16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

किशोर पहाडीको विशुदाइ कथा सङ्ग्रह र कथागत प्रवृत्ति

कृति/समीक्षा डा. शेखरकुमार श्रेष्ठ November 28, 2022, 12:55 pm
डा. शेखरकुमार श्रेष्ठ
डा. शेखरकुमार श्रेष्ठ

१ विषय प्रवेश
किशोर पहाडी (जन्म–२०१३) तीसको दशकबाट नेपाली साहित्यमा उपस्थित भएका कथाकार हुन् । २०२८ सालको नयाँ सन्देश पत्रिकामा ‘म के जवाफ दिऊँ’ कथा प्रकाशित भएपछि उनको औपचारिक कथा यात्रा सुरु भएको हो । उनका हालसम्म बाँच्नु र बाँचेकाहरू (२०३६), घर–खण्डहर (२०३७), कथाकोण (संयुक्त, २०४३), विशुदाइ(२०४७), किंवदन्ती(२०५३), सर्वज्ञ र सेक्स (२०५५), एकैसाथ हाँसौ (अनूदित,२०५५) जस्ता कथा सङ्ग्रह, सहरमा बत्ती निभेको बेला (२०५३) कविता सङ्ग्रह, लमलमती दम(२०५६), आ–आफ्नो भाग(२०६४), हाँस र फुच्ची केटी (२०६६) जस्ता बालकथा सङ्ग्रह प्रकाशित छन् । प्रस्तुत अध्ययनका लागि चयन गरिएको विशुदाइ कथा सङ्ग्रह २०४७ सालमा प्रकाशित कथा सङ्ग्रह हो । यो कृतिले सोही साल साझा पुरस्कार प्राप्त गरेको थियो । यस सङ्ग्रहमा अठार ओटा कथा सङ्गृहीत छन् । यस सङ्ग्रहमा सङ्गृहीत कथालाई विषयवस्तु, पात्र वैशिष्ट्य, परिवेश, भाषाशैली र उद्देश्यका आधारमा अध्ययन गरी पहाडीको कथागत प्रवृत्ति निरूपणको प्रयास यहाँ गरिएको छ ।
२ विषयवस्तुका आधारमा विशुदाइ कथा सङ्ग्रहको अध्ययन
विशुदाइ कथा सङ्ग्रहको पहिलो कथा खुर्पा र आत्महत्याको सम्भावना हो । यस कथामा नारीले भोग्नु परेको समस्या, जीवनको जटिलता, जीवन भोगाइको विशृङ्खलित क्रम, जीवनको निस्सारतालाई कारुणिक र मार्मिक ढङ्गले चित्रण गरिएको छ । यस कथाको पात्र सुखिया आमाको आत्महत्यापछि मामाघरको शरणमा पर्दछे । अनाथ सुकियाले त्यहाँ भान्जीको प्रेम पाउनुको साटो माइजूबाट दिनरात कर्कसा सुन्न पर्छ । यति मात्र होइन ऊ मामा (अभिभावक) बाट नै बलात्कृत भई गर्भवती हुन्छे । त्यसपछि उसको विवाह गाउँकै गरिब केटो फारुखसँग हुन्छ । विहेपछि उसले परिवार र आफ्नो जीविकोपार्जनका लागि कठिनसाध्य र सङ्घर्षपूर्ण जीवन जिउँछे । ऊ बाल्यकाल, यौवनकाल, प्रौढावस्थाको दुसाध्य जीवन भोगाइबाट विरक्त हुन्छे । ऊ आफूमात्र होइन कोखबाट जन्मिएकी छोरीको जीवनलाई पनि आफ्नै जीवनसँग हेरेर निरस उच्छवास महसुस गर्दछे र जीवनमा कतै आशालाग्दो स्थिति नदेखी आत्महत्याको भयावह परिकल्पना गर्दछे ।
जाँड र जाँडका कीरा कथामा वर्तमान युगका शिक्षित युवावर्गले भोग्नुपरेको बेरोजगारी र त्यसले निम्त्याएको समस्या प्रस्तुत छ । यसमा उच्च शिक्षा प्राप्त गरेको व्यक्तिको जीवनमा पनि बेरोजगारका कारण छाउने उदासीनता र त्यसले निम्त्याएको विकृत उन्मुख चरित्र प्रस्तुत गरिएको छ । यस कथामा बेरोजगारलाई सामाजिक तथा युवावर्गको समस्याका रूपमा प्रस्तुत गरी त्यसले पार्ने मानसिक प्रभाव चित्रण गरिएको छ ।
