16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भोका सपनाहरू सरसर्ती पढ्दा

कृति/समीक्षा सदानन्द अभागी November 28, 2022, 12:34 pm
सदानन्द अभागी
सदानन्द अभागी

कुइभिर–३ ओखलढुँगामा माया वेदमाया बास्तोला र पिता नारायण प्रसाद बास्तोलाका पुत्ररत्न हुन् होमशंकर बास्तोला । श्ैक्षिक योग्यता एल.एल.बी.को साथै स्नातकोत्तर हाँसिल गरेका होमशंकर बास्तोला आँसुका झरनाहरू(कथासङ्ग्रह , २०५८, ) घामहराको दिन (गजलसंग्रह २०६१), बन्दुकको छाया कथासग्रह, २०६७), हिमाल पहाडका कथा (संकलित कथासङ्ग्रह र भोका सपनाहरू (कवितासङ्ग्रह,२०७८) लिएर हाम्रो अगाडी हाजिर भएका छन् । कृतिप्रकाशनको हिसावले होमशंकरलाई कथाकारको रुपमा लिए पनि उनी बहुप्रतिभाका धनी हुन । गजल, लघुकथा लेखन , पत्रकारिता, सम्पादक,आदि विविध पक्षमा उनको क्रियाशीलता लोभ लाग्दो छ ।अन्तरवोध ( साहित्यिक त्रैमासिक पत्रिका,र कपन कविता क्यालेन्डर सम्पादन गर्दै आएका छन् ।
होमशंकर बास्तोलाले जनआन्द्योलन घाइते सम्मान(नेपाल सरकार,२०६३, भानुभक्त काव्य पुरस्कार (२०७१) यज्ञराज घले संस्था पुरस्कार, (२०७४) प्रेशकाउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार (२०७६) आदि पुरकारले पुरस्कृत भै सकेका होमशंकरजी वाणी प्रकाशन जनमत जस्ता आधादर्जन साहित्यिक संस्थामा आवद्ध हुनु हुन्छ ।
विभिन्न साहित्यकारको होमशंक र उनको कृतिप्रति राखेका धारणाहरू–
आर.एन. डङ्गोलको धारणा –होमशंकर बास्तोला समाजको प्रगतिशील रूपान्तरणको लागि प्रतिबद्ध वैचारिक स्रष्टा हुन् । उनका कथा, कविता, गजलमा प्रगतिशील विचारधारात्मक मत अभिव्यक्ति भएको पाइन्छ समस्या कथनको अँध्यारो पाटो मात्र होइन समाधानको उज्यालो आशावादिता उनको वैचारिक प्रवृत्ति भएकाले यस सङ्ग्रहका कविताहरू यस दृष्टिबाट पठन योग्य र समीक्ष्य बन्न पुगेका छन् ।
ठाकुर वेलवासेको नजरमा –कविता साहित्य र साहित्यिक पत्रकारितालाई एकसाथ निरन्तरबनाएका होमशंकर बास्तोला सडक मान्छेका कविता लेख्ने कवि हुन् ।टोलसमाज र देशले, किनारा लगाएका पात्रहरूउनका कविताका विषय बनेका छन् । अत्यान्तै सामान्य विषय बस्तुका अभावमा जीवनका महत्वपूर्ण अवसर गुमाएका मानिसहरूप्रति चिन्तनशील– कविहुन् होमशंकर बास्तोला । उनी देश र नागरिकमाथि विश्वास राख्ने र कविताका माध्यमबाट, खवरदारीको आवाज मुखरर गर्ने कविकोरूपमा स्थापित छन् । सरल र सहज कविता लेखन होमशंकर वास्तोलाको अर्को परिचय हो ।
