19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

दिल्ली डायरी

नियात्रा नारायण मरासिनी December 28, 2022, 12:41 pm
नारायण मरासिनी
नारायण मरासिनी

यात्राको कुरो मात्रै सुन्दा पनि मेरो मन त्यसै त्यसै उचालिन्छ । नेपालभित्रका केही दुर्गम हिमाली तथा पहाडी गाउँदेखि तराईका विभिन्न ठाउँ हुँदै भारतको दार्जिलिङबाहेक टाढाको यात्रा गर्न सकेको थिइन । कास्कीको घान्द्रुक होस् वा सिक्लेस, धम्पुस होस् वा ताङतिङ यी हिमाली काखमा रहेका गाउँहरुमा म धेरैपटक बास बसिसकेको छु । छोम्रोङ खोलाको छङछङ गर्ने आवाजसँगै टाउको उठाएर माथि हेर्दा मैले एकातिर माछापुच्छ्रे र अर्कोतिर लालीगुराँसले ढाकेको लान्द्रुकको पाखोलाई पनि देखेको छु । लुम्लेको चिसो हावा पिएर म्याग्दीको तातोपानी र मुस्ताङको जोमसोम हुँदै मुक्तिनाथसम्म पनि म पैदल यात्रामै पुगेको छु । सुर्खेतको काँक्रेविहार होस् या इलामको चिया बगान, लुम्बिनी होस् या जनकपुरको जानकी मन्दिर, यी सबै दर्शनीय स्थलहरु मेरा अतीतका गन्तव्यहरु हुन् । तर यी सबै स्मृतिलाई मैले लिपिबद्ध गरेको छैन । मात्र बेलाबेलामा यी स्मृतिका बिम्बहरुले केही रोमान्चित अनुभूति दिलाइरहेका छन् । अधिकांश यी यात्राको उद्देश्य प्राकृतिक सौन्दर्यको अवलोकन तथा मनोरञ्जनमा सीमित थियो । यद्यपि त्यहाँका जातजाति, बस्ती तथा रहनसहनका बारेमा पनि मैले अध्ययन गरेको थिएँ । धनकुटाको हिले बजार जहाँ मैले जीवनमा पहिलोपटक तुम्बाको स्वाद लिएको थिएँ र सुर्खेत चाहिँ भूगोल विषयसँग सम्बन्धित भौगोलिक तथा औपचारिक भ्रमणका गन्तव्यहरु थिए । आफ्नो देशभन्दा अलि टाढा जानका लागि मेसो मिलिरहेको थिएन । संयोगबस यही २०६५ सालको दशैं बिदामा डा. रविलाल अधिकारी र डा. कृष्णराज अधिकारीले आफ्नै लागि केही किताब किन्ने उद्देश्यले दिल्ली जाने तारतम्य मिलाउनुभयो र म पनि उहाँहरूसँगै दिल्लीको यात्रामा सामेल हुने भएँ । उहाँहरुका साथमा जान पाउँदा म खुसी थिएँ । गोडाले पोखरा नछोडे पनि मन चाहिँ दिल्ली पुगिहाल्यो ।
अङ्ग्रेजी भाषामा लेखिएका किताबहरु म त्यति राम्रोसँग पढ्न सक्दिन । नढाँटी भन्नुपर्दा मलाई अङग्रेजी त्यति राम्रोसँग आउँदैन । स्कुलदेखि क्याम्पससम्म नै अङ्ग्रेजी मेरा लागि रुचिको विषय बन्न सकेन । अङ्ग्रेजी विषयका सम्बन्धमा परीक्षा पास गर्ने किसिमको पढाइ मात्रै मैले पढ्दै आएँ । मेरा लागि अङ्ग्रेजीको तुलनामा हिन्दी भाषा बुझ्न सजिलो हुने हुँदा मैले पनि युरोपेली तथा