17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नयाँ ग्राहक

कथा डा.कृष्णराज अधिकारी December 9, 2022, 12:47 pm
डा.कृष्णराज अधिकारी
डा.कृष्णराज अधिकारी

उसले बल्ल महसूस गरी, बेरोजगार भएर दिन बिताउनु जस्तो गाह्रो केही हुँदोरहेछ । अझ, आफू धानिदै आएको आय–स्रोत बन्द हुँदा पनि काठमाडौंको डेरामा एक्लै बस्नु पर्ने नियति कति अत्यास र सकसपूर्ण हुँदोरहेछ ! बन्दाबन्दीको समय । दिनभर के गरेर बिताउनु ? सुत्नु, कति सुत्नु । जानु, विना गन्तव्य त्यसै भौंतारिएर कहाँ जानु ! मोबाइल पनि कति चलाउनु, वाक्क लागिसक्यो उसलाई । बेलुकीपख रत्नपार्क, ठमेल, जमल, वीर अस्पतालको वरपर र आकासे पुलहरुमा डुल्ने गरेपनि आजकल उसका लागि त्यो सब निरर्थक र उपलब्धिहीन हुने गरेको छ । बाहिर सुनसान जस्तै छ । फाटफुट रूपमा हिँडेकाहरू पनि त्यसै त्रसित र आतङ्कित जस्ता देखिन्छन् । पहिला–पहिला उसँग नजिकिन खोज्नेहरू अहिले यसरी तर्किने गर्छन् कि मानौं ऊ कुनै विषकन्या हो र जसलाई चुम्छे बिषको असरले ऊ ठहरै हुन्छ, वा उसले कुनै आत्मघाती बम लिएर बसेकी छ, जसलाई छुन्छे त्यहीँ बिष्फोट हुन्छ । यसैले आजकल ऊ बेलुकीपख एकचक्कर डुल्ने गरेपनि दिउँसो भने निद लागे वा नलागेपनि कोठामै पल्टिने गरेकी छ । पहिला–पहिला भने ऊ यसरी दिनभर सुत्ने गर्दैनथी । सुते पनि यसो डेढ–दुई घण्टासम्म पल्टने गर्थी । कहिलेकाहीँ रातभर सुत्न नपाउँदाको बेग्लै कुरा । त्यस्तो अवस्थामा चाहिँ बरु बिहान आठ–नौ बजेसम्मै सुतिदिन्थी । तीन–चार महिना भयो उसको दिनचर्या फेरिएको । एक महिनादेखि त उसको मनस्थिति समेत फेरिएको छ । मनमा एकखाले उदासी र वेचैनीले डेरा जमाएको छ । मनमा विभिन्न कुराहरू खेलाउने गर्छे । कहिले पकाएर खाइहाल्छे, कहिले भोकै पनि पल्टिदिन्छे । कहिलेकाहिँ निराशाको बादलले सबै उज्यालो ढाक्न पुग्दा त सुतेपछि ब्यूँझनै नपाई ओछ्यानमै मर्न पाए हुन्थ्यो भन्नेसम्म हुन्छ । आज त झन् पटक्कै उठ्ने मन छैन उसलाई । खाना खाएर एक बजेतिर पल्टिएकी ऊ दिउँसोको चार बज्दा पनि ओछ्यानमै पल्टिरहेकी थिई ।
मोबाइलको घन्टीले उसलाई उठायो । घन्टीको आवाजसँगै फोन गर्ने व्यक्तिका बारे अनुमान गरी । चार–पाँच महिना अघिसम्म निरन्तरजसो आइरहने फोन पछि–पछि भने ठप्प जस्तै भएको थियो । यसैले पहिलो अनुमान त्यही बारम्बार आइरहने नम्बरमा लगाई र केही उत्साहित भई । तर, पहिलो अनुमानले उत्साह जगाउन नपाउँदै बिहान आएको फोनको सम्झनाले उसलाई निराश बनाइदियो । लगातार तीन–चार घन्टी आएपछि मन नलागी–नलागी सिरानीमुनि राखिएको मोबाइल झिकेर हेरी । नभन्दै घरबाट आएको रहेछ । मन त्यसै–त्यसै भरिएर आयो । एकछिनसम्म उठाऊँ कि नउठाऊँ भयो । बिहान पनि आएको थियो तर उठाएकी थिइन । उठाऊँ—के भन्ने, नउठाऊँ—कतिञ्जेल नउठाउने ? मोबाइलमा सेभ गरेको भाइको नाम घन्टी आउँदासम्म स्नेहपूर्वक हेरिरही । घन्टी आउन रोकिएपछि भाइलाई सम्झँदै मोबाइललाई छातीमा चपक्क अँठ्याएर भक्कानिई अनि त्यसलाई सिरानीमा राखी र एकछिनसम्म त्यसै टोलाइरही । के–के सोच्दै जाँदा ऊ आवाज नआउने गरी बेसरी रोई । जति रोएपनि उसको त्यो रुवाइ र आँसु देख्ने–सुन्ने कोही थिएन । उर्लिएको पीडाको बाढी आँसुको रूपमा बाहिर निस्केपछि अलि हलुका महसूस भयो । केही बेरपछि उसैले फोन गरी—
‘‘बाबु ! सञ्चै छौ ? ... के गर्दैछौ ? ... पढाइ कस्तो चलेको छ ? ...अनि आमा... ?’’
