19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सिद्धिचरण श्रेष्ठको ‘बालिबध’ पद्य नाटकको विश्लेषण

कृति/समीक्षा डा. शेखरकुमार श्रेष्ठ December 28, 2022, 5:02 am
डा. शेखरकुमार श्रेष्ठ
डा. शेखरकुमार श्रेष्ठ

१.विषय परिचय


नेपाली साहित्यको काव्य विधामा आफ्ना ओजस्वी र क्रान्तिपरक कलम चलाउने कवि सिद्धिचरण श्रेष्ठ (जीवनकालः १९६९–२०४९) स्वनामधन्य कवि हुन् । १९९० सालमा भुइँचालो शीर्षकको कविता गोरखापत्रमा प्रकाशित भएपछि उनको साहित्यिक जीवन सुरुवात भएको हो । उनको प्रथम लिखित कविता सन्ध्या (१९८४) हो । यो कविता कोपिला कविता सङ्ग्रहमा प्रकाशित छ । यो कविता नै श्रेष्ठको कविता यात्राको प्रारम्भ विन्दु हो ( त्रिपाठी, भूमिका, पृष्ठ १४) । उनको मेरो प्रतिबिम्ब (२०२१), कोपिला (२०२१), कुहिरो र घाम (२०४५), सिद्घिचरण श्रेष्ठका प्रतिनिधि कविता (२०४५), तिरमिर तारा (२०४६), बाँचिरहेको आवाज (२०४६) आदि कविता सङ्ग्रह प्रकाशित छन् भने उर्वशी (२०१७), ज्यानमारा शैल (२०३३), मङ्गलमान (२०४९), आँसु (२०५०), जुनकीरी (२०५९), भीमसेन थापा (२०५०), विश्वव्यथा (लेखनः१९९६) जस्ता खण्डकाव्य प्रकाशित छन् । उनले फुटकर रूपमा कथा र निबन्ध पनि लेखेका छन् । उनको नेवारी भाषामा लेखिएका कविता पनि प्रकाशित छन् । यसरी नेपाली साहित्यको विविध विधामा कलम चलाए पनि उनको प्रातिभ्य प्रस्फुटन भएको विधा कविता र काव्य नै हो । त्यस्तै कवि सिद्धिचरण श्रेष्ठको जेल स्मरण (आत्म संस्मरण) र बालिबध (२०६७) काव्य नाटक पनि प्रकाशित छ । उनको बालिबध (२०६७) पद्य नाटकमा नाटक तथा काव्य लेखनको अद्वितीय प्रतिभा प्रस्तुत भएको छ ।


२= सिद्धिचरण श्रेष्ठको बालिबध नाटकको परिचय


बालिबध युगकवि सिद्धिचरण श्रेष्ठद्वारा लेखिएको पद्य नाटक हो । उनको कविता लेखनको प्रवृत्ति प्रस्तुत पद्य नाटक बालिबधमा पनि परेको छ । यो नाटक २०११ सालतिर लेखिएको (कोइरालाः२०३४÷३७, पृष्ठ ८८) भए पनि यसको प्रकाशन सिद्धिचरण श्रेष्ठको मृत्यु भएको १८ वर्षपछि अर्थात् २०६७ सालमा भएको छ । यो नाटक युगकवि सिद्धिचरण प्रतिष्ठानले प्रकाशन गरेको हो । यो कृति भाव नाटकको रूपमा प्रगति पत्रिकामा प्रकाशित भएको कुरा गणेश बहादुर प्रसाईँले उल्लेख गरेका छन् । त्यसपछि पनि यो नाटकका केही कवितांश कविता पत्रिकाको विभिन्न अङ्कमा छापिएका छन् (शर्माः २०६७, पृष्ठ ७) । प्रस्तुत बालिबध पद्यनाटक आध्यात्म रामायणको आठ काण्डमध्ये किष्किन्धा काण्डको बालिबध विषयक प्रकरणलाई विषय सामग्रीको रूपमा लिई लेखिएको छ ।


प्रस्तुत बालिबध पद्य नाटक किष्किन्धा नगर राज्यका राजा बालिलाई मय नामक दानवले मल्ल युद्धका लागि ललकार्न आएपछि बालि मय दानवसँग लड्नका लागि जान्छन् । मयसँग लड्न सुग्रिव पनि दाजुसँगै जान्छ । दुवै दाजुभाइ युद्धका लागि जाँदा मय दानव त्रसित भई डरले गुफाभित्र लुक्न पुग्छ । बालि मयलाई मार्न भाइ सुग्रिवलाई गुफाको द्वारमा नै राखी भित्र जान्छ । एक महिनासम्म पनि बालि गुफा बाहिर नआएपछि मय दानवले दाजुलाई मा¥यो होला भन्ने सुग्रिवले ठान्छ । ऊ डराउँछ । त्यसैले आफू बच्नका लागि सुग्रिवले गुफाको द्वारमा ठुलो चट्टान राखी द्वार बन्द गरिदिन्छ र आफू किष्किन्धा फर्कन्छ । किष्किन्धामा बालि मरेको खवर व्यापक रूपमा फैलन्छ । बालिको राजस्थानमा सुग्रिवलाई राज्याभिषेक गराइन्छ । त्यसको एक महिनापछि बालि फर्केर आउँछ । बालिको डरले सुग्रिव ज्यान बचाउन राज्य छाडी चार मन्त्री सहित ऋष्यमुक पर्वतमा लुक्न जान्छ । त्यस पर्वतमा बालि जान नहुने सराप ऋषिबाट परेकोले सुग्रिव आफूलाई त्यस स्थलमा सुरक्षित ठान्छ । सुग्रिव त्यस पर्वतमा भागेर आई लुकेको पाँच दिनपछि राज्यबाट निकाला हुनु परेको तथा पत्नी रुमासँग विछोड हुनु परेकाले व्यथित बन्न पुग्छ । यिनै प्रसङ्ग प्रस्तुत बालि नाटकको पृष्ठभूमिका रूपमा आएको छ ।


२.१ संरचना


आध्यात्म रामायणको किष्किन्धा काण्डमा निहित बालिबध प्रकरणलाई सिद्धिचरण श्रेष्ठद्वारा लेखिएको बालिबध नाटकमा छ अङ्कमा विभाजन गरि लेखिएको छ । डिमाइ आकारमा प्रकाशित बालिबध नाटकमा पहिलो अङ्क १० पृष्ठ, दोस्रो ८.५ पृष्ठ, तेस्रो अङ्क ६.५ पृष्ठ, चौथो अङ्क ७.५ पृष्ठ र पाँचौ अङ्क ५ पृष्ठ र छैटौँ अङ्क ४.५ पृष्ठको आयाममा विस्तारित छ ।


२.२ कथानक

२.२.१ आध्यात्म रामायणको किष्किन्धा काण्डमा बालिबधको कथानक


सिद्धिचरण श्रेष्ठद्वारा लेखिएको बालिबध पद्य नाटक आध्यात्म रामायणको किष्किन्धा काण्डसँग सम्बन्धित बालिबध प्रसङ्गबाट विषयवस्तु ग्रहण गरी लेखिएको नाटक हो । सर्वप्रथम किष्किन्धा काण्डमा भएको बालिबधको विषयवस्तुलाई बुँदागत रूपमा यस प्रकार देखाउन सकिन्छ ः


