स्याङ्जा जिल्लाको ज्याग्दीखोलामा जन्मेर पोखरामा साधनारत नारायण मरासिनी (२०२९) प्रगतिवादी कविका रुपमा परिचित छन् । उनको 'रणभूमिबाट' (२०६३) प्रगतिवादी कविताहरुको सङ्ग्रह हो । यस कवितासङ्ग्रहमा बिम्ब, प्रतीक तथा अलङ्कारको समुचित प्रयोग भएको पाइन्छ । कवि मरासिनी मूलतः भाववादी र जनवादी कवि हुन् । मरासिनीले कवितामा भाषिक पक्ष तथा जनभावलाई समेत सशक्त बनाउन 'रणभूमिबाट' कवितासङ्ग्रहमा बिम्ब, प्रतीक तथा अलङ्कारको प्रयोग गरेको पाइन्छ ।
१. बिम्ब
कविताबाट पाठकलाई जीवनका विविध स्वरूपको मानसिक चित्रबोधको वातावरण तयार गर्ने कामलाई बिम्बविधान भनिन्छ । रणभूमिबाट कवितासङ्ग्रहमा कवि मरासिनीले सहज र स्वाभाविक बिम्बको प्रयोग गरेका छन् । कविले दृश्य बिम्ब, गन्ध बिम्ब, स्पर्श बिम्ब, श्रवण बिम्ब आदिलाई यस सङ्ग्रहका कवितामा शिल्पसौन्दर्य तथा भाव गाम्भीर्यका लागि प्रयोग गरेका छन् ।
ओढी बादलका टुक्रा विभाजित भए पनि ।
बाँच्नुको अर्थ हो हाम्रो मात्रै सास रहे पनि ।।
खातेको पीडा, पृ.२ ।
प्रस्तुत 'खातेको पीडा' शीर्षकको पद्यमा ‘ओढी बादलका टुक्रा’ भन्ने बिम्बले सडकमा सुत्न बाध्य गरिबहरुका लागि जाडो छेक्ने, शरीर ढाक्ने सिरक वा कम्मल त केबल आकाश मात्रै रहेको अर्थ सन्दर्भलाई देखाएको पाइन्छ ।
ऐलेसम्म थरीथरी मतलबी छाता यहाँ देखिए
कालो दाम कमाउने मन हुने मात्रै यहाँ भेटिए ।
यो नेपाल बनाउने निहुँ गरी धेरै बने नक्कली
आफ्नै मात्र दुनो सिधा गरिलिने, छैनन् कोही सक्कली ।।
छाताको कथा, पृ.१४ ।
प्रस्तुत 'छाताको कथा' शीर्षकको कविताको पद्यले नेपालमा अवस्थित विभिन्न पार्टीहरुको चरम दुस्कार्य तथा कुप्रवृत्तिको बयान गरेको छ । ‘ऐलेसम्म थरीथरी मतलबी छाता यहाँ देखिए’ भन्ने बिम्बले फरक सिद्धान्त लिएर नयाँ नयाँ पार्टी खोलिए तापनि अन्तिम परिणाम भनेको जनभाव अनुरुप काम गर्न नसक्ने, भ्रष्टाचारमा लिप्त हुने, विकासका नाममा केबल जनतालाई झुक्काउने राजनीतिक पार्टीहरुको अर्थसन्दर्भलाई यस पद्य तथा कवितामा प्रस्तुत गरिएको पाइन्छ ।
घाँस खाने भए मान्छे पशु बरु उदार छन् ।
सेवाको मेचमा बस्ने धेरै नै अनुदार छन् ।।
पशु बरु उदार छन्, पृ.३२ ।
प्रस्तुत 'पशु बरु उदार छन्' शीर्षकको कविताको पद्यमा आएको 'सेवाको मेचमा बस्ने धेरै नै अनुदार छन्' बिम्बले जनताको सेवामा बसेका सरकारी, गैरसरकारी आदि सबै खाले कर्मचारी पतित भएका, भ्रष्टचारमा मात्रै तल्लीन, मानवीय भावनाको कदर नगर्ने आदिको अर्थगत सन्दर्भलाई देखाएको छ ।
रणभूमिबाट कवितासङ्ग्रहबाट दृश्य, श्रवण, स्वाद, गतिसम्बनन्धी बिम्ब, गन्ध बिम्ब, स्पर्श बिम्ब आदिको उदाहरण तल प्रस्तुत गरिएको छः
दृश्य बिम्ब