उताबाट भाइ बोल्यो— “अरु त ठिकै छ दिदी, आमालाई अलि सञ्चो छैन.... ..... किन नि तपाईंले फोन नउठाउनु भएको ? यहाँ .... ल दिदी, आमा बोल्छु भन्नुभएको छ ।” उसले नजिकै बसेकी आमाको मुखतिर हे¥यो र भन्नै लागेको घरको अवस्था भन्न नसकी आमालाई मोबाइल दियो ।
दुवै आमाछोरी फोनमा कुरा गर्दै रुन थाले । आमा रोएको छोरीले थाहा पाएपनि छोरी रोएको भने आमाले पत्तै पाइनन् । आमाले थाहा पाउलिन् भनेर ऊ सचेत हुँदै सिँगान र आँसु पुछ्दथी । बोल्दाबोल्दै भक्कानो छुट्न लागेपछि उसले कुरा टुङ्याउँदै भनी—
“नआत्तिनोस् आमा । म आफैं आउँछु भन्ने लागेर पैसा नपठाएकी हुँ । अफिसको काम परेर बाहिर जान परेकाले आउन पाइन । म अर्को हप्ता आउँछु । कसै आउन पाइन भनेपनि पैसा पठाइदिन्छु । भाइलाई पढ्न नछुटाउनु होला । जति रिन लागेपनि विस्तारै तिरौंला ।”
ऊ मोबाइल बन्द गर्दै ओछ्यानमा घोप्टिएर रुन थाली । एक हप्ता जति भयो, पेट दुखेर उस्तै भएको छ । महिनावारी पनि नियमित हुँदैन, कहिलेकाहीँ त रगत बगेर उठ्नै नसक्ने बनाउँछ । यतिखेर त तीन महिना भयो महिनावारी रोकिएको पनि । कतै ...... ! ऊ थप चिन्तित बनी ।
▪ ▪ ▪
काठमाडौं क्षेत्रपाटीको एउटा पुरानो घरको दोस्रो तलाको पछिल्तिरको कोठा । दायाँवायाँतिर जोडेर बनाइएका अग्ला घरहरु । पछाडिपट्टि मुस्किलले झ्यालसम्म खोल्न मिल्ने एक–डेढ फिट खाली ठाउँ र अगाडि छ–सात फिट जतिको साँघुरो गल्ली भएकाले प्रकाश त के हावा पनि पर्याप्त नछिर्ने कोठा । यही कोठामा तीन बर्ष बिताएकी थिई उसले । छ महिना अघिसम्म अगाडि र पछाडिका गरी सँगैका दुईवटा कोठा लिएकी थिई । अगाडिको कोठा केही उज्यालो र अलि ठुलो पनि थियो । अगाडिको कोठा आफ्ना लागि र पछाडिको कोठा पाहुनाका लागि छुट्याएकी थिई । कोरोना महामारीको बन्दाबन्दीसँगै उसको आम्दानी पनि ह्वात्तै घटेकाले अगाडिको कोठा छोडिदिएकी थिई । चार महिना भयो यही कोठाको भाडा पनि तिर्न नसकेको । धन्न अरुले जस्तो धेरै किच–किच गरेका छैनन् र बस्न दिइरहेकै छन् घरभेटीले ।
मोबाइलबाट समय हेरी, पाँच बजिसक्यो ! उसले सोची—यसरी कतिन्जेल बस्ने ! घरमा कहिलेसम्म के भनेर टार्ने ? घरभेटीलाई कहिलेसम्म ढाँट्ने ? आफैं के खाएर बस्ने ? यसरी कतिन्जेल बाँच्न र टिक्न सकिएला र खै ! मोबाइलमा सेभ भएका नाम हेर्दै गई । आफूलाई बारम्बार सम्पर्क गर्ने र आइरहनेमध्ये रेशम बोहोरालाई फोन हानी, उठेन । चन्द्रलाललाई हानी उठेन । उपेन्द्र ठाकुरलाई हानी, सम्पर्क हुन सकेन भन्यो । कुनै उपाय नदेखेपछि लामो स्वास तानेर उठी अनि बोतलको पानी खाई । टाउको दुख्ला जस्तो भएपछि कालो चिया बनाउन थाली । ग्याँस पनि सिद्धिन लागेझैं नीलो बल्न थालेको थियो । अगाडिको बाटो बन्द देखेपछि ऊ पछाडि फर्केर सोच्न थाली — ‘काठमाडौं आएर ठूलो गल्ती गरें । भविष्य नियाल्न नसक्ने मेरो अल्लारे उमेर, अविभावकविहीन पारिवारिक स्थिति, जर्जर आर्थिक अवस्था अनि अरुको दुःख–अप्ठेरोमा फाइदा लिन