ठूलो काठमाडौं सानो शब्दचित्र कथामा पर्यटक र पथप्रदर्शक (गाइड) पात्र छन् । गाइडले पर्यटकलाई काठमाडौं परिक्रमा गराउने सिलसिलामा पढ्न लेख्न नपाएका केटाकेटी, अव्यवस्थित वजार, पार्किङ, यातायात जस्ता कुरालाई प्रस्तुत गरी विकृतजन्य काठमाडौंको परिवेश देखाइएको छ । प्रस्तुत कथा परिवेश प्रधान आलोचनात्मक यथार्थवादी कथा हो ।
तेरो कथा लेखेँ शमशेर कथामा आर्थिक समस्या र त्यसले मानवीय आदर्श, धर्म, विवेक, बुद्धि र विचारमा पार्ने प्रभाव प्रस्तुत गरिएको छ । मान्छे अर्थको दास हो । यसका लागि मानिसले हरेक कुरा विक्री गर्न वाध्य र विवश भएका छन् । यस कथामा बेरोजगारी समस्या, त्यसले निम्त्याएको सङ्कट, पतनोन्मुख व्यक्ति, समाज र राष्ट्रको चित्रण गरिएको छ । व्यक्ति र समाजका व्यापक विषयवस्तुलाई यस कथामा उठाइएको छ । यो आलोचनात्मक यथार्थवादी कथा हो ।
धेरै जनकराजहरू र एउटा झोला अकथा हो । यस कथामा धनी र गरिबबिच रहेको पारिवारिक माया, ममता र स्नेहलाई तुलनात्मक रूपमा प्रस्तुत गरिएको छ । यस कथामा धनाड्य परिवारको पैसामुखी व्यवहार एकातिर प्रस्तुत छ भने अर्कातिर गरिव परिवारका सदस्यहरूमा रहेको हार्दिकता देखाइएको छ । यसका साथै प्रस्तुत कथामा पतनोन्मुख उच्च घरानिया परिवारको आर्थिक अवस्था, ऐसआराम र मनोमालिन्यपूर्ण जीवन प्रस्तुत गरिएको छ । यस कथामा व्यक्तिको जीवनलाई एउटा कोणबाट नहेरी विभिन्न कोणबाट हेरिएको छ । यो कथा आयामेली सिद्धान्तमा प्रस्तुत गरिएको छ ।
प्लास्टिकका दुई हात, प्लास्टिकका दुई खुट्टा र एउटा काँडे तार कथा सरकारी उच्च ओहोदामा रहेका व्यक्तिले गरेको पदीय दुरुपयोग र भ्रष्टाचारलाई प्रस्तुत गरिएको छ । यस कथामा सामाजिक घटना प्रस्तुत भए पनि प्रस्तुतिको तरिका भने काल्पनिक र नवीन छ ।
बाह्र बजेर पैँतीस मिनेट जाँदा कथामा सन्तानले बाबु वा वंशको धर्म जोगाउन नसकेको कुरा अभिव्यक्त छ । बाबुले सन्तानका लागि सम्पूर्ण जीवन अर्पण गर्दछ । छोराका लागि जागिरबाट आएको पेन्सन वृद्ध समयलाई नराखी छोराको खुसीमा खर्च गरेको छ तर छोराले बृद्ध आमाबाबुको हेँला गरेको सन्दर्भ प्रस्तुत छ । यस कथामा आमाबाबुले सन्तानका लागि जेजति गरे पनि छोरोले बृद्धावस्थामा नहेरेको कुरा अभिव्यक्त गरिएको छ । यस कथामा पुस्तान्तरण देखाई पछिल्लो वा नवीन पुस्ता स्वार्थी, मर्यादाहीन, अनुशासनहीन भएको कुरा व्यक्त गरिएको छ । प्रस्तुत कथाको विषयवस्तु अतियथार्थवादी छ ।