घोडा ठानी कुनै मान्छे मान्छेमाथि सवार छन् ।
जानी जानी कुनै मान्छे आफूभित्रै गँवार छन् ।।
एक्लो बाँच्न म सक्दिन, पृ.१८ ।
देख्दा कालो डरै लाग्दो भित्री रुप कुरूप छ ।
सामन्ती पनको मान्छे जस्तैजस्तै दुरुस्त छ ।।
सर्प पाल्नुहुन्न, पृ.२० ।
भावी नेता, कवि र कविता जेलमा छन् नि आज
त्यागी मै हूँ भनिकन छुचा मञ्चमा छने विराज,
छन् मान्छेका विविध सपना पूर्ण गर्नै छ गाह्रो
बढ्दै जान्छन् पथिक पथमा हुन्छ ठूलो तगारो ।।
छैन हाम्रो निराशा, पृ.२१ ।
श्रवण बिम्ब
आफ्नै भाका लिइकन सबै गीत गाऔँ कलामा
लैलै कान्छी मधुर, रसिला सोर तानौँ गलामा
सुन्दा मीठो छ लय कसिलो लोक हाम्रो पुरानो
द्यौसी, ख्याली, भजन, लहरी छैन हाम्रो बिरानो ।।
शुभकामना, पृ.६ ।
भाकामा सुरिला बजून् तिरिरिरी आनन्द बर्साउने
प्यारा मानिसका पसेर घरमा सौहार्द निम्त्याउने
यात्रारम्भ गरेँ मिलोस् सफलता साँचो छ मेरो कुरा
यात्राको कठिनाइ शब्दहरु यी बज्लान् कुनै बेसुरा ।।
यात्रारम्भ, पृ.१२ ।
स्वाद बिम्ब
आशा देखाउँछन् मीठा घुटुक्क थुक निल्दछौँ ।
छैनन् विश्वासिला मान्छे दुःखी–पीडित मिल्दछौँ ।।
खातेको पीडा, पृ.२ ।
रक्सी तागतिलो हुँदैन कहिल्यै खाऊ बरु पोसिला
रोटी, भात, मकै मिठा बल दिने हुन्छौ तिमी जोसिला ।
दिन्छौ जोड अनाजमा जब तिमी बन्ला मिठो जीवनी
होला मानिसको बजारभरिमा सम्मान तिम्रो पनि ।।
जँड्याहाप्रति, पृ.३४ ।
गतिसम्बन्धी बिम्ब
ङ्यार् ङ्यार् ङुर् वनमा छ त्रास मनमा घुम्दै छु सन्त्रासमा
एक्लो पागलझैँ डुलूँ म कसरी मान्छे नभै साथमा
बेँसी, टार जता पुगे पनि उही एक्लो निराशीपना
मान्छेकै हितमा नलेखिकन के कस्तो गरुँ सिर्जना !
प्रकृतिमा रमाउन सकिन, पृ.३५ ।
गन्ध बिम्ब
आओस् वास मिठो र काव्यपथमा नौलो बनोस् सिर्जना
यौटा स्वच्छ समाजको गठन होस् मेरो छ यै तिर्सना
इच्छा पूर्ण बनाउने मन लिई गर्दै छु यो गन्थन
पक्कै फिर्छ छिटै नयाँ दिन यहाँ गर्दा कडा मन्थन ।।
यात्रारम्भ, पृ.१२ ।
बाघको नमिठो गन्ध बस्तीभरि हसक्क छ ।
पाएँ खान भनी मान्छे बाघ आज गजक्क छ ।।
बाघआतङ्क, पृ.१५ ।
स्पर्श बिम्ब
सधैँ माघे जाडो सिमसिम झरी जीवन भयो
चिसो ठन्डी घुस्दा बँइस वयको माहुर गयो
लुगाफाटा छैनन् तन थरथरी दाँत किरिरी
कहाँ पानी मात्रै सबतिर चिसो स्याँठ सिरिरी ।।
सडक बालक, पृ.४ ।
२ प्रतीक
रणभूमिबाट कवितासङ्ग्रहमा शक्तिशाली प्रतीकहरूको प्रयोग पाइन्छ । कवितामा कुनै अर्का वस्तु वा भावलाई प्रकटीकरण गर्न आउने वस्तुलाई प्रतीक भनिन्छ । रणभूमिबाट कवितासङ्ग्रहमा कविको लेखकीय पक्षधरता, वैचारिक चिन्तनलाई प्रबल बनाउने क्रममा प्रतीकहरू यसरी प्रकटित भएका छन्ः
मान्छे सालिकजस्तै छन् शहरिया भनाउने