उद्दत समाज र संस्कारकै उपज हो यो । काठमाडौं आउनु मेरो विवशता मात्र होइन विद्रोह पनि थियो तर पनि बेलैमा अर्को विकल्प खोज्नतिर नलाग्नुचाहिँ मेरो आफ्नै कमजोरी रह्यो । आफूलाई गाउँका सैतान र फटाहाहरुको शिकार हुनबाट जोगाउन र भाइको भविष्य बनाउन खोज्दा ‘तावाको माछा मुङ्ग्रोमा’ हुन पुगें ! घरको र यहाँको ऋण तिर्न पुग्ने गरी अलिकति पैसा जम्मा गर्न पाएँ भने तुरुन्त यो ठाउँ र पेसा छोडेर हिँड्नुपर्छ । अहिलेसम्म मेरो पेसा र अवस्था गाउँ–घर र आफन्त कसैलाई थाहा छैन । अब पनि यसरी नै बसिरहने हो भने एकदिन सबै छताछुल्ल हुने छ र मेरो बाँच्ने धरातल बाँकी रहने छैन । मेरो अनुपस्थितिमा घर–परिवारको अवस्था......।.’ ऊ चिया पिउँदा–पिउँदै आफ्नो अवस्था सम्झेर अत्तालिन पुगी ।
▪ ▪ ▪
छ बज्नै लागेको थियो । रत्नपार्कतिर हिँड्नलाई मुख धोई, कपाल कोरी, हलुका मेकअप गरी अनि कुर्ता–सलवार लगाई । एकपटक ऐनामा आफूलाई राम्ररी हेरी— ओहो ! निकै दुब्लाएछु । अनुहारको चमक पनि पहिला जस्तो छैन । आफ्नो शारीरिक अवस्था देखेर चिन्तित भई । हातमा थोरै सेनिटाइजर दली अनि मुखमा मास्क लगाई । ढोका खोलेर निस्कनै लाग्दा मोबाइलको घण्टी बज्यो । सेभ नभएको नयाँ नम्बर थियो । उत्सुकतापूर्वक उठाई । कुरा गर्दै जाँदा केही उत्साह पलाएर आयो । फोन कुनै आफन्त वा साथीको नभई अपरिचित व्यक्तिको थियो । कोठा नजिकैको गल्लीबाट फोन गरेको रहेछ । बल्लतल्ल भेट्न आएको धेरै दिनपछिको पाहुना ! फुत्कन दिनु हुँदैन भन्ने लागेर हतपत तल ओर्लेर आगन्तुकले भनेकै ठाउँनेर बाटोमा निस्की । आफैंले फोन गरेर आफू उभिएको ठाउँ र हुलिया बताएपछि भेट भयो । मुखमा मास्क लगाएकै भएपनि सुनिताले ग्राहकलाई देख्नासाथ अनुमान लगाई—भर्खरको, हेर्दै खाइलाग्दो, कुनै लाहुरे जस्तो पो छ ! अनि, कोठामा लिएर आई ।
हाव–भाव र चाल–ढाल हेर्दा ऊ अन्य ग्राहकहरूभन्दा अलि फरक र शालीन देखिन्थ्यो । यस पेसामा लागेको साढे दुई बर्षको अवधिमा सयभन्दा बढी ग्राहकहरूसँग सङ्गत गरेकी थिई तर सबैजसो भोकाएका ब्वाँसा जस्ता । सबैलाई अर्काको शरीर लुछ्दै आफ्नो भोक मेटाउन हतारो हुन्थ्यो । अझ कतिपय त यातना दिनुमै आफ्नो सन्तुष्टि मान्दथे । अठार–बीस बर्षका किशोरदेखि पैसठ्ठी–सत्तरी बर्षका बृद्धसम्मले ओछ्यान बनाए उसलाई । तर निकै लामो अन्तरालपछि आएको उक्त युवक अलि बेग्लै प्रकृतिको देखिन्थ्यो । उसले पहिले ढोकाभित्रको सानो टेबुलमा राखिएको सेनिटाइजर उठाएर हातमा दल्यो अनि नजिकैको खाटको छेउतिर बस्दै उसको परिचय माग्यो । कसैलाई पनि आफ्नो वास्तविक परिचय नदिएकी सुनिताले त्यस युवकलाई ढाँटेरै भनिदिई— “गीता ।” उसले सोध्नेजति सबैलाई वास्तविक नाम नभनेर यही नाम भन्दै आएकी थिई । आगन्तुक नामले मात्र सन्तुष्ट भएन र सोध्यो— “गीता के ?”
उसले थोरै मुस्काएर भनी— “न्यौपाने ।”
“अनि घर ?”— फेरि सोध्यो । कता भनौं–भनौं भएपछि एकछिन अडिएर भनी—“धादिङ ।”
“धादिङ कुन ठाउँ ?”