होमशंकर बास्तोलाको बारेमा चेतनाथ धमला ले लेखनु हुन्छ –कवित तथा साहित्यिक पत्रकार होमशंकर बास्तोलाद्वारा रचित, भोका सपनाहरूको आयतन व्यापक छ । जीवनको सुन्दरता र कलाको वशिष्टता कविले हार्दिकता पूर्वक पस्किएका छन्। तिनका कविताले विकृति अभाव र उत्पीडन के उछितो काढेका छन् र सांस्कृतिक सचेतता,अपनाएका छन् । कवितामा समवेत, स्वतन्त्रता, सामाजिक चेतना र र जीवन सौन्दर्य परिवर्तित स्वरहरूलाई झङ्कृत गर्न कवि सक्षम भएका छन् ।ती परिधानले “भोका सपनाहरू”को सङ्कल्पलाई लाक्षणिक रूपमा कविले सार्थक तुल्याएकाछन् । माथि तीनजना साहित्यकारले होमशंकर बास्तोलाको साहित्य लेखन गजल लेखन साहित्यपत्रकारिताको बारेमा प्रष्ट पारेका छन् । यस कृतिभित्रको सारभावलाई प्रष्ट्याउने प्रयास गरेका छन् ।
कृतिको संरचना –यस कृतिमा ३५ ओटा कविताहरू समवेश गरेका छन् आवरण पृष्ठ बाहेक ९५ पृष्ठमा सजिएको छ कृति । काैिशकी साहित्य प्रतिष्ठानले प्रकाशन गरेको छ र मूल्य व्यक्तिगत २५०।–र संस्थागत रु ५००।– राखिएको छ ।
कृतिभित्र प्रवेशगर्दा –
माथिनै भनिएको छ कि यस कृतिमा विविधताले भरिएका पैंतीसओटा कविताले सजिएको छ । आफैमा कविता संग्रह भोका सपनाहरू शीर्षकले नामाकरण भएको छ र यसमा कविले अति गहिरिएर आफ्ना भावना पोखेका छन् । समग्र कृतिलाई अध्ययन गर्दा भोका सपना भन्दा जनताले भोग्न परेको गरिबीका पीडा,अभावका पीडाहरूमा आम समूह आज जो तडपी रहेका छन् त्यसैको यो एउटा दर्पण हो भन्दा अतियुक्ति नहोला । यी पैतीस कवितालाई हामीले यस प्रकार अध्यनगर्न सकिन्छ –
अभाव गरिबीलाई समेटिएका कविताहरू – गरिवीसँग समेटिएका कवितामा ‘अभाव’,त्रिशूलीमा गिटी कुट्नेहरू, कैसाङ् र तीनपाने, ओडारे माइलाका भोका सपनाहरू, तमसुक, सपना र तिम्रो तस्बिर, म सपना देखिरहेछु र खोसीएको खुसी र जिन्दगीलाई हामीलै एक मुष्ठ अध्ययन गर्न सकिन्छ । पहिलो कविता अभाव सारा देशनै अभाव ग्रस्त छ। यस्तो अवस्थामा घरको हरेक अभावलाई भत्काउनको लागि आशावादी बन्दै प्रदेशिएको युवाले आफ्नी प्रियलाई अभावका बोटहरू निमोठ्न आफ्नै देशमा फर्कने वाचाको सन्देश पठाउँछ । त्रिशूलीको वगरमा आफ्ना सन्तानको पेट भर्न र कापी कलमको जोहो गर्न गिटी कुट्दाको मार्मिक वेदनाले देशका गरिबीको नाङ्गो चित्र उतारेको छ । देशमा परिवर्तन भयो तर परिवर्तन जनताका लागि नभएर राज्यसत्ता हाक्नेहरूकै लागि देखियो । गरिबका पसिना बगिनै रहेका छन् । मानिसले मदिरा किन पिउँछ ? यो मार्मिक प्रश्न तेर्सिन्छ हाम्रो अगाडी –कविले भन्छन् –“मजेत्रोमा भिजेको सङ्गिनीको आँसु