हटहट गरी मान्छेलाई घोडा बनाउने ।।
खातेको पीडा, पृ.२ ।
प्रस्तुत पद्यमा ‘मान्छे सालिकजस्तै छन् शहरिया भनाउने’ प्रतीकात्मक वाक्यले शहरिया मानिसहरुमा कसैलाई पनि दुःखसुखको समयमा पनि साथ नदिने स्वार्थी प्रवृत्ति बढेको र सबै खाले जसो मानिसमा मानवता धर्म सकिएको भन्ने अर्थगत सन्दर्भलाई बुझाएको छ ।
केको नाक लिएर राष्ट्रहितमा राम्रा गरौं खै कुरा
जप्दै ‘राम हरे !’ मुखाग्र मनले हानेर तीखा छुरा ।
आत्मालोचना, पृ.३ ।
प्रस्तुत पद्यको जप्दै ‘राम हरे !’ मुखाग्र मनले हानेर तीखा छुरा शब्दरुपी प्रतीकले मानिसहरुको स्वभाव “मुखमा राम राम बगलीमा छुरा” भन्ने उखानको तात्पर्य अर्थात् मुखले सबैलाई राम्रो पार्ने तर पछाडि खुट्टा तान्न तत्पर भएर बस्ने अर्थलाई बुझाएको छ ।
मेरो स्वर्ग यही धरातल हुँदा नेपाल हो मन्दिर
पूजा गर्न भनी म मन्दिर पसेँ छन् देवता सुन्दर ।।
यात्रारम्भ, पृ.११ ।
प्रस्तुत पङ्क्तिमा नेपाल नै स्वर्ग र नेपाली नै देवता हुन् भन्ने कुरालाई प्रतीकात्मक रुपमा चित्रण गरिएको छ ।
वासन्ती कलिला मुना सगरमा छर्दै बढून् माधुरी
मान्छेकै हितमा म लेख्छु कविता मुर्दा बनून् आसुरी
कालो रात हटोस् नयाँ मिरमिरे झुल्कून् सुनौला रवि
यै हो आस मिलोस् छिटै सफलता बोल्दैछ मेरो कवि ।।
यात्रारम्भ, पृ.१२ ।
प्रस्तुत पद्यमा आएको 'आसुरी' शब्दले शत्रु, दैत्य वा दानव अर्थको प्रतिनिधित्व गरेको छ । 'कालो रात हटोस् नयाँ मिरमिरे झुल्कून् सुनौला रवि' प्रतीकात्मक वाक्यले अन्धकारमय समय अथवा दुःखरुपी समय हटेर बिहानी नयाँ सुनौलो घामसरी सुखका आनन्दमय दिनहरू प्राप्त होऊन् भन्ने अर्थगत सन्दर्भलाई प्रष्ट पारेको छ ।
छाताको महिमा बखान्न कसिएँ इच्छा यही कल्पिएँ
छाताकै गतिलो भरोस नहुँदा आगो बनी सल्किएँ
देख्दा सुन्दर, लोभिला झिलिमिली काला र चिल्लाहरू
छैनन् ओत दिने कुनै पनि यहाँ खोज्दैछु अर्को बरू ।।
छाताको कथा, पृ.१४ ।
प्रस्तुत 'छाताको कथा' कविताको शीर्षक नै प्रतीकात्मक रहेको पाइन्छ । यसमा प्रयोग गरिएको 'छाता' शब्दले पार्टी वा दल भन्ने अर्थ बुझाएको छ । देशमा विद्यमान विभिन्न नाम गरेका दलहरु कर्तव्यपरायण नहुँदा, देख्दा र भाषण सुन्दा मात्रै आनन्द दिने तर वास्तवमा जनभावनाअनुरुप कार्य गर्न नसकेको अर्थगत सन्दर्भलाई यस पद्यमा प्रस्तुत गरिएको छ ।
जङ्गल मासिँदा आज अचम्म बाघ फैलिए
गाउँमा बस्न भो गाह्रो सुकिला दिन मैलिए ।।
बाघआतङ्क, पृ. १५ ।
प्रस्तुत पद्यमा 'बाघ' शब्दले सामन्ती, शोषक नेतागणलाई चित्रण गरेको पाइन्छ । 'सुकिला दिन मैलिए' प्रतीकले सीधा र सोझा जनताको सुखका दिन सकिए भन्ने अर्थसन्दर्भलाई प्रस्तुत गरेको छ ।
बाघ–ब्वाँसा मिलेका छन् राग नौला अलाप्दछन्