भोलामानले मलाई के दिएको त्यस्तो ! यथार्थ र अयथार्थ मिश्रण भएको कथा हो । यसमा अतियथार्थवादको प्रयोग छ । यस कथामा मानिसले बाहिरी शरीर ढाक्न सुन्दर कपडा लगाए पनि भित्रको शरीर कुरूप र स्वार्थी रहेको तथ्य प्रस्तुत गरिएको छ ।
मृतजीवी कथामा नारीले भोग्नु परेको दुःसाध्य जीवन प्रस्तुत छ । सानैमा विवाह गर्ने देवयानी लोग्नेलाई पढाइ ठुलोमान्छे बनाउन दिनरात मिहिनेत गर्दछे । लोग्नेले उसकै परिश्रमबाट प्राप्त पैसाले ओभरसियर उत्तीर्ण गर्दछ र जागिर खान्छ । लोग्नेले जागिर खाएपछि सुखको आशामा बसेकी देवयानी मायाको बदला तिरस्कार र उपेक्षाको शिकार बन्छे । अन्ततः देवयानीले सौताको तिरस्कार सहन गर्नुपर्छ । उसलाई लोग्नेले दिनरात कुटेर घरबाट निकालिदिन्छ । यसबाट पनि देवयानीको लोग्ने खुसी नभई पारपाचुकेका लागि दबाब दिन थाल्छ । घर छोडेर अर्काको घरमा काम गरेर जीविका चलाउन थालेकी देवयानीलाई पतिले मानसिक कष्ट समेत दिन थाल्छ । अन्ततः एक दिन देवयानी कसैले थाहा नपाउने गरी बेपत्ता हुन्छे । यसरी यस कथामा नारीको सङ्घर्ष र कष्टपूर्ण जीवन प्रस्तुत गरिएको छ । यस कथामा पुरुषले नारीलाई दुःखका लागि जीवन जिउने साधन बनाए पनि सुखमा साथ नदिएको कुरा देखाइएको छ ।
यन्त्र कथामा नारीलाई बच्चा जन्माउने तथा पुरुषको यौनेच्छा तृप्त गराउने साधनका रूपमा लिइएको छ । दिनभर घरको कामले लस्त भएर पनि नारीले रातको समयमा आराम गर्न पाउँदिन । ऊ त रातमा पनि सन्तानको खाना र लोग्नेको यौन इच्छा तृप्त गराउने खेलौना बन्नुपर्ने नियतिलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ ।
विशुदाइ कथामा एकातिर कलाको मर्म प्रस्तुत छ भने अर्कातिर कलाको सर्जकको सङ्कटापन्न आर्थिक स्थिति प्रस्तुत छ । बिशुदाइ चित्रकार हो । उसले सम्पूर्ण कलाकार तथा साहित्यकारको प्रतिनिधित्व गरेको छ । उसमा आर्थिक समस्या छ । यही कारणले ऊ चित्रका लागि आवश्यक सामग्री पनि किन्न सक्दैन । त्यसैले आफ्नो चित्र पूरा गर्न ऊ हातको औँला काटी निस्किएको रगतले चित्रमा रङ्ग भर्दछ । मूलतः यसमा कला क्षेत्रमा लाग्ने मानिस र परिवारले भोग्नु परेको समस्या प्रस्तुत गरिएको छ ।
शिशिर–वसन्त आत्मप्रेरणा जागृत गराउने कथाकार स्वयम्को कथा हो । प्रस्तुत कथा एकालाप शैलीमा लेखिएको छ । यसमा कथाकार स्वयम्को व्यक्तिगत, सामाजिक साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय समस्या प्रस्तुत गरी यी समस्याबाट सबै मानिस पीडित रहेको कुरा उल्लेख गरिएको छ । निबन्धात्मक शैलीमा लेखिएको यस कथामा कथाकारले मान्छेका लागि गाँस, वास, कपास आदिको आवश्यकता पर्दछ । यिनै कुरा प्राप्तिका लागि मानिस सङ्घर्षरत छ । यी कुराको प्राप्ति जीवनमा सधैँ एकनासले हुँदैन । जीवनमा वसन्त मात्र होइन, शिशिर पनि आउँछ भन्ने भाव प्रकट गरिएको छ ।
