भाषामा लँडाई गर्छ मान्छे, गर्नलाई भने कुरा छैन
बर्बराइरहन्छन् ओठहरू, मनैमा भने भाव पूरा छैन
बोल्यो कि ए भाइ, भाषा हुन्न, भाषाको मुटु हुन्छ
इकार र उकार मात्र होइन, भाषाको परिवार हुन्छ
यो यहाँको, यो त्यहाँको भन्दै शब्द फ्याँकिसक्यौ
यसलाई यता, यसलाई उता भन्दै अर्थ घुमाइसक्यौ
न बोल्ने रहयो, न सुन्ने रहयो, सम्प्रेषण शून्य भयो
भाषाको किताप छ तिमीसित, यही तिमीलाई पुण्य भयो
के गर्छौ जानेर चोखो भाषा, उच्चारण गर्नै 'जुठो' छ भने
के गर्छौ जानेर ठेट शब्द, उच्चारण गर्नै 'ठुटो' छ भने
व्याकरण पर्दैन, वनजङ्गललाई भाषा हेर कति छ।
भाषा लिएर हिँडेको तिमी, भुइँ हेर, के कति छ !
चिन्ता नगर भाषाको तिमी, भाषा बनाउने कोही छन्
तिमीले बोले /नबोलेको सब् सुन्ने, ज्ञाता कोही छन्
भाषा होइन चालीस दिनको, युगौंमा आइपुगेको
तिमी नहुँदा नि, जिवित उसले, छ आफूलाई राखेको
थाह गर्नू भाषा जनको, नबोले नि हुने हुन्छ
आँखा हेरयौ भाषा मनको, भाव उर्ली रूने हुन्छ
जब भाषा प्रौढ हुन्छ, निश:ब्द उसको गीत हुन्छ
भाव सङ्लोस् मनको खोली, भाषा आफैं शुद्ध हुन्छ।