पाठापाठी सबै बाँच्न पाऊँ भनी फलाक्दछन् ।।
एक्लो बाँच्न म सक्दिन, पृ. १८ ।
प्रस्तुत पद्यमा बाघ तथा ब्वाँसा जस्ता प्रतीकात्मक शब्दहरुले नेता, मन्त्रीगण, झोले सांसद तथा कार्यकर्तालाई बुझाएको छ ।
प्रस्तुत रणभूमिबाट कवितासङ्ग्रहमा रहेको 'सर्प पाल्नुहुन्न' शीर्षकको कविता पनि प्रतीकात्मक । यसमा 'सर्प' शब्दले समाजका शोषकसामन्त वर्गको प्रतिनिधित्व गरेको पाइन्छ ।
मनैपर्ने नियम छ यहाँ ती गराला झिकेर
मार्ने चाहा दनुजहरुको रुद्रघण्टी थिचेर
छैन हाम्रो निराशा, पृ.२२ ।
यस पङ्क्तिमा आएको दनुजहरुको 'रुद्रघण्टी थिचेर' प्रतीकले राक्षसी प्रवृत्ति भएका अगुवाहरुको घाँटी थिचेरै भए पनि समाप्त पार्ने अर्थगत सन्दर्भलाई देखाएको पाइन्छ ।
'साँढे' शीर्षकको कवितामा 'साँढे' शब्दले प्रतीकात्मक रुपमा राजसंस्थालाई बुझाउन खोजेको पाइन्छ ।
आई हाम्रै घरनिकटमा बाघ सेतो करायो
झम्ट्यो मान्छे थरथर भयाँै होस हाम्रो हरायो
सेतो बाघ, पृ. २७ ।
प्रस्तुत पङ्क्तिमा प्रयोग भएको 'सेतो बाघ' शब्दले अमेरिकी साम्राज्यवादलाई प्रतीकात्मक रुपमा अगाडि सारेको पाइन्छ ।
झुप्राका कविता लेख्छु महलका म लेख्दिन
विवेकी, रसिला मान्छे महलमा म देख्दिन ।
कविता, पृ. २९ ।
उपर्युक्त पद्यमा आएको 'महल' शब्दले धनी घरानाकालाई बुझाएको छ । 'झुप्राका कविता लेख्छु' प्रतीकले गरिबका दुःख र समस्यालाई कविताका माध्यमबाट व्यक्त गर्ने अर्थगत सन्दर्भलाई प्रस्तुत गरेको छ ।
पारदर्शी नभै काम भित्रभित्रै हुने किन ?
फैलनाले यही चाला झुल्किएनन् नयाँ दिन ।
पशु बरु उदार छन्, पृ.३२ ।
प्रस्तुत पद्यमा व्यक्त भएको 'पारदर्शी नभै काम भित्रभित्रै हुने किन ?' प्रतीकले विभिन्न कार्यालयभित्र इमान्दारिता सकिँदै गएको र भ्रष्टाचार व्याप्त भएको अर्थगत सन्दर्भलाई बुझाउन खोजेको पाईन्छ ।
आफ्नो ज्यान बचाउने मन भए चाँडो बसाईं सर
अर्कै जङ्गलको गुफातिर उता जाऊ बनाऊ घर ।
युद्धघोष, पृ. ३३ ।
प्रस्तुत पङ्क्तिको 'जङ्गलको गुफातिर' प्रतीकले तत्कालीन नेपालका राजालाई कुनै नचिनिने शहरको एकान्त ठाउँतिर गएर बस जहाँ कसैले भेट्न नसकोस् भन्ने अर्थ बुझाउन खोजेको देखिन्छ ।
यौटा बूढो धयेँराको वनको बीचमा रुख
हरियाली छ चौतर्फी त्यही धोत्रे कुरुप छ ।
बूढो धयेँरो, पृ. ३८ ।
प्रस्तुत पद्यमा प्रयुक्त 'बूढो धयेँरो' शब्दले सामन्ती राजसंस्थाको प्रतिनिधित्व गरेको पाइन्छ । 'बूढो धयेँरो' शीर्षकको कवितामा प्रतीकात्मक रुपमा राजसंस्थाप्रति विद्रोहात्मक स्वर मुखरित भएको छ ।
गोमनका फणा फुल्छन् मलाई देख्दछन् जब
भाग्दिन म डराएर हुर्मत नलिई अब ।
रणभूमिबाट, पृ. ४० ।
