हामी यति नै जना साहित्यकार जाने भनेर ठ्याक्कै निश्चित नभएकाले बस रिजर्व गरिएको रहेनछ । काठमाडौंबाट आउनेहरूमा प्रा.डा. गोपीन्द्र पौडेल, प्रमोद प्रधान, युवराज नयाँघरे, डा. धनप्रसाद सुवेदी, प्रोल्लास सिन्धुलीय, समीर सिंह, भावेश भुमरी, ठाकुर बेलबासे, दीपेन्द्रसिं थापा, बैरागी जेठा, आविष्कार कला, नारायण शर्मा, मनु वि.क., इन्द्रकुमार श्रेष्ठ, विमल पोख्रेल, विष्णुप्रसाद आचार्य, लक्ष्मी रिजाल, ध्रुव बस्याल, प्रगल्वा लगायत डेढ दर्जनभन्दा बढी स्रष्टाहरू थिए भने हामी पोखराबाट डा. कृष्णराज अधिकारी र भीम रानाभाटका साथमा म संलग्न थिएँ । रातको समय, बसले नारायणघाटबाट बुटवल निस्कनै लगभग छ घण्टाजति लगायो । बाटो खराब रहेछ, निकै धिमा गतिमा चलेको थियो बस ।
रातको यात्रा मलाई निकै गाह्रो लाग्छ । गुडिरहेको बसभित्र कहिल्यै निदाउन सक्तिन म । अनिदो बस्नुपर्दा भोलिपल्ट त बिरामी नै हुने गरेको पनि छु तर बाध्य थिएँ, मलाई स्वर्गद्वारीको लेक हेर्नु थियो । स्वर्गद्वारी मात्रै होइन मलाई ओखरकोट र मल्लरानीको लेकले पनि तानिरहेको थियो । मैले पूर्वपश्चिम राजमार्गमा धेरैपटक ओहोरदोहोर गरेको छु तर लगभग तिन दसकपहिले भालुवाङमा झरेर चिया पिए पनि त्यहाँबाट उत्तरतर्फको बाटो मैले आजसम्म समाएको थिइन । प्यूठान मेरा लागि नयाँ गन्तव्य थियो । प्यूठान यात्राको क्रममा रूकुम र रोल्पाको भूमि पनि पुग्ने चाहना पलाउँदै थियो मेरो मनमा ।
हामी भालुवाङबाट पूर्व–पश्चिम राजमार्ग छोडेर उत्तरतर्फ लाग्ने क्रममा विजयराज आचार्य जोडिन आइपुगे । अहिले काठमाडौँमा बस्ने गरे पनि उनको जन्मथलो प्यूठान । राप्ती नदीको किनारैकिनार घुमाउरो बाटो । बिहानको घाम चर्कन थालेको थियो । माण्डवी गाउँपालिकाको उकालामा गुडिरहेको थियो हामी चढेको बस । बाटामा कतै जङ्गल त कतै ससाना बजारहरू पनि भेटिएका थिए । तर हामीले बिहान एघार बजेसम्म चिया पिउने अवसर भने कतै पनि पाएनौँ । ती ड्राइवरले हामीमाथि अन्याय त गरेकै हुन् । चिया पिउने समयको त कुरै छोडौँ, पिसाबले च्याप्यो भन्दा पनि गाडी रोक्न गाह्रो मान्ने ड्राइवर । यात्रुहरूको पीडा सुन्नै नचाहने, पीरमर्का बुझ्नै नखोज्ने ! मैले कुनै भेद छुट्याउनै सकिन– सिंहदरबारबाट देश हाँक्ने ड्राइवर र आज काठमाडौँबाट रोल्पाका लागि रात्रि बस हाँक्ने ड्राइवरमा ।
हामी झिमरूक खोलातिरको बाटो नसमाई माडी खोलातिर लागेर अगाडि बढ्यौँ । बसको रोल्पा जाने रूट पनि यही नै थियो । सडक भने अन्य राजमार्गहरूको तुलनामा साँघुरो । मेरो गाउँको बाटो साँघुरो हुनु स्वाभाविक थियो किनभने मेरो गाउँले आजसम्म मन्त्रीको त कुरै छाडौँ, सांसद् पनि पाएको छैन तर उपराष्ट्रपति हिँड्ने बाटो, ओनसरी र वर्षमानहरू हिँड्ने बाटो ! किन ध्यान पुगेन कुन्नि तिनीहरूको ?
