२०७३ सालको कुनै बिहान । महिनाको सम्झना भएन । विनय दाइको फोन आयो, उठाएँ, “प्रमोदजी, कुरा गर्न मिल्छ ?”
“मिल्छ दाइ, के कुरा भन्नुस् न ?”
“तपाईंसँग गम्भीर कुरा गर्नु छ ? आज समय मिलाएर आउनुस् न ।”
“हवस् दाइ । म खाना खाएर आउँछु ।”
एकाबिहानै विनय दाइले गम्भीर कुरा गर्नु छ भनेपछि अचम्मित भएँ म । के विषय होला मनमा कुरा खेलिरह्यो । पुगेँ । दाइ सधैँभैmँ आफ्नो अध्ययन÷लेखन कक्षमा नै हुनुहुन्थ्यो । सामान्य औपचारिकता र भलाकुसारीपछि दाइ बोल्न थाल्नुभयो, “प्रमोदजी, मेरो जीवन कहिलेसम्म हो कुन्नि ? थाहा छैन । तर जीवनकालमै एउटा काम गर्न मन लागेको छ । त्यो काम तपाईंको सहयोगबिना हुनसक्दैन ।”
दाइको कुराले झसङ्ग भएँ म । भित्रभित्रै अनेकन् आशङ्काका बादल मडारिन थाले । तर बाहिर प्रकट हुन दिइनँ । सुस्तरी भने, “भन्नुस् न दाइ, मैले गर्नुपर्ने सहयोग त गरिहाल्छु नि !”
“मलाई नेपाली बालसाहित्यका सबै पुस्तकबारे जानकारी दिने र पुस्तकको आवरणसमेत राख्ने गरी एउटा वेबसाइट बनाउने इच्छा छ । तपाईंले बालवाङ्मयका कृतिहरूको कोश तयार गर्नुभएको छ । त्यो सामग्री दिनुभयो भने यो बनाउन सजिलो हुन्छ । तपाईंसँग त्यो सामग्री छँदै छ । अहिले २०७० देखि २०७२ सालसम्मको सागम्री पठाई दिनुस् न ।”
“भै हाल्छ नि दाइ ! आज त भ्याउँदिन । भोलि दाइको इमेलमा पठाइदिन्छु ।”
भोलिपल्ट नै मैले त्यो सामग्री पठाइदिएँ । दाइले काम पनि सुरु गर्नुभयो । भएका कामहरू बालवाङ्मय तथा अनुसन्धान केन्द्रको बैठकमा दाइले देखाउनु पनि भयो सबै सदस्यहरूलाई । यो काममा दाइलाई माइला छोरा दीपङ्करको ठूलो सहयोग थियो । तर दीपङ्कर अमेरिका गएपछि भने यो काम त्यसै अड्क्यो । प्रसङ्गचाहिँ के हो भने, दाइलाई आफ्नो मृत्युबोध दुई÷तीन वर्षअगाडि नै भइसकेको थियो । त्यसैले उहाँ अत्यन्त जोडतोडले आफ्ना कामहरू सिध्याउन चाहनुहुन्थ्यो । आपूmले सङ्कलन गरेका चिठी, तस्वीरसहित पत्रकारिता र साहित्यसम्बद्ध अन्य बहुमूल्य र ऐतिहासिक सामग्रीको सुरक्षाप्रति चिन्तित हुनुहुन्थ्यो । त्यसैले जीवनको अन्तिम क्षणसम्म पनि उहाँ अत्यन्त सक्रिय र समर्पित रूपमा आफ्नो उद्देश्य परिपूर्तिका लागि लागिरहनु भयो ।
०००
विनय दाइसँगका स्मृतिका क्षणहरू अरू पनि धेरै छन् । त्यसैले के लेख्ने, कति लेख्ने भन्ने अलमलमा छु म । धेरै कुरा छन्, जुन लेखेर सकिँदैन । त्यसैले स्मृतिका अनेकन् विषय, प्रसङ्ग, भेटघाट, कुराकानी, विमर्श, छलफल र भ्रमणहरूबाट छानेर केही कुराहरूमात्र भन्ने मन छ अहिले । विनय दाइको भौतिक शरीर हामीबाट टाढिएको पनि अब एक वर्ष हुन लाग्दै छ । कहिलेकाहीँ स्मृति–दंशले भावविह्वल पार्छ, कोरोना कहरले घरभित्रै बस्नुपर्ने बाध्यताबिच सम्झनाले झन् सताउँछ । आपैmलाई अचम्म पनि लाग्छ, पश्चिमी पहाडी भेग पाल्पाको विनय दाइ र पूर्वी भेगको मबिच कसरी सम्बन्धको यस्तो बलियो गाँठो कसियो । भौतिक रूपमा उहाँसँग मेरो चिनजान धेरै पछि भए पनि वास्तवमा नाम र कामले एकअर्कासँग परिचित हामीबिच तीसको दशकदेखि नै सम्बन्ध गाँसिएको थियो ।