–आध्यात्म रामायणको आरण्यकाण्डमा नै राम र शवरी पात्रबिच भेटघाट

–किस्किन्धाकाण्डमा शबरीले सीता लङ्कामा छिन् र सीता फिर्ता ल्याउन सुग्रिवलाई भेट्न आवश्यक बताउनु ।

–सग्रिव आफ्नै दाजुसँग डराएर ऋष्यमुक पर्वतमा लुक्न गई वनवासीको जीवन बिताउनु

–शवरीकै सल्लाह अनुसार राम र लक्ष्मण सुग्रिवलाई भेट्न ऋष्यमुक पर्वतको पम्पा नामक तलाउमा पुग्नु र आराम गर्नु

–ऋष्यमुक पर्वतमा बसेका सुग्रिवले ब्राह्मण भेषमा आएका राम र लक्ष्मणलाई देखी बालिबाट पठाएका जासुस ठानी वास्तविकता बुझ्न हनुमानलाई पनि ब्राह्मण भेषमा पठाउनु

–हनुमानले बाबु दशरथबाट रामलाई वनवास पठाएको र वनवासमा सीताको अपहरण रावणबाट हुन पुग्दा सीता खोज्न राम र लक्ष्मण हिँडेको कुरा बुझी दाजुका कारण वनवासी जीवन बिताइरहेका सुग्रिवसँग भेटघाट गराउन सुग्रिव भएको ठाउँमा आकाशमार्गबाट जानु ।

–सुग्रिव र रामले अग्निलाई साक्षी राखी मितेरी साइनो जोड्नु

–सुग्रिवले आफू ऋष्यमुक पर्वतमा वनवासी जीवन बिताउनुको कारण र आफ्नो वनवासीपछि दाजु वालिले बुहारीलाई नै पत्नी बनाई आफ्नो अपमान गरेको बताउनु

–रामले आफ्नो पत्नी फिर्ता ल्याउने क्रममा सहयोग गर्ने भए सुग्रिवलाई राज्य र पत्नी दुवै फिर्ता गराउन सहयोग गर्ने कुरा बताउनु

–सुग्रिवले बालिजस्तो महायोद्धासँग लड्न रामको जोड नचल्ने कुरा व्यक्त गर्दै आशङ्का व्यक्त गर्नु ।

–रामले सुग्रिवको आशङ्का दूर गर्न एक वाणले ताल, वृक्ष र पहाड क्षीण बनाई प्रहार गरिएको बाण हातमा नै फिर्ता ल्याई देखाउनु

–सुग्रिवको रामप्रति भरोसा जाग्नु र सर्त स्वीकार गर्नु

–रामले वालि विरुद्ध ललकार्न सुग्रिवलाई लगाउनु

–वालि र सुग्रिवबिच युद्ध पर्नु तर दुवैको रूप एउटै भएका कारणले रामबाट बालिको बध हुन नसक्दा सुग्रिव घाइते हुनु

–सुग्रिवले रामबाट धोका पाएको गुनासो गर्नु तर रामले वास्तविक कुरा बताई अर्को युद्धका लागि सुग्रिवलाई माला लगाई ललकार्न पठाउनु

–बालिपुत्र अङ्गदले काका सुग्रिव आफै लड्न आएको नभई अयोध्याका रामका उक्साइमा परेर लड्न आएको कुरा गुप्त रूपले थाहा पाएको प्रसङ्ग आमा (तारा) लाई बताउनु

–ताराले पति बालिलाई युद्धमा जानबाट रोक्ने प्रयास गर्नु

–बालिले महापुरुष राम युद्ध गर्न आए शरणमा पर्ने तर सुग्रिव आए युद्ध गरी परास्त गर्ने भन्दै लड्न जानु

–वालि र सुग्रिव दुवैबिच युद्ध पर्दा रामले लुकेर वाण प्रहार गर्नु

–वालिले रामलाई आफूलाई मार्नुको दोष सोध्नु र रामले आफ्नै बुहारीलाई पत्नी बनाएको आरोपमा दण्ड स्वरूप सजाय दिएको बताउनु

–बालिले रामसँग क्षमा माग्नु र परलोक गमन हुनु

–बालि मारिएपछि आएका ताराले शोकमा जली रामको शरणमा पर्नु र रामले तारालाई देह ढले पनि आत्मा नमर्ने भनी सम्झाउनु ।


यस प्रकार आध्यात्म रामायणको किष्किन्धाकाण्डमा रहेको पौराणिक विषयवस्तुलाई नाटककार सिद्धिचरण श्रेष्ठले ग्रहण गरेका छन् । तथापि उनको बालिवध पद्य नाटकमा यस विषयवस्तुलाई जस्ताको त्यस्तै प्रस्तुत नगरी मौलिक बनाएका छन् । त्यसैले यो नाटकको कथानक स्रोत पौराणिक र उत्पाद्य दुवै रहेको छ । सिद्धिचरणले लेखेका बालिबध नाटकमा प्रस्तुत कथानक यस प्रकार रहेको छः


२.२.२ सिद्धिचरण लिखित बालिबध नाटकको कथानक


सिद्धिचरण श्रेष्ठद्वारा लेखिएको बालिबध नाटकमा किष्किन्धा राजभवनको चित्रण द्रविड संस्कृति अनुसार गरिएको छ । किष्किन्धा राजभवनको खोपीमा सुग्रिवकी पत्नी रुमा रहेकी छ । मय दानवसँगको मल्ल युद्धमा मारिए भनी ठानिएपछि सुग्रिव राजा बन्दछ तर ऊ राजा भएको एक महिनापछि बालि जिउँदै फर्कन्छ । यसरी बालि फर्केपछि सुग्रिव भयातुर भई राजकाज छाडी ऋष्यमुक पर्वतमा गएर वनवासी जीवन बिताउँछ । सुग्रिवले राज्य छाडेको पाँचौँ दिनमा सुग्रिव पत्नी रुमाले हेमाको सहयोग लिई भाग्न खोज्दा बालिले थाहा पाउँछ । ऊ रुमालाई भेट्न खोपीमा प्रवेश गर्दछ । बालिले सोध्दै नसोधी खोपीमा प्रवेश गर्नु पर्दा माफी माग्दै भागेर जान खोजेकोमा आपत्ति जनाउँछ । बालिले मल्ल युद्धबाट आफू फर्केर आएपछि रुमाको सुख र सपनामा बाधा उत्पन्न भएको भए किष्किन्धा राज्य छाडेर आफै बाहिरिने कुरा गर्दै रुमा भागेर जान लागेकोमा असन्तुष्टि प्रकट गर्दछ । बालि आफूले राज्यका सबै प्रजालाई सुख दिन चाहेको, क्रुर शासक बनेर अर्काको स्वतन्त्रता र बाँच्न पाउने अधिकार खोस्न नचाहेको भन्दै रुमाले राज्य भोग गर्न चाहेको भए अर्को दिनको सूर्योदय नहुँदै राज्य छाडिदिने राजाज्ञा सुनाउँछ । बालि आफ्नो लागि आफ्नो जाति र राज्य ठुलो भएको बताउँदै रुमाले राज्य छाडेर गए किष्किन्धा राज्यको अस्तित्व विलिन हुने कुरा बताउँछ । ऊ रुमालाई राज्य र आफ्नो समाज बचाउन राज्यबाट नजान आग्रह गर्दछ । साथै राज्यलाई छाडेर जानेले राज्यको एकतामा नै धोका दिन्छ भन्दै सुग्रिवले राज्य छाडेर जाँदा राज्यको एकतामा प्रश्न चिह्न उठिसकेकोले रुमाले सुग्रिवलाई साथ दिँदा राज्यको अवशेष नरहने कुरा व्यक्त गर्दछ । पति प्रेम जीवनमा ठुलो भए पनि राज्यभन्दा ठुलो नहुने भएकाले राज्यलाई नै लात मारेर जाने सुग्रिवको शरणमा शिर झुकाएर जानुभन्दा उसलाई नै राज्य र आफ्नो संस्कृतिमा ल्याउन नारी जातिले सक्ने कुरा बालि व्यक्त गर्दछ । यति हुँदाहुँदै पनि बालिले वैयक्तिक स्वतन्त्रतामा हस्तक्षेप नगर्ने जनाउँदै जाने नै हो भने भागेर नभई खुला भएर आफूलाई चाहिने सबै सामग्री लिएर जान रुमालाई आदेश दिन्छ । यसका लागि सबै कुराको बन्दोवस्त अङ्गदलाई गर्न लगाउने व्यवस्था पनि उसले मिलाउने आश्वासन दिन्छ । बालिको उदार कुरा सुनेपछिरुमा राज्य छाडेर जाने आफ्नो इच्छा बदल्न पुग्छे ।