अमेरिकाली लेखकका हिन्दीमा अनूदित केही किताबहरू किन्न चाहेको थिएँ । यही उद्देश्यअनुरुप हामी तीन जना गत असोज २५ गते पोखराबाट सिधै दिल्लीका लागि छुट्ने गाडीको टिकट लिन पुग्यौं । सबैले भारतीय रुपियाँ सटही गरेका गरिसकेका थियौं । किताब किन्नका लागि अलिअलि पैसाको पनि जोहो गरिएकाले हामीले ठाउँठाउँमा झरेर गाडी तथा रेल फेर्नुको सट्टा सिधै यात्रा गर्नु राम्रो ठानेका थियौं । बिहार तथा उत्तर प्रदेशको यात्रा पहाडिया नेपालीहरूका लागि जोखिमपूर्ण हुन्छ भन्ने आधारमा पनि हामीले नन स्टप पोखरा–दिल्लीको बस रोज्नुपरेको थियो ।
२७ गते साँझ हामी पोखराबाट बस चढ्यौं । कृष्ण सर र म अगाडिपट्टिको सिटमा सँगै थियौं । रविलाल गुरु हामीभन्दा पछाडिको सिटमा हुनुहुन्थ्यो । बस नारायणघाट, नेपालगन्ज हुँदै बोर्डर पास गर्नेवाला थियो । दमौलीमा पुगेपछि झ्याल बन्द गर्नु पर्यो भनी यसो तानेको मात्र के थिएँ झ्यालको सिसा त सडकमै खसेर झर्याम्म फुट्यो । बसवालालाई अनुरोध गर्दा तत्कालै सो सिसा फेर्न नमिल्ने बताए । नदी किनारको बाटो । सिधै भित्र छिरिरहेको चिसो हावाका कारण हामी उक्त सिटमा बस्न नसक्ने स्थितिमा पुग्यौं । पछाडि फर्केर हेर्दा अन्तिम सिट खाली देखियो । हामी दुवै दाजुभाइ त्यहीँ गएर बस्यौं । ‘अलिअलि पिएर हिँड्ने हो भने त जाडो पनि भाग्थ्यो होला नि हगि !’ भन्ने कृष्ण सरको वाक्य सुन्दा एक मनले त पिउनै पर्छ कि जस्तो लागेर उहाँको अनुहार हेर्दै म मुस्कुराएँ । वास्तवमा हामी जाँडपानी पिएर मोजमस्ती गर्ने किसिमका मान्छे भने थिएनौँ । मुखले भने पनि व्यवहारमा चाहिँ त्यसो गरिएन । मुग्लिन, नारायणघाट, बुटवल हुँदै गुडेको बस गोरुसिङ्गे पुगेर खाना खान रोकियो ।
निदाउन नसके पनि जबरजस्ती आँखा बन्द गर्दै भोलिपल्ट झिसमिसेमै हामी कोहलपुर, नेपालगन्ज हुँदै सीमा काटेर रुपैडिया पुग्यौँ । चिया पिएपछि म मिनरल वाटरको बोतलमा बाँकी रहेको अलिकति पानी लिएर पूर्वतिरको गल्ली हुँदै उत्तरतिरको धानखेतमा पसेँ भने रविलाल गुरु ‘के गर्ने नारायणजी ! आज त साँच्चैको टुरिस्ट पो हुने भइयो’ भन्दै गल्लीमा छरिएका प्लास्टिक तथा अन्य कागज बटुलेर दक्षिणतिरको धानखेतमा पस्नुभयो । अन्य केही यात्री पनि यसरी नै धानबालीभित्र उँधोमुन्टो पारेर टुक्रुक्क बसेका देखिन्थे । त्यहाँ चिया पसल थाप्ने ससाना छाप्राहरु कुनैमा पनि शौचालयको व्यवस्था थिएन । हामीले ट्वाइलेट पेपरको जोहो गर्न पनि बिर्सेका रहेछौं । काम सकेर बसमा