भोकै निदाएका नावबालकहरूको अनुहार एक घुट्की पिएर मुख बिगारेपछि किन बिर्सिन्छौ साँझहरू ?” मातले न घरकालाई खाना मिल्छ न त शान्ति नै । यहाँ अर्को मार्मिक कविता छ कविको एउटा गरिबले गरेको परिश्रममा शरिरले भोग्न परेका मार्मि डामहरू, डोकाका डामहरू, नूनिला आँसुका ढिकाहरू र असह्य अवस्थामा कविले सरकारसँग सोध्छन् –‘कहिले पुराहुन्छन् हँ ओडारेमाहिलाका भोका सपनाहरू।” बास्तवमा गास बास कपासको जोहो गर्नु त सरकारको दायित्व हो । तमसुक,यस देशका युवाहरू भएका टारी टुक्रा सबै साहुलाई समपर्ण गर्दै तमसुक लेखेर खाडी पसेका युवाको घरपरिवारले पोखेका कारुणिक शब्दहरूलाई कविले यसरी पोखेका छन् –‘तिमीले खनेका कोदालोको डोब, हरियै फुलेको बगैंचा,लहलह उम्रेका पूmलका कोपिला र साहुको तमसुक तिमीलाई पर्खि रहेछन् ।” बास्तवमा ऊ तमसुकको श्रृण तिर्न मेशिन झै चल्दै छ मरूभूमिमा ।
राष्ट्रले भोगेका द्वन्दसँग आवद्ध कविताहरू–कविले विविध शीर्षक दिएर देशले भोगेका द्वन्द्व, देशका शासकीय प्रवृत्ति तथा राजनीतिक परिवेश आदिलाई समेटेर लेखिएका कविताहरूलाई केलाउँदा कविता कारुणिक खालका छन् । देशमा राजनीतिक परिवर्तन त आयो तर शासकीय प्रवृत्ति,राजनीतिक नेतृत्व, देशको आर्थिक अवस्था आदिमा कुनै परिवर्तन देखिएन । जनताको जीवनकर्म उन्नतीतिर लम्कला भन्दा झन झन गिर्दो अवस्थामा जाँदै छ । जनताका आसाका सपनाहरू झुट सावित हुन गएका धारणा ्राख्दै कविले भन्छन् – “मैले आस गरेर उनेका मालाहरू साच्चै सपना रहेछन् ,मिम्ले आफ्नो तस्विर सुन्दर ठाने पनि सायद तिम्रो अनुहार कुरूप रहेछ ।”
जनताले गरेको आन्दोलनबाट जन्जिर तोडिएका र पर्खाल भत्काइएका धारणा कविले यसरी राखेका छन् –
जुन दिन तिमीले बन्दुक तेस्र्याएर
स्वतन्त्रताको पर्खाल ढालेका थियौ
सडकमा रक्ताम्य मान्छे ढलेका थियौ
त्यो रगत पोखिँदा–पोखिँदै
तोडिए तिम्रा बन्दुकका जन्जिरहरू
ढालिए क्रुरताका पर्खालहरू
(जन्जिर पर्खालहरू, पृष्ठ ५०)
देशमा दोहोरो द्वन्द्व थियो । जनता दुई बन्दुकको बीचबाट आन्दोलन रत थिए । जनताले यी सबै कठिनाइका बापजुत पनि क्रुरताका पर्खालहरू ढालिएको र तोडिएको विवरण यस कवितामा सफलताको साथमा वर्णन गरिएकाछन् ।
क्रान्तिपछि देशमा आमूल परिवर्तन हुनुपर्ने थियो । तर सत्ता परिवर्तन गर्ने काममात्र भयो । जनप्रतिनिधिले तथा सरकारले देशको राजनीतिक वागडोर जे जसरी संचालन गर्नु पर्ने थियो त्यो हुन सकेन यी राजनीतिक कार्यलाई नियाल्दै कविले भन्दछन् –
हामीले इतिहासका पानामा
इतिहास लेखेर भुल ग¥यौं ।
(होसियार,पृष्ठ ५६)
क्रान्तिपछि नयाँ इतिहासको सिर्जना हुनु थियो त्यो हुन सकेन । जनताको चाहना प्रकाशमय जीवन र शान्तिको चाहना हो तर ती उपलब्धी जनताले अनुभूति गर्न पाएका छैनन् । यहाँ निमार्णको सट्टा विनाशले स्थान लिंदोछ । संसारबाटै इमान भाग्दो छ र वेइमानीको जगजगी बढ्दो छ यो परिदृश्यमा कविले प्रश्न राख्छन् – “यो सहर इमानको हो या वेमानको ?”