अव उसलाई अप्ठेरो प¥यो । के भनौं–भनौं भयो । धादिङ भन्ने नामसम्म सुनेकी थिई, कहिल्यै गएकी थिइन । उसका केही साथी धादिङका भएकाले त्यही ठाउँ भनिदिएकी थिई । कुनै पनि ग्राहकले यसरी चासो दिएर सोधेका पनि थिएनन् । सोधिहाले जे भनिदिए पनि हुन्थ्यो । नाम–ठेगाना जेसुकै होस् कुनै सरोकार थिएन । राम्रो अनुहार र पुष्ट शरीर भए पुगिहाल्थ्यो उनीहरूलाई । सबैलाई आफ्नो भोक मेट्नै हतारो हुन्थ्यो । उसले जवाफ नदिएपछि आगन्तुकले थोरै मुस्काएर भन्यो—“धादिङ होइन होला । कहाँ हो, नढाँटी भनन ।”
“किन चाहियो त घर ? जहाँ भएपनि के फरक पर्छ र तपाईंलाई ?”— उसले ग्राहकतिर हेर्दै मुस्कानमा व्यङ्य मिसाउँदै भनी । आगन्तुक ऊ बसेकै खाटमा बसेको थियो दुई–तीन फिट वर । उसको बोली र व्यवहार अन्य ग्राहककोभन्दा फरक महसूस गरी । अरू ग्राहकहरू यसरी दुरी कायम राखेर बस्दैनथे । हतपत टाँसिएर गिजोल्न आइपुग्थे । आगन्तुक दूरी कायमै राखेर बसेको देखेपछि उसले फरक अनुभूति गर्न थाली । ग्राहकतिर पुलुक्क हेरी । उसमा कुनै उत्तेजना–भाव देखिँदैनथ्यो । के सम्झेर हो उसले फ्यास्स भनिदिई—“पाल्पा हो ।”
आगन्तुकले उसको अनुहारतिर हेरेर भन्यो—“ए ! पाल्पा कुन ठाउँ प¥यो भनत ?”
ऊ अलि झस्केझैं भई अनि उसैले सोधी—“किन ? तपार्ईको नि त्यतै हो र ?”
“हैन, मेरो त बुटबलतिर हो, पाल्पातिर मेरा आफन्तहरु छन् त्यै भएर ।” ग्राहकले सामान्य भएर भन्यो ।
आफ्नो घरतिरको रहेनछ भन्ने लागेपनि उसले आफ्नो गाउँ नभनेर मावली गाउँ भनिदिई—
“रामपुर हो ।”
“कति भयो काठमाडौं आएको ?”—उसले सोध्यो ।
गाउँबाट आएको लामो समय भन्नुभन्दा छोटो समय भनिदिँदा उचित हुने ठानेर उसले काठमाडौं आएको समय पनि ढाँटेरै भनी ।
“एक बर्ष हुन लाग्यो ।”
उसलाई आगन्तुकको व्यवहार अनौठो लाग्न थाल्यो । कतै ग्राहक नभएर आफ्नो बारेमा बुझ्न आएको अर्कै कोही हो कि भन्ने आशङ्का पनि लाग्न थाल्यो । तर, यस्तो अवस्थामा बल्ल–बल्ल भेटिएको ग्राहक कतै त्यसै फर्किने हो कि भन्ने लागेपछि ऊ आफैं अग्रसर हुँदै आगन्तुकको आडैमा टाँसिदै आएर भनी—
“पहिला त आउनु भएको थिएन नि ? कसरी थाहा पाउनुभो मेरो नम्बर ?”
“एकजना साथीले दिएको, तिमी बस्ने लोकेसन र नम्बर ।”
पहिला–पहिला ग्राहकहरू हतार गर्थे भने अहिले उसैले हतार गरेकी थिई ।
ग्राहकलाई सन्तुष्ट पारेपछि उसले अपेक्षाभन्दा बढी नै पैसा पाई । यही सन्तुष्टिमा उसले ग्राहकलाई चिया खाएर जान भनी, जुन आजसम्म कुनै पनि ग्राहकलाई भनेकी थिइन । ग्याँस सल्काएर पानी बसालेपछि ऊ हतपत तल झरी र दूध लिएर आई । दुवै जना चिया पिउन थाले । आज किनकिन उसले छुट्टै अनुभूति गर्न पुगी ।
झमक्क साँझ परिसकेको थियो । ग्राहक निस्कन लाग्दा उसले भनी—
“कहाँ बस्नुहुन्छ ?”
“ठमेलमा । एउटा होटलमा साथी र म सँगै बसेका छौं । ऊ अलि बिरामी छ, नत्र ऊ पनि सँगै आउँथ्यो होला ।”
ग्राहक निस्कन लाग्दा सुनिताले अनायासै उसको हात समाउन पुगी । मानौं ऊ कुनै ग्राहक नभएर उसको अभिभावक हो, वा अझ लोग्ने हो, जो उसँग बिदा भएर जान लाग्दैछ । सुनिताको कोमल हातको न्यायो स्पर्शबाट उम्केर जान उसलाई पनि गाह्रो भयो । निस्कन लागेको ऊ सुनिताको हात समाउँदै फेरि खाटमा आएर बस्यो । सुनिताले पुनः एकपटक उसलाई आफ्नो शरीर सुम्पिदिई ।
▪ ▪ ▪
“कस्ले लगाइदियो यस्तो काम ?” सुनितालाई एकपटक गढेर हेरेपछि उसले सोध्यो ।
“परिस्थितिले ।”
सुनिताले छोटोमा जवाफ दिई । उसले घरको अवस्थादेखि काठमाडौं आउँदासम्मको र काठमाडौंको रेस्टुरेन्टमा काम गर्दादेखि यहाँसम्म आउँदाको परिस्थितिजन्य घटनालाई सरसर्ती सम्झन पुगी ।
“कस्तो परिस्थिति ? मलाई एउटा ग्राहक हैन, शुभेच्छुक सम्झेर भन्न सक्छ्यौ ?”