उता दूतले सुग्रिवलाई किष्किन्धा राज्य पहिलेजस्ता भए पनि महारानी रुमा भने बालिको प्रेममा डुबेको खवर दिन्छ । यसबाट सुग्रिवको मस्तिष्कमा आघात हुन्छ । सुग्रिव आफू राज्यबाट निष्कासित हुनु परेको र आफ्नी पत्नी रुमा जेठाजुको प्रेममा फसेकोमा चिन्तित बन्छ । समस्यामाथि समस्या पर्दा पनि केही गर्न नसक्ने ठानी ऊ हीनताबोध गर्दै आफूलाई निर्घिनी सम्झन्छ । सुग्रिवको विचलित मनस्थिति सम्हाल्न जाम्बवानले मानिस भए पछि अनेक समस्या आउने र यस्ता समस्या टार्न बुद्धिको प्रयोग गरी आफ्नो भाग्य आफै बनाउन पर्ने जस्ता उत्प्रेरित कुरा गर्दछ । यसबाट सुग्रिवको विचलित मनमा राहत सञ्चरित हुन्छ ।


ऋष्यमुकको वन पम्पामा रामका दाजुभाइ ब्राह्मण भेषमा आराम गरि कुरा गरिरहेका हुन्छन् । शवरीले जुठो फल प्रेम र श्रद्धासाथ खान दिएकीले अमृत बनेको कुरा रामले लक्ष्मणसँग गर्दछ । दाजुभाइबिच शवरीको गुणगान चल्छ । यसैबिच रामले धर्मपत्नी सीतालाई सम्झी विछोडिन परेकोमा दुःखी बन्छ । लक्ष्मणले रामलाई चिन्ता नलिन भनी सम्झाउँछ । राम संसार लिला भन्ने थाहा पाए पनि मानव योनिमा जन्मेकाले आफू यान्त्रिक भएको बताउँछ । त्यसैबिच सुग्रिवबाट पठाइएको हनुमान राम र लक्ष्मणका बारेमा जानकारी लिन ब्राह्मण भेषमा पुग्छ । हनुमानले राम र लक्ष्मण आउनुको वास्तविक जानकारी लिएपछि सुग्रिवसँग भेट गराउन बाटो देखाउँदै अगाडि बढ्छ । राम र सग्रिवबिच मित्रता गाँसिन्छ । सुग्रिवले आफू किष्किन्धा राज्यबाट निकालिएको साथै आफ्नो पत्नीलाई दाजुले अपहरण गरी पत्नी बनाएको खवर रामलाई सुनाउँछ । रामले मित्र सुग्रिवको समस्या समाधान गर्ने वचन दिन्छ । तर सुग्रिवले बालि वीर र साहसी योद्धा भएकाले रामले जित्न नसक्ने आशङ्का व्यक्त गर्छ । राम सुग्रिवलाई वीर र वलवानलाई बल होइन बुद्धिको प्रयोग गरी पछार्न पर्ने कुरा व्यक्त गर्दछ ।


रामकै सल्लाह अनुसार सुग्रिव अपरान्हको समयमा मल्ल युद्धका लागि बालिलाई ललकार्न किष्किन्धा दरवार जान्छ । बालि पत्नी तारा र पुत्र एकचोटि हार खाएर गइसकेका काका सुग्रिव पुनः लड्न आएकोमा आशङ्का गर्छन् । साथै अङ्गदले काका सुग्रिवलाई अयोध्याका रामले आई मद्दत गरिरहेको र सोही उक्साहटमा परी काका भिड्न आएको कुरा आमासँग गर्छ । ताराले यी सबै कुरा बुझी आफ्नो पति वालिलाई लड्न नजान आग्रह गर्दछे । बालि अहिलेसम्म आफूमा वीरता, साहस, आँट, सौर्य उत्साह भएको र आदर्शबाट च्यूत हुने नीति विपरीत कुनै काम नगरेकाले आइ लाग्नेमाथि जाइ लाग्न नगई हार खान नहुने कुरा व्यक्त गर्दछ । त्यसै गरी वालिले राम आदर्श, गुणवान् पुरुष भएकाले षड्यन्त्र गरी युद्ध नगर्ने र अगाडिबाट युद्ध गरे आफ्नो जित हुने कुरा गर्दछ । तर तारा आफ्ना लागि नभए पनि सिन्दुरका लागि एक रात लड्न नजान बालिसँग आग्रह गर्दछे । पत्नीको कुरा स्वीकार गर्दै बालि जन्म र मरण मानिसले बोकेर आएकाले मृत्यु अवश्य छ । यो संसार लिला भएकोले हार खाई अपमानित बन्न नहुने कुरा गर्दछ । साथै बालिले पत्नीका लागि पतिको आदर्श उच्च हुने भएकाले पतिको अपमान पत्नीले सहन नहुने कुरा पनि व्यक्त गर्दछ । बालिले तारालाई सम्झाउने क्रममा मानिस आमाको गर्भको किरा भएको र आमाकै माया र स्नेहले बढी ठुलो भएकोले मानिसको जीवन मात्र लिला हो र यो लिला देखाउनबाट छुट्न नहुने कुरा गर्दछ । यसरी पतिको कुरा सुनेपछि ताराले सोही दिन बालिलाई सुग्रिव विरुद्ध लड्न स्वीकृति दिन्छे । बालि पत्नी तारा र बुहारी रुमाले दिएको रक्सी पिउँछ । बालिले फूलदानीमा भएको फूल पत्नीलाई सिउरिदिन्छ र लड्न जान्छ ।