चढेपछि ‘दिसा गर्ने बेलामा ... खोज्ने’ अधिकांश नेपालीहरूको बानी सम्झेर केही समयसम्म त म एक्लै हाँसेँ पनि । गुरुसँगको यो मेरो पहिलो यात्रा थिएन । उहाँ र म भएर यसअगावै पनि थुप्रैपटक सहयात्रा गरिसकेका थियौं । आजभन्दा लगभग एक दशक पहिले अर्थात् २०५६ सालको प्रलेसको पाँचौं राष्ट्रिय सम्मेलनमा भाग लिन पोखराबाट जाँदा पनि म उहाँकै काखमा बसेर काठमाडौँ पुगेको थिएँ । फर्कंदासमेत उहाँकै काखमा थिएँ तर यस यात्राका क्रममा भने गुरुका तीनचारवटा क्रियाकलाप मेरा निम्ति निकै स्मरणीय बन्न पुगे ।
रुपैडियामा गुरुले हँसाउनुसम्म हँसाएपछि बस बाबागञ्ज, नानपारा, सीतापुर हुँदै लखिमपुर पुगेर रोकियो । दिउँसोको एक बजिसकेको हुँदा हामीले त्यहीँ खाना खायौं । यही सालको वर्षा याममा कर्णाली नदीमा आएको बाढीका कारण नेपालमा थुप्रै धनजनको क्षतिले बनाएको घाउ आलै थियो । हाम्रो कर्णालीलाई भारतमा छिरेपछि घाघरा नदी भनेर नामकरण गरिएको रहेछ । बाटामा घाघरा र शारदा नदीले विस्थापित गराएका परिवारहरु चौरमा पाल टाँगेर बसेका थिए । बाढीले नेपालमा भन्दा भारतमा अझ बढी क्षति पु¥याएको देखियो । भारत नेपालभन्दा सम्पन्न भए पनि कतिपय अवस्थामा जनजीविकाका सवालमा त्यसलाई मैले नेपालभन्दा पनि कमजोर देखेँ । हामी सीतापुर लखनउ हुँदै साँझपख रायबरेली पुगेका थियौं । असाध्यै सुन्दर थियो साँझपखको रायबरेलीको झिलिमिली । केही समय बसबाट ओर्लेर त्यहाँको सौन्दर्यपान गर्ने चाहना भने मनभित्रै सीमित रह्यो । अर्काको गाडीमा चढेर यात्रा गरेका हामी । हाम्रो चाहनाबमोजिम बसका स्टाफहरुले त्यहाँ बस रोकेर आफ्नो समय बर्बाद पार्ने कुरा पनि भएन । मनको धोको मनमै राखेर हामी ननस्टप गुडिरह्यौँ । रातको लगभग १२ बजेतिर रामपुर पुगेर खाना खाँदै गर्दा निद्राले झुपुझुपु बनाएको थियो । खाना खान बसेकै कुर्सीमा निदाइदिऊँ जस्तै लागेको थियो तर बस गुड्यो, रातभरि गुडिरह्यो । बसको यात्रा निकै गाह्रो । न राम्रोसँग निदाउन सकियो न त गोडा तन्काएरै बस्न पाइयो । बसमा १४–१५ घण्टा लाग्ने यात्रा त थुप्रै गरेको थिएँ तर यो ३४–३५ घण्टाको यात्रा भने मेरा लागि निकै कष्टकर बन्न पुग्यो ।