ग्राहकको बोली र व्यवहारले उसलाई प्रभाव पार्दै लगे पनि एउटा अपरिचित ग्राहकसँग आफ्नो अवस्था र वाध्यता खोल्नुको अर्थ उसले देखिन । यसैले पन्छिन खोज्दै भनी—
“तपाईं ग्राहककै रूपमा आउनु भएको छ त मैले ग्राहक नसम्झेर के सम्झूँ ? यस्तो घृणित पेसामा लागेकी मेरा बारेमा किन सोध्नुहुन्छ ? बरु जानोस्, अँध्यारो भइसक्यो । कहिलेकाहीँ मेसो परेमा आउँदै गर्नुहोला ।”
“किन अत्याएकी ? अरु कोही आउँदैछन् र ?”
“यस्तो बेलामा को आउँथ्यो ! तपाईंलाई जान अप्ठेरो पर्ला, ढिला भयो भनेर ।”
“के को अप्ठेरो ? त्यहीँ ठमेल पुग्ने त हो । त्यो पनि घर होइन, होटल हो ।” उसले घडी हे¥यो— पौने आठ भएछ । सोच्यो—‘आखिर सुत्ने नै हो । नौ–साढे नौतिर जाँदा पनि हुन्छ ।’ अनि सुनितातिर हेर्दै भन्यो— “अप्ठेरो पर्दैन भने बरु मलाई पनि खाना यहीँ बनाऊ, आज मलाई यहीँ तिमीसँगै बसेर खान मन लागेको छ । बरु जाऊ, मासु, तरकारी के–के चाहिन्छ किनेर ल्याऊ । तिमीलाई देख्दा मलाई कुनै परिचित व्यक्ति देखे जस्तो, कोही आफन्त भेटे जस्तो लागिरहेछ । आत्मीय भावले द्रवित भइरहेछु । म उता साथीलाई ‘अलि ढिला हुन्छ, खाना खाएर आउँछु’ भनिदिन्छु । ल, यो लेऊ ।” उसले पर्स निकालेर हजारका दुईवटा नोट दियो । धेरै दिनसम्म कसैलाई नभेटेर आर्थिक सङ्कट र मानसिक तनाव झेल्दै आएकी सुनितालाई उसको बोली र व्यवहारले उद्वेलित पारिदियो ।
सुनिताले अचम्म मान्दै एकछिनसम्म उसको अनुहारतिर हेरिरही र ढिलो गरेर पैसा समाई । ‘हैन, कस्तो ग्राहक हो यो ! कतै .... ।’ मनमा अनेक आशङ्का उब्जाई । फेरि अर्को मनले सोच्यो— ‘पैसाको लागि आफ्नो शरीर लुटाउँदै आएकी मैले अरु के नै सोच्नु छ र !’ एकैछिनमा ऊ बाहिर पसलतिर निस्की अनि नजिकैको पसलबाट चामल, तरकारी, मासु र तेलसमेत ल्याएपछि खाना बनाउन थाली । ग्राहक खाटमा पल्टिएर मोबाइल चलाउँदै घरि–घरि सुनितासँग बोलिरहेको थियो—
“यहाँ म अर्कै मनस्थितिले आएको थिएँ, तर तिमीलाई देख्नासाथ मेरो मनस्थिति बदलिन पुग्यो । त्यसै फर्किन पनि सकिन ..... । तिमीप्रतिको सहानुभूतिले द्रबित बनायो । यसैले तिम्रो बारेमा जान्न खोजेको हुँ, अन्यथा केही होइन । नढाँटी भनन, घरमा को को हुनुहुन्छ ? कस्तो परिस्थितिले यहाँ आइपुग्यौ ?’
ग्राहकको बोली र व्यवहारले ऊ पनि पग्लिँदै गएकी थिई । तैपनि उसको बारेमा केही थाहा पाएपछि मात्रै आफ्नो कुरा भन्नु उपयुक्त हुने सम्झी—
“पहिला तपाईंको परिचय दिनोस् न । घर कहाँ प¥यो ? के गर्दै हुनुहुन्छ ? अनि, किन यस्तो कोरोनाको बेलामा पनि मलाई खोज्दै आउनुभयो ?”