बालि र सुग्रिवबिच मल्ल युद्ध सुरु हुन्छ । राम बालिलाई लुकेर वाण प्रहार गर्छ । वालि घाइते भई मुर्छित हुन्छ । तारा र अङ्गद त्यहीँ आउँछन् । वालिले रामलाई अन्तिम पाहुना भन्दै दाजु र भाइको झगडा मिलाउन मध्यस्थ बनी आएका रामले भाइका पक्ष लिई दाजुको ज्यानै लिएको आरोप लगाउँछ । वालि रामजस्तो प्रतापी, धर्मवीर र आदर्श व्यक्तिले सामुन्नेबाट नभई पछाडिबाट युद्ध गरी मारेकोले रामको यश संसारबाट बिलाउने भन्दै रामको अमानवीय प्रवृत्तिको निन्दा गर्दछ । रामले कुनै पनि काम राम्रो वा नराम्रो समय र अवस्थामा भर पर्ने भन्दै सामु आएर युद्ध नगर्नुका कारण बालिको अजेय शक्ति भएको बताउँछ । वालिले आफूलाई मार्नुका कारण रामसँग सोध्दा आफूजस्तै सुग्रिव पनि देश निकाला तथा बालिले रुमालाई अपहरण गरी पत्नी प्रेमबाट टाढा राखेकाले दुःख देख्न नसकी मारेको कुरा व्यक्त गर्दछ । बालिले यो सबै तपाईँको शब्द जाल भएकाले म सुन्ने छैन र आजसम्म मैले कुनै गलत काम नगरेको भन्दै डरका कारणले अगाडि आई युद्ध गर्न नसकी सुग्रिवलाई ढाल बनाई युद्ध गरेर आफ्नो राज्य, संस्कृति र जातीयतालाई सखाप पार्न लागेको आरोप लगाउँछ ।


बालिले सुग्रिवलाई आफूसँग आई बरु राज्य मागेको भए सहजा दिने थिएँ भन्दै आर्य जातिका रामसँग लागेर आफ्नो अनार्य (वानर) जातिको संस्कृति, जात र राज्यलाई अरूको हातमा सुम्पिन लागेकोमा दुःख मनाउ गर्छ । वालि हनुमानतिर इङ्गित गर्दै आफैमा बल, बुद्धि, विद्या, सौर्य भएका हनुमान जस्ता व्यक्तिले आफ्नो सम्पन्न क्षमता र स्वविवेक प्रयोग नगरी अरूको दास बनी आफ्नो राज्य र जातीयताको मान मर्यादा भुली नालायक बनेको कुरा व्यक्त गर्दछ । साथै बालि हनुमानलाई अझ पनि सचेत रहन आग्रह गर्दछ । हनुमानले विश्वलाई एउटा राष्ट्र र मानवलाई एउटा जात मानेको कुराको जवाफ बालिले दिँदै आर्य जातिका रामले समानताको कुरा गर्दै एक विश्व एक जात भने पनि व्यवहारमा आर्यले अनार्य जातिलाई तल्लो वर्गमा राखेका छन् भन्दै यसले अनार्य संस्कृति, जाति र राज्यको वैभव नाश हुने कुरा बताउँछ ।


वाण लागी घाइते भएका बालिलाई वैद्य सुषेणले नदुख्ने औषधी सुँघाइदिन्छ । सुग्रिवले दाजु बालिको कुरा सुनेपछि पश्चाताप बोध गर्दछ र क्षमा माग्दछ । यस क्रममा बालिले दाजुभाइबिच भएको झगडा एउटा घरायसी खेल भएको भन्दै माफी दिन्छ तर दाजुभाइ बिचमा राम आएकोमा भने आपत्ति जनाउँछ । बालिले हामी सबै किष्किन्धा राज्यको नागरिक भएकाले राज्य बचाउनका लागि लाग्नुपर्ने कुरा व्यक्त गर्दछ । आर्य जातिले अनार्य जातिको नाश गर्न चाहेकाले अनार्य जाति एक भएर अनार्य जातिको संस्कृति र राज्य बचाउन लाग्न पर्ने आदर्शवादी विचार बालि प्रकट गर्दछ । अङ्गदले बाबुको छेउ गई बाबुको हत्याको बदला लिन सकूँ भन्दा बालिले सुग्रिव पनि आफ्नै जातिको भएकाले बदलाको भाव राख्न नहुने बरु सुग्रिव राजा बने पछि अङ्गदलाई मन्त्री बनी सघाउन भन्दछ । यसै क्रममा बालिले रोइरहेकी तारालाई सम्झाउँदै नरुन भन्दै संसारबाट बिदा हुन्छ र नाटक सकिन्छ ।


यस प्रकार आध्यात्म रामायणको किष्किन्धा काण्डमा रहेको बालिबध प्रसङ्ग र सिद्धिचरण श्रेष्ठद्वारा लेखिएको पद्य नाटक बालिबधको विषयलाई तुलनात्मक रूपमा अध्ययन गर्दा नाटककार सिद्धिचरणको बालिबध नाटकमा किष्किन्धाकाण्डको विषयवस्तुले प्रभाव पारे पनि यसमा नाटककारले प्रयोग गरेको कल्पना र प्रातिभ्यबाट बालिबध नाटक मौलिक कृति बन्न पुगेको छ ।


२.२.३ अन्तर


आध्यात्म रामायणको बालिबध प्रसङ्गमा उल्लेख गरिएको बालिको मय दानवसँगको युद्ध र त्यसबाट सुग्रिवले भाग्नु परेको प्रसङ्ग यस नाटकमा पृष्ठभूमिका रूपमा मात्र उल्लेख गरिएको छ ।


पृष्ठभूमिका रूपमा आएका घटनापछि नाटककार सिद्धिचरण श्रेष्ठले नाटकको सुरुवातको दृश्य द्रविड संस्कृतिको रङ्गमञ्च सिङ्गारबाट प्रस्तुत गरेका छन् । किष्किधा राज्यको द्रविड संस्कृतिको राजभवनमा सुग्रिव पत्नी रुमा पाँच दिनदेखि राज्यबाट भागेर गएका सुग्रिवलाई भेट्न हेमाको सहयोग लिन्छे । यो घटना नाटककार स्वयम्को काल्पनिक प्रयोग हो । यसरी भागेर जान लागेको रुमालाई देखेपछि बालि आफ्नो वानर राज्यको हित र भलाइका लागि भागेर नजान आग्रह गर्दछ । साथै बालि सुग्रिवलाई भेट्न जाने भए अवरोध नबन्ने भन्दै स्वतन्त्रतापूर्वक जान आज्ञा दिन्छ । यसरी यस नाटकमा नाटककार श्रेष्ठले नारीमाथि कुनै हस्तक्ष्ोप नगरी स्वतन्त्र रहन दिएका छन् । बालिले रुमालाई भागेर नभई खुला भएर तयसमा पनि आफूलाई आवश्यक पर्ने श्रीसम्पत्ति लिएर जान गरेको आज्ञाले नारीमा विद्रोही स्वभाव जगाउन यो नाटकले सेतुको काम गरेको देखिन्छ । यसरी कवि श्रेष्ठले आफूमा रहेको नारी स्वतन्त्रतालाई बालिका माध्यमबाट प्रस्तुत गरी बालिको उदार स्वभावलाई नाटकको विषय बनाएका छन् । यो विषय अध्यात्म रामायणबाट पूर्ण रूपमा फरक रहेको छ ।