२९ गते बिहान हामी दिल्लीको पश्चिमी छेउ जहाँगिरपुरी ओल्र्यौं । पोखराबाट जाने बसको अन्तिम स्टेसन यही नै रहेछ । मेरा बहिनीज्वाइँ सपरिवार दिल्लीमै बसोबास गरेकाले फोनमार्फत उहाँहरु बसेको स्थानको खोजी गरियो । उहाँहरु जहाँगिरपुरीबाट सुदूर पूर्व खानपुर, देवली गाउँमा बस्नु हुँदोरहेछ । दुईवटा नगरबस फेरेर त्यहाँ पुग्दा बिहानको ११ बजिसकेको थियो । हामीले नुहाइधुवाई गरी खाना खायौँ । सानै उमेरदेखि दिल्लीमा बसोबास गरेकाले दिल्लीका सन्दर्भमा ज्वाइँ अलि बढी जानकार हुनु स्वाभाविक थियो । हामीले कात्तिक २ गतेका लागि दिल्लीबाट गोरखपुरसम्मको फिर्ती यात्राका लागि रेलको टिकट लिइदिन उहाँलाई अनुरोध ग¥यौँ । धेरै समयको अन्तरालमा बहिनीसँग भेट भएको हुँदा मलाई त एकै दिन मात्र भए पनि त्यहीँ बस्न मन थियो । लगभग तीन दिनसम्म भएको बसको यात्राले जिउ निकै गलेको थियो । जहाँ बस्यो त्यहीँ नै निद्राले पेलिरहेको थियो । आँखाले राम्ररी हेर्न सकिरहेका थिएनन्, झुलिरहेको थिएँ म । तर यो ठाउँ मुख्य बजारको छेउ पर्ने हुँदा गुरु र कृष्ण सरले पनि मुख्य बजारमै गएर बस्नका लागि कर गर्नुभयो । दिल्लीको लगभग बीचतिर शाहदरामा मेरा मामाघरका दाइहरु सपरिवार बस्नुहुन्थ्यो । उहाँहरु परिवारसहित दसैं मान्न आफ्नै घर स्याङ्जातिर रहेकाले उहाँहरुको सिङ्गै फ्ल्याट खाली थियो । बहिनीले हामीलाई त्यहीं बस्ने बन्दोबस्त मिलाइन् र आफू पनि हाम्रो सहयोगका लागि हामीसँगै हिँडिन् । रविलाल गुरु भने पहिले पहिले आफू बनारस जाँदा धर्मशालामा बस्ने गरेकाले दिल्लीमा पनि धर्मशाला नै खोजेर बस्ने सोच बनाउँदै हुनुहुन्थ्यो तर बहिनी र ज्वाइँले सम्झाएपछि भने उहाँ पनि मेरा मावली दाइहरुकै डेरामा बस्न राजी हुनुभयो ।
मध्यान्हपछि नगर बस चढेर हामी शाहदराका लागि हिँड्यौँ । साथमा बहिनी र ज्वाइँ हुनुहुन्थ्यो । बाटामा यमुना नदी तरियो । हुन त पोखराको बिच भागबाट सेती नदी बगे जस्तै दिल्लीमा यमुना बग्दो रहेछ । बसको झ्यालबाट जामे मस्जिद, गान्धी स्मृति पार्क आदि देखिए । गान्धी स्मृति पार्क घुम्ने उद्देश्यले गेटमा पुग्दा बन्द गर्ने समय भैसकेको रहेछ । विधायक सभा भवन हेर्दै हामीले साँझपख भए पनि इन्डिया गेटमा बसेर केही फोटाहरु खिच्यौँ । ज्वाइँ त्यहीँबाट फर्कनुभयो । हामी चार जना भने शाहदराको उक्त डेरामा पुगी खाना खायौँ । सायद् अनिदो बढी नै भएकाले होला, हामीमा गफ गर्ने जाँगर पनि थिएन । बेलुकाको खाना खानासाथ निद्राले झपक्कै छोप्यो ।
