बेलायती साम्राज्यको उपनिवेशबाट स्वतन्त्र भएको मुलुक, महात्मा गान्धीको देश, गंगा तटमा रचिएका टैगोरका आत्मकथा, सत्यजित रे र रितुपर्ना घोषका फिल्म, भुपेन हजारिकाका गीत र अरु यस्तै इधर–उधरले कलकत्ता जाने हुटहुटी लामो समयदेखि मनमा थियो । यसपालि त्यो तिर्खा हिमालय ओरेन्ज इन्टरनेशनल फेष्टिबलले मेटाइदियो ।
झापाको काँकडभिट्टाबाट भारतको कोलकत्ता हाम्रो यात्रा आरम्भ हुँदा बेलुकाको ५ बजेको थियो । रातभरको यात्रा अलि कठिनको त हुने नै भयो । तर मन मिल्ने र सबैजसो चिनजानकै भएकाले बसभित्र लोक गीत र झ्याउरे दोहोरीले समय विताउन मद्दत गर्दो रहेछ । रउसे साथीहरु बेलाबेला उठेर नाच्दै सबैलाई जुरुक जुरुक बनाउँदा रात छोटो जस्तो महशुस हुँदोरहेछ । भित्रैबाट केही ठट्याउले टिप्सपनि विहानपख बाटामा देखिन्थे । अन्जान ठाउँमा बस रोकिएको मौका पारेर यात्रुगणहरु ढोकाबाट फुत्त फुत्त सडकको पेटीमा हाम्फाल्थे र क्षितिजमा उडेका बकुल्लाका बथान हेर्दै मूत्र बिसाउँथे । यो रुढका धेरैजसो बसमा कोही फुत्त चढ्थे, कोही हतारले ओर्लन्थे र कुद्थे तर हाम्रो भने रिजर्व बस भएकाले बाटोमा धेरै बिसाउनु परेन ।
कोलकत्ताको अन्तराष्ट्रिय फुटबल स्टिेडियम हाम्रो पहिलो गन्तब्य थियो । त्यहा पुग्दा विहानको ९ बजेको थियो । रातको बासकोलागि हाम्रो त्यही बुकिङ थियो, हामीले त्यही झोला विसायौं ।
दुईसयबढीको जम्बो टोलीकासाथ हाम्रो यात्रा अघिबढेपनि सँगै काम गर्ने हामी चार सहकर्मी गिरिराज भट्टराई, विष्णु पोखरेल, गोपाल झापाली र म सँगै घुम्यौं, फुटबल स्टिेडियमलाई बेश बनाएर एक एकओटा झोला भिरेर आसपासका चर्चामा रहेका पर्यटकीयस्थल र सुनेजति ठूला बजारनै हाम्रो गन्तब्यस्थल बन्न पुगे ।
उसो त कलकत्ता उति टाढाचाहीँ होइन, नेपालबाट सबैभन्दा नजिकैको बन्दरगाह पनि हो । पूर्वी नाका काकडभिट्टाबाट जाँदा एकरातमा कोलकत्ता पुगिन्छ । त्यहाँ पुगेपछि विशाल कलकत्तामा कुन ठाउँमा, कुन गल्लीमा गएर बस्ने भन्ने हाम्रो अनभिज्ञतालाई गुगलले नि मेटाउन सकेको थिएन । कलकत्ता त विशाल पो छ त । अनि कहाँ कहाँ घुम्ने ? छुटाउनै नहुने ठाउँ कुन होला ? बस र रेलका भिडले तर्साइसकेको थियो । बाटो छेउमा मड्कीमा चिया पिउँदै गर्दा एक सहकर्मीले जुक्ति निकाले मेट्रो चढ्ने स्टेसन नै पिच्छे उत्रिने र आसपास घुम्ने, अलि टाढा जानपरे ट्याक्सी र बस चढ्ने । हाम्रोलागि त्यही उपाय उचित भयो ।
भारतका बजार घुम्न निस्कँदा यात्रामा सँधै मेट्रो रेलले आकर्षण गर्छ । रेलमा दिनभरि र आधारातसम्म दौडिरहनु मात्रै पनि यात्राको आधासरो आनन्द रहेछ । झ्यालबाट बाहिर चियाउँदा जुनको प्रकाशमा पर थुम्का थुम्की डाँडाहरुजस्तै ठिङ्ग उभिएका ४० तले विशाल भवनहरु, जमिन मुनि र माथि तलैया र गाडीले खचाखच ब्यस्त बजार, नरिवलका बुटा, बस्ति केके केके देखिन्थे । ठाउँ ठाउँमा विशाल औद्योगिक क्षेत्र थिए । त्यस क्षेत्रमा भारतका अन्य क्षेत्रको तुलनामा मेट्रो रेलगाडीहरु समयमा चल्दा रहेनछन् ।