यस कविता सङ्ग्रहमा मार्मिक भावनाले भरिएका थुप्रै कविता छन् जस्तै सालिक जीवित छन्देर उसले गरेका अमूल्य योगदानका कदर भएनन् । कुनै ठाउँमा सालिक ठड्याइन्छ जन्म दिन र मृत्युवरण गरेको दिन सहिद दिवस मनाइन्छ पूmलमाला चढाइन्छ तर ऊ जीवित छँदा भोगेका यातनालाई कविले बिम्बको रूपमा यसरी प्रस्तुत भएका छन् – “तर , म जीवित हुँदा ! कति लुटियो मेरो अस्तित्व, भोकले झारेका आँसुहरू अझै ओभाएका छैनन्, सडकमा हेरिरहेका आँखामा ।” अर्को कविता छ सडक जो हिडनमा प्रयोग हुन्छ तर यो पनि कहाँ सहजंरूपमा हुन्छ र कहिले बन्द कहिले आन्दोलन, आन्दोलनमा बगिने रगत तर पनि पीडालाई सहजै पचाई दिन्छ र मुस्कुराइ दिन्छ सडक । यस कवितासङ्ग्रहमा थुप्रै द्वन्द्वको बारेमा लेखिएका कविताहरू छन् ती कवितामा द्वन्द्वले निम्त्याइएको भौतिक क्षती सामाजिक विकृति, आर्थिक नोक्सानी विकासमा अवरोध, कसैको कोख रित्तिनु, सिउँदोको सिन्दूर मेटिनु, बालबच्चम टुहुराहुनु, बृद्धबृद्धा पुत्रपुत्री विहिन हुनु यस्तो कहाली लाग्दो अवस्थामा कवि चिन्तित हुँदै भन्छन् –“के गर्नु आमा म सँग बुद्धको औषधि छैन ।”
राजनीतिको फोहोरी खेलले कस्लाई छाडो र न त बालबालिकालाई नै छाड्यो नत बृद्धबृद्धालाई । अवोध बालबालिकाले कस्लाई के नै बिगारेका थिए र नरपिसाचबाट यी पनि बाँचेनन् । कवि यस्ता कर्मवाट बाँच्न सफलप्रति यस्ता धारणा राखेका छन् –
“मानव सभ्यताको कालो दाग सहेर
बाँच्ने भाग्यमानी नागरिकप्रति
मसँग कुनै समवेदना बाँकी छैन ।”
द्वन्द्वको यो अवस्थामा आमा रोएका धारणा, मृत्युसँग बाच्नको लागि आग्रह, , त्रासदी फैलिएका कुरा, सडकमाथि र वरिपरि रातै बनेर पोखिएको रगत, आदिमा कविको भावना उर्लिएर आएको , यो कृति पढ्नेको मानिसको मन मार्मिक भावनाामा पग्लिन्छ ।
जीवनजगतसँग जोडिएका कविताहरू– साहित्य समाजको दर्पण हो । समाजलाई अग्रणीबाटो हिडाउनु पनि साहित्यकै काम हो ।समाजको कृयाशीलताले नै प्रगतिको मार्ग उज्यालो हुन्छ । कविले ‘आउ हाम्रो यात्रामा , मलम खोजिरहेछु, हिमाल, पहाड भत्कन्न, शोकधुन र भविष्यका सपनाहरू, दुधकोशी हुँदै यात्रामा, एक चिम्टी सिन्दूर आदि कवितामा मानव जीवनका यथार्थ भोगाइलाई प्रष्ट्याएका छन् । यात्राका उद्देश्य अवस्य अलग अलग हुन सक्छन् तर अन्तिम लक्षभनेको एउटा निश्चित सीमामा पुग्नु नै हो । यहाँ कविले भोका पेटहरूलाई, कसरी पेट भर्न सकिन्छ,बत्तीहरू बालेर बस्तीहरू कसरी उज्यालो पार्न सकिन्छ आदि विकासको यात्रा,मानव जीवनलाई प्रकाशमय पार्ने उद्देश्य लिएर अगाडी बढी रहेका छन् ।