असोज ३० गते अर्थात् मसान्तको दिन बिहान उठेर हामी किताब किन्ने मेसामेलो मिलाउँदै शाहदराबाट दरियागन्जको अन्सारी रोड, नयी सडकतिर गई अग्रवाल बुक्स हाउस, कला मन्दिर, वाणी प्रकाशन, ज्ञानपीठ प्रकाशन आदिका बिक्री कक्षमा पस्यौँ । यी बिक्री कक्षहरु चहार्ने क्रममा पूरै एक दिन बित्यो । हामीले भारतीय संस्कृति र माक्र्सवादी सौन्दर्य शास्त्रसँग सम्बन्धित केही किताबहरू किन्यौं । उत्तरआधुनिकतावादसँग सम्बन्धित केही कृतिहरु पनि हामीले लियौं । कृष्ण सर अध्ययनमा बढी अलि बढी नै समय दिन सक्ने व्यक्ति भएकाले उहाँले संख्यात्मक रुपमा पनि अलिक धेरै नै किन्नुभयो भने रविलाल गुरुले छोरीका लागि काम लाग्छन् भनेर केही अङ्ग्रेजी भाषाका किताबहरु पनि लिनुभयो । कथा, कविता, निबन्ध, उपन्यास तथा गीत–गजल विधाका सिर्जनात्मक किताबहरु भने हामीले निकै कम मात्रामा लियौँ ।
हिजोसम्म नगर बस चढेका हामीलाई आजबाट मेट्रोको यात्राले गन्तव्यमा पुग्न निकै सहज तुल्याएको थियो । किताबहरु बोकेर साँझपख शाहदरा आइपुग्यौं । किताबको थन्कोमान्को लगाउँदै भोलिपल्ट बिहानै उठेर आगरा गएर ताजमहल हेर्ने सपना तुन्दै आ–आफ्नो विस्तरामा पल्ट्यौँ ।
कार्तिक १ गते शुक्रबार अर्थात सङ्क्रान्तिका दिन बिहानै उठेर हामी तीन जना र बहिनीसमेत चाँदनी चोक गएर मेट्रो चढ्यौं । मेट्रोबाट झरेपछि सराय काले खाँ जाने नगर बसमा बदलपुर गएर झर्यौँ र आगराका लागि बस चढ्यौँ । दिल्लीबाट आगरा लगभग दुई सय किलोमिटरको बाटो रहेछ । आगरा जाने बाटो साह्रै सुन्दर र सफा थियो । दुईतर्फी बाटो बिचमा फूलको बगैंचा । बाटो यतिसम्म फराकिलो र सिधा थियो कि मैले आजसम्म त्यस्तो सडकमा यात्रा गरेकै थिइन ! हामी फरिदावाद, मथुरा हुँदै गुडेका थियौँ । हरियाणामा खेती लगाइएको ठूलो परिमाणको जमिन तथा बाटाका दुवैतिर उर्वर माटामा एकनासको अन्नबाली देख्दा हामी पहाडतिर पखेरामा हुने टुक्रे बारी एवं सुर्कासुर्कीमा खेती गरेकाहरु अचम्ममा पर्नु स्वाभाविक नै थियो । फरिदाबाद हुँदै वृन्दावन, मथुरामा पुग्दा बहिनीले ‘कृष्ण भगवान जन्मेको ठाउँ’ भन्दै औंलाले देखाउँदै थिइन् । उक्त स्थान मूल सडकबाट केही उत्तरतिर पर्ने रहेछ । समय पनि छोटो भएको हुँदा हामी कृष्णको जन्मस्थल हेर्नतिर लागेनौं ।
बाटाको छेउछाउमा कतै स्कुल, कलेज, विश्वविद्यालय तथा अस्पतालका विशालकाय भवनहरु देखिएका थिए भने कतै उद्योग–कलकारखानाले पनि थुप्रै क्षेत्रफल ओगटेको देखिएको थियो । मन्दिर तथा मस्जिदहरु पनि व्यापक मात्रामा देखिएका थिए । हामी आगरा पूग्दा दिउँसोको साढे एक बजिसकेको थियो । पहिले जीप अनि टाँगा हुँदै मूल गेटमा पुग्दा ढोका बन्द थियो । शुक्रबारका दिन भित्र मुसलमानहरू नमाज पढ्दा रहेछन् । उनीहरुले नमाज पढ्ने हुँदा हामी अन्य