त्यहाको चर्चितमध्येको हावडा पुल जसलाई रविन्द्र सेतु भन्दा रहेछन् । अंग्रेजले १९४२ मा बनाइदिएको यो पुल कलकत्ताको ‘ल्यान्डमार्क’ हो । गङ्गाबाट भँगालो फाटेको विशाल होग्ली नदीमा बनेको ७०५ मिटर लामो आठ लेनको सडक बोकेको पुलमा एउटा पनि पिलर छैन भन्ने थाहा पाउँदा त्यो बेलाको इन्जिनियरिङ प्लान सम्झेर मस्तिष्कमा विज्ञानप्रतिको झुकाव अझ ओझिलो बन्यो । हुनत सन १९४७ अगष्ट १५ मा बेलायती सामाज्यको उपनिबेशबाट स्वतन्त्र भएको भारतले धेरै संरचना पुराना नै संरक्षण गरेको रहेछ जसमध्येको हावडा पुल हेरेर हामी रमायौं । गंगा नदीमा छिनछिनमा लाग्ने ढुंगाबाट गंगा सयर गर्दै विभिन्न सीनमा फोटो लिँन पाउँदा बहुत मज्जा आउँदोरहेछ । पहाडको देशबाट झरेका हामीलाई समुद्र हेर्नु थियो । कलकत्ताको नामी समुद्री तट डिगा हो भन्ने गुगलले पहिले नै बताइसकेको थियो तर यो पटक समय पुगेन ।
दोस्रोदिन हामी चारभाइको टोली कालीघाटस्थित काली मन्दिर पुग्यौं । कलकत्ताको नाम पनि यसै मन्दिरबाट राखिएको भनिँदो रहेछ । दर्शनका लागि लामो लाइन हुने मन्दिरमा सर्टकर्टबाट दर्शन गराइदिने दलालहरुले घेरेर हैरान पार्दा रहेछन् ।
त्यसपछि हामी एउटा विशाल रेस कोर्स (घोडा दौड खेल हुने ठाउँ) हेर्दै भिक्टोरिया मेमोरियल पुग्यौं । त्यस ठाउँमा एउटा नाम चलेको पुरानो चर्च र खगोलीय पिन्डहरुको अध्ययन गर्ने तारामन्डल भनिने प्रयोगशाला नि रहेछ । हामी भिक्टोरिया मेमोरियल छिर्यौं । भिक्टोरिया मेमोरियल म्युजियमभित्र प्रवेश गर्दा हामी अर्कै संसारमा हिडें जस्तो महसूस भयो । कलकत्ताको शहरी कोलाहलभित्र त्यस स्थानमा छूटै आनन्द थियो । विशाल कम्पाउण्डमा फैलिएको महारानी भिक्टोरियासँग सम्बन्धित विभिन्न कलाकृतिहरुको संग्रह यसभित्र रहेछ । तत्कालीन बेलायती महारानी भिक्टोरियाको सम्झनामा बनाइएको यो विशाल भवन चानचुने रहेनछ । कलकत्ताको ताजमहल । भित्र १३ औं शताब्दीदेखि भारतको इतिहास लेखिएका थुपै ऐतिहासिक दस्तावेज र पुराना पत्रिकाहरुपनि सजाइएको रहेछ । त्यहाँका सेक्युरिटीले अक्षर राम्रो नबुझिने ति पुराना पत्रिकाको फोटासम्म खिच्न अनुमति दिए । घुम्दा घुम्दै हामीलाई भिक्टोरियामै १ घन्टा भन्दा बढि लाग्यो ।
हामी गान्धी भवन पनि पुग्यौं तर त्यो दिन मुल भवन भने बन्द रहेछ । बाहिरी भागमा फोटा खिच्यौं । गान्धीले प्रारम्भ गरेको भारत छोडो आन्दोलनका विविध पक्षहरु जस्तै चर्खा आन्दोलन, रेल रोको आन्दोलन, दण्डी यात्र, आमरण अनशन, र पद यात्रा प्रभृति प्रतिकात्मक मूर्ति र चित्रहरु हुबहु निमार्ण गरिएको रहेछ । कलाकारको सुन्दर शैलीमा कुँदिएका ति मूर्तिहरु हेर्न लायक रहेछन् ।
नेपालमा कम्युनिष्ट पार्टीको स्थापना कोलकत्ताबाटै भएको हो, जसका संस्थापक पुष्पलाल श्रेष्ठले लामो समय कोलकत्तामा नै विताएका रहेछन् त्यहाँ पुष्पलाल बसेको घर पनि संग्राहलयकै रुपमा राखिएको रहेछ ।