यस नाटकको दोस्रो अङ्कमा सुग्रिवले आफ्नो दूतलाई किष्किन्धाको हालखवर साथै पत्नीको खवर बुझ्न पठाएको छ र दूतबाट सुग्रिवले किष्किन्धा राज्य पहिलेको जस्तो भए पनि महारानी रुमा भने बालिको प्रेममा परेको बताएको छ । यस घटनालाई लिने हो भने आध्यात्म रामायणको किष्किन्धा काण्डमा बालिबाट रुमालाई जबर्जस्ती पत्नी बनाएको घटना प्रस्तुत छ भने यसमा रुमा स्वयम् बालिप्रति आकर्षित भएको कुरा व्यक्त छ । तथापि बालि र रुमाबिच यसखाले सम्बन्ध भने नाटकमा देखाइएको छैन । यो कुरा मात्र दूतले सुग्रिवलाई सुनाएको छ । यसका साथै रुमा स्वयम् बालिको प्रेममा आकर्षित भएको कुरा सुनेपछि नाटककार श्रेष्ठले पत्नीबाट छाडिएको पुरुषमा देखा पर्ने मानसिक आघातको विस्तार गरेका छन् । यस क्रममा यस नाटकमा मनोविज्ञानको पनि प्रयोग भएको देखिन्छ ।


अहो यो के भएको हो ? छिः छिः म कत्ति निर्घिणी

लुकुवा भगुवा, दुःखी, नभएको कुनै हुति

के गरुँ के गरुँ मैले ? चारैतिर पराजय

थुक्क थुक्क घृणा हेँला, र चःचःभित्र ज्युँछु म । (बालिबध, २ ः२९)


यसरी बालिले आफूलाई हीन र तुच्छ ठान्नु हीनता मनोग्रन्थी हो । यसबाट सुग्रिवलाई मुक्त बनाउन नाटकमा जाम्बवानको प्रयोग नाटककार श्रेष्ठले गरी नाटकलाई गति प्रदान गरेका छन् ।


अङ्क ३ मा राम र लक्ष्मण सुग्रिव भेट्न जाँदा वन पम्पामा आराम गरिरहेका छन् । उनीहरूबिच शवरीले गरेको भक्तिको गुणगान चल्दछ । यस कुराकानीमा राम र लक्ष्मण सुग्रिवलाई भेट्न शवरीको भनाइबाट आएको देखिन्छ । यस क्रममा शवरीको गुणगानले यस नाटकमा रामलाई माथि उठाउन खोजे पनि अन्तमा नाटककारले त्यसो गरेका छैनन् । बरु यही स्थानमा राम र लक्ष्मणबिच वार्ता हुँदा रामले अचानक सीतालाई सम्झी वियोगी बन्दा लक्ष्मणले रामलाई सम्झाएका छन् । यसरी अघिल्लो अङ्कमा सुग्रिवलाई जाम्बवानले र रामलाई लक्ष्मणले सम्झाएको देखाई सुग्रिव र राममा मनोविकार उत्पन्न हुन नदिएको प्रसङ्ग प्रस्तुत गरिएको छ । किष्किन्धा काण्डमा हनुमानले रामलाई चिने पछि आफ्नो काँधमा राखी आकाशमार्गबाट सुग्रिवको छेउमा लगेको प्रसङ्ग छ भने यस नाटकमा चाहिँ हनुमानले साथै लगेको प्रसङ्ग छ । यसरी यस नाटकमा अतिशयोक्ति दोष परेको देखिन्न । यसरी नाटककार श्रेष्ठले काल्पनिक घटना प्रस्तुत गरे पनि यथार्थ र विश्वसनीयतालाई ढल्न दिएका छैनन् । राम र सुग्रिवबिच मित्रता जोडिएपछि आध्यात्म रामायणमा सुग्रिवलाई बालिको बल, साहस र तेजको अगाडि रामको जोड नचल्ने महसुस भएपछि रामले धनुबाट छोडेको वाणबाट तलाउ, रूख पहाड एकै भई पुनः वाण फर्केर आएको स्थितिबाट विश्वास पारिएको छ भने यस नाटकमा रामले बललाई बुद्धिबाट परास्त गर्न सकिन्छ भन्दै विश्वास दिलाएको छ । यसले पनि नाटकलाई अतिकाल्पनिक स्थितिबाट मुक्ति दिई यथार्थको धरातलमा विचरण गराएको देखिन्छ ।


चौथो अङ्कमा सुग्रिव र बालिको पहिलो युद्धलाई कुराकानीबाट मात्र प्रस्तुत गरी मितव्ययीता अपनाइएको छ । सुग्रिव वालिसँग दोस्रोपल्ट लड्न जान लाग्दा आध्यात्म रामायण तथा बालिबध दुवैमा ताराले छेक्न खोजेको छ । त्यस्तै आध्यात्म रामायणमा कालले उत्तेजित भई बालि लड्न गएको घटना छ भने यस नाटकमा आफ्नो विरता, आत्मविश्वास, बहादुरी, वानर जातिको एकता, संस्कृति जोगाउने मनसाय एकातिर लिँदै अर्कातिर रक्सीले उत्तेजित भई लड्न गएको घटना प्रस्तुत छ ।


यस नाटकको पाँचौ अङ्कमा रामको कायरता र छलपूर्ण युद्धले बालि घाइते भई मृत्युको मुखमा परेको कुरा व्यक्त छ । बालि घाइते भएपछि रामलाई मेरो जीवनको अन्तिम पाहुना भनी गरेको स्वागतमा एकातिर ईष्र्या भए पनि अर्कातिर वालिमा रहेको आदर्श प्रस्तुत भएको छ । यस नाटकमा बालिले आफूसँग रामले आई मित्रता गाँसेको भए रावणलाई मात्र होइन रावणको देश अगाडि ल्याएर राखिदिने थिएँ तर त्यो मौका नपाएको भन्दै आफूलाई मार्नुको कारण सोधेको छ । यसको जवाफमा रामले आफूजस्तै सुग्रिव पनि राज्यबाट निकालिएको र आफूजस्तै सुग्रिवको पनि पत्नीे हरण भएकोले मन पीडित भई मारेको बताएको छ । यस प्रकार रामले वालिलाई मनोवैज्ञानिक असरका कारण मारेको कुरा यस नाटकमा देखाइएको छ । यसरी यस नाटकमा रामको मनोविश्लेषण गरी राममा उत्पन्न भएको आक्रमक व्यवहार उसको मानसिक असरका रूपमा नाटकमा प्रस्तुत छ ।


आध्यात्म रामायणमा रामलाई आदर्श पुरुष र बालिलाई आफ्नै भाइ बुहारी अपहरण गर्ने दुष्ट चरित्रका रूपमा उभ्याएकोमा यस नाटकमा रामलाई दोस्रो देशको नागरिकका रूपमा प्रस्तुत गरी अर्काको देशको राजनीतिक मामलामा हस्तक्ष्ोप गर्न जाने कुटनीतिक व्यक्तिका रूपमा प्रस्तुत गरिएको छ भने वालिलाई आफ्नो राज्य, जाति, धर्म र संस्कृति जोगाई राष्ट्रिय एकताका लागि लाग्ने आदर्श पुरुषका रूपमा प्रस्तुत गरिएको छ । त्यसैले मोहनराज शर्माले बालिवध नाटकको भूमिका उल्लेख गरे जस्तै यस नाटकमा केन्द्र भङ्ग भई विनिर्माण भएको छ (शर्मा, भूमिका, पृष्ठ १०) ।