मानिस तथा यात्रीहरुलाई भित्र पस्न दिइँदो रहेनछ । बाहिरैबाट फोटो खिची फक्र्यौं । फर्कने क्रममा उँट चढ्न मन लागेको थियो तर के मेसो मिलेन कुन्नि ! हामी टाँगाबाटै लालकिल्लातिर हानियौं । लालकिल्ला भने मजैले घुम्यौँ । माथि चढेर हेर्दा यमुनाको किनारमा अवस्थित सुन्दर ताजमहल देखिन्थ्यो । किल्लाभित्रका कलात्मक दृश्यहरु जति हेरे पनि नअघाइने किसिमका थिए । पहिलेको समयमा सामन्ती शासकहरुले आफ्नो सुरक्षाका लागि कतिसम्म धनदौलत खर्च गर्दा रहेछन् भन्ने कुराको प्रमाण लालकिल्लाको सुन्दरताले दिइरहेको थियो । शाहजहाँ कतिसम्म विलासी थिए भन्ने साक्षीका रुपमा युगौयुग पहिलेदेखि ठडिइरहेको छ यो किल्ला । किल्लाको बाहिरपट्टि वरिपरि निकै गहिरो खाडल खनिएको र आधाआधी पानी पनि देखिन्थ्यो । शत्रु तथा आक्रमणकारीहरु भित्र पस्न नसकून् भन्ने उद्देश्यले यस्तो बनाइएको रहेछ । पहिलेका सामन्ती शासकहरुले आफ्ना लागि यतिका बिघ्न खर्चने तर जनतालाई दासका रुपमा व्यवहार गर्ने हुनाले नै तिनीहरूको पतन हुँदै गएको ऐतिहासिक यथार्थलाई मैले लालकिल्लाको छातीमा बसेर प्रत्यक्ष रुपमा बुझ्न पाएँ यद्यपि त्यो भौतिक सुन्दरतालाई भने मान्नै पर्छ, हेर्नलायक नै थियो ।
आगराबाट फर्कने क्रममा त्यहीँको बस स्टेसनमा खाना खायौँ । भारतीयहरुद्वारा भातलाई चावल भनिँदो रहेछ । चावल तीन दिनदेखिको बासी जस्तो थियो र खाँदा पनि नमिठो, ठुस्स गनाएको । कृष्ण सर र बहिनीले चावल छोडेर रोटी मात्रै खानुभयो । त्यही चावल गुरु रविलालले असाध्यै मिठो मानेर खाएको देख्दा मलाई पनि फाल्न मन लागेन । पैसा परेको चिज फाल्न पनि गाह्रो । गुरुलाई साथ दिनकै लागि भए पनि मैले खाइदिएँ । खाने बेलामा झलक्क सम्झेको थिएँ, ‘अन्न नै प्राण हो’ भन्ने वेदको वाक्य । तर आजसम्मको जिन्दगीमा सबैभन्दा नमिठो भात खाएको मैले त्यहीँ नै हो र त्यही नै हो ।
आगराबाट गाडी चढेर फक्र्यौं । दिल्लीको स्टेसनमा आइपुग्दा रातको ११ बजिसकेको थियो । सहरमा मान्छेहरूको भीडभाड घटेको थिएन । रातमा पनि दिनकै जस्तो चहलपहल । लगातार नगर बसहरु गुडिरहेका थिए । करिब १२ बजे राति शाहदरा आइपुग्दा निकै थाकेकाले हामीले भात पकाउने टन्टा छाडेर पाउरोटी, मिठाइँहरु तथा चियाको भरमा रात गुजार्यौं । त्यहाँ ब्राह्मणहरुलाई पण्डितजी भनिँदो रहेछ । पण्डितजीहरु प्रायजसोले माछामासु खाने चलन रहेनछ बरु उनीहरुले मिठाइँ र फलफूलमा बढी जोड दिँदा रहेछन् । हामीले पनि एक छाक कुखुराको मासुभन्दा अर्को पटक माछामासु खानेतिर रुचि देखाएनौं ।