शैली सहर उन्मुख युवावर्गमा देखिएका विकृति–विसङ्गतिलाई आधार बनाई लेखिएको कथा हो । यस कथामा सहरमा पढ्न बसेको युवाले गाउँ र आमालाई गरेको तिरस्कृत व्यवहार प्रस्तुत गरिएको छ । यात्रा शैलीमा लेखिएको यो आलोचनात्मक यथार्थवादी कथा हो ।
हर्खे र हर्खेको हाकिम कथामा प्रशासनिक क्षेत्रमा देखिएका विकृति–विसङ्गति, भ्रष्टाचार, अनैतिकता प्रस्तुत छ । यस कथा सङ्ग्रहमा अङ्कुर, अतिरिक्त प्रेम, मुसो र धर्म कमाउने लालसा लघुकथा छन् । अङ्कुर कथामा आर्थिक समस्याले पीडित बालगोविन्द शर्मा पढ्नका लागि पैसा कमाउने र पैसा कमाउन वकिल बन्ने सपना देख्छ । संवादात्मक शैलीमा लेखिएको यस कथामा आर्थिक समस्या र त्यसले पारेको प्रभाव उल्लेख छ । प्रेम संवादात्मक शैलीमा लेखिएको कथा हो । लोग्नेको माया चाहने शुभद्रा लोग्नेप्रति चासो राख्छे तर लोग्ने भने बेवास्ता गर्दछ । मुसो र धर्म कमाउने लालसा कथामा इज्जत, मान, सम्मानका लागि होडबाजी भएको कुरा प्रस्तुत गर्दै शक्तिका सामु सबै निरीह रहेको यथार्थ प्रकट छ ।
किशोर पहाडीको विशुदाइ कथा सङ्ग्रहमा सङ्गृहीत अठार कथाहरूमा पारिवारिक, सामाजिक, वैयक्तिक, प्रशासनिक तथा राष्ट्रिय क्षेत्रमा देखापरेका समस्या प्रस्तुत गरिएका छन् । यस क्रममा यस सङ्ग्रहमा सङ्गृहीत खुर्पा र आत्महत्याको सम्भावना, मृतजीवी, यन्त्र र प्रेम कथामा नारी समस्या र उनीहरूले भोग्नु परेको पीडा प्रस्तुत गरिएको छ भने जाँड र जाँडका कीरा, तेरो कथा लेखेँ शमशेर, विशुदाइ र अङ्कुर कथामा सामाजिक आर्थिक समस्याका कारण व्यक्तिका जीवनमा देखिने तनाव र विकृति उन्मुख व्यवहार प्रस्तुत छ । त्यस्तै, प्लास्टिकका दुई हात, प्लास्टिकका दुई खुट्टा र एउटा काँडे तार तथा हर्खे र हर्खेको हाकिम कथामा प्रशासनिक क्षेत्रमा देखिएका विकृति र असङ्गति प्रस्तुत छ । उनको मुसो र धर्म कमाउने लालसा कथामा मिथकको प्रयोग छ । यस कथा सङ्ग्रहका कथाहरुमा कथाकारले आफैले जीवनमा भोगेका, देखेका, सुनेका घटनालाई प्रस्तुत गरेका छन् । यस सङ्ग्रहका कथामा विषयवस्तु नवीन नभए पनि प्रस्तुतिगत शैली नवीन छ । उनले सामान्य विषयलाई पनि आङ्गिक ढङ्गले व्यतिक्रमिक शैलीमा प्रस्तुत गरी कुतूहल सिर्जना गरेका छन् । पहाडीले यस सङ्ग्रहका कथाहरूमध्ये ठूलो काठमाडौं सानो शब्दचित्र कथामा परिवेशलाई नै कथाको विषयवस्तु बनाएका छन् । उनले यसमा कथाका पात्र र घटनाहरूभन्दा पनि परिवेशलाई बढी जोड दिएका छन् । यो कथा निबन्ध विधाको नजिक छ । अतः यसमा विधा मिश्रण