यसरी प्रस्तुत नाटक बालिबधमा भएको कथानकलाई अध्ययन गर्दा यसमा नाटककार श्रेष्ठले आध्यात्म रामायणबाट कथानकका लागि विषयवस्तु ग्रहण गरे पनि त्यसलाई जस्ताको त्यस्तै प्रस्तुत नगरी काल्पनिक विषयवस्तु समेत प्रविष्ट गराई आफ्नो नाटक लेखनको क्षमतालाई प्रस्तुत गरेका छन् । त्यसैले कवि श्रेष्ठमा कवि प्रतिभा मात्र सशक्त नभई नाटक लेखनको क्षमता सबल रहेको देखिन्छ ।


२.३ पात्र वा चरित्र


सिद्धिचरण श्रेष्ठद्वारा लिखित प्रस्तुत बालिवध नाटक पौराणिक विषयवस्तुमा आधारित नाटक हो । यस नाटकमा वालि प्रमुख पात्रका रूपमा आएको छ भने सुग्रिव, राम, लक्ष्मण, हनुमान, तारा, रुमा जस्ता पात्र सहायक पात्रका रूपमा र अङ्गद, जाम्बवान, शवरी, हेमा लगायत पालेहरू गौण पात्रका रूपमा उपस्थित छन् । जसमध्ये यहाँ आवश्यक पात्रको चरित्र चित्रण गरिएको छ ।


(अ) बालि


बार्लि वालिबध’ नाटकको प्रमुख पात्र हो । यस नाटकको आदिदेखि अन्तसम्मकै घटनामा उसको कार्य र चरित्र स्थापना गर्न खोजिएको छ । किष्किन्धा राज्यको राजा, सुग्रिवको दाजु, ताराका पति र रुमाको जेठाजु पात्रका रूपमा रहेको बालि पुरुष पात्रका रूपमा रहेको छ । प्रवृत्तिका आधारमा आफ्नो बुहारीलाई भागेर नभई खुला भएर जान बाटो नछेक्ने, आफ्नो जाति र राज्यमा विस्तारवादी नीतिको प्रभाव पर्न नदिई संरक्षणका लागि लाग्ने उसको प्रवृत्तिले ऊ सत् पात्रका रूपमा रहेको छ । स्वभावका आधारमा आफ्नो स्वभावमा उसले कतै परिवर्तन गरेको छैन । त्यसैले ऊ स्थिर पात्र हो भने यस नाटकको मञ्चीय र बद्ध पात्र पनि हो । यस बाहेक उसको अन्य चरित्रलाई तथ्यका साथ यस प्रकार देखाउन सकिन्छः


(क) पैले क्षमा म यो माग्छु, सुन्छौ तिमीहरू अब ? आएकोमा विना आज्ञा...(१ः२०)– विनयशील

(ख) कुरा यहाँ छ जातिको यसको त बचाउ होस् मलाई राज्य चाहिन्न । छोड्न सक्छु सहर्षले मैले जान दिने यदवा नदिने छैन क्यै कुरा तिमी मुक्त हवा जस्ती, रोकावट म बन्दिन (१ः२३)– उदारता/स्वतन्त्रताप्रेमी

(ग) चाहन्छ्यौ जान, लौ जाऊ । सवारी ठीक पार्दछु । जेजति पर्छ दर्कार, लैजाऊ रत्न श्री सब

राम के काललाई नै गुहारे पनि अङ्गद तिम्रो पिता डराउन्न तिमीलाई छ थाह यो (४ः४३)– निस्वार्थी÷स्वतन्त्रताप्रेमी

(घ) मृत्युदेखि डराएर लुक्न कैल्ये म जान्दिनँ (४ः४६) । –निडर÷वीर÷साहसी

(ङ) तिमी के हौ कहाँ बस्छौ, नभएमा समाज यो ?जति समाज भो स्वच्छ, त्यत्तिकै स्वच्छ बन्दछौँ( ५ः५५) –समाज र जातिप्रेमी

(च) तिम्रो निम्ति क्षमा प्रेमबाहेक अरू क्यै छ कि ? (६ः५६)– क्षमाशील

(छ) चारैतिर छ उम्लेको आर्यबाढी भयंकर निल्न उसै उसै खोज्छ–तुल्याई दास वानर(६ः५७) –शोषण र विस्तारवादको अन्त चाहने

(ज) आर्य बने ठुला जाति, अरू निच र दुर्बल भन्ने दुर्भावको राँको फिँजाएर सबैतिर जाति वानरको मास्ने चलन यो रोक्नु पर्छ (६ः५७)– विद्रोही प्रकृति र जातिप्रेम

(झ) आउ मिल्न भनी डाकी–तल्लो श्रेणी र वर्गमा मिलाउँछ भने कोही–त्यस्तो मेल र प्रेममा सावधानी रहनुपर्छ ...(६ः५८)–सावधानी पात्र

(ञ) उच्चो अनार्य जातिको शिर नुहिन दिन्न म । (६ः५८)– जातिप्रेमी

(ट) सुग्रीव ऊ गिरे गिर्छ–किष्किन्धा वंश वानर त्यसैले भन्छु–उसको सहायक तिमी बनी गरे सुकाम वैरीको मार्नमा वैरभावना (६ः५९) –देशप्रेमी


(आ) सुग्रिव


किष्किन्धाका राजा बालिका भाइ, ताराका देवर र रुमाका पतिका रूपमा रहेका सुग्रिव यस नाटकको सहायक पुरुष पात्र हो । दाजुलाई मय नामक दैत्यले मारेको शङ्कामा राजा बन्ने सुग्रिव दाजुले मय दानवलाई मारेर आएपछि दाजुसँग नै डराएर राज्यबाट भाग्छ । त्यसैले यस नाटकमा सुग्रिव डराउने कायर पात्रका रूपमा रहेको छ । किष्किन्धा राज्यमा खवर बुझ्न पठाएको दूतले किष्किन्धामा सबै कुरा ठिक रहे पनि महारानी रुमा भने बालिको प्रेममा फसेको कुरालाई लिएर मनमा अनेक शङ्का गर्ने सुग्रिव हीनताभास भएको पात्र हो । वास्तविक तथ्य नबुझी कागले कान चोरी लग्यो भनी कसैलेभन्दा सोही कुरा विश्वास गर्ने उसको प्रवृत्तिले ऊ शङ्कालु पात्रका रूपमा पनि रहेको छ । दाजुबाट डराएर ऋष्यमुक पर्वतमा लुक्न बसेको सुग्रिव आफ्नै आमाको कोखबाट जन्मिएको दाजुको हत्या गराउन रामको सहायता लिन्छ । उसकै कारणबाट देश, जनता, जाति र समाजका लागि लाग्ने बालिको हत्या भएको छ । कार्यका आधारमा सुग्रिवको यस नाटकमा सहायक भूमिका रहेको छ भने प्रवृत्तिका आधारमा उसकै कारणबाट दाजुको नृशंस हत्या भएकाले मानवताको हत्या हुन पुगेको छ । त्यसैले ऊ असत् प्रवृत्तिका पात्रका रूपमा रहेको छ भने आसन्नताका आधारमा आफ्नो स्वार्थ पूर्तिका लागि देश, जाति र आफ्नो समाजलाई धोका दिने, भाइभाइको झगडामा विदेशी तत्वलाई घुसाई देशमा चलखेल गराउने वर्गको प्रतिनिधित्व सुग्रिवले गरेकाले सुग्रिव वर्गीय पात्रका रूपमा रहेको छ । त्यसै गरी सुरुमा दाजुको हत्या गराउन लगाउने सुग्रिव दाजुले घाइते अवस्थामा जातीय उत्थान र राष्ट्रको एकताको कुरा गरेपछि पश्चाताप गर्दछ । त्यसैले ऊ गतिशील पात्र हो । यसका साथै नाटकमा उसको चरित्र बद्ध र मञ्चीय रहेको छ ।