राति अबेला सुते पनि बिहान चाँडै उठेर हामी पुनः किताबको खोजीमा रानी झाँसी रोडतिर लाग्यौं । त्यहाँ पिपुल्स पब्लिसिङ हाउस खोज्न हामीलाई निकै समय लाग्यो । २५–३० तलाका घरहरु । एउटै घरभित्र पनि हराइएला जस्तो । दिल्लीमा बिहानमा ९ बजेभन्दा पहिले पसल नखुल्ने हुनाले पनि हामी चिन्तामा पर्यौँ । फर्कनका लागि भनेर लिएको रेलको टिकट आजैको थियो । बल्लतल्ल उक्त पब्लिसिङ हाउस भेट्यौं । मैले अस्तिको नयी सडक र यहाँ गरी राल्फ फक्स, शिवकुमार मिश्र, मैनेजर पाण्डेय, के. दामोदरन, देवी प्रसाद चट्टोपाध्याय, डा. श्याम सुन्दर दास, चन्द्रधर शर्मा, नामवर सिंह, डा. रामविलास शर्मा लगायत विभिन्न व्यक्तिहरुका कृतिहरु किनें । रेल छुट्ने डरले हामी हतार–हतार शाहदरा फर्कंदै थियौँ । असाध्यै भोक लागेकाले बाटामा स्याउ किन्न मात्रै के भ्याएका थियौं, रविलाल गुरुले त धोइपखाली नै नगरी त्यत्तिकै दाँतले कोपर्न थाल्नुभयो ।
शाहदरा आइपुग्दा दिनको साढे एक बजिसकेको थियो । हामी चढ्ने भनेको रेल दुई बजे गोरखपुरका लागि छुट्नेवाला थियो । हतारहतारमा उभिएरै खाना खाई एउटा टेम्पो समातेर हामी तीन जना र बहिनी समेत रेलवे स्टेसनमा पुग्दा ज्वाइँले पर्खिरहनुभएको थियो । उहाँले सबै व्यवस्था मिलाएर हामीलाई रेल चढाइदिनुभयो । हामी एउटा डिब्बामा बस्नासाथ रेलले बिस्तारै गति लिन थाल्यो । यही समयमा तिन–चार जना तरुनीहरु हामी बसेको ठाउँमा आइपुगे । ताली बजाउँदै आएका ती तरुनीहरु तेस्रो लिङ्गी हुन् अथवा वेश्यावृत्तिमा संलग्न तरुनीहरु हुन्; मैले बुझ्न सकिरहेको थिइन ! तिनीहरूले त मसँग पैसा माग्न थाले । आडैमा बस्नुभएका कृष्ण सरले ‘पैसा दिनु पर्दैन, नदिनुस्’ भन्न मात्रै के भ्याउनुभएको थियो, तिनीहरूमध्येकी एकले त उहाँको संवेदनशील अङ्गतिरै हात बढाएर रिसाउँदै अश्लील शब्दमा गाली पनि गरी । विचरा ! सरल तथा सिधा स्वभावका सरले यस्तो व्यवहारको कारण रातो अनुहार देखाउँदै पुलुक्क मतिर हेर्नुभयो । सायद् उहाँले सहयोगको याचना गर्नुभएको थियो तर म किम् कर्तव्य विमूढ थिएँ । उनीहरुको पछिल्लो व्यवहारले ममा एक किसिमले हाँसो उठेको थियो भने अर्कातिर बिचरा ! सरको दयनीय अवस्था देख्दा उहाँप्रति टीठ पनि जाग्यो तर उनीहरु छिट्टै नै पल्लो डिब्बातिर गएकाले हामी ढुक्क भयौँ ।