भएको छ । यो अकथा हो । धेरै जनकराजहरू र एउटा झोला कथामा पहाडीले मानिसको रूप बेग्लै भए पनि चरित्र र व्यवहार भने समान भएको कुरा उठाई सामूहिक विकृतिलाई गम्भीरतापूर्वक उठाएका छन् । यस कथामा उनले अतीतावलोकन शैली प्रयोग गरेका छन् । यो पनि उनको अकथा हो । भोलामानले मलाई के दिएको त्यस्तो ! कथामा जादुगरले दिएको चस्मा र त्यसको कामलाई स्वैरकाल्पनिक रूपमा प्रस्तुत गरेका छन् । यस कथामा चस्मालाई मानव मनको विश्लेषण गर्न र मान्छेका दुई फरक व्यवहार पहिल्याउन प्रस्तुत गरेका छन् । यो कथा प्रकृतवादी कथाको नजिक छ । उनको शिशिर–वसन्त कथामा आफ्नै मनले अनुभव गरेको मनका तरङ्गहरूलाई एकालाप वा मनोवाद शैलीमा प्रस्तुत गरेका छन् ।
३ चरित्र
किशोर पहाडीको विशुदाइ कथा सङ्ग्रहभित्र सङ्गृहीत कथामा विषयवस्तु अनुसार विविध पात्रहरू चयन गरिएका छन् । उनले कथामा कथाका चरित्रहरूको चारित्रिक विश्लेषणमा जोड दिइएको छैन । बरु पात्रका माध्यमबाट सामाजिक, आर्थिक, प्रशासनिक आदि क्षेत्रमा देखा परेका समस्या प्रस्तुत गरेका छन् । उनका कथाका पात्रहरू कुनै न कुनै समस्याभित्र रुमलिएका छन् । मूलतः बेरोजगारी, आर्थिक, सामाजिक समस्याबाट ग्रस्त पुरुष पात्र तथा पुरुषबाट अपहेलित र पीडित नारी पात्रहरू प्रयोग गरेका छन् । उनका कथाका पात्रहरूले घटनाका शृङ्खला प्रस्तुत गर्नुभन्दा पनि आफ्नो माध्यमबाट समाजका विभिन्न क्षेत्र र पक्षमा देखिएका समस्याको प्रतिनिधित्व गरेका छन् ।
किशोर पहाडीद्वारा लिखित विशुदाइ कथा सङग्रहमा चयन गरिएका सम्पूर्ण कथाका पात्रहरू सोद्देश्यमूलक छन् । यथार्थ सामाजिक घटना दर्साउन समाजका यथार्थ पात्र चयन गरिएका छन् । यस कथा सङ्ग्रहमा स्त्री पात्रभन्दा पुरुष पात्र बढी छन् । स्त्री पात्र प्रयोग गरिएका कथामा नारीहरूको कारुणिक, दयनीय अवस्था चित्रित छ । यस कथा सङ्ग्रहमा सङ्गृहीत कथामा वर्गीय पात्रभन्दा पनि व्यक्तिगत पात्र वढी चयन छ । यस कथा सङ्ग्रहको यन्त्र तथा हर्खे र हर्खेको हाकिममा जम्मा तीन पात्र चयन गरिएका छन् । ठूलो काठमाडौं सानो शब्दचित्र कथामा पात्रलाई भन्दा बढी परिवेशलाई प्रधानता दिइएको छ । अत ः यो अकथा हो । प्लास्टिककाका दुई हात, प्लास्टिकका दुई खुट्टा र एउटा काँडे तार कथामा कार्यालयको हाकिमको चरित्रचित्रण प्रस्तुत छ भने बाह्र बजेर पैँतीस मिनेट जाँदामा असल आज्ञाकारी छोरो बन्न नसकेको विपिनको चरित्रचित्रण गरिएको छ । विशुदाइ र शिशिर वसन्त दुवै कथामा कलाकारको दयनीय आर्थिक अवस्था, कारुणिक जीवन प्रस्तुत गरी कलाकार पलायन हुने अवस्था चित्रण गर्न चित्रकार पात्र चयन गरिएको छ । यस कथा सङ्ग्रहमा सङ्गृहीत सम्पूर्ण कथाको कथावस्तु हेर्दा कुनै कथा अकथा स्तरमा परे पनि प्राय ः सामाजिक यथार्थवादी कथा भएकोले सोही स्तरको पात्र चयन गरेका छन् । समष्टिमा यस कथा सङ्ग्रहका सम्पूर्ण पात्रहरू कथाको कथावस्तु र स्वरूप अनुसार सार्थक चयन गरिएका छन् ।