प्रस्तुत पद्यमा आएको 'गोमन' प्रतीकले नेपाली समाजमा जरो गाडेर बसेका सामन्ती लुटेराहरुलाई बुझाएको छ भने तिनीहरुलाई खतम गर्ने र बेथितिहरुको अन्त्य गर्ने अर्थगत सन्दर्भलाई देखाएको छ । यस्ता प्रतीकहरू रणभूमिबाट कवितासङ्ग्रहमा प्रशस्त छन् । कवितामा प्रतीकहरूको सशक्त प्रयोगले सिङ्गो कृति नै मूल्यवान् बन्न पुगेको छ ।
३. अलङ्कार
'रणभूमिबाट' कवितासङ्ग्रहमा अलङ्कारहरूको प्रयोग पाइन्छ । संस्कृत काव्यशास्त्रमा अलङ्कारलाई अलङ्कारवादीहरूले काव्यको प्राण तत्वका रूपमा र रसध्वनिवादीहरूले काव्यको सौन्दर्यवर्धक तत्वका रूपमा हेरेका छन् । अलङ्कारका थुप्रै भेद पाइए तापनि अलङ्कारलाई मूलतः शब्दालङ्कार र अर्थालङ्कार गरी मुख्य दुई भेदमा वर्गीकृत गरिएको पाइन्छ । 'रणभूमिबाट' कवितासङ्ग्रहमा अलङ्कारको प्रयोग गर्नु कविको मूल उद्देश्य रहेको देखिँदैन । त्यसैले सहज रूपमा बन्न पुगेका शब्दालङ्कार र अर्थालङ्कार कवितामा आएका छन् । तिनको छोटो चर्चा तल गरिएको छः
क) शब्दालङ्कार
शब्दको प्रयोगमा आधारित अलङ्कारलाई शब्दालङ्कार भनिन्छ । शब्द प्रयोगमा सौन्दर्य र चमत्कार उत्पन्न भयो भने शब्दालङ्कार हुन्छ (थापा, २०७३, पृ .२३३) । प्रस्तुत 'रणभूमिबाट' कवितासङ्ग्रहभित्रका कवितामा अनुप्रास, यमक जस्ता शब्दालङ्कारको प्रयोग भएको पाइन्छ । रणभूमिबाट कवितासङ्ग्रहमा अनुप्रास अलङ्कारको प्रशस्त प्रयोग पाइन्छ । वाक्यका शब्दमा एउटा वा धेरै अक्षर दोहोरियो भने अनुप्रास अलङ्कार हुन्छ (थापा, २०७३, पृ .२३४) । अनुप्रास अलङ्कारका छेक, वृति, अन्त्य र लाटानुप्रास गरी चार उपभेद छन् । अनेक व्यञ्जनको उसै क्रममा एक पटक मात्र आवृति भएमा छेकानुप्रास हुन्छ (उपाध्याय, २०६७, पृ .११२—१३ ) ।
छेकानुप्रास
रणभूमिबाट कवितासङ्ग्रहबाट छेकानुप्रास अलङ्कारको उदाहरण तल प्रस्तुत गरिएको छः
देशवासी सबै मर्दा एक्लो बाँच्न म सक्दिन ।
मृत्युको भोजमा नृत्य देख्दा हाँस्न म सक्दिन ।
एक्लो बाँच्न म सक्दिन,पृ.१८ ।
यहाँ पहिलो पङ्क्तिमा आएका न्, म्, द्, न् वर्णहरू उही क्रममा दोस्रो पङ्क्तिमा पनि आवृति हुन आएकाले छेकानुप्रास अलङ्ककारको प्रयोग भएको पाइन्छ ।
वृत्यनुप्रास
'रणभूमिबाट' कवितासङ्ग्रहमा वृत्यनुप्रास अलङ्कारको पनि प्रयोग भएको पाइन्छ । वृतिगत एउटा वर्ण वा अनेक वर्णको अनेकपल्ट आवृति भएको अवस्थामा वृत्यनुप्रास हुन्छ । रणभूमिबाट कवितासङ्ग्रहबाट वृत्यनुप्रास अलङ्ककारको उदाहरण तल प्रस्तुत गरिएको छ ।
न त दलिन त्यो बन्छ न त बन्छ भ¥याङ नै ।
न त फलेक त्यो बन्छ न त बन्छ दराज नै ।।
बूढो धयेँरो, पृ.३७ ।
यहाँ न, त्, वर्णहरूको उही क्रममा आवृति भएकाले तथा ‘बन्छ’ को अनेकपटक आवृत्ति भएकाले वृत्त्यानुप्रास अलङ्कार भएको छ ।