वि.सं. २०२९ सालदेखि म साहित्यिक गतिविधिमा सक्रिय भएँ । त्यसपछि साहित्यिक पत्रपत्रिकामा रुचि बढेपछि म पाल्पाबाट प्रकाशित हुने श्रीनगर पत्रिकाको ग्राहक बनेँ । त्यो घटना नै विनय दाइ र मबिचको सम्बन्धको सुरुवात थियो । यो २०३२ सालतिरको कुरा हो । नयाँ लेखक भएका कारण पत्रपत्रिकामा रचना छाप्न पनि गाह्रो हुने अवस्था थियो त्यतिखेर । त्यसबेला मैले श्रीनगरमा प्रकाशनका लागि एउटा कविता पठाएँ, एउटा शहरको वीर्यपात कविताको शीर्षक थियो । त्यो कविता २०३४ सालको कुनै अङ्कमा छापियो, तर छापिएर आउँदा त्यसको शीर्षक परिवर्तन गरेर कोलाहल र हूल ः एउटा शहर सम्भवतः यस्तै राखिएको थियो । अत्यन्त शालीन र भद्र स्वभावका विनय दाइलाई सम्भवतः कविताको शीर्षकमा प्रयुक्त वीर्यपात शब्द अनुपयुक्त लागेको थियो, त्यसैले शीर्षक परिवर्तन गरिएको थियो । यो कविता मैले पछि मेरो दोस्रो कवितासङ्ग्रह विभाजित मान्छे (२०४०) मा समावेश गरेँ । विनय दाइले त्यसबेला नेपालमै पहिलोपल्ट हवाईपत्रमा चौतारो (भाग १, २०३३ र भाग २, २०३४) लघुकथासङ्ग्रह प्रकाशित गर्नुभयो । श्रीनगरको ग्राहक भएको नाताले त्यो लघुकथासङ्ग्रह मकहाँ पनि आइपुग्यो । त्यो प्रयोगले म र मजस्ता नयाँ पुस्ताका धेरै लेखकलाई प्रभावित पा¥यो । यसमा उहाँ र कथाकार विजयसागरका लघुकथाहरू थिए । मलाई याद छ, त्यसपछि विराटनगरबाट म र मेरा मित्र श्यामकुमार अधिकारी दुई जना भएर कनिका नामको हवाईपत्रिका प्रकाशन थाल्यौँ । केही अङ्क दुवै जनाको सम्पादनमा निस्के पनि पछि त्यो मेरा मित्र श्यामजीले एकल सम्पादनमा निकालिरहनु भयो । त्यसबेला वास्तवमा यसले देशव्यापी रूपमा एउटा लहर ल्याएको थियो । कुनै दिन कसैले नेपालबाट निस्केका सबै हवाई पत्रिकाबारे राम्रो अध्ययन एवम् अनुसन्धान गरेपछि मात्र तत्कालीन अवस्थामा यसको महत्ता र विनय दाइको योगदानको मूल्याङ्कन हुने छ भन्ने आशा गर्न सकिन्छ । यसरी साहित्यमा लागेको प्रारम्भिक अवस्थामै विनय दाइको सक्रियता, लेखन र प्रयोगले मलाई उत्साहित पारेको थियो । मैले लेखेको चौतारो (भाग १) को पुस्तक परिचय त्यसबेलाको साप्ताहिक पत्रिका नयाँ किरणको असार १३, २०३३ को अङ्कमा प्रकाशित भएको थियो ।
त्यसपछि लामो समयसम्म हामीबिच भेटघाट हुन पाएन । लेखनमा दुवै जना सक्रिय भइरह्यौँ, दुवैले पत्रकारितालाई पेशाका रूपमा अघि बढायौँ । म सरकारी समाचार संस्था राससमा प्रवेश गरेँ, दाइ सत्य साप्ताहिक पत्रिकामार्पmत समाचार र विचारको प्रवाहमा सक्रिय हुनुभयो । हाम्रो भेट भने पहिलो पटक २०५४ सालमा मात्र भयो । नेपाल पे्रस इन्स्टिच्युटले पत्रकारिताको प्रशिक्षक उत्पादन गर्ने उद्देश्यअनुरूप सो वर्ष धुलिखेलमा आयोजना गरिएको पत्रकारिता प्रशिक्षक प्रशिक्षण कार्यशालामा म सहभागी थिएँ भने विनय दाइ कार्यक्रम संयोजक । पछि म राससमा कार्यरत रहेकै बेला उहाँ राससको सञ्चालक समितिको सदस्य पनि हुनुभयो । तर त्यतिञ्जेलसम्म हाम्रो सम्बन्ध औपचारिकतामा सीमित थियो ।