‘म मलम खोजी रहेछु ’ कविले चहराइ रहेका घाउका लागि मलम र देशको दिनरातले बुद्धत्व खोजेका धारणा राखिरहेका छन् । हिमालको सुन्दरता, हिउँको पग्लाइमा देखिने काला चुचुराहरू पहाडको स्थिरता, प्राकृतिक सौन्दर्यता, राष्ट्रको पहिचान को सुन्दर वर्णन, यसरी नै पहाड अटलछ, सगरमाथा कसैैले ढाल्न खोजे ढल्दैन, कसैले कसैको नास खोज्छ भने ऊ आफै नास हुन्छ , मानवताको नास हुँदैछ राक्षसी अनुहारको अवलोकन हुँदै छ तर हरेक दिन रात खुसीको आवश्यक्ता दर्शिदो छ, विदेश पलायन भएकाहरूको आगमनमा स्नेहका आँसु वर्षिदो छ, एक चिम्टी सिन्दुरले वाँधीएको जीवनले दिएको कष्टमय जीवनमा अनुहारभरी बगिरहेको झरना, आदि मानव जीवनका भोगाइलाई कविताले पस्केको छन् ।
विविधतालाई समेटेका कविताहरू– यस कृतिमा, साँपहरू, बुढो पिपलको रूख, तिम्रो साथ,माटाको माया, नदी,विश्वास भत्किएको बेला,कविताहरूमा विविध पक्षलाई समेटिएको देखिन्छ । आजको स्वार्थीपनले भरिएको मानव जीवनमा आपूmले नै पोषित मानिसले सक्षम भएपछि आपूmमाथिनै आइलाग्ने प्रबृत्तिजस्तै साँपलाई दूध पिलाएर पालदा आफैलाई डस्नु, पिपलको रूखले मानवलाई छाहारी दिन्छ मानिसलाई नभै नहुने अक्सिजन दिन्छ तर पनि मानवजातीले त्यसैमाथि बञ्चरो आदिले आक्रमण गर्दछन् ।
कविले प्रेमरसलाई पनि समाएका छन् ‘तिम्रो साथमा’ । प्रेमिकाले प्रेमि तथा प्रेमीले प्रेमिकाको साथमा बसेर ‘देखाउनै नसक्ने मायाको झर्नाले प्रत्येक रात वा दिन सर्लक्के नुहाएर दौडीरहन चाहन्छु जिन्दगीका हरेक बाटाहरूमा’ जस्ता प्रेमिल भावनाहरू यहाँ दर्शिएका छन् ।
राष्ट्र र राष्ट्रियतामा समर्पित कविता–देश तथा आफ्नो माटोमाथि प्रेम हुनु स्वभाविक हो । जस्मा राष्ट्रियताको भावना हुँदैन त्यो मानिसको जीवन व्यर्थ मानिन्छ । यस कृतिमा राष्ट्र र राष्ट्रियताभावना बीच बीचमा झल्किएका छन् तापनि माटोको मायामा विशेष राष्ट्रियताका भावना झल्किएका छन् । कविले लेख्छन् –
माटोको गन्धले उम्लिएका तरङ्गित आवाजहरू
माटोको आस्थामा पोतिएका हृदयका स्वरहरू
पिल्लरको रक्षार्थ बग्न खोज्छ रातो–रातो रगत
अनि चिच्याउँछ स्वासको अस्तित्व