ग्राहकले एकपटक पुलुक्क सुनिताको अनुहारतिर हे¥यो अनि भित्ताको सानो झ्यालतिर हेर्दै भन्यो— “तिमीलाई किन ढाँट्नु छ र गीता ! सोमबहादुर हो मेरो नाम । हिजो मात्र साउदीबाट फर्केको । आजै घरतिर हिँड्नुपर्ने हो तर किन किन जान मन लागेन र यतै बसें । तिमीलाई केही महिना अघि भेटेर गएको मेरो एकजना साथीले सबै कुरा बताएर लोकेसन र फोन नम्बर दिएपछि नियास्रो मेट्न यहाँ आएको हुँ ।”
उसलाई भेट्न थुप्रै ग्राहकहरू आउने गरेपनि आफ्नो मोबाइल नंबर प्रायः दिँदैनथी र धेरैले माग्दैनथे पनि । तर कतिपयलाई भने आफ्नो पेसागत हितलाई ध्यान दिँदै नम्बर दिने गरेकी थिई । यसैले कसले नम्बर दिएछ भनी ठम्याउन सकिन र आवश्यकता पनि देखिन ।
दुवैले सँगै बसेर खाना खाए । ग्राहकले ‘पुग्यो’ भन्दाभन्दै पनि उसले अलिकता थपिदिई । मुस्कानसहितको त्यो खाना थपाइमा उसले छुट्टै माया र हार्दिकताको अनुभूति ग¥यो ।
“कस्तो भयो खाना ?” सुनिताले थोरै लजाउँदै औपचारिकता निभाई ।
“साह्रै मिठो पकाइछ्यौ ! नत्र, यति धेरै खाँदैनथें ।”
सुनिताले जुठा भाँडाहरु भोलि बिहान माझ्ने विचारले सामान्य पखालपुखुल गरी एउटा बाँटामा राखी । अनि हात धोएर खाटमा आई ग्राहककै आडमा बस्न पुगी ।
“कति भयो साउदी गएको ? अनि, को को हुनुहुन्छ घरमा ?” प्रश्न उसैले तेस्र्याइ ।
“गएको त पाँच–छ बर्षै भयो । बीचमा एकपटक आएको थिएँ, अनि अहिले ।” एकछिन अडिएर उसले भन्यो—“छन त घरमा सबै छन्—बाबु, आमा, भाइ, बहिनी । तर सबै भएर पनि कोही नभएजस्तो भइरहेछ । स्याङ्जा, चापाकोटकी इन्दुसँग प्रेम बसेको थियो । हामी दुबै जनसेनाको एउटै कम्पनीमा थियौं । तीन बर्षसम्मको प्रेम सम्बन्धपछि पार्टीले नै हाम्रो बिहे गरिदिने तय भइसकेको थियो । तर, स्याङ्जाको भालुपहाडमाथिको बाटो हिँड्दै गर्दा सेनाको आक्रमणमा परी उनी सहिद भइन् । पछि सेना समायोजन गरिँदा मलाई अयोग्य भनी सामान्य बाटाखर्च दिएर पठाइयो । एकपटक कमाण्डरसँग विवाद गरेकै कारण मलाई अयोग्य बनाइएको हुनुपर्छ, अरु कुनै कारण थिएन । एकातिर आफ्नी प्रेमिकाको हत्या अर्कातिर त्यत्रो त्याग गरेर कतिपय मोर्चामा अग्रपंक्तिमा लडिसकेर पनि समायोजनमा अयोग्य हुनुपर्दाको पीडा सहन नसकी विक्षिप्त मन लिएर म साउदी अरवतिर लागेको हुँ । इन्दुकै माया र सम्झनाले हालसम्म बिहे गर्न पनि सकिरहेको छैन ।” एकछिन अडिएर उसले भन्यो—
“साथीले मेरो मनोदशा बुझेर होला मन बहलाउन यता तिमीसँग पठाइदियो । तर, तिमीलाई देख्नासाथ मेरो मनस्थिति परिवर्तन भयो । तिमीमा इन्दुको प्रतिरूप देख्न पुगें र भावुक बनें । इन्दु काटीकुटी तिमी जस्तै थिई, यस्तै पातली, गहुँगोरी र अग्ली । बोली पनि तिम्रै जस्तो । यसैले म जुन उद्देश्यले यहाँ आएको थिएँ तिमीलाई देखेपछि त्यसै सिथिल हुन पुगें । तिम्रो आग्रहले मात्र .... ।”
स्याङ्जा, चापाकोटको नाम र घटनाको प्रसङ्ग आउनासाथ सुनिताको मुटु सिरिङ्ग भएर आयो । उसले आफू सानै छँदा उक्त घटना सुनेकी थिई । गाउँमा व्यापक चर्चा पाएको थियो त्यस घटनाले । उक्त घटना भएको केही महिनापछि घटेको अर्को घटनाले उसको जीवन तहसनहस पारिदिएको थियो ।
“तिम्रो बोली, व्यवहार र पेसाका बीच पटक्क मेल खाँदैन । कसरी यहाँसम्म आयौ र किन यस्तो पेसा अँगाल्यौ ? सुरुमै मलाई तिम्रो अवस्था जान्ने कुतूहलता लागेको थियो । अहिले झनै व्यग्र बनेको छु । विश्वास गर, तिम्रो कुरा मबाट बाहिर जाँदैन ।”
