16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

म नराम्री छु है ?

लघुकथा ईगम खालिङ December 28, 2022, 12:32 pm
ईगम खालिङ
ईगम खालिङ

सन्त जोसेफ स्कुलको अलिकति अघि एउटा गिर्जाघर छ । गिर्जाघर भएर जाने बाटो स्कुले नानीहरू ताँत लागेर हिँड्छन् । मैले देखेका ती नानीहरूमध्ये एउटी चार-पाँच कक्षा पढ्ने नानीचाहिँ गिर्जाघरको गेटअघि घुँडा टेकेर प्रार्थना गर्ने गर्छे । मैले उसलाई त्यहाँ त्यसरी प्रार्थना गरेर स्कुल गएकी देखेको यस्तै एक हप्ताजस्तो भइसकेको थियो ।

त्यो दिन पनि म त्यही गिर्जाघर भएर जाने बाटामा छेउ लागेर उभिरहेको थिएँ । त्यो दिन पनि त्यस नानीले त्यसरी नै प्रार्थना गरी । त्यस नानीका बारेमा जान्ने मन त लागेको थियो तर अलिक हतार भएको हुनाले कसैलाई सोध्न पाइनँ । तर मेरो मनमा कुरा खेलिरहे—त्यो नानी त्यस गिर्जाघरअघि किन त्यसरी सधैँ प्रार्थना गर्छे ? आमाबाबाले नै त्यस्तो संस्कार दिएको पो हो कि ! उसले प्रार्थनामा के मनोकामना गर्छे ? के साह्रो मायालु नानी !

भोलिपल्ट पनि मैले उसलाई त्यहाँ फेरि देखेँ र आज चाहिँ सोधिहाल्छु भनेर अलिक अघि गएर उसलाई पर्खिरहेँ । मेरो गाडी आइपुग्यो तर पनि म गइनँ । दुई-तीन मिनटबाद ऊ त्यहाँबाट आँसुसरि भएर निस्किई । ऊ मेरो नजिक आइपुग्नसाथ मैले अलिकति स्वर बनाएर सोधेँ, “नानी ! तिमी रोयौ पो क्या हो ?”

मैले त्यसरी एक्कासि प्रश्न गरेको हुनाले ऊ लजाउँदै अलिक पर सरी । त्यसपछि आफ्नो जामामा लागेका धूलाहरू टकटकाउँदै बोली, “होइन अङ्कल, म प्रार्थना गर्न बसेकी थिएँ ।” “तर तिम्रो आँखा त सुन्निएको छ नि !” मैले उसलाई अप्ठ्यारो नमानी भनिदिएँ ।

“अङ्कल ! प्रार्थना गर्दा मलाई सधैँ यसरी नै आँसु आउँछ । मेरो साथीले भनेको प्रभुको अघि रोयौँ भने मन शान्ति हुन्छ हरे साथै मनोकामना पनि पूरा हुन्छ हरे !” त्यति भनेर उसले अघि बढ्नलाई तर्खर गरी । म पनि ऊसित अलिक परसम्म हिँड्ने विचार गरेँ । म उसकै रफ्तारमा हिँडिरहेको थिएँ । मैले उसको नाम सोधेँ, “नानी ! तिम्रो नाम के हो ?” उसले छोटो उत्तर दिई, “कृतिका” । मैले लगत्तै अर्को प्रश्न गरेँ, “अनि तिम्रो साथीको नाम चाहिँ ?”

“राम !” “राम बिरामी छ । रामलाई उसका आमाबाबाले असध्य माया गर्छन् । ऊ पढ्नमा पनि तेजी छ । तर अहिले ऊ बिरामी छ र नै म यहाँ उसका निम्ति प्रार्थना गरिरहेको छु । रामलाई राम्ररी जाती भएर मात्र स्कुल आउनु भनेर खबर पठाएको छु । राम छैन भने मलाई स्कुलमा सुन्ने लाग्छ । पहिले म मेरा आमा र पापाका आत्माशान्तिका निम्ति प्रार्थना गर्थेँ तर अहिले म रामका निम्ति गरिरहेको छु ।” उसले मलाई रुन्चे स्वरमा आफ्नो मनका कुरा सुनाई । त्यसपछि उसका साना साना हातहरूले आँखाका आँसु पुछ्दै विश्वासको साथमा बोली, “अङ्कल ! राम कति राम्रो नाम छ नि ! राम त भगवान् हुन् । त्यसैले हाम्रो राम पनि कति दयालु छ !”