साहित्यमा सक्रिय हुँदाहुँदै विस्तारै मेरो रुचि बालसाहित्यतर्पm पनि बढ्न थाल्यो र विनय दाइ पनि लेखकीय जीवनको उत्तराद्र्धमा बालसाहित्यमै समर्पित हुनुभयो । यसले नै हामीबिचको सम्बन्धलाई अत्यन्त नजिक बनाएको हो । पछि नेपाल बालसाहित्य समाजको विभिन्न कार्यक्रमका अतिरिक्त चितवनमा भएको कार्यशाला (२०६१), नुवाकोटमा भएको सम्मेलन र घान्द्रुकमा भएको सम्मेलन (२०६५) का यात्राले हामीबिचका सम्बन्धलाई झन्झन् नजिक्यायो । यही सम्बन्धका कारण विनय दाइको एउटा पुस्तक प्रकाशनको क्रममा मैले अर्का बालसाहित्यकार एवम् प्रकाशक मित्र विजयराज आचार्यलाई विनय दाइको घर लगेर परिचय गराउने मौका पाएँ । सम्भवतः यो २०६३ तिर हो । विनय दाइ र विजयजीबिचको यो चिनापर्ची र सम्बन्धका कारण नै विनय दाइका बालसाहित्यका पुस्तकहरू धमाधम विवेक सिर्जनशील प्रकाशनबाट आउन थाले र छोटो समयमै विनय दाइ एक अत्यन्त सक्रिय र समर्पित नवीन विचार र शैलीका बालसाहित्यकारका रूपमा परिचित एवम् प्रतिष्ठित हुनुभयो ।
वि.सं.२०६५ तिरको कुरा हो । नेपाली बालसाहित्यमा जीवनीका नाममा धेरैजसो लेखकले एउटै व्यक्तिलाई दोहो¥याइरहेको देखेपछि मलाई दिक्क लाग्यो । त्यसपछि अरूले नलेखेको नेपालीको जीवनी लेख्न पात्रहरू खोजी गर्दै जाँदा रामोन म्यागासेसे पुरस्कार विजेता नेपालीहरूको जीवनी तयार गर्ने सोच बनाएँ । सो पुरस्कार पाउने पहिलो नेपाली महेशचन्द्र रेग्मी दिवङ्गत भइसक्नु भएकोले उहाँसँग सम्बन्धित सामग्री उहाँका भाइ रविशचन्द्र रेग्मीको सहयोगमा सङ्कलन गरेँ । अन्य तीन जना भारतदत्त कोइराला, सन्दुक रुइत र महावीर पुनसम्बन्धी सामग्री र तस्विर सङ्कलनमा विनय दाइको महŒवपूर्ण सहयोग मात्र रहेन, महावीर पुन आउँदा उहाँकै घरमा भेटेर कुराकानी गर्ने अवसर पनि मिलाई दिनुभयो । यसरी सहयोग गरेर लेखनमा प्रोत्साहित गर्ने गुण अत्यन्त थोरै लेखकमा मात्र रहेको मैले पाएको छु । रामोन म्यागासेसे पुरस्कार विजेता अन्तर्राष्ट्रिय नेपाली प्रतिभाहरू शीर्षकको सो पुस्तकको भूमिकामा उहाँले लेख्नुभएको छ ः
नेपालीहरूमा प्रतिभा र योग्यता नभएको होइन । प्रतिभालाई चिन्ने, चिनाउने र फस्टाउने वातावरण कम भएको मात्रै हो । जाने चन्दन, नजाने खुर्पाको बिँड भनिन्छ । अहिले लाखौँ नेपाली प्रतिभाहरू खुर्पाकोे बिँड बनेर नचाहेको र नचिताएको काम गरेरर बाँच्नु र अकालमा मर्नु परिरहेको छ ।