ग्राहकको कुराले सुनिताको परिवारमा घटेको करिव दुई दशक अधिको त्यो कहालीलाग्दो घटनालाई उधिनिदियो । उसले ग्राहकतिर हेरी । किनकिन यतिखेर उसले त्यस ग्राहकमा आफ्ना बाबुको प्रतिविम्व देख्न पुगी । अव उसले आफ्नो यथार्थ लुकाउनुपर्ने कुनै आवश्यकता देखिन ।
सुनिताले काठमाडौंमा बसेर गरेको कामका बारेमा उसको गाउँ–घर र परिवार कसैलाई पनि थाहा थिएन । उसले काठमाडौंको एउटा सहकारीमा मार्केटिङको काम गर्छु भनिरहेकी थिई भने उस्तैलाई चाहिँ ठमेलको रेस्टुरेन्टमा वेटरको काम गर्छु भनेकी थिई । उसको त्यो भनाइ नपत्याउने अवस्था पनि थिएन । उसको हाव–भाव, लवाइ र बोलीबाट कसैले पनि अन्यथा सोच्न सक्तैनथे ।
एकैछिन मौन रहेपछि लामो स्वास लिएर भन्न थाली— “मैले अहिलेसम्म कसैलाई पनि आफ्नो स्थिति भनेकी थिइन । घरमा समेत आफ्नो यथार्थलाई लुकाउँदै आएकी छु । पहिलोपटक तपाईंलाई विश्वास गरेर भन्दैछु । यो कुरा तपाईंमा मात्र सीमित रहोस् । मैले अघिसम्म पनि तपाईंलाई आफ्नो परिचय ढाँटिरहेकी थिएँ । तर तपाईंको बोली र व्यवहार अनि भोगेको पीडाबाट प्रभावित हुँदै जाँदा यतिसम्म नतमस्तक भएँ कि, अब कुनै पनि कुरा लुकाउन सक्ने मनस्थिति नै रहेन । गीता भनेपनि मेरो खास नामचाहिँ सुनिता हो । यहाँ मैले सबैलाई आफ्नो नाम गीता नै भनिदिने गरेकी छु । काम त थाहा पाइहाल्नुभो ।” बोल्दा बोल्दै उसका आँखा टिल्पिलाउन थाले ।
”म पाँच बर्षकी हुँदा बाबाको हत्या भयो । स्याङ्जा बजारबाट घर आउँदै गर्दा खै, कसैले सुराँकी लगाएर हो कि त्यसै माओवादीको शङ्का गरेर हो प्रहरीले गोली हानेर बाटोमै उहाँको हत्या ग¥यो । भाइ दुई बर्षको थियो । बाबाको हत्या भएपछि ठुलो बुबा त्यहाँको अंश बेचेर बुटबलतिर जानुभयो, काकाचाहिँ डराइ–डराइ त्यहीँ बस्नुभयो । बाबाको हत्यापछि पनि प्रहरीहरु घरमा आएर आमालाई हैरान पार्थे । हामी त्यहाँ बस्नसक्ने स्थिति नभएपछि मामाघर रामपुर गयौं । मामाघरकी हजुरआमाले नै मलाई निकै दुःख गरेर एस.एल.सि.सम्म पढाउनुभयो । मामाघर बसेकी अवला सम्झेर होला एकदिन चापाकोटबाट मामाघर आउँदा बाटो ढुकेर बसेका दुईजना गुण्डाहरुले मलाई बलात्कारको प्रयास गरे । म बल्लतल्ल जोगिएर आई मामालाई सबैकुरा भनें । मामाले ती बलात्कारीको बाबु स्थानीय नेतासँग कुरा गर्दा ‘हाम्रा छोराहरु त्यस्ता छैनन्, त्यै केटी त्यस्ती हो । त्यसलाई यहाँ राख्ने हो भने फेरि पनि त्यस्तो सुन्नुपर्छ, घरमै पठाइदेऊ’ भनेपछि मामालाई पनि अप्ठेरो परेछ । यता मामाघरमा हजुरआमा बुढी भैसक्नुभएको र मामा माइजूले घरै गइदिए हुन्थ्यो भन्न थालेपछि भने मलाई पनि मामाघरमा आफू बोझ बनिदिएको महसूस हुन थालेको थियो । आमाले पनि आफ्नै घर फर्किने निर्णय गर्नुभयो । त्यही बेलामा मामाघर आएकी माइजुकी दिदीले काठमाडौंको कपडा उद्योगमा काम पाइन्छ, म लगाइदिन्छु भनेपछि मलाई ‘के खोज्छस् काना, आँखो !’ भनेझैं भयो । उनैले मलाई यहाँ लिएर आइन् । दुई–तीन दिन उनको घरमा बसेँ । के भएर हो उनले भनेको ठाउँमा काम पाइएन । त्यत्तिकै गाउँ फर्किनुभन्दा जे जस्तो भएपनि यतै काम गरेर बस्न ठिक जस्तो लाग्यो । उनै माइजूकी दिदीले आफ्नो जेठाजुको छोरालाई भनेर ठमेलको एउटा रेस्टुरेन्टमा काम लगाइदिइन् । उनैको भतिजाले मेरो लागि कोठा पनि खोजिदियो ।”
सुनिता बोल्दा बोल्दै एकछिन अडिई अनि लामो स्वास छोडेर पुनः भन्न थाली—