(इ) हनुमान


वालिवध नाटकमा सुग्रिवसँग भागेर ऋष्यमुक पर्वतमा गई बस्ने हनुमान सुग्रिवको मन्त्री हो । ऊ बल, बुद्धि, सौर्य, विद्या आफैसँग भएर पनि तिनको प्रयोग गर्न सक्दैन । बरु रामलाई लिएर आई बालिलाई मार्नका लागि सहयोग गर्छ । त्यसैले हनुमान दास मनोवृत्तिका पात्रका रूपमा रहेको छ । विदेशी शक्तिको पछि लागि अरूले जे भन्यो त्यसलाई स्वीकार गरी देशलाई धर्म, जातीय, संस्कृतिका आधारमा उपनिवेश बनाउन खोज्ने प्रवृत्तिका व्यक्तिहरूको प्रतिनिधित्व हनुमानबाट भएकाले ऊ असत् प्रवृत्तिको पात्र हो । विश्व एक देश हो मानव सबै एक हो भन्ने उसको भनाइ साम्यवादको नजिक भए पनि उसैले बोकेर लगेका मानिसबाट वर्गीय असमानता भई मानवको हत्या भएको छ । त्यसैले हनुमान विस्तारवादी शक्तिका पछि लाग्ने पात्रका रूपमा रहेको छ । यसका साथै हनुमान यस नाटकमा मञ्चीय तथा बद्ध पात्रका रूपमा रहेको छ ।


(ई) अन्य पात्र


सिद्धिचरण श्रेष्ठद्वारा लिखित बालिवध नाटकमा रुमा वालिको उदार र नारीप्रति रहेको स्वतन्त्रताको दृष्टिकोण प्रस्तुत गर्न उपस्थित भएको छ भने लक्ष्मण रामले सीतालाई सम्झेर वियोग पीडामा अल्झन खोज्दा सम्झाउने र जाम्बवानचाहिँ वियोग पीडामा सुग्रिव डुबेको बेलामा सम्झाउन मात्र प्रयोग भएको छ । त्यसै गरी तारा र अङ्गद बालिको वीरता, साहस, आदर्श र उदार स्वभाव प्रस्तुतिका लागि नाटकमा उपस्थित छ । यी पात्रले नाटकलाई वास्तविक धरातल प्रदान गरेको देखिन्छ ।


२.४ परिवेश


वालिवध नाटकमा देश वा स्थानका रूपमा द्रविड संस्कृतिको कलाकारिताले सिङ्गारिएको किष्किन्धा राजभवनको कोठी, ऋष्यमुक पर्वतको गुफाको मुख, वन पम्पा तलाउ, राजप्रसाद, किष्किन्धा नगर आदि आएका छन् । त्यसै गरी रामायणको किष्किन्धा काण्डबाट लिइएको यस नाटकको विषयवस्तुमा प्रत्यक्ष कालका रूपमा त्रेता युग आएको छ र यसमा आधा रातको समय एवम् साँझको समय आएको छ । त्यस्तै परिस्थितिका रूपमा मय दानव र बालिको बिचमा भएको युद्ध र सो युद्धमा मारिएका भनिएको बालि बाँचेर आएपछि सुग्रिव भयभीत हुँदै भागेको, सुग्रिवले रामको सहायताबाट बालिको बध गरेको घटना नाटकमा प्रस्तुत भएको छ । यसरी नाटकमा प्रस्तुत भएको घटना र यसको समयलाई ध्वन्यात्मक रूपमा हेर्ने हो भने यो नाटकको लेखन २०११ सालमा भएकोले यस नाटकको विषयवस्तुले २००७ सालपछिको नेपालको परिवेशलाई प्रकट गरेको छ । नेपालमा २००७ सालमा प्रजातन्त्र आए पनि भारतबाट यो प्रजातन्त्र प्राप्तिमा जुन भूमिका रह्यो, त्यसलाई यस नाटकमा रामको उपस्थितिले जनाएको देखिन्छ । यसका साथै विस्तारवादी नीति बोकेका राष्ट्रहरूले सानो राष्ट्रलाई उपनिवेश बनाउँदै लगेको परिस्थिति पनि नाटकमा देखाइएको छ ।


२.५ उद्देश्य


सिद्धिचरण श्रेष्ठद्वारा लिखिर्त बालिबध’ नाटक आध्यात्म रामायणको किष्किन्धा काण्डको विषयवस्तुबाट प्रभावित भई लेखिए पनि यो नाटकमा नाटककारको काल्पनिक क्षमताबाट उत्पाद्य घटना र त्यसको यथार्थ प्रस्तुतिले नाटक मौलिक बन्न पुगेको छ । यस नाटक लेखनको प्रमुख उद्देश्य शक्ति सम्पन्न राष्ट्रमा देखिएको विस्तारवाद तथा साम्रज्यवादको नीतिलाई प्रस्तुत गरी त्यसको विरोध गर्नुमा पनि केन्द्रित रहेको छ र्। एक विश्व एक देश र मानव जाति सबै एक हो’ भनी विस्तारवादको नीतिमा लागेका राष्ट्रका कारण कतिपय देशका आदिम धर्म, संस्कृति, जातीयता र देशको अस्तित्व नै संकटमा पर्न थालेको कुरालाई यस नाटकमा प्रस्तुत गरी प्रत्येक राष्ट्रको पहिचानका आधार त्यो देशको जाति र संस्कृति हो, त्यसैले त्यस्ता संस्कृति र जातीय महिमा जोगाउन स्वयम् राष्ट्रका जनता नै सचेत भई लाग्नुु पर्छ भन्ने कुरालाई पनि यस नाटकमा प्रस्तुत गरिएको छ । यस नाटकमा घरभित्रका समस्यालाई बाहिर लैजानु हुँदैन । घरभित्रका समस्या आन्तरिक सूझ प्रयोग गरेर समाधान गर्नु पर्दछ नत्र त्यसको प्रभाव दीर्घकालसम्म पर्दछ भन्ने कुरालाई पनि प्रस्तुत गरिएको छ । यस नाटकमा रामजस्तो महापुरुषले पनि युद्धको नियम तोडेर सुग्रिवलाई ढाल बनाई बालिको बध गरेको तथा रामजस्तो आदर्श पुरुषबाट पनि मानवताको रक्षा नभएको कुरालाई देखाइएको छ । यस नाटकमा आर्यबाट अनार्यप्रति गरिने व्यवहारलाई प्रस्तुत गर्दै आर्य जातिबाट समानताको नाममा भएको शोषणलाई पनि देखाइएको छ । यस स्थितिले यो नाटक सीमन्तकृत नाटक बन्न पुगेको देखिन्छ ।