४ परिवेश
किशोर पहाडीको विशुदाइ कथा सङ्ग्रहमा सङ्गृहीत कथामध्ये खुर्पा र आत्महत्याको सम्भावना, जाँड र जाँडका कीरा, ठूलो काठमाडौं सानो शब्दचित्र, तेरो कथा लेखेँ शमशेर, धेरै जनकराजहरू र एउटा झोला, प्लास्टिकका दुई हात, दुई खुट्टा र एउटा काँडे तार, बाह्र बजेर पैँतीस मिनेट जाँदा, भोलामानले के दिएको त्यस्तो !, मृतजीवी कथामा काठमाडौं सहर र सहरउन्मुख काँठ क्षेत्र कार्यपीठिकाका रूपमा आएका छन् । यी कथामा ग्रामीण परिवेश झिनो रूपमा आएका छन् । समयका हिसावले हेर्दा खुर्पा र आत्महत्याको सम्भावना, ठूलो काठमाडौं सानो शब्दचित्र कथामा एक दिन, जाँड र जाँडका कीरा कथामा तीन महिना, तेरो कथा लेखेँ शमशेर कथामा बिस वर्ष, धेरै जनकराजहरू र एउटा झोला कथामा एक हप्ता, प्लास्टिकका दुई हात, दुई खुट्टा र एउटा काँडे तार कथामा दुई दिन, बाह्र बजेर पैँतीस मिनेट जाँदा कथामा एक रात, भोलामानले के दिएको त्यस्तो ! कथामा चार घण्टा, मृतजीवी कथामा ५÷६ वर्ष, विशुदाइ कथामा ३÷४ वर्ष, शिशिर–वसन्तको कथामा दुई महिना, शैली कथामा सात दिन, हर्खे र हर्खेको हाकिम कथामा रातको तीन चार घण्टाको समयावधि छ । यसरी समयका हिसावले यिनका कथाका घटनाले थोरै समय लिएको छ ।
५ भाषाशैली
किशोर पहाडीद्वारा लिखित विशुदाइ कथा सङ्ग्रहमा सङ्गृहीत कथामा तत्सम तथा तद्भव शब्द मिश्रित छ । उनका कथामा बिम्ब र प्रतीकलाई कलात्मक र अर्थपूर्ण रुपमा प्रयोग गरिएका छन् । पहाडीका कथामा भाषिक विचलन पनि रहेको छ । यसले कथालाई काव्यात्मक बनाएको छ । शैलीका आधारमा पहाडीका यस सङ्ग्रहका कथामध्ये ठूलो काठमाडौं सानो शब्दचित्र कथा परिवेश प्रधान कथा हो । यसमा निबन्धात्मक शैलीको प्रयोग छ । उनका यस सङ्ग्रहका प्रायः कथामा पूर्वस्मृति शैलीको प्रयोग छ ।
६ उद्देश्य
खुर्पा र आत्महत्याको सम्भावना निम्न वर्गीय नारीले सामना गर्नुपर्ने अप्ठ्यारा परिस्थिति तथा समस्या प्रस्तुत गरिएको कथा हो । यस कथामा नारीले आत्महत्या गर्नुका कारण पर्गेलिएको छ । जाँड र जाँडको कीरा कथामा शिक्षित भइकन बेरोजगारीको पीडा भोगिरहेको हाम्रो समाजका शिक्षित युवा वर्गले भोग्नु परेको समस्यालाई प्रकाश पार्ने काम भएको छ । ठूलो काठमाडौंको सानो शब्दचित्र कथामा तपार्र्इँँ (पर्यटक) र म (नेपाली पथप्रदर्शक) पात्रका माध्यमबाट काठमाडौंको विभिन्न स्थानमा भएको विकृति–विसङ्गतिलाई