बिहानको साढे दस वा एघार बजेतिर हामी भिङ्ग्री बजार पुग्यौँ । यहीँ रहेछ स्वर्गद्वारी जाने बाटाको मूलद्वार । हिजो बेलुका मुग्लिनमा खाएपछि मुखमा एकदुई घुट्को पानीबाहेक केही परेको थिएन । भोकले रन्थन्याएको बेलामा भिङ्ग्रीको भात साह्रै मिठो मुखले खाएपछि हामी नयाँ खालको भूबनोट हेर्न माडी खोलाको झोलुङ्गे पुल तरेर पारि गयौँ । त्यहाँको केही भूभाग वर्षातको पानीले अनौठो रुपाकृतिको बनाएको रहेछ । त्यहाँ विभिन्न आकृतिका माटाका ढिस्काहरू थिए । ती आकृतिहरू मुस्ताङका विभिन्न क्षेत्रमा हावाले बनाएका भूबनोटसँग मिल्दाजुल्दा थिए । जमिनको नरम भागलाई पानीले बगाएपछि कडा भूभाग विविध आकृतिका रूपमा उभिएका थिए । यस ठाउँलाई यहाँ मिनी मुस्ताङ पनि भनिएको रहेछ । हामी त्यही ठाउँमा आआफ्नै सुरले केही समय डुल्यौँ र केही फोटाहरू पनि खिच्यौँ ।
माडी खोलाको किनारमा सल्लाघारी देख्दा मलाई अनौठो लागिरहेको थियो । मैले हिमालपारिका दुवै जिल्ला मनाङ र मुस्ताङको यात्राका क्रममा हिमालका फेदीहरूमा सल्लाघारी देखेको थिएँ । मलाई लागेको थियो– हिमाली तथा उच्च पहाडी लेकहरूमा मात्र सल्लाको जङ्गल हुन्छ । तर प्यूठानको कमै उचाइको यस फाँटमा सल्लाघारी देख्दा मलाई अनौठो पनि लाग्यो । सल्लो बेसीमा पनि हुँदोरहेछ ।
हामी स्वर्गद्वारी जाने क्रममा उकालो चढ्यौँ । चौध किलोमिटर रहेछ घुम्ती नै घुम्तीले भरिएको उकालो । रिजर्व गरिएका दुवै मिनी बस उकालिन नसकेपछि चारपाँचवटा जीपमार्फत स्वर्गद्वारीको लेकमा पुग्यौँ । त्यहाँ पुग्दा साँझ खसिसकेको थियो र मौसम पनि निकै चिसो थियो । २१२१ मिटरको उचाइ । जङ्गलको बीचमा रहेको स्वर्गद्वारी निकै मनोरम थियो यद्यपि साँझको समय हुनाले वारिपारिका पहाडी भूभागमा बत्तीका झिलिमिलीबाहेक अरू दृश्यहरू भने देख्न सकेनौँ ।
भोलिपल्ट बिहान त्यहाँबाट उत्तरपश्चिमतर्फ दृष्टि दिँदा रुकुम, रोल्पातिरका पहाडहरू र त्यसभन्दा पनि माथि हिमालका दृश्यहरू लोभलाग्दा देखिएका थिए । हामी स्वर्गद्वारीको आश्रमभन्दा केही माथिपट्टि एउटा गुफामा पनि पुग्यौँ । यस गुफाबाट भित्र हिँड्दै गर्दा माडी खोलामा पुगिन्छ भन्ने किम्बदन्ती पनि त्यहाँ कसैले मलाई सुनाएको थियो । स्थानीयहरूबाट मैले पाएको जानकारीअनुसार रोल्पाको रून्ती गाउँमा १९१६ सालमा जन्मेका महाप्रभुलाई चार वर्षकै उमेरदेखि कुष्ठ रोगले सताउन थाल्यो । उनका विभिन्न अङ्गहरू कुहिन थाले । छिमेकीहरूले उनको घरमा आउजाउ गर्न छोडिदिए । उनको घरपरिवार नै गाउँलेहरूबाट बहिष्कृत भयो । आमा चाहिँले ती कुहिँदै गरेका बालकलाई घरनजिकैको एउटा गुफामा लगेर राखिन् । दुई वर्षसम्म एक्लै गुफामा बस्दा उनी चिन्तन र साधनामा तल्लीन