अन्त्यानुप्रास
'रणभूमिबाट' कवितासङ्ग्रहमा अन्त्यानुप्रास अलङ्कारको पनि प्रयोग देखिन्छ । पाउको आधा वा पाउको अन्तमा अन्तिम अक्षर पूर्णरूपले मिलेमा अन्त्यानुप्रास हुन्छ (उपाध्याय, २०६७, पृ.११३ ) । रणभूमिबाट कवितासङ्ग्रहबाट अन्त्यानुप्रास अलङ्कारको उदाहरण तल प्रस्तुत गरिएको छ ।
आई हाम्रै घरनिकटमा बाघ सेतो करायो
झम्ट्यो मान्छे थरथर भयौं होस हाम्रो हरायो ।
देख्दादेख्दै अजिबपनले दाग्न पञ्जा कमायो
माछापुच्छ्रे गिरिशिखर नै च्याप्प त्यल्ले समायो ।।
सेतो बाघ, पृ.२७ ।
यहाँ दुबै पाउको ‘करायो, हरायो, कमायो, समायो’ को अन्तिम अक्षर ‘आयो’ ठ्याम्मै मिलेकाले अन्त्यानुप्रास अलङ्कार भएको देखिन्छ ।
यमक अलङ्कार
सार्थक परन्तु भिन्नार्थक अथवा निरर्थक स्वरव्यञ्जनसमूहको त्यसै क्रममा आवृत्ति भएमा यमकअलङ्कार हुन्छ (उपाध्याय, २०६७, ११४) । रणभूमिबाट कवितासङ्ग्रहबाट यमक अलङ्ककारको उदाहरण तल प्रस्तुत गरिएको छ ।
महङ्गो कोटको हैन चोटको कविता मिठो ।
निगाह नोटको हैन भोटको कविता मिठो ।।
कविता, पृ.२९ ।
यहाँ कविता, मिठो जस्ता सार्थक अक्षरहरू र टको निरर्थक अक्षरको उही क्रममा आवृत्ति भएकाले यमक अलङ्कारको प्रयोग भएको देखिन्छ ।
ख) अर्थालङ्कार
'रणभूमिबाट' कवितासङ्ग्रहभित्र अर्थालङ्कारको प्रयोग पाइन्छ । शब्दको अर्थमा आधारित अलङ्कारलाई अर्थालङ्कार भनिन्छ । शब्दको अर्थमा मात्र सौन्दर्य र चमत्कारको सिर्जना भयो भने अर्थालङ्कार हुन्छ (थापा, २०७३, २३३) । अर्थको आश्रय लिने हुनाले अर्थालङ्कारलाई महत्वपूर्ण मानिन्छ । रणभूमिबाट कवितासङ्ग्रहमा प्रयोग भएका केही प्रमुख अलङ्कारका चर्चा तल गरिएको छ ।
उपमा अलङ्कार
'रणभूमिबाट' कवितासङ्ग्रहमा उपमा अलङ्कारको प्रयोग पाइन्छ । उपमेय र उपमानका बीच रूप, गुण, क्रिया, आदिको समानता देखिएमा उपमा अलङ्कार हुन्छ । रणभूमिबाट कविता सङ्ग्रहबाट उपमा अलङ्कारको उदाहरण तल प्रस्तुत गरिएको छ ।
ठूलो जङ्गलमा पसेर रसिला खोज्दै थिएँ काफल
पारेँ हात जता गए पनि उही काँता र तीता फल ।
मीठा गीत सुनूँ भनेर वनमा हेदैँ थिएँ च्याखुरा
जस्तै मनिसका थिए कठिनता उस्तै चराका कुरा ।।
प्रकृतिमा रमाउन सकिन, पृ.३५ ।
उपर्युक्त पद्यको 'जस्तै मानिसका थिए कठिनता उस्तै चराका कुरा' पङ्क्तिमा मानिस उपमानका रूपमा आएको छ भने चरा उपमेय, कठिनता समान धर्म र जस्तै वाचक शब्द हुन् । त्यसैले यहाँ उपमालङ्कार परेको देखिन्छ ।
रूपक अलङ्कार
'रणभूमिबाट' कवितासङ्ग्रहमा रूपक अलङ्कारको प्रयोग पाइन्छ । सामान्यतया रूपसाम्य वा कार्यसाम्यले गर्दा उपमेयको निषेध नगरी उपमेय र उपमानका बीच अभेदमूलक आरोप गरिएमा रूपक अलङ्ककार हुन्छ (उपाध्याय, २०६७, पृ. १२१ ) । यसमा उपमेयमा उपमानको रूपको आरोप गरिएको हुन्छ । रणभूमिबाट कवितासङ्ग्रहबाट रूपक अलङ्कारको उदाहरण तल प्रस्तुत गरिएको छ ।