प्रस्तुत गरिएको छ । नेपालीहरूको जीर्ण आर्थिक दुरावस्था र यसले सिर्जना गरेको क्षयोन्मुखी स्थितिको चित्रण गर्नु तेरो कथा लेखेँ शमशेर कथाको उद्देश्य हो । धेरै जनकराजहरू र एउटा झोला कथाले पैसालाई सर्वोपरि महत्व दिने व्यक्तिहरूको दिनानुदिन बृद्धि भइरहेकोले आज राष्ट्रको हरेक पक्षमा विकृति बिसङ्गति बढ्दै गएको र यसका कारण मानवीय मूल्य एवम् अस्मितामा ह्रास उत्पन्न भइरहेको स्थिति प्रस्तुत गरिएको छ । प्लास्टिकका दुई हात, प्लास्टिकका दुई खुट्टा र एउटा काँडे तार कथामा सरकारी कार्यालयका उच्च पदस्थ कर्मचारीदेखि सर्वसाधारण कर्मचारीको भ्रष्टपन, अनैतिकता, कुकृत्य, चरित्रहीनता, अकर्मण्यता प्रस्तुत गरी त्यसले सर्वसाधारणको जनजीवनमा पारेको नकारात्मक प्रभाव चित्रण गरिएको छ । बाह्र बजेर पैँतीस मिनेट जाँदा कथाले सर्वसाधारण नेपालीको घरघरमा रहेको पारिवारिक कलह, वैमनस्यता, स्वार्थ, ईष्र्या, द्वेष आदि प्रस्तुत गरिएको छ । भोलामानले मलाई के दिएको त्यस्तो ! कथामा युवावस्थामा हुने सहज विपरीत लिङ्गीप्रति आकर्षणको फाइदा उठाएर सहर बजारमा अश्लील सिनेमा देखाउने र युवाहरूलाई दिग्भ्रमित, भ्रष्ट र अनैतिक तुल्याउँदै लैजाने प्रवृत्ति दिनप्रतिदिन बढ्दै गएको कुरा चित्रण गरिएको छ । यस कथामा सहरिया शृङरपटारले बेरिएर हिँड्ने व्यक्ति बाह्य रूपमा जति राम्रो भए पनि भित्री हृदय कुरूप, ढोँगी, कलुषित र कुरूप हुने तर ग्रामीण व्यक्ति श्रृङ्गारपटार नगरे पनि पनि उनीहरूको हृदय स्निग्ध, पवित्र, निश्चल, अकलुषित, कपटरहित हुने तथ्यलाई प्रस्तुत गरिएको छ । देवयानी मूल पात्रको रूपमा रहेको मृतजीवी कथामा पुरुषको स्वार्थ मनोवृत्ति, पुरुषले महिलामाथि गर्ने अन्याय, अत्याचार, घरेलु हिँसा प्रस्तुत गरी पुरुषबाट नारी पीडित रहेको तथ्य प्रस्तुत गरिएको छ । यन्त्र कथाको उद्देश्य पनि नेपाली नारीहरूमाथि पुरुष जातिबाट हुने शारीरिक, मानसिक यातनाको चित्रण गर्नुमा केन्द्रित छ । कलाकारको दयनीय आर्थिक स्थिति र कलाकारको पलायन उन्मुखवृत्ति चित्रण गर्र्नु विशुदाइ कथाको प्रमुख उद्देश्य हो भने शिशिर–बसन्त कथाको उद्देश्य साहित्य साधना, गरेर समाज र राष्ट्रको दीर्घकालीन हितमा लागेका स्रष्टाहरूको आर्थिक, सामाजिक तथा भौतिक दृष्टिले उन्नति र प्रगति हुन नसकेको अवस्था देखाउनुमा केन्द्रित रहेको छ । शैली कथा लेखनको प्रमुख उद्देश्य आफ्नो धरातललाई बिर्सेर विकृतितिर उन्मुख भएको युवा पिँढीको मर्म उजागर गर्नु हो । हर्खे र हर्खेको हाकिम कथाको प्रमुख उद्देश्य प्रहरी प्रशासनमा भएका विकृति विसङ्गति प्रस्तुत गर्नु हो । यस सङ्ग्रहमा सङ्गृहीत अङ्कुर