(पृष्ठ २७, माटाको माया )
आज ठूलादेशले हाम्रो सीमामा अतिक्रमण गरेका छन् ।हामी सबै चिन्तित हुन आवश्यक छ ।
सिर्जना र विनाससँग सम्बन्धित कविता– विकासकको थालनी र विनासको अन्त्यको धारणा यस कविता कृतिमा यत्रतत्र पाइन्छन् । नदी एक बहुगुणले युक्त कविता हो यसले पिउने पानी, सिँचाई प्रदान गर्दै विनासको मार्ग पनि समाएको हुन्छ । नदी निरन्तर बगि रहन्छ । मानिसमा पनिे निरन्तताको आवश्यकता पर्दछ ।
विश्वास भक्तिकिएको वेला – यो यस कृतिको अन्तिम कविता हो । यस कृतिले नयाँ इतिहास सिर्जनाको भावनालाई राख्दै सहर पसेर, रङ्गि बोत्तलका विर्का तोडेर भोकाएको अभिनय गरेको,मा कवि चिन्तित छन् र भन्छन् –
थोत्रो आस्था भत्काउने बिचार
अव भत्काउनुपर्छ तिमीहरूले
आफ्नै अस्तित्वहीन पर्खाहरू
अविश्वासका गहिरा –गहिरा खाडलहरू
यो संसार चलेकै विश्वासको भरमा छ तर विश्वास अविश्वासमा परिण भयो भने मानिस अस्तित्वहीन हुनजान्छ र उसको आस्थामा क्षय हुन जान्छ । विश्वासको संकट कहिल्यै पार्न हुँदैन ।
भाषा शैली – बास्तोलाजीको प्रस्तुतकला निकै सहज र सरल छ । उहाँको प्रस्तुती पनि जे अनुभव र अनुभूति भएको छ त्यसलाई प्रष्टरूपमा पस्कने जुन प्रयास गर्र्नु भएको छ प्रशंसनीय र अनुकरणीय छ । सरल भाषामा सहज रूपमा कविताले स्थान लिएका छन्
निष्कर्ष – होमशंकरजीले यस कृतिमा विविधपक्षलाई समेटेर एउटा नविनतम् शैलीमा नविनतम् भावना तथा धारणालाई पस्कनु भएको छ। कृतिमा द्वन्द्वको स्थानलाई अग्रता दिंदै, प्रगतिशील पथलाई अँगाल्दै राष्ट्र, राष्ट्रियता, गरिबी ,मानिसले भोगेका जीवन जगतका धारणाहरू, मानवीय स्वार्थवादी प्रवृति, मानवले देख्ने विविधखाले सपना, राजनैतिक विडम्बना, सीमा अतिक्रमण लगायतका घटनालाई कविताले सुन्दर शैलीमा समेटेका छन् । प्रस्तुति सुन्दर छ । भाषा सरल छ । भावनात्मक अभिव्यक्ति प्रष्ट छ । परिमार्जनको आवश्यक्ता यहाँ पनि देखिन्छ । लेखन र अध्ययनको निरन्तरताबाटै परिमार्जनले नै स्थान लिने हो ।
अतः नविनतम शैलीमा कविताको कृति प्रकाशबाट नेपाली साहित्यको कविता क्षेत्रको भण्डारलाई दर्विलो पार्ने कामको लागि होमशंकरजीलाई बधाईको साथै यस्ता नविनतम् कृतिहरू अध्ययन गर्न पाइओस भन्दै सुस्वास्थ एवम् दीर्घआयुको कामनाको साथमा विदा चाहान्छु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।