युद्ध हो कविता मेरो पलायन नभै कतै ।
आगो हो कविता मेरो दन्कि ज्वाला जताजतै ।।
कविता, पृ.२९ ।
यहाँ कविता उपमेयलाई युद्ध र आगो उपमानसँग अभेद आरोप गरिएको छ । कविता साहित्य आदिको महत्व र गाम्भीर्यलाई युद्ध र आगो सँग आरोपित गरी कविताको महत्त्व यहाँ देखाइएको छ । त्यसैले यहाँ रूपक अलङ्कार परेको देखिन्छ ।
प्रश्नालङ्कार
'रणभूमिबाट' कवितासङ्ग्रहमा प्रश्नालङ्कारको प्रयोग पनि पाइन्छ । कुनै पनि विषयमा प्रश्न गर्दै उत्तरको अपेक्षा गरिएमा प्रश्नालङ्कार हुन्छ (ढकाल, २०७०, पृ.३५ ) । रणभूमिबाट कवितासङ्ग्रहबाट प्रश्नालङ्कारको उदाहरण तल प्रस्तुत गरिएको छः
अर्काको वशमा डुबेर रसमा बिस्र्यौं नि माटो किन ?
मार्यौं लात जमाइ राष्ट्रधनमा कुल्च्यौँ नि छाती किन ?
आत्मालोचना, पृ.३ ।
यहाँ राष्ट्रधनको दुरुपयोग गर्ने र राष्ट्रहित विपरीत कार्य गर्नेहरुको आलोचना गर्दै प्रश्न गरिएकाले प्रश्नालङ्कार बनेको देखिन्छ ।
स्वभावोक्ति अलङ्कार
'रणभूमिबाट' कवितासङ्ग्रहमा स्वभावोक्ति अलङ्कारको प्रयोग पनि पाइन्छ । कुनै वस्तु, व्यक्ति वा दृश्य आदिको यथार्थपरक चित्रात्मक वर्णन गरिएमा स्वभावोक्ति अलङ्कार हुन्छ (उपाध्याय, २०६७, पृ.१२८) । रणभूमिबाट कवितासङ्ग्रहबाट स्वभावोक्ति अलङ्कारको उदाहरण तल प्रस्तुत गरिएको छः
खाने चामल, दाल छैन घरमा कस्तो त तिम्रो मन !
स्वास्नीका गहना फुकालिकन के मस्ती भयो लौ भन ?
छैनन् पुस्तक, पुस्तिका, कलम क्यै बच्चा रुँदैछन् यता
प्यूँछन् स्वाद लिई लिई मन दिई बाबा भनेका उता ।।
जँड्याहाप्रति, पृ.३४ ।
यहाँ जँड्याहा प्रकृतिका मानिसहरुको कारणले निम्त्याएको दयनीय अवस्थाको स्वाभाविक चित्रण मार्मिक ढङ्गले गरिएको छ । त्यसैले यहाँ स्वभावोक्ति अलङ्कार भएको देखिन्छ ।
दृष्टान्त अलङ्कार
यस कवितासङ्ग्रहमा दृष्टान्त अलङ्कारको पनि प्रयोग देखिन्छ । सामान धर्म भएका विभिन्न वस्तुहरूको बिम्ब प्रतिबिम्बभाव व्यक्त गरिएमा दृष्टान्तअलङ्कार हुन्छ (उपाध्याय, २०६७, पृ .१२५) । रणभूमिबाट कवितासङ्ग्रहबाट दृष्टान्त अलङ्कारको उदाहरण तल प्रस्तुत गरिएको छः
खरानीको घसी थुप्रो महात्मा हुन्न क्वै पनि ।
हुँदैन मुखले माया व्यवहार बुझिन्छ नि ।।
एक्लो बाँच्न म सक्दिन, पृ.१८ ।
यहाँ मान्छेको स्वभाव र व्यवहारको चित्रण गरिएको छ । रुपबाट मानिसलाई कहिल्यै पनि चिन्न सकिँदैन भन्ने माथिल्लो पङ्क्तिको सत्यता प्रमाणित गर्न उसको व्यवहार, विचार, स्वाभावबाट नै मानिसको यथार्थता बुझ्न सकिन्छ भन्ने भाव व्यक्त भएको दोस्रो पङ्क्ति आएकाले दृष्टान्त अलङ्कार बनेको छ ।
