16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नोकर

लघुकथा मनोहर पोखरेल November 28, 2022, 12:52 pm
मनोहर पोखरेल
मनोहर पोखरेल

‘होइन आज पनि मुन्टेकी छैन त्यो । पैसा भने महिना नपुग्दै लैजान्छे ।’ आमाको पारो बिहानैदेखि तातेको थियो । पुस महिनाको मध्य भएकोले चिसो राम्रैसँग बढेको थियो । चिसोमा काम गर्नु पर्दा आमा रिसको पोका परेकी थिइन् ।
कठ्यांग्रिँदो जाडोमा विहानबेलुकै आउँथिन् भक्ति । नियमित आउने भक्ति दुई दिनदेखि आएकी थिइनन् । ‘कामधन्दाबाट हटाइ दिए यिनीहरूको मुखमा माड लाग्दैन, भोकै मर्छन् ।’ आमा फतफताइरहनु भएको थियो– ‘आफू नआए छोरीलाई पठाइ दिनुपर्छ नि । यसपटक पैसा कटाउँछु अनी तह लाग्छे ।’
आफ्नो चुलो बाल्न कै लागि भक्ति घरेलु नोकर भएकी थिइन् । अभाव र गरिबीले जुठोभाँडो माझ्थिन् । उब्रेको खानेकुरासँगै हरेक दुर्वचन घुटुक्क निल्थिन् । दुई दिन नआउँदा घरमा जुठो भाँडाको रास लागेको थियो । कपडा थुप्रिएको थियो । कोठाहरू असरल्ल थिए । त्यसैले आमाको क्रोध बढेको थियो ।
आफू र मलाई चिसो लाग्ला भनेर आमा सचेत हुनुहुन्थ्यो । भक्तिप्रति भने अनुत्तरदायी बन्ने गर्नुहुन्थ्यो । चिसो त भक्तिलाई पनि लाग्थ्यो । तर आमाले कामको सम्मान गरेको सुनेकी थिइन् ।
‘घरको सामान्य काम आँफैले गर्न सकिदैन र आमा ?’ भाँडा माझ्न बस्दै मैले भनेकी थिएँ– ‘उसलाई हाम्रो र हामीलाई उसको आवश्यक्ता छ । त्यसैले नोकर त हामी पनि भयौ नि !’ अब भने आमा शान्त भएर सुनिरहनु भएको थियो । ‘उसलाई नोकर नभनौ आमा । हामी नै बरु अनावश्यक इच्छाको नोकर बनेका छौ । अल्छी बानीले हामीलाई आफ्नै सोखको नोकर बनाएको छ आमा ।’
माझ्दै गरेको भाँडाकुडा पखाल्दै आमाले समर्थन जनाउँदै भनेकी थिइन–‘हो छोरी, ऊ परिस्थितिले नोकर, हामी आफ्नै सोख र सोंचले नोकर !’

राजविराज–६, सप्तरी, नेपाल

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।