केही आधुनिक संरचनाबाहेक अंग्रेजहरुले शासन गरेकैबेला निर्माण गरिएका संरचनाहरु नै कोलकत्ताको मुख्य आकर्षण हो जस्तो लाग्यो मलाई । संरचनाको विकास र समृद्धीका हिसाबले कोलकत्ता धेरै अगाडी रहेछ । त्यत्रो ठूलो जनघनत्व भएको सहरमा विशाल संरचना बन्दा र पुर्ननिर्माण गरिँदासमेत बातावरण विग्रन नदिँन बोटविरुवा र ठूला भएका रुखहरु पनि जोगाउन सफल हुनु र सबैले बोटविरुवाको उत्तिकै मायाँ गर्नु अत्यन्तै सकारात्मक पक्ष भेटियो । रोडका आसपासमा रहेका खाली जमिनमा पर्यटक आकर्षण गर्ने विभिन्न बन्यजन्तु, पुराना राजनेताहरु, खेलाडी र प्रेमिल जोडीहरुका टुकुचा, स्ट्याचु वा मूर्तिहरुले सजाइएका रहेछन्, जहाँ टिकटक बनाउँने र फोटो सुट गर्नेहरु रमाइरहेका भेटिन्थे । हामीले पनि त्यो अवसर गुमाउँने कुरै भएन ।
राजनीतिक दृष्टकोणबाट हेर्दा लामो समय कम्युनिष्टहरुले शासन गरेको कोलकत्तामा धनी र गरिबविचको अन्तरविरोध र विभेद भने कायमै रहेको पाइयो । त्यहाँभित्रको वर्गीय विभेद अझै दास र मालिकको रुपमा तैरिरहेको रहेछ । यतिसम्म कि गरिवले सडकमा रोटी र चटनी खाँदा चम्चाको प्रयोग गर्नसमेत नमिल्ने, कागजमै खानुपर्ने जस्तै नकारात्मक छाप मेटिएको रहेनछ । धनीहरु गगनचुम्बी महलमा पसेपनि गरिबहरु ठूलो संख्यामा अझै सडक र छाप्राहरुमा नै देनिकी गुजारिरहेका भेटिए ।
माछा,मासु, फलफूल र पीठोका विभिन्न परिकारहरु कलात्मक रुपले बनाएको पाइएपनि नेपाली खाना भएका होटलहरु भने पाइएन । त्यहाँ सबैजसो परिकारमा चिनीको प्रयोग पाइयो । त्यहाँको खानाको मुख्य स्वाद नै माछा र रोटी रहेछ । हामीले भात र रोटी मिलाएर खायौं र डुल्यौं ।
कोलकोत्ताका मुख्य पर्यटकीय स्थलहरु घुमिसकेपछि महशुष भयो साँच्चैं हामीले त आजसम्म नेपाललाई ‘ब्राण्डिङ’ नै पो गर्न सकेका रहेनछौं । उनीहरुलाई हामीलेपनि विभिन्न तरीकाबाट आकर्षण गर्न सक्छौं, बंगालीहरुले शक्तिको पूजा आराधना गर्दछन् । हाम्रो सबल पक्ष यस क्षेत्रमा धार्मिक महत्वका दर्जनौ शक्तिपीठ अवस्थित छन् । पूर्वी नेपाल ताप्लेजुङको पाथीभरा मातादेखि धरानको दन्तकाली शक्तिपीठहुँदै, जनकपुर, पोखरा, काठमाण्डौंका दर्जनौ शक्तिपीठमात्र नभएर पश्चिमका अनेकौ पीठहरुलाई पर्यटकीय स्थललाई गन्तब्यको रुपमा संस्थागत गर्न नै सकेका छैनौ । कलकत्ताको कालीघाट शक्तिपीठ र नेपालका विभिन्न क्षेत्रको शक्तिपीठहरुको ‘टुरिजम सर्किट’ को अवधारणा अघि बढाउन सकिन्छ । यसलाई मुख्य प्रोडक्ट बनाएर बजारीकरण गर्ने हो भने बंगाली पर्यटकलाई हामीले यस क्षेत्रमा भित्र्याउन सक्छौं । यसका लागि निरन्तर र योजनाबद्ध प्रर्वधनको खाँचो छ । हाम्रो सामुहिक निष्कर्ष नै कोलकत्ताका सकारात्मक पक्ष हामीले सिक्नुपर्छ भन्ने रहेको छ । कोलकत्ताबाट हामीले सिक्नेकुरा धेरै छन् भन्ने कुरामा हाम्रो टोलीको दुईमत नै भएन । अझै नजिकबाट बुझ्नुछ कोलकत्तालाई यी र यस्तै कयौं सम्भावना र कौतुहलता आँखाभरी बोकेर कोलकत्ता घुम्ने इरादा पूरा नहुँदै हामी फर्कियौं ।