विशेषोक्ति अलङ्कार
'रणभूमिबाट' कवितासङ्ग्रहमा विशेषोक्ति अलङ्कारको प्रयोग पनि पाइन्छ । कारण भए पनि कार्य नभएको देखाएमा विशेषोक्ति अलङ्कार हुन्छ (उपाध्याय, २०६७, पृ .१२३) । रणभूमिबाट कवितासङ्ग्रहबाट विशेषोक्ति अलङ्कारको उदाहरण तल प्रस्तुत गरिएको छः
झर्दैमा एक तारा त्यो आकाश रित्तिँदैन हे ।
रणभूमिबाट, पृ.४० ।
यहाँ एउटा तारा झर्दैमा आकाश नरित्तिने कारण भए पनि कार्य नदेखाइएको हुँदा विशेषोक्ति अलङ्कार बन्न पुगेको देखिन्छ ।
कारणमाला
'रणभूमिबाट' कवितासङ्ग्रहमा कारणमाला अलङ्कारको पनि प्रयोग पाइन्छ । कारण र कार्य क्रमबद्ध रूपमा शृङ्खला पारेर प्रस्तुत गरिएमा कारणमाला अलङ्कार हुन्छ (उपाध्याय, २०६७, पृ .१२६ ) । रणभूमिबाट कवितासङ्ग्रहबाट कारणमाला अलङ्कारको उदाहरण तल प्रस्तुत गरिएको छः
श्रमको गीत हो काव्य सलल बग्नुपर्दछ ।
चेतनादीप हो काव्य झलल बल्नुपर्दछ ।।
कविता, पृ.२९ ।
यहाँ काव्य र काव्यको उद्देश्यका बिच कार्यकारण शृङ्खला देखाइएकाले कारणमाला अलङ्कार बन्न पुगेको देखिन्छ ।
विरोध अलङ्कार
'रणभूमिबाट' कवितासङ्ग्रहमा विरोध अलङ्कारको पनि प्रयोग पाइन्छ । कुनै वस्तु गुण क्रियाहरूमा विरोधजस्तो भान भएमा विरोधालङ्कार हुन्छ (सिग्द्याल, २०५८, पृ.२३४) । रणभूमिबाट कवितासङ्ग्रहबाट विरोधालङ्कारको उदाहरण तल प्रस्तुत गरिएको छः
जागौँ हामी विमुख जनता चेतना लौ जगाऔं
मान्छे खाने अतिशय ठूलो बाघ सेतो भगाऔँ ।।
सेतो बाघ, पृ.२८ ।
यहाँ राजतन्त्रको क्रिया प्रवृत्तिमा विरोध भएकाले विरोधालङ्कार बन्न पुगेको देखिन्छ ।
४. निष्कर्ष
'रणभूमिबाट' कवितासङ्ग्रहमा सहज र स्वाभाविक रूपमा आएका बिम्ब, प्रतीक र अलङ्कारले कविताको शाब्दिक सौन्दर्य एवम् अर्थगत गाम्भीर्यलाई उजागर गरेको देखिन्छ । कविको विचारलाई सबल सक्षम बनाउने क्रममा बिम्ब, प्रतीक र अलङ्कारको प्रयोग रणभूमिबाट कवितासङ्ग्रहमा मरासिनीले गरेका छन् । बिम्ब एवम् प्रतीकहरू सशक्त छन् । कवितामा प्रयुक्त अलङ्कारहरूले कविताको शब्दगत एवम् भावगत सौन्दर्यमा वृद्धि गरेका छन् ।
सन्दर्भ ग्रन्थसूचि
उपाध्याय, केशवप्रसाद, साहित्यप्रकाश, (सा.सं.) ललितपुरः साझा प्रकाशन, २०६७ ।
उपाध्याय, केशवप्रसाद, पूर्वीय साहित्यसिद्धान्त, (पाँ.सं.) ललितपुरः साझा प्रकाशन, २०६७ ।
ढकाल रजनी, प्रायोगिक समालोचना अनेक रूप, ललितपुरः साझा प्रकाशन, २०७०।
थापा मोहनहिमांशु, साहित्य परिचय, (छै.सं.) ललितपुरः साझा प्रकाशन, २०७३ ।
मरासिनी नारायण, रणभूमिबाट, पोखराः साहित्य शृङ्खला, २०६३ ।
सिग्द्याल सोमनाथ, साहित्य प्रदीप, काठमाडौँः विद्यार्थी पुस्तक भण्डार, २०५८ ।
- आँधीखोला, स्याङ्जा