रेलको यात्रा बसको भन्दा कता हो कता सहज थियो । अलिगढ हुँदै कानपुर आइपुग्दा १० बजिसकेको हुनाले हामीले खाना खायौँ । लखनउ हुँदै हामी अगाडि बढिरहेका थियौं । बाटामा रातको समय हुनाले केही पनि देख्न पाइएन । सुत्नका लागि राम्रो व्यवस्था भएको हुँदा मजाले निदाइएछ । एकैचोटि बिहान पाँच बजेतिर गोरखपुर आइपुगेपछि मात्र ब्युँझ्यौं । बसको भन्दा रेलको यात्रा सस्तो हुने हुँदा हामीले गोरखपुरबाट नौतनवाका लागि पनि अर्को एउटा रेल समात्यौं । बिहानीपखको समय, लोकल रेल निकै सुस्त गतिमा गुड्न थाल्यो । रेलबाट बाहिर हेर्दा बस्तीहरु साह्रै फोहोर देखिन्थे । कतै च्वाँचेका पाठापाठीहरु दौडिरहेका हुन्थे भने कतै मान्छेहरु आफ्नै घरअगाडि चउर तथा आँपका बगैँचामा दिसापिसाब गरिरहेका देखिन्थे । मैले त्यस समयमा हाम्रै घान्द्रुक र सिक्लेसका गुरुङ बस्तीहरु झलक्क सम्झेको थिएँ जहाँ मोटरबाटो पुगेको थिएन, बाटाघाटाहरु निकै सफासुग्घर थिए र प्रत्येक घरमा शौचालयको राम्रो व्यवस्था पनि थियो ।
गोरखपुरबाट उत्तरतिर बढ्ने क्रममा धान झुलेका खेतका ठूलाठूला गराहरु आँखाभरिभरि नाचिरहेका थिए । आहा ! कति धेरै धानखेती; संसारका सबैलाई पुग्ला जस्तो । सिँचाइको पनि पर्याप्त व्यवस्था भएको । मैले हाम्रै कोशी र गण्डकी नदी सम्झेँ । सम्झने क्रममा मैले यिनै नदीको पानीमा गरिएका सन्धिसम्झौताहरुलाई पनि सम्झेँ । हाम्रोतिर धानका बालाहरू झुल्ने खेतमा काँस फुलिरहेको र हाम्रै पानीद्वारा उत्तर प्रदेश तथा बिहारमा धानका सुनौला बालाहरु झुलिरहेको देख्दा मन मुटु नै नराम्रोसँग चोइटियो । मलाई त यो शासक प्रशासकहरु दूरदर्शी हुन नसक्दा राष्ट्रले व्यहोर्नुपरेको क्षति जस्तो लाग्यो । कता कता दाइले भाइलाई हेपेको जस्तो पनि लाग्यो । साँच्चै, आफ्नो नेतृत्वलाई नै धिक्कार्न मन लाग्यो ।
मनमा यस्तै यस्तै विभिन्न प्रकारका कुरा खेलाउँदाखेलाउँदै हामी नौतनवा आइपुगेछौं । त्यहाँबाट सुनौलीसम्म जीपमा आयौं । मैले त बरु धेरै किनेको थिइन तर कृष्ण सर र रविलाल गुरुले किनेका किताबका भारी बोकेर हामी सुनौलीबाट बुटवल आइपुग्यौँ । त्यसपछि पाल्पा, वालिङ, स्याङ्जा हुँदै पोखरा आउँदा साँझको साढे छ बजिसकेको थियो । यसरी एक हप्ते दिल्ली यात्रा सकेर पोखराको बसपार्कमा आई छुट्टिने क्रममा हामीले पुनः एकपटक दिल्ली गएर अलि समय बसी राजकमल प्रकाशन, नेहरू विश्वविद्यालय, दिल्ली विश्वविद्यालय, ताजमहल, गान्धी स्मृति पार्कलगायत हेर्नलायक अन्य थुप्रै ठाउँहरुमा पुग्ने योजना बनाइरहेका थियौं ।

पोखरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।