२.६ भाषाशैली


प्रस्तुत वालिबध नाटक अनुष्टुप छन्दमा लेखिएको पद्य नाटक हो । यस नाटकमा कवि श्रेष्ठको कवि प्रतिभाको प्रभाव परेको छ । त्यसैले यो नाटक स्वच्छन्दतावादी कविमा पाइने काव्यगत विशेषताबाट पृथक रहेको देखिन्न । यस नाटकको काव्यगत भाषामा बिम्ब, प्रतीक र अलङ्कारको उचित संयोजन छ । कविताको आस्वाद लिने दर्शक वा पाठकको लागि यो नाटक आकर्षक छ । कथानक प्रस्तुतिका क्रममा समासयुक्त प्रस्तुति भएकोले नाटक अनावश्यक लम्बाइको छैन ।


२.७ रङ्गमञ्च र अभिनेयता


प्रस्तुत पद्य नाटकको मञ्चन नभए पनि यस नाटकमा प्रस्तुत रङ्ग सामग्री र घटना प्रस्तुति रङ्गमञ्चमा प्रदर्शन गर्न मिल्ने गरी लेखिएको छ । यसका साथै कतिपय स्थानमा नाटककार स्वयम्ले अभिनयको खोलुवा दिएका कारणले प्रस्तुत नाटक अभिनययुक्त छ ।


२.८ शीर्षक


बालिबध नाटकको शीर्षक बालिको बध तत्पुरुष समासको योगबाट राखिएको छ । बालिको अर्थ रामायणको किष्किन्धा काण्डमा वर्णित महापुरुष हो भने बधको अर्थ हत्या हो । अभिधार्थमा आध्यात्म रामायणको किष्किन्धा काण्डमा वर्णित बालिको रामद्वारा भएको बधलाई यस नाटकको शीर्षकले व्यक्त गरे पनि यस नाटकमा बालिलाई उक्त रामायणमा जस्तो दुष्ट र खल चरित्रका रूपमा प्रस्तुत नगरी न्यायी, स्वतन्त्रताप्रेमी, उदार, सहयोगी, क्षमाशील, देश र जातीय संरक्षणका लागि लाग्ने कर्तव्यपरायण शासकका रूपमा प्रस्तुत गरिएको छ । त्यस्तै यस नाटकमा आफ्नो देश र जातिका लागि समर्पित महान् गुण भएका व्यक्तिको हत्या सुग्रिवलाई ढाल बनाएर राम जस्ता आदर्श पुरुषबाट भएकोमा त्यस्को निन्दा भएको छ । यस क्रममा रामले बालिको बध मात्र नगरेर बालि जस्तो देशप्रेमी आफ्नो देश र जातीय उत्थानका लागि लाग्ने उदार व्यक्तिको रामजस्तो विस्तारवादी र साम्राज्यवादी शक्तिबाट बध हुन पुगेको कुरा प्रस्तुत छ । त्यसैले विषयवस्तु सापेक्ष साङ्केतिक रूपमा यस नाटकको शीर्षक सार्थक छ ।


२.९ निष्कर्ष


सिद्धिचरण श्रेष्ठ नेपाली आधुनिक कविता लेखन परम्परामा स्वच्छन्दतावादी प्रगतिवादी धाराका थालनीकर्ता हुन् । उनले नेपाली साहित्यमा एक दर्जन खण्डकाव्य सिर्जना गरेका छन् भने प्रशस्त फुटकर कविता लेखेका छन् । तथापि नाटक विधामा उनीबाट एउटा मात्र पद्य नाटक बालिबध लेखिएको छ । पद्य शैलीमा लेखिएको यो नाटकमा पनि उनको कवित्वको प्रभाव पूर्ण रूपले परेको छ जसले यो नाटक उच्च कोटिको काव्य नाटक बनाएको छ । प्रस्तुत नाटकको विषय स्रोत रामायणको किष्किन्धाकाण्ड भए पनि यसमा नाटककारले आफ्नो कल्पनालाई दक्ष र कौशलताका साथ प्रयोग गरी मौलिक नाटक बनाएका छन् । उनले यस नाटकको प्रमुख पात्र बालिलाई आध्यात्म रामायणमा जस्तो दुष्ट पात्रका रूपमा चित्रण नगरी देश र जातिका लागि लागिपर्ने उदारवादी नीति भएका पात्रका रूपमा प्रस्तुत गरेका छ् । उनले यस नाटकमा अतिकाल्पनिक घटनालाई प्रस्तुत नगरी रङ्गमञ्चीय दृष्टिले यथार्थ सम्मत प्रस्तुत गरेका छन् । उनले यस नाटकमा पौराणिक पात्रलाई नै प्रयोग गरे पनि तिनको चरित्र पृथक रूपमा प्रस्तुत भएको छ । त्यस्तै यो नाटकमा राम, बालि, सुग्रिव, हनुमान जस्ता पात्रलाई वैयक्तिक पात्रका रूपमा प्रस्तुत नगरी वर्गीय चरित्र झल्कने गरी प्रस्तुत गरेका छन् । यस नाटकमा नाटककारले त्रेता युगको परिवेशलाई परिवर्तन गरी द्रविड समाजको परिवेश दिई यथार्थको आलोक दिई प्रस्तुत गरेका छन् जसले गर्दा नाटकले वर्तमान समय सन्दर्भलाई समेट्न सकेको छ । यस नाटकलाई नाटककारले यथार्थपरक बनाउनका लागि रामले बालि मारेको घटनालाई मनोवैज्ञानिक रूपमा प्रस्तुत गरेका छन् । जुन यस नाटकको सशक्त पक्ष हो । अतः नाटककार सिद्धिचरण श्रेष्ठ कविता विधामा मात्र नभई नेपाली पद्य नाटक लेखनमा सशक्त बनेका छन् । यसको वास्तविक मूल्याङ्कन पछि पनि हुँदै जानेछ ।


सन्दर्भ सामग्री सूची:


......................., नेपाली वृहत् शब्दकोश (पुनर्मुद्रण), काठमाडौँः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान,२०५५ ।

उपाध्याय, केशवप्रसाद, पूर्वीय साहित्य सिद्घान्त, (चौथौँसं), ललितपुरःसाझा प्रकाशन, २०६१ ।

कोइराला, शम्भुप्रसाद(२०३७), सिद्घिचरणको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन,

अप्रकाशित शोधप्रबन्ध, त्रिभुवन विश्वविद्यालय ।

ज्ञानी, कुमारधर शर्मा(सम्पा.),(२०३९), प्रज्ञा पुरस्कारद्वारा सम्मानित प्रतिभा (विसं२०१६–२०३८)काठमाडौँः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।

प्रसाइ, गणेशबहादुर(२०४८), नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधारा, काठमाडौँ ः नेपाल

राजकीय प्रज्ञा प्रतिष्ठान ।

भट्ट, आनन्ददेव(२०४८), व्यावहारिक समालोचना,काठमाडौँः भारद्वाज प्रकाशन ।


शर्मा, गार्गी(२०५१), सिद्घिचरणका खण्डकाव्यको अध्ययन, काठमाडौँः भुवन मोहिनी ।

श्रेष्ठ, सिद्धिचरण(२०४५), सिद्धिचरणका प्रतिनिधि कविता, काठमाडौँः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।

..............., बालिबध, काठमाडौंः युगकवि सिद्धिचरण प्रतिष्ठान, २०६७ ।

श्रेष्ठ, दयाराम र मोहनराज शमा, (२०४१), नेपाली साहित्यको संक्षिप्त इतिहास (पाँ.सं),

ललितपुरः साझा प्रकाशन ।


फर्पिङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।