विनय दाइले मलाई उहाँको विमोचन कथासङ्ग्रहको भूमिका लेख्ने अवसर पनि दिनुभयो । तर बाक्लै भेटघाट, कुराकानी र विचारविमर्श भने बालवाङ्मय तथा अनुसन्धान केन्द्रको सदस्य भएपछि हुन थाल्यो । म २०७१ सालमा सो संस्थाको सदस्य भएँ र पछि कार्यसमितिमा कोषाध्यक्षको जिम्मेवारी दिइयो । त्यसपछि केन्द्रद्वारा आयोजित थुपै्र कार्यशाला र कार्यक्रममा सहभागी भएँ र दाइको विद्वता, ज्ञान, समर्पण र सक्रियतालाई अत्यन्त नजिकबाट नियाल्ने अवसर पाएँ । टिस्टुङमा भएको बालकथा प्रशिक्षक प्रशिक्षणमा मात्र होइन, विभिन्न विषयक कथालेखनमा सहभागी भएर कथा लेख्ने, कथा सुनाएर सबैबाट सुझाव र प्रतिक्रिया लिने र कथालाई परिमार्जन गर्ने व्यवस्थित विधिले कथा कसरी स्तरीय र रोचक हुनसक्दो रहेछ भन्ने ज्ञान र सीप उहाँले हामीलाई हस्तान्तरण गरेर जानुभएको छ ।
वि.सं. २०७५ को मङ्सिरदेखि २०७६ को साउनसम्म बालसाहित्यमा विनय कसजू ः योगदान र मूल्याङ्कन ग्रन्थ तयार गर्ने क्रममा फेरि पटकपटक विनय दाइसँग कुराकानी, भेटघाट र छलफल भए । आपूmबारेका सबै सामग्री सुरक्षित राख्नुभएकोले पुस्तक तयार गर्न मलाई सजिलो पनि भयो । बालसाहित्यमा विशिष्ट योगदान दिएका महŒवपूर्ण स्रष्टाबारे लेख्न पाउनु मेरो अहोभाग्य नै हो भन्ने मैले ठानेको छु । यो पुस्तक कुनै नेपाली बालसाहित्यकारका कृतिबारे विश्लेषण गरिएको नेपाली साहित्यकै पहिलो पुस्तक पनि हो । पुस्तकको लोकार्पण उहाँको जीवनकालमै गर्न सकियो, एउटा सन्तोष गर्ने ठाउँ छ । यस पुस्तकमा उहाँका केही भनाइ पनि समावेश छन् । उहाँले कृतज्ञता शीर्षकमा लेख्नुभएको यो प्रसङ्गले पनि उहाँका बारेमा बुभ्mन मद्दत गर्छ ः
सुरुमा रहर र नामको लागि काम गरेता पनि बालसाहित्य सिर्जना मेरोलागि समाज र राष्ट्रका लागि योग्य र असल नागरिक तयार पार्ने अभियान हो । नेपाली बालसाहित्यलाई सार्थक र उद्देश्यमूलक बालसाहित्य बनाउन र विश्व स्तरमा पु¥याउनका लागि धेरै काम गर्न बाँकी छ । बालसाहित्यका बारेमा मैले जान्नु र सिक्नुपर्ने कुरा धेरै छन् ।
विनय दाइ भौतिक रूपमा हुनुहुन्न भन्ने सोच्दा पनि आँखा रसाउँछन् । उहाँले २०७५ असारमा आपूmले संस्थाको अध्यक्ष छोड्ने हुनु भएपछि उहाँ र साथीहरूको आग्रहका कारण म अहिले बालवाङ्मय तथा अनुसन्धान केन्द्रको अध्यक्षको रूपमा रहेको छु । उहाँको उत्तराधिकारीका रूपमा सबै साथी र सल्लाहकारहरूको सहयोगमा थुपै्र काम गर्नुपर्ने जिम्मेवारी छ । वास्तवमा मेरो मृत्यु अब धेरै टाढा छैन भन्ने बोध उहाँलाई भइसकेको थियो भन्ने मलाई लाग्छ । त्यसैले केन्द्रको अध्यक्षको जिम्मेवारी उहाँ हस्तान्तरण गर्न चाहनुहुन्थ्यो । यतिखेर उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको पदचिह्नमा हिँड्न प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्छु । तपाईंको आशीर्वाद र स्नेह सधैँ हामीसाथ रहिरहने छ, दाइ !! तपाईंलाई कहिल्यै भुल्ने छैनौँ दाइ !!