उसले जागिर र कोठा खोजिदिए वापतको पारिश्रमिक एकदिन मेरो इज्जत लुटेर उपर ग¥यो । ऊ त्यत्तिमै सीमित भएन, मसँग बिहे गर्ने आश्वासन दिँदै बारम्बार कोठामा आउन थाल्यो । म एउटी असहाय र अनाथ, त्यसमाथि यहाँको परिवेशसँग विलकूलै अपरिचित । उसको त्यो सहयोग र आश्वासनले म उसँग नजिकिन पुगें । उसले त्यसको फाइदा उठाउँदै निरन्तर मेरो इज्जत लुटिरह्यो । यो कुरा मैले कसैलाई भन्न सकिन । त्यतिबेलै उसकी काकीलाई भन्नुपथ्र्यो, तर उसले दिएको आश्वासनले सबै गुपचुप राखें, सबै सहेर बसें । उसको नियत राम्रो रहेनछ । अलि पछि त उसले अरु साथीहरु पनि लिएर आउन थाल्यो । अनि पछि–पछि त ऊ नआउने तर उसका साथीहरु भने आउने गर्न थाले । मैले त्यो कोठा छोडेर अन्त सरें, तर पहिला आउनेहरू कता–कताबाट पत्ता लगाएर त्यहीँ आउन थाले । म पहिल्यै चुकिसकेकी थिएँ, यसैले प्रतिरोध गर्ने नैतिक साहस बाँकी थिएन । उनीहरू काम सकेर हिँड्ने बेलामा केही पैसा दिएर छाड्थे । अन्तै काम खोज्ने र कोठा सर्ने विचारले मैले रेस्टुरेन्टको काम छाडें, तर तुरुन्तै अर्को काम भेटाउन सकिन । मैले भाइलाई पढाउने जिम्मा लिएर आएकी थिएँ । घरमा केही पैसा पठाउन नसके उसको पढाइ छुट्ने मात्र होइन बाँच्नकै समस्या थियो । आमा पहिल्यैबाट अलि रोगी हुनुहुन्थ्यो, गाह्रो काम गर्न नसक्ने । यसैले घरको सबै जिम्मेवारी मेरै थाप्लोमा थियो । यस्तो बेला खाली हात त्यत्तिकै घर फर्किने स्थिति थिएन । यता खान र कोठाभाडा तिर्ने उपायसमेत नभएपछि म विस्तारै यही काममा अभ्यस्त हुन पुगें ।”
सुनिताको कुरा सुन्दैजाँदा ग्राहकको अनुहार बिग्रदै जान थालेको थियो । विगत सम्झँदै जाँदा उसको मस्तिष्क भारी भएर आयो । ऊ बसेको खाट र संपूर्ण कोठा नै फनफनी घुमेझैं हुन थाल्यो । उसले आफू जन्मेको ठाउँ चापाकोट, त्यहाँको परिवेश र पारिवारिक अवस्था सम्झियो —आफू नौ–दश बर्षको हुँदा बाबुसँगै बुटबल झरेको, पछि बाबुका दाजु–भाइहरू छुट्टिएर अंशबण्डा हुँदा त्यहाँको जग्गा काकाले किनेर लिएको, आफू कुनै–कुनै बर्ष दशैंमा टीका लगाउन त्यहाँ जाने गरेको, डिल्ली ठूला बालाई प्रहरीले हत्या गरेपछि उनका परिवार माइतमा बस्न थालेको, डिल्ली ठुलाबाका छोराछोरी मामाघर बस्ने र आफूहरूचाहिँ बुटबलतिर बस्ने भएकाले कहिलेकाहिँ चापाकोटतिर जाँदा पनि उनीहरुसँग भेट हुने अवस्था नभएको । ठुलाबाका छोराछोरी मामाघर पढ्दै गरेको भन्ने सुने पनि आफू अलि ठुलो भएपछि जनसेनामा र पछि साउदी अरवतिर गएकाले उनीहरुसँग भेट नभएको ..... ।
ग्राहक त्रसित र आतङ्कित हुँदै सुनितालाई हेर्न पुग्यो । सुनिताको अनुहारमा उसले सानैमा देखेकी ठूलाबाकी चञ्चले छोरीको अनुहार देख्यो । अनि कायर हुँदै कम्पित स्वरमा सोध्यो—
“तिमी डिल्लीकी छोरी त हैनौ ?”
सुनिता झनै आतङ्कित बनी । आफ्नो बाबुलाई चिनेको कुनै आफन्त वा गाउँले रहेछ भन्ने लागेपछि ऊ स्तब्ध बनी । अरु केही सोच्न सकिन ।
त्रसित हुँदै सोधी — “कसरी चिन्नुभयो बाबालाई ?”
ग्राहकको मुखबाट अनायासै फुत्कियो—
“मेरो ठुलाबा !”
“ठुलाबा ?!!” उसको मस्तिष्क तीब्र रूपले उथलपुथल भयो । बुटबल घर भनेको र बाबालाई ठुलाबा भनेको सुन्नासाथ उसको मस्तिष्कले तुरुन्त पहिचान गरिहाल्यो र उसको मुखबाट भक्कानो छुट्यो—
“सोम दाइ ?!!”

पोखरा– ६

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।