त्यस नानीका कुरा सुनेर कुनिकिन मन कटक्क भएर आयो । मनभित्र कता कता भावनाहरू छछल्किएर आए । उसका हृदयमा ईश्वर, बोलीमा सङ्गीत अनि आँखामा अदृश्य मर्म थिए । अलिक पर पुगेपछि हामी दुवै एकछिन उभ्यौँ । उसले चुपचाप भित्तामा झोला अड्याएर बिसाई । मैले उसलाई एकटक लगाएर हेरिरहेँ । ऊ अलिकति मुसुक्क हाँसेर झोलाबाट ज्यामिति बक्स झिक्दै भनी, “अङ्कल ! यो ज्यामिति बक्स, कलम, खाता र किताबहरू सबै रामका आमाबाबाले नै दिएका हुन् ।”
झोलाको चेन लगाउँदै ऊ बोलिरह्यो, “रामले भनेको साथीलाई मद्दत गर्यौँ भने हामी स्वर्गमा पुग्छौँ हरे ! स्वर्गमा ईश्वर, आमा र पापा सबै हुन्छन् हरे ! तर म स्वर्ग जान चाहन्नँ ।”

त्यस नानीका कुरा सुनेर म आफैँमा ईश्वर खोजिरहेको थिएँ । उसका मिठो बोली, आँखाभरि आँसु र गहिरो कुराले मलाई अचल बनाइरहेका थिए । म केही क्षण चुप लागेर उसलाई हेरिरहेँ । मलाई मात्रै ऊ बोलेकी सुन्न र हेर्न मन लागिरह्यो । मेरो मनले भनिरह्यो कि उसको हृदयमा एउटा गुप्ती मर्म छ जहाँसम्म म पुग्नै सकिरहेको छुइनँ । उसले हिँड्ने आग्रह गरी र हामी अघि बढ्यौँ । मैले फेरि कुरा झिकेँ, “भन त नानी, तिमी किन स्वर्ग जान चाहँदैनौँ ? स्वर्गमा त सुखै-सुख हुन्छ । तिमीले भनेजस्तो आमाबाबा, ईश्वर र साथीभाइहरूसित बस्न पाइन्छ । सुनेको त्यहाँ कुनै कुराको कहिल्यै अपुग र दु:ख हुँदैन ।”

उसले झन् गम्भीर हुँदै भनी, “त्यसैले त म जान चाहन्नँ ।” किन चाहँदैनौ मात्र भनेको थिएँ उसले आँसु पिलपिल खसाल्न थाल्छे । उसको आँखाबाट आँसु झरेको झरेकै हुन्छ तर आवाज भने पटक्क निस्किँदैन । मेरो उत्सुक्ता झन् बढेर जान्छ ।

मैले उसलाई रुमाल दिँदै भने, “भन त नानी, तिमी स्वर्ग जान किन चाहँदैनौ ?” “म आमा र पापासङ्ग पटक्क बस्न चाहन्न । बाजे भन्नुहुन्छ कि मेरो पापा गोरो थिए हरे अनि आमा पनि खुब गोरी थिइन् हरे, तर म काली जन्मेपछि पापाले आमासित झगडा गरेर घर छोडेर जानुभयो हरे ! म चार बर्षको हुँदा आमाको मानसिक स्वास्थ्य बिग्रिएर हामी सबैलाई छाडेर गइन् हरे !” भन्दै घोप्टिएर सुकसुक गर्दै रुन थाली । रुमालले आँसु पुसिसकेपछि अनुहारमा जबरजस्ती मुस्कान भर्दै फेरि बोली, “स्कुलमा पनि सबैले काली काग भनेर बोलाउँछन् । सर-मिसहरूले पनि काली भन्दै बोलाउँछन् ।”

म केही बोल्नै सकिनँ । ऊ फेरि मन दुखाएर सुकसुकाउन थाली तर मैले उसलाई नरोऊ नानी पनि भन्न सकिनँ । मेरो हृदय भरिएर आयो । म ऊसित स्कुलको गेटसम्म गएँ । मैले उसलाई मिठाई खाने केही रुपियाँ हातमा थमाइदिँदा पनि ऊ मानिन । छुट्ने बेलामा मेरो हात समातेर मुसुक्क हाँस्दै मलाई एउटा प्रश्न गरी, “अङ्कल ! म नराम्री छु है ?”

म हेरेको हेरेकै भएँ । ऊ कति बेला त्यहाँबाट भित्र पसी मलाई थाहै भएनँ । एकछिनपछि स्कुलको घन्टी बज्दा मात्र म झसङ्ग भएँ । त्यो दिनभरि मेरो कानमा त्यस नानीको आवाज घरिघरि गुँजिरह्यो—“म नराम्री छु है ?”

दार्जीलिङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।