रहे, सिद्धि प्राप्त गरे । उनले गरेका भविष्यवाणीहरू पनि मिल्न थाले । केही समयको अन्तरालमा उनी त्यहाँबाट हराए । करिब बाह्र वर्षपछि देखापरे । यतिन्जेलसम्ममा उनको कुष्ठ रोग निको भइसकेको थियो । उनी रून्तीबाट रोल्पाकै गढी लेकमा गएर बस्न थाले । गढी लेकमा केही समय बसेपछि प्यूठानको स्वर्गद्वारी पुगे । उनले यही स्वर्गद्वारीको लेकलाई स्थायी बसोबासका रुपमा विकसित गरे । यहीँ यज्ञशाला बनाई हवन गर्न थाले । अखण्ड यज्ञमा गाईको दुध, घिउ आदि आवश्यक पर्ने हुँदा यहाँ गौशाला बनाएर गाईपालनलाई पनि प्राथमिकतामा राखे । गाईपालनलाई अहिले पनि व्यवस्थित रुपमा अगाडि बढाइएको रहेछ । उनले रुखका हाँगा हल्लाएर सुनका असर्फी झारिदिन्थे भन्ने किम्बदन्ती पनि रहेछ ।
झुपडीको पीडा महलले बुझ्दैन । सास्ती भोगेको मान्छेले मात्रै सास्तीको क्रूरता महसुस गर्न सक्छ । मान्छेलाई जब अपमान र घृणा गरिन्छ नि, तब ऊभित्रको चैतन्य जागृत हुन्छ । अपमान कतिसम्म पीडादायी हुन्छ भन्ने कुरा अपमानित मानिसहरूले नै बढी महसुस गरेका हुन्छन् । अपमान असह्य भएपछि नै मान्छेहरू साधना र सङ्घर्षको मैदानमा होमिन्छन् । उनीहरू आफूले जस्तै पीडा अरूले भोग्नु नपरोस् भन्ने चाहन्छन् । उनीहरू वैयक्तिक स्वार्थभन्दा माथि उठेर सिङ्गो समाजका लागि नै आफ्नो जीवन समर्पण गर्न चाहन्छन् । यसैका उदाहरण हुन् कुष्ठ रोगका कारण गाउँबाट छिःछिः र दुर्दुर् गरी निकालिएका रोल्पाको रून्तीका आसुधुर गौतम खत्री र शान्तिकुमारीका छोरा अर्थात् स्वर्गद्वारीका महाप्रभु ।
महाप्रभुका बारेमा केही जानकारी हासिल गरेपछि बिहानको खानाका लागि धर्मशालामा जम्मा भयौँ । बसमा आउँदै गर्दा विजयले हामीलाई स्वर्गद्वारीको विशेषता भनेकै दुध, घिउ र साग भन्ने सुनाएका थिए । खाना खाने बेलामा गोरस आइपुग्छ कि भनेर मैले पल्याकपुलुक गर्दै भान्छातिर नजर पनि लगाएँ । तर कहाँको गोरस आउनु नि ! गोरस मात्र होइन, साग पनि आएन । बिहानको खानापछि हामी साहित्यिक कार्यक्रमका लागि धर्मशालाकै एउटा हलमा जम्मा भयौँ । भित्तामा ‘बृहत् साहित्य-सङ्गीत महोत्सव– २०७९’ अङ्कित ब्यानर थियो । असोज ११, १२ र १३ गते कुन कुन ठाउँमा के के कार्यक्रम गर्ने भन्ने कुराको सङ्केत पनि ब्यानरमै थियो । आयोजकमा ‘साहित्य परिषद्, प्यूठान’; ‘नेपाल प्रज्ञा प्रतिष्ठान’ लगायतका सङ्घसंस्थाहरू थिए । पहिलो दिनको यस कार्यक्रममा प्रमुख अतिथि थिए– प्रा.डा. गोपीन्द्र पौडेल । उद्घाटनपश्चात कवि तथा गीतकार भावेश भुमरीको सञ्चालनमा क्रमशः रचनावाचन र मन्तव्यको शृङ्खला अगाडि बढ्न थाल्यो । समय थोरै थियो तर रचना वाचन गर्ने स्रष्टाहरू धेरै । यहाँ प्यूठानका स्थानीय स्रष्टाहरूका अतिरिक्त दाङ, रोल्पा लगायतका छिमेकी जिल्लाहरूबाट पनि उपस्थिति थियो । नवराज आचार्य, सुमन सुवेदी, छविलाल कोपिला, क्षितिज मगर, दामी मार्सिफूल, टीकाराम उदासी, प्रा.