कोलकोत्ताकी केटी
हामीलाई त्यो ठूलो कोलकत्ताका लाखौं केटीमध्ये एउटी केटी असाध्यै मन पर्यो । त्यहाँ गएर कसैसँग प्रेमभाव साट्ने या इमोसनल शुखभोग गर्ने हाम्रो कुनै योजनापनि होइन र त्यस भावबाट कसैलाइ हेर्ने कुरापनि हाम्रोलागि टाढाको विषय हो । मात्र उनलाई मन पर्यो । पर्यो त केवल उनको सबैकुरा मिलेको प्रश्तुती मन पर्यो । यसको अलाबा रुप र फिजिक्सले पनि उनलाई साथ दिएकै थियो । चोटिला शब्द, बुलंद आवाज, ओजिलो तर्क, स्वच्छ भाव, डगवाच भएको खुला दृष्टी, मानौ सबैलाई लागिरहेछ उनले मलाइनै हेरिरहेकी छन् । आकर्षक शैली उनको चुम्बकीय तत्व बन्यो हाम्रो लागि ।
एउटा भनाइ पनि छ, ‘नबोल्नेको चामल समेत बिक्दैन तर मिठो बोल्नेको पीठो पनि बिक्छ’ । अर्थात, बोल्ने क्षमता भएका व्यक्तिहरुले सहजै जुनसुकै काम फत्ते गर्न सक्छन् ।
‘बोल्न सक्ने कला’लाई निश्चित नियम तथा प्रक्रियामा बाँधेर व्यवस्थित बनाउने काम गर्ने जश उनैलाई दिन भ्यायौ हामीले । समयले उनलाई त्यो कला दिएको होला । फेरि अहिले त ‘पब्लिक स्पिकिङ’को कला भएकाहरुका लागि थुप्रै व्यवसायिक विकल्पहरु पनि छन् । यस्तै यस्तै कुरा गरेर दर्शकदीर्यबाटै उनको प्रशंशा पनि गर्न छुटाएनौ हामीले । उनीभित्रको वाक कलाले हाम्रो मन तानिरयो । एकजना साथीले खुसुक्क कानम भन्दैथिए नेपालमा यसरी कला भरेर बोल्ने केटी नै छैनन् यार ।
विन्सटन चर्चिल दोस्रो विश्व युद्धका दौरान बेलायतका प्रधानमन्त्री थिए । उनले वक्तृत्वको महत्व झल्काउँदै लेखेका पनि छन्, ‘मान्छेसँग भएका सबै प्रतिभामध्ये सबैभन्दा बहुमूल्य हो, वाक क्षमता । सायद आज हामीसँग विन्सटन थिएभने उनलेपनि मन पराउँथे र तारिफ गर्थे होलान ति धेरैमध्ये एकमा एक भएकी हिमालयन ओरेन्ज फेष्टिबल ओपनीङ प्रोग्रामकी उद्घोषिका (नाम नखुलाइएको) कोलकत्ताकी केटीलाइ ।
बेलुका बासस्थान फर्किएपछिपनि साथीहरुले उनको तारिफ गरिरहेकै थिए । भन्दैथिए–‘एरिस्टोटलले भाषणलाई निश्चित विषयमा मानिसलाई मनाउने, सहमतिमा ल्याउने वा विश्वास दिलाउने कलाका रुपमा परिभाषित गरेका छन् । उनले भाषणका तीन रणनीति फमूलाको विकास गरे ।
इथोसः यस अन्तर्गत भाषण दिने व्यक्ति वा स्रोत विश्वसनीय हुनुपर्छ वा सम्बन्धित विषयमा विशेष दखल राख्ने हुनुपर्छ ।
लोगोसः यस अन्तर्गत भाषण गर्नेले प्रस्तुत गरेको तर्कहरु चोटिलो र अर्थपूर्ण हुनुपर्छ ।
प्याथोसः यस अन्तर्गत स्रोता वा दर्शकलाई भावनात्मक तवरले आफ्नो कुरा मनाउन सक्ने हुनुपर्छ ।’
सायद उनमा यी तीनै फर्मूला यूज भएको थियोहोला, हामी निष्कर्षमा पुग्यौं र हामीले उनलाई साझा उपमा दियौं ‘कोलकत्ताकी केटी’ अनि हल थर्किने गरि गललललल हास्यौं । मज्जा आयो ।