लघुकथाले निम्न वर्गीय कारुणिक आर्थिक समस्या झेलिरहेका बालकको मानसिकता प्रस्तुत गरेको छ भने अतिरिक्त कथाको उद्देश्य यात्री दुर्घटनामा परी टाउको धुलोपिठो हुँदा पनि बाँच्ने लालसा जीवित रहेको भाव प्रकट गर्नुमा केन्द्रित रहेको छ । प्रेम कथाको उद्देश्य सुभद्राले आफ्नो परदेश गएको लोग्नेप्रति देखाएको चोखो र अगाध स्नेह प्रस्तुत गर्नु तथा पतिपत्नीबीचको मायाप्रेम छर्लङ्ग्याउनु हो । त्यस्तै स्वर्गमा समस्या लघुकथाको उद्देश्य विश्व मानव समाजमा बढिरहेको संहारक प्रवृत्ति, अशान्ति कलह आदि सङ्केत गर्नु रहेको छ ।
७ निष्कर्ष
किशोर पहाडीको विशुदाइ कथा सङ्ग्रहमा २०४० को दशकमा काठमाडौं र काँठ क्षेत्रमा जीविकोपार्जन गर्दै आएका मानिसको आर्थिक, सामाजिक आदि चालचलन, रीतिस्थिति र समस्या प्रस्तुत गरिएका छन् । यस कथामा नारी तथा शिक्षित युवा वर्गले भोगनु परेको समस्या एकातिर प्रस्तुत गरिएका छन् भने अर्कातिर काठमाडौं र यसैको माध्यमबाट देशमा रहेका विकृति विसङ्गति, अस्तव्यस्तता जस्ता कुरा प्रस्तुत गरिएका छन् । खास गरी यस कथामा वैयक्तिक, सामाजिक, आर्थिक, प्रशासनिक, राष्ट्रिय क्षेत्रमा देखा परेका समस्या प्रस्तुत गरिएका छन् । त्यसैले यस कथा सङ्ग्रहका कथाहरु सामाजिक छन् । उनको कथामा खास वाद वा सिद्धान्त प्रस्तुत गरिएका छैनन् । उनका कथामा कतै आयामेली सिद्धान्त प्रयोग गरिएका छन् भने कतै आलोचनात्मकता प्रस्तुति छ । उनको कथा व्यतिक्रमिक ढाँचामा लेखिएका छन् । उनका कथामा विषयवस्तु अनुसार पात्र चयन गरिएका छन् । तथापि पात्रको चरित्रलाई प्रस्तुत गर्नु भन्दा पनि त्यसको माध्यमबाट परिवेशमा देखिएका समस्या देखाउनमा केन्द्रित रहेको छ । पहाडीको यस सङ्ग्रहमा प्रस्तुत गरिएका कथामा काठमाडौं र त्यसको वरिपरिको परिवेश छ भने समयका हिसावले प्रायः थोरै समयमा घटित कथा छन् । यसका साथै उनका कथामा विषयवस्तुलाई पूर्वस्मृति शैलीका माध्यमबाट लामो बनाइएको छ । उनका कथामा सरल, सहज भाषाशैलीको प्रयोग गरिएका छन् । उनको कथा लेखनको प्रमुख उद्देश्य नेपाली समाजको यथार्थ चित्रण गर्नु र विकृति विसङ्गति प्रस्तुत गरी सुधारको अपेक्षा राख्नुमा केन्द्रित छ ।
सन्दर्भ सामग्री सूची
थापा, खेमकुमारी, किशोर पहाडीको जीवनी, व्यक्तित्व र कृतित्व अध्ययन, स्नातकोत्तर शोधपत्र, त्रि.वि. केन्द्रीय शिक्षण विभाग, २०४९ ।
पहाडी, किशोर, विशुदाइ, ललितपुर ः साझा प्रकाशन, २०४५ ।
श्रेष्ठ, शेखरकुमार, विशुदाइ कथा सङ्ग्रहको कृतिपरक अध्ययन, स्नातकोत्तर शोधपत्र, त्रिचन्द्र बहुमुखी क्याम्पस, घण्टाघर, २०६५ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।