डा. गितु गिरी, हेमराज आश्रम, लीला खनाल, ध्रुव गिरी, लीला पुन, धर्मबहादुर जि.सि., सि.डि.ओ., समन्वय समितिका प्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष आदि आदि ।
हामी बाहिरी जिल्लाका स्रष्टाहरूको उपस्थिति बाक्लो थियो । सबैलाई रचना वाचनका लागि स्थान दिनुपर्ने । सञ्चालकले बेलाबेलामा सतर्क गराउँदै थिए– कृपया छोटा रचना सुनाइदिनुहोला, मन्तव्य पनि छोटोछरितो गरिदनुहोला । हामीले भोलि र पर्सि गरी तिन दिनसम्मै रचना वाचनको क्रमलाई अगाडि बढाउने छौं । समय थोरै लिइदिनुहोला । कार्यक्रमकै दौरानमा केही साहित्यिक पुस्तकहरू पनि विमोचन भए । मञ्चमा नेपाली दौरासुरूवाल र टोपीमा ठाँटिएका प्रमुख अतिथि प्रा.डा. गोपिन्द्रलाई सञ्चालकले ‘आजको दुलहा’का रुपमा इङ्गित गरेपछि मैले पनि गोपिन्द्र सरको दौरासुरुवालतिर दृष्टि पुर्याएँ । उनको पहिरन देखेपछि हाम्रा गाउँका प्रधान बाको सम्झना ताजा भएर मेरो मस्तिष्कमा सल्बलाउन थाल्यो । उहिले म सानै थिएँ, पञ्चायती व्यवस्थाले रजाइँ गरेको समय । अहिले मञ्चासीन गोपीन्द्र सरकै जस्तो रङको दौरासुरुवाल पहिरन्थे मेरा गाउँका प्रधान पञ्च बा । उनलाई हामी केटाकेटीले ‘बुवा’ भन्थ्यौँ र देख्नासाथ नमस्कार टक्र्याउँथ्यौँ । बुढा मुसुक्क हाँस्थे ।
मलाई कहिल्यै पनि दौरासुरूवालप्रति मोह जागेन । मैले आजका मितिसम्म दौरासुरूवाल सिलाएको पनि छैन र भोलिका दिनहरूमा पनि सिलाउन नपरे हुन्थ्यो जस्तो लाग्छ । सानैदेखि मेरो दिमागमा के छाप पर्यो भने दौरासुरूवाल भनेको प्रधानपञ्च, माननीय र मन्त्रीहरूका लागि हो, मजस्ता भुइँमान्छेरुका लागि होइन । यद्यपि मेरा बा ठुलाबडा थिएनन्, उनी पनि कहिलेकाहीँ बिहेबटुलो तथा पाहुनो लाग्न जानुपर्दा दौरासुरूवाल नै लगाउँथे । एकपटक तिनै प्रधान बालाई सङ्केत गर्दै मेरा बाले भनेको सुनेको थिएँ, ‘बाहिर सुरूवाले भित्र छुरू माले ।’ ‘छुरू माले’ मगर भाषाको पदावली । यसको आशय रहेछ– आवरणमा सुन्दर देखिए पनि भित्र गुदो वा विचार केही नभएको ।
अचेल त मलाई पनि किन हो कुन्नि, दौरासुरूवालप्रति बढी नै वितृष्णा जागेर आएको छ– कोशी, गण्डक सम्झौता, महाकाली सन्धि, एम.सि.सि. पास गर्दा दौरासुरूवाल लगाउनेहरूकै बाहुल्य ! भोटोकछाड, टिसर्ट, जाँगे, प्यान्ट मन पराउने मजस्ता भुइँमान्छेलाई दौरा सुरूवालप्रति वितृष्णा जगाउने अर्को एउटा कारण बनेको छ– स्थानीय निकायले गठन गरेका कार्यकर्ता भर्ती केन्द्र अर्थात् स्थानीय प्रज्ञा प्रतिष्ठानहरू । मेरै गाउँको भाइ जो दोहोरी रेष्टुरेन्टहरूमा बोतल लिएर ताण्डव मच्चाउँथ्यो उही बनेको छ संस्कृतिविद्, स्थानीय निकायको भर्ती केन्द्रमा उपकुलपति र उसले पनि पैरन थालेको छ दौरासुरूवाल । दौरासुरुवाल पहिरिएको मान्छे नजिकै पर्यो भने मलाई कस्तो कस्तो लाग्छ । दौरासुरूवाल लगाउनेहरूलाई देख्दा म सशङ्कित हुने गरेको छु र त्यस्तो पहिरनवालासँग सङ्गत गर्न नपरे हुन्थ्यो जस्तो पनि लाग्छ । यद्यपि दौरासुरूवालप्रतिको यो मेरो वैयक्तिक धारणा हो । कसैलाई मन पर्छ त कसैलाई पर्दैन, स्वाभाविक पनि हो ।
स्वर्गद्वारीको कार्यक्रम सकेर बेलुकापख भिङ्ग्री झरेपछि हामी तिनै दुईवटा मिनीबस चढेर ओखरकोट गाउँपालिकाको मच्छी बजारतिर लाग्यौँ । मच्छी झिमरुक खोलाको किनारमा स्थित सानो बजार रहेछ । मच्छीमा एक रात बास बसेपछि भोलिपल्ट बिहानै हामीलाई बोकेर हल गोरु जस्ता दुइटा बस कच्ची बाटो हुँदै उकालो चढ्न थाले । ओखरकोटको लेकमा पुग्दा बिहानको लगभग दस बजिसकेको थियो । पर्यटकीय स्थलको रुपमा विकास गरिएको रहेछ ओखरकोटलाई । त्यहाँ पनि रचना वाचनलाई नै निरन्तरता दिन थालियो । मैले त्यही कोटमा नै हो बिना स्वरको छन्दको कविता पढेको । गीत गाउने र कविता सुनाउने क्रममा घाम चर्कन थालेका थिए । ढिला भइसकेको थियो । हामी त्यहाँको कार्यक्रमलाई निरन्तरता दिने भन्दै भर्खरै बनाइएको सिँढीको ओरालो झर्यौँ । सिँढीहरू सकिएपछि एउटा चौतारी थियो । चौतारीअगाडि केही सम्म परेको चौर । चौतारीलाई मञ्चको रुप दिएर सञ्चालकले माइक मिलाउँदै माथि बाँकी रहेका केही कविहरूलाई कविता वाचनका लागि अनुरोध गरे । हामीले चौतारीअगाडिको चौरमा बसेर पनि केही कविता सुनिदियौँ । कतिपय कविहरू कविता सुनाउनका लागि मरिहत्ते गर्छन् तर मलाई भने किन हो कुन्नि, कविता सुनाउन त्यति जाँगर चल्दैन ।
लगभग मध्यान्नको समय । भोक लागिसकेको थियो । ओखरकोट भन्ज्याङको त्यस चौतारीमा केही कविता सुनेपछि हामी तिनै बसमार्फत ओरालो झर्यौँ । बाटामा भेटिएको ढुङ्गे बगैँचाको पनि अवलोकन गरेपछि पुनः मच्छीमा खाना खाएर हामी प्यूठानको खलङ्गातिर लाग्यौँ । लगभग पाँच बजेको हुँदो हो हामी खलङ्गा पुग्दा । जिल्ला समन्वय समितिको हलमा कार्यक्रम भयो । स्थानीय नेवार जातिले हामीलाई सगुनसहित आफ्ना मौलिक सांस्कृतिक प्रस्तुतिहरूद्वारा स्वागत गरे । उनीहरूले केही नृत्यहरूका साथमा स्थानीय लाखे नाच देखाए । त्यहाँ पनि केही कविहरूले कविता सुनाए । खलङ्गाको यस कार्यक्रमका प्रमुख अतिथि धर्मबहादुर जि.सि.ले गीत गाएको पनि निकै सुहाएको थियो । उनले लोकलयमा गीत घन्कााएका थिए ।
बेलुका खलङ्गाकै विभिन्न होटलहरूमा छरिएर बस्यौँ । विजयले हाम्रो स्वागतार्थ खलङ्गाको खानपिनमा बुट्टा भर्न थाले । त्यस रङ्गीन साँझमा एउटै टेबुलमा थियौँ– प्रधान, नयाँघरे, बेल्बासे र हामी पोखरेलीहरू । भोलिपल्ट बिहान मल्लरानीको थाप्लामा पुग्ने योजना । प्रायः साथीहरूले जीप समाते । हामी पाँचजना अनिल, ठाकुर, कृष्णराज, भीम र म मर्निङ वाकका लागि पैदलै जाने भनेर खलङ्गा बजारबाट ४५ मिनेटजति उकालो चढी मल्लरानीको टुप्पामा पुग्यौँ । वरिपरि जङ्गलले घेरिएको यो ठाउँ रमणीय नै रहेछ । भर्खर–भर्खर यसलाई पनि पर्यटकीय गन्तव्यको रुपमा विकास गरिँदै रहेछ । दृश्यावलोकनपश्चात् मल्लरानीको थाप्लोनजिक रहेको भावेश भुमरीको गाउँमा पुगियो । उनको घर भएको ठाउँ मगर बस्ती रहेछ । बारीका पाटाहरू मिलेका, खेतीयोग्य जमिन । असोजमा पनि हरिया मकै खान पाइयो । बिहानको खाजाका रुपमा थपी थपी खीर र तरकारी पनि खाइयो । गाउँभरिको दुध बटुलिएको थियो सायद् !
ओरालो झर्ने क्रममा जीपहरू थिएनन् । सबै नै पैदलयात्रीका रुपमा खलङ्गा झर्यौँ र पुनः तिनै दुइटा बसमार्फत बाग्दुला झरेर खाना खायौँ । आज अन्तिम दिनको कार्यक्रम । जिल्ला स्तरीय कविता प्रतियोगिता, पुस्तक विमोचन, हिजोअस्ति वाचन गर्न बाँकी कविहरूको कविता वाचन, मानसम्मान आदि थुप्रै थिए कार्यक्रम । तिन दिने साहित्यिक महोत्सव । अस्ति स्वर्गद्वारीमा उद्घाटित महोत्सवको आज बाग्दुलास्थित जनता माध्यमिक विद्यालयको प्राङ्गणमा समापन गरिँदै थियो । आजै साँझ हामी फर्कने तर्खरमा थियौँ । मनमा लागिरहेको थियो– कार्यक्रम जतिसक्दो चाँडो सम्पन्न होस् ।
मोहनविक्रम सिंह, मोहन वैद्य लगायतका द्रष्टा व्यक्तित्वहरूको जन्मथलो प्यूठान । मेरो मनमा मोहनविक्रमका बाबुले बनाएको ५३ झ्याले घर हेर्ने रहर पलाएको थियो थियो । ओखरकोटमै कतापट्टि थियो कुन्नि त्यो घर ! हेर्न पाइएन । किरणको गाउँ खैरातिर पनि आयोजकहरूले हामीलाई पुर्याएनन् । मणि थापाको गाउँ त कता थियो कुन्नि, मलाई थाहा पनि भएन । मैले पहिलोपटक प्यूठानमा पाइला टेकेको थिएँ, यसैमा खुसी थिएँ यद्यपि उत्तरी भेगमा रहेको गौमुखीतिर जाने चाँजोपाँजो मिलेको थिएन । म त अझ रुकुमको बाटो हुँदै पहाडी जिल्लाहरू बाग्लुङ, पर्वत निस्केर पोखरा झर्न चाहन्थेँ तर साथीहरूलाई छोडेर एक्लै हिँड्ने कुरा पनि भएन । जे होस्, प्यूठानको यो महोत्सव मेरा लागि फलदायी नै रह्यो । स्वर्गद्वारी आश्रम जहाँ म आजसम्म पुग्न सकेको थिइन, पुग्न पाएँ । त्यही आश्रममा प्रमुख अतिथिले पहिरिएको दौरासुरूवालको बिम्बले मलाई यो लेख तयार पार्न घचघच्यायो । सकिनसकी तयार पनि पारेँ, यसका लागि प्रा.डा. गोपिन्द्र सरप्रति म आभारी छु !
ज्